Home Insight झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान

झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान


“हामीले संगठनको पकड धेरै बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह सुरु गरेका थिएनौं । आक्रमणअघि स्क्वायडलाई कहीँकतै सैन्य तालिम दिइएको थिएन । विद्रोह सुरु गर्दा हाम्रो सांगठनिक आधार पनि त्यति बलियो थिएन । एक सय पचासको हाराहारीमा युवाहरू संगठित थियौं । रात–बिहान सघाउने किसानहरूसहित कार्यकर्ताहरूको संख्या तीन सयभन्दा बढी थिएन । नेतृत्वको हिसाबले पनि आन्दोलनको राप र अनुभवले खारिएर परिपक्व थिएनौं । सैद्धान्तिक रूपमा माक्र्सवादको धेरै ठेलीहरू पिएका पनि थिएनौं । कतिसम्म भने संघर्ष सुरु गर्नुअघि हामीले क्रान्तिकारी कार्यक्रमको कुनै लिखित दस्तावेजसमेत तयार पारेका थिएनौं ।”‘नलेखिएको इतिहास’, राधाकृष्ण मैनाली

किसानहरूको साथ पाएर २०२८ सालमा सुरु भएको झापा आन्दोलनको पहिलो निसाना जमिनदारहरू थिए । किसानहरू मोहियानी हक नपाएकाले आक्रोशमा थिए । तिनै किसानहरूलाई साथ दिएर मोहियानी हक दिलाउने भन्दै झापा आन्दोलन सुरु भएको थियो । तुलनात्मक रूपमा अन्यत्रभन्दा झापामा मोहियानी हक लागु भएकै भए पनि किसानहरू सन्तुष्ट थिएनन् । किसानहरूसँग राम्रो पकड भएको आधारभूमिलाई टेकेर सुरु भएको थियो, झापा विद्रोह । नेपालको इतिहासमा यसलाई झापा आन्दोलन भनेर पनि चिनिन्छ ।

झापा आन्दोलनको इतिहास

झापा आन्दोलनअघि २०२१ साल मङ्सिर १ मा ‘भूमि सम्बन्धी ऐन, २०२१’ जारी गरीे भूमिसुधार कार्यक्रम लागु गरिएको थियो । तर, किसानहरूले मोहियानी हक पाउन सकिरहेका थिएनन् । मोहियानी हकको विषयलाई लिएर किसान र जमिनदार बिचको दुरी बढ्दै गयो । त्यही समयमा भारतको पश्चिम बङ्गालमा नक्सलवादी आन्दोलन चर्किरहेको थियो । कानु सान्याल र चारु मजुमदारको नेतृत्वमा त्यहाँको कम्युनिस्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेको थियो । नेपालको पूर्वी जिल्ला झापामा पनि त्यसको प्रभाव बढ्दै गयो ।

झापा आन्दोलनका अगुवाहरूमध्ये एक नरेश खरेलले खोजपूर्ण लेखहरूको सँगालो ‘झापा दिग्दर्शन’ मा लेख्नु भएको छ– “चारु मजुम्दारको वर्गशत्रु खतमको माध्यमबाट गाउँमा सत्ता स्थापित गर्दै गाउँले सहर घेर्ने विचारका आधारमा झापा जिल्ला कोअर्डिनेसन केन्द्रको नेतृत्वमा २०२८ साल जेष्ठ २ गते ज्यामिरगढीमा झापा विद्रोहको प्रथम एक्सन भयो ।”

अविभाजितकालीन कम्युनिस्ट पार्टी केन्द्रविहीन हुने गरी विघटित भइरहेको अवस्थामा ३० को दशकतिर पूर्वी नेपालको झापामा किसान आन्दोलनको नाममा स्थानीय युवाले ‘जमिनदार खतम्’ को अभियानको सूत्रपात गरेको डा. सुरेन्द्र के.सी.ले ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था’ शीर्षक कृतिमा उल्लेख गर्नुभएको छ । उहाँले उक्त ‘आन्दोलन मूलतः व्यक्तिहत्याको राजनीतिमा आधारित भए तापनि त्यसमा आत्मोत्सर्गको भावना उच्च तहको रहेको हुँदा’ उक्त विद्रोह कम्युनिस्टहरूको सशस्त्र विद्रोह नै रहेको पनि उल्लेख गर्नुभएको छ ।

झापा आन्दोलनका अगुवाहरूमध्ये एक नरेश खरेलले खोजपूर्ण लेखहरूको सँगालो ‘झापा दिग्दर्शन’ मा प्रकाशित ‘झापामा कम्युनिस्ट आन्दोलन’ शीर्षक लेखमा उल्लेख गर्नुभएको छ– “चारु मजुम्दारको वर्गशत्रु खतमको माध्यमबाट गाउँमा सत्ता स्थापित गर्दै ‘गाउँले सहर घेर्ने’ विचारका आधारमा झापा जिल्ला कोअर्डिनेसन केन्द्रको नेतृत्वमा २०२८ साल जेष्ठ २ गते ज्यामिरगढीमा झापा विद्रोहको प्रथम एक्सन भयो ।”

झापा आन्दोलन/विद्रोह २०२८ जेठदेखि २०३० कात्तिकसम्म चलेको, विद्रोहमा सात जना सामन्त जमिनदारमाथि एक्सन भएको र तत्कालीन शासकले ११ जना ‘योद्धाहरूको हत्या’ गरेको झापा आन्दोलनका अगुवा राधाकृष्ण अर्थात् आरकेले ‘नलेखिएको इतिहास’ मा उल्लेख गर्नुभएको छ ।

विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि २००६ साल वैशाख १० मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आधिकारिक वेबसाइटमा उल्लेख छ । पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर पार्टी गठन गरिएको थियो ।

झापा आन्दोलनको सुरुआती चरणबाट नै महिलाहरू आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागी भएका थिए । कसैले भूमिगत जीवन रोजे, कोही अर्धभूमिगत बन, कतिपयले घरव्यवहारको काम सम्हालेर श्रीमान्‌लाई आन्दोलनका लागि पठाए त कसैले भूमिगत भएकाहरूलाई घरमा सेल्टर दिएर सुरक्षित राखे ।

२०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव हुनुभयो । तर, २०१७ साल पुस १ गते राजा महेन्द्रको सैनिक ‘कु’ लाई डा. केशरजंगले ‘प्रगतिशील कदम’ भनेर स्वागत गरेपछि नेतृत्वमा रहेको विचलन छताछुल्ल भएको पनि उक्त वेबसाइटमा उल्लेख छ । झापा आन्दोलन सुरु हुँदाताका कम्युनिस्ट पार्टीभित्र विग्रह कायमै थियो । राधाकृष्णको पुस्तकमा लेखिएको छ– “हामी क्रमशः नक्सलवादी आन्दोलनबाटै उत्साहित एवं प्रभावित भयौं र पूर्व कोसी प्रान्तीय कमिटीको दक्षिणपन्थी रुझानबाट विकर्षित हुँदै अगाडि बढ्यौं ।”

