– चीना थापा
नेपालको पूर्वी भागमा रहेको व्यापारिक र औद्योगिक केन्द्र विराटनगर उद्योगको सहर मात्र होइन, महिला सहभागितासहितको सामाजिक प्रतिरोध र श्रमिक चेतनाको केन्द्र पनि हो । यसको इतिहासको बिउ १९९३ सालमा रोपिएको थियो । विराटनगर मजदुर आन्दोलनको नामले परिचित २००३ सालको घटनामा मजदुरी र राजनीति गर्ने नेपाली महिलाहरूको सहभागिताको सन्दर्भ पनि जोडिएको छ ।
विराटनगर मजदुर आन्दोलनमा महिला सहभागिताको पृष्ठभूमि खोज्ने क्रममा राणाकालीन उद्योग व्यवसायको कानुनी इतिहासलाई पक्डनुपर्ने हुन्छ । मजदुर आन्दोलन हुनका लागि आधारभूत पूर्वाधार भनेका उद्योग, व्यापार, व्यवसाय, कलकारखाना आदि हुन् । तिनको सञ्चालनका लागि राज्यले कानुनी व्यवस्था गरेको हुन्छ ।
नेपालमा उद्योग व्यवसायको विकासका लागि १९९३ सालमा कम्पनी कानून र १९९४ सालमा नेपाल बैंक कानून आयो । ‘डिभलप्मेन्ट बोर्ड’ नामक संस्था ‘उद्योग परिषद’ मा परिणत भइसकेको थियो । सिप सिकाउने उद्देश्यले त्यति बेला घरेलु इलम प्रसार अड्डाको स्थापना पनि गरिएको थियो ।
लिच्छविकालीन समाजमा नै नेपालमा घरेलु उद्योगको विकास भएको इतिहास भए पनि पहिलो ठुलो र आधुनिक उद्योगको रूपमा विराटनगर जुट मिलको स्थापना भयो । त्यसपछि ठुला र मझौला खालका जुट मिल, कपडा मिल, तेल मिल, चिनी मिललगायत उद्योगहरूको स्थापना भयो । तिनको सञ्चालनका लागि मानवस्रोत चाहिन्छ । त्यसमा मजदुरहरू पनि जोडिए ।
राणा शासनको केन्द्रीकृत राजनीतिक संरचनाभित्र विराटनगरले आर्थिक गतिविधिको नयाँ दिशा सङ्केत गरिरहेको थियो । जुट मिलबाट उत्पादित बोरा, सुतरी, ‘स्ट्रिप्स’ जस्ता वस्तुहरूको निकासी भारत र बर्मासम्म हुन्थ्यो । त्यति बेलाको बर्मा पछि म्यान्मार नामले परिचित भयो । बर्माबाट नेपाल फर्किएका महिलाहरू सचेत र जुझारु भएकाले २००३ सालको मजदुर आन्दोलनका बेला अग्रमोर्चामै सहभागी भए ।

आन्दोलनको वैश्विक पृष्ठभूमि पनि उल्लेखनीय छ । तत्कालीन ब्रिटिश इन्डिया विश्वयुद्धमा प्रत्यक्ष सहभागी मुलुकहरूमध्ये एक थियो । विश्वयुद्धकै कारण नेपालमा मात्र होइन, छिमेकी भारतमा पनि उपभोग्य वस्तुहरूको अभाव थियो । नेपालमा ठुला उद्योगहरू खोली वस्तुहरू उत्पादन गरी भारतीय बजारमा निकासी गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर नेपालको सीमावर्ती क्षेत्रमा उद्योगहरू स्थापना गर्ने क्रम बढेको थियो ।
उद्योगहरू स्थापना गर्ने क्रम बढेको सन्दर्भमा पुरुषोत्तम बस्नेत (विसं २००२–२०८०) को ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ मा यस्तो उल्लेख छ– विराटनगरको दक्षिणी किनारको जोगबनीनिरको करिब डेढ माइल क्षेत्रफलको भूभागलाई औद्योगिक क्षेत्रको रूपमा छुट्ट्याइएको थियो । त्यही क्षेत्रमा जुट मिल, कटन मिल, राइस मिल, तेल मिल, सलाई कारखाना, केमिकल कारखानाहरू खुलेका थिए । ती सबैमा काम गर्ने मजदुरहरूको सङ्ख्या करिब २५–३० हजार पुगिसकेको थियो ।
‘विराटनगर मजदुर आन्दोलन’मा महिलाको उपस्थिति उल्लेखनीय रहेको कुरामा इतिहासकारहरूको विमति देखिएन । नेपाली क्रान्तिमा पहिलो आमहडताल मानिएको उक्त घटनामा महिलाले देखाएको उपस्थितिले इतिहास लेखकहरूलाई भने खासै आकर्षित गर्न सकेन ।
