Home Elaborations झापा विद्रोहमा लागेका महिला : जानकारी नै अब कहाँ पाइएला र ?...

झापा विद्रोहमा लागेका महिला : जानकारी नै अब कहाँ पाइएला र ? (भिडियो सहित) – राधाकृष्ण मैनाली

1458
0

द स्टोरी किचेनले २०२१ मार्च ८ मा अनलाइन पत्रकारिता प्लेटफर्म ‘सन्धान’ सुरु गर्‍यो। मुलुकमा विभिन्न कालखण्डमा भएका आर्थिक गतिविधि, सामाजिक र राजनीतिक आन्दोलनहरूमा महिलाहरूको सहभागिता, नेतृत्व र योगदान के, कस्तो र कसरी भएको रहेछ भनेर सन्धानमार्फत खोजी पनि गरिरहेका छौँ । यस क्रममा विशेष गरी ‘सन्धान फेलोसिप’ अन्तर्गत अनुसन्धानवृत्ति प्राप्त गरी विभिन्न फेलो पत्रकार/लेखकहरूले विभिन्न विषयमा ऐतिहासिक तथ्यहरूको खोजी गर्नुभएको छ । कतिपयले गर्दै पनि हुनुहुन्छ ।

‘सन्धान’ मा केही समयअघि ‘झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान’ शीर्षकमा फेलो पत्रकार सुजाता ढुङ्गानाको खोजमूलक आलेख प्रकाशित भएको थियो । सो स्टोरी प्रकाशित भएपछि झापा आन्दोलनका नेतृत्वकर्ताहरू राधाकृष्ण (आरके) मैनाली, चन्द्रप्रकाश (सिपी) मैनाली र नरेश खरेलले यसै विषयमा छलफल गर्नुभएछ । यसको जानकारी राधाकृष्ण मैनालीले सुजातामार्फत ‘सन्धान’ लाई दिनुभएपछि हामी उहाँसँग थप कुराकानी गर्न काठमाडौँस्थित उहाँको निवासमा पुग्यौँ । उहाँसँग विशेष गरी झापा आन्दोलनमा को को महिलाहरू के कसरी सहभागी भएका थिए ? महिलाहरूले कसरी अनौपचारिक सहयोग गरेका थिए ? कुनै पनि पार्टीको इतिहासमा महिला सहभागिता, नेतृत्व र योगदानको अभिलेखीकरण गर्नु किन जरूरी छ ? कम्युनिस्ट मात्र नभई अरू पार्टीहरूले पनि कसरी महिलाहरूको सहभागिता, नेतृत्व र योगदानको अभिलेख राख्न सक्छन् ? आदि प्रश्नमा केन्द्रित भएर कुराकानी गरिएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतमुकुन्द बोगटीले झापा आन्दोलनका नेतृत्वकर्तामध्येका एक राधाकृष्ण मैनालीसँग हालै गर्नुभएको कुराकानीमा आधारित आलेख :

झापा विद्रोह भएकोे ५० वर्ष नाघिसक्यो, आयुको हिसाबले । आन्दोलनमा पुरुषहरूको सङ्ख्या बाँकी अब दर्जनभन्दा बढी छैन । यसबिचमा तपाईंहरूको अनलाइन (सन्धान) बाट झापा विद्रोहको बारेमा लेख छापिएको रहेछ । त्यो मैले पनि पढेँ । त्यसपछि संयोगले सिपी मैनाली, नरेश खरेल र मेरो भेट भयो काठमाडौँमा । त्यो भेटमा हामीले झापा विद्रोहमा सहयोग गर्ने तीन तहका कार्यकर्ताहरूको समष्टिगत विवेचना गर्‍यौँ । तीन तह भन्नाले पहिलो, आन्दोलनको विरोध गर्ने, दोस्रो आन्दोलनमा सरिक पनि नहुने, विरोध पनि नगर्ने र तेस्रो, आन्दोलनमा सक्रिय हुने र समर्थन गर्न भनेर छुट्टाछुट्टै हेर्नुपर्छ भन्ने छलफल भयो । त्यसको सूची नरेशजीले तयार गर्नुभएको छ । महिलाहरूको नाम पनि नरेशजीले नोट गर्नुभएको छ । पहिला मलाई पनि सोध्नुभएको हो, केही नाम मैले पनि सम्झिएँ तर धेरै त बिर्सिसकेकाले हामी तीन जना बसेको बेलामा नरेशजीले डायरीमा थप नामहरू नोट गर्नुभएको छ ।

