– उर्मिला यादव
राज्यले समाजमा देखेर पनि अभिलेखमा नदेखे जस्तो गरिदियो भने कुनै पनि समुदायका मानिसको अवस्था कस्तो हुन्छ ? उनीहरूको गुजारा कसरी चल्छ ? अनि त्यस्तो समुदायका महिलाको जीवनभोगाइ कत्तिको पीडादायी हुन्छ ? यस्तै यस्ता प्रश्नको जवाफ खोज्दै जाँदा नेटुवा समुदायको बसोबास रहेका ठाउँमा पुगियो । सम्बन्धित व्यक्तिहरूसँग कुराकानी, स्थलगत अवलोकन र आधारभूत कागजातको अध्ययन गरियो ।
आफूसँग जन्मदर्तादेखि नागरिकतासम्मका कुनै पनि कागज नभएको कारण नेटुवा समुदायका अधिकांश व्यक्ति शिक्षादेखि आफूले चाहेको रोजगारी, सरकारी सेवा, विभिन्न अवसर, सेवासुविधा र विकासको सकारात्मक प्रभावबाट टाढा रहन बाध्य भए । यो समुदायका अधिकांश व्यक्तिका लागि नागरिकता एउटा कागजको खोस्टो मात्र होइन, पहिचान दिने र अस्तित्व प्रमाणित गर्ने आधारपत्र हो भन्ने कुराको बोध पनि हुँदै गयो ।
विद्यालय गएर पढ्दै गरेका बालबालिकालाई केही वर्षपछि त्यही विद्यालयले जन्मदर्ता खोजेपछि पढाइ रोकियो । बिरामी भएर अस्पताल जाँदा अस्पतालले पहिचानको कुनै प्रमाणपत्र छ भनेर खोजेपछि उपचार नहुने भयो । नागरिकता नभएकै कारण सबैतिरबाट बेरोजगारीमा पर्नुपर्यो । सामाजिक भत्ता पनि नमिल्ने भयो ।
तीन पुस्तादेखि फिरन्ते बनेर यतै बिताए पनि राज्यका आँखामा पर्न नसकेको समुदायका भएकाले विवाहित महिलाले भिक्षा माग्नुको विकल्प भेट्न सकेनन् । आधुनिक युगको चापमा बदलिँदै आएको समाजबाट अपमान, गालीगलौज र तिरस्कारको भाव प्रकट हुँदै गयो । बाल्यावस्थादेखि ८० वर्षको वृद्धावस्थासम्मका अधिकांश नेटुवाहरूले जन्मदर्तादेखि नागरिकतासम्मका प्रक्रियामा पछि पर्दै र पारिँदै गरेको तीतो अनुभव सुनाए ।
नयाँ पुस्ताका कतिपय छोरी भने भिक्षाबाट शिक्षा र रोजगारीतिर सचेत र दृढ पनि देखिए । तिनले सङ्केत गर्न थालेको सम्मानजनक भविष्यप्रतिको अपेक्षा, आशा र दृढतामाथि कतैबाट कुनै किसिमको पनि कुठाराघात हुन नपाओस् ! स्थानीय गाउँबस्ती र समाजकै नजिक घुमिरहेका अभिभावकबाट तीनपुस्तेका रूपमा जन्म लिएका बालबालिकाले राज्यबाट अभिभावकत्व पनि पाउन सकून् ।
प्रस्तुत आलेख लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला, सुनवल नगरपालिकास्थित कच्ची बस्ती र लुम्बिनी प्रदेशकै कपिलवस्तु जिल्ला, शुद्धोधन गाउँपालिकास्थित पक्की बस्तीमा रहेका नेटुवा समुदायका विशेषगरी महिला र किशोरीहरूसँगको विभिन्न चरणको भेटघाट, कुराकानी, स्थलगत अवलोकन र अध्ययनमा आधारित छ । पछिल्लो पटकको कुराकानी २०८२ सालमा गरिएको हो । यसमा उल्लिखित व्यक्तिहरूको उमेर पनि सोही सालको हो ।
सनकेशीका बाध्यता र विवशता
सुनवल नगरपालिका वडा नम्बर २ मुखियाटोल बैरवाकी सनकेशी नेटुवा उमेरले ६८ वर्ष पुग्नुभयो । यो उमेरसम्म उहाँले भिक्षा मागेर नै परिवार पाल्दै आउनुपर्यो । कामको अर्को कुनै विकल्प पाउनु भएन । वृद्धावस्थामा पनि उहाँलाई सरकारबाट सुख मिल्ने साझा बाटो खुला भएन । उहाँले भन्नुभयो, “बस्ने ठेगाना छैन, खेतबारी छैन, मजदुरी पनि गर्न सक्दिनँ अनि के गर्ने ? मागेर त खानुपर्यो नि !” उहाँले भिक्षा माग्नकै लागि आफू अहिले पनि धेरै टाढासम्म पुग्ने गरेको तर पहिला जस्तो मान्छेले भिक्षा दिन छोडेको सुनाउनुभयो ।

सनकेशीका श्रीमान् ७० वर्षीय रामकेवल नेटुवाले वृद्धभत्ता पाउन थालेको १० वर्षभन्दा बढी भयो । उहाँको पनि वृद्ध भत्ता पाउने उमेर त भइसक्यो तर पाउनु भएको छैन । श्रीमान्काे नागरिकता भएर पनि सुनकेशीले नागरिकता पाउन नसकेको र वृद्धभत्ताबाट वञ्चित हुनुपरेको थाहा भयो । नागरिकताको सिफारिस लिनका लागि उहाँले नगरपालिकादेखि वडामा १२ पटकभन्दा बढी धाइसकेको बताउनुभयो ।
“नगरपालिकाले भन्छ वडाले सिफारिस दिन्छ, वडामा गए वडाध्यक्षले भन्नुहुन्छ जन्मदर्तासहित सिफारिस लिएर आऊ,” सनकेशी भन्नुभयो, “म कहाँ जन्मेँ मलाई नै थाहा छैन, सानैमा आमाबुबा बिते, कहाँ जाउँ सिफारिस लिन र कहा जाउँ आमाबुबा खोज्न ?”