आधुनिक उद्योग व्यवसायको स्थापनासँगै स्थानीय वर्ग–समुदाय पहिलोपटक नगदमा आधारित अर्थतन्त्रमा जोडिन थालेका थिए । यही औद्योगिक विस्तारको पृष्ठभूमिले २००३ सालको ऐतिहासिक मजदुर हडतालको आधार तयार गर्यो, जुन पछि नेपालको राजनीतिक परिवर्तनको मोडविन्दु पनि बन्न पुग्यो ।
अधिकार, प्रतिरोध र महिलाको उपस्थिति
नेपालको उद्योग क्षेत्रको इतिहासमा नै उल्लेखनीय मजदुर हडताल विराटनगरमा भयो । विराटनगर जुट मिलबाट विसं २००३ मा थालिएको मजदुर हडतालमा कटन मिल, तेल मिल, राइस मिल र अन्य कारखानाका कामदारहरू पनि समान माग राखेर सहभागी भए । उक्त आन्दोलनलाई ‘विराटनगर मजदुर आन्दोलन’ भनियो । त्यसलाई अधिकार र प्रतिरोधको पर्याय पनि मानियो ।

उक्त आन्दोलनमा महिलाको उपस्थिति उल्लेखनीय रहेको सोलोडोलो कुरामा इतिहासकारहरूको विमति देखिएन । इतिहासकार, संस्कृतिविद्, २००७ सालको क्रान्तिका योद्धा तथा पूर्वमन्त्री भुवनलाल प्रधान (विसं १९७९–२०६७) ले ‘नेपालको जनक्रान्ति २००७’ मा उल्लेख गरेअनुसार, नेपाली क्रान्तिको इतिहासमा त्यो नै पहिलो आमहडताल थियो ।
नेपाली क्रान्तिमा पहिलो आमहडताल मानिएको उक्त घटनामा महिलाले देखाएको उपस्थितिले इतिहास लेखकहरूलाई भने खासै आकर्षित गर्न सकेन । राज्य र समाजमा दोस्रो दर्जामा राखिएझैँ दस्ताबेजीकरणमा उनीहरूको सङ्ख्या, सरोकार, कथाव्यथा, व्याख्या र वर्णनले उचित स्थान पाउन सकेन ।
हडतालको मूल मुद्दा मजदुरका अधिकार थिए भन्ने कुरा आए । त्यसमा तलब, कामको समय, स्वास्थ्य उपचार सेवा र व्यावहारिक न्यायको माग उल्लेख गरियो । २००० सालतिर विराटनगरको जुट मिल र अन्य उद्योगहरूमा कार्यरत मजदुरहरूको स्थिति कठिन र दैनिक जीवन अत्यन्त श्रमसाध्य थियो ।
साथै, कम पारिश्रमिक, लामो काम घण्टा, असुरक्षित श्रम अवस्था र बोल्न नपाइने वातावरण सामान्य रहेको कुरा पनि आम थियो । त्यस्तो बेला मजदुर महिलाहरूको अवस्था के थियो र उनीहरू झन् कति प्रताडित हुन पुगेका थिए होलान् ? समयमै यो कुराको खोजी, विश्लेषण र अभिलेखीकरण गर्ने काम भएन ।
मजदुर महिलाको हकमा मूल मुद्दाभित्र रहेका तलब, कामको समय, स्वास्थ्य उपचार सेवा, व्यावहारिक न्याय, लामो काम घण्टा, असुरक्षित श्रम अवस्था, बोल्न नपाइने वातावरण आदिको प्रभाव के र कस्तो थियो ? कार्यस्थलको वातावरण महिलाको लागि कत्तिको मर्यादित र उपयुक्त थियो ? यस्ता प्रश्नहरू जायज भए पनि समयमै ख्याल नगरिएकाले अझै अनुत्तरित छन् ।

मोरङ व्यापार संघको २०३८ को स्मारिकामा प्रकाशित जुद्धबहादुर श्रेष्ठ (विसं १९७४–२०५४) को लेख ‘मोरङको औद्योगिक शुरुवातः मेरो सम्झना’ मा उल्लेख भएअनुसार, त्यस समयमा मजदुरहरूले आफ्नो जीवनस्तर सुधार गर्न तलब वृद्धि, स्वास्थ्य परीक्षण, बिदा, क्वाटर (आवास सुविधा), महिलाहरूका लागि सुत्केरी बिदा, शिशुस्याहार केन्द्र, बोनस र मजदुर संगठनलाई कानुनी मान्यता दिने माग गरेका थिए ।
प्रश्न उठ्छ, महिलाहरूका लागि त्यति बेला नै सुत्केरी बिदा, शिशुस्याहार केन्द्र जस्ता माग पनि उठाइएका थिए भने त्यसको सम्बोधन के कसरी भएको थियो ? भएको थिएन भने किन हुन सकेको ? ती मुद्दा गणतन्त्रकालसम्म पनि उत्तिकै महत्त्वका साथ उठिरहेका छन् । यसरी मुद्दा उठिरहने तर सम्बोधनमा आनाकानी भइरहनाको पछाडिको मूल कारण के हो ?
‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन : एक शताब्दी’ कृतिमा सङ्गृहीत सीता ओझा र प्रभादेवी बज्राचार्यको ‘ट्रेड युनियन आन्दोलनमा महिला’ लेखमा उल्लेख भएअनुसार, जुट मिल आन्दोलनमा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाहरू अन्य मजदुरसँगसँगै आन्दोलनको अग्रभागमा रहेर सक्रिय सहभागी भएका थिए ।

प्रो. ढुण्डिराज भण्डारी (विसं १९८२–२०५३) को पुस्तक ‘नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास’ मा उल्लेख भएअनुसार, विराटनगर जुट मिलका मालिकहरूले राणा शासन व्यवस्थाको आडमा मजदुरहरूको निकै शोषण गरेकाले मजदुरहरूले हडतालको सहायता लिने निर्णय गरेका थिए ।
भुवनलालका अनुसार, विराटनगरस्थित मिलहरूमा २०–२५ हजार मजदुरहरूको जमघट भइसकेको थियो । समय र स्थानअनुसार मजदुरहरूमा जागृति बढ्दै आइरहेको थियो । सँगैको भारतीय इलाका जोगबनीका मजदुरहरूको तलब, काम गर्ने सर्त र सुविधाहरूको दाँजोमा हरेक कुरामा आफूहरू पछाडि परिरहेको स्थिति नेपालका मजदुरहरूलाई खट्किरहेकै थियो ।
उक्त स्थितिप्रति सर्वप्रथम विराटनगर जुट मिलका मजदुर तथा कर्मचारीहरूले चासो लिएको, कारखानाका मालिकहरूसमक्ष मागपत्र पेस गरेको तर सुनुवाइ नभएको हुनाले अन्ततः २००३ फागुन २१ मा हडताल सुरु भएको कुरा भुवनलालको ‘नेपालको जनक्रान्ति २००७’ नामक पुस्तकमा उल्लेख छ ।
हडतालमा सहभागी महिलाहरूका सन्दर्भमा पूर्वप्रधानमन्त्री मनमोहनको भनाइ उल्लेख्य छ । उहाँले आन्दोलनमा महिलाहरू अग्रपङ्क्तिमा थिए भन्दै कटन मीलमा महिलाको सङ्ख्या अत्यधिक रहेको र जुट मीलमा भने अलि कम रहेको बताएको कुरा विसं २०५७ मा प्रकाशित ‘नेपालको श्रमिक आन्दोलनमा महिला सहभागिता’ सम्बन्धी अध्ययन प्रतिवेदनमा पाइन्छ ।
हडतालको नेतृत्व सर्वप्रथम मनमोहन अधिकारी (विसं १९७८–२०५६) ले गर्नुभयो । विज्ञानका विद्यार्थी रहिसकेका भरतमोहन अधिकारी त्यतिबेला नेपाल केमिकल उद्योगमा काम गर्नुहुन्थ्यो । मजदुर अधिकारप्रति सचेतता र राजनीतिक चेत भएकाले उहाँ नेपाल कम्युनिष्ट पार्टीको स्थापना नहुँदै कम्युनिस्ट राजनीतिमा लागिसक्नुभएको थियो । भीम रावलको पुस्तक ‘नेपालमा साम्यवादी आन्दोलन : उद्भव र विकास’ मा उल्लेख भएअनुसार, उहाँले १९९५ मा भारतीय कम्युनिष्ट पार्टी, बनारस जिल्ला कमिटीमा रहेर काम गर्नुुभएको थियो ।
हडतालमा सहभागी महिलाहरूका सन्दर्भमा पूर्वप्रधानमन्त्री मनमोहनको भनाइ उल्लेख्य छ । उहाँले आन्दोलनमा महिलाहरू अग्रपङ्क्तिमा थिए भन्दै कटन मीलमा महिलाको सङ्ख्या अत्यधिक रहेको र जुट मीलमा भने अलि कम रहेको बताएको कुरा विसं २०५७ मा प्रकाशित ‘नेपालको श्रमिक आन्दोलनमा महिला सहभागिता’ सम्बन्धी अध्ययन प्रतिवेदनमा पाइन्छ ।
उक्त प्रतिवेदनमा मनमोहनले महिलाहरू बहुत जुझारु रहेका र त्यसमा पनि बर्माबाट आएका बर्मेली टोलमा बस्ने महिलाहरू त अझ बढी जुझारु थिए भनेको पनि जनाइएको छ । यद्यपि, त्यस बेला युनियनको नीति निर्माणमा कोही पनि महिला नभएको पनि सोही प्रतिवेदनमा रहेको मनमोहनको भनाइमा खुल्न आउँछ ।