झापा आन्दोलन हाँकेका केही महिलाहरू

झापा आन्दोलनको सुरुआती चरणबाट नै महिलाहरू आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागी भएका थिए । कसैले भूमिगत जीवन रोजे; कोही अर्धभूमिगत बनेर प्रत्यक्ष सहभागी बने भने कतिपयले घरव्यवहारको काम आफूले सम्हालेर श्रीमान्‌लाई आन्दोलनका लागि पठाएर आन्दोलनमा अप्रत्यक्ष सहभागी भए । अनि कति महिलाले भूमिगत भएकाहरूलाई घरमा सेल्टर दिएर सुरक्षित राखे ।

‘झापा दिग्दर्शन’ मा प्रकाशित ‘झापामा महिला आन्दोलन’ शीर्षक लेखमा हेमकला कट्टेलले सङ्घर्षका बेला नयाँ पिँढीको रूपमा सीता खड्का, गौरा प्रसाईं, लीलादेवी कट्टेल (गिरी), माया पोखरेल आदि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्नुभएको छ । हेमकलाका अनुसार, उक्त सङ्घर्षका बेला राजनीतिमा सक्रिय सहभागी बनेका व्यक्ति मात्र होइन सामान्य राजनीति बुझेका महिला तथा बालबालिकाहरूले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । १२ वर्षीया रीता खड्का (हाल रीता चौधरी अनारमनी–३) पार्टीका विभिन्न क्रियाकलापमा संलग्न रहेको कुरा जानकारीमा छ । उहाँहरूले पार्टीले प्रकाशन गरेका क्यालेन्डर र अरू सामग्री बिक्री वितरण गरी पार्टीलाई आर्थिक सहयोग जुटाउने र प्रचार प्रसार गर्ने काममा सहयोग गर्नुभएको थियो ।

आरकेको नेतृत्वमा बनेको को–अर्डिनेसन केन्द्र झापामा त्यतिबेला एक जना मात्रै महिला हुनुहुन्थ्यो, लीला । प्रतिनिधित्वको हिसाबले एक जना मात्रै महिला देखिए पनि उहाँमा आँट र साहसको ठुलो भण्डार रहेको बताउनुहुन्छ, झापा आन्दोलनका अगुवा नरेश खरेल ।

कानुन व्यवसायीसमेत रहेकी हेमकलाका अनुसार, आन्दोलनका बेला सेल्टरदाता माया खड्का, अम्बिका खड्का, केरखाकी छायाँदेवी चापागाईं र दमककी इन्दिरा चापागाईं तथा अनारमनीका स्कुले विद्यार्थीहरू मुनाकिरण डाँगी, बिनु खनाल, रीता खड्का, सीता खड्कालगायत महिलाहरूको योगदान पनि कम छैन । उहाँले लेख्नुभएको छ– “मोहनचन्द्र अधिकारी पश्चिम बङ्गालमा चारु मजुमदारद्वारा प्रतिपादित सिद्धान्त र त्यसको व्यावहारिक प्रयोगसम्बन्धी भूमिगत कोठे गोष्ठीहरू सञ्चालन गर्दै छन् भन्ने चर्चा निकै नै चलेको थियो । तापनि बुधबारे होक्से क्षेत्र, घैलाडुबाको बारदशी, गरामनीको नाडियाबारी तथा ज्यामिरगढीका विचारनी आमैको घर नै उनीहरूले आधार शिविर बनाएका थिए । आधार शिविर संचालनमा महिलाहरूको प्रत्यक्ष भूमिका भए पनि सो कुरा इतिहासका पानामा निदाए जस्तो देखिन्छ ।” झापा आन्दोलनमा सहभागीमध्ये केही महिलाहरूका बारेमा यहाँ सङ्क्षेपमा चर्चा गरिएको छ ।

लीला कट्टेल

लीलाको जन्म २००७ साल कात्तिक ३ गते झापाको घैलाडुब्बामा भएको थियो । गंगादास र चन्द्रकलाका जेठी छोरी लीलाले झापास्थित मेची बहुमुखी क्याम्पसबाट बिएड गर्नुभयो । झापा विद्रोहका नेता रामनाथ दाहाल लीलाका छिमेकी हुनुहुन्थ्यो । दाहालमार्फत नै उहाँ कम्युनिस्ट पार्टीको भूमिगत आन्दोलनको सम्पर्कमा पुग्नुभयो । भनिन्छ, शिक्षकहरूको अगुवाइमा ‘झम्पल’ नामक साहित्यिक पत्रिका प्रकाशित हुँदा उहाँलगायत विद्यालयमा कार्यरत शिक्षक यज्ञराज प्रसाईँलाई तत्कालीन निरंकुश पञ्चायत सरकारको उक्साहटमा ‘मण्डलेहरू’ ले थुने ।

त्यसपछि प्रगतिशील विद्यार्थीहरूको एउटा समूह घैलाडुब्बा पुग्यो । विद्यार्थीहरूको समूह देखेर मण्डलेहरू त भागे तर त्यसपछि घटनाले अर्कै रूप लियो । लीलालाई व्यवस्थाविरुद्ध जनता उक्साएको आरोपमा तत्कालीन पञ्चायत शासनले वारेन्ट जारी गर्‍यो । घरमा बस्नसक्ने अवस्था भएन । त्यसपछि उहाँले ‘तारा’ नामबाट भूमिगत जीवन सुरु गर्नुभयो । भनिन्छ, उहाँको भूमिगत यात्रा सुरु भएसँगै झापा आन्दोलनमा महिला कार्यकर्ता निस्कन थाले ।

पत्रकार भीमा शिवाकोटीले ‘परिवर्तनका पाइलाहरू’ मा लीला २०२५ देखि २०३० सालसम्म समाजमा व्याप्त अन्याय, अत्याचार र शोषण दमनका विरुद्ध जनतालाई जागृत र सङ्गठित गर्ने आन्दोलनमा सक्रिय रहनुभएको उल्लेख गर्नुभएको छ

आरकेको नेतृत्वमा बनेको को–अर्डिनेसन केन्द्र झापामा त्यतिबेला एक जना मात्रै महिला हुनुहुन्थ्यो, लीला । प्रतिनिधित्वको हिसाबले एक जना मात्रै महिला देखिए पनि उहाँमा आँट र साहसको ठुलो भण्डार रहेको बताउनुहुन्छ, झापा आन्दोलनका अगुवा नरेश खरेल । संविधान सभा (२०७०–२०७२) सदस्यसमेत रहनुभएका नरेश महिला नेता लीलालाई सम्झँदै भन्नुहुन्छ, “त्यो समयमा स्नातकसम्मको अध्ययन पूरा गरेर विद्यालयमा पढाउँदै गरेका शिक्षक महिला थोरै मात्र पाइन्थ्यो । त्यहीमध्येको एक हुनुहुन्थ्यो कट्टेल ।” झापा आन्दोलनका अगुवाहरूमध्ये एक उहाँ २०३० साउन २१ मा झापाको नारियावाडीबाट गिरफ्तारीमा पर्नुभयो । त्यसपछि २०४६ पुस १९ मा राजा वीरेन्द्रबाट नरेशसहित १२ जनालाई आममाफी भएपछि उहाँ छुट्नुभएको थियो ।

