Home Insight वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट

वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट

720
0

हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला प्रकाशन गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य सकारात्मक परिवर्तनका लागि महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई सार्वजनिक गर्नु हो । यस कार्यमा पुरुषहरूको सहभागितालाई पनि स्थान दिइन्छ । यस शृङ्खलाअन्तर्गत आज जङ्गलमा बस्दै आएका लोपोन्मुख आदिवासी जनजाति वनकरियाको जङ्गल बसाइको दिनचर्या झल्किने गरी खिचिएको फोटोबारे पत्रकार प्रताप विष्टसँग गरिएको कुराकानीमा आधारित ‘फोटो कथा’ प्रस्तुत गर्दैछौँ ।

लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका विष्ट हाल नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि दुई पटक पत्रकार महासंघ मकवानपुरको अध्यक्ष भइसक्नुभएको छ । ‘कान्तिपुर’ दैनिकमा आबद्ध विष्टको ‘छेलिएका अनुहार’ शीर्षक पुस्तक हालै प्रकाशित भएको छ । पुस्तकमा चेपाङ र वनकरिया समुदायको जीवनशैलीका विषयवस्तुहरू समावेश गरिएका छन् । पुस्तकमा समेटिएका विषयवस्तुहरूमध्ये एक हो, वनकरिया समुदायको २०५२ सालमा खिचिएको एउटा फोटो । प्रस्तुत छ, पत्रकार प्रताप विष्टले २६ वर्षअघि खिच्नुभएको फोटो र वनकरिया समुदायको बारेमा उहाँसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गर्नुभएको कुराकानी :

वनकरिया कस्तो जाति हो ?

वनकरिया लोपोन्मुख जातिमा पर्छ । नेपालका १० लोपोन्मुख जातिमध्ये एक जाति हो यो । वनकरियाहरूको सङ्ख्या अत्यन्तै थोरै छ । जनसङ्ख्या लोप हुँदै गएकाले राज्यले लोपोन्मुख जाति भनेर सूचीकरण गरिसकेको छ । यो जातिलाई राज्यको मूल धारमा ल्याउन राज्यले वनकरिया समुदायका हरेक व्यक्तिलाई मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । उनीहरूको भाषा र संस्कृति लोप भैसकेकोे अवस्था छ । अहिले पनि वनकरियाहरू सबैभन्दा पछाडि पारिएको जातीय समुदायमा पर्छन् भन्ने लाग्छ ।

यो फोटो कति सालमा खिच्नुभएको हो ?

यो २०५२ सालमा खिचिएको तस्बिर हो ।

फोटोमा देखिएका व्यक्तिहरू त्यो समयमा वास्तवमा कस्तो अवस्थामा थिए ? के गरिरहेका थिए ?

वनकरिया समुदायका मानिसहरू चुरेघाँचको जङ्गलमा भेटिएका हुन् । जेठा वनकरियाहरू जङ्गल डुलेर आएपछि बस्ने एउटा छाप्रो थियो । हावाहुरीले त्यसको छाना उडाइदिएको थियो । जेठा वनकरियाले ‘देउता रिसाएर मेरो घर उडाइदियो’ भने । देउता रिसाएपछि ‘त्यस्तो’ हुन्छ भन्ने उनीहरूको मान्यता रहेछ । फोटोमा देखिएका जेठा वनकरियाका श्रीमती, छोरा, बुहारी र नातिनातिना हुन् । त्यतिबेला जेठा वनकरिया ५८/५९ वर्षका थिए । उनका नातिनातिनाले शरीर ढाक्ने गरी कपडा लगाएका थिएनन् । उनीहरू अर्धनग्न अवस्थामै थिए । त्यस्तो हुनाको कारण गरिबी थियो ।

फोटोमा उनीहरूले खाना खाइरहेको देखिन्छ । उनीहरूले भोर्लाको पातमा राखेर ढिँडो खाइरहेका थिए । रातो कमिलालाई पिँधेर अचार बनाई ढिँडोसँग खाइरहेका थिए । बच्चाहरूले भने कमिलाको अचार मात्रै खाइरहेका थिए । जङ्गलमै बस्ने भएकाले उनीहरू जङ्गलमा भेटिने कन्दमूल, गिट्ठा भ्याकुरहरू खान्थे ।

त्यो बेला उनीहरूको बसोबास चुरेघाँच जङ्गलमा थियो । यो क्षेत्र मकवानपुर जिल्लाको तत्कालीन हाँडीखोला गाविस वडा नम्बर ५ र पर्सा जिल्लाको सिमानामा पर्थ्यो । मैले उनीहरूलाई पहिलो पटक त्यहीँ भेटेको हुँ ।

तपाईं त्यो बस्तीमा कसरी पुग्नुभयो ?

मैले आदिवासी जनजाति प्रतिष्ठानले निकालेको किताबमा वनकरिया समुदायको बारेमा पढेको थिएँ । त्यो किताबमा उनीहरू चुरेघाँच क्षेत्रको जङ्गलभित्र बस्छन् भनेर लेखिएको थियो । त्यस क्षेत्रका स्थानीय बासिन्दालाई सोध्दा पनि उनीहरू त्यतै छन् भनेपछि खोज्दै जाने क्रममा उनीहरूलाई जङ्गलमै भेटेको थिएँ ।

वनकरियाहरूसँग त्यो समयमा के कस्ता कुरा गर्नुभयो ?