विराटनगर मजदुर आन्दोलनका अर्का नेता हुनुहुन्थ्यो, गिरिजाप्रसाद कोइराला (विसं १९८१–२०६६) । उहाँ कटन मिलमा काम गर्नुहुन्थ्यो । अध्ययन प्रतिवेदनअनुसार, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भनाइमा आन्दोलनमा महिलाहरूको छुट्टै माग नउठाइएको भए पनि मजदुर आन्दोलनमा महिलाहरूको पूर्ण सहभागिता रहेको थियो ।
सोही प्रतिवेदनमा कोइरालाको भनाइ उल्लेख छ, “बहुत जुझारु लडाईं लडेका थिए उनीहरूले । त्यस समय आन्दोलनमा लाग्ने महिलाको नाम अहिले मलाई याद भएन ।” स्पष्ट छ, मजदुर आन्दोलनले राजनीतिक मोड लिएपछि मजदुर महिलाहरू जतिसुकै जुझारु भए पनि स्मरणयोग्य हुन सकेनन् । उनीहरूको इमानदार योगदानको फल राजनीतिक अभिष्ट बोकेका व्यक्तिहरूले लिए ।
विसं २०५७ मा प्रकाशित ‘श्रमिक खबर’ (सङ्ख्या ६३) मा संलग्न विष्णु रिमालको ‘नेपालमा ट्रेड युनियन आन्दोलनको पचास वर्ष’ शीर्षक लेखमा उल्लेख भएअनुसार, विराटनगर जुट मिल्सका तत्कालीन प्रबन्ध व्यवस्थापक राधाकृष्ण सिंहानियाले तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरलाई बिन्तीपत्र लेखेर मजदुर आन्दोलन दमनका लागि उक्साएका थिए । बिन्तीपत्रमा हडतालमा उत्रिएका मजदुरहरूको सङ्ख्या तीनदेखि चार हजारको बिचमा रहेको पनि उल्लेख गरिएको थियो ।
विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९) को ‘आत्मवृत्तान्त’ कृतिमा उल्लेख भएअनुसार, पाँच–सात हजार मजदुरहरूले हडताल गरेका थिए । त्यो नेपालको भूमिमा, खुला रूपले निर्धक्क भएर, सरकारको अवज्ञा गरेर गरेको पहिलो आन्दोलन थियो । गाउँ–गाउँबाट मानिसहरू आएका थिए । हडताल गरेका पाँच–सात हजार मजदुरहरूलाई खुवाउनुपर्ने स्थिति थियो । साराले चामल दिए, दाल दिए, पैसा दिए र हडताल चल्यो । उता, प्रबन्ध व्यवस्थापक राधाकृष्णको बिन्तीपत्रले काम गर्यो । ब्रिगेडियर कर्णेलको कमान्डमा गएको सैनिक टुकडीले आन्दोलनलाई दमन गर्यो ।
‘नेपालको श्रमिक आन्दोलनमा महिला सहभागिता’ सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार, आन्दोलनमा सहभागी हुने क्रममा महिलाहरू नलिनी उपाध्याय, कामिनी गिरी, इन्दिरा आचार्य र दिव्या कोइराला गिरफ्तार हुनुभयो । यद्यपि, उहाँहरू मजदुर हुनुहुन्थेन । उक्त अध्ययन प्रतिवेदन तयारीकर्ता बिन्दा पाण्डेका अनुसार, उहाँहरू श्रमिक पक्षसँग एकता व्यक्त गर्दै अग्रपङ्क्तिमा उभिएका महिला हुनुहुन्थ्यो ।
आन्दोलनमा महिला मजदुरहरूका अतिरिक्त अन्य महिलाहरूको पनि सहभागिता थियो । ‘नेपालको श्रमिक आन्दोलनमा महिला सहभागिता’ सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार, आन्दोलनमा सहभागी हुने क्रममा महिलाहरू नलिनी उपाध्याय, कामिनी गिरी, इन्दिरा आचार्य र दिव्या कोइराला गिरफ्तार हुनुभयो । यद्यपि, उहाँहरू मजदुर हुनुहुन्थेन । उक्त अध्ययन प्रतिवेदन तयारीकर्ता बिन्दा पाण्डेका अनुसार, तर उहाँहरू श्रमिक पक्षसँग एकता व्यक्त गर्दै अग्रपङ्क्तिमा उभिएका महिला हुनुहुन्थ्यो ।