पत्रकार भीमा शिवाकोटीले ‘परिवर्तनका पाइलाहरू’ मा लीला २०२५ देखि २०३० सालसम्म समाजमा व्याप्त अन्याय, अत्याचार र शोषण दमनका विरुद्ध जनतालाई जागृत र सङ्गठित गर्ने आन्दोलनमा सक्रिय रहनुभएको उल्लेख गर्नुभएको छ ।

सीताले १३ वर्षको उमेरमा भूमिगत जीवन रोज्नुभयो । भूमिगत हुनुअघि उहाँले ‘बाल रेडगार्ड’ मा सङ्गठित भएर झापा विद्रोहका नेताहरूलाई खाना खुवाउने र खबर आदानप्रदान गर्ने काम गर्नुभयो ।

आन्दोलनलाई हाँक्न उमेरले परिपक्व लीला कम्युनिस्ट विचार र सिद्धान्तमा पनि पक्का हुनुहुन्थ्यो । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको सम्भवतः पहिलो भूमिगत महिला रहनुभएको झापाली महिलाहरूको धारणा छ । हेमकलाले ‘झापा दिग्दर्शन’ मा प्रकाशित आफ्नो लेखमा नेपालको महिला आन्दोलनको इतिहासमै सचेत रूपमा स्वेच्छापूर्वक पार्टीको काम सँगसँगै महिला आन्दोलन विकास गर्ने काममा लाग्ने र भूमिगतसमेत भएर आन्दोलनलाई अघि बढाउने महिलाहरूमा लीला कट्टेल नै पहिलो महिला हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

भूमिगत रहँदैको अवस्थामा लीलालाई २०३० साल साउन २१ गते पञ्चायत सरकारले गिरफ्तार गरेको थियो । उहाँ तीन वर्षको कारावासपछि २०३३ साल साउन २१ गते रिहा हुनुभयो । जेलमुक्त भएपछि उहाँले कम्युनिस्ट सिद्धान्तमा आस्था राख्ने नेतासँग विवाह गर्नुभयो । विवाहपछि भने उहाँको राजनीतिक यात्रा रोकियो । भनिन्छ, श्रीमान्‌काे दबाबका कारण उहाँले राजनीतिक गतिविधिमा संलग्न हुन पाउनु भएन । राजनीतिलाई बिट मारेर गृहिणीको जीवन बिताउन बाध्य हुनुभयो । २०३५ जेठमा वीर अमरसिंह मा.वि. चारपानेमा शिक्षण कार्य थाल्नुभएका उहाँको २०४७ पुस २९ गते सडक दुर्घटनामा परेर निधन भयो ।

सीता खड्का (निलम)

भीमबहादुर र लक्षुमाया खड्काका माहिली छोरीको रूपमा सीताको जन्म २०१५ सालमा झापाको गरामनीमा भएको थियो । दुर्गा माध्यमिक विद्यालय गरामनीका प्रध्यानाध्यापक नेत्र घिमिरेबाट प्रभावित भएर सीताले १३ वर्षको उमेरमा भूमिगत जीवन रोज्नुभयो । भूमिगत हुनुअघि उहाँले ‘बाल रेडगार्ड’ मा सङ्गठित भएर झापा विद्रोहका नेताहरूलाई खाना खुवाउने र खबर आदानप्रदान गर्ने काम गर्नुभयो । उहाँको बुझाइमा त्यतिबेला केटाकेटीलाई प्रहरीले शङ्का नगर्ने भएकाले खबर आदानप्रदानको काममा बालबालिकालाई प्रयोग गरिन्थ्यो ।

सीता २०२९ कात्तिक २९ गतेबाट पूर्ण भूमिगत हुनुभयो । लीला कट्टेल, गौरा प्रसाई र सीता खड्काले ‘पूर्णकालीन भूमिगत भएर कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको’ बताउनुहुन्छ, झापा आन्दोलनका क्रममा लामो समय जेल जीवन बिताउनुभएका नरेश ।

विद्रोहकै कामको सिलसिलामा सीता २०३० साउन २१ गते प्रहरीको गिरफ्तारीमा पर्नुभएको थियो । सीताका अनुसार, प्रहरी हिरासतमै उहाँको पहिलो महिनावारी भयो । त्यसै अवधिमा आफूले असह्य पीडा र प्रहरीबाट पटक पटकको यौनहिंसा भोगेको तितो अनुभव सीतासँग छ । उहाँका अनुसार, नाकमा खुर्सानी पानी लगाइयो, महिनावारी हुँदा पेटमा बुटले प्रहार गरियो । रगताम्य शरीर बोकेर उहाँ ३६ दिन प्रहरी हिरासत रहनुभयो । बाँकीका १७ महिना उहाँले चन्द्रगढी जेलमा बिताउनुभयो ।

सीता २०३२ सालमा प्रहरी कारागारबाट छुटेपछि पुनः भूमिगत हुनुभयो । भूमिगतकालमै सिपी मैनालीसँग विवाह भयो । त्यसपछि उहाँ पार्टी कामका सिलसिलामा कहिले प्रवास, कहिले मधेस त कहिले काठमाडौँमा भूमिगत रहनुभयो । खुला राजनीतिमा आएपछि पार्टी फुटको सँघारमा पुग्दा सीता मालेमा नै बस्नुभयो । २०७० सालमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुनुभएका उहाँ अहिले नेकपा मालेको केन्द्रीय समिति सदस्य हुनुहुन्छ ।

गौरा प्रसाई

लक्ष्मीनारायण र टीकादेवी प्रसाईका छोरी गौराको जन्म २०१३ सालमा तेह्रथुमको आठराईमा भएको थियो । उहाँ छ वर्षको हुँदा बाबुआमा झापाको गरामनीमा बस्न थाल्नुभयो । उहाँलाई गरामनीकै दुर्गा माध्यमिक विद्यालयमा भर्ना गरियो । सोही विद्यालयमा पढ्दै जाँदा गुरु नेत्र घिमिरेको प्रशिक्षणबाट प्रेरित भएर उहाँले २०२९ सालमा भूमिगत जीवन रोज्नुभयो । त्यतिबेला उहाँ १६ वर्षको हुनुहुन्थ्यो । भूमिगत भएको वर्ष दिन नबित्दै उहाँको स्वास्थ्यमा समस्या आएपछि ‘विभूमिगत’ हुनुभयो । गौरा भन्नुहुन्छ, “झापा विद्रोहमा म एक वर्ष मात्र सामेल भएँ । स्वास्थ्य उपाचारका लागि विभूमिगत हुनुपर्‍यो । तर विद्रोहपश्चात् पनि म राजनीतिक रूपमा सक्रिय रहेँ ।”

गौरा भन्नुहुन्छ, “मलाई बालबच्चा लिएर भूमिगत हुन खोज्दा पार्टीका शीर्ष नेताहरूले ‘कि पार्टी छोड कि राजनीति छोड’ सम्मको तूच्छ वचन बोले तर मैले दुवै त्याग्न सकिनँ ।”

