– लक्ष्मी भण्डारी
कर्णालीमा छोराछोरीसहित महिलाले नदीमा हाम फालेर आत्महत्या गरेको घटना सम्झँदा र सुन्दा जो कोहीको पनि आङ सिरिङ्ङ हुन्छ । यस्तो असामान्य घटनाको पछाडि के छ ? महिलालाई आत्महत्या दुरुत्साहन गर्ने तत्त्वहरू के हुन् ? आत्महत्यासित सम्बन्धित तथ्यहरू के कस्ता छन् ? तिनले वास्तविकतालाई कत्तिको जनाउन सक्छन् ? आत्महत्यालाई रोक्न के गरिएको छ र अझै के कस्ता प्रतिकार्य गर्नुपर्ने हुन्छ ? यिनै प्रश्नका साथ प्रस्तुत आलेखका लागि विभिन्न तथ्यको खोजी गरिएको थियो ।
आमसञ्चार माध्यममा नाम दिन नचाहेका महिलाका लागि सङ्केत नाम दिइएको छ । यस्तो नाम दिँदा निजको गृहजिल्ला र आलेखका लागि कुराकानी गर्दाको उमेरलाई जनाइएको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा घटित प्रतिनिधि घटनामा महिलाले श्रीमान् र घरपरिवारका सदस्यबाट पाएको निरन्तरको दुर्व्यवहार, यातना, हिंसा, लाञ्छना आदिको प्रभावबाट सम्हालिन नसक्दा आफ्ना सन्तानसहितै आत्महत्या गर्नेसम्मका अति असामान्य कदम चालेको पाइयो । कसैले पटक पटक आत्महत्या प्रयास गरेका र सो क्रममा सन्तानलाई गुमाएका पाइयो । हत्यापछि आत्महत्या भनिने र मरेपछि पनि महिलालाई नै लाञ्छित गर्ने र सुल्झाउन सकिने समस्यालाई पनि अन्यत्रै मोडेर उल्झाउने प्रवृत्तिसमेत समाजमा रहेको बुझियो ।
बालविवाह, सम्बन्धविच्छेद, घरेलु हिंसाले जन्माएको आत्महत्याको विषय सहजै फुकाउनै नसकिने गरी विभिन्न विषयसँग जोडिएको र जेलिएको पाइयो । विशेषगरी शिक्षा र आत्मनिर्भरताका लागि चाहिने सिपविना सानैमा विवाह गरेका र गराइएका महिलाहरू पारिवारिक हिंसाको चक्रमा फस्ने र निरन्तर सिकार भएपछि मानसिक समस्याले पनि घेर्ने र आफैँमाथि जस्तोसुकै घात गर्न पनि सक्ने देखियो ।
कतिपयलाई आत्महत्याको प्रयास गर्दागर्दै पनि छोराछोरीको अनुहारले रोक्छ । कतिको हत्या भइसकेपछि पनि आत्महत्याको आरोप लाग्छ । महिलाको हत्या, आत्महत्या जे भए पनि तिनलाई मृत्युपछि पनि समाजले खेद्न सक्छ । आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै खेदिन सक्ने डरले अधिकांश महिलाहरू जसरी पनि बाँच्ने गरेका छन् । यो समस्या एक प्रकारले मौन आपत्काल जस्तै छ ।
आङ्गै सिरिङ्ग हुने घटना एकपछि अर्को गरी सुन्न परेपछि कर्णालीका महिलालाई आत्महत्या गर्न विवश तुल्याउने वा दुरुत्साहन गर्ने तथ्य र कारणका विषयमा खोजेर समाधानका उपाय पनि बाहिर ल्याउने उद्देश्यले प्रस्तुत आलेख तयार गरिएको हो ।
समस्याको उचित व्यवस्थापनका लागि परनिर्भरता, पारिवारिक हिंसा र मानसिक समस्यामा परेका महिलाहरूलाई समयमै पहिचान गरी सचेतनाका अतिरिक्त मनोसामाजिक परामर्श र उपचारको व्यवस्था गर्नसके आत्महत्यामा कमी आउनसक्ने विचार अनुभवी र विभिन्न विषयका विज्ञहरूको थियो । विज्ञका सुझावको सुनुवाइ हुने कुरामै पनि सन्देह थियो ।
आङ्गै सिरिङ्ग हुने घटना एकपछि अर्को गरी सुन्न परेपछि कर्णालीका महिलालाई आत्महत्या गर्न विवश तुल्याउने वा दुरुत्साहन गर्ने तथ्य र कारणका विषयमा खोजेर समाधानका उपाय पनि बाहिर ल्याउने उद्देश्यले प्रस्तुत आलेख तयार गरिएको हो । यसका लागि स्रोतसाधन, समय आदिका विभिन्न सीमाहरू त छँदैथिए । यसैले यसलाई आधारभूत तहको एउटा अंशका रूपमा मात्र तयार गर्न सकियो ।
खासमा कर्णालीका महिलाका आत्महत्याका विषयमा महिलावादी दृष्टिकोणबाट गहिरो अध्ययन, नजिकको अवलोकन र अन्तरछेदनसहितको सङ्कथन विश्लेषण गर्नुपर्ने देखिन्छ । यसपछि मात्र परिवारभित्रै महिला र बालबालिकाले भोग्नुपर्ने जटिलभन्दा जटिल समस्याको पनि उचित व्यवस्थापन र दीर्घकालीन समाधानको बाटो खुल्दै जान सक्छ ।
