विवाहपछि महिलाको बहुपक्षीय विस्थापन र असर

Share this :

– प्रज्ञा दाहाल

विवाह एउटा सामाजिक बन्धन हो । यो परापूर्वकालदेखि चल्दै आएको परम्परा हो, जसमा प्रायगरी एक महिला र पुरुषबिच वैवाहिक सम्बन्ध कायम हुन्छ । यो सामाजिक रीतिथिती र धार्मिक विधिअनुसार हुने गर्दछ । जस्तै; हिन्दु परम्पराअन्तर्गत परापूर्वकालमा पनि विष्णुलक्ष्मी, शिवपार्वती, ब्रह्मासरस्वती, रामसीता, कृष्णरुक्मिणी आदि जोडीहरूको नाम उल्लेख्य हुन जान्छ ।

विवाह बन्धनमा बाँधिएका जोडीहरूबाट असल र सद्चरित्रको जग बसेको खण्डमा जन्मने सन्तानहरू पनि सोहीअनुरूप असल जन्मने मान्यता पनि व्याप्त छ । हिन्दू परम्परा अनुसार वैवाहिक स्थिति र मान्नुपर्ने नीति नियमहरूका प्रारूप मनुस्मृति, अग्निपुराण, विष्णुपुराण, गरुडपुराण आदि हुन् । यी ग्रन्थहरूमा त्यसको व्याख्यात्मक वर्णन पाइन्छ । तिनमा मागी विवाह, प्रेम विवाह, गन्धर्व विवाह, आसुरी विवाह आदि विभिन्न प्रकारका विवाहबारे बयान गरेको पनि पाइन्छ ।

विवाहलाई एक अत्यन्त महत्त्वपूर्ण सामाजिक संस्थाका रूपमा व्याख्या गरेका वरिष्ठ समाजशास्त्री इमाइल दुर्खिम (सन् १८५८–१९१७) का अनुसार, विवाहको बन्धनमा बाँधिएका पुरुषहरूमा आत्महत्या प्रयासको दर अविवाहितहरूमा भन्दा कम हुन्छ र विवाहले पुरुषहरूलाई अनुशासित राख्न मद्दत गर्दछ । विवाहले कुनै पनि व्यक्तिलाई स्थिरता र सामाजिक एकताको डोरीमा कस्ने विश्वासमा रहेका दुर्खिमको विचारमा विवाहको सम्बन्ध दुई व्यक्तिबिचको सम्झौता हुनाका साथै यो नैतिक र सामाजिक नीति नियमहरू लागु गर्ने एक अति व्यक्तिगत संस्था पनि हो ।

नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरूमा विवाह जस्ता संरचनाका कारण कुनै पनि व्यक्तिलाई आफू जन्मिए हुर्किएको परिवेशबाट अलग्याउने वा खण्डित गरिने प्रचलनलाई नै यस आलेखमा ‘विस्थापन’ को संज्ञा दिइएको छ ।

विवाह परम्पराले मानव जोसलाई नियमन गर्न र आत्महत्या जस्ता व्यवहारलाई कम गर्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, विवाहको सामाजिक र कानुनी संरचनाहरूको कमजोरीका कारण विशेषगरीे सम्बन्धविच्छेद हुने गरेको र सम्बन्धविच्छेदले सामाजिक विघटन निम्त्याएको विश्वास दुर्खिमको थियो ।

यस आलेखमा दुर्खिम जस्ता समाजशास्त्री र मानवशास्त्रीहरूले प्रतिपादन गरेका विचारधारा हुन् वा धार्मिक ग्रन्थहरूले व्याख्या गरेका विवाहलगायतका सामाजिक संस्थाहरूका नीति नियम एवं सञ्चालनका विधिहरू हुन्, ती हालको अवस्थामा समयसापेक्ष हुन नसकेको, यस्ता संस्थाहरूले आजभोलिको पुस्तालाई झनै कुण्ठित पारेको र महिलाको जीवनमा बहुपक्षीय विस्थापनको समस्यालाई निम्त्याएको पुष्टि गर्ने जमर्को गरिएको छ ।

प्रस्तुतिका सन्दर्भमा सञ्चारमाध्यममा आफ्नो नामसहित सार्वजनिक हुन नचाहेका तर अनुसन्धानका क्रममा खुलेर आफ्ना कुरा राखेका महिला पात्रलाई सङ्केत नामसहित कुराकानी भएका बेलाको उमेर दिइएको छ । यस आलेखमा ललितपुर जिल्लाका चार जना महिला पात्रले विवाहपछि भोगेका विस्थापन र त्यसले पारेको असरसम्बन्धी प्रतिनिधि कथालाई पनि समेटिएको छ ।

विवाह परम्परा र मूलभूत मान्यता

समाजशास्त्री र मानवशास्त्रीहरूका खोजका आधारमा भन्नुपर्दा विवाह परम्परा झन्डै एक लाख वर्ष पुरानो छ । इतिहासविद् गर्डा लर्नरका अनुसार, विवाह तथा लैङ्गिक भूमिकामा आएको रूपान्तरण पनि आफैँमा एक ऐतिहासिक सिर्जना हो र यो कुनै अनिवार्य वा प्राकृतिक व्यवस्था होइन, जुन मानिसहरूले जन्मजात ल्याउँछन् ।

विवाहसँग जोडिएका संस्कारहरूले पनि मानिसहरूलाई सामाजिक नीति नियमहरूको बन्धनमा राख्ने काम गर्दछन् । यी नीति नियमहरू विशेषगरी पितृसत्तात्मक विचारधाराबाट अभिप्रेरित छन् ।