सङ्ख्या यकिन नभए पनि जुट मिल र अन्य उद्योगहरूमा महिलाहरू पनि उल्लेख्य सङ्ख्यामा कार्यरत रहेको बताइयो । तर, औपचारिक नेतृत्वमा महिलाहरूको नामको उल्लेख शून्यप्रायः भयो । यद्यपि, त्यतिबेला मजदुर आन्दोलनमा उपस्थिति जनाएका महिलाहरूले घर–परिवार सम्हालेको, पुरुष मजदुर र नेताहरूलाई आन्दोलनमा टिकाइराख्न सहयोग गरेको र गोप्य सन्देश आदान–प्रदानमा सघाएको कुरा धेरैजसोले उठाए ।
राजनीतितर्फ मोडिएको आन्दोलन
मजदुर आन्दोलनले पनि आफ्नो सफलताका लागि राजनीतिको साथ खोज्यो । पुरुषोत्तमले ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ पुस्तकमै जनाएअनुसार, नेपाली राष्ट्रिय कांगे्रस मजदुर हडतालका प्रति ठुलो सरोकार राखेर त्यसको प्रत्येक कामकारवाहीलाई उत्सुकतापूर्वक हेरिरहेको थियो । हडतालको तेस्रो दिन मनमोहनको आमन्त्रणमा दार्जीलिंगका कम्युनिस्ट नेता रत्नलाल ब्राह्मण (माहिला बाजे) र बिहारका केही कम्युनिस्ट कार्यकर्ता विराटनगर पुग्नुभयो ।
गिरिजाप्रसादलगायतबाट नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूलाई मजदुर आन्दोलनलाई नेतृत्व दिन र सहयोग पु¥याउन आमन्त्रण गरिएको र विश्वेश्वरप्रसाद कोइरालालगायत नेताहरू पनि विराटनगर पुग्नुभएको कुरा पुरुषोत्तमले उक्त पुस्तकमा जनाएको पाइन्छ भने भुवनलालले पनि आमन्त्रित राजनीतिज्ञहरूले हडतालीहरूको समर्थन मात्र गरेनन्, आफैँ पनि उक्त हडतालमा संलग्न भए भनी आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।
मजदुर आन्दोलनमा यसरी राजनीतिक नेताहरूको प्रत्यक्ष सहभागिता देखिएपछि त्यसले राणा शासनको राजनीतिक कठोरतालाई चुनौती दियो । धेरै इतिहासकारहरूको अभिमतमा उक्त आन्दोलनले श्रम अधिकारको दायराबाट निस्केर राजनीतिक स्वरूप धारण गर्न पुग्यो । त्यसकै कारण नेताहरू पक्राउ परे, आन्दोलनमाथि दमन भयो तर आवाज थामिएन ।
मजदुरको हडताल आर्थिक मागमा सीमित रहेन । राजनीतिक नेताहरूको संलग्नतासँगै ‘मजदुर आन्दोलन’ राणा शासनविरुद्धको राजनीतिक प्रतिरोधमा रूपान्तरण भयो । मिल मालिकहरू हडताललाई लम्ब्याइरहन चाहँदैनथे तर सरकार पक्षबाट मिल मालिकहरूलाई मजदुरहरूको माग पूरा गर्न दिइएको थिएन । फलतः हडताल चर्किंदै गयो । नेताहरू पक्राउमा परे । जुलुसमा गोली चलाइयो । केही मजदुरहरू मारिए पनि ।
हडताल चर्किंदै जाँदा त्यसको राजनीतिक कम्पनले राजधानी काठमाडौँलाई पनि छोयो । २००३ चैत १२ मा विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९), तारिणीप्रसाद कोइराला (विसं १९७९–२०३१), मनमोहन, गिरिजाप्रसादलगायत नेताहरू पक्राउमा परे । सोही दिन सरकारी प्रतिनिधि र मिल मालिकहरूको बैठक बस्यो । त्यसपछि मजदुरहरूको अधिकांश मागहरू पूरा गरेको घोषणा गरियो र मजदुरहरूलाई आ–आफ्नो कारखानामा फर्केर काम गर्न आग्रह गरियो ।
महिला मजदुरहरूको भूमिका अनुपम रहेको २००३ सालको हडतालको अनुभवले नेपाली समाजमा श्रम अधिकारको महत्त्व र सामाजिक समानता हुनुपर्ने विषयलाई उजागर गर्यो । त्यसमा अदृश्य बनाइए पनि महिलाहरूले निर्णायक भूमिका निर्वाह गरेका थिए ।