प्रतिनिधिमूलक घटनाहरू
चार सन्तानसहित आत्महत्या : विसं २०७७ फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा देशका विभिन्न भागमा महिला अधिकारको पक्षमा बहस, छलफल, र्याली भइरहेको बेला दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नम्बर ३ स्थित निमायलकी ३५ वर्षीया सुकी बडुवालले भने चार सन्तानसहित आत्महत्याको बाटो रोज्नुभयो । उहाँका साथमा ज्यान गुमाउने सन्तानहरूमा १५ वर्षकी कल्पना, १२ वर्षकी सरिता, ८ वर्षका ललित र ६ वर्षकी रजनी थिए ।
स्थानीय वासिन्दाका अनुसार, सुकीले नै गाउँमा मजदुरी गरी छ जनाको परिवारको पालनपोषण गर्दै आउनुभएको थियो । उहाँका पति मानसिंह बडुवाल कोरोना महामारी फैलिएपछि २०७६ चैतमा भारतको मजदुरी छाडेर घर फर्कनुभएको थियो । उहाँले दैनिकजसो मदिरापान गरेर सुकीमाथि कुटपिट गर्ने गरेको पनि छिमेकीहरूको भनाइ थियो ।
पतिको मदिरापानको कुलत, कुटपिट गर्ने बानी, चार छोराछोरीको लालनपालन र भविष्यको चिन्ता जस्ता कारण अशान्त बनेकी सुकीले अन्ततः चारै सन्तान कल्पना, सरिता, ललित र रजनीसहित आत्महत्याको बाटो रोज्नुभएको थियो ।
आठबीस नगरपालिका पूर्व प्रमुख प्रयाग शाहीको घर वडा नम्बर ३ मै पर्छ । उहाँका अनुसार, पतिको यातना सहन नसकी सुकीले सन्तानसहित आत्महत्याको बाटो रोजेकी थिइन् । मानसिंहले छोराछोरीलाई पनि दैनिकजसो कुटपिट गर्दै आएको पनि उहाँको भनाइ थियो ।

“सुकीले घर छोडेको दिन पनि पतिले उनीमाथि कुटपिट गरेका रहेछन्,” आठबीस नगरपालिकाकी पूर्व उपप्रमुख दीपा बोहोराले भन्नुभयो, “२१ औँ शताब्दीमा आएर पनि घरेलु हिंसाका कारण महिलाहरूले ज्यान गुमाउनु भनेको आफैँमा लज्जित हुनुपर्ने कुरा हो । यसको दोषी त समाज पनि हो ।”
दीपाले गाउँमा सुकीको जस्तो घरेलु हिंसा र गरिबी भोग्नुपर्ने स्थिति भएका महिलाहरूको सङ्ख्या धेरै रहेको, तीमध्ये कसैले आत्महत्याको बाटो रोजेको त कोहीले धेरै पटक आत्महत्या गर्ने प्रयास गरेको पनि बताउनुभयो ।
छोरो गुम्यो, छोरी जोगिइन्, आफू घाइते : सुकी घटनाको तीन सातापछि २०७७ चैत ११ गते दैलेखकै डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित लेक्चाकी २८ वर्षीया हीरा थापामगरले पनि छोराछोरीसहित आत्महत्याको प्रयास गर्नुभयो । त्यस क्रममा तीन वर्षीय छोरा उमेशको मृत्यु भयो भने ९ वर्षकी छोरीले भागेर आफ्नो ज्यान बचाएकी थिइन् । भीरबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गर्दा हीरा चाहिँ गम्भीर घाइते हुनुभयो ।
हीराले त्यस किसिमको आत्महत्या प्रयास गर्नुका पछाडि पनि पारिवारिक समस्या नै मुख्य कारण थियो । त्यसमा सामाजिक, आर्थिक आदि कुरा पनि जोडिने नै भए ।
मध्यरातमा आत्महत्या : विसं २०७८ भदौमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आएकी ३२ वर्षीया नन्दा रोकायले रातको समयमा झुण्डिएर आत्महत्या गर्नुभयो । उहाँ केही समयअघि मात्र जुम्ला जिल्लाबाट सुर्खेत जिल्लामा बस्ने गरी सर्नुभएको थियो ।
नन्दाले पनि श्रीमान्काे हिंसाबाट आजित भएर आत्महत्या गर्नुभएको थियो । पाँच छोराछोरीकी आमा उहाँले बेलुका छोराछोरीलाई खाना खुवाएर सुताएपछि मध्यरातमा आत्महत्या गरेको उहाँको छिमेकीसमेत रहेकी लक्ष्मी खड्काले बताउनुभयो ।
छ पटकसम्म आत्महत्याको प्रयास : विवाह भएको चार–पाँच वर्ष दैलेख–३८ ले घरपरिवार सम्हालेर श्रीमान्लाई सिएमए पढ्न पठाउनुभयो । श्रीमान्ले पनि पढाइ सकेर आठबीसकोट नगरपालिकास्थित गाउँमै मेडिकल खोले । गुजारा राम्रैसँग चलिरहेको थियो । तर श्रीमान्ले दिनहुँजसो मदिरापान गर्न थालेपछि भने घरमा कलह सुरु भयो । मदिरापानकै कारण श्रीमान्काे मृत्यु भयो ।
श्रीमान्काे मृत्युको दोष श्रीमतीमाथि नै लाग्यो । घरपरिवार र समाजले पनि उहाँकै कारण श्रीमान् बितेको भन्न थाले । उहाँले श्रीमान्काे किरियासमेत एक्लै बसेर गर्नुपरेको थियो । उहाँले भन्नुभयो, “एकातिर श्रीमान् बितेको पिर थियो भने अर्काेतिर सासूससुराले ‘मेरो छोरा खाइस्’ भन्दै गाली गर्नुहुन्थ्यो । त्यतिबेला किरिया बस्दा म एक्लै बसेँ ।”
घरपरिवार र समाजको लाञ्छनाले एक्लिएकी उहाँमाथि श्रीमान्ले मदिरा र जुवा खेल्दाको ऋणको भारी पनि थियो । चार छोराछोरीको लालनपालनको जिम्मा थियो । सम्हालिन नसकेर मर्नको लागि उहाँले छ पटकसम्म प्रयास गर्नुभयो तर सक्नु भएन । त्यसको मूल कारण उहाँका छोराछोरी थिए । ती टुहुरा होलान् भन्ने माया पनि हुँदो हो । उहाँले भन्नुभयो, “मर्न खोजेँ बहिनी, आफू त मरिहालुँला छोराछोरीलाई कसरी मार्नु र !”
कर्णालीमा महिलाद्वारा गरिएका आत्महत्या र आत्महत्या प्रयासका यी केही प्रतिनिधि घटना हुन् ।
आत्महत्याका तथ्य र कारण
नेपाल प्रहरीको आर्थिक वर्ष (आव) २०७७/७८ देखि आव २०८१/८२ सम्मका लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्रहरूको अध्ययनबाट कर्णाली प्रदेशमा आत्महत्याको घटना सबैभन्दा कम दर्ता भएको देखियो । कम हुँदाहुँदै पनि कर्णाली प्रदेशमा प्रत्येक वर्ष करिब तीन सय आत्महत्याको घटना दर्ता हुने गरेको र पछिल्लो पाँच आर्थिक वर्षमा कुल एक हजार ५५३ आत्महत्याको घटना दर्ता भएको थियो । यो भनेको प्रत्येक दिनजसो एक जनाको आत्महत्या मुद्दा दर्ता हुनु हो । कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क अनुसार भने आव २०७४/७५ देखि २०८१/८२ सम्ममा आत्महत्याका दुई हजार ३२४ घटना दर्ता भएका थिए । त्यसमा महिलाहरूको सङ्ख्या ९९५ रहेको थियो ।
कर्णालीका महिलाहरूले आत्महत्या गर्नु वा आत्महत्या गर्ने प्रयास गर्नुको मूल कारण छ, त्यो घरेलु हिंसा र मानसिक तनाव नै भएको जानकार व्यक्तिहरूको भनाइ थियो ।
नेपाल प्रहरीको वार्षिक तथ्यपत्रहरूका अनुसार, पाँच वर्षको अवधिमा देशभर आत्महत्यासम्बन्धी कुल ३४ हजार ९२९ मुद्दा दर्ता भएका थिए भने आत्महत्याबाट मृत्यु भएकाको कुल सङ्ख्या ३५ हजार ५१ रहेको थियो । आत्महत्याबाट मृत्यु भएकामा दुई हजार ६२३ बालिका, एक हजार ३४५ बालक, ३५ हजार ५१ महिला र ११ हजार ६३८ पुरुष भएको पनि तथ्यपत्रहरूको अध्ययनबाट देखिन्छ । यद्यपि, मुद्दा दर्ता भएको सङ्ख्याभन्दा अधिक सङ्ख्यामा घटना भएको हुनसक्ने अवस्थालाई भने नकार्न सकिँदैन ।
जहाँसम्म कर्णालीका महिलाहरूले आत्महत्या गर्नु वा आत्महत्या गर्ने प्रयास गर्नुको मूल कारण छ, त्यो घरेलु हिंसा र मानसिक तनाव नै भएको जानकार व्यक्तिहरूको भनाइ थियो । प्रहरी नायब महानिरीक्षक (डिआइजी) तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख माधवप्रसाद श्रेष्ठले मानसिक तनाव झेल्न नसकेर युवा पुस्ताले आत्महत्या गर्ने गरेको पाइएको बताउनुभयो ।
कर्णालीमा भएका आत्महत्याका घटनाहरूबारे अध्ययन गर्दा बदलिँदो जीवनशैली, बेरोजगारी, गरिबी, घरेलु हिंसा, पारिवारिक कलह, सम्बन्धविच्छेद, मदिरापान, मानसिक रोग आदि कारण भएको पाइएको पनि डिआईजी माधवप्रसादको भनाइ थियो ।
मानव अधिकारकर्मी तथा सरोकारवालाहरूको धारणामा पनि कर्णालीमा विशेषगरी महिलाहरूले घरेलु हिंसाका कारण आत्महत्या गर्ने गरेका छन् । घरेलु हिंसाको पछाडिका कारणहरूमा बालविवाह प्रमुख भएको पनि मानव अधिकारकर्मी तथा सरोकारवालाहरूको भनाइ थियो ।