“नगरपालिकाले भन्छ वडाले सिफारिस दिन्छ, वडामा गए वडाध्यक्षले भन्नुहुन्छ जन्मदर्तासहित सिफारिस लिएर आऊ,” उहाँले भन्नुभयो, “म कहाँ जन्मेँ मलाई नै थाहा छैन, सानैमा आमाबुबा बिते, कहाँ जाउँ सिफारिस लिन र कहा जाउँ आमाबुबा खोज्न ?” आँखामा टिलपिल आँसु र अनुहारमा निन्याउरो भावका साथ सनकेशीले आफ्नो बह पोख्नुभयो ।
यसबिच ‘नागरिकता बन्छ’ भन्दै वडा र नगरपालिकाले उहाँलाई आश्वासन त धेरै दियो तर त्यो भनाइमा मात्रै सीमित रह्यो । उहाँले निरास हुँदै भन्नुभयो, “वडामा गए वडाध्यक्षले ‘तिमीजस्तो हजारौँ मानिस अझै यस्तै बसेका छन्’ भनी फर्काउँछन् ।”

सुनवल नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र यादवले सनकेशीको हकमा भन्नुभयो, “उहाँको माइत भारत हो । भारतबाट आफ्नो आमाबुबाको आधार कार्ड, आफ्नो आधार कार्ड, भारतमा भएका डकुमेन्टहरू लिएर आउनुहोस्, हामी वडाबाट विवाह दर्ता गर्दिन्छौँ, त्यसपछि तपाईंको नागरिकता बन्छ भनेको तर उहाँले भारतबाट केही प्रमाण ल्याउन सक्नु भएन ।” प्रमाण ल्याए एक दिनमै नागरिकता तयार गराइदिने पनि उहाँको भनाइ थियो ।
सनकेशीलाई विद्यालयको पढाइ कस्तो हुन्छ भनेर थाहा पाउने मौका पनि मिलेन । उहाँले भन्नुभयो, “त्यो बेला अहिले जस्तो छोराछोरीहरूलाई विद्यालय पठाउने चलन थिएन । हाम्रो महिलाको सिप नै गोदना गोद्ने थियो । त्यहीबाट चामल, दाल, तेल पाइन्थ्यो । अहिले आधुनिक प्रविधिले गर्दा त्यो पनि हरायो ।” गोदना गोद्ने भनेको ‘ट्याटु’ बनाउने परम्परागत कला हो ।
सनकेशीका अनुसार, उहाँ नवलपरासीमा बस्दै आएको ४० वर्षभन्दा बढी भैसक्यो तर उहाँले यो समुदायको अवस्था र व्यवस्थामा कुनै परिर्वतन भएको अनुभव गर्न पाउनु भएन । यो समुदायका मानिसको घरमा बिजुली र शौचालयको पहुँच छैन । यो समुदायका महिलाले मागेर ल्याउने र पुरुषले सर्प समात्ने, लोखर्के, बिरालो मारेर ल्याउने र मह काढ्ने काम मात्र गर्दै आए । यसैले पनि यो समुदायका मानिसको आर्थिक अवस्थामा अझै पनि खासै केही सुधार भएको पाइँदैन ।
सनकेशीका श्रीमान् रामकेवल आफ्नो बुबासँग २६ वर्षको उमेरमा नवलपरासीको सुनवलमा आएर स्थायी रूपमा बस्न थाल्नुभएको थियो । उहाँको तीन पुस्ता यही ठाउँमा बस्दै आएको छ । रामकेवलले सानै उमेरदेखि मह काढ्ने, सर्प लिएर डुलाउने काम गर्दै आउनुभयो । त्यस्तै कामबाट चामल, नगद आदि घरमा ल्याउनुहुन्थ्यो ।

रामकेवलको आर्थिक जोहो हुने माध्यम नै सर्प देखाउने हो । सर्प देखाएर पाउने रकम हो । उहाँले सर्प देखाउन नवलपरासीको बर्दघाट, भुमही, त्रिवेणी, परासी, सुनवललगायत र रूपन्देही जिल्लाका विभिन्न ठाउँमा जाने गरेको बताउनुभयो । उहाँले एक दिनमा दुईदेखि तीन हजार रुपैयाँसम्म कमाउने गर्नुहुन्थ्यो । उमेर ढल्केसँगै सर्प देखाउने काम पनि कम हुँदै गयो र नजिकैका गाउँठाउँ र बजारमा सीमित भयो ।
सनकेशी र रामकेवलका तीन छोरामध्ये कान्छो छोरा विजय नेटुवाको साथमा रामकेवल बस्न थाल्नुभयो । ३२ वर्षका विजयको जन्मदर्ता त छ तर आमाको जस्तै उहाँको पनि नागरिकता बन्न सकेन । विजयले भन्नुभयो, “नागरिकता बनाउनका लागि धेरै पटक वडामा धाएँ तर वडाध्यक्षले किन नागरिकता चाहियो भन्दै बनाउन खोज्नु हुन्न । माग्ने जात हो किन नागरिकता चाहियो ? मागेर खाएकै छौ नि, पछि बन्छ भनी फर्काउनुहुन्छ । वडामा जाँदा फुर्सदमा छैन, पछि आऊ भनी बहाना बनाउनुहुन्छ । वडाध्यक्षले गर्दा हाम्रो नागरिकता बन्न सकेन ।”
वडाध्यक्ष राजेन्द्रले २०६३ सालमा जन्मको आधारमा नागरिकता बन्दा रामकेवल नेटुवाको जेठा छोरा किशोर नेटुवा कामको सिलसिलामा बाहिर हुँदा उमेर पुगेर पनि उहाँको जन्मदर्ता र नागरिकता बन्न नसकेको जानकारी दिनुभयो । अरू छोराको हकमा त्यो बेला उमेर नपुगेको हुँदा नागरिकता बन्न नसकेको पनि उहाँले बताउनुभयो । वडाध्यक्ष राजेन्द्रका अनुसार, २०६३ सालमा जसको छुटयो त्यो छुटेकै रह्यो, छुटेकाहरूको त्यसपछि नागरिकता बनेन ।
रामकेवलको घरको लागि सुनवल नगरपालिका वडा नम्बर २ ले २०७८ सालमा ६० हजार रुपैयाँको बजेटमा टिनको छानो दिएको थियो । छोराहरूले त्यति पनि पाउन सकेनन् । उहाँको पनि घरको भित्ता राम्रो नहुँदा वर्षाको समयमा पानी पस्नेलगायतका समस्या भोग्नुपरेको गुनासो थियो । यस सम्बन्धमा वडाध्यक्ष राजेन्द्रले स्पष्ट पार्दै भन्नुभयो, “रामकेवलको नागरिकता भएको हुनाले उहाँको घर बनाउनलाई वडाले अलिकति सहयोग गरेको हो ”