उक्त बैठक, घोषणा र आग्रहको भरमा मजदुर आन्दोलन साम्य हुन सकेन । भुवनलालका अनुसार, भारतको कलकत्तामा बसेको नेपाली राष्ट्रिय कांग्रेसको कार्यसमितिको बैठकले विराटनगरको स्थितिलाई ध्यानमा राखी त्यहाँको हडताल स्थगित गर्ने एवं त्यसको सिलसिलामा पक्राउ परिएका व्यक्तिहरू सबै २००३ सालको चैत मसान्तसम्म पनि मुक्त गरिएनन् भने २००४ साल वैशाख १ गतेबाट देशव्यापी आन्दोलन गर्ने ठहर गर्यो । अन्ततः २००४ सालमा देशव्यापी सत्याग्रह भयो ।
अदृश्यतामा आन्दोलनकारी महिलाहरु
महिला मजदुरहरूको भूमिका अनुपम रहेको २००३ सालको हडतालको अनुभवले नेपाली समाजमा श्रम अधिकारको महत्त्व र सामाजिक समानता हुनुपर्ने विषयलाई उजागर गर्यो । त्यसमा अदृश्य बनाइए पनि महिलाहरूले निर्णायक भूमिका निर्वाह गरेका थिए । महिलाहरूको साहस, सचेत र प्रतिरोधपूर्ण सहभागिताले नै देशमा श्रमिक अधिकारसँगै सामाजिक चेतनाको मार्गप्रशस्त गर्न सक्यो ।
महिलाहरूको साहस र जुझारुपनले पुरुष आन्दोलनकारीको मनोबल बढायो । नेतृत्व पुरुषहरूले गरे पनि हडताल लामो समय टिकिरहनुमा महिलाहरूको साहस र निरन्तर उपस्थितिको महत्त्वपूर्ण योगदान थियो । तर, खट्किने कुरो चाहिँ के रह्यो भने २००३ सालमा भएको देशकै पहिलो मजदुर आन्दोलनमा महिलाहरूको उल्लेख्य सहभागिता रहे पनि आन्दोलनको क्रममा नै जन्मिएको ‘विराटनगर मजदुर युनियन’ मा कुनै पनि महिला समेटिएनन् ।
युनियनका महासचिवसमेत रहेका मनमोहन अधिकारी र अध्यक्षसमेत रहेका गिरिजाप्रसाद कोइरालाबाट यो कुराको खुलासा भयो । २५–३० हजारको सङ्ख्यामा रहेका भनिएका मजदुरहरूमध्ये के कति महिला थिए भन्ने प्रश्नको जवाफ पनि उहाँहरूसँग भएको पाइएन । अनपेक्षित अज्ञातताले आन्दोलनमा सहभागी महिला मजदुरको वास्तविक अवस्थालाई अदृश्यतातिरै धकेलिरहन मद्दत गर्यो । लिखित दस्ताबेजहरूमा महिलाहरूको चर्चालाई मोटामोटी र सतही रूपमा मात्र समावेश गरियो ।
विसं २००३ को मजदुर आन्दोलनमा सहभागी भएका व्यक्तिको आफूखुसी अनुमानित सङ्ख्या उल्लेख गर्नेले महिला मजदुरहरूको सङ्ख्या र पहिचान खुल्नु आवश्यक ठानेको देखिएन । त्यससम्बन्धी विवरण वर्षौं बित्दा पनि खुलेन, खुलाइएन । ‘नेपाली श्रमिक आन्दोलनमा महिला सहभागिता’ शीर्षक अध्ययन प्रतिवेदनमा २००३ सालबाट गणपति कटन मिलमा मजदुरी गर्न थाल्नुभएकी यशोधा राना मगर एक जनाको मात्र, त्यो पनि अत्यन्त सङ्क्षिप्त जानकारी समेटिएको पाइयो ।
‘अनसनी बज्यै’ को नामबाट चर्चित नन्दा नेपाल, ‘हडतालीकी माँ’ नामबाट परिचित देवी पासवान र मंगलमाया बज्राचार्यका बारेमा पनि केही जानकारी त पाइयो तर उहाँहरू २००३ सालको हडतालमा सहभागी हुनुहुन्थेन । हुन सक्ने आधार पनि देखिएन ।
सही ज्ञानको पुस्तान्तरणका लागि