त्यो बेला पनि मारिने मारिए, बाँच्नेमा गौरा प्रसाई, सीता खड्का र लीला कट्टेल जेलबाट छुटेर र सिपी मैनाली नख्खु जेल बे्रक गरेर निस्किएपछि उनीहरूले नै आन्दोलन हाँकेका हुन् ।

झापा विद्रोहमा म सहभागी हुँदाताकाका धेरै साथीहरूको त देहावसान भइसक्यो । जेलबाटै आएका साथीहरूको पनि मृत्यु भइसक्यो । साह्रै थोरै मात्रै बाँकी छौँ । त्यो बेला पनि मारिने मारिए, बाँच्नेमा गौरा प्रसाई, सीता खड्का र लीला कट्टेल जेलबाट छुटेको र सिपी मैनाली नख्खु जेल ब्रेक गरेर निस्किएपछि उनीहरूले नै आन्दोलन हाँकेका हुन् । त्यही भएर कोअर्डिनेसन केन्द्र बन्यो, नेकपा माले बन्यो र अहिलेको नेकपा एमालेसम्म आइपुगेको हो । झापा विद्रोहकै बारेमा प्राध्यापक राजकुमार पोखरेल र डा. सुरेन्द्र केसीले थेसिस लेख्नुभएको छ । सुरेन्द्रजीले कम्युनिस्ट आन्दोलनकै थेसिस गर्नुभयो । उहाँहरूका थेसिसमा झापा विद्रोह एउटा अंशका रूपमा आयो तर ती अनुसन्धानमा पनि पुरुष प्रधानता र पुरुष नेतृत्वका कुराहरू धेरै आए । उहाँहरू बाहेक अरू पनि पिएचडीका थेसिस, विभिन्न अनुसन्धानका लागि भन्दै धेरै जना आउनुहुन्छ । मैले सम्झेको कुरा बताउने गरेको छु ।

तपाईंहरूकै ‘सन्धान टिम’ ले इतिहासकै एउटा महत्त्वपूर्ण योगदान खोज्ने काम गर्नुभयो । यसरी महिलाको भूमिका विश्लेषण गरेर खोज्नु धेरै नै महत्त्वपूर्ण काम हो ।

तर, मलाई कसैले पनि झापा विद्रोहमा महिला सहभागिताका बारेमा कहिल्यै सोधेका थिएनन् । पत्रकार सुजाता ढुङ्गाना र तपाईंहरूकै ‘सन्धान टिम’ ले इतिहासकै एउटा महत्त्वपूर्ण योगदान खोज्ने काम गर्नुभयो । कति पाइन्छ, पाइन्न, आफ्नै ठाउँमा छ तर यसरी महिलाको भूमिका विश्लेषण गरेर खोज्नु धेरै नै महत्त्वपूर्ण काम हो । यति पनि नभए त अबको एक दुई वर्षपछि सेलाएर नै जान्छ । अहिलेको जति पनि कहाँ पाइन्छ होला र ?