सनकेशीकी ४० वर्षीया छोरी बिन्दु नेटुवाको दैनिकी पनि आमाकै जसरी भिक्षा मागेरै बित्दैछ । भारतको केटासँग बिहे गरे पनि यहीँ बस्छु, चार छोरी र दुई छोराको आमा भैसकेँ तर अझैसम्म मेरै जन्मदर्ता बन्न सकेन ।”
यद्यपि, छोराहरू भिन्न बसेको र उनीहरूको नागरिकता नभएको हुँदा र अरू कुनै आधार नहुँदा वडाले सहयोग गर्न एकदमै समस्या भएको पनि उहाँले बताउनुभयो । उहाँले भूमिहीन सुकुम्वासीमा फर्म भर्नसमेत नागरिकता नै चाहिने भएकाले त्यसमा पनि उहाँहरू वञ्चित भएको जानकारी पनि दिनुभयो ।
बाध्यता र विवशताकै पुस्तान्तरण
सनकेशीकी ४० वर्षीया छोरी बिन्दु नेटुवाको दैनिकी पनि आमाकै जसरी भिक्षा मागेरै बित्दैछ । सुनवल नगरपालिका वडा नम्बर २ मुखियाटोल बैरवामै जन्मिनुभएकी बिन्दुको विवाह भारतका केटासँग भएको थियो । तर, उहाँ विवाह गरेदेखि नै माइतीमै शरण लिई बस्दै आउनुभयो । उहाँले भन्नुभयो, “भारतमा विवाह भयो, आफ्नो जग्गा सम्पत्ति केही थिएन, सासूससुरा पनि थिएनन् । त्यही भएर यहीँ आइयो ।” चार छोरी, दुई छोरा र श्रीमान् गरी उहाँको साथमा अहिले आठ जनाको परिवार छ । श्रीमान् ४५ वर्षीय राजु नेटुवाको काम मह काढ्ने र पाए मजदुरी गर्ने हो । “यहीँ चार छोरी र दुई छोराको आमा भैसकेँ तर अझैसम्म जन्मदर्ता बन्न सकेन,” बिन्दुले भन्नुभयो ।

बिन्दुकी १६ वर्षीया माइली छोरी सोनम नेटुवा र १४ वर्षीया साइली छोरी सोनामी नेटुवाको जन्मदर्ता नहुँदा बिचमै विद्यालयको पढाइ छोडनुपर्यो । “स्कुलले जन्मदर्ता मागेपछि पढ्न पाएन,” सोनमले भन्नुभयो, “अझै पनि पढ्न मन त लाग्छ तर के गर्ने ? जन्मदर्ता नै छैन । कसरी पढने ? पढेलेखेको भए राम्रो काम पाउने थिएँ ।”
त्यसो त सुनवलका नेटुवा बालबालिकाहरू पढ्नबाट वञ्चित नहोऊन् भनेर आफूले जन्मदर्ता नभएकालाई जन्म प्रमाणित गराएर त्यही किसिमको व्यवस्था मिलाइदिएको तर बालबच्चाको जन्मदर्ताको लागि आमाबुबाको नागरिकता नै चाहिने पनि वडाध्यक्ष राजेन्द्रले बताउनुभयो ।
सुनवल वडा नम्बर २ कै साँघुरिँदो गल्ली र भिडले थिचिएको बजारछेउ प्रायजसो भेटिने महिलाको नाम हो– राजकुमारी नेटुवा । ४३ वर्षीया राजकुमारी वर्षौंदेखि बस्दै आउनुभयो तर उहाँ र उहाँको परिवारमा कसैको पनि नागरिकता छैन ।
बिन्दुको घर पनि बाँसको खम्बा र खरको छानो हालेर बनाइएको छ । वर्षा याममा घर जलमग्न हुन्छ । नजिकै रहेको तुरिया नदीको बाढीले समेत उहाँहरूलाई मर्माहत बनाउने गरेको सम्झँदै उहाँले भन्नुभयो, “जाडोमा बस्न सहज भए पनि वर्षाको समयमा घर पूरा चुहिन्छ । राम्रो घर नहुँदा अनेकन् समस्याहरू झेल्दै आएको छु ।”
कागजविहीन जीवनकै निरन्तरता
सुनवल वडा नम्बर २ कै साँघुरिँदो गल्ली र भिडले थिचिएको बजारछेउ प्रायजसो भेटिने महिलाको नाम हो– राजकुमारी नेटुवा । पिँडुलासम्म पुग्ने थोत्रो झोला, बिहानको हावा च्यातेर आउने धुलो र एकथोपा आशामा अडिएको नजर । यही संसारमा ४३ वर्षीया राजकुमारी वर्षौंदेखि बस्दै आउनुभयो तर उहाँलाई देशले अझै पनि आफ्नो ‘नागरिक’ भनेर मान्यता दिएको छैन । फलतः उहाँको जीवन एउटा टुक्रिएको नक्साजस्तै भयो ।
कहिले नवलपरासी, कहिले रूपन्देही त कहिले सीमापारि… । आजीविकाकै खोजीमा ओझेलिएका विभिन्न बाटामा राजकुमारीले आफूलाई पछाडिबाट तानिँदै आएका पारिवारिक दायित्वलाई बोक्ने राज्यविहीन भरियाका रूपमा हिँडाउनुभयो । “नागरिकता नभएपछि भन्नलाई देश छ, तर हामी कहाँका हौँ भन्ने कुरा नै साबित गर्न सकिन्न,” उहाँले भन्नुभयो, “कागजको अभावमा त हामी मानव नै होइनौँ जस्तै लाग्छ ।”

राजकुमारी मात्र होइन, उहाँको परिवारमा कसैको पनि नागरिकता छैन । उहाँका श्रीमान् किशोर नेटुवा ४५ वर्षको हुनुभयो । दुबैको नागरिकता नभएका कारण छोराछोरीहरूको जन्मदर्ता पनि हुन सकेन । सानैदेखिको मागेर खाने पेसाले गर्दा दुबैका हातमा पहिचानको कागज, सिफारिस र प्रक्रिया जुटाउन नसकिएको उहाँहरूको बुझाइ थियो । परिवारको पेट भर्नुपर्ने दैनिक चिन्ताले यो दम्पतीलाई कहिल्यै प्रशासनका ढोकातिर डोर्याउन पनि सकेन ।
दुई छोरा र तीन छोरीका आमा राजकुमारी । उहाँको परिवार पुस्तौनी गरिबीको चपेटामा परेर पहिचान अभावको चक्रमा समेत घुमिरह्यो । फलतः २४ वर्षका जेठा छोरा दिनेश र १८ वर्षका कान्छा छोरा गोलुको पनि कागजविहीन जन्म र जीवन हुन गयो । एकातिर पढाइलाई अगाडि बढाउन खोजे कक्षामै रोकिनुपर्ने अवस्था अर्कातिर रोजगारीका सबै दैलाहरू बन्द । कागजविहीन भविष्य त झन् कस्तो पो हुने हो खै !
