Home Stories बर्माबाट आएर नेपालमा बिताएका सङ्घर्षपूर्ण दिनहरू –इन्द्रमाया पौडेल

बर्माबाट आएर नेपालमा बिताएका सङ्घर्षपूर्ण दिनहरू –इन्द्रमाया पौडेल

394
0

बर्माबाट लामो र कठिन यात्रा पार गरी हामी २०२६ सालमा मोरङको कल्याणपुर गाउँमा आइपुग्यौँ । मेरा छोराछोरीसहित हामी आठ जना र पिताजीका तीन जना (पिताजीको अर्की श्रीमती र उहाँका दुई सन्तान) समेत हामी ११ जना थियौँ । केही सिप सिकेको थिएन, खेतीकिसानीको काम केही जानेको थिएन । केन्द्रबहादुर नामका व्यक्तिको एउटा रित्तो घर रहेछ, त्यही घरमा गएर बस्यौँ । पिताजीका चेला रहेछन् एक जना । उनले त्यहीँ आएर पिताजीलाई ढोगे । ‘यस्तो घरमा नबस्नुस्, म किचेनमा बस्छु, मेरा घरमा बस्नुस्’ भनेर उनले हामीलाई आफ्नो राम्रो घरमा लगे ।

जेठो छोरा धर्मराजले गोरु किन्ने विचार गर्‍यो । एक हल गोरुको रु. ६५० लाग्ने भयो । पैसा पुगेन, पिताजीले उसलाई रु. १३५ सहयोग गर्नुभयो । उसले दोमना हाटबाट रु. ६५० मा एक हल गोरु किनेर ल्यायो । नयाँ सृष्टि सुरु गर्नुपर्ने थियो शून्यबाट ! अब के–कसो गर्ने भनेर सोच्दै थियौँ, तुलसीराम गौतम नामका मान्छेले आफ्नो पसल बिक्री गर्ने विचार गरेका रहेछन् । उनले ‘किन्नुहुन्छ भने पसल बिक्री गर्छु’ भने ।

हामीले ४८ रुपैयाँमा त्यो पसल किन्यौँ । पैसा थिएन, उधारो लियौँ ।

पसलमा चिया, खाजा र सानातिना किराना सामानसमेत पाइन्थ्यो । हामीले ४८ रुपैयाँमा त्यो पसल किन्यौँ । पैसा थिएन, उधारो लियौँ । पसलमा दुई वटा कित्ली, केही बिस्कुट र चुरोट थिए । छोराले बिहान–बिहान हलो जोत्थ्यो, दिउँसो पसलको लागि सामान किनेर ल्याउँथ्यो । उसले एकै दिनमा मोरङको रङ्गेली, भारतको फूलबारी बजार र झापाको गौरीगन्जबाट सामान किनेर पसलमा जुटाउँथ्यो । सवारीसाधन थिएन । पहिला पहिला काँधमा बोकेर ल्याउँथ्यो । पछि साइकल र घोडामा पनि सामान ल्याउन थाल्यो ।

म चाहिँ पसलमा बसेर बिहान, दिउँसो चिया, खाजा बनाई बेच्ने । खुद्रा सामान, रासन किन्न आउनेलाई सरसामान बिक्री पनि गर्दथेँ । बिस्तारै–बिस्तारै पसल बढ्दै गयो र ठुलो भयो । बस्तीभरिको लागि त्यही एउटा पसल थियो । खाने तेल, मट्टीतेललगायत घरायसी सामान पाउने किराना पसल भयो । अर्को मान्छे थिएन । चिया, खाजा पनि आफैँ बनाउने, बेच्ने, आफैँले भाँडा माझ्ने गरेँ । मैले मेसिनजत्तिकै खटेर काम गरेँ । बिहान ४ बजेदेखि राति अबेरसम्म चिया, खाजा बनाउने र सामान बेच्ने काम गर्न निकै कठिन थियो । पछि डाँकाहरू गाउँमा आउन नपाऊन् भनेर गाउँलेहरूले टुङ्ग बनाएर पालो गरी सन्तरी पनि बस्न थाले । त्यसपछि त सन्तरी गर्नेहरूलाई राति १२ बजे खाजा बनाएर खुवाइसकेपछि बल्ल काम सकिन्थ्यो । त्यसपछि मात्रै आराम पाउँथेँ ।

