Home Stories मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)

मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)

59
0
रञ्जिता नेपाली कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हरियो ज्याकेट लगाए क्यामेरा तर्फ हेरिरहनु भएको छ । ब्यानर फोटोमा उहाँले भन्नु भएको कोट वडा सदस्यका जिम्मेवारीभित्र रहेका गाउँठाउँका समस्या समाधान गर्न हिँड्ने, नागरिकता नभएकाहरूका लागि नागरिकता बनाउन सहजीकरण गर्ने, सानातिना विवाद मिलाउनका लागि सहजीकरण गर्दै प्रहरी चौकीमा जाने जस्ता काम गर्दै आएको छु । भन्ने शब्द राखिएको छ ।

रञ्जिता नेपाली, वडा सदस्य

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हुनुहुन्छ, रञ्जिता नेपाली । बल्चौरस्थित वादी बस्तीकी बासिन्दा उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट ‘दलित महिला वडा सदस्य’ मा निर्वाचित हुनुभएको हो । राजनीतिबारे केही थाहै नपाई आफू वडा सदस्य भएको बताउने उहाँसँग सो पदमा निर्वाचित भएपछिका दिनचर्या केही बदलिएको अनुभव रहेछ । उहाँले देख्ने सवाल पनि फराकिलो भएको रहेछ । वादी समुदायको मुख्य मुद्दा सो समुदायका लागि सुरक्षित आवास र उब्जनी गरेर खान जग्गा उपलब्ध गराउनु, बसिरहेको जग्गाको लालपुर्जा दिनु, बल्चौरस्थित एकीकृत बस्तीमा भएका ठुलाठुला रुख कटान गरी हावाहुरी र चट्याङबाट सुरक्षित तुल्याउनु तथा स्थानीय व्यक्तिलाई आयआर्जनका लागि सिपमूलक तालिम प्रदान गर्नु आदि रहेको उहाँको भनाइ छ ।

रञ्जिताको आफ्नै मूल्याङ्कनमा उहाँले आफूले सोचे जसरी मुद्दाहरू उठाउन भने सकिरहनुभएको छैन । अपाङ्गता भएको ११ वर्षको छोराको स्वास्थ्यका कारण सोचे जसरी पहल गर्न नसकिरहेको पनि उहाँले खुलासा गर्नुभयो । उहाँका अनुसार, छोरो जन्मिने बित्तिकै रोएन । त्यसैबेला उपचार सुरु गरियो । पाँच–छ वर्ष हुँदा हिँड्न थाले पनि अहिलेसम्म बोली फुटेको छैन । जता मन लाग्यो उतै हिँडिहाल्ने, दिसापिसाब आए/गएको थाहा नपाउने र के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने थाहा नपाउने अवस्थाको छ । छोराको त्यस्तो अवस्था भएकाले उहाँले अपाङ्गता भएका बच्चाको आमाको जिम्मेवारी र घरव्यवहारको दायित्व निर्वाह गर्दै जनप्रतिनिधिको भूमिका पनि निर्वाह गर्दै आउनुभएको छ । “एक जना ढुक्कैले उसँग बस्नुपर्छ,” उहाँले भन्नुभयो, “जसोतसो सासूससुराले अहिलेसम्म छोरा हेर्न सक्ने भएकाले घरव्यवहार र जनप्रतिनिधिको भूमिका निर्वाह गर्न सकेको छु ।”

रञ्जिताका पारिवारिक, सामाजिक, राजनीतिक भूमिकाहरू छन् । आफूले वडा सदस्यका जिम्मेवारीभित्र रहेका गाउँठाउँका समस्या समाधान गर्न हिँड्ने, नागरिकता नभएकाहरूका लागि नागरिकता बनाउन सहजीकरण गर्ने, सानातिना विवाद मिलाउनका लागि सहजीकरण गर्दै प्रहरी चौकीमा जाने जस्ता काम गर्ने गरेको रञ्जिताले बताउनुभयो । उहाँसँग सन्धान टोलीले २०८० मङ्सिरमा कैलालीको बल्चौरस्थित एकीकृत वादी बस्तीमा रहेको उहाँकै घरमा पुगेर भेटेको थियो । भेटका अवसरमा वादी समुदायको समस्या समाधानका लागि उहाँले थाल्नुभएको पहललगायतका विषयमा कुराकानी गरिएको थियो । प्रस्तुत छ, रञ्जिता नेपालीसँग ‘सन्धान’ का तर्फबाट क्यामेरामा मुकुन्द बोगटीका साथमा समीक्षा गाहाले गर्नुभएको सोही कुराकानीको भिडियो अंश :

प्रकाशन मिति : २०८१ कात्तिक २० गते, मङ्गलवार

याे पनि पढ्नुहाेला


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here