राजकुमारीकी १४ वर्षीया छोरी भोली नेटुवाको बिहान पनि भिक्षा मागेरै बित्न थालेको केही वर्ष भयो । जन्मदर्ता नभएकै कारण कक्षा ४ बाट भोलीको पढाइ रोकियो । ९ वर्षीया छोरी पारु कक्षा १ मा पढ्दै भए पनि जन्मदर्ताको कागज खोजिएको दिन पढाइ नै रोकिने चिन्ता छ । उहाँले भन्नुभयो, “सन्तानलाई पढाउन र अघि बढाउन कुन आमाबुबाको मन हुँदैन र ? तर कागज नै नभएपछि, हामीकहाँ त्यस्तो खुड्किलो नै खुल्दैन ।”
राजकुमारीकी बुहारी अन्जनी नेटुवा १८ वर्षकी हुनुभयो । उहाँको जीवन पनि परिवारकै छायामा भिक्षा मागेर घर चलाउन सहयोग गर्ने भूमिकामा डोरिएको पाइयो । शिक्षाबाट वञ्चित हुँदा परिवारका अरू छोरीहरू जस्तै बुहारीका दिनहरू पनि च्यातिएको पाना जस्तै हुन गए । नेटुवा समुदायका धेरैजसो बालबालिका जन्मदेखि नै जसरी अदृश्य बनाइए, त्यसरी नै उहाँ पनि अदृश्यताको सिकार हुनुभयो । त्यही अदृश्यताले कागजविहीनताको एउटा कठोर जीवनको यथार्थलाई निरन्तरता दियो ।
राजकुमारीले अभिव्यक्त गरेको चाहना थियो, “हाम्रो सन्तानले कम्तीमा कागज लिएर ठम्याएर भन्न पाओस्, म यहाँको हुँ ।” उहाँको जीवन झट्ट हेर्दा सहजै होला जस्तो देखिए पनि उहाँभित्र लुकेको पीडा अजङ्गको ढुङ्गाजत्तिकै भारी भएको बुझियो । आफ्नो पुस्ताले दोहोर्याइरहेको अदृश्यताको रेखा अब त टुटोस् भन्ने उहाँको चाहना थियो ।
“हाम्रोजस्तै नहोस्, कम्तीमा छोराछोरीले पहिचान पाओस्,” राजकुमारीले भन्नुभयो । स्वरमा थकान भए पनि उहाँमा आशा मरेको थिएन । कागजको अभावले मर्माहत भएर पुस्तौँदेखि थिचिएको यो समुदायले आफूलाई देखिने, पहिचान हुने र स्विकारिने दिनको आशा र प्रतीक्षा गर्नु अस्वाभाविक होइन ।
बाँच्नकै लागि माग्नुपर्ने
बैरवाकै लक्ष्मी नेटुवाको परिवार महिलाले मागेर गुजारा चलाउने समुदायमा पर्छ । ११ वर्षअघि १५ वर्षको उमेरमा उहाँको विवाह सुनवल नगरपालिका वडा नम्बर २ का बृजु नेटुवासँग भयो । उहाँको माइत भारतको उत्तर प्रदेश राज्य, महाराजगंज जिल्लाको बरगदवामा पर्छ । २६ वर्षीया लक्ष्मी र ३३ वर्षीय बृजुका दुई छोरा र एक छोरी छन् ।

लक्ष्मीका जेठा छोरा अखिल नेटुवा ८, कान्छा छोरा अभय नेटुवा ७ र छोरी अप्सरा नेटुवा अढाई वर्षका भएको र छोराहरू स्कुल जाने तर छात्रवृत्ति नपाउने वर्गमा परेको जनाउ दिनुुभयो । “सरकारले भन्छ गरिबका छोराछोरी पढ्छन् । सहयोग पाउँछन् तर हामीलाई न राज्यले हेर्छ न समाजले,” उहाँले भन्नुभयो, “कापीकलम, जुत्ता सबै आफ्नै खर्च । फिस तिर्न नसकेर कहिलेकाहीँ पठाउनै सकिन्न ।”
श्रीमान्ले कहिले मजदुरी त कहिले मह काढ्ने काम गर्ने गरेको र आफूले भने जान्ने बुझ्ने भएदेखि नै मागेर नै जीवन निर्वाह गदैँ आएको लक्ष्मीले बताउनुभयो । भिक्षा माग्नकै लागि बिहान १० बजे नै घरबाट निस्कने उहाँले भिक्षा माग्ने गरेका क्षेत्र नेपालका रामग्राम, बन्जरिया, अमरौड, घिनहवा, बर्दघाट, त्रिवेणीलगायत हुन् । ती ठाउँमा उहाँको पैदलै आउजाउ हुने गर्छ । “हामी त बाँच्नका लागि माग्न बाध्य छौँ,” उहाँले भन्नुभयो ।
लक्ष्मीको पाँच जनाको परिवार आर्थिक र सामाजिक दृष्टिले निकै नै पछि परेको अवस्थामा छ । घर पनि बारबन्देज नभएको, बाँसको खम्बा टेकाएर त्यसमाथि खरको छानो हालेर बनाइएको छ । “जाडो होस् या गर्मी यही भुइँमै सुतेर बाँच्नुपर्छ । पानी पर्यो भने घरभित्रै पानी पस्छ,” उहाँले भन्नुभयो ।
“भिख माग्नुको पीडा र समाजले गर्ने अनेक दुर्व्यवहार मलाई मात्र थाहा छ,” लक्ष्मीले भन्नुभयो । उहाँका अनुसार, पहिला भिक्षा पनि पाइन्थ्यो । अहिले मानिसले दिन खोज्दैनन्, उल्टै गाली गर्छन् ।
लक्ष्मीले घर निर्माणका लागि सुनवल नगरपालिका र आफ्नो वडामा फाराम भरेको तीन वर्ष नाघिसक्दा पनि आश्वासनबाहेक केही पाउन सक्नु भएन । “आश्वासन मात्रै पाउँछु तर हातमा केही आउँदैन,” उहाँले सुनाउनुभयो । त्यसो त उहाँको नागरिकता पनि बनेको छैन । स्थानीय तहबाट पाइने सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्नाका लागि आफ्नो नागरिकता बनाउने प्रयासमा लाग्दालाग्दै पनि उहाँ सफल हुन सक्नु भएन ।
“नागरिकता बनाउनका लागि सबै कागजपत्र जुटाइसकेँ तर वडाध्यक्ष भेटिनु हुन्न । वडामा पाँच पटकभन्दा बढी गैसकेँ तर वडाध्यक्षसँग भेट हुँदैन, फर्केर आउँछु,” उहाँले सर्वसाधारणका लागि गाउँ गाउँमा पुगेको भनिएको सिंहदरबारको वास्तविक सेवाको हालत र स्थानीय जनप्रतिनिधिसँगको पहुँचको खाडल छर्लङ्गै देखिने गरी भन्नुभयो ।
नेटुवा समुदायका मानिसलाई गाउँका अरू मानिसले ‘सानो जात’ भन्दै हेप्न छाडेका छैनन् भन्ने कुराको पनि सङ्केत गर्दै उहाँले भन्नुभयो, “हामी बस्ने गाउँका मान्छेले हामीलाई चाडपर्वमा पनि बोलाउँदैनन् । काम दिँदैनन् । हामीले काम खोज्न गए पनि ‘तँहरूलाई कसले काम दिन्छ’ भन्ने गर्छन् ।”
“भिख माग्नुको पीडा र समाजले गर्ने अनेक दुर्व्यवहार मलाई मात्र थाहा छ,” लक्ष्मीले भन्नुभयो । उहाँका अनुसार, पहिला भिक्षा पनि पाइन्थ्यो । अहिले मानिसले दिन खोज्दैनन्, उल्टै गाली गर्छन् । त्यस्तो गाली खानु नपरोस् भनेर उहाँले खेतीपातीको सिजनमा पाएसम्म आफूले मजदुरी गर्ने गरेको बताउनुभयो । मजदुरी पनि खेत रोप्ने बेलामा पाइन्छ तर धान काट्ने सिजनमा काम पाउन मुस्किल छ ।
कम्बाइन मेसिनले धान काट्ने भएकाले आफूले त्यो काम नपाएको लक्ष्मीको बुझाइ थियो । त्यसमाथि उहाँले थप्नुभयो, “पढेलेखेको छैन, नेपाली भाषा बोल्न पनि आउँदैन । अनि कसले काम दिन्छ ?” भोजपुरी भाषामा बोल्ने उहाँले ‘बाँच्नका लागि भिक्षा माग्नुपर्ने र अरू काम गर्न नपाएपछि हामीजस्ताले सानो जात भन्दै समाजको तिरस्कार बाहेक केही पनि पाउन नसक्ने’ बताउनुभयो ।