यो त समाजद्वारा निर्मित प्रणाली वा व्यवस्था हो, जसले मानवीय व्यवहारहरूलाई नियमन गर्ने गर्दछ । विवाहसँग जोडिएका संस्कारहरूले पनि मानिसहरूलाई सामाजिक नीति नियमहरूको बन्धनमा राख्ने काम गर्दछन् । यी नीति नियमहरू विशेषगरी पितृसत्तात्मक विचारधाराबाट अभिप्रेरित छन् ।

‘विस्थापन’ शब्दले परिचित परिवेश, सन्दर्भ वा अवस्थाबाट कुनै पनि व्यक्तिलाई अलग्याउनु, हटाउनु वा पन्छाउनु भन्ने बुझाउँछ । नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरूमा विवाह जस्ता संरचनाका कारण कुनै पनि व्यक्तिलाई आफू जन्मिए हुर्किएको परिवेशबाट अलग्याउने वा खण्डित गरिने प्रचलनलाई नै यस आलेखमा ‘विस्थापन’ को संज्ञा दिइएको छ । मानवशास्त्री लिसा माल्क्कीका अनुसार, विस्थापन भौतिक तहमा उखेलिनु मात्र होइन, पहिचान र सम्बन्धबोधमा गहिरो अवरोध हुुनु पनि हो ।

विवाह एउटा फरक परिवेश, संस्कृति र रहनसहनमा हुर्किएको व्यक्तिले भनेजस्तो जीवनसाथी पाउने र उसैसँग आफ्नो बाँकी जीवन जिउने रमाइलो यात्रा मात्र नभई एक प्रकारको सौदाबाजी वा जीवनकै जुवा पनि हो र यसले विशेषगरी महिलालाई विभिन्न पक्षबाट विस्थापित पनि गर्दछ ।

अमेरिकी समाजशास्त्री जर्ज सी. होमन्स् (सन् १९१०–१९८९) द्वारा सन् १९५८ मा प्रतिपादित र पिटर एम्. ब्लाउ (सन् १९१८–२००२) द्वारा सन् १९६४ मा विस्तारित सामाजिक आदानप्रदानको सिद्धान्तले मानिसका सामाजिक सम्बन्धहरू लाभ र खर्चको आदानप्रदानमा आधारित हुन्छ भन्ने पुष्टि गरेको छ । होमन्स् र ब्लाउ अनुसार, सामाजिक आदानप्रदानको सिद्धान्तले मानव सम्बन्धलाई लागत–लाभ विश्लेषणमा आधारित ठान्छ । यस सिद्धान्तको मुख्य मान्यता छ– मानव व्यवहार र सम्बन्धहरू लागत–लाभ विश्लेषण र पारस्परिकतामा आधारित हुन्छन्; विवाहपश्चात् महिलाहरूले आफ्नो घर, परिवार र सामाजिक पहिचानको मूल्य तिर्ने गर्छन्; त्यसको सट्टामा उनीहरूले सुरक्षा, माया र सामाजिक स्वीकार्यता जस्ता इनामको अपेक्षा गर्ने गर्दछन् ।

विवाहपछि महिलाले गर्ने जति त्याग कुनै पनि पुरुषले गर्दैन र गर्नुपरेको पनि छैन । सबैभन्दा महत्त्वपूर्ण त महिलाले विवाहअघिको पितातर्फको नाम, थर, गोत्र आदि सम्पूर्ण पहिचान विवाहसँगै तिलाञ्जली दिनुपर्ने हुन्छ र आफ्नो पतिको घर सम्हाल्दै परिवारको सिर्जना गर्ने र सामाजिक पहिचान धान्ने काम पनि गनुपर्ने हुन्छ ।

विवाहपश्चात् विस्थापन एक प्रकारको सामाजिक आदानप्रदान प्रक्रिया हो जहाँ तुलनात्मकरूपमा पुरुष र अन्य तेस्रोलिङ्गीभन्दा महिलाहरूले उच्च लागत तिर्ने गर्दछन् ।

नेपालको सन्दर्भमा त विवाहकै क्रममा पनि दाइजोको बोझले झन् धेरै नेपाली महिलाहरू र उनीहरूका पिता पक्षका परिवार थिचिएका र पिल्सिएका हुन्छन् । यति धेरै योगदान एक महिलाको पक्षबाट विवाहका निमित्त भइसकेपछि उक्त महिलाले पनि आफ्नो पतिको पक्षबाट श्रीमतीको रूपमा र पतिका परिवारको पक्षबाट नातासम्बन्धको यथोचित कदर, माया, सुरक्षा र सामाजिक स्वीकार्यता जस्ता इनामको अपेक्षा गर्नु स्वाभाविक नै हो ।

मानिसका हरेक सम्बन्ध तर्कसङ्गत आदानप्रदानमा आधारित हुन्छन्, चाहे त्यो कुनै आमा र उनका सन्तानबिचकै सम्बन्ध नै किन नहोस् ।

विवाहपश्चात् विस्थापन एक प्रकारको सामाजिक आदानप्रदान प्रक्रिया हो जहाँ तुलनात्मकरूपमा पुरुष र अन्य तेस्रोलिङ्गीभन्दा महिलाहरूले उच्च लागत तिर्ने गर्दछन् । यी सम्बन्धहरूमा सन्तुष्टि तब हुन्छ जब हरेक किसिमका आदानप्रदान बराबरी वा बढी हुन्छ । यस सिद्धान्तले विवाहमा हुने असमानता, लैङ्गिक विभेद र विवाहितमा पर्न जाने मनोवैज्ञानिक असरहरूको अध्ययनका लागि मार्गनिर्देश गर्दछ । यस आलेखका क्रममा लिइएका अन्तर्वार्तामध्येको एक अन्तर्वार्तामार्फत यस धारणालाई पुष्टि पनि गरिएको छ ।