वर्तमान विराटनगरमा जुट मिलको पुरानो भवन र क्वार्टरहरू कतै–कतै खण्डहरका रूपमा देखिन्छन् । तर त्यो घटना, जसमा महिला मजदुरहरूको साहसिक र इमानदार सङ्घर्ष मिसिएको थियो, त्यसको सूक्ष्म जानकारीका लागि विशेष तरिकाले खोजी गर्नु आवश्यक छ । महिलावादी कोणबाट इतिहासको उत्खनन् र विश्लेषण गर्ने सन्दर्भमा त्यो घटनाको ठुलो महत्त्व छ ।

महिला सहभागिता र अदृश्यताको रहस्य खोल्न विविध खालका चुनौतीसँग जुध्नुपर्ने अवस्था पनि छ । स्थानीय इतिहासकार धर्मानन्द सञ्जेलले भन्नुभयो, “हामीले कहिलेकाहीँ मात्र महिला श्रमिकको योगदान सम्झन्छौँ तर वास्तविकता त्योभन्दा धेरै गहिरो छ । उनीहरूले औद्योगिक आन्दोलनको ढुकुटी नै बचाइराखे । आजका युवाले त्यो बुझ्नुपर्छ ।”
पुराना मजदुर महिलाहरू नेपालको औद्योगिक आन्दोलनका मेरुदण्ड थिए । आफ्नो कार्यस्थलको अवस्था र दैनिक जीवनमा सुधार हुने आशामा उनीहरूले साहस देखाए । त्यो पनि न कुनै पद, न सम्मान, न त सम्झना नै । औद्योगिक क्षेत्रभन्दा बाहिरको राजनीतिले उनीहरूको आन्दोलनको प्रतिफललाई अपहरण गर्यो र मजदुर महिलाको कष्टकर अवस्थालाई लगभग जहाँको त्यहीँ छोडिदियो ।
औद्योगिक प्रतिष्ठान र मजदुर महिलाहरू राजनीतिक कुरुक्षेत्रका हतियारभन्दा बढी मानिएनन् । फलतः महिलाको योगदानलाई अवमूल्यन गरियो । नेताको स्मृतिबाट हराउँदै गएपछि दस्ताबेजहरूमा पनि धमिलो छायाका रूपमा मात्रै सीमित गरियो र अन्ततः अदृश्यजस्तै बनाइयो । तर पनि, उनीहरूले त्यो आन्दोलनलाई उठाउने, टिकाउने र विस्तार गर्ने काममा योगदान गरेका थिए भन्ने सपाट सत्य लुक्न सकेन ।
लुक्न नसकेको त्यही सत्यको आधारमा विसं २००३ को विराटनगर मजदुर आन्दोलन यस्तो एउटा ऐतिहासिक घटना बन्यो, जसमा महिला मजदुरको साहसिक योगदानले महत्त्वपूर्ण काम गरेको थियो । त्यसलाई अदृश्य हुन नदिन अबका दिनमा इतिहास पुनर्लेखन गर्नु जरुरी छ । त्यसो गर्दा पुरुष मजदुर र राजनीतिक नेतृत्वसँगै महिला मजदुरको योगदानलाई महत्त्व दिएर खोजी र विश्लेषण गर्नुपर्ने देखिन्छ ।
मजदुर आन्दोलन पुरुषप्रधानताको घटना मात्र होइन, महिला समानताको उबडखाबड कथा पनि हो । महिलाद्वारा थपिएको श्रम, जोखिम, त्याग र दिन–प्रतिदिनको सङ्घर्षले न्याय पाउन बाँकी छ । आजको विराटनगरका हरेक संरचना, उद्योग र सामाजिक चेतनामा महिलाहरूको मजदुरी र अदृश्यतालाई जोड्ने राजनीतिक कडीको प्रभावले पनि समन्यायिक पक्षलाई कमजोर नै देखाउँछ ।
विराटनगर सहरको भित्री संरचनामा एउटा स्थायी तथ्य उभिएको छ । त्यो हो- यो उद्योग चलाउने सहर मात्र थिएन, श्रमसँगै अधिकारका मागमा उठ्ने महिलाहरूको साथ पाएको ठाउँ पनि थियो । मजदुर आन्दोलनमा महिलाहरूले आवाज उठाए, सडकमा उत्रिए, श्रमक्षेत्रमा अनदेखा गरिँदै आएका मजदुरका मुद्दालाई सार्वजनिक सरोकारका विषय बनाए । त्यसैमा महिलाहरूले केही हदसम्म आफ्नो पनि हित देखे ।
मजदुर आन्दोलन पुरुषप्रधानताको घटना मात्र होइन, महिला समानताको उबडखाबड कथा पनि हो । महिलाद्वारा थपिएको श्रम, जोखिम, त्याग र दिन–प्रतिदिनको सङ्घर्षले न्याय पाउन बाँकी छ । आजको विराटनगरका हरेक संरचना, उद्योग र सामाजिक चेतनामा महिलाहरूको मजदुरी र अदृश्यतालाई जोड्ने राजनीतिक कडीको प्रभावले पनि समन्यायिक पक्षलाई कमजोर नै देखाउँछ ।