तीन पुस्तादेखि एउटै ठाउँमा बसोबास गर्दै आएको नेटुवा समुदाय नागरिकता नहुँदा राज्यबाट पाइने आधारभूत सेवा, सुविधा र पहिचानबाट वञ्चित भइरहे ।
बैरवामा नेटुवा समुदायका पाँच घरधुरीको एउटा बस्ती छ । २७ जना जतिले बसोबास गर्ने त्यो बस्तीमा बिजुलीको पोल पुगे पनि कसैको घरभित्र बत्ती बल्दैन । “टुकी र मैनबत्तीकै भरमा बाँच्दै आएका छौँ,” लक्ष्मीले भन्नुभयो । सरकारले ‘खुला दिसामुक्त घोषणा’ गरेको वर्षौं भयो तर उहाँको बस्तीमा अझै एउटा पनि चर्पी छैन । शौचालय बनाइएको छैन ।

बैरवामा खानेपानीको स्रोत पनि एउटै ‘हेन्डपाइप’ मा सीमित रहेको पाइयो । तीन पुस्तादेखि एउटै ठाउँमा बसोबास गर्दै आएको नेटुवा समुदायलाई लोकतान्त्रिक गणतन्त्रकालमा पनि फिरन्ते नाम दिने र हेप्ने चलन हट्न सकेन । यो समुदायका महिलालाई घुमफिर गरी मागेर खानुपर्ने र परिवारको गुजारा धान्नुपर्ने विषम अवस्थामा बाँधिएको बाँधिएकै गरियो । नागरिकता नहुँदा नेटुवा महिला र तिनका परिवारका सदस्य र सन्तानहरू राज्यबाट पाइने आधारभूत सेवा, सुविधा र पहिचानबाट वञ्चित भइरहे ।
घर पक्का भए पनि अभाव उस्तै

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरस्थित नेटुवा समुदायको बस्ती हेर्दा विकासले पाइला टेकेको आभास भयो । सडकछेउमा रहेका टिनका छाना र इँटाका गारो लगाइएका घरलाई बाहिरबाट देख्दा यस्तो आभास भएको थियो । यी घरभित्र पस्दा भने यथार्थ अर्कै देखियो- भिक्षामा आश्रित जिन्दगी, अपमानको पीडा र पुस्तौँदेखिको सामाजिक बहिष्कारको छाप ।
२०५७ सालमा म प्रगतिनगरमा आएको हो । मेरो तीन पुस्ता यहीँ नै मागेर जीवन बिताइसक्यो । मागेर नल्याए कसले दिन्छ खाना ? यो प्रश्न ८० वर्षकी तारमती नेटुवाको हो ।
“मागेर नल्याए कसले दिन्छ खाना ?” यो प्रश्न प्रगतिनगरकै ८० वर्षकी तारमती नेटुवाको हो । हरेक दिन बिहानीको उज्यालो उहाँको जीवनको कठिनाइको लामो र गाढा छायासँगै भित्रिन्छ । प्रगतिनगरको बस्तीमा पनि सूर्य उदाउनुअघि नै उहाँले माग्नका लागि घरबाट निस्किनुपर्ने परम्परागत अवस्थामा बदलाव आएन । “माग्न नगए घरमा चुल्हो बल्दैन । छोराबुहारीले समेत खान दिँदैनन् । के गर्नु ? जानैपर्छ,” उहाँले भन्नुभयो ।
एकल र वृद्ध महिला तारमतीका महेन्दर र जोगिन्दर नामका दुई छोरा छन् । एक छोरी पनि छन् । उहाँले भन्नुभयो, “दुई छोरासँग पालैपालो बस्छु । २०५७ सालमा म प्रगतिनगरमा आएको हो । मेरो तीन पुस्ता यहीँ नै मागेर जीवन बिताइसक्यो ।” पहिले पूरा नेटुवा समुदायले फिरन्ते जीवन बिताउँथ्यो । उहाँले थप्नुभयो, “पहिले हामी रुख तल पालमुनि र पछि माटोको घरमा बस्थ्यौँ । आधा जीवन त्यहीँ बिताएँ ।”
अहिले केहीले घर बनाएर स्थायी बसोबास सुरु गरे । अझै पनि धेरै परिवार डेरा लिएर बस्छन् र गाउँगाउँमा भिक्षा माग्न जान्छन् । “महिनौँ दिनसम्म फर्किंदैनन्, हामी पनि त्यस्तै गर्छौं,” उहाँले भन्नुभयो, “अहिले घर बनेको छ इँटा र सिमेन्टको तर शौचालय छैन, खानेपानी छैन ।” पानी लिनका लागि गाउँको सरकारी धारामा जानुपर्ने उहाँले बताउनुभयो ।
“पहिले दिनमा ३०–४० किलो चामल मागेर ल्याउथेँ तर अहिले दिनमा १०–१२ किलो पाउन पनि मुस्किल छ । पहिलेका मानिसहरू दयालु थिए, अब दिनै खोज्दैनन्,” तारमतीले भन्नुभयो । पक्की र स्थायी घरबास भए पनि उहाँका लागि जीवन कठिनको कठिन नै रह्यो । उमेर ढल्केपछि शरीरले पनि सहयोग नगर्ने सन्देश दिँदै उहाँले भन्नुभयो, “म त बुढो भैसकेँ, धेरै जान सक्दिनँ । कहिलेकाहीँ मात्रै जान्छु ।”

पक्की घरमा रहे पनि भिक्षामा आश्रित हुनुको विकल्प नपाएकी ३८ वर्षीया राधिका नेटुवाले भन्नुभयो, “१२ वर्षको उमेरदेखि माग्दै बाँचिरहेकी छु । म बिहान उठ्छु । आँखा खुल्नेबित्तिकै सोच आउँछ- आज कहाँ–कहाँ माग्न जाने ? चामल, दाल, तरकारी, पिठो… जो दिन्छ, उही ल्याउँछु । केही नदिने पनि धेरै हुन्छन् ।” उहाँको अनुभवमा माग्न जानु आफैँमा सजिलो काम होइन ।
राधिकाले बाटोमा हिँड्दै गर्दा धेरैपटक यस्तो कटाक्ष सुन्नुपर्यो- ‘ए, माग्न आई’, ‘तिम्रो मौसी आई’, ‘तिम्रो दिदी आई’ । कतिपय मानिसले उहाँलाई देखाउँदै उडाउँछन् र अरूसँग उहाँको कुरा गरेर जिस्क्याउँछन् । त्यस्तो गरेको बेला उहाँलाई लाज लागे पनि मनभित्र आगो बल्छ तर प्रतिकार गर्ने अवस्था हुँदैन । उहाँले भन्नुभयो, “तर के गर्नु ? नमागी घर फर्कियो भने छोराहरू भोकै सुत्छन् ।”
राधिकाको तीन छोरा र श्रीमान् गरी पाँच जनाको परिवार छ । उहाँलाई आफ्ना सन्तानको ठ्याक्कै उमेर कति भयो भन्ने पनि थाहा रहेनछ । ४० वर्षीया राधिकाका श्रीमान् महेन्द्र नेटुवाका अनुसार, उहाँहरूका १४, १२ र ७ वर्षका छोराहरू छन् । उनीहरू विद्यालय जान थालेका छन् ।
महेन्द्रले मागेर बाँच्ने परम्परा पुस्तौँदेखि चल्दै आएको बताउँदै भन्नुभयो, “जिजुबाजे रुखमुनि बस्थे । गाउँ–गाउँ डेरा गर्दै माग्थे । आज पनि त्यो क्रम रोकिएको छैन ।” उहाँका अनुसार, भिक्षा माग्ने काम महिलामै मात्र सीमित छैन । पुरुष पनि माग्न जान्छन् तर पछिल्लो समय कतिपय पुरुषले मजदुरी गर्ने र ब्यान्डबाजा बजाउने गर्न थाले । हामीसँग सिप छैन । सिप नभएपछि माग्नु नै सजिलो हुन्छ ।
प्रगतिनगरको नेटुवा बस्तीमा सिपमूलक तालिमको कार्यक्रम पनि आयो । “तालिम आयो, तर सबैसम्म पुगेन । गाउँपालिकाले गाडी चलाउने, मौरीपालन, बाजा बजाउने तालिम ल्याएको थियो तर त्यसमा सबैको सहभागिता भएन,” महेन्द्रले सहभागिता नहुनाको कारण खुलाउँदै भन्नुभयो, “सिप सिक्न जाने कि माग्न जाने ? एक दिन माग्न गएन भने भोकै रात काट्नुपर्छ अनि को जान्छ सिक्न ?”