तेह्रथुमबाट एक जना मुखियाले पिताजीलाई लिन पठाएछन् । दुई जना पिताजीकै चेला ब्रह्मचारीहरू गोरुगाडा लिएर आए । उनीहरूले ‘ल ! अब तेह्रथुम जानुपर्छ । चतुर्मासा पुराण लगाउनुपर्‍यो । उहीँ बस्नुपर्छ’ भने ।

बर्माबाट नेपाल आउँदा ठुली छोरी दीना १४ वर्षकी थिई । आएको चार वर्षपछि ऊ १८ वर्षकी हुँदा विराटनगर पोखरिया बस्ने लामिछानेका माहिला छोरासँग बिहे गरिदियाँ । माहिली छोरी जमुना (मीना) ११ वर्षकी थिई । ऊ गाउँकै अगम जुनियर स्कुलमा ६ कक्षामा भर्ना भएकी थिई । पछि एकैपटक ८ कक्षाको जाँच दिएर नर्स पढ्न विराटनगर गई । कान्छो छोरो घनश्याम, कान्छी छोरी बीना (डा.विमला राई पौड्याल) र नातिनी जानुका पनि गाउँकै स्कुलमा पढ्थे । यसरी कोही छोराछोरी सानै थिए । कोही स्कुल जान्थे । बुहारीलाई घरमै कामले फुर्सद नहुने ! मलाई पसलमा सघाइदिने मान्छे पनि कोही भएनन् ।

पिताजी कान्छी माताजी र दुई छोरा गोविन्द र गोपालसहित कल्याणपुरमा हामीसँगै बस्न थाल्नुभएको थियो । दुई वर्षजति भएपछि तेह्रथुमबाट एक जना मुखियाले पिताजीलाई लिन पठाएछन् । दुई जना पिताजीकै चेला ब्रह्मचारीहरू गोरुगाडा लिएर आए । उनीहरूले ‘ल ! अब तेह्रथुम जानुपर्छ । चतुर्मासा पुराण लगाउनुपर्‍यो । उहीँ बस्नुपर्छ’ भने । त्यसपछि पिताजी सानो भाइ (ओमनाथ) लाई लिएर चार–पाँच महिना कल्याणपुर नआउने गरी उनीहरूसँगै तेह्रथुम जानुभयो ।

इन्द्रमाया पौडेल आफ्नो परिवारका सदस्यहरुको साथमा मोरङको कल्याणपुर गाउँमा । तस्विर सौजन्यः इन्द्रमाया पौडेल परिवार

पुराण सकिएपछि पिताजीले दानको रूपमा लेटाङबजारमा घरघडेरी पाउनुभएछ । उहाँ फर्केर आएपछि लेटाङ नै बस्ने हुनुभयो । भाइ ओमनाथ र छोरो धर्मराजले पिताजीलाई सपरिवार गोरुगाडामा राखेर लेटाङ पुर्‍याइदिए । उहाँ उतै बस्न थाल्नुभयो । लेटाङमै पिताजीको देहान्त भयो । पछि आमा साना भाइहरूसँग दाम्राभिट्टामा आएर बसोबास गर्नुभयो ।

कल्याणपुरमा त्यस बेला मानिसले पाएका जग्गाका कित्ताहरू जङ्गलझोडा थिए । त्यही जङ्गलझोडा काट्यो, मुडा, जरा पन्छायो, अलिअलि धान लगायो । त्यही धान उठायो । मानिसहरू त्यसै गर्थे । हामीले पनि त्यसैगरी झोडा फाँडेर धान लगायौँ । दिनभरि झोडा फाँडेर बेलुका आगो लगायो, भोलिपल्ट खरानी त्यहीँ छरेर जोले र खेतीयोग्य माटो बनाउने । छोराबुहारी र छोरीहरूले धेरै मेहनत गरेर काम गरे ।

हरेक वर्ष धान लगाउने क्षेत्र बढाउँदै लग्याँ । पर्म, अधियाँ सबै गर्‍याँ । केही वर्षपछिदेखि आफैँले उब्जाएको अन्नपातले राम्ररी खान पुग्ने हुन थाल्यो । त्यसपछि छ सात घर मिलेर चोलानाथ गौतमको जग्गा एकमुष्ट किन्यौँ । हाम्रो भागमा साढे तीन कठ्ठाको घडेरी पर्‍यो । त्यही आफ्नै घडेरी जग्गामा भुइँतलामा गाईवस्तु बाँध्ने र माथि आफू बस्ने गरी घर बनायौँ ।

धर्मराजलाई खान दिँदा उसलाई पनि दिनुपर्‍यो । पानी पर्दा उसले छाता समाउँथ्यो, धर्मराजले साइकल कुदाउँथ्यो । यसै गरी सँगै स्कुल जाने–आउने गर्न थाले । यसरी गर्दै जाँदा उनीहरू ५ कक्षामा पुगे । दुवै असाध्यै मिल्ने साथी भए । सँगै १० कक्षासम्म पढे ।

केही समयपछि फेरि टीकाराम खतिवडासँग पाँच कठ्ठा जग्गा किन्यौँ । त्यसमा मकै, रहरजस्ता सुख्खा बाली उब्जाउँथ्यौँ । गाउँमा हामी धेरै सजिलो गरी गाउँलेहरूसँग मिलेर बस्यौँ । हामी त्यहाँ राम्रैसँग जमेर बस्न थालेका थियौँ । जीवनयापन सहज बन्दै थियो, फेरि अर्को आपद् आइलाग्यो ।

हामी बर्मामा हुँदै ऐरावतीपारि मखान्ती बस्तीबाट एकदिन एक्कासि हाम्रो घरमा दुई जना मानिस आएका थिए । तिनीहरूलाई हामीले चिनेका थिएनौँ । तीमध्ये एक जनाको नाम टीकाराम ढकाल थियो भने अर्का टीकारामका भाइ ओमप्रकाश ढकाल थिए । ओमप्रकाश करिब आठ वर्षका थिए होलान् । टीकारामले ओमप्रकाशसँगै ‘यो राखिदिनुस् है दिदी’ भनेर एउटा पोको दिए । लगाउने लुगा र खाने सामान ल्याउँछु भनेर उनी हिँडे । बाटोखर्च भनेर अलिकति पैसा धर्मराजसँग लिएर गएका रहेछन् । यसरी गएका उनी आज आउलान् छैन, भोलि आउलान् छैन । पछि त ‘टीकाराम त छैनन् रे’ भन्न थाले ।

ओमप्रकाश नेपालमा हामी बसेको ठाउँ कल्याणपुरमा धर्मराजलाई खोज्दै आइपुग्यो । हामीले उसलाई घरमा राख्याँ । ऊ दुब्लो, पातलो भएको थियो । डाक्टरकोमा लगेर जँचाउँदा त बिचरालाई टिबी लागेको रहेछ ।

अब के गर्नु त टीकारामले छोडेका भाइ ओमप्रकाशलाई ? स्कुलमा ४ कक्षामा भर्ना गरिदिएँ । धर्मराजको साइकल थियो । त्यही साइकलमा स्कुल जाने–आउने गर्न थाल्यो ऊ पनि । धर्मराजलाई लुगा किन्दा उसलाई पनि किन्नुपर्‍यो । धर्मराजलाई खान दिँदा उसलाई पनि दिनुपर्‍यो । पानी पर्दा उसले छाता समाउँथ्यो, धर्मराजले साइकल कुदाउँथ्यो । यसै गरी सँगै स्कुल जाने–आउने गर्न थाले । यसरी गर्दै जाँदा उनीहरू ५ कक्षामा पुगे । दुवै असाध्यै मिल्ने साथी भए । सँगै १० कक्षासम्म पढे ।

हामी नेपाल आउने बेलामा ती १० कक्षा पढ्दै गरेका ओमप्रकाशलाई के गर्ने भन्ने समस्या पर्‍यो । त्यस बेला बर्मामा भारतबाट आएका आर्य पञ्जाबी डाक्टर थिए । उनको पनि नाम ओमप्रकाश नै थियो । उनले क्लिनिक चलाएर बसेका थिए । ती डाक्टरको परिवारमा श्रीमती, एक छोरा र एक छोरी थिए । डाक्टरले आर्य समाज नामबाट समाजसेवाको काम पनि गर्थे । उनीसँग मेरो चिनजान भई मित्रता भएको थियो । हामी नेपाल आउने बेलामा मैले आफूसँग बसेको र आफैँले पढाउँदै गरेको ओमप्रकाशलाई ती डाक्टरसँग चिनाउँदै भनेँ, “यो एउटा अनाथ केटो हो, आजसम्म हामीले पाल्यौँ, पढायौँ । अब यसलाई तपाईं हेर्नुस् ।” यसरी ओमप्रकाशलाई ती डाक्टरको जिम्मा लगायौँ । उनले ओमप्रकाशलाई आफ्नो क्लिनिकको काममा लगाए ।