गौरा २०३२ सालमा फेरि कम्युनिस्ट आन्दोलनकर्मीको सम्पर्कमा पुग्नुभयो । सोही क्रममा उहाँ प्रहरीको गिरफ्तारीमा पर्नुभयो र पाँच वर्षको जेल बसाइपछि रिहा हुनुभयो । त्यसपछि पनि उहाँले भूमिगत रहेर काम गर्नुभयो । भूमिगत भएर काम गर्दागर्दै उहाँले २०३९ सालमा पार्टीकै सम्पर्कमा चिनजान भएका गोविन्दप्रसाद कोइरालासँग विवाह गर्नुभयो । भूमिगतकालमा नै उहाँले तीन सन्तान जन्माएर हुर्काउनुभएको थियो । उहाँका अनुसार, भूमिगत जीवन सहज थिएन । २०४६ सालमा बहुदलको पुनःस्थापना भएपछि भने अलि सजिलो भयो ।

गौराको बुझाइमा राजनीति गर्न अविवाहित महिलालाई जति सहज छ, विवाह भएका र बच्चा भएका महिला नेताहरूलाई त्यति नै कठिन छ । उहाँ भन्नुहुन्छ, “पार्टी आन्दोलनमै रहेका बेला विवाह भयो । बालबच्चा भए । तर मलाई बालबच्चा लिएर भूमिगत हुन खोज्दा पार्टीका शीर्ष नेताहरूले ‘कि पार्टी छोड कि राजनीति छोड’ सम्मको तूच्छ वचन बोले तर मैले दुवै त्याग्न सकिनँ ।”

गौराले २०७० देखि २०७२ असोजसम्म नेकपा एमालेबाट संविधानसभामा समानुपातिक सदस्यका रूपमा प्रतिनिधित्व गर्नुभयो । माधवकुमार नेपालको नेतृत्वमा २०७८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन र दर्ता भएपछि उहाँ सो पार्टीको केन्द्रीय सदस्य हुनुभयो । पछिल्लो एक वर्षयता उहाँ पार्टी क्रियाकलापमा सक्रिय देखिनुभएको छैन ।

जीवन घिमिरे

जीवनको जन्म २००९ साउनमा ताप्लेजुङको तत्कालीन आङबुङ गाविसमा भएको थियो । उहाँका आमा गोमा र बाबु लयप्रसाद उप्रेती झापा झरेपछि उहाँ पनि झापामा नै बस्न थाल्नुभयो । झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नेत्र घिमिरेसँग आफन्तको चिनाजानी थियो । नेत्रसँगै २०२६ सालमा उहाँको विवाह भयो । ‘झापा विद्रोह’ का नायकहरूमध्ये एक नेत्रलाई तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ मा सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो । झापाबाट ‘जेल सार्ने’ क्रममा उहाँसहित पाँच जनाको हत्या भएको थियो ।

जीवनले श्रीमान्‌काे हत्या हुनुअघि र हत्या भएपछि पनि झापा विद्रोहका नेताहरूलाई लुकाउने, खाना खुवाउने, बास दिनेलगायत सेल्टर व्यवस्थापनको काम गर्नुभयो ।

जीवन आफ्नो पहिलो राजनीतिक गुरु आफ्नै श्रीमान् नेत्रलाई मान्नुहुन्छ । नेत्रले सुकुम्बासी बस्तीमा गर्ने गरेका कार्यक्रमहरूमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो । श्रीमान् नै विद्रोहमा संलग्न भएपछि कर र रहर दुवैले महिलालाई राजनीतिमा हुत्त्याउने गरेको उहाँको अनुभव छ । उहाँले श्रीमान्‌काे हत्या हुनुअघि र हत्या भएपछि पनि झापा विद्रोहका नेताहरूलाई लुकाउने, खाना खुवाउने, बास दिनेलगायत सेल्टर व्यवस्थापनको काम गर्नुभयो । उहाँ नेकपा एमालेका तर्फबाट समानुपातिकमा संविधानसभा (२०७०–२०७२) सदस्य समेत हुनुभयो । हाल उहाँ नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समितिमा हुनुहुन्छ ।

विश्वेश्वरा दाहाल

लीलादेवी र गोपिचन्द्र उप्रेतीकी काहिँली छोरी विश्वेश्वराको जन्म तेह्रथुमको आठराईमा भएको थियो । कक्षा १० को परीक्षा दिएर झापा झर्नुहुँदा उहाँसँग झापा आन्दोलनका अगुवा रामनाथ दाहालले विवाह गर्ने चाहना व्यक्त गर्दै प्रस्ताव राख्नुभयो । कान्छी श्रीमती हुनुपर्ने भएकाले उक्त विवाह प्रस्तावलाई उहाँले पटक पटक अस्वीकार गर्नुभयो । तर, पारिवारिक दबाब सिर्जना भएपछि उहाँले २०२५ सालमा रामनाथसँगै विवाह गर्नुभयो ।

श्रीमान् रामनाथ गिरफ्तारीमा परेपछि विश्वेश्वरा उहाँलाई भेट्न चन्द्रगढी कारागार पुग्नुभयो । त्यतिबेला विश्वेश्वरालाई रामनाथले भन्नुभएछ, “मलाई त मार्छन् होला तर तिमीले राजनीति नछोड्नु है !” त्यही आग्रहले विश्वेश्वरालाई राजनीतितर्फ धकेल्यो ।

विश्वेश्वरा राजनीतिमा लागेर पार्टीको काममा सहयोग गरून् भन्ने चाहना रामनाथको थियो । विश्वेश्वरालाई भने राजनीतिमा पटक्कै रुचि थिएन । उहाँ पञ्चहरूको पारिवारिक वातावरणमा हुर्कनुभएको थियो । रामनाथले उहाँ र छिमेकी शिक्षक लीला कट्टेललाई छ महिनासम्म झापाको चारपानेस्थित आफ्नै घरमा प्रत्येक दिन माक्र्सवाद र लेनिनवादका विषयमा प्रशिक्षण दिनुभयो । त्यतिबेला पढेका माक्र्सका पुस्तकहरूले नै विश्वेश्वरालाई राजनीतितर्फ आकर्षित गर्‍यो । त्यसपछि मात्रै उहाँ राजनीतिक रूपमा रामनाथलाई सहयोग गर्न राजी हुनुभएछ ।

रामनाथ गिरफ्तारीमा परेपछि उहाँलाई भेट्न विश्वेश्वरा चन्द्रगढी कारागार पुग्नुभयो । त्यतिबेला विश्वेश्वरालाई रामनाथले भन्नुभएछ, “मलाई त मार्छन् होला तर तिमीले राजनीति नछोड्नु है !” त्यही आग्रहले विश्वेश्वरालाई राजनीतितर्फ धकेल्यो । यसै पनि विवाह भएदेखि नै आफ्नो घरलाई विश्वेश्वराले सेल्टरको रूपमा सञ्चालन गर्नुभएको थियो । पार्टीका नेताहरूको आउजाउ भइरहने र प्रहरी आएको खण्डमा नेताहरूलाई लुकाउने, भगाउने जस्ता काममा विश्वेश्वराले निकै ठुलो सहयोग गरेको ‘नलेखिएको इतिहास’ पुस्तकमा उल्लेख छ ।