महिलाहरू माग्नमै खटिए । परिवारका सदस्यहरूको पालनपोषणका लागि माग्न हिँड्नु राधिकाको रोजाइको काम होइन । बाध्यतावश माग्न जाँदा उहाँले अनेक खालका मानिस र समाजमा आइरहेको परिवर्तनलाई देख्नुभयो । “कसैले दया पनि देखाउँछ । धेरैले ढोका नै नखोल्ने गर्छन् । कतिपय त लौरो उठाएर कुट्नै आउँछन् । आजभोलि त माग्दा दिनेभन्दा गाली गर्ने नै बढी देखिन्छ,” उहाँले भन्नुभयो ।

प्रगतिनगरकै ३५ वर्षीया मन्तोला नेटुवाले सानैदेखि भिक्षा मागेर नै गुजारा गर्नुपर्ने भयो । “अहिले पनि यही पेसा हो मेरो । पेट पाल्नका लागि माग्नेबाहेक अरू उपाय छैन । दुई दिन माग्न नगए, घरमा चुल्हो बल्दैन, बच्चालाई भोकै बस्नुपर्छ,” उहाँले भन्नुभयो, “चामल, दाल, तरकारी… जे जो दिन्छ, त्यही लिएर घर फर्कन्छु । दिन मन भएकाले दिन्छन्, नदिने मन भएकाहरू भने गाली गर्छन्, तिनले लौरोसम्म उठाउँछन् ।”
“चुनावी समयमा नेताहरू आएर आश्वासन दिन्छन्, तर हाम्रो अधिकारको कुरा गर्ने कोही छैन । हामीले मागेर मात्र पेट पाल्न सक्छौँ । अरू काम पाएर गर्थ्यौं भने भिक्षा माग्नु पर्दैनथ्यो तर काम पाइँदैन,” मन्तोलाले भन्नुभयो ।
मन्तोलाको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमान् गरी छ जना छन् । जेठी छोरीको विवाह भइसकेको, माइली छोरी खुश्बु १४ वर्षको उमेरमा १३ वर्षका भाइसँग कक्षा ४ मा र १२ वर्षका छोरा कक्षा ३ मा पढ्दै गरेको उहाँले बताउनुभयो । “छोराछोरीलाई पढाउने इच्छा त छ तर परिवार पाल्न भिक्षा माग्न बाध्य छौँ,” मन्तोलाले भन्नुभयो, “खेतमा मजदुरी गरौँ भने अरूको जग्गा हाम्रो होइन, अधिया हुन्डा गरौँ भने कसैले दिँदैन ।”
मन्तोलाले २०७८ सालमा प्रगतिनगरमा स्थायी घर बनाउनुभएको थियो । “घर बनाउन १० धुर जग्गा किनेँ, त्यसमा सिमेन्ट र इँटाको भित्तो जोडेर घर बनाएँ,” उहाँले भन्नुभयो । उहाँले घर भए पनि जीवन सहज भएको अनुभव गर्न पाउनु भएन । परिवारसहित टाढा–टाढा गएर माग्नुपर्ने अवस्था आयो । “माग्न जाँदा ठुला महिलालाई गालीगलौच हुन्छ भने बच्चाहरूलाई झन् के गर्छन् होला,” उहाँले प्रश्न गर्नुभयो ।
मन्तोलाका ४५ वर्षीय श्रीमान् विजय नेटुवाले पनि आर्थिक अभावकै कारण आफ्नो परिवारले बजारबाट माछामासु किनेर खान नसकेको बताउनुभयो । “पैसा छैन, माछामासु किनेर खान सक्दैनौँ । सर्प, कछुवा, बिरालो मारेर पकाउँछौं,” उहाँले भन्नुभयो । सरकारले विपन्न बालबालिकाका लागि मासिक चार सय रुपैयाँ दिने व्यवस्था छ । त्यो रकम विद्यालयका पोसाक, कापीकलम आदि किन्नमै खर्च हुन्छ । पढाइ र खाना खर्च आफैँले जुटाउन पर्छ ।
“चुनावी समयमा नेताहरू आएर आश्वासन दिन्छन्, तर हाम्रो अधिकारको कुरा गर्ने कोही छैन । हामीले मागेर मात्र पेट पाल्न सक्छौँ । अरू काम पाएर गर्थ्यौं भने भिक्षा माग्नु पर्दैनथ्यो तर काम पाइँदैन,” मन्तोलाले भन्नुभयो ।
भिक्षा छाडी शिक्षा र रोजगारीतिर ध्यान
प्रगतिनगरकी २० वर्षीया ज्योती नेटुवाले आफ्नै समुदायका अरू बालबालिकाभन्दा फरक जीवन रोजेर अघि बढ्न थाल्नुभयो । आर्थिक अवस्था कमजोर भएकाले नेटुवा समुदायका धेरै बालबालिकाले पढाइ छोड्नु परेको छ तर उहाँ प्रगतिनगरमै पहिलो पटक एसइई दिने पहिलो किशोरी बन्नुभयो ।

कक्षा ७ पूरा गर्दासम्म कक्षा छोडेर पनि कहिलेकाहीँ भिक्षा माग्न गएको बताउँदै ज्योतीले भन्नुभयो, “कक्षा १० मा पढ्न थालेपछि धेरै मानिससँग चिनजान भयो । माग्न जाँदा सरम लाग्न थाल्यो । अहिले भिक्षा माग्न जान्नँ, कामको खोजीमा छु ।” उहाँको परिवारमा आमाबुबासहित एक बहिनी, तीन दाजुभाइ, दुई भाउजू र जेठा दाजु अमर नेटुवाका तीन छोराछोरी गरी १२ जना सदस्य छन् ।
सुनवलकी सोनमले पनि सानोमा आमा बिन्दुसँग भिक्षा माग्न जाने गरे पनि अहिले त्यसो गर्न मन नलाग्ने बताउनुभयो । उहाँले दृढता प्रकट गर्दै भन्नुभयो, “बरु खेतमा काम पाए गर्छु तर भिक्षा माग्न जाँदिनँ ।”
कक्षा १० मा पढ्ने उहाँकी १६ वर्षीया बहिनी जुनिताले पनि भन्नुभयो, “भिक्षा माग्न जान्नँ । आमा र दिदीले भिक्षा माग्दा समाजले गर्ने अपहेलनाले मलाई पठाएनन् ।”
सुनवलकी सोनमले पनि सानोमा आमा बिन्दुसँग भिक्षा माग्न जाने गरे पनि अहिले त्यसो गर्न मन नलाग्ने बताउनुभयो । उहाँले दृढता प्रकट गर्दै भन्नुभयो, “बरु खेतमा काम पाए गर्छु तर भिक्षा माग्न जाँदिनँ ।”