ओमप्रकाशले आठ वर्षसम्म त्यहाँ काम गरेछ । त्यसपछि ‘अब नेपाल जान्छु’ भनेर हिँडेछ । डाक्टरले बाटोखर्च भनेर केही पैसा दिएर पठाएछन् । यसरी ओमप्रकाश नेपालमा हामी बसेको ठाउँ कल्याणपुरमा धर्मराजलाई खोज्दै आइपुग्यो । हामीले उसलाई घरमा राख्याँ । ऊ दुब्लो, पातलो भएको थियो । डाक्टरकोमा लगेर जँचाउँदा त बिचरालाई टिबी लागेको रहेछ । हामीलाई दैव लागेको ! त्यतिखेर टिबी लागेपछि मान्छे मर्थ्याे । कुनै उपाय थिएन । ऊ कति कमजोर भएको थियो भने हामी उसलाई सुताइदिन्थ्यौँ, हामीले नै उठाइदिन्थ्यौँ ।

कल्याणपुरमा बस्दाका साथीसँग विराटनगरमा कुराकानी गर्दै इन्द्रमाया पौडेल । तस्विर सौजन्यः इन्द्रमाया पौडेल परिवार

धर्मराजले बर्मामा रहेका ती पञ्जाबी डाक्टरलाई पत्र लेखेर बिरामीको बारेमा ‘अब के गर्ने ?’ भनी सल्लाह माग्यो । बर्माबाट डाक्टरले बिरामी ओमप्रकाशलाई तुरुन्तै दिल्ली लैजाने सल्लाह दिए । उनले ‘दिल्लीमा मेरो घर छ । मेरो छोरो राजु डाक्टर छ । उसले अस्पतालमा राख्छ । सुविधाहरू दिन्छ । खान–बस्न दिन्छ, हेरचाह र सरसफाइ सुविधा हुन्छ । दिल्लीमा लैजानुस्’ भने । डाक्टरले त सजिलै भने तर हामीलाई त्यस्तो सजिलो कहाँ थियो र ? त्यत्रो काम थियो । एकातिर दोकान, एकातिर खेतीपाती, अर्कोतिर ठुलो जहान, परिवार !

जसैतसै दिल्ली लैजान भनेर आफ्नी दुई जीउकी श्रीमतीलाई घरमै छोडेर छोरो धर्मराजले बिरामी ओमप्रकाशलाई लिएर गयो । बिचरा ओमप्रकाश त दिल्लीबाट जयपुर जाने बाटामा बसमा जाँदै गर्दा राति नै मरेछन् । त्यसपछि धर्मराजले पुलिसको सहयोगमा पोस्टमार्टम गरेर भोलिपल्ट सद्गत गरेछ । त्यहाँको पुलिसकै सहयोगमा ऊ दिल्ली पुगेछ । त्यहाँ दिल्लीमा केही दिन घुमेपछि उसलाई घर फर्कन मन लागेन रे ! उतैबाट बम्बईतिर हिँडेछ, दसा लागेको बेला !

धर्मराज एउटा दोकानमा बसेर चिया पिउँदै थियो रे ! एउटा मान्छे आएर लामो सुनको जस्तो सामान खसाएछ । अर्को मान्छेले पछिपछि आएर त्यस सामानलाई टपक्क टिपेर झोलामा हाल्यो रे ! धर्मराजले हेरिरहेको रहेछ । अनि त्यो मान्छे होटलमा पसेछ । त्यस मान्छेले धर्मराजलाई आएर भन्यो रे, ‘यो किन्छौ भने म सस्तैमा दिन्छु ।’ अब धर्मराजको बुद्धि बिग्रियो । उसले सोधेछ, “कतिमा दिन्छस् ?” त्यसले यतिमा भनेर रकम भनेछ । धर्मराजले आफूसँग त्यति पैसा छैन भन्दा त्यसले ‘तिमीसँग घडी र अरू जे–जे छ सबै देऊ’ भनेछ । १५–२० तोला जतिको सुन छ । लोभले गर्दा धर्मराजले आफूसँग भएको पैसा र सबै सामान दिएछ र त्यो सुन लिएछ । दिल्ली फर्केर त्यो सुन बेच्न भनी पसलमा गएछ । केको बिक्री हुन्थ्यो !? पाँच रुपैयाँमा पनि बिकेनछ । त्यो त बाहिर सुनजस्तो, भित्र त तामा पो रहेछ ! यसरी धर्मराज बम्बईमा नराम्रोसँग लुटिएछ । ‘अब नेपाल कसरी फर्किने ?’ भनी त्यतै काम खोजेर गर्न थालेछ । ऊ घर फर्केर आएन । यता मेरो र परिवारको भने बिचल्ली भयो ।