झापा विद्रोहको कुरा गर्दा आन्दोलन हाँकेको भनेको म, सिपी (मैनाली) जी, नरेश (खरेल) जी छौँ । मोहनचन्द्र (अधिकारी) जी अहिले अलि विस्मृतिमा जानुभएकाले त्यति स्मरण गर्न सक्नुहुँदैन । झापामा दधिराम उप्रेती, कृष्ण सेढाईंलगायतका केही साथीहरू हुनुहुन्छ । हामी बाँकी रहेका सबैको स्मरणले करिब ५० वर्ष अगाडिको कुरा कति सम्झन सक्छौँ, सक्दैनौँ भन्ने पनि छ । तर, तपाईंहरूले उठाउनु भएको महिला सहभागिताको कुरा त सेलाएरै जान लागेको थियो । तपाईंहरूले खोजी सुरु गर्नुभयो । यो इतिहासकै निम्ति साह्रै महत्त्वपूर्ण हुनेछ ।

महिला सहभागितामा ‘दम्पती’ शैली

झापा आन्दोलनमा महिलाको असाध्यै ठुलो भूमिका र सहभागिता छ । सुरुमा आन्तरिक भूमिकाको कुरा गरौँ । हाम्रो नयाँ शैली थियो । हामी कुनै पनि घरमा दुवै जना (श्रीमान्‌श्रीमती) लाई नै राखेर राजनीतिक कुरा गर्थ्याैं । त्यो बेला महिलालाई राजनीतिक कुरा सुनाउन हुँदैन भनिन्थ्यो । हामीले त्यसलाई तोडेका थियौँ ।

साक्षर, अलिअलि पढेलेखेका महिलासँग अलि त्यही तहको कुराकानी गर्थ्याैं । लेखपढ नगरेकासँग उहाँहरूले बुझ्ने गरी राजनीतिक कार्यक्रम कसरी सुरु गर्ने, गोप्यता कसरी राख्ने, राजनीतिक मान्छेहरू आए भने वा दुस्मनले सोधे भने के गर्ने ? कागजातहरू कसरी लुकाउने र सुरक्षित राख्ने भन्ने कुराबाट सुरु गर्थ्याैं। त्यस्तै, कम्युनिस्ट पार्टी भनेको के हो ? कम्युनिस्ट पार्टीले समानताका लागि कसरी काम गर्छ ? आर्थिक भेदभाव, सामाजिक भेदभाव, जातीय भेदभाव अन्त्यका बारेमा सुनाउँदै उहाँहरूलाई हाम्रो कुरा बुझाउँथ्यौँ ।

कम्युनिस्ट आन्दोलनमा महिलाहरूको सक्रियतालाई गाउँ तहसम्म सायद झापा विद्रोहले नै पुर्‍याएको हो ।

दम्पतीसँगै कुरा गर्दा हामीलाई दुई वटा कुरामा सजिलो भयो । एउटा, महिलाहरूमा पनि राजनीतिक सचेतना आयो । अर्को, उहाँहरूले हामीलाई आफन्तको जस्तो व्यवहार गर्न थाल्नुभयो । श्रीमान् घरमा नहुँदा पनि हामीलाई घरमा बास बस्न दिनुभयो, खाना खुवाउनुभयो, हाम्रो सुरक्षा गर्नुभयो । र, पछि उहाँहरू नै स्थानीय अगुवा महिलाका रूपमा निस्किनुभयो । नभए त घरमा लोग्नेमान्छे नभए बास नै नदिने चलन थियो । पछिपछि त बास बस्न जाँदा उहाँहरूले आफ्ना छोराछोरी र छिमेकीलाई दुस्मन आउँछन् कि भनेर हेर्न लगाउनेसम्म गर्न थाल्नुभयो ।

कम्युनिस्ट आन्दोलनमा महिलाहरूको सक्रियतालाई गाउँ तहसम्म सायद झापा विद्रोहले नै पुर्‍याएको हो । झापा विद्रोहमा लीला कट्टेल भूमिगत भइसकेपछि सीता खड्का, गौरा प्रसाई पनि भूमिगत हुनुभयो । यी तीन जना त सक्रिय रूपमा नै भूमिगत हुनुभयो । उहाँहरूका साथीहरू पनि विद्रोहमा सक्रिय त हुनुभयो तर पछि आतङ्कित भएर भाग्नुभयो । पछि विद्रोह सकिएपछि भने पार्टी सम्पर्कमा आउनुभयो ।

भारतमा त ‘रेडगार्ड’ मा महिला राख्ने गरेको देखियो, हाम्रोमा त्यसो गर्न सम्भव भएन । आन्तरिक रूपमा भने महिलाहरूले कम्युनिस्ट नेताहरूको सुरक्षा गर्नुभयो ।