मैले थुप्रै प्रश्नहरू सोधेको थिएँ । किन यहाँ जङ्गलमा बसेको हो ? गाउँमा किन नबसेको ? यस्तै दैनिक जीवनशैली, खानपानका विषयमा कुरा गरेको थिएँ । मसँग कुरा गर्दा उनीहरूले हामी जङ्गलमै जन्मिएको, जङ्गलमै हुर्किएको र जङ्गलमै बस्ने हो भनेका थिए ।

मसँग धेरै खुलेर कुरा गर्न चाहेका थिएनन् । जेठा वनकरियाले चाहिँ अरूभन्दा हाँसीहाँसी बोलेका थिए । अरूले त को मान्छे आयो भन्ने जस्तो गरेका थिए । त्यो बेलाको कुरा गर्ने हो भने यो समुदायका मानिसहरू झन्डै झन्डै जङ्गली युगमै बाँचिरहेका थिए भन्दा पनि हुन्छ ।

फोटोमा देखिएका पात्रहरूको अहिलेको अवस्था कस्तो छ, थाहा छ ?

अहिले जेठा वनकरिया र उनकी श्रीमती जेठी वनकरिया छैनन्, उनीहरूको मृत्यु भइसकेको छ । फोटोमा देखिएका उनका छोरा, बुहारी नातिनातिनाहरू सबै छन् । अहिले उनीहरूको अवस्था राम्रो छ । उनीहरू अहिले मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नम्बर ४ कै गाउँबस्तीमा बस्छन् । केटाकेटीहरू पढ्न जान्छन् । ठुला मान्छेहरू खेतीपाती गर्ने, वस्तुभाउ पाल्ने काम गर्छन् ।

फोटो प्रकाशित भएपछि त्यसले कुनै प्रभाव पारेको थियो ?

चुरेघाँचको जङ्गलमा पुगेपछि यस्ता मान्छेहरू पनि हुँदा रहेछन् भन्ने थाहा भयो । म ‘कान्तिपुर’ दैनिकमा आबद्ध थिएँ । त्यसैले ‘कान्तिपुर’ दैनिकमै समाचार छापियो । त्यसपछि उनीहरूका बारेमा अलि धेरैलाई चासो हुन लागे जस्तो लाग्यो । लोक सेवा आयोगले ‘कमिलाको अचार खाने जाति कुन हो ?’ भनेर प्रश्न बनाएको र उत्तरको एउटा विकल्पमा ‘वनकरिया’ भनेर वस्तुगत प्रश्न बनाएको पाएँ । त्यो एउटा सकारात्मक प्रभाव हो भन्ने लाग्छ । यसले गर्दा लोक सेवा दिने धेरैले अहिले पनि त्यस विषयमा कुराकानी गर्छन् ।

वनकरिया समुदाय बसेको जङ्गलमै गएर रिपोर्टिङ गर्नुपर्छ भन्ने किन लाग्यो ?

पत्रकारको काम पिछडिएका/पछाडि पारिएका व्यक्ति वा समुदायको आवाजलाई उजागर गर्ने हो । उनीहरूको समाचार लेखियो भने त्यो अवस्थामा केही परिवर्तन होला कि भन्ने लागेको थियो । उनीहरूलाई पनि मूल धारमा ल्याउन सकिन्छ भन्ने थियो । यस्तै लुकेका कुराहरू खोज्ने, पछाडि पारिएकाहरूको बारेमा बोल्ने लेख्ने काम नै पत्रकारिता हो भन्ने मलाई लाग्थ्यो । त्यही भएर मैले उनीहरू बसेकै ठाउँमा गएँ, कुरा गरेँ र रिपोर्टिङ गरेँँ ।

तपाईंले वनकरिया समुदायलाई २६ वर्षअघि भेट्दाको र अहिलेको जीवनशैलीमा कस्तो फरक पाउनुभएको छ ?

मैले सुरूमा देख्दा र भेट्दाको वनकरिया समुदाय र आजको वनकरिया समुदायमा धेरै फरक छ । पहिले उनीहरू जङ्गलमा बस्थे, चाडबाड मान्न अरूको भर पर्थे, दाताको भर पर्थे । दशैँ तिहार मान्न अरूले चामल दिनुपर्थ्यो । अवस्था एकदमै दयनीय थियो । आज उनीहरू आफैँ उत्पादन गर्छन् । खेतीपाती गर्छन् । घरैपिच्छे गाईवस्तु छ । अहिले त आफ्नै खुट्टामा उभिएर बाँच्न सक्ने अवस्थामा छन् । त्यो बेलाको तुलनामा त अहिले उनीहरूको अवस्था धेरै राम्रो भएको छ ।

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ साउन २७ गते, शुक्रवार


Previous articleविद्यालय नियममा हुनै भएन ‘जेन्डर वायस’
Next articleपच्चीस वर्ष नपुग्दै सम्बन्ध विच्छेद