त्यसै बेला बुहारी सुत्केरी भइन् । घरमा खानेकुराको अभाव थियो । मट्टीतेलसमेत नभएर बेलुकाको खाना उज्यालैमा खान्थ्यौँ । आगो बालेर वरिपरि बस्थ्यौँ ।

दिल्ली गएको धर्मराज आज आउला छैन, भोलि आउला छैन । ऊ हुँदा दोकानको सामान ल्याइदिने गर्दथ्यो । एक्लो म पसल, खेतीपाती सबै कसरी भ्याउनु ? पसलमा पनि सबै गाउँलेले नगद कारोबार गर्दैनथे । एकैचोटि मङ्सिरमा आएर सबैले पैसा तिर्थे । यता आफूलाई भने पुर्‍याउन गाह्रो हुने ! तर हुलाकका कर्मचारी थिए, स्कुलका पनि कर्मचारी थिए । उनीहरूले भने महिनावारी पैसा तिर्थे । यसरी दुःखसुख पसल चलिरहेको थियो । ठिक्कै थियो तर छोरो नआएपछि म एक्लैले सबै काम भ्याइनँ । दोकान उठ्यो । अरूले त खाएको पैसा तिरे, एक जनाले चाहिँ तिरेनन् ।

त्यसै बेला बुहारी सुत्केरी भइन् । घरमा खानेकुराको अभाव थियो । मट्टीतेलसमेत नभएर बेलुकाको खाना उज्यालैमा खान थाल्यौँ । आगो बालेर वरिपरि बस्थ्यौँ । सुत्ने बेला भएपछि आगो निभाउँथ्यौँ । थपक्क ओछ्यानमा गएर पल्टिन्थ्यौँ । धन्य, तीन टिन तोरी चाहिँ रहेछ । त्यो तोरी लगी पेलाएर तेल ल्याएँ । तोरी पेल्न पनि टाढा रङ्गेली जानुपर्दथ्यो । त्यही तेल बुहारी र बच्चालाई मालिस गरेर लगाइदिएँ । त्यही तेलमा चाम्री भात पकाएर खुवाएँ । न्वारनको दिन आयो । तेलले होम गर्नु भएन । घिउ किनौँ भने पैसा थिएन । जाडोको समय थियो । छिमेकी चक्रबहादुर कहाँ गएर भनेँ, “पछि म तपाईंहरूका छोराछोरी पढाइदिन्छु, मलाई अलिकति घिउ दिनुपर्‍यो, मलाई अप्ठ्यारो पर्‍यो ।”

कल्याणपुरमा बस्दाका साथीसँग कुराकानी गर्दै इन्द्रमाया पौडेल । तस्विर सौजन्यः इन्द्रमाया पौडेल परिवार

चक्रबहादुर (चहकमान) कार्कीकी श्रीमती (चकमान्नी बहिनी) त देउता जस्तै रहिछिन् । उनीहरूले भैँसी पालेका थिए, गाई पालेका थिए । घरमा बनाएको एक केजी घिउ थपक्क दिइन् । झन्डै आधा किलो त होम गर्दा लाग्यो । बाँकी चाहिँ बुहारीले चाख्न पाइन् ।