कमजोरी भनेको हटाउन पर्ने पक्ष हो । यसका लागि समतामूलक चेतनाको बलियो जग चाहिन्छ । आज एकातिर पुराना चिम्नी, क्वार्टर र भित्ताहरू ढलेको देखिए पनि अर्कातिर मजदुर महिलाहरूको आवाज र साहसिक सहभागिताको सन्देश अझै उचो बन्दै गएको भान हुन्छ । महिलाहरूको श्रम, आँसु, साहस र प्रतिरोध नेपाली मजदुर इतिहासको एउटा हात्तीपाइले जग हो ।
आधुनिक सहरको चमकधमकबिच, ती पुराना भित्ताहरू भत्किँदै गएका देखिए पनि वर्तमान पुस्ताले सचेत भएर सम्झनुपर्छ— यहाँ महिलाहरूले मजदुरीको बलमा इतिहास बनाएका थिए तर तिनलाई छायामा पारेर सीमित गर्दै गर्दै लगभग अदृश्य बनाइयो । एउटा यस्तो इतिहास, जसलाई लगभग आठ दशक पछाडिको समयसीमामा फर्किएर महिलावादी दृष्टिकोणबाट हेर्न खोज्दा मोटामोटी तथ्यहरू मात्रै सतहमा भेटिए ।
धमिलो छाया मात्र भएर हराइरहेको मजदुर महिलाको आन्दोलनको इतिहासलाई थप समय लगाएर खोज्न, प्राप्त तथ्यहरूलाई पनि कपडछान गरेर महिलाका कोणबाट तार्किक र गहन विश्लेषणसहित दस्ताबेजीकरण गर्न आवश्यक छ ।
महिला अग्रमोर्चामा थिए, जुझारु थिए जस्ता कुरा सतहमा आएको देखियो तर कतै पनि ती को को थिए, कति जना थिए, तिनले कसरी काम गरेका थिए, तिनको जीवन कसरी बित्यो जस्ता प्रश्नले माग गर्ने सूक्ष्म तथ्यहरू खुलाइएन । यसैले पनि २००३ सालको विराटनगर मजदुर आन्दोलनमा महिला सहभागिताबारे गहन खोजी र विश्लेषणको खाँचो खट्किएको हो ।
महिलाले न्याय नपाएको समाजमा तिनको योगदानलाई पनि अनदेखा गरी लेखिएको इतिहासबाट सही ज्ञानको प्रसारण हुन सक्दैन । भावी पुस्तालाई सही ज्ञान हस्तान्तरण गर्ने हो भने अतीतको गर्भमा सशक्त तर धमिलो छाया मात्र भएर हराइरहेको मजदुर महिलाको आन्दोलनको इतिहासलाई थप समय लगाएर खोज्न, प्राप्त तथ्यहरूलाई पनि कपडछान गरेर महिलाका कोणबाट तार्किक र गहन विश्लेषणसहित दस्ताबेजीकरण गर्न आवश्यक छ ।
‘विराटनगर मजदुर आन्दोलन : महिला सहभागिताको अदृश्य इतिहास’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत चीना थापाले तयार गर्नुभएको हो ।
प्रकाशन मिति : २०८२ फागुन २१ गते, बिहिवार
सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू
- कालापहाडका भीरमा महिलाहरूको श्रम र जीवन सङ्घर्ष
- तलाक – तलाक – तलाक कुरआनको आदेशविपरीत सामाजिक परिवेश
- वैदेशिक रोजगारीले एकल बनाएका महिलाको सङ्घर्ष
- चोरी विवाहमा बाँधिएका तामाङ महिलाका जीवनभोगाइ
- बहुपतिप्रथामा महिलाको अवस्थालाई परबाट नियाल्न खोज्दा
- विवाहपछि महिलाको बहुपक्षीय विस्थापन र असर
- भिक्षा, गाली र अपमानको चक्रमा नेटुवा समुदायका महिला
- कर्णालीको राजनीतिमा दलित महिला
- आदिवासी जनजाति अपाङ्गता भएका महिलाका तहतहका सङ्घर्ष
- राजनीतिमा थारू महिलाको सहभागिता र अवस्था
- माओवादी सशस्त्र सङ्घर्षमा दलित महिलाको सहभागिता र योगदान
- सम्बन्धको सकस तोडेपछिका समस्या सम्बोधन गर्नै बाँकी