विगत १० वर्षदेखि सुर्खेतमा रहेर गीताञ्जली ल फर्ममार्फत विशेषगरी महिलाका मुद्दाहरू हेर्दै आएकी अधिवक्ता गीता कोइरालाले लैङ्गिक हिंसाका कारण पछिल्ला वर्षहरूमा आत्महत्याका घटना बढेको बताउनुभयो । “महिला होस् या पुरुष, हिंसामा पर्दा तत्कालीन परिस्थितिको सामना गर्न नसक्नुको परिणाम यस्ता घटनाहरू घट्ने गरेका छन्,” गीताले भन्नुभयो, “हिंसाको चपेटामा तुलनात्मकरूपले पुरुषभन्दा महिला नै बढी छन् । यसमा विशेषगरी बालविवाहले समस्या निम्त्याएको देखिन्छ ।”

कर्णालीमा घरेलु हिंसाको कारण महिलाको ज्यान जाने कुनै नौलो कुरा नभएको मनोपरामर्शकर्ता किमसरा खत्रीको विश्लेषण थियो । पाँच वर्षदेखि सुर्खेतको सिम्ता गाउँपालिकामा रहेर मनोपरामर्शको काम गर्दै आएकी किमसराले भन्नुभयो, “घरेलु हिंसाका कारण यस्तो कहालीलाग्दो घटना भएको छ ।” विशेषगरी बालविवाहपछि अधिकांश महिलाले हिंसाको सामना गर्नुपरेको र उनीहरूले आत्महत्यालाई नै समस्या समाधानको विकल्पको रूपमा लिने गरेको पनि उहाँको विश्लेषण थियो ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले पनि कलिलै उमेरमा विवाह गरेका अधिकांश महिलाहरू हिंसामा पर्ने गरेको र उनीहरूमा मानसिक स्वास्थ्य समस्या देखिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यहाँ हरेक वडामा हेर्ने हो भने कम्तीमा पनि चार–पाँच जना महिलालाई मानसिक स्वास्थ्य समस्या भएको पाएको छु । कतिपयले बच्चा लगेरै आत्महत्या गर्छन् । मेरो गाउँमा एक जनाले दुधेबच्चा छोडेर पनि आत्महत्या गर्यो ।”
बालविवाहको प्रभाव सम्बन्धविच्छेदसम्म पुग्ने गर्दछ । त्यति मात्र होइन, नवयुवतीमै सम्बन्धविच्छेद भएपछि महिलाको जीवनमा हिंसाबाट कहिल्यै जोगिन नसकिने फराकिलो यात्राको तय हुने गर्दछ । महिलामाथि हुने हिंसामा तिनका बालबालिकाको जीवन पनि जोडिएको हुन्छ । यसले हिंसा र त्यसको दुष्प्रभावको पुस्तान्तरणलाई पनि जनाउँछ । मानव विकासको सन्दर्भमा यो बेलैमा सल्टाउनुपर्ने गम्भीर विषय हो ।

कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले कर्णालीमा पुरुषको तुलनामा महिलाहरूमा मानसिक समस्या धेरै देखिएको बताउनुभयो । “यहाँ मसँग परामर्शको लागि आउनेमा महिलाहरू नै बढी हुनुहुन्छ, जसमा बालविवाह गरेका महिला बढी हुनुहुन्छ,” उहाँले भन्नुभयो ।
खासगरी निराशाले गर्दा आत्महत्याको बाटो रोज्ने गरेको स्पष्ट पार्दै डा. सुशीलले भन्नुभयो, “अधिकांश घटना मानसिक समस्याका कारणले हुने गरेको पाइएको छ । कर्णालीको सन्दर्भमा घरेलु हिंसा, वैदेशिक रोजगार, गरिबी तथा सम्बन्धविच्छेदपछि आत्महत्याका घटना घटेको पाइएको छ ।” यहाँ घटेको भन्नुको अर्थ घटना भएको भन्ने हो ।

कर्णाली प्रदेश अस्पतालको अभिलेखले मनोसामाजिक परामर्श लिन पुग्ने र आत्महत्याको प्रयासपछि अस्पताल भर्ना गरिएकामा महिलाहरूको सङ्ख्या बढी रहेको देखाउँछ । अस्पतालका मेडिकल रिकर्डर भूपेन्द्र बिसीका अनुसार, आव २०८१/८२ मा मनोसामाजिक परामर्श लिन पुगेकामध्ये ५२ प्रतिशत महिला थिए । आत्महत्या प्रयासपछि अस्पताल भर्ना भएका ३९ मध्ये २७ जना महिला थिए । यस्तै, चालु आवको पहिलो नौ महिनामा विषादी उपभोग गरेर अस्पताल पुगेका ३३ जनामध्ये २७ जना महिला थिए ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा कार्य गर्दै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सिएमसी–नेपाल) को कर्णाली प्रदेश प्रमुख लक्ष्मण नाथको अनुभवमा पनि लैङ्गिकहिंसाका कारण कर्णालीका महिलाहरूमा मानसिक समस्या देखिएको छ र त्यसबाट उनीहरूमा आत्महत्याको जोखिम बढ्ने गरेको छ । उहाँले भन्नुभयो, “उपचारमा आउने ५० प्रतिशत महिलामा लैङ्गिकहिंसाको कारण मानसिक स्वास्थ्य समस्याका देखिएको छ । वैदेशिक रोजगारमा भएका परिवारमा पनि यस्तो समस्या देखिन्छ ।”
