Home Critique दलित महिलामा क्षमता हुँदैन भन्ने गलत मानसिकता –संगीता अछामी

दलित महिलामा क्षमता हुँदैन भन्ने गलत मानसिकता –संगीता अछामी

1217
0

संगीता अछामी ललितपुर महानगरपालिका वडा नम्बर १४ को वडा सदस्य हुनुहुन्छ । संगीताको आमाबुबा पनि राजनीतिज्ञ हुनुहुन्छ । राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्मिएकी छोरी भएकाले उहाँ केही फरक चेतसहितको वातावरणमा हुर्कनुभयो । त्यतिबेला पनि समानताका लागि सामाजिक मनोविज्ञानमा सकारात्मक परिवर्तन जरुरी ठानिएको थियो । यसका लागि उहाँका आमाबुबा कटिबद्ध हुनुहुन्थ्यो । उहाँले आमाबुबालाई कम्युनिस्ट राजनीतिमा लागेर २०४६ सालको जनआन्दोलनदेखि २०६२–६३ को जनआन्दोलनसम्म सक्रिय भएर सडक आन्दोलनमै निस्किएको पनि देख्नुभयो ।

सानै उमेरदेखि राजनीतिक आन्दोलन र गतिविधिहरूसँग परिचित संगीता २०६४–६५ सालदेखि राजनीतिमै लाग्नुभयो । उहाँ नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यदेखि केन्द्रिय सचिवसम्म हुनुभयो । उहाँ भन्नुहुन्छ, “मैले गर्ने राजनीतिमा महिला र दलित समुदायको सवाल उठाउँथेँ । खासगरी दलित समुदायको व्यक्तिलाई गर्ने व्यवहार र हेप्ने प्रवृत्ति तथा जात वा लिङ्गको आधारमा हुने विभेद हट्नुपर्छ भनेर क्रियाशील भएँ ।”

राजनीति र अधिकारको कुरालाई सँगसँगै लगेकै कारण अहिलेसम्म आफू दुई पटक स्थानीय जनप्रतिनिधि निर्वाचित भइसकेको संगीताको भनाइ छ । उहाँले ललितपुर महानगरपालिकाको वडा नम्बर १४ को ‘दलित महिला वडा सदस्य’ पदमा नेकपा एमालेका तर्फबाट उठेर २०७४ साल र २०७९ सालको स्थानीय निर्वाचनमा जित्नुभयो । यसरी जनप्रतिनिधि भएपछि आफूले महिला, दलित र बालबालिका जस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको भनाइ छ ।

सडक बन्नु, अग्लाअग्ला घर, अफिस बन्नु, मोटर गाडी जस्ता भौतिक विकासलाई मात्र जोड दिइन्छ । मानवको सोच र सामाजिक परिवर्तन हुने खालका कार्यक्रमलाई न योजनामा राखिन्छ न त्यस खालको सोचलाई विकास गर्नुपर्ने नै ठानिन्छ ।

जनप्रतिनिधि भएर दोस्रो कार्यकालमा काम गरिरहँदा संगीतामा धेरै खालका अनुभव थपिएका छन् । त्यसमा केही त बिझाउने गरी पेचिला कुरा पनि छन् । उहाँका अनुसार, दलित जनप्रतिनिधिले बोलेका कुराको सुनुवाइ नहुने, दलित सवाल र सशक्तीकरणका लागि ‘दलित लक्षित कार्यक्रम’ भनेर माग गरिएका योजनाहरू नगरसभाले पास नगरी ‘सहयोग गर्ने’ भनेर थोरै मात्र बजेट छुट्ट्याउने समस्या छ । यसका साथै, कार्यस्थलमा ‘दलित महिलाहरूले के गर्न सक्छन् र ?’ भन्ने गलत मानसिकता अझै रहेको उहाँ बताउनुहुन्छ ।

कार्यकारी पदमा बस्नेहरूको दिमागमा विकासको फराकिलो सोच नभएर साँघुरो परिभाषा मात्रै भएको संगीताको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “सडक बन्नु, अग्लाअग्ला घर, अफिस बन्नु, मोटर गाडी जस्ता भौतिक विकासलाई मात्र जोड दिइन्छ । मानवको सोच र सामाजिक परिवर्तन हुने खालका कार्यक्रमलाई न योजनामा राखिन्छ न त्यस खालको सोचलाई विकास गर्नुपर्ने नै ठानिन्छ ।” यस्तो अवस्थामा आफूले भने मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउनका लागि काम गर्नुपर्छ भनेर आवाज उठाइरहेको उहाँको भनाइ छ ।

संगीताले जनप्रतिनिधि भएर अहिले सातौँ वर्षमा काम गरिरहनुभएको छ । उहाँसँग आफूले गर्न खोजेर सफल बनाएको काम, चाहेर पनि गर्न नसकेका र गर्नै नपाएका कामसँगै हरेक वडामा भएका ‘दलित महिला वडा सदस्य’ को भूमिका, चुनौती, अवसर, सम्भावना जस्ता विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट क्यामेरामा आधारबाबु खतिवडाका साथमा समीक्षा गाहाले संगीता अछामीसँग हालै गर्नुभएको कुराकानीको सम्पादित अंश :

सन्धान, प्रकाशन मिति : २०८० भदाैं २५ गते, साेमबार

Previous articleबलियो साझेदारी र समझदारीको खोजीमा छ मातृत्व
Next articleछोराको बिहेमा जन्त गएका आमाहरू