सामाजिक मान्यताका आधारमा सबै महिला विवाहपछि श्रीमान्‌सँग वा श्रीमान्‌कै घरपरिवारसँग बस्नुपर्ने बाध्यात्मक अवस्था छ, चाहे त्यो जति नै टाढा किन नहोस् । अन्तर्देशीय नै भए पनि महिलाले यस्तो अवस्थालाई झेल्नुपर्ने हुन्छ, जुन कुरा पुरुषमा लागु हुँदैन ।

सामाजिक आदानप्रदानको सिद्धान्तका आधारमा मानव व्यवहार र सम्बन्धहरू लागत–लाभ विश्लेषण र पारस्परिकतामा आधारित हुन्छन् भन्ने तथ्यलाई मान्ने हो भने पनि धेरैजसो महिलाहरू वैवाहिक सम्बन्धमा लागत लगाउने, लगानी गर्ने तर लाभ प्राप्त गर्नै नपाउने अवस्थामा धकेलिएको धकेलिएकै हुनुपर्ने कारणले पनि विस्थापित महसुस गर्नु स्वाभाविक नै हो ।

सामाजिक, सांस्कृतिक र परम्परागत विस्थापन

विवाहपश्चात् पुरुष र तेस्रोलिङ्गी व्यक्तिका तुलनामा महिलाहरूले आफ्नो सामाजिक सम्बन्ध, घरपरिवार र एक विवाहित स्त्रीका रूपमा ठुलो परिवर्तन महसुस गर्ने गर्दछन् । विवाह भएपछि श्रीमान्‌काे घर जानुपर्ने, आफ्नो परिवार र जन्मेहुर्केको थलोबाट टाढा रहनुपर्ने बाध्यता र समाजले अनुमति नदिने भएरै पनि कतिपय महिलाहरू आफू जन्मेको घरपरिवारबाट विस्थापित हुन पुगेको महसुस गर्ने गर्दछन् । सामाजिक मान्यताका आधारमा सबै महिला विवाहपछि श्रीमान्‌सँग वा श्रीमान्‌कै घरपरिवारसँग बस्नुपर्ने बाध्यात्मक अवस्था छ, चाहे त्यो जति नै टाढा किन नहोस् । अन्तर्देशीय नै भए पनि महिलाले यस्तो अवस्थालाई झेल्नुपर्ने हुन्छ, जुन कुरा पुरुषमा लागु हुँदैन ।

विवाहपछि कुनै पुरुष श्रीमतीको परिवारसँग बस्न गएमा समाजले उसलाई हेयको दृष्टिले हेर्ने, घरज्वाइँ र जोईटिङ्ग्रेको संज्ञा दिएर अपमानित गर्ने गरेको छ । यसबाट त्यस्ता पुरुषहरूको पुरुषत्वमाथि नै प्रश्नचिह्न खडा हुने र पुरुषको अहङ्कार (मेल इगो) मा ठेस पुग्ने गर्दछ । त्यसमाथि अन्तर्जातीय विवाहले झनै ठुलो खाडलको सिर्जना गर्ने गरेको छ । यसले पनि विवाहपछि महिलाहरूले सामाजिक र भूमिकागत विस्थापन भोग्ने गर्दछन् । आफ्नै पहिचान र पारिवारिक सञ्जालबाट टाढा हुनुपर्ने बाध्यता पनि महसुस गर्दछन् ।

विवाह व्यक्तिगत सम्बन्ध मात्र नभई सांस्कृतिक पुनर्संरचना पनि हो । यसले कुनै व्यक्तिको सामाजिक, सांस्कृतिक, परम्परागत आदि विभिन्न मूल्यमान्यतालाई निरन्तरता दिने काम गर्दछ । सोही क्रममा कुनै एक व्यक्तिको नाम, थर, गोत्र, रीतिथिती, चालचलन, रहनसहन आदिलाई मेटाएर नयाँ स्वरूप दिने काम पनि गर्दछ । अनुसन्धानका क्रममा प्रायः सबै महिला उत्तरदाताहरूले विवाहपछि आफ्नो पहिचान, नाम, गोत्र, स्वादलगायत थुप्रै कुरामा आफूलाई परिवर्तन गर्नुपर्ने बाध्यता भोग्नुपरेको पनि बताएका थिए ।

ललितपुर–२७ ले अन्तर्जातीय विवाहले निम्त्याएको पेन्डुलमको जिन्दगी भोग्दै आएको पाइयो । अरू कसैको जग्गामा बनाइएको जस्ताको टहरामा आफ्नी ११ वर्षीया छोरी र अविवाहिता नन्दसँग बस्दै आएकी उहाँले आफू तथाकथित माथिल्लो जातमा जन्मिएकी भए पनि १३ वर्षको उमेरमा परियार थरको केटासँग भागेर विवाह गरेको बताउनुभयो । आजसम्म उहाँलाई न त घरपट्टिका परिवारले न त आफ्नै आमाबुबा र माइतीपट्टिका परिवारले स्विकारेको पाइयो । उहाँले आफ्नो श्रीमान्‌सँगको प्रेममा, आफ्नो लाउँलाउँ खाउँखाउँ उमेर, आफ्नो परिवारसँगको रगतको नाता र आफ्नो जीवनका सम्पूर्ण रहरहरूको तिलाञ्जली दिएर बस्ने गरेको पाइयो ।

केही समयअघि दाजुको छोरीले आफूलाई भेट्न आएको थाहा पाएर भाउजूले आफूलाई भनेका वचनले ललितपुर (उमेर नखुलेकी) लाई नराम्ररी घोच्यो । ‘यदि मेरी छोरीले ‘तल्लो जात’ सँग बिहे गरी भने आफ्नो श्रीमान् मर्दा पनि सेतो लुगा नलगाउँला तर त्यस्तो बिहे गरी भने छोरीको बिहेमा लाउँछु’ भनेर गाउँमा बोल्दै हिँडेकीले आफूलाई भाउजूसँग निकै चित्त दुखेको र त्यो कुरा आफूले कहिल्यै बिर्सन नसक्ने उहाँको भनाइ थियो ।