साथै, आत्महत्या गरेका र गर्ने प्रयास गरेका महिलाको सन्दर्भमा समस्या के हो भनेर सुल्झाउनेभन्दा पनि उल्झाउने प्रवृत्ति समाजमा हाबी छ । महिलाको चरित्रमाथि नै प्रश्न उठाउने र समस्यालाई ढाकछोप गर्ने प्रवृत्तिलाई समाजबाट अझै हटाउन सकिएको छैन । आत्महत्याका घटनाको पश्चप्रभावलाई अवलोकन गर्दै आइरहेकाहरू महिलाद्वेषी सामाजिक चरित्रप्रति चिन्तित पनि देखिए ।

विभिन्न सङ्घसंस्थाहरूमा विगत १५ वर्षदेखि मनोसामाजिक परामर्शदाताको काम गरिरहेकी अधिकारकर्मी शर्मिला बिसीले भन्नुभयो, “यस विषयमा ठ्याक्कै रिसर्च नै नभए पनि मैले हेरेका महिलाले आत्महत्या गरेका घटनाहरूमध्ये ७० प्रतिशत घटनामा महिलाको चरित्रसँग नै जोडेर हेर्ने गरिएको पाएँ ।”
जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल सुर्खेतको संयोजकसमेत रहेकी शर्मिलाले कर्णालीको सामाजिक मनोविज्ञान जताबाट हेर्दा पनि महिलाद्वेषी नै देखिने गरेको सङ्केत गर्दै यो पनि भन्नुभयो, “महिलाले आत्महत्या गरेका घटनामा मात्र होइन, परिवारले मारेका घटनामा पनि महिला यस्ती थिई, त्यसकारण श्रीमान्ले मारेको हो भन्ने जस्ता कुरा उठ्ने गरेको पाएँ ।” यसबाट पनि स्थानीय महिलालाई ‘उठी सुख न बसी सुख’ को अवस्थामा व्यवहार गर्ने गरिएको कुराको अनुमान गर्न गाह्रो हुँदैन ।
श्रीमान् विदेशमा भएका महिलामाथि घरपरिवारका सदस्यले हिंसा गर्ने, सबै परिवार मिलेर महिलालाई एक्ल्याउने, त्यस्तो अवस्थामा परिवारका सदस्यहरू मिलेर महिलाको हत्यासम्म पनि गरिने र त्यसलाई आत्महत्या भनिने जस्ता घटना हुने गरेको पनि उहाँले बताउनुभयो ।
बालविवाह, सम्बन्धविच्छेद र घरेलु हिंसाको स्थिति
बालविवाह, सम्बन्धविच्छेद र घरेलु हिंसाको स्थितिलाई नियाल्दा कर्णालीको वास्तविकतालाई फरक ढङ्गले बुझ्नुपर्ने हुन आउँछ । भोगाइ, देखाइ, सुनाइ हुँदै संरचनागत माध्यमबाट प्रशोधित तथ्याङ्कसम्म पुग्दा बिचबिचमा तार्किक ढङ्गले सम्याउनै नसकिने खाडल रहेको थाहा हुन्छ । जे जस्तो भए पनि मानिसलाई आत्महत्याको अवस्थासम्म पुर्याउने कारणका रूपमा रहेकाले यी तीन विषयलाई केलाउनैपर्ने हुन्छ ।
बालविवाहको सन्दर्भमा सामान्यतः यो कानुनले तोकेको उमेर नै नपुगी गरिने विवाह हो । विवाहका लागि फरक फरक मुलुकले फरक फरक उमेर तोकेका हुन्छन् । नेपालको सन्दर्भमा न्यूनतम उमेर २० वर्ष तोकिएको छ । केटा वा केटीको उमेर २० वर्षभन्दा कम भए त्यो बालविवाह हुन्छ ।
मुलुकी अपराध संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने, २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुने र त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । हुन २० वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ ।
कर्णाली प्रदेशमा २० वर्ष नपुग्दै विवाह गर्ने दर पुरुषको २९ दशमलब २ प्रतिशत हुँदा महिलाको ५५ दशमलब ६ प्रतिशत रहेको छ । सबैभन्दा धेरै बालविवाह गर्ने उमेर १८ देखि २० वर्षमा देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ लाई उल्लेख गर्दै प्रदेश बाल अधिकार समिति, कर्णाली प्रदेशले कर्णाली प्रदेश बालविवाह हुने प्रदेशको सूचीमा दोस्रो नम्बरमा रहेको उल्लेख गरेको छ । समितिको ‘बालबालिकाको स्थिति प्रतिवेदन २०८१’ का अनुसार, नेपालमा २० देखि २४ वर्ष उमेर समूहका कुल जनसङ्ख्यामा सोही उमेर समूहका विवाहितले १८ वर्ष नपुग्दै विवाह गर्ने दर १४ दशमलब १ प्रतिशत रहँदा कर्णालीमा सो प्रतिशत २१ दशमलब एक प्रतिशत रहेको छ ।