बुहारी त मासु पनि खान्छिन् । उनलाई कसरी मासु खुवाउने भनेर सोचिरहेकी थिएँ, अर्का छिमेकी बुढाथोकीकोमा खसी काटे भन्ने सुनेँ । सुत्केरी बुहारीलाई र नातिनातिनालाई खुवाउन एक किलो मासु पठाइदिन खबर पठाएँ । त्यति बेला एक किलो मासुको भाउ १८ रुपैयाँ थियो । त्यति किन्ने पनि पैसा थिएन । ‘मसँग अहिले पैसा छैन तर पछि छोराछोरी पढाइदिन्छु’ भनेँ । एक किलो पुगेन, आधा किलो पठाइदिन्छु भनेर आधा किलो मासु पठाइदिएछन् । बुहारीले पकाइन् । उनीहरूलाई एकछाक खान भयो । यसरी धेरै दुःख गरेर बुहारीलाई सुत्केरीबाट उकासेँ ।

मैले कृपारामलाई ‘मेरो छोराले ऋण लिएकै भए पनि म त यही गाउँमा छु, हामी कहीँ कतै भाग्दैनौँ, तिरिहाल्छौँ नि !’ भनेर धेरैपटक भन्दा पनि मेरो कुरा सुनेनन् । सम्पत्तिको लोभ र म एकल महिला भएको कारणले त्यो सबै गरे ।

गाउँको कृपाराम पराजुली भन्ने मान्छेले ‘तेरो छोरो धर्मराजले उसको साथीको उपचारका लागि घरजग्गा बन्धकी राखेर ऋण लिएको छ’ भनेर मेरो पाँच कठ्ठा जमिन, दुहुनो गाई, साइकल, भाँडावर्तन सबै उठाएर लगे । मेरो घर दुई हजार रुपैयाँमा लिलामीमा चढाए । मैले प्रमाण माग्दा उनले कुनै प्रमाण दिएनन् । जबर्जस्ती गरेर मेरो उठिबास गराए । छोरासँग सोधौँ, ऊसँग कुरै हुँदैन । त्यति बेला फोन थिएन । ऊ मरे–बाँचेको पनि थाहा थिएन । कसरी सोधौँ ? अरू कसैलाई थाहा छैन भन्छन् । तर, कृपारामले ‘लगेकै हो’ भने ।

मैले कृपारामलाई ‘मेरो छोराले ऋण लिएकै भए पनि म त यही गाउँमा छु, हामी कहीँ कतै भाग्दैनौँ, तिरिहाल्छौँ नि !’ भनेर धेरैपटक भन्दा पनि मेरो कुरा सुनेनन् उनले । सम्पत्तिको लोभ र म एकल महिला भएको कारणले त्यो सबै गरे । उनका दाजु इन्द्रमणि पराजुली असल मान्छे नै हुन् । उनी पण्डित पनि हुन् । त्यस बेला उनी गाउँका वडा अध्यक्ष पनि थिए । तर, उनले त्यस बेला हाम्रो पक्षमा एकशब्द पनि बोलेनन् । उनी धृतराष्ट्र भए । भाइको अत्याचारविरुद्ध बोल्न सकेनन् । गाउँमा इन्द्रमणि र कृपारामको अगाडि मेरो पक्षमा बोल्ने ढकाल बा र महाजन बा बाहेक कोही भएनन् । ती दुईले मलाई ‘घर नछोड नानी, कसरी निकाल्छन् ?’ भनेर ढाडस त दिए तर पञ्चायतका ठुलाबडा थिए पराजुलीहरू । उनीहरूको अगाडि मेरो केही लागेन । मैले घरबारी, खेत सबै गुमाएँ । अनि मेरा अझै दुःख र कष्टका दिनहरू सुरु भए ।

हामी घरबारविहीन भएपछि विराटनगर पोखरियामा बस्ने अग्निधर पराजुली नामका व्यक्तिले उनको गाउँको घरमा बस्न बास दिए । पछि उनी चन्दा (भाइको छोरा चन्द्र) को काकाससुरा भए । मानिसलाई दुःख पनि कसरी आउँदो रहेछ भने, त्यसै बेला अग्निधरको घरमा आगलागी भयो । सबै गाउँलेहरू मिलेर आगो निभाइदिए ।

घरमा आगो लागेपछि सँगैको छिमेकीको घरमा बस्न गएका थियौँ । तर, त्यसै वर्षको हावाहुरीले त्यस घरको पनि छानो उडाएर लग्यो । भित्ताहरू पनि सबै माटो र सुन्ठीका हुन्थे । छाना नभएपछि भिजे अनि एक एक गरेर ढले । स–साना केटाकेटीको रातभरि बिचल