घरको एक्लो पुरुष, उहाँका श्रीमान् चार वर्षअघि परिवारको जिम्मेवारी सम्हाल्न साउदी जानुभयो । उहाँ अझै उतै रहेको र यसबिचमा यता श्रीमान्‌काे परिवारले आफूलाई देवाली पूजामा समावेश नगराएको, गर्भवती अवस्थामा परिवारको साथ नपाएर छोरीलाई बाटैमा जन्माएको जस्ता घटना उहाँले सम्झनुभयो र त्यस्ता घटनाले आफूलाई दुःखी बनाउने गरेको बताउनुभयो ।

भौगोलिक विस्थापन

विवाहपछि हुने भौगोलिक विस्थापनले शारीरिक र भावनात्मक स्थानान्तरणलाई जनाउँछ । वैवाहिक दायित्व वा परम्पराका कारण व्यक्ति आफ्नो परिचित घरको वातावरणबाट नयाँ ठाउँमा सर्नुपर्ने स्थिति नै भौगोलिक विस्थापन हो । विशेषगरी पितृसत्तात्मक प्रणाली पछ्याउने धेरै समाजमा, महिलाहरू प्रायः आफ्नो पतिको परिवारसँग बस्न आफ्नो आमाबाबुको घर छोड्छन् । त्यसो गर्नैपर्ने परिस्थितिले गर्दा उनीहरू सांस्कृतिक, सामाजिक र भावनात्मकरूपमा नयाँ परिवेश र परिवारमा घुलमिल हुने प्रयासमा तत्पर हुन्छन् । यो प्रक्रियाबाट आफूलाई अघि बढाउन खोज्दै गर्दा नवविवाहिता महिलाहरू एक्लोपन, माइतीघरको याद र पहिचान गुमाएको जस्ता भावनाहरूबाट गुज्रिन पुग्छन् । विवाहपछि महिला तथा पुरुषहरू नयाँ बोलीचाली, चालचलन र पारिवारिक अपेक्षाहरूमा अनुकूलित हुन प्रयासरत हुने क्रममा मनभित्र त्यस्तो भावनाले बेला बेलामा टाउको उठाउन पनि खोज्छ ।

अनुसन्धानका क्रममा भेटिएका कतिपय महिलाले नयाँ परिवार र भूमिकामार्फत प्राप्त गरेका नयाँ सांस्कृतिक र पारिवारिक जिम्मेवारीले गर्दा व्यक्तिगत लक्ष्य साधनामा कमी हुन गएको अनुभव गरेको बताए ।

यद्यपि, यसले व्यक्तिगत वृद्धि, लचिलोपन र अनुकूलनशीलतालाई पनि बढावा दिनसक्छ । व्यक्तिले नयाँ सामाजिक सम्बन्धका सञ्जालहरू निर्माण गर्दै गर्दा नयाँ वातावरणमा आफ्नोपनको भावनालाई पनि विकास गर्न सक्छ । जे जस्तो भए पनि यो प्रक्रिया सुरुको चरणमा चुनौतीपूर्ण नै हुन सक्छ । विवाहपछि भौगोलिक विस्थापन महिलाका लागि प्रायः एक परिवर्तनकारी अनुभव बन्छ । यसले घर, पहिचान र सम्बन्धहरूको बुझाइलाई पुनः आकार दिन्छ ।

अनुसन्धानका क्रममा भेटिएका कतिपय महिलाले नयाँ परिवार र भूमिकामार्फत प्राप्त गरेका नयाँ सांस्कृतिक र पारिवारिक जिम्मेवारीले गर्दा व्यक्तिगत लक्ष्य साधनामा कमी हुन गएको अनुभव गरेको बताए । यसले विवाहपछि हुने स्थानान्तरण भौगोलिक मात्र नभई सामाजिक र आर्थिक विस्थापन पनि हो भन्ने कुरालाई पनि पुष्टि गरेको छ ।

भारतको आसामबाट २०६५ सालमा नेपाल घुम्न आएकी ललितपुर–४० पाँच वर्ष यतै बस्नुभयो । रहँदा बस्दा ललितपुर जिल्लाका एक क्षत्रीय पुरुषसँग २०७० सालमा उहाँको विवाह भयो । उहाँले विवाह भएको १२ वर्ष गृहिणी भएरै बिताएको बताउनुभयो । यसबिचमा एक पटकभन्दा बढी आफ्नो गृहनगर जाने मौका पनि पाउनु भएन । माइत जान चार दिन लाग्ने र साना साना बच्चाहरू लिएर कसरी जाने भन्ने उहाँको प्रश्न पनि थियो ।

“एउटै कुराले साह्रै पछुतो लाग्ने गर्दछ । उतै भएको भए हेर्न पाउँथेँ । कति नजिकका आफन्त बित्नुभयो । बुबाआमा बिरामी हुँदा जान पाइँदैन । साह्रै नरमाइलो लाग्छ,” ललितपुर–४० ले भन्नुभयो । केही वर्षयता सञ्चार प्रविधिमा भएको विकासका कारण भने उहाँलाई अलि सहज लागेको रहेछ । उहाँले भन्नुभयो, “धन्न, अहिले त मोबाइल भएको भएर निकै सहज छ । भिडियो कल गर्न पाइन्छ । गइहालुम् न भन्ने हुन्न ।”

ललितपुर–४० का अनुसार, विवाह भएपछि उहाँले निकै एक्लो महसुस गर्नुभयो । वरपर सबैतिर हेर्दा मकैबारी मात्र देखिन्थ्यो । नजिकै अरू घरहरू थिएनन् । उहाँलाई कहाँबाट कहाँ आएँ जस्तो लाग्थ्यो, हालको ठेचो ११ हो घर भएको ठाउँ । थोरै मात्र बस्ती थियो, दिउँसै स्याल कराउने, डरलाग्दो थियो । यद्यपि, नन्दसँगको निकटता र मित्रताले गर्दा उहाँको नियास्रो कम भएको रहेछ । “धन्न, नन्द साथी जस्तै उमेरको भएर भेट्न आउनुहुन्थ्यो र कुरा राख्न पाउथेँ,” उहाँले यो पनि भन्नुभयो, “सबैका नन्द आमाजू कहाँ त्यस्ता हुन्छन् र ?”

