Home Stories हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया

हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया

1087
0

बझाङको ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍साइपाल गाउँपालिका वडा नम्बर ४ धुली भन्ने ठाउँमा जन्मिएकी संगीता २०८० साल जेठ ३ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो । २४ वर्षीया उहाँ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी पनि बन्नुभएको छ । एक महिनाअघि काठमाडौँको पुरानो बानेश्वरस्थित एक होटेलमा उहाँसँग कुराकानी गर्ने अवसर मिल्यो । डेढ घण्टाको औपचारिक र अनौपचारिक कुराकानीमा उहाँले धेरै पटक उठाउनुभएको कुरा होे– सगरमाथा चढेर पनि हिमाल आरोहणको रहर पुगेको छैन । आठ हजार फिट माथिका सबै हिमाल चढ्नै छ ।

संगीताले हिमाल चढ्ने सपना पहिलो पटक कक्षा ४ मा पढ्दै गर्दा देख्नुभएको रहेछ । उहाँलाई अहिले लाग्छ, धुमिल थिए ती सपना ! हिमाल चढ्ने सपना देख्नु पनि त्यो समयमा कल्पनाभन्दा बाहिरकै कुरा थियो । उहाँका अनुसार, कक्षा ४ को किताबमा नेपालको पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाको बारेमा पढ्नुपथ्र्यो । त्यो पाठ पढेपछि उहाँलाई हिमालबारे चासो र जिज्ञासा लाग्न थाल्यो । “सायद त्यही बेलादेखि म हिमाल र हिमाल चढ्नेबारे सपना देख्न थालेँ कि ?” उहाँ भन्नुहुन्छ ।

संगीता जुन ठाउँमा जन्मिनुभएको थियो, जुन समाजमा हुर्किनुभएको थियो, त्यो ठाउँको समाजले महिलालाई घरको धुरी चढ्न पनि बन्देज लगाउँथ्यो । अहिले पनि लगाउँछ । उहाँ स्मरण गर्नुहुन्छ, “महिलाले घरको धुरी त हेर्न हुँदैन भन्ने समाजमा हुर्केको मैले हिमाल चढ्ने भन्ने त सोच्न पनि पाइँदैन, समाजविरोधी काम मानिन्छ ।” तर, उहाँले हिमाल आरोहणलाई नै आफ्नो लक्ष्य बनाएर त्यो चुनौतीलाई स्वीकार गर्नुभयो । पहिलो पटक २०७५ सालमा बझाङकै साइपाल हिमालको आरोहण गर्नुभयो । त्यसको चुचुरोमा पुग्न भने उहाँ सहितको टोली असफल भयो । त्यो असफलतालाई उहाँले सिकाइको रूपमा लिनुभयो । यसरी अघि बढेकी संगीताले आफ्नो ‘हिमाल सपना’ लाई निखार्दै लग्नुभयो र पहिलो प्रयासमै सगरमाथाको चुचुरोमा पुग्नुभयो ।

“हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन्, त्यसैले मैले यी दुई कुरालाई जोडेको छु ।” “म बेसक्याम्पबाट माथितिर जाँदै गर्दा महिनावारी भएँ ।”

सगरमाथाको चुचुरोमा संगीताले ‘छाउपडी प्रथाको अन्त्य गरौँ’ भनेर लेखिएको एउटा झन्डा पनि फहराउनुभयो । आफू जन्मेको ठाउँमा छाउपडी कुप्रथा छ । उहाँका अनुसार, महिनावारी र सुत्केरी भएका बेला किशोरीदेखि महिलालाई छुट्टै राख्ने चलन अझै हटेको छैन । यसैले छाउपडी प्रथाको अन्त्य आफ्नो आरोहणको सन्देश रहेको उहाँ बताउनुहुन्छ । “हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन्, त्यसैले मैले यी दुई कुरालाई जोडेको छु,” भन्दै उहाँ थप्नुहुन्छ, “म बेसक्याम्पबाट माथितिर जाँदै गर्दा महिनावारी भएँ ।”

संयोग पनि कस्तो ? ‘छाउपडी प्रथाको अन्त्य गरौँ’ भन्ने सन्देशमूलक झन्डा झोलामा बोकेर बेसक्याम्पबाट चुचुरोतिर गइरहँदा उहाँ महिनावारी हुनुभएको रहेछ । संगीतासँग भएको कुराकानीमा सगरमाथा आरोहणका अनुभवसँग जोडिएका विविध विषय समेटिएका छन् । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतमुकुन्द बोगटीले सगरमाथा आरोही तथा सामाजिक विकृतिविरुद्धका अभियन्ता संगीता रोकायासँग गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :

भिडियाे हेर्नुहाेस्

महिनावारी र छाउपडी विरुद्धका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०८० असाेज  गते, मंगलबार


Previous articleछोराको बिहेमा जन्त गएका आमाहरू
Next articleमहिला, शान्ति र सुरक्षा तथा विकास प्रक्रियासँग जाेडिएकाे छ कार्ययाेजना