कर्णाली प्रदेशमा २० वर्ष नपुग्दै विवाह गर्ने दर पुरुषको २९ दशमलब २ प्रतिशत हुँदा महिलाको ५५ दशमलब ६ प्रतिशत रहेको छ । सबैभन्दा धेरै बालविवाह गर्ने उमेर १८ देखि २० वर्षमा देखिएको छ । १८ वर्ष नपुग्दै विवाह गर्ने दर २० दशमलब १ प्रतिशत हुँदा २० वर्ष नपुग्दै विवाह हुने दर ४३.६ प्रतिशत रहेको पनि ‘बालबालिका सम्बन्धी स्थिति प्रतिवेदन २०८१’ मा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा कर्णाली प्रदेशमा बालविवाह लगायतका कारणबाट उमेर नपुगी गर्भधारण गर्ने बालिकाको सङ्ख्या ठुलो रहेको पनि उल्लेख गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कको आधारमा हेर्दा उमेर नपुगी गर्भधारण गर्ने २० वर्षमुनिका बालिकाको सङ्ख्या आव २०७८/७९ मा १० हजार १८२, आव २०७९/८० मा आठ हजार ७८४ र आव २०८०/८१ मा आठ हजार २६२ रहेको देखिन्छ । उमेर नपुगी हुने गर्भधारणाबाट विभिन्न शारीरिक तथा मानसिक समस्या उत्पन हुने सम्भावना अधिक रहने पनि प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धविच्छेदको सन्दर्भमा यसले पनि मानसिक स्वास्थ्यमा गम्भीर र प्रतिकूल असर पर्छ । सर्वोच्च अदालतका पछिल्ला वर्षहरूको वार्षिक प्रतिवेदनहरूको अध्ययनबाट अदालतमा पुग्ने मुद्दाहरूमा सम्बन्धविच्छेदसँग सरोकार राख्ने मुद्दा धेरै नै हुने गरेको पाइयो । सर्वोच्चको २०८०/८१ को प्रतिवेदन अनुसार, उक्त आर्थिक वर्षमा सम्बन्धविच्छेदका ४० हजार ३२० मुद्दाको लगत रहेकोमा ३१ हजार ७५२ मुद्दा फछ्र्याैट भयो । आठ हजार ६८ मुद्दाको निर्णय हुन बाँकी रह्यो ।
सर्वोच्चको २०७९/८० को प्रतिवेदनमा उक्त आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दाको लगत ४० हजार १८३ रहेकोमा ३० हजार १३१ को फछ्र्यौट भएको उल्लेख थियो । यसले देशभर नै सम्बन्धविच्छेदको मुद्दा अधिक रहेको देखाउँछ । कर्णाली प्रदेश मात्र अपवाद हुन सक्दैन ।
कर्णालीमा एक वर्षमा औसत आठ सयको हाराहारीमा घरेलु हिंसाका घटना दर्ता भएको देखिन्छ । यो तथ्याङ्कले दर्ता भएका घटनाहरूको सङ्ख्या त बताउँछ तर शारीरिक र मानसिक हिंसाका धेरै घटना प्रहरी ‘रिकर्ड’ मा नै आउँदैनन् ।
घरेलु हिंसाको सन्दर्भमा कुरा गर्दा कर्णालीमा सबैभन्दा कम घरेलु हिंसाको उजुरी दर्ता भएको तथ्याङ्क छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार, आव २०७७/७८ देखि आव २०८१/८२ को अवधिमा नेपालभर ६९ हजार ९६३ घरेलु हिंसाका घटना दर्ता भएका थिए । त्यसमध्ये कर्णाली प्रदेशमा तीन हजार ८६९ घरेलु हिंसाका घटना दर्ता भए ।
उक्त तथ्याङ्कलाई केलाउँदा कर्णालीमा एक वर्षमा औसत आठ सयको हाराहारीमा घरेलु हिंसाका घटना दर्ता भएको देखिन्छ । यो तथ्याङ्कले दर्ता भएका घटनाहरूको सङ्ख्या त बताउँछ तर शारीरिक र मानसिक हिंसाका धेरै घटना प्रहरी ‘रिकर्ड’ मा नै आउँदैनन् । घटना हुनु र घटना दर्ता हुनुका बिचको सामाजिक र संरचनागत तादात्म्य के कस्तो छ, त्यसलाई पनि ध्यानमा राखेर अवस्थाको वास्तविकतालाई बुझ्नुपर्ने हुन्छ ।
आत्महत्या दुरुत्साहन बन्यो दण्डनीय अपराध
विसं २०७५ भदौ १ बाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनमा आत्महत्या दुरुत्साहनसम्बन्धी कानुनी व्यवस्था गरिएको छ । २०७५ सालमा भएको संशोधनबाट ‘मुलुकी अपराध संहिता’ बनेको सो संहिताको १२औँ परिच्छेदको ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ उपदफा (१) मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भन्ने स्पष्ट उल्लेख गरिएको छ । उपदफा (२) मा उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
‘आत्महत्या दुरुत्साहन’ लाई कसुर भनी स्पष्ट उल्लेख गरिएपछि उक्त विषय चासो बढ्न थाल्यो । तत्सम्बन्धी अभियोगमा अनुसन्धान र अभियोजन सिलसिला अगाडि बढेपछि यसले चर्चा र बहसमा स्थान पायो । त्यसअघि महान्यायाधिवक्ताको कार्यालयले २०७२ सालमा आत्महत्या गर्न बाध्य पार्नेलाई अपराध घोषणा गर्नुपर्ने आवश्यकतासम्बन्धी अध्ययन गरेको थियो । ‘आत्महत्या गर्न बाध्य पार्नेलाई अपराध घोषणा गर्नुपर्ने आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदन (२०७२)’ मा ‘आत्महत्या गर्न दुरुत्साहन गर्ने कार्यलाई अपराधीकरण गर्नुपर्ने’ सुझाव दिइएको थियो ।
कानुनमा कारवाहीको व्यवस्था भए पनि आत्महत्या दुरुत्साहनका मुद्दाहरू भने कमै पर्ने गरेको देखिन्छ । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन २०८०/८१ मा देशभरका अदालतमा आव २०८०/८१ मा ६९३ वटा आत्महत्या दुरुत्साहनका मुद्दा दर्ता भएकामध्ये ४२२ वटा फस्र्यौट भएका र २७१ मुद्दाको फैसला हुन बाँकी रहेको उल्लेख छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार, सो आर्थिक वर्षमा आत्महत्याका कुल सात हजार १९४ घटना दर्ता भएका थिए । आत्महत्या गरी मृत्य हुनेहरूमध्ये पुरुष ५६ प्रतिशत, महिला ३३ प्रतिशत, बालिका ८ प्रतिशत र बालक ४ प्रतिशत रहेको नेपाल प्रहरीको तथ्याङ्क थियो । कर्णाली प्रदेशका हकमा यससम्बन्धी कुनै तथ्याङ्क प्राप्त गर्न सकिएन ।
आत्महत्या मानव समाजको विकासमा निकै ठुलो बाधक र व्यङ्ग्य बन्दै गएको छ । व्यक्तिले आफूलाई सिध्याउन गर्ने गरेका घटनाले पारिवारिक मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ ।
आत्महत्या न्यूनीकरणमा केही प्रयास भए पनि यससम्बन्धी बृहत् अध्ययन कहीँ कतैबाट भएको पाइँदैन । मूलतः पेसागत, असमानता तथा विभेदीकरण र परनिर्भरताले आत्महत्याका घटनामा वृद्धि भएको बताउँदै त्यसको रोकथाम र समाजको समानान्तर विकासमा सबै सरकारहरू संवेदनशील भएर लाग्न जानकारहरूले सुझाउँदै आएका छन् ।
आत्महत्या घटाउने विविध उपाय
आत्महत्या कम गर्न विशेषगरी बेरोजगारी र गरिबीको रेखामुनि रहेका व्यक्तिहरूको पहिचान गरी आर्थिक आयआर्जनका कार्यक्रम सञ्चालन गर्न जरुरी देखिन्छ । यस्तै, घरेलु हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न जरुरी देखिन्छ ।
सँगसँगै मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्य सेवा प्रदान गर्नुपर्दछ । उक्त कार्यमा स्थानीय तहदेखि केन्द्र सरकारसम्म लाग्नुपर्ने मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको धारणा थियो ।
मनोचिकित्सक डा. सुशील समदर्शीले मानसिक स्वास्थ्यका विषयमा व्यापक स्तरमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार, सचेतना फैलाउनका लागि स्थानीय सरकारदेखि केन्द्र सरकारले पनि विशेष कार्यक्रम सञ्चालन गर्न जरुरी छ । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने क्रममा महिलाद्वेषी भावनालाई हटाउने विषय पनि प्राथमिकतासाथ समावेश गर्नु अपरिहार्य देखिन्छ ।
नेपाल प्रहरीको ‘आत्महत्याको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन’ (२०८१ असार) मा समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाको स्तर अभिवृद्धि गर्दै मनोरोगबाट पीडित नागरिकहरूलाई उपचार गराउने प्रणालीको विकास गर्नु जरुरी रहेको उल्लेख गरिएको छ । सो अध्ययन प्रतिवेदनमा ‘घरेलु हिंसा, लागुऔषध सेवन, मादक पदार्थ सेवन, जबरजस्ती करणी, गम्भीर यौन उत्पीडन आदि कारणले समेत मानिसहरू आत्महत्या उन्मुख भइरहेको पाइएकोले यस्ता किसिमका सामाजिक विकृति र अपराध रोकथाम गर्न सबै जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयहरूले विशेष सक्रियता देखाई सचेतनामूलक तथा नियन्त्रणमुखी कार्यक्रमहरू सञ्चालन’ गर्नुपर्ने कुरा छ ।