श्रीमान् गाडी चालक रहेको बताउँदै ललितपुर–४० ले भन्नुभयो, “उहाँले मलाई माया गर्ने भएको भएर केही काम गर्न नजाऊ भन्नुहुन्छ । घरमै बुनाइको अर्डर आउने गर्दछ । एउटा अर्डर सकेबापत पैँतीस सय, तीन हजार कमाउने गर्दछु । बुन्ने काम पनि यतै आएर सिकेको हुँ । कहिलेकाहीँ पसल खोलेर बस्न मन लाग्छ ।” कक्षा ११ सम्म पढेकी उहाँलाई आसाममै ठुलोबाबाका छोरीहरूले खोलेको बोर्डिङ स्कुलमा गएर पढाउने ‘अफर’ पनि आएको थियो ।

नेपाल आउनु र बिहे हुनुअघिको कुरा सम्झँदै ललितपुर–४० ले आफ्नो उमेरका सबै साथीले प्रायः उतै पढाउने गरेको बताउँदै भन्नुभयो, “तर, यता पढाइ मिले पनि सर्टिफिकेट मिलेन’, मैले उता पढेको भएर यता प्रायः मेरो सर्टिफिकेटको मान्यता नै हुँदैन ।” नेपाल आएर बिहे भएपछि उहाँलाई आफ्नो पहिलेको सबै कुरा डामाडोल भएको महसुस हुँदै गयो । “घरको मान्छे पनि नराम्रो भएको भए खत्तम हुनेथ्यो,” उहाँले भन्नुभयो ।

विवाह हुनुअघि नेपाल घुम्न आएकी ललितपुर–४० दाजुको पसलमा बस्नुहुन्थ्यो । स्थानीय भाषा नजान्नाले पसलको काम गर्नबाट वञ्चित हुनुपर्‍यो र विस्थापन भोग्नुपर्‍यो । नेपाली बोल्न नजान्दा पसलमा आएका धेरैले बोलीचालीलाई लिएर आफ्नो खेदो खनेको भन्दै उहाँले थप्नुभयो, “अहिल्यै पनि घरको मान्छेले केही भन्दा कहाँ जाउँ जस्तो लाग्छ । दुःख भएको भए त अझै मर्नु न गर्नु हुन्थ्यो होला ।”

धेरैजसो नेपाली विवाहहरूले पितृसत्तात्मक ढाँचा पछ्याउँछन् । ती ढाँचामा महिलाहरू प्रायः आफ्नो आयको स्रोत, सम्पत्ति अधिकार र सामाजिक सम्बन्धको सञ्जाल छोडेर आफ्नो पतिको घर र ठाउँमा सर्छन् ।

विवाहकै कारण भौगोलिक दृष्टिले विस्थापित भएका अधिकांश महिलाको अवस्था निकै दयनीय छ । सामाजिक आदानप्रदानको सिद्धान्तमा पनि विस्थापनपछि जब सुख, सन्तुष्टि र समर्थन प्राप्ति जस्ता अपेक्षित इनाम हासिल हुन सक्दैन तब वैकल्पिक अवस्थाको कल्पना गर्न थालिने उल्लेख छ । त्यो वैकल्पिक अवस्था भनेको अरू केही नभई आफ्नै जन्मस्थानमा बस्न पाएको भए म बढी सन्तुष्ट हुने थिएँ कि भन्ने सोचबाटै पर्नजाने मनोवैज्ञानिक र भावनात्मक असर पनि हो । यसलाई सिद्धान्तको भाषामा विकल्पहरूका लागि तुलना स्तर (कम्पारिजन लेभल फर अल्टर्नेटिभ्स) भनिन्छ । त्यति मात्र नभई त्यस्तो व्यक्तिले आफ्नो सम्बन्धलाई विगतका अनुभव र सामाजिक मान्यतासँग तुलना गर्छ र आफूलाई रिक्त र ठगिएको महसुस गर्ने गर्दछ ।

आर्थिक विस्थापन

दक्षिण एसिया, विशेषगरी नेपालका सन्दर्भमा, विवाहपछिको आर्थिक विस्थापन खासगरी परम्परागत, लैङ्गिक भूमिका, नाता प्रणाली र सामाजिक अपेक्षाहरूसँग नजिकबाट जोडिएको छ । धेरैजसो नेपाली विवाहहरूले पितृसत्तात्मक ढाँचा पछ्याउँछन् । ती ढाँचामा महिलाहरू प्रायः आफ्नो आयको स्रोत, सम्पत्ति अधिकार र सामाजिक सम्बन्धको सञ्जाल छोडेर आफ्नो पतिको घर र ठाउँमा सर्छन् । यो स्थानान्तरणले महिलाको आर्थिक स्वतन्त्रतालाई बढी नै घटाउन र नियन्त्रण गर्न सक्छ । किनकि, उनीहरूले तलबयुक्त श्रमभन्दा घरपरिवार र हेरचाहसँग सम्बन्धित कर्तव्यहरूलाई निर्वाह गर्नमा प्राथमिकता दिने अपेक्षा गरिन्छ ।