आन्दोलनमा नजाने तर भित्री रूपमा सहयोग गर्ने महिलाहरूको सङ्ख्या पनि ठुलो थियो । पुरुषहरूलाई जस्तो घर छोडेर सट्ट हिँड्न महिलालाई सजिलो थिएन । श्रीमान्‌ले घर छोडेर हिँडे श्रीमतीले छोराछोरी स्याहारेर बस्थे । तर, श्रीमतीले घर छोडेर हिँड्दा छोराछोरी पनि सँगै झुन्डिने भए । त्यो भएर हामीले पनि भूमिगत हुने महिलाको सङ्ख्या बढाउन सकेनौँ । भूमिगत हुन सजिलो पनि होइन । जति अविवाहित महिलाहरू आन्दोलनमा आए त्यति नै हो । भारतमा त ‘रेडगार्ड’ मा महिला राख्ने गरेको देखियो तर हाम्रोमा त्यसो गर्न सम्भव भएन । आन्तरिक रूपमा भने महिलाहरूले कम्युनिस्ट नेताहरूको सुरक्षा गर्नुभयो ।

पहिलो तहका नेतृत्व २०३० सालको हाराहारीमा पक्राउ परिसकेका थियौँ । पछि सिपी, गौरा र सीताहरू जेलबाट छुटेपछि भने उहाँहरूले सङ्गठित गरेका गाउँका महिलाहरूले नै सङ्गठन टिकाउनुभयो । दोस्रो सिराबाट सुरु भएको आन्दोलन कम ‘एक्सन प्रधान’ भयो । त्यही भएर प्रहरीले पनि कम खोज्यो । पछि गएर कोअर्डिनेसन केन्द्र, माले बन्यो । माले हुर्कने कुरामा एमाले हुँदा जिल्ला स्तरको र्‍याङ्कमा महिलाको भूमिका असाध्यै बढ्दै गयो । हामीले सङ्गठन बनाउँदा स्कुल जाने केटाकेटीदेखि सबै खालका महिलाहरूसँग पनि कुरा गर्थ्याैं । वस्तुस्थिति बुझायौँ ।

बायाँबाट क्रमश राधाकृष्ण मैनाली, माेहन चन्द्र अधिकारी. बालकुमारी खनाल अधिकारी (माेहनचन्द्र की श्रीमती) र नरेश खरेल । तस्विरः नरेश खरेलकाे फेसबुकवाल

हरेक घरमा महिलाहरू सचेत भएका कारण उहाँहरूले आफ्ना सन्तानलाई चेतना दिनुभयो । घरघरको पोलिटिक्सकै कारणले हिजो पञ्चायतकालमा माले पोलिटिक्समा लागेका नेता र कार्यकर्ताहरू पैसाभन्दा सिद्धान्तमा बढी केन्द्रित हुन्छन् । गलत काम गर्न त्यति सजिलो मान्दैनन् तर अहिलेको पछिल्लो राजनीतिक पुस्ताकाहरू त सिद्धान्तभन्दा पैसा केन्द्रित भए ।

२०३२/३३ सालपछि पञ्च बाउको संरक्षणमा नै छोराछोरी वामपन्थी आन्दोलनमा सक्रिय भए । बाबु प्रधानपञ्च छन्, छुटाएर ल्याइहाल्छन् भन्ने खालको प्रभाव पनि देखिएको थियो ।

