Home Insight सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा

सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा

511
0

यही २०८० साउनमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित वादी बस्तीमा सिमसिम पानी परिरहेको थियो । दिउँसोको समय थियो तर वादी बस्ती सुनसान देखिन्थ्यो । सोधखोज गर्दै रमा वादीको आँगनमा पुगेँ । घरबाहिर कोही नदेखेपछि ‘भित्र को हुनुहुन्छ ?’ भनेर बोलाएँ । एक जना महिला बाहिर निस्कनुभयो । उहाँलाई मैले ‘रमा दिदी हुनुहुन्छ ?’ भनेर सोधेँ । उहाँले ‘मम्मी त काठमाडौँ जानुभएको छ, एक दुई महिनापछि आउनुहुन्छ’ भन्नुभयो । उहाँ रमाको छोरी भएको पक्का भयो । खासमा म रमासँग कुरा गर्नका लागि वादी बस्ती पुगेकी थिएँ । उहाँले मलाई दिनुभएको नम्बरमा धेरै पटक फोन गर्दा ‘अफ’ आएपछि पूर्वजानकारीविना नै सो बस्तीमा पुगेकी थिएँ ।

रमा काठमाडौँ जानुभएको दुई महिना भइसकेको रहेछ । केही बेर रमाको छोरीसँग कुरा गरेँ । त्यसपछि उहाँलाई लिएर बस्ती घुम्न निस्किएँ । त्यतिन्जेल पानी थामिइसकेको थियो । बस्तीको सडकमा केटाकेटीहरू खेल्न थालिसकेका थिए । बुढापाकाहरू पिँढीमा बसेर गफिन थालिसकेका थिए । बस्तीका केही मानिससँग कुराकानी गरेपछि थाहा भयो, रमा बस्तीमा नहुँदा बस्तीवासी धेरै समस्यामा परेका रहेछन् । बस्ती नै रानोविनाको माहुरी जस्तो भएको रहेछ । सबै जनाबाट रमा भएको भए समस्या समाधान हुन्थ्यो भन्ने सुनिन्थ्यो ।

बस्तीकै सुशीला र मदन वादी कुष्ठ राेग प्रभावित व्यक्तिहरू हुनुहुन्छ । उहाँहरू दुवैले नियमित औषधी सेवन गर्नुपर्छ । रमाकै पहलमा बस्ने घरको व्यवस्था भएको बताउने सुशीलाले निःशुल्क उपचार हुने भए पनि नेपालगन्जसम्म पुग्नलाई गाडी भाडा नभएपछि उपचार गर्न जान नसकेको सुनाउनुभयो । उहाँले दुखेसो पोख्दै भन्नुभयो, “रमा आन्टि भएको भए उहाँले कतै न कतैबाट केही जोहो गर्नुहुन्थ्यो । घरमा चामल सकिएको छ । बस्तीकाले दिएर छाक टरेको छ ।”

यो एउटा उदाहरण हो । बल्चौर वादी बस्तीमा केही समस्या पर्‍यो भने बस्तीकै अगुवा सबैभन्दा पहिला रमाकोमा पुग्दा रहेछन् । मैले त्यतिबेला उहाँलाई नभेटिकनै फर्किनुपरेको थियो । बस्ती पुगेर फर्केको एक महिनापछि रमासँग कुरा गर्ने अवसर जुर्‍यो । जीवनमा अनेक उतारचढाव भए पनि ५२ वर्षीया रमाले बस्तीको समस्यालाई आफ्नै समस्या सम्झेर रातदिन नभनी निःस्वार्थ भावले काम गरिरहेको सुनाउनुभयो ।

बाल्यकाल र बसाइँसराइ

रमाको जन्मथलो जुम्ला जिल्लाको नाग्मा हो । उजेरी वादी र ज्ञाना वादीको कान्छो सन्तानका रूपमा २०२८ साल साउन १० गते उहाँको जन्म भएको रहेछ । उहाँका दुई दिदी र दुई दाइ रहेछन् । उहाँका अनुसार, परिवारको बसोबासको स्थायी थलो थिएन । गानाबजाना गरेर प्राप्त थोरै आर्जनबाट परिवारको गुजारा जेनतेन चल्दथ्यो । उहाँ बालखै छँदा उहाँको परिवार जाजरकोट जिल्लामा बसाइँ सरेर गएको रहेछ । जाजरकोट बस्दा नै कक्षा ५ सम्म पढ्न पाएको पनि उहाँले बताउनुभयोे ।

रमाका अनुसार, विभिन्न ठाउँमा बसाइँ सर्ने क्रममा उहाँको परिवार २०३८ सालमा तराई झरेको थियो । विगत स्मरण गर्दै उहाँले भन्नुभयो, “गाउँ गाउँ माग्दै हिँड्ने क्रममा आमा भिरको बाटो हिँड्दा लडेर चोट लाग्यो । त्यसपछि बुबाले हामी सबैलाई लिएर महेन्द्रनगरको दोधारामा बसाइँ सार्नुभयोे ।”

“बस्न र खानको ठेगान थिएन । कहिले दाउरा बेच्थेँ, कहिले गिट्टी कुट्थेँ, कहिले होटलमा भाँडा माच्थेँ । कति दुःख गरेँ मैले ! विगत सम्झँदा कहाली लाग्छ ।” – रमा वादी

बाल्यकालमा बिताएका क्षणहरू सम्झँदै रमा भन्नुुहुन्छ, “बुवाले मादल, सारङ्गी, सुल्फा बनाउनुहुन्थ्यो । गाउँगाउँमा गीत गाउँदै खर्चपानी उठाउने, बनाएका चिज बेच्ने, हामी पनि सँगसँगै जाने गर्थेउँ ।” उहाँको बुबाले गाउँमा नगएका समयमा महाकालीमा माछा मारेर समेत परिवारको गर्जो टार्ने गर्नुहुन्थ्यो । २०४० सालमा महाकाली नदीमा डुबेर रमाका बुबाको निधन भयो । बुबाको निधनले परिवारमा समस्याहरू थपिए ।

बल्चौरस्थित वादी समुदायको पुरानो घर ।

घरको मुखिया गुमेको केही समयपछि २०४० सालमै रमाको परिवारले महेन्द्रनगरबाट कैलालीको कटाँसमा बसाइँ सर्‍यो । विगत सम्झँदै रमा भन्नुहुन्छ, “बसोबासको ठेगान नभएपछि त्यही त हो ! कहिले कता, कहिले कता । लत्ताकपडा, पकाउने भाँडाकुडा, जहान केटाकेटी बोक्यो, जता ओत लाग्ने ठाउँ भेटिन्छ तेहीँ बस्यो ।”

चौध वर्षमै बिहे भए पनि …

गुजारा गर्नै समस्या भएपछि जेठो दाइले १४ वर्षकी रमाको २०४२ सालमा बिवाह गरिदिनुभयो । जेठो दाइमा सानै उमेरदेखि जाँडरक्सी खाने कुलत थियोे । परिवारको बोझ कम गर्न दाइले जाँडको तालमा जाजरकोटका विवाहित पुरुषसँग आफ्नो बिवाह गरिदिएको बुझाइ रमाको छ । उहाँले भन्नुभयो, “पहिला थाहा भएन । विवाह भएपछि सौता छ भन्ने थाहा भयो । जाजरकोट भएकाले पनि थाहा हुने कुरो भएन । पछि थाहा पाउँदा छोरी जन्मिसकेकी थिई । श्रीमान्‌काे बानी पनि राम्रो थिएन । रक्सी खाने, कुटपिट गर्ने । म घरमै गइनँ, श्रीमान्‌लाई छोड्दिएँ ।”

रमाको परिवारको बसाइँसराइ जारी नै रह्यो । माइतीकै आड भरोसामा बसेकी रमा माइती परिवारसँगै २०६४ सालमा कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा बसाइँ सर्नुभयो । २०५८ सालमा भाउजू, २०६६ सालमा जेठो दाजु, २०६७ सालमा आमा र २०६८ सालमा कान्छो दाजुको निधनले रमालाई एकपछि अर्को पारिवारिक बज्रपात पर्दै गयो । रमा भक्कानिदै भन्नुहुन्छ, “भाउजू गर्भवती हुनुहुन्थ्यो । सङ्कटकालको समयमा भाउजूको छोरो जन्मँदा साल अड्केर मृत्यु भयो । जेठो दाइको किड्नी फेल भएर मृत्यु भयो । कान्छो दाइको व्लड प्रेसरले मृत्यु भयो । सबैतिरको बज्रपात बेहोर्न म बाँचेकी रहेछु ।”

कैलालीको बल्चौरमा पुनर्वासपछि वादी समुदायका लागि सरकारले निर्माण गरिदिएकाे नयाँ घरहरू ।

श्रीमान्‌लाई पहिले नै छोडेर माइतमा बसेकी रमालाई एकपछि अर्को गर्दै सबै माइतीले शरीर छोडेर गएपछि आफ्नी छोरी र नावालक भदै हुर्काउन निकै कष्ट पर्‍यो । उहाँ भन्नुहुन्छ, “बस्न र खानको ठेगान थिएन । कहिले दाउरा बेच्थेँ, कहिले गिट्टी कुट्थेँ, कहिले होटलमा भाँडा माच्थेँ । कति दुःख गरेँ मैले ! विगत सम्झँदा कहाली लाग्छ ।”

छुवाछुत र विभेदको पीडा बिसाउन राजनीतिमा प्रवेश

गरिबी, उत्पीडनको नमिठो अनुभव सँगालेकी रमाको मानसपटलमा वादी भएकै कारण बाल्यकालमा गरिएको छुवाछुत र विभेदको व्यवहार अहिले पनि ताजै छ । धारा छोएको भन्दै खाएको पिटाइ, स्कुलमा खाजा छोएको भन्दै साथीहरूले गरेको दुर्व्यवहार र पिटाइका क्षणहरू सम्झँदा उहाँलाई वादी भएकै कारण समाजले दिएको सजाय लाग्छ । बुबाआमासँगै ठाउँ ठाउँमा बसाइँ सर्दा आफूले भोगेका जस्ता तिता अनुभव आफ्ना सन्तानले भोग्न नपरोस् भन्ने उहाँलाई लाग्ने गर्दथ्यो । उहाँ सम्भवतः वादी समुदायमाथि गरिने व्यवहारमा परिवर्तन ल्याउन उचित समयको पर्खाइमा हुनुहुन्थ्यो ।

समय क्रमसँगै देशको राज्य व्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा रमा जस्तै उत्पीडनमा परेका, पछाडि पारिएका वर्ग, समुदाय जागरुक हुँदै अधिकारको लडाइँमा होमिँदै थिए । यसै क्रममा रमा २०५९ सालमा दलित महिला संघ (फेडो) को सदस्य हुनुभयो । उहाँले रूपान्तरणका लागि क्रान्ति आवश्यक छ भन्ने बुझ्नुभयो र वादी समुदायको अधिकारका लागि लड्ने अठोटका साथ राजनीतिमा लाग्नुभयो ।

सिंहदरबार केन्द्रीत आन्दोलनमा प्रदर्शन गर्दै रमा वादी । फाइल तस्विर सौजन्यः रमा वादी

सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला २०५९ सालमा रमा नेकपा माओवादी पार्टीमा लाग्नुभयो । त्यपछि समाजमा हुनेगरेका शोषण, जातीय, वर्गीय विभेदका विरुद्धमा वादी समुदायका अन्य महिलाहरूलाई समेत आफूले जागरुक बनाउन लागेको पनि उहाँले सुनाउनुभयो ।

रमाको अनुभवमा मानिसलाई व्यवहारले परिपक्व बनाउँछ । “कार्यक्रम, अभियानमा जाँदाजाँदै, बोल्दाबोल्दै परिपक्व, सक्षम बनाउँदो रहेछ । अन्यायका विरुद्ध बोल्न सिकेँ । आफ्नो समुदायको अधिकारका लागि सडक, सदनसम्म सुन्ने गरी आफ्ना कुरा राख्न सिकेँ,” उहाँँले भन्नुभयो ।

रमाका अनुसार, वादी समुदायमा पनि दुई किसिमको समस्या थियो । पहाड र तराईका केही भागमा बस्ने वादीहरू विगतदेखि उत्पीडन र विभेदपूर्ण जीवन बिताउन बाध्य थिए । त्यसमाथि तराईका केही क्षेत्रमा वादी महिलाहरूलाई यौन व्यवसायसँग जोडेर बदनाम गर्ने, शोषण गर्ने कार्य भइरहेको थियो । उत्पीडन र शोषणको पनि एउटा सीमा हुन्छ । सीमाको हद नाघेपछि वादी महिलाहरूले २०६४ सालमा आन्दोलन गरे । त्यो आन्दोलन ४८ दिनसम्म चल्यो । सोही आन्दोलनको अग्रमोर्चामा रहेकाहरूमध्ये एक हुनुहुन्थ्यो रमा ।

वादीहरूको ऐतिहासिक आन्दोलन

रमा २०६४ सालको आन्दोलनको स्मरण गर्दै भन्नुहुन्छ, “२३ जिल्लाबाट काठमाडौँमा भेला भएको वादी समुदायले गरेको त्यो आन्दोलन ऐतिहासिक आन्दोलन हो । पानी पनि नखाई, भोकभोकै सिंहदरबारमा अर्धनग्न भएर हामी महिलाले पुलिसको डन्डा र बुटको समेत पर्वाह नगरी आन्दोलन गरेउँ, जुन आन्दोलनले हाम्रो अधिकारलाई स्थापित गर्न ठुलो सहयोग गर्‍यो ।”

वादी समुदायको अधिकारका लागि वादी महिला अग्रसर भएर गरेको आन्दोलन सफल भएको रमाको अनुभव छ । आन्दोलनमा वादी समुदायका पुरुष र दलित समुदायका अगुवाहरूको समेत सहयोग रहेको बताउँदै उहाँले आन्दोलनमा साथ सहयोग गर्ने विनोद पहाडी, हरि श्रीपाइली, महेश विश्वकर्मा, अर्जुन वादी लगायत दलित अगुवालाई सम्झनु पनि भयो ।

सिंहदरबार केन्द्रीत आन्दोलनमा पेटिकोट लगाएर प्रदर्शन गर्दै रमा वादी (अगाडि ) लगायत अन्य वादी महिलाहरू । फाइल तस्विर सौजन्यः रमा वादी

वि.सं. २०६४ को आन्दोलन निष्कर्ष दिने आन्दोलन भएको बताउने रमाले अहिले राज्यले समावेशी कोटामा वादी समुदायलाई समेट्नेदेखि बजेट छुट्ट्याउँदा समेत वादी समुदायको लागि लक्षित वर्ग अन्तर्गत छुट्ट्याउने गरेको बताउनुभयो । स्थानीयदेखि प्रदेश र सङ्घ सरकारको बजेटमा वादी समुदायलाई समेटियो वा समेटिएन भन्ने कुरामा उहाँको ध्यान जान्छ । स्थानीयदेखि केन्द्रीयसम्मका नेताको अगाडि पुगेर बोल्ने, आफ्ना कुरा राख्ने क्षमता उहाँसँग छ । केही समस्या लिएर ‘म रमा वादी’ भन्दै जाँदा नेतादेखि सरकारमा भएका मानिसहरूले आफूलाई इज्जतसाथ व्यवहार गर्ने गरेको उहाँको अनुभव छ ।

सिंहदरबार आन्दोलनपछिको जीवन सम्झँदै रमा भन्नुहुन्छ, “पहिलाका जस्ता दुःख छैनन् । अब वादी समुदायलाई घरबासको व्यवस्था सरकारले गर्देको छ । सबै ठाउँमा नभए होला । बिस्तारै सबैले सुविधा पाउँछन् । सिपमूलक तालिमको व्यवस्था गरेको हुन्छ । वादी समुदायका बालबालिकाले छात्रवृत्तिमा अध्ययन गर्न पाएका छन् ।”

बाध्यता र विवशतामा परेका वादी समुदाय वर्षौंसम्म अन्याय अत्याचार सहेर चुप बसिरह्यो । पछिल्लो समय पहिलाको जस्तो रहेन । आन्दोलनले धेरै कुरा सिकायो । अधिकार मागेर नपाए खोसेर लिनुपर्छ भन्ने धेरैले बुझिसके ।

रमाकै पहलमा बल्चौर वादी बस्तीमा अन्तर्राष्ट्रिय संस्था लाइट हाउस फाउन्डेसनको सहयोगमा पनि केही घर बन्दै छ । बस्तीमा बन्न बाँकी १२ वटा घर बनाउन सोही संस्थाको कामले लामो समय काठमाडौँ बस्नुपरेको उहाँले बताउनुभयो । उहाँ ‘रासन, झुल, कपडाको व्यवस्था गर्थिस्, तँ नहुँदा समस्या भयो’ भन्दै बस्तीका मानिस गुनासो पोख्न पुगेको बताउनुहुन्छ । उहाँका अनुसार, अहिले बस्तीका सबै बालबालिका विद्यालय जान्छन् । उहाँकै पहलमा बस्तीका ६५ बालबालिकालाई छात्रवृत्तिमा पढाउन संस्थाले काठमाडौँ र पोखरा लगेको छ ।

हिजोआज रमाको दिन समाजसेवामा नै बित्ने गरेको छ । २०७० सालमा दलित आयोगको सदस्य भएकी उहाँले सबै वादी समुदायको समस्या समाधान भइनसकेको बताउँदै समस्यामा परेको वादी समुदायलाई अधिकार दिलाउन आफू रातदिन लागिपरेको बताउनुभयो । राष्ट्रिय वादी सञ्जालको सुदूरपश्चिम प्रदेश संयोजक समेत रहेकी उहाँले जुन वादी बस्तीमा समस्या आउँछ, त्यहाँ समाधानका लागि आफू अग्रसर रहेको सुनाउनुभयो ।

रमाको बुझाइमा वादी समुदायलाई राजा महाराजाका पालामा कामको बाँडफाँट गर्ने क्रममा मनोरञ्जन दिने, मनोरञ्जनका साधन बनाउनेको रूपमा छुट्ट्याएको जात हो । समयको विकासक्रमसँगै वादीका चेलीबेटीमाथि कुदृष्टि लगाउने, यौन शोषण गर्ने गर्न थालियो ।

बाध्यता र विवशतामा परेका वादी समुदाय वर्षौं अन्याय अत्याचार सहेर चुप बसिरह्यो । पछिल्लो समय पहिलाको जस्तो रहेन । आन्दोलनले धेरै कुरा सिकायो । अधिकार मागेर नपाए खोसेर लिनुपर्छ भन्ने धेरैले बुझिसके । त्यसैले आफ्नो अधिकारका लागि आफैँ अग्रसर हुनुपर्ने अनुभव रमासँग छ । रमाको बस्तीमा अहिले बाटोघाटो, बिजुली, पानी, लालपुर्जा सहितको घरबासको सुविधा छ । रमा भन्नुहुन्छ, “घरबासको ठेगाना नभएका हामीले लालपुर्जा सहितको घरबास पाएका छौँ । सबैभन्दा ठुलो कुरो, समाजमा इज्जत पाएका छौँ ।”

वादी समुदायको पुर्ख्यौली पेसाबाट मात्र वर्तमान अवस्थामा जीवन निर्वाह गर्न नसकिने भएको छ । यसैले अहिले वादी समुदायका युवा रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक जाने गरेका छन् भने महिलाहरूले सिप सिकेर व्यापार व्यवसाय गर्न थालेका छन् ।

रमालाई नजिकबाट चिनेका र बुझेका वादी समुदायका अगुवा नन्दराम वादीले ‘रमाले वादी समुदायको हकअधिकारका लागि राम्रो काम गर्दै आएको’ बताउनुभयो । उहाँले भन्नुभयो “हामी एउटै बस्तीमा छौँ । उहाँ र हाम्रो पहलमा १०३ वटा घर वादी समुदायका लागि सरकारले घर बनाइदिएको छ । रमाको पहलमा संस्थाको सहयोगमा १२ वटा घर बन्ने क्रममा छन् ।”

सन्धान, प्रकाशन मिति : २०८० मंसिर २३ गते, शनिवार

याे पनि पढ्नुहाेला


Previous articleगोर्खा सैनिक श्रीमतीको कथा बोल्ने चित्रकला प्रदर्शनी
Next articleराउटी सार्ने तर्खरमा हतारिँदै राउटेहरू (फोटो फिचर)