धेरैजसो महिलाले, विशेषगरी ग्रामीण क्षेत्रहरूमा, आफ्नो जन्मघरमा उपलब्ध जग्गा, रोजगारीका अवसर आदिमा रहेको पहुँच गुमाउँछन् । पुरुषहरूले भने सामान्यतया परिचित वातावरणमा रहेर, पारिवारिक सम्पत्ति उत्तराधिकारमै प्राप्त गरेर आर्थिक स्थिरता कायम राख्छन् । सहरी र आप्रवासनका सन्दर्भमा, विवाहपछि विदेश वा कुनै सहरमा सर्ने महिलाहरूले भाषा, शिक्षा र सामाजिक प्रतिबन्धका कारण उपयुक्त काम खोज्ने बेलामै अवरोधहरूको सामना गर्न सक्छन् । पुरुषमा यो हदको अवरोध हुँदैन ।

पुरुषहरूको आर्थिक विस्थापन अपेक्षाकृत दुर्लभ छ र सामान्यतया स्वैच्छिक छ । यो श्रम बसाइँसराइ र अन्तर्जातीय विवाहसँग पनि जोडिएको छ । यसरी, नेपालमा विवाहपछिको आर्थिक विस्थापनले व्यापक पितृसत्तात्मक संरचनाहरूलाई प्रतिबिम्बित गर्दछ । यो गतिशीलता महिलाहरूको सन्दर्भमा निर्भरता र समायोजनसँग सम्बन्धित छ भने पुरुषहरूको सन्दर्भ प्रायः नियन्त्रण, अवसर र आर्थिक निरन्तरतासँग जोडिएको छ ।

झन्डै १० वर्षयता ललितपुर–४३ आफ्नी विवाहित छोरी र छोरीकै परिवारसँग खुसीखुसी बस्दै आएको बताउनुभयो । खजुरी फ्याक्ट्रीमा काम गर्ने उहाँको सारभूत बुझाइ हो– काम गर्दा र नगर्दा मान्छेले महिलालाई हेर्ने नजर नै बेग्लै हुन्छ । “ललितपुरमा हुर्केको मान्छे खानीखोला विवाह भयो । गाडीबाट ओर्लेर पनि १ घण्टा हिँड्नुपथ्र्यो । खर्च हुँदासम्म हो । खर्च पुग्दा कहिले आउन पाइन्थ्यो तर भ्याएसम्म मात्रै । दिनभरि मेला जाँदासमेत जम्मा ४० रुपैयाँ हुन्थ्यो र चाडबाडमा समेत माइत आउन पाइन्नथ्यो,” उहाँले भन्नुभयो ।

“दुःखसुख गरेर त खाइन्थ्यो नै तर आफ्नो भन्ने मान्छे नै राम्रो व्यवहार नगर्ने, रक्सी खाएर कुटपिट गर्ने भएपछि हतोत्साहित भएँ । कुटाइ खाएर बस्न सक्दिनँ । कि मर्छु कि बाँच्छु भनेर दुइटै छोरीलाई च्यापेर घरबाट हिँडेँ,” उहाँले विगत सम्झँदै यो पनि भन्नुभयो, “घरको खम्बा नै गतिलो परेन । उसले साथ दिएको भए सायद जे पनि गर्न सक्थेँ । छोरी पाउने बेलामा बेथा लाग्दासमेत कपाल मुखमा हाल भनेर सिकाए । पाठेघर नझरोस् भनेर कुट्टोको बीँड सालमा बाँधिदिए, नत्र पाठेघर नै झर्न लागेको थियो । त्यस्तो अवस्थामा अरूले दया गरेर अस्पताल पुर्‍याउँदा पनि श्रीमान् मदिरापान गरेर अचेत अवस्थामा अस्पताल पुगेका थिए ।”

परेका बेलामा साथ नदिने श्रीमान् छाडिसकेपछि ललितपुर–४३ लाई समाजमा त्यस्तै व्यक्तिले गिद्धेदृष्टि लगाउने र फकाउने प्रयास गरे । “अहिले कहिँ कतै लोग्नेले छोडेकी महिला, आज एकरात बिताउन जाम समेत भन्छन् म उल्टै झपार्छु,” उहाँले भन्नुभयो । आर्थिक आत्मनिर्भरताले आफूलाई बलियो बनाएको उहाँलाई महसुस पनि भयो । “अहिले कसैलाई यस्तै समस्या भए ‘एक्लै गरेर खाऊ’ भन्ने सल्लाह दिन्छु,” उहाँले भन्नुभयो, “अरूले भने घर भँडुवी पनि भन्ने गर्छन् ।”

ललितपुर–४३ ले भन्नुभयो, “विवाहपछि श्रीमान्‌बाट उचित व्यवहार पाउन नसके महिलाले बेलैमा सतर्क भएर आर्थिक उपार्जनका काम गरी सन्तान र आफू मातहतको परिवार व्यवस्थापन गर्न सक्नुपर्छ ।”

कसैले आफूलाई ‘घर भँडुवी’ नै भने पनि ललितपुर–४३ लाई खासै केही फरक परेन । आर्थिक आत्मनिर्भरतामै उहाँले आनन्द पनि पाउनुभयो । खानलाउनकै लागि अर्काको मुख ताक्नु नपरेपछि महिलाका लागि दिनहुँको अभाव, पिरलो, घरेलु हिंसा आदि समस्याको चक्रबाट मुक्ति दिलाउने र शान्ति पाउने उपाय यही रहेको महसुस गर्नुभयो । “अहिले आनन्द छ । भरे आएर के गर्ने हो ? छोरीहरूलाई के खान दिने ? आफू के खाने भन्ने पिर छैन । अहिले आफैँ कमाउँछु । आफ्नो खुट्टामा उभिएको छु,” उहाँले भन्नुभयो ।