अहिले ओली (केपी शर्मा ओली) ले परिवारलाई कम्युनिस्टका सन्तानलाई नै पार्टी सदस्यता दिने कुरा गरेका छन् । त्यो त्यति लागु भएको त छैन । तर, त्यसको कडी चाहिँ त्यतिबेला पञ्चायतविरुद्ध लडेको मान्छे अहिले बुढो भइसके । तिनका केटाकेटी अहिले जवान भए । अझ तेस्रो पुस्तालाई राजनीतिमा ल्याउन ओलीले सदस्यताको त्यो कुरा ल्याएका हुन् ।
पञ्च बाउका सन्तान पनि पछि वामपन्थी भएका छन् । २०३२/३३ सालपछि पञ्च बाउको संरक्षणमा नै छोराछोरी वामपन्थी आन्दोलनमा सक्रिय भए । बाबु प्रधानपञ्च छन्, छुटाएर ल्याइहाल्छन् भन्ने खालको प्रभाव पनि देखिएको थियो । देखियो । मालेको त्यो पृष्ठभूमिमा बनेको एमाले हो । अहिले पनि एमालेको राजनीतिक प्रभाव अरू दलको तुलनामा गाउँगाउँमा छ ।

नेतृत्वले जति नै बदमासी गरे पनि तलको धरातल भत्किसकेको छैन । अहिले मलाई लाग्छ, यसको मूल कारण हामीले त्यो बेला महिलाहरूलाई गरेको प्रशिक्षणकै परिणाम हो । हाम्रो प्रशिक्षण पाएका महिलाहरूले आफ्ना छोराछोरीलाई पनि प्रशिक्षण दिँदै हुर्काए ।

पञ्चायतकालका भूमिगत महिला

पञ्चायतकालको कुरा गर्ने हो भने त्यो बेला पनि भूमिगत महिलाको सङ्ख्या सबैभन्दा धेरै नेकपा मालेमै थियो । शान्ता मानवी, राधा ज्ञवाली, सुशीला श्रेष्ठदेखि लिएर अष्टलक्ष्मी शाक्यहरू सबै मालेमा थिए । उहाँहरूले धेरै दुःख पाउनुभयो । राज्यको दमन भोग्नुभयो, बालबाल बाँच्नुभयो । धेरै दुःख र हन्डरहरू महिला नेताहरूले पाउनुभएको छ । त्यतिबेला घर छोडेर हिँड्नु पुरुषलाई भन्दा महिलालाई धेरै गुणा गाह्रो हुन्थ्यो । अझै त राजनीति महिलाका सहज भइसकेको छैन भन्दा हुन्छ ।

म त २०३० देखि २०४४ सम्म जेलमै थिएँ । यसैले त्यो समयको कम्युनिस्ट आन्दोलनका बारेमा त्यति थाहा पाउँदिनँ । जेलबाहिरको गतिविधि मैले देख्न पाइनँ । महिलाहरूको इतिहासलाई खोज्ने हो भने ईश्वर पोखरेल, प्रदिप नेपाल, बामदेव गौतम, गोपाल शाक्यलाई धेरै थाहा छ, यदि उहाँहरूले नढाँटी भन्नुभयो भने ! मैले धेरै त जेलमा बसेर सुनेको मात्रै हो ।

बहुदलपछि महिला

पछि बहुदल आएपछि भने पार्टीमा योगदान गरेको मान्छे चिन्नेभन्दा पनि गुट बनाउनेतिर लागे । आ–आफ्नो गुट बनाउँदा धेरै मान्छे पार्टी सम्पर्कमा आएनन् । त्यति हुँदाहुँदै पनि मालेको राजनीतिमा धेरै महिलाहरू अगाडि आए । त्यही भएकै कारणले त विद्यादेवी भण्डारी राष्ट्रपति हुन सक्नुभएको हो । टपक्क टिपेर त्यत्तिकै राजनीतिमा ल्याएको त हैन । मदन (भण्डारी) सँग विवाह गर्नुभन्दा पहिला नै उहाँ राजनीतिमा आउनुभएको थियो । भलै उहाँ भण्डारीसँग जोडिएकाले उचाइमा पुग्न सजिलो भयो हाेला ।

नेतृत्व इमान्दार भएर महिलाहरूको योगदानको मूल्याङ्कन गरेको भए र उहाँहरूको क्षमता बुझेको भए अहिले होइन, त्यतिबेलै पार्टीको केन्द्रीय कमिटीमै ३० देखि ४० प्रतिशत महिला पुग्न सक्थे ।

झापा विद्रोहसँगै समग्र मालेकालको समीक्षा गर्ने हो भने पुरुषहरूले महिलालाई प्रतिस्पर्धी नै मानेनन् । धकेलेर, घरेलु सहयोगीका रूपमा घरमै फर्काइदिए । त्यही भएर बहुदल आएपछि सक्रिय राजनीतिमा महिलाहरू रहन सकेनन् । नेतृत्व इमान्दार भएर महिलाहरूको योगदानको मूल्याङ्कन गरेको भए र उहाँहरूको क्षमता बुझेको भए अहिले होइन, त्यतिबेलै पार्टीको केन्द्रीय कमिटीमै ३० देखि ४० प्रतिशत महिला पुग्न सक्थे । पुर्‍याउनु पनि पर्थ्याे तर त्यसो हुन सकेन । अझ पार्टी खुला भएपछि छोराछोरीलाई हेर्न दुवैले पाइने भयो, घर जानआउन सकिने भयो भन्ने सोचेर पुरुष नेताहरूले सोचिदिएको भए महिलाहरू घरमा मात्रै सीमित हुनुपर्दैनथ्यो ।

दासढुंगामा मदन बितेपछि मात्रै विद्या राजनीतिमा आउन पाउनुभयो । त्यो पनि महिलालाई उठाउने भन्दा पनि मदनको आकर्षण तानेर भोट बढाउने नीति पार्टीको रह्यो । पछि रवीन्द्र (अधिकारी) को श्रीमतीलाई नै हेरौँ न, भलै विद्या भट्टराईले यसबारेमा केही बोल्नुभएको छैन । उहाँलाई पनि रवीन्द्रजी बितेपछि एमालेले रवीन्द्रजीको शोकको भोट तान्ने कडीका रूपमा अगाडि बढायो । यसरी दुई जना महिला अगाडि आउनुभयो, विद्या भण्डारी दुईदुई पटक राष्ट्रपति नै हुनुभयो । विद्या भट्टराईले दोस्रो पटक पनि चुनाव जित्नुभयो । त्यो त राम्रो भयो तर उहाँहरूको क्षमता अनुसार पहिलेदेखि नै अगाडि बढ्न त दिइएन ।

हिजो मरिमेटेर पार्टी र राजनीति भनेर लागेका महिलाहरूले स्थान पाएनन् । आफ्नो ‘पकेट’का र आफन्तलाई अगाडि ल्याइन्छ ।

अहिले त झन् महिला सहभागिताको कुरा अर्कै छ । कानुनले एकतिहाइ महिला भनेपछि संसद्मा, पार्टी नेतृत्वमा त पुगे तर त्यहाँ हिजो पार्टीका लागि लडेकाहरूभन्दा पकेटका र आफन्तलाई ल्याइन्छ । हिजो मरिमेटेर पार्टी र राजनीति भनेर लागेका महिलाहरूले स्थान पाएनन् ।

कम्युनिस्टमा सिद्धान्त र व्यवहार फरक

झापा विद्रोहदेखि यहाँसम्म आइपुग्दा हामीले समाजलाई आमूल रूपान्तरण गर्ने अठोट गरेका थियाैँ । हाम्रो लक्ष्य मन्त्री, सांसद भएर ठुलाठुला घर बनाउने र हाईफाई गर्ने थिएन । तर, हिजोको सामन्तवादको विरुद्ध लड्ने कम्युनिस्टहरू, हिजोको विद्रोहकालका नेताहरू, हिजोको आदर्श र सिद्धान्तलाई छोडेर लगभग सामन्तवादको नजिक पुग्यौँ । प्रचण्ड (नेकपा माओवादीका अध्यक्ष) कै कुरा गरौँ न, उहाँले जुन परिवर्तन गर्ने भन्दै १०/११ वर्ष हिँड्नुभयो, अहिले त्यो परिवर्तन परिवारवादमा पुगेर टुङ्गियो त ! त्यो प्रवृत्ति प्रचण्डमा मात्रै हैन, हिजो जबज (जनताको बहुदलीय जनवाद) का प्रस्तावकमै पनि सामन्तवादी सोच थियो भन्ने उदाहरण त मैले अघि नै दिइहालेँ ।