साथै, ‘मनोरोग र मानसिक तनाव नै आत्महत्याको प्रमुख कारण रहेको हुँदा वडा स्तरमा गठन हुने समितिहरूले घरदैलो कार्यक्रम गरी मनोरोगीहरूको पहिचान गरी उपचार तथा परामर्शमा ल्याउन व्यवस्था मिलाउने र सोको अभिलेख जिल्ला प्रहरी परिसर/कार्यालयले अनिवार्य राख्ने’ सुझाव सो अध्ययन प्रतिवेदनमा दिइएको छ । कर्णाली प्रदेशका सन्दर्भमा पनि यी सुझावहरू सान्दर्भिक छन् ।

पछिल्लो समय कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गर्न थालेको पाइयो । यस सन्दर्भमा प्रदेशको सामाजिक विकास मन्त्रालयका मानसिक स्वास्थ्य फोकल पर्सन खगेन्द्र गैरेले प्रदेशमा विभिन्न स्वास्थ्यकर्मी, स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्यका विभिन्न चरणका तालिमको व्यवस्था गरिएको बताउनुुभयो । खगेन्द्रले भन्नभुयो, “अहिले विशेषगरी सचेतना अभिवृद्धिको पाटोलाई जोड दिएका छौँ । प्रदेश सरकारले बजेट समेत छुट्ट्याएको छ ।” तर, सामान्य तालिमका कार्यक्रमहरू सञ्चालन गर्नुभन्दा समस्याको गम्भीरता, वास्तविकता र त्यसको जरो पहिचान गरी हस्तक्षेपकारी उपायहरू अपनाइनुपर्नेमा सरोकारवालाहरूको जोड थियो ।
कर्णाली प्रदेशको ‘बालबालिका सम्बन्धी स्थिति प्रतिवेदन २०८१’ मा प्रदेशमा सञ्चालनमा रहेका तीन वटा बाल हेल्पलाइन सेवाको विवरण अनुसार आव २०८०/८१ मा ५१ वटा बालविवाहका घटनाहरू रोकथाम गरिएको उल्लेख छ । तर, नेपाल प्रहरीको आव २०८०/८१ को वार्षिक तथ्यपत्रमा कर्णाली प्रदेशमा जम्मा दुई वटा बालविवाहका मुद्दा दर्ता भएको उल्लेख छ । समितिको स्थिति प्रतिवेदनमा उल्लिखित ‘यस्ता घटनाहरूको अनिवार्य सूचना दिनुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयनका लागि थप पहल गर्नुपर्ने’ पाटोलाई पनि सरोकारवालाहरूले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने देखिन्छ ।
‘घरेलु हिंसाको कारण कर्णालीमा डरलाग्दो आत्महत्या’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत लक्ष्मी भण्डारीले तयार गर्नुभएको हो ।
आवरण तस्विर: सुर्खेत गुर्भाकोट नगरपालिका पिप्लेकी माया कठायतले एक छोरी र एक छोरासहित भेरी नदीमा हाम फोलेको खबरपछि खोजीका क्रममा प्रहरी तथा आफन्त र स्थानीय तथा मायाले छोडेको सामान । चैत १ गते भएको घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमानको कुटपिटका कारण दुई सन्तानसहित नदीमा हाम फालेको प्रहरीको भनाइ छ ।
तस्विर सौजन्य: नगेन्द्र उपाध्याय/सुर्खेत
प्रकाशन मिति : २०८२ चैत्र ५ गते, बिहिवार
सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू
- कालापहाडका भीरमा महिलाहरूको श्रम र जीवन सङ्घर्ष
- तलाक – तलाक – तलाक कुरआनको आदेशविपरीत सामाजिक परिवेश
- वैदेशिक रोजगारीले एकल बनाएका महिलाको सङ्घर्ष
- चोरी विवाहमा बाँधिएका तामाङ महिलाका जीवनभोगाइ
- बहुपतिप्रथामा महिलाको अवस्थालाई परबाट नियाल्न खोज्दा
- विवाहपछि महिलाको बहुपक्षीय विस्थापन र असर
- भिक्षा, गाली र अपमानको चक्रमा नेटुवा समुदायका महिला
- कर्णालीको राजनीतिमा दलित महिला
- आदिवासी जनजाति अपाङ्गता भएका महिलाका तहतहका सङ्घर्ष
- राजनीतिमा थारू महिलाको सहभागिता र अवस्था
- माओवादी सशस्त्र सङ्घर्षमा दलित महिलाको सहभागिता र योगदान
- सम्बन्धको सकस तोडेपछिका समस्या सम्बोधन गर्नै बाँकी
- विराटनगर मजदुर आन्दोलन : महिला सहभागिताको अदृश्य इतिहास
- अनलाइन हिंसाको चुनौतीमा अधिकारकर्मीहरू