विवाहपछि श्रीमान्‌बाट उचित व्यवहार पाउन नसके महिलाले बेलैमा सतर्क भएर आर्थिक उपार्जनका काम गरी सन्तान र आफू मातहतको परिवार व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसो गर्नसके भविष्य अन्धकार नहुने उहाँको बुझाइ थियो । भन्नुभयो, “घर जाँदा छोरीले खाना तयार राखेकी हुन्छे । नातिनातिना आमा भनेर घेर्न आउँछन् । ज्वाइँलाई विदेश पठाएको छु । रात बिताउनकै लागि मात्र त्यस व्यक्तिसँग बसेको भए आज म र मेरा छोरीहरूको भविष्य अन्धकार हुनेथ्यो ।”

मनोवैज्ञानिक र भावनात्मक असर

विवाहपश्चात् प्रायजसो महिलाहरू नयाँ घर, वातावरण र सम्बन्धमा समायोजित हुने हुँदा मानसिक तनाव, आत्मपहिचानमा असर र कार्यसम्पादनको बोझबाट प्रभावित हुन्छन् । यसबाट उनीहरूमा मानसिक र भावनात्मक असर पर्ने गर्दछ । त्यसमाथि श्रीमान्‌काे परिवारले अपनत्वको कमी दर्साउने र विभिन्न कुरामा सहज स्वीकारोक्ति नदिने भयो भने झनै बढी समस्या हुन्छ । स्थानीय भाषाको ज्ञानको कमी, फरक सांस्कृतिक पृष्ठभूमि, भौगोलिक अन्तर, समलैङ्गिक विवाहजस्ता फरक कारणहरूले पनि असहजता उत्पन्न गराउने गर्दछन् ।

विवाहपछि हुने विस्थापनले महिलाको आत्मसम्मान, आत्मपहिचान र भावनात्मक स्थायित्वमा गहिरो प्रभाव पार्ने गरेको देखाउँछ । अन्तर्जातीय विवाह र समलैङ्गिक विवाहहरूमा यो असर झनै अकल्पनीय रहने गर्दछ ।

कतिपय महिलाले विवाहपछि आफ्ना विभिन्न क्षमतामा ह्रास आएको महसुस गरेको बताए । कतिपयले नयाँ परिवेशमा भएकै कारण आफूले एक्लो महसुस गरेको र श्रीमान्‌ले जीवनसाथीका रूपमा कुरा बुझिदिएको खण्डमा मात्रै आफूलाई सहज हुने नत्र निकै गाह्रो पर्ने गरेको बताए । कतिपयले भने धेरै सोच्ने आफ्नै बानीले गर्दा पनि यस्तो महसुस भएको हो कि भनेर आत्मालोचना पनि गरेका थिए ।

अझ विशेष गरेर समलैङ्गिक विवाहको हकमा समाजले आफूहरूलाई नस्विकारेकै कारण निकै असहज भएको र बसाइँसराइ गरिरहने बाध्यता आइपरेको पनि बताइयो । यी प्रतिक्रियाबाट पनि विवाहपछि हुने विस्थापनले महिलाको आत्मसम्मान, आत्मपहिचान र भावनात्मक स्थायित्वमा गहिरो प्रभाव पार्ने गरेको देखाउँछ । अन्तर्जातीय विवाह र समलैङ्गिक विवाहहरूमा यो असर झनै अकल्पनीय रहने गर्दछ ।

त्यति मात्र नभई कहाँ बस्ने, कोसँग बस्ने, कसरी बस्ने आदि सबैको निर्णय प्रायः एकपक्षीय, खासगरी पुरुष वा उसको परिवारले गर्ने गर्दछ । यसले पनि फेरि घरभित्र महिलाको निर्णय क्षमता, प्रोत्साहन र महिला, पुरुष र समलिङ्गी सबैका जीवनसाथी र उनीहरू स्वयंको बिचको शक्तिसम्बन्ध र सन्तुलनलाई खजमज्याउने कुरालाई नै प्रस्ट्याउँछ ।

जावलाखेलको एउटा कारखानामा ललितपुर–५२ ले गलैँचा बुन्ने काम गर्नुहुन्थ्यो । यो झन्डै ३० वर्षअघिको कुरो हो । त्यही कारखानामा कुमारसँग भेट भएपछि आफूहरूले बिहे पनि गरेको उहाँको भनाइ थियो । तिनै श्रीमान् छोरा जन्मेको ११ दिनमै बेपत्ता भएपछि ललितपुर–५२ लाई दाजुभाइले छोरासहित माइत लगेका थिए ।

श्रीमान्‌काे एउटा फोटोसमेत आफ्नो साथमा नरहेको, तीन वर्ष गलैँचा कारखानामा सँगै बस्दासमेत नाम कुमार हो र थर क्षेत्री हो भन्ने मात्र थाहा भएको बताउँदै ललितपुर–५२ ले भन्नुभयो, “श्रीमान्‌पट्टि मेरो केही अर्थ नै छैन किनकि ऊ कहाँको मान्छे हो भन्नेसमेत मलाई थाहा नै छैन । विवाह गर्ने निर्णय आफैँले गरेको भएर गल्ती पनि आफ्नै हो जस्तो लाग्छ ।”