समग्रमा महिलाहरूलाई विद्रोहका बेला भनिए जस्तो गरी मुक्तिको अवस्थामा पुर्‍याउन र न्याय गर्न सकेको छैन ।

देशमा सामन्तवादी सोच हटाउन भनेर राजतन्त्र हटाइयो तर अहिले तिनै हटाउन लागिपरेका नेताको टाउकोमा सामन्तवादी सोच भरिभराउ छ । यसले समग्रमा महिलाहरूलाई विद्रोहका बेला भनिए जस्तो गरी मुक्तिको अवस्थामा पुर्‍याउन र न्याय गर्न सकेको छैन । यो उतिबेला नसोचिएको तर अहिलेसम्मको यथार्थ हो ।

पार्टीहरूमा खै त महिला इतिहासका सत्यतथ्य ?

म अहिले त कुनै पार्टी वा सङ्गठनमा सक्रिय छैनँ । मैले भनेर भैहाल्छ भन्ने पनि होइन । तर, मलाई के लाग्छ भने नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादी पार्टी लगायत अरू पार्टीरूले पनि हिजो आफूले गरेका आन्दोलनलाई एकपटक विनापूर्वाग्रह हेर्नुपर्छ । त्यो आन्दोलनभित्र महिलाको नेतृत्व, सहभागिता र योगदान कसरी, कहाँ र कस्तो थियो भनेर हेर्नुपर्छ ।

कुन पक्षको, कुन गुटका थिए वा छन् भन्ने बिर्सिएर महिलाहरू हिजोको आन्दोलनमा कुनकुन भूमिकामा थिए र आज ती महिलाहरू को कहाँ छन् भनेर यी दलहरूले खोज्नुपर्छ । पार्टीहरूले कमिटी गठन गरेर पाँच–छ महिना त्यो कमिटीलाई काम गर्न दिनुपर्छ । यसले एउटा इतिहासको जग त बनाउँछ । यसबाट भोलिका पुस्तालाई देख्न, जान्न, सिक्न र गर्न पनि सजिलो हुन्छ ।

कम्युनिस्ट पार्टीको स्थापना, झापा विद्रोह र अन्य यस्तै खालका आन्दोलनमा लागेका महिलाहरूको लिस्ट मात्रै बनाउने हो भने एक हदसम्म एउटा स्वरूप त तयार हुन्छ । त्यसपछि थप अर्को नयाँ आउने पुस्ताले गर्दै जाला । नभए पनि कम्तीमा उहाँहरूको नाम त रह्यो ।

पार्टी स्थापना वा झापा विद्रोह जस्तै खालका राजनीतिक आन्दोलनहरूमा लागेका महिलाहरूको लिस्ट मात्रै बनाउने हो भने एक हदसम्म एउटा स्वरूप त तयार हुन्छ ।

झापा विद्रोहको कुरा गर्दा ‘सन्धान’ ले केही हदसम्म खोजेको छ । दलहरूले पनि त्यसरी खोजे भने कम्तीमा उहाँहरूका छोराछोरीलाई लाग्छ नि हाम्रो बाउआमा पनि यसरी लागेका रहेछन् ।

महिला मुक्तिको कुरा गर्ने हो भने त पार्टीहरूले महिलाको योगदानपूर्ण इतिहासलाई जोगाइराख्नु पनि पर्ने हो नि ! सबै पार्टीका महिला सङ्गठनहरू छन्, ती सङ्गठनहरूले पनि के कारणले यस्ता कुरामा चासो देखाएका छैनन् ? मैले बुझेकाे छैन ।

झापा आन्दोलनमा महिला सहभागिताको बिषयमा राधाकृष्ण मैनालीको संस्मरण भिडियो

सन्धान फेलोसिप २०२३” अन्तर्गतका थप स्टाेरीहरू

सन्धान, प्रकाशन मिति : २०८० साउन २३ गते, मंगलवार