श्रीमान्‌काे हत्या भएपछि पञ्चायततर्फका मानिसहरू विश्वेश्वराको घरमा छापा मार्न आउने गर्न थाले । त्यही भएर उहाँले चारपानेको लालमाटीस्थित आफू बस्दै आएको घरमा ताल्चा लगाउनुभयो र केही समयका लागि माइती घर बिर्तामोडमा गएर बस्नुभयो । केही वर्ष माइतमा बसेपछि उहाँले २०३६ सालमा बिर्तामोडस्थित बिर्ताबजारमा घर बनाउनुभयो । त्यसपछि उहाँ राजनीतिक गतिविधिमा संलग्न हुनुभयो । २०४० सालपछि पनि विश्वेश्वराको घर पार्टीका नेताहरूका लागि लुक्ने घर भएको थियो ।

झापा विद्रोह सकिए पनि त्यसको राप सकिएको थिएन । झापामा विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन र कम्युनिस्ट आन्दोलन सँगसँगै चर्किएको बेला उहाँले फेरि आफ्नो घरलाई ‘सेल्टर’ बनाउनुभयो । अखिल नेपाल महिला संघको जिल्ला नेतृत्वका लागि विश्वेश्वरा ढाडस पनि बन्नुभयो । पत्र ओसारपसार गर्ने, नेताहरूलाई खाना खुवाउने, उनीहरूलाई भूमिगत बनाउने काममा उहाँ निकै सक्रिय हुनुभयो ।

बहुदलको पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा फागुन १० गते उहाँ गिरफ्तारीमा पर्नुभयो । बहुदल प्राप्तिसँगै चैत २७ गते उहाँ हिरासतबाट मुक्त हुनुभयो । २०४७ वैशाख १ गते बिर्तामोडमा भएको ठुलो आमसभालाई उहाँले संयोजन गर्नुभएको थियो । २०५६ सालमा उहाँ एमालेबाट राष्ट्रिय सभा सदस्य हुनुभयो ।

लक्ष्मी ढकाल

चिन्तामणि र हरिकलाकी छोरी लक्ष्मीको जन्म २०११ सालमा तेह्रथुममा भएको थियो । बाबुआमा २०१३ सालमा झापाको चारपाने, लालमाटी झर्नुहुँदा लक्ष्मी पनि साथमै हुनुहुन्थ्यो । उहाँ सानो छँदै बाबुको मृत्यु भएकाले उहाँको परिवार मावलमा आश्रित थियो । त्यतिबेलै उहाँ विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

झापा आन्दोलनको सम्झना गर्दै लक्ष्मी भन्नुहुन्छ, “हामी त्यतिबेला झापा आन्दोलनमा सिपी दाइको प्रशिक्षणबाट इमोशनल भएर लागेका थियौँ तर अहिले त्यो इमोशन छैन ।”

कक्षा ९ मा पढ्दै गर्दा ‘झम्पल’ पत्रिका प्रकाशन गरेबापत लक्ष्मीसँगै धेरै साथीहरूको नाममा ‘वारेन्ट’ जारी भएको थियो । पछि उहाँ भूमिगत भने हुनसक्नु भएन । उहाँमाथि भाइ र आमालाई हेर्ने पारिवारिक दायित्व थियो । उहाँको बुझाइमा ‘भूमिगत जानु मात्रै विद्रोहमा सहभागी हुनु हैन । विद्यालयमै रहेर विद्यार्थी आन्दोलन र किसान आन्दोलनका बारेमा विद्यार्थीलाई जानकारी दिनु, उनीहरूलाई सङ्गठित बनाउनु पनि विद्रोहमा सहभागी हुनु हो ।’ उहाँ यसरी नै झापा आन्दोलनमा सहभागी हुनुभयो ।

साहित्यिक पत्रिका ‘झम्पल’ मा कविता लेखेकै कारण वारेन्ट जारी भएपछि लक्ष्मीले पञ्चायत समर्थक मावलीको दबाबमा त्यतिबेला राजनीति नै छोड्न पर्‍यो । तर, झापा आन्दोलनको सम्झना गर्दै लक्ष्मी भन्नुहुन्छ, “हामी त्यतिबेला झापा आन्दोलनमा सिपी दाइको प्रशिक्षणबाट इमोशनल भएर लागेका थियौँ तर अहिले त्यो इमोशन छैन ।”

मुना सिटौला उप्रेती

कृष्णप्रसाद र देवका सिटौलाकी छोरी मुनाको जन्म २०१४ सालमा तेह्रथुम जिल्लाको खामलालुङमा भएको हो । आमा २०२४ सालमा झापाको चारपानेमा बसाइँ सर्दा उहाँ पनि सँगै हुुनुहुन्थ्यो । घैलाडुब्बामा रहेको आदर्श विद्यामन्दिरमा कक्षा ६ मा पढ्दै गर्दा गुरु रामनाथ दाहालसँग उहाँको भेट भयो । रामनाथको प्रेरणाले नै मुनालाई झापा आन्दोलनमा सक्रिय बनायो । कविता लेख्ने, भाषण गर्ने, सङ्गठन निर्माण गर्ने काममा उहाँ सहभागी हुनुभयो ।

झापालाई केन्द्रविन्दुमा राखेर हुनेगरेका विभिन्न आन्दोलनका सहभागी नेताहरूलाई लुकाउने, खाना खुवाउने र उनीहरूको गोप्य सूचना आदानप्रदान गर्ने काममा मुना सक्रिय नै रहनुभयो ।

कक्षा ७ मा पढ्दै गर्दा मुनाले ‘एक्सन’ का बेला चिठ्ठी आदानप्रदान गर्ने काम गर्नुभयो । त्यतिबेला उहाँलाई ‘देश बनाउने विद्रोह भनेकै झापा विद्रोह पो रहेछ’ भन्ने लागेको थियो । “तर समय बित्दै गयो । विद्रोहमा संलग्न भएका र आफूले चिनेका नेताहरू धमाधम पक्राउ पर्न थाले । झापा विद्रोहले स्वरूप फेर्‍यो । अहिले त झापा विद्रोहका नेता हुन् भनेर गर्व गर्ने ठाउँसमेत बाँकी रहेन,” उहाँ भन्नुहुन्छ ।

झापा आन्दोलनका नेताहरूमध्ये एक सूर्य उप्रेतीसँग २०३२ सालमा मुनाको विवाह भयो । विवाहपछि उहाँ पहिले जस्तो राजनीतिक गतिविधिमा सक्रिय भएर घरबाहिर हिँड्न सक्नु भएन । त्यतिन्जेल झापा आन्दोलनको अन्त्य भइसकेको थियो । उहाँमाथि सन्तान हुर्काउने र बढाउने पारिवारिक जिम्मेवारी आयो । तर, झापालाई केन्द्रविन्दुमा राखेर हुनेगरेका विभिन्न आन्दोलनका सहभागी नेताहरूलाई लुकाउने, खाना खुवाउने र उनीहरूको गोप्य सूचना आदानप्रदान गर्ने काममा उहाँ सक्रिय नै रहनुभयो । २०५१ सालमा नेताहरूबिच भएको राजनीतिक ध्रुवीकरणले उहाँमा राजनीतिप्रति नै वितृष्णा पैदा भयो । त्यसपछि उहाँ सक्रिय राजनीतिबाट ओझेल पर्नुभयो ।

अरू पनि थिए छ न त !

झापा आन्दोलनमा सहभागी महिलाहरूको सङ्ख्या यतिमा सीमित छैन । रीता खड्का चौधरी, नीरा प्रसाई खरेल, इन्दिरा चापागाईं, छायाँदेवी चापागाईलगायत धेरै महिलाहरू कुनै न कुनै तवरले झापा आन्दोलनमा संलग्न रहनुभयो । रीता र नीरा विद्यार्थी राजनीतिमा संलग्न हुनुहुन्थ्यो भने इन्दिरा र छायाँदेवी सेल्टरदाताको रूपमा सक्रिय रहनुभएको थियो । अहिले उहाँहरू झापा आन्दोलनमा संलग्न भनिएका त्यतिबेलाका नेताहरूको सम्पर्कमा हुनुहुन्न ।

आन्दोलनका बेला विभिन्न तरिकाले सहभागी भएका महिलाहरू अहिले कहाँ र कुन अवस्थामा छन् भन्ने कुरामा नेतृत्व नै लगभग बेखबर जस्तै देखिन्छ ।

झापा आन्दोलनका नेताहरू खासगरी राधाकृष्ण मैनाली (आरके), चन्द्रप्रकाश मैनाली (सिपी), सीता खड्का तथा गौरा प्रसाईसँग यस विषयमा कुराकानी गर्दा उहाँहरूबाट पनि सहभागी महिलाहरूको अहिलेको अवस्थाबारे गहिरो जानकारी पाउन सकिएन । आन्दोलनका बेला विभिन्न तरिकाले सहभागी भएका महिलाहरू अहिले कहाँ र कुन अवस्थामा छन् भन्ने कुरामा नेतृत्व नै लगभग बेखबर जस्तै देखिन्छ । सक्दो प्रयास गर्दागर्दै पनि उहाँहरूको अहिलेको अवस्था र बासस्थानबारे जानकारी पाउन सकिएन ।

चर्चामा रहेका केही महिला र उहाँहरूका परिवारले भने आफूहरू झापा आन्दोलनमा सहभागी नभएको बताउनुभयो । उहाँहरूले झापा आन्दोलनको स्मरण गर्न पनि चाहनु भएन । स्मरणका लागि दबाब नदिन अनुरोधसमेत गर्नुभयो । कसैले त झापा आन्दोलनको कुनै पनि कार्यक्रममा आफ्नो परिवार सहभागी नभएको र परिवार नै त्यतिबेलाको झापा आन्दोलनको विरुद्धमा रहेको समेत बताउनुभयो ।

महिलाहरू राजनीतिक मजदुर मात्रै ?

कम्युनिस्ट आन्दोलनभित्र महिला मुक्तिको सपना बोकेका महिलाहरूले झापा आन्दोलन मात्र होइन, अन्य कुनै पनि आन्दोलन सकिएपछि राजनीतिक अधिकार मात्रै हातमा पाए । राजनीतिक उपलब्धि संस्थागत गर्ने बेलामा महिलाहरू घर फर्किए र फर्काइए । शासनसत्ताको बागडोर पुरुषहरूले आफ्नै हातमा लिए ।

जीवन घिमिरे भन्नुहुन्छ, “हिजो हामीले पार्टीलाई अप्ठ्यारो परेको बेला ज्यानको माया नै नगरी पार्टीको माया गरेका थियौँ । तर अहिले पार्टीले त्यो त्याग र बलिदान बिर्सियो । हिजोको राजनीतिक संस्कार नै अब पार्टीमा रहेन ।”

उनीहरूले आफूसँगै हिँडेका महिला नेताहरूलाई त भुले नै, समाजमा महिलाहरूको पनि समान सहभागिता जरुरी छ भन्ने कुरा पनि भुलेको आरोप महिला नेता जीवन घिमिरेको छ । उहाँ भन्नुहुन्छ, “हिजो हामीले पार्टीलाई अप्ठ्यारो परेको बेला ज्यानको माया नै नगरी पार्टीको माया गरेका थियौँ । कतिले त ज्यानकै बलिदान पनि दिनुभयो तर अहिले पार्टीले हाम्रा मान्छेको त्याग र बलिदान बिर्सियो । हिजो हामीले सिकेको जस्तो राजनीतिक संस्कार अब पार्टीमा रहेन, हामी कम्युनिस्ट रहेनौँ ।”

पार्टीले विधि र विधान भुलेको आरोप आन्दोलनमा सहभागी महिला नेताहरूको मात्रै होइन, आन्दोलनका अगुवा नरेशको पनि छ । उहाँको भनाइमा कम्युनिस्ट आन्दोलनको थालनी, वर्ग सङ्घर्ष र वर्ग उत्थानको कुरा गर्ने झापा आन्दोलनले आज आफ्नो विगत भुलेको छ । हिजो कम्युनिस्टका नाममा सर्वस्व दिन तयार भएका योद्धाहरू आज कम्युनिस्टका नाउँमा सबै थोक लिन तयार छन् ।

राजनीतिक अधिकार निर्माणका लागि महिलाहरू पनि लड्न सक्छन् भन्ने गतिलो उदाहरण झापा विद्रोह र कम्युनिष्ट आन्दोलन भएको झापा आन्दोलनका एक अगुवा राधाकृष्ण मैनाली बताउनुहुन्छ ।

झापा आन्दोलनका अगुवा राधाकृष्ण भने फरक विचार राख्नुहुन्छ । उहाँको बुझाइमा झापा विद्रोह र त्यसको जगमा फैलिएको कम्युनिस्ट आन्दोलन सकिएपछि पनि माले र एमालेमा जति महिलाको ठुलो पङ्क्ति अरू दलहरूमा थिएन । उहाँ राजनीतिक अधिकार निर्माणका लागि महिलाहरू पनि लड्न सक्छन् भन्ने गतिलो उदाहरण झापा विद्रोह र कम्युनिष्ट आन्दोलन भएको दाबी गर्नुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेमा आबद्ध लक्ष्मीको बुझाइमा पार्टीमा त्यो बेलाका इमान्दार कार्यकर्ता छैनन् । उहाँ भन्नुहुन्छ, “महिलालाई जहिले पनि नेताहरूले छिर्के नै हान्न खोज्छन् । जब पार्टीले जित्न सक्दैन भन्ने ठम्याउँछ तब मात्रै हो महिलालाई राजनीतिमा उठाउने । नभए जित्ने ठाउँमा टिकट कहाँ दिइन्छ र, भन्नु न !?”

“म मन्त्री हुँदा सबैले मलाई सिपी मैनालीको श्रीमती भनेर मात्रै चिनाए । तर, म त झापा आन्दोलनमा १८ महिना प्रहरी हिरासत र जेल परेको योद्धा हुँ । मैले जति प्रहरीको शारीरिक र मानसिक यातना सिपीजीले भोग्नु भएन होला ।”

झापा आन्दोलनका अर्का सहभागी सीताको विचारमा समाज, राज्य र राजनीतिक दलको पुरुषवादी मानसिकताले अहिले पनि महिलालाई दोस्रो दर्जाको मान्छ । उहाँ आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, “म २०७० सालमा मन्त्री हुँदा सबैले मलाई सिपी मैनालीको श्रीमती भनेर मात्रै चिनाए ।

“सेल्टरमा आएर बस्ने नेताहरूले हाम्रो योगदान भुलिसक्नुभयो,” मुना भन्नुहुन्छ “हामी त विद्रोह र कम्युनिस्ट आन्दोलन दुवैका खम्बा हौँ नि, खम्बाको महत्त्व नै नबुझेको पार्टी कहाँ दरिलो हुन्छ र ?”

तर, म त झापा आन्दोलनमा १८ महिना प्रहरी हिरासत र जेल परेको योद्धा हुँ । मैले विगतमा गरेको आन्दोलनलाई पुरुषवादी दृष्टिकोणले दबाउन खोजियो । मैले जति प्रहरीको शारीरिक र मानसिक यातना सिपीजीले भोग्नु भएन होला । तर, आज मेरो योगदानको कुनै लेखाजोखा छैन ।” उहाँको बुझाइमा संविधान र नीति नियम बनाएर मात्रै महिला र पुरुषबिचको खाडल पुर्न सकिँदैन । मानसिकतामा नै व्यापक सुधार गर्न जरुरी छ ।

“सेल्टरमा आएर बस्ने नेताहरूले हाम्रो योगदान भुलिसक्नुभयो,” मुना भन्नुहुन्छ “हामी त विद्रोह र कम्युनिस्ट आन्दोलन दुवैका खम्बा हौँ नि, खम्बाको महत्त्व नै नबुझेको पार्टी कहाँ दरिलो हुन्छ र ?” गौराको अनुभवमा कलिलो उमेर तर क्रान्तिकारी राजनीतिक चेतनाले खारिएका नेताहरूको भूमिका विद्रोहको स्वरूप फेरिएसँगै फेरिएको छ । आफ्नो इच्छाले झापा आन्दोलन रोज्नुभएका गौरालाई अहिले लाग्छ, झापा आन्दोलन होस् वा अरू कुनै नाममा भएका विद्रोह वा आन्दोलनहरूका बखत परिवारकै साथ खोजिन्छ । तर, विद्रोह वा आन्दोलनपछि पाउने अवसरहरूमा सबैभन्दा पहिले महिलालाई पाखा लगाइन्छ ।

नरेशको बुझाइमा आन्दोलनको समयमा सबै कामको व्यवस्थापन गरेर हिँडेका महिलाहरूलाई खुला राजनीतिमा आइपुग्नेबित्तिकै घरायसी जिम्मेवारीले थिचिदिनु भनेको कम्युनिस्ट आन्दोलन कमजोर हुनु हो ।

झापा आन्दोलनका सहिद रामनाथ दाहालकी श्रीमती विश्वेश्वराको अनुभव पनि कम पीडादायी छैन । उहाँ भन्नुहुन्छ, “रामनाथजीको हत्यापश्चात् छोराहरू हुर्काउने जिम्मेवारी पूर्ण रूपमा मेरो काँधमा थियो । त्यस्तो बेला नेताहरूलाई सेल्टर उपलब्ध गराएर, उनीहरूलाई लुकाएर, छोराहरू हेर्दै मैले गोप्य रूपमा आन्दोलनलाई सहयोग गरेँ । अहिले उनीहरू भन्दैछन्, तपाईंहरूले के नै गर्नुभयो र ?”

विश्लेषकहरूको बुझाइमा महिलाहरूको भूमिका र योगदानको चर्चा नभएको झापा आन्दोलन एक्लो आन्दोलन होइन । अधिकांश आन्दोलनहरूमा आन्दोलन जारी रहुन्जेल महिलाहरूको दरिलो साथ खोजिन्छ । त्यसलाई संस्थागत गर्ने समय आउँदा भने महिलाहरूलाई छुट्टै व्यवहार गरिन्छ ।

नरेशको बुझाइमा त्यतिबेलाको आन्दोलनमा महिलाहरूले निर्वाह गरेको भूमिकाको चर्चा विरलै मात्रै हुने गरेको छ । सामाजिक संरचनाले गर्दा महिलाहरूमा घरव्यवहार सम्हाल्नुपर्ने, बालबच्चा हुर्काउनुपर्ने, परिवारको रेखदेख गर्नुपर्ने जिम्मेवारीका चाङ थिए । आन्दोलनको समयमा ती सबै कामको व्यवस्थापन गरेर हिँडेका महिलाहरूलाई खुला राजनीतिमा आइपुग्नेबित्तिकै घरायसी जिम्मेवारीले थिचिदिनु भनेको कम्युनिस्ट आन्दोलन कमजोर हुनु हो । उहाँ भन्नुहुन्छ, “आन्दोलन हाँक्न सक्षम, सबल महिलाहरूलाई आन्दोलनपछिको नेतृत्व हाँक्ने, राजनीतिक लाभको पदमा पुर्‍याउने कुरामा कम्युनिस्ट पार्टीहरूले कन्जुस्याइँ मात्रै गरेका छैनन्, उनीहरूको सिद्धान्त एउटा र व्यवहार अर्कै छ भन्ने कुराको पुष्ट्याइँको आधार पनि दिएका छन् ।”

झापा आन्दोलन होस् वा सशस्त्र द्वन्द्व, महिलाहरूलाई राजनीतिक मजदुरका रूपमा मात्रै प्रयोग गरिएको दाबी गर्नुहुन्छ समाजशास्त्री डा. मीना पौडेल ।

आन्दोलन र भेलाका बेला महिलाहरूबाट सक्रिय र समान साथ खोज्ने पुरुषहरूले शक्ति र शासनका बेला भने महिलाहरूलाई परम्परागत अभ्यासमा नै अलमलाउन खोज्दै आएको देखिन्छ । लेखक तथा प्राध्यापक डा. सञ्जीव उप्रेतीले २०७९ फागुन २९ मा पङ्क्तिकारको एक प्रश्नको उत्तरमा भन्नुभएको थियो, “साना ठुला आन्दोलन र विद्रोहहरूमा महिलाको आवश्यकता हुन्छ र सामेल पनि गराइन्छ, तर निश्चित समयका लागि हुने त्यस्ता आन्दोलनहरूको राजनीतिक उपलब्धि प्राप्तिपछि महिलाहरू पुरानै दैनिकीमा फर्कनुपर्ने बाध्यता हुन्छ ।”

डा. सञ्जीवको बुझाइमा आफ्नो स्वतन्त्रताका लागि ब्रिटिस सेनासँग सङ्घर्षरत रहँदा भारतीय नेताहरूले महिलाहरूलाई काली र दुर्गाको अर्को रूप हो, देश बचाउनका लागि, देशका लागि लड्न निस्कनुस् भनेर भाषण गरे । स्वतन्त्रता प्राप्तिपछि तिनै नेताहरूले महिलाहरू सीता जस्तो हुनुपर्छ भन्ने भाष्यहरू प्रयोग गर्न थाले । ठिक त्यसै गरी नेपाली आन्दोलनहरूमा महिलाहरूलाई बन्दुक बोकाएर निकालियो तर सत्ता र शक्तिको समयमा भने फेरि परम्परागत काममा नै फर्काइयो ।

झापा आन्दोलन होस् या माओवादी सशस्त्र द्वन्द्व, महिलाहरूलाई राजनीतिक मजदुरका रूपमा मात्रै प्रयोग गरिएको दाबी गर्नुहुन्छ समाजशास्त्री डा. मीना पौडेल । महिलाहरूलाई आन्दोलनको बेला ‘इमोशनल ब्ल्याकमेल’ गरिएको र आफ्ना लागि सेल्टर होमहरूको व्यवस्थापनमा महिलाहरूको इच्छा भएर वा नभएर पनि प्रयोग गरिएको पनि उहाँको विश्लेषण छ । मानव अधिकार तथा महिला अधिकारकर्मीका रूपमा परिचित समाजशास्त्री डा. मीना ४० प्रतिशत महिला जनमुक्ति सेना भएको माओवादीमा समायोजनको प्रक्रिया र संसदीय अभ्यास गर्ने बेलामा पाँच प्रतिशनि महिलत पा सक्रिय नभएको विश्लेषण गर्नुहुन्छ । “यस्तो हुनाको पछाडि कम्युनिस्ट पार्टीहरूको आदर्शवादी गफको मात्रै आन्दोलन भएको, महिलाको श्रमको मात्रै उपयोग गरिएको र महिलाहरूलाई राजनीतिक मजदुरका रूपमा प्रयोग गरिएको” उहाँको आरोप छ ।

तेह्र–चौध वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सिद्धान्त बोकेर आन्दोलनमा होमिएका अधिकांश महिलाको जनवादी विवाह भयो । पार्टीले खोजी दिएको, पार्टीले रोजी दिएकोभन्दा अर्को व्यक्तिसँग घरव्यवहार चल्न सक्दैन, विचार मिल्न सक्दैन भन्ने सोचेर महिलाहरूले पार्टीभित्रका आन्दोलनकर्तासँगै घरबार जोडे । विवाहपछि भने महिलाका लागि राजनीतिको बाटो साँघुरो भयो । राजनीतिको बाटो आफैँ साँघुरियो वा साँघुरो बनाइयो ? महिलाहरूले त्यो कुरा छुट्ट्याउनै सकेनन् ।

झापा आन्दोलन हाँकेका अधिकांश पुरुष नेताले अहिले पनि राज्यसत्ताको बागडोर कुनै न कुनै तवरले सम्हालिरहेका छन् । उनीहरू सत्ता र शक्तिको वरिपरि घुमिरहेका छन् । तर, झापा आन्दोलनमा संलग्न भएका अधिकांश महिला नेता अहिले राजनीतिबाट अलग छन्, निष्क्रिय छन् । सीताले पार्टी विभाजनपछि नेकपा माले रोज्नुभयो । पार्टी विभाजनपछि मुना पार्टीगत राजनीतिबाटै पलायन हुनुभयो ।

दस्तावेजीकरणको अभावले महिलाहरूको त्याग र बलिदानको राजनीति खेर गइरहने छ । फलतः आन्दोलनको इतिहास नै अपुरो रहिरहने छ ।

सहिद पत्नी जीवन र विश्वेश्वरा पनि सक्रिय राजनीतिबाट लगभग ओझेलमा हुनुहुन्छ । गौराले २०४६ सालको बहुदल प्राप्तिको आन्दोलनको जगले महिलाका अधिकारहरू संस्थागत हुने विश्वास गर्नुभएको थियो तर त्यसो भएन । उहाँ भन्नुहुन्छ, “हामीले राजनीतिक रूपमा आन्दोलन गरेर सामाजिक अधिकार त प्राप्त गर्‍यौँ तर राजनीतिक अधिकारहरू भने अहिले पनि पुरुषहरूकै अधीनमा छ । हामीले संविधानमा त हाम्रा अधिकार सुनिश्चित गरिउँ तर हामीले राजनीतिक रूपमै हाम्रो अधिकार माग्नुपर्ने अवस्था छ ।”

नहोस् इतिहास नै अपुरो

नेताहरू जेल पर्दा महिलाहरूले एकजुट भएर बाहिरबाट आन्दोलनको नेतृत्व नगरेका भए, आन्दोलन भइरहँदा नेताहरूका लागि सेल्टरको व्यवस्था नगरिदिएको भए जेल पर्ने नेताहरूको सङ्ख्या अधिक हुन्थ्यो । जेल परेका नेताहरूको जेल बसाइ पनि लम्बिन्थ्यो । आन्दोलनले सफलता प्राप्त गर्थ्यो कि कुन रूप लिन्थ्यो त्यो पनि भन्न सकिँदैन ।

यसैले आन्दोलनको सफलताका पछाडि महिलाहरूको सुझबुझपूर्ण बलियो हात रहेकामा शङ्का छैन । यो कुरा झापा आन्दोलनका सन्दर्भमा मात्र होइन, अन्य कुनै पनि आन्दोलनहरूमा लागु हुन्छ । आन्दोलनमा विभिन्न तरिकाले सहभागी भएर योगदान पुर्‍याएका महिलाहरूको इतिहास लेखनका सन्दर्भमा यो कुरा महत्त्वपूर्ण हुन आउँछ ।

यस्तो अवस्थामा झापा आन्दोलनका नेता भनेर पार्टी पङ्क्तिले अहिले मानेका पुरुषहरूलाई मात्र सो आन्दोलनका नेता भनेर मानियो र तिनैको मात्र इतिहास लेखियो भने महिला नेताहरू मात्र होइन, सहभागी समग्र महिलाको योगदानमाथि ठुलो अन्याय हुने निश्चित छ । आन्दोलनको यथार्थ पनि ओझेलमा पर्ने छ ।

महिलाहरूको त्याग र बलिदानको राजनीतिलाई नजरअन्दाज गर्ने पुरातन प्रवृत्तिले प्रश्रय पाइरहने छ । दस्तावेजीकरणको अभावले महिलाहरूको त्याग र बलिदानको राजनीति खेर गइरहने छ । फलतः आन्दोलनको इतिहास नै अपुरो रहिरहने छ । अब यस्तो नहोस् । लैङ्गिक दृष्टिकोणबाट झापा आन्दोलनको इतिहासले पूर्णता पाउनुपर्छ । पूर्णताका लागि प्रयास जारी पनि रहनुपर्छ ।

‘झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२३’ कार्यक्रम अन्तर्गत सुजाता ढुंगानाले तयार गर्नुभएको हो ।

सन्धान फेलोसिप २०२३” अन्तर्गतका थप स्टाेरीहरू

सन्धान, प्रकाशन मिति : २०८० साउन १२ गते, शुक्रवार