एकल जीवन रोजेर माइतमै छोराको लालनपालन र आमाको हेरचाहमा लागेकी उहाँले जीवन र जगत्को सारलाई ‘महिलाहरूको दैलो फेरिन्छ तर निधारमा लेखिएको फेरिन्न’ भन्ने अर्थमा बुझ्नुभयो । श्रीमान् बेपत्ता भएपछिका ३० वर्षसम्म आफ्ना आमाबुवाको रेखदेख र छोराको पालनपोषणमा दत्तचित्त भएर लाग्नुभयो । ललितपुर–५२ ले भन्नुभयो, “कति धेरै विवाह प्रस्तावहरू घरैसम्म आए तर छोरा आफ्नो साथी छ भनेर मायाले गर्दा छोड्नै सकिनँ ।”

पछिल्लो समय छोरा विदेशमा रहेको र ५२ वर्षको उमेरमा आफू ८८ वर्षकी आमाको साथी भएर बसिरहेको उहाँले बताउनुभयो । ललितपुर–५२ को दिमागमा धेरैजसो घरै छेउको फुपूले भनेका कुरा मात्र आउन थाल्यो । उहाँका अनुसार, फुपूले ‘छोरीमान्छेको दैलो फेरिन्छ तर निधारमा लेखिएको भाग्य कहिल्यै फेरिन्न’ भन्नुहुन्थ्यो । फुपूले दोस्रो विवाह गरेर पनि जीवनमा कहिल्यै सुख नपाएको उहाँको ठम्याइ थियो ।

मनोवैज्ञानिक र भावनात्मक असरका सन्दर्भमा सामाजिक आदानप्रदानको सिद्धान्तले पनि विवाहपछि लागतभन्दा इनाम बढी भएमा सम्बन्ध र बसोबास दुबै स्थायी र सन्तुलित रहन्छ भन्ने पुष्टि गर्दछ । तर, महिलामाथि मानसिक दबाब, पहिचान गुमाउने डर जस्ता लागत बढ्दै जाँदा विस्थापनको नकारात्मक असर देखिन्छ ।

आफूले दाजुहरूसमक्ष आफ्नो गल्ती स्विकारेर ‘आमा हुन्जेल कतै पनि जान्नँ, जुन दिन तपाईंहरूले निकाल्नुहुन्छ, त्यसदिन म आफैँ छोरा च्यापेर निस्कन्छु’ भनेको पनि उहाँले स्मरण गर्नुभयो । दाजुभाइबाट त्यतिबेला छुट्टै घर पनि बनाइदिने आश्वासन पाएको र त्यसले आफूलाई खुसी बनाएको सम्झँदै उहाँले भन्नुभयो, “मबाट सास फेर्ने पनि ठाउँ नै छैन । मैले गल्ती गरेको भएर स्वीकार गरेरै, सहेरै बसेको छु ।”

मनोवैज्ञानिक र भावनात्मक असरका सन्दर्भमा सामाजिक आदानप्रदानको सिद्धान्तले पनि विवाहपछि लागतभन्दा इनाम बढी भएमा सम्बन्ध र बसोबास दुबै स्थायी र सन्तुलित रहन्छ भन्ने पुष्टि गर्दछ । तर, महिलामाथि मानसिक दबाब, पहिचान गुमाउने डर जस्ता लागत बढ्दै जाँदा विस्थापनको नकारात्मक असर देखिन्छ ।

जाँदा जाँदै

विवाहपछिको विस्थापनको दर निकै उच्च र कहालीलाग्दो छ, चाहे त्यो जुनसुकै लैङ्गिक पहिचानको व्यक्तिका सन्दर्भमा किन नहोस् । बसोबासको निर्णय प्रायः श्रीमान् वा श्रीमान्‌कै परिवारको नियन्त्रणमा हुने हुँदा विस्थापनको बढी भार महिलाको काँधमा पर्ने गर्दछ । एक ठाउँबाट अर्को ठाउँमा अपर्झट बसाइँ सर्दा नवविवाहिताको काम, पढाइ र लक्ष्यहरूमा नकारात्मक असर पर्ने गरेको पनि देखियो ।

विवाह संस्थालाई महिलाका कोणबाट पनि बराबरी महत्त्व दिएर हेर्न, बुझ्न, खोज्न र समतामूलक मानवीय मूल्य तथा मान्यतासँग जोड्दै अघि बढाउन सक्नुपर्ने हुन्छ ।

विवाह विशेषगरी महिलाका लागि सामाजिक, सांस्कृतिक, परम्परागतदेखि आर्थिक, भौगोलिक आदि क्षेत्रबाटसमेत विस्थापन गर्ने माध्यम भएको र विवाहपछिको बहुपक्षीय विस्थापनले महिलाको जीवनमा कुनै न कुनै समय कुनै न कुनै रूपमा मनोवैज्ञानिक र भावनात्मक असर पार्ने गरेको पुष्टि हुन आउँछ । यी सबै कारणले गर्दा अबको समाजमा विवाहलाई केवल सांस्कृतिक संस्थाका रूपमा हेरेर महिलाका समस्यालाई गौण मान्दा पारिवारिक विखण्डनले घेरा हाल्न पनि सक्छ ।

अहिलेको समयमा व्यक्ति तहबाटै समझदारी देखाउन र बुद्धि पुर्‍याउनसके घर, परिवार, समाज आदि संस्थाहरूलाई विखण्डनको घेराबाट मुक्त गर्न सकिन्छ । यसका लागि विवाह संस्थालाई महिलाका कोणबाट पनि बराबरी महत्त्व दिएर हेर्न, बुझ्न, खोज्न र समतामूलक मानवीय मूल्य तथा मान्यतासँग जोड्दै अघि बढाउन सक्नुपर्ने हुन्छ ।

‘विवाहपछि महिलाको बहुपक्षीय विस्थापन र असर’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत प्रज्ञा दाहालले तयार गर्नुभएको हो ।

आवरण मोन्टाज् तस्विर पिक्सावे

प्रकाशन मिति : २०८२ माघ १ गते, बिहिवार

सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू

Share this :