बिन्दुले पनि भिक्षा माग्न गाउँघरमा जाँदा आफूले भोग्दै आएको विभेद, गालीगलौज, बेइज्जती लगायतका कारण छोरीहरू सोनम र सोनामीलाई अहिले भिक्षा माग्न नपठाएको बताउनुभयो । मागेर खान पनि त्यति सजिलो भने छैन । उहाँको भनाइ थियो– हामीले दुःख गरेर ल्याउँछाैँ तर समाजले काम नगरी मागेर खाने भनेर गाली गर्छ ।
ज्योतीका बुबा सञ्जय नेटुवा ४५ वर्ष र आमा कुस्मावती नेटुवा ४३ वर्षको हुनुभयो । बुबाको काम मह निकाल्ने, बाजा बजाउने र मजदुरी गर्ने हो भने आमाको काम भिक्षा माग्ने नै हो । ज्योतीको २२ वर्षीया भाउजू सोनी नेटुवाको काम पनि भिक्षा माग्ने नै हो । सोनीको १८ वर्षको उमेरमा बिहे भएको थियो । उहाँको पढाइ कक्षा ५ मै रोकिएको थियो ।
ज्योतीलाई भने भिक्षा माग्न गएका दिनहरूको सम्झना गर्न पनि मन लाग्दैन । भन्नुभयो, “अघिल्लो जीवन सम्झन मन छैन । भिक्षा माग्दा कसैले दिन्थ्यो, कसैले दिन्थेन । कहिले त ‘तेरो बुबाले कमाएको छ’ पनि भन्थे ।” उहाँका अनुसार, गाउँमा जाँदा देखापरेको अपहेलनाले दुःख लाग्थ्यो । टाढा–टाढा भिक्षा माग्न जाँदा एक्लो हिँड्दा डर पनि लाग्थ्यो । यसैले उहाँले आफ्नी बहिनीलाई भिक्षा माग्न पठाउन सक्नु भएन ।
“अब म चाहन्छु, प्रगतिनगरका बालबालिकालाई शिक्षित बनाउने,” ज्योतीले भन्नुभयो । आफूसँग पढेका सबै साथीहरूको विवाह भइसकेको उहाँको भनाइ थियो । दुई लाख रुपैयाँ लगानी गरेर साउदीमा लेबर काम गर्न गएका ज्योतीका जेठा दाजु अमरले एक महिनामा २५ हजार रुपैयाँ पठाए पनि उहाँलाई त्यहाँको काम राम्रो लागेको छैन । अब त्यहाँ बस्ने कि के गर्ने अन्योलमा रहेको पनि ज्योतीले बताउनुभयो ।
ज्योतीलाई अझै पढ्न मन थियो तर एसइईमा ब्याक लाग्यो । ब्याकपछिको निराशाले उहाँका केही सपना अधुरा रहे, आफूले चाहेको काम गर्न पाउनु भएन । फरक काम गरी घरको आर्थिक अवस्था सुधार्न पनि पाउनु भएन । भन्नुभयो, “कापीकलम नहुँदा भिक्षा मागेर पढाइको खर्च जुटाउँथ्यौँ । अहिले पनि त्यही अवस्था छ ।”
आर्थिकरूपमा अति विपन्न नेटुवाहरूको विगतदेखिकै पेसा भनेको सर्प नचाउने, नाचगान, कला प्रदर्शन गर्ने, सर्कस देखाउने, सिकार गर्ने, मह काढ्ने, गोदना गोद्ने हो ।
जे भए पनि ज्योतीको शिक्षा, चेतना र सङ्घर्ष देखेर प्रगतिनगरका अन्य बालबालिकामा पढाइप्रति उत्साह बढ्न थाल्यो । करिब २० घरधुरीमा रहेका दुई सयभन्दा बढी नेटुवा समुदायका मानिस बस्ने कपिलवस्तुको प्रगतिनगरका सरकारी विद्यालयमा नेटुवा बालबालिकाले नियमित अध्ययन गर्न थालेको पाइयो ।
आर्थिकरूपमा अति विपन्न नेटुवाहरूको विगतदेखिकै पेसा भनेको सर्प नचाउने, नाचगान, कला प्रदर्शन गर्ने, सर्कस देखाउने, सिकार गर्ने, मह काढ्ने, गोदना गोद्ने हो । यो उनीहरूको पुर्ख्यौली पेसा पनि हो । सोही पेसाका कारण उनीहरूको जीवन घुमन्ते शैलीमा बित्दा उनीहरूमध्ये अधिकांशको स्थायी बसाइ र रोजगारी सुनिश्चित हुन पाएन ।
पछिल्लो समय सूचना प्रविधि र आधुनिकताको विकाससँगै उनीहरूको परम्परागत पेसाप्रति आम जनमानसको पनि रुचि घट्दै गयो । फलतः सो समुदाय मागेर नै जीविकोपार्जन गर्नुपर्ने विषम अवस्थातिर धकेलियो । अघिल्लो पुस्ताका विवाहित महिलाहरू भिक्षा मागेरै जीविकोपार्जन गर्न बाध्य भए । पुरुषहरू पनि मह निकाल्ने, सर्प समात्ने र मजदुरी गर्ने काममै सीमित रहे । यसमा बदलाव ल्याउन नयाँ पुस्ताले पढ्न पाउनुपर्ने र पढाइमा जोड दिनुपर्छ भन्नेमा ज्योतीको जोड थियो ।
अभिलेखमा नेटुवा, समाजमा नेटुवा पनि
राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा नेटुवालाई ‘नेटुवा’ उल्लेख गरिएको छ । नेटुवा जाति हिन्दु र मुस्लिम गरी दुई धर्मका भेटिन्छन् । बारा, पर्सा, सर्लाही, सप्तरी र सिराहातिरका नेटुवा जाति इस्लाम धर्म मान्छन् भने नारायणी पश्चिमका अधिकांश नेटुवाले हिन्दु धर्म मान्ने जनाइएको छ । राष्ट्रिय दलित आयोगले तराई/मधेसका दलित समुदायभित्र पर्ने भनी ‘नेटुवा’ लाई दलित जातिमा सूचीकृत गरेको छ ।
दलित समुदायबिच पनि नेटुवाहरूको आर्थिक, सांस्कृतिक एवं राजनीतिक अवस्था कमजोर रहेको छ । उनीहरूमध्ये अधिकांश व्यक्तिसँग घर बनाउने जग्गाजमिन छैन । भूमिहीन भएकैले उनीहरूले ऐलानी वा पर्ती जग्गामा घर बनाएको र कतिपयले प्लास्टिकका पालमुनि जीवन बिताइरहेको भेटियो ।
राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएअनुसार, नटुवा (नेटुवा) जातिको जनसङ्ख्या महिला एक हजार ४ सय १८ र पुरुष एक हजार ४७८ गरी कुल दुई हजार ८ सय ९६ रहेको छ । यो देशको कुल जनसङ्ख्याको शून्य दशमलब शून्य एक प्रतिशत रहेको छ । २०६८ को जनगणनामा यिनीहरूको सङ्ख्या तीन हजार १८२ थियो । जनगणना २०७८ अनुसार, लुम्बिनी प्रदेशमा यो जातिको जनसङ्ख्या महिला ४४२ र पुरुष ४४९ गरी कुल ८९१ रहेको छ ।
नेपाल सरकारले कुल जनसङ्ख्याको शून्य दशमलब प्रतिशतभन्दा कम भएको जातिलाई अल्पसङ्ख्यक लोपोन्मुख जातिको मान्यता दिँदै २०७४ वैशाख ११ गते राजपत्रमा त्यस्ता ९८ जातिको विवरण सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेटुवाभन्दा बढी सङ्ख्या भएको पत्थरकट्टा जातिलाई सामाजिक सुरक्षा ऐन २०७५ मा लोपोन्मुख जातिमा सूचीकृत गरिएको थियो । लोपोन्मुखमा सूचीकृत भएपछि पथ्थरकट्टा जातिले सामाजिक सुरक्षाअन्तर्गत वडाबाट भत्ता पाउन थाले । त्यसबापत प्रतिव्यक्ति मासिक चार हजार रूपैयाँ पाउँदै आएका छन् तर नेटुवा समुदायका मानिसले लोपोन्मुख जातिले पाउने उक्त सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
नेटुवा समुदायका व्यक्तिको प्रतिनिधित्व कुनै राजनीतिक दल, सरकारी निकाय र तहमा रहेको देखिँदैन । सानो जनसङ्ख्या, अत्यधिक गरिबी र शिक्षामा पहुँचहीनताका कारण दलित समुदायका सङ्घसंस्था र निकायमा समेत सहभागिता न्यून छ । उनीहरूलाई मूलधारमा ल्याउन राज्यले त उदासीनता देखायो नै, दलित समुदायद्वारा सञ्चालित सङ्घसङ्गठनले समेत पहल गरेको देखिएन ।
सूचीकरण र सुविधामा जोड
लुम्बिनी प्रदेश, रूपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरियाका नेटुवा समुदाय उत्थान समूहका अध्यक्ष अनिल नेटुवाले नेटुवाहरू लोपोन्मुख जातिमा पर्ने तर राष्ट्रिय दलित आयोगले ‘नेटुवा’ लाई दलित जातिमा सूचीकृत गरेसँगै नेटुवा समुदायको आफ्नो हक अधिकारहरू खोसिएको गुनासो गर्नुभयो ।
“हामी धेरै समस्यामा छौँ । हरेक चिजबाट वञ्चित छौँ । जग्गाजमिन र खेतीबारी छैन । शिक्षा, स्वास्थ्य, रोजगारीबाट समेत हामी वञ्चित छौँ । त्यसैले त यो समुदाय पछाडि परेको छ,” अध्यक्ष अनिलले भन्नुभयो, “स्थानीय सरकारले समेत हामीलाई कुनै वास्ता गर्दैन । वडा र नगरपालिकामा आफ्नो हक अधिकारका लागि हात जोड्दासमेत कुनै मतलब राख्दैन ।”
वडाध्यक्ष राजेन्द्र यादवका विचारमा नेटुवा बहुत पीडित समुदाय हो । नेटुवा जातिलाई पनि लोपोन्मुख जातिमा सूचीकृत गरिदिए सरकारबाट केही सेवा सुविधा पाइन्थ्यो भने यो समुदाय माग्न पनि जाँदैनथियो होला ।
वडाध्यक्ष राजेन्द्रका विचारमा नेटुवा बहुत पीडित समुदाय हो । नागरिकता नहुँदा धेरै जना धेरै कुराबाट वञ्चित भएको अवस्था छ । उहाँले नागरिकता नभएको कारणले नेटुवाहरूको घर पनि वडाले बनाउन नसकेको बताउँदै कुन आधारमा बनाइदिने भनी स्थानीय निकायलाई राज्यले नै आधार बनाइदिनुपर्ने कुराको सङ्केत गर्नुभयो । जन्मदर्तादेखि नागरिकतासँग जोडिएका सवालमा उहाँले भने झैँ राज्यबाट त्यस्तो कुनै नीति नियम आयो भने बल्ल बन्न सक्ने भएकाले राज्यले नै नीति नियम ल्याउनुपर्ने हुन्छ ।
नीति नियमसँगै सूचीकरणको कुरा पनि महत्त्वपूर्ण हुन्छ । यसैले नेटुवा समुदायलाई लोपउन्मुख जातिमा सूचीकृत गरिदिए आफ्नो समुदायको अवस्थामा सुधार हुन सक्ने नेटुवा अध्यक्ष अनिलको विचार थियो । उहाँका अनुसार, नेटुवा जातिलाई पनि लोपोन्मुख जातिमा सूचीकृत गरिदिए सरकारबाट केही सेवा सुविधा पाइन्थ्यो भने यो समुदाय माग्न पनि जाँदैनथियो होला ।
अध्यक्ष अनिलको यो भनाइ मननीय पनि छ, किनकि बाँच्नकै लागि अर्काको घरमा माग्न जानु नपर्ने भएपछि महिला, किशोरी र बालिकाहरूले अपमान र गालीगलौच भोग्नुपर्ने सामाजिक आर्थिक दुष्चक्रबाट मुक्ति पाउने थिए । नयाँ पुस्ताले सम्मानपूर्वक बाँच्नका लागि बेलैमा शिक्षा र सिप आर्जन गरी आफ्नै रोजाइको काम गर्न पनि पाउने थिए ।
‘भिक्षा, गाली र अपमानको चक्रमा नेटुवा समुदायका महिला’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत उर्मिला यादवले तयार गर्नुभएको हो ।
सबै तस्विरहरू: उर्मिला यादव
प्रकाशन मिति : २०८२ माघ ८ गते, बिहिवार
सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू





