Home Insight छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु

छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु

793
0

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ वादीका स्थायी बासिन्दा हुनुहुन्छ, दुइजे हायु । १९९१ सालमा जन्मिएका उहाँ ९० वर्ष पुग्न लाग्नुभयो । बस्तीका विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दा थाहा भयो, छोरीहरूलाई अंश दिने व्यक्तिको रूपमा चिनिनुहुँदो रहेछ, दुइजे हायु ।

जमुना र कुमारी हायु उहाँका छोरीहरू । दुवैले आफूहरूलाई बुबाले अंश दिएको बताएपछि ‘सन्धान टोली’ दुइजेलाई भेट्न उहाँको घरमै गएको थियो ।

दुइजेको बिहे २०१७ सालमा वुदुना हायुसँग भएको रहेछ । २०२४ सालमा उहाँहरूको पहिलो सन्तान छोरी जन्मिइन्, त्यसको दुई वर्षपछि २०२६ सालमा छोरा । त्यसपछि उहाँलाई छोराछोरीबिच फरक गर्नु हुँदैन भन्ने लाग्यो । समुदायका अगुवा समेत रहेका दुइजे सम्झनु हुन्छ, “जति सन्तान जन्मिन्छन्, सबैलाई आफ्नो भएको सम्पत्ति दिन्छु भनेर उबेलै बोलेको मैले,” उहाँले परिपाठ लगाउँदै भन्नुभयो, “मेरो दुई ठाउँमा जग्गाबारी थियो, एक ठाउँको छोराहरूको र अर्को ठाउँको छोरीहरूलाई तिमीहरूको हो भनेर बोलेँ ।” उहाँले अंशको बारेमा थप खुलस्त पार्दै भन्नुभयो, “तीन छोरा जन्मिए, उनीहरूलाई अलि धेरैधेरै पर्यो । छोरीहरू सात जना जन्मिए, भागमा अलि थोरै पर्‍यो ।” उहाँले कति सन्तान जन्मिन्छन् भन्दा पनि दुई ठाउँको जग्गा एक–एक ठाउँको तिमीहरूको हो भनेर बोल्नुभएको रहेछ । बोलेको पुर्‍याउनु पनि भएछ । “पास गर्दा त्यही अनुसार पास गर्दिएँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार, दिदीबहिनीलाई दियो भनेर दाजुभाइ पनि दुःखी छैनन्, थोरै भयो भनेर छोरीहरू पनि दुःखी छैनन् । अंशको झगडा वंश रहेसम्म भन्ने उखान उहाँको उदारमना परिवारमा मेल खाएको देखिएन ।

अहिले नेपालमा पैतृक सम्पत्तिमा छोरी र छोराको समान हक लाग्ने कानुनी व्यवस्था छ । यो व्यवस्था सजिलै आएको होइन । व्यवहारमा अझै पनि अनेकौँ प्रपञ्च रचेर भाँजो हाल्नेहरू पनि छन् । उहाँले भने आजभन्दा ६४-६५ वर्षअघि नै छोराछोरी दुवैलाई अंश दिन्छु भन्नुभएको रहेछ । त्यतिबेला पैतृक सम्पत्तिमा छोरीको पनि समान हक हुनुपर्छ भन्ने सोच औसत नेपालीमा रहेको पाइँदैन । त्यसबारे खुलेर बहस गर्ने वातावरण पनि थिएन । दुइजे भने फरक हुनुहुँदो रहेछ । सम्झनु हुन्छ, “आफ्नो सन्तान सबै बराबरी हुन्, छोरा र छोरी भनेर फरक गर्नु हुँदैन भनेर गाउँटोलमा मैले त्यतिबेलैदेखि बोल्ने गरेको । गाउँसमाजमा बुढापाकालाई छोरा र छोरीलाई फरक नगर्नू, छोरीले बरू राम्रोसँग हेर्छन् भन्थेँ, उनीहरू सुन्थे तर बोल्दैनथे ।” त्यो बेला र अहिलेको अवस्थाको तुलना गर्दै उहाँ धेरै कुरामा आकाश र पातालको फरक भएको बताउनु हुन्छ ।

‘सन्धान’ टोलीले केही महिनाअघि दुइजेसँग भेट्दा छोरीलाई पनि अंश दिनुपर्छ भन्ने उहाँलाई किन लाग्यो र कहिलेदेखि लाग्यो भन्ने जस्ता विषयमा कुराकानी गरेको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट दुइजे हायुसँग गरिरेको भिडियो कुराकानीको सम्पादित अंश :

लाेपाेन्मुख वनकरिया जातीकाे याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ माध १६ गते, साेमवार


Previous articleमलाई मेरो परिवारको पूरा साथ छ –सकिना तेली
Next articleलैङ्गिक अध्ययन विषय पठनपाठनका चुनौती