Home Stories मादलकै भरमा कल्मी परिवार

मादलकै भरमा कल्मी परिवार

455
0

वादी समुदायको पुर्ख्यौली पेसा मादल बनाउने र माछा मार्ने हो । त्यो काम पनि पुरुषहरूले बढी गर्ने गर्थे । पछिल्ला वर्षहरूमा पेसाको दायरा फराकिलो हुँदै गएको छ । मादल बनाउने काम पातलिँदै गएको छ । वादी समुदायका मानिसहरू अन्य व्यवसाय तथा जागिरमा लाग्न थालेका छन् । केहीले विदेश गएर पनि जीविकोपार्जन गर्ने गरेको वादी अगुवाहरूको भनाइ छ । ६५ वसन्त पार गरेकी कल्मी वादी भने अहिले पनि मादल बनाउँदै हुनुहुन्छ ।

वादी महिलाहरू प्रायः घरव्यवहारमा नै व्यस्त हुन्छन् । कल्मीले भने मादल बनाउने व्यवसाय पनि गरेर घरव्यवहार चलाउँदै हुनुहुन्छ । उहाँ २०१४ सालमा दाङ जिल्लाको हालको दंगीशरण गाउँपालिका वडा नं. ६ लटारमा जन्मनुभएको हो । यसै पनि उहाँले गर्नुपर्ने घरव्यवहारका अन्य काम त छँदैछन्, त्यसमाथि उहाँले मादल बनाउने काम पनि सिक्नुभयो । यो कामलाई नै पेसा बनाउनुभयो र पछिसम्म जारी राख्नुभयो । त्यति मात्र होइन, उहाँले पछिल्ला पुस्ताहरूलाई मादल बनाउने सिप हस्तान्तरण गर्ने काम पनि गर्नुभएको छ ।

मादल बनाउने पुर्ख्यौली व्यवसाय र नेपाली संस्कृतिसित जोडिएको यसको अर्थसामाजिक अवस्थाबारे कल्मीको आफ्नै अनुभवले भरिएको सङ्कथन छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले केही समयअघि दाङमा कल्मी वादीलाई भेटेर गर्नुभएको कुराकानीको सम्पादित अंश :

मादल बनाउने पेसाकर्मी कल्मी

वादी समुदायमा, त्यो पनि ६५ वर्षअघि, छोरीले पढ्ने कल्पना पनि गर्न सक्ने अवस्था थिएन । त्यही भएर मैले विद्यालय टेक्नै पाइनँ । वादी समुदायले मादलबाटै जीविकोपार्जन गर्ने भएकाले मेरा बा पनि मादल बनाउने काम गर्नुहुन्थ्यो । मैले बिहेअघिसम्म केही काम गरिनँ । बाआमाले पनि ‘सिक्नुपर्छ’ भन्नुभएन ।

हामीले हाम्रो एक मात्र छोरालाई पनि मादल बनाउने पुर्ख्यौली पेसा सिकायौँ । छोरालाई मादल बनाउन सिकाउने काममा म नै बढी लागेँ ।

चौध वर्षको उमेरमै मेरो बिहे भयो । श्रीमान्‌काे घरमा सासूससुरा तथा श्रीमान् मादल बनाउने पुर्ख्यौली पेसा गर्नुहुन्थ्यो । त्यही पेसा गरेर नै जीविकोपार्जन गर्नुहुन्थ्यो । म सासूसँगै विष्टको घरमा मानो लिन जान्थेँ । मानो भनेको मादल बनाइदिएबापत दिइने धान, मकै, गहुँ आदि हो । मैले घरका अन्य कामहरू पनि गर्थें । त्यतिन्जेलसम्म पनि मैले मादल बनाउनेतर्फ ध्यान दिएकी थिइनँ ।

पछि बिस्तारै मलाई पनि मादल बनाउन मन लाग्यो । रहर पनि जाग्यो । कसरी बनाउँदा रहेछन् भनेर बसेर ध्यान दिएर हेर्न थालेँ । श्रीमान्‌ले मादल बनाउने काम आफ्नो बाबुबाट सिक्नुभएको थियो । मैले सबैबाट सिकेँ ।

एउटा मादल बनाउन लाग्ने श्रम र त्यसका लागि चाहिने सामान हेर्दा दिनै नसकिने गरी मोलतोल गर्छन् ग्राहकहरू । मोलमोलाइ गर्ने बेला उनीहरूले दुःख र श्रमको मूल्य नै बुझिदिँदैनन् ।

गाउँघरमा त्यति बेलासम्म मादलको राम्रो प्रयोग हुन्थ्यो । सानातिना रमाइला काममा पनि मादल बजाइन्थ्यो । पछि हामीले हाम्रो एक मात्र छोरालाई पनि मादल बनाउने पुर्ख्यौली पेसा सिकायौँ । छोरालाई मादल बनाउन सिकाउने काममा म नै बढी लागेँ । अचेल आमाछोरा मिलेर मेरा नातिनातिनालाई पनि मादल बनाउन सिकाउँदै छौँ । त्यसरी हाम्रो घरमा मादल बनाउने सिप एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आयो । पुर्ख्यौली पेसाको सिप हस्तान्तरण हुनुपर्छ भन्ने मलाई लाग्छ ।

हामीहरू दाङको लटारमा बसेको ४० वर्षभन्दा धेरै भयो । अहिले सात जनाको परिवार छ । विष्टहरूले मादल बनाउन लगाउने र त्यसबापत मानो दिने गर्नुहुन्छ । हामी विष्टको घरबाट मानो ल्याएर खाने गर्छौं । गाउँकै बसाइ भए पनि पानीसमेत किनेर खानुपर्छ । सरकारले खानेपानीको व्यवस्था त गरिदिएको छ तर किन्नुपर्छ । पानी पनि किन्नुपर्ने बेला आयो ! अर्को कुरा, पछिल्लो समयमा मादल कम बिक्न थालेको छ । यसरी कम बिक्नाले अल्लि गाह्रोसाह्रो अवस्था पनि आइपरेको छ । आफ्नो खेतबारी छैन । सबै मादल बनाएर पाउने आम्दानीको भर हो । मादल बेच्यो, खानेकुरा ल्यायो, खायो । पैसा ल्यायो, बालबच्चा पढायो । यस्तै छ । आम्दानी र खर्चको हिसाबकिताब राखेको छैन । पढेलेखेको भए हिसाबकिताब पनि हुन्थ्यो होला, पढेको लेखेको छैन । हिसाब किताब पनि हुँदैन ।

म राम्रोसँग हिँड्न सक्दिनँ । छोराले नै मादल बनाएर विष्टलाई दिन्छ र कहीँबाट १० पाथी त कहीँबाट पाँच पाथी धान ल्याउँछ । त्यही खान्छौँ ।

ग्राहकहरू कम मूल्यमा मादल खोज्छन् । एउटा मादल बनाउन लाग्ने श्रम र त्यसका लागि चाहिने सामान हेर्दा दिनै नसकिने गरी मोलतोल गर्छन् ग्राहकहरू । मोलमोलाइ गर्ने बेला उनीहरूले दुःख र श्रमको मूल्य नै बुझिदिँदैनन् । यो कुरा नबुझिदिँदा दुःख लाग्छ ।

श्रीमान् बित्नुभएको १० वर्ष हुन लाग्यो । छोराले एउटा आँखा देख्दैन । तर, उसले नै मादल मोड्छ । म पनि उसँगै सकेको काम गर्छु । काम नगरी बस्दिनँ । बस्न मन पनि लाग्दैन । छोरा एक्लैले गरेर भ्याउँदैन पनि । म राम्रोसँग हिँड्न सक्दिनँ । छोराले नै मादल बनाएर विष्टलाई दिन्छ र कहीँबाट १० पाथी त कहीँबाट पाँच पाथी धान ल्याउँछ । त्यही खान्छौँ । त्यसैबाट जीविका चल्छ । धनौरा, खैरेनी, हिकुलीलगायतका गाउँहरूमा हाम्रा विष्टहरू छन् ।
एउटा मादल बनाएर बेच्न पर्‍यो भने पाँच–छ हजार रुपियाँसम्म पर्न आउँछ ।

मौलिकता हराउँदै

समाजमा आधुनिकता छायो । मानिसहरू पनि आधुनिक बने । कमाइ गर्ने भनी युवाहरू विदेश लाग्न थाले । गाउँघर खाली हुन थाल्यो । पहिले जस्तो रमाइलो छैन गाउँघरमा । पहिले चाडबाड आउन लाग्दा, गाउँमा बिहे, पूजाआजा हुँदा मादलको प्रयोग हुन्थ्यो । अहिले धेरै चहलपहल, रमाइलो जस्तो चहलपहल नै हुँदैन । अहिले त सिजन आउँदा मात्र काम हुन्छ । पहिले बाह्रमास मादल बनाउने काम आउँथ्यो । अहिले उबेला जस्तो छैन । अहिले साउन्ड सिस्टमहरूको प्रयोग गरेरै नाच्छन् । पहिले तिज लागेपछि तिहारसम्म मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो । अन्य समयमा काम अलि कम हुन्थ्यो । केही वर्षयता मादल नै बिक्री हुन छाडेको छ । पहिले पहिले कामको चाप र चाडबाडको चहलपहल छुट्टै हुन्थ्यो, अचेल सबै हराएर गयो ।

सामानको महत्त्व नबुझ्दा हाम्रो श्रम र सिप बिक्न छोड्यो । अचेल मादलको सट्टा आधुनिक खालका बाजाहरूको प्रयोग बढ्दै गएको छ । यसले गर्दा मादल बनाउने काम र बजाउने चलन हराउँदै जान थाल्यो ।

अर्काे कुरा, बजारमा कमसल खालका मादलहरू पनि आउने गर्छन् । हामीले हातले बनाएको मादल अलि महँगो पर्छ । हामीले मिहिनेत धेरै लगाएर बनाएका हुन्छौँ । एक दिन त मादल मोड्नकै लागि मात्रै लाग्छ । अर्काे दिन गोटी हाल्न लाग्छ । हजार रुपैयाँ त तनामा नै जान्छ । राम्रो बलियो काठ प्रयोग गर्छौं । त्यही भएर श्रम र सामान अनुसारको मूल्य राख्दा ग्राहकहरूलाई अलि महँगो जस्तो लाग्ने हो । सामानको महत्त्व नबुझ्दा हाम्रो श्रम र सिप बिक्न छोड्यो । अचेल मादलको सट्टा आधुनिक खालका बाजाहरूको प्रयोग बढ्दै गएको छ । यसले गर्दा मादल बनाउने काम र बजाउने चलन हराउँदै जान थाल्यो । यसले गर्दा हाम्रो पुर्ख्यौली पेसा पनि लोप हुने भयो ।

बाँच्नै धौधौ

दस वर्षअघि यो २०७० सालतिरको कुरो हो, मादल बनाएबापत ज्यालामा पाएको धान हामी मान्छेले मात्रै बोक्न नसकेर ट्याक्टरमा राखेर ल्याउँथ्यौँ । उबेला पैसामा कारोबार हुँदैन थियो । धानचामललगायत अन्नमा मात्र कारोबार हुन्थ्यो । धेरै गाउँहरूबाट मादल बनाउन आउने भएकाले कुन गाउँको मानिस भनेर नचिन्ने अवस्था थियो । अहिले एउटा सिजनमा बल्ल ५० हजार रुपैयाँ जतिको मादल बिक्री हुन्छ । हामी आमाछोराले अहिले पनि यही पेसा अपनाइरहेका छौँ । जसोतसो सात जनाको परिवार पालिएको छ । तिज, दसैँ, तिहार र माघी मादल बनाएर गुजारा गर्नेहरूको लागि बिक्रीको सिजन हो । यही सिजनमा बिकेको मादलको कमाइबाट वर्षभरिको गुजारा चलाउँदै आएका छौँ ।

याे पनि पढ्नुहाेला


Previous articleमेचेहरूमा अहिले धेरै परिवर्तन आएको छ (भिडियो सहित)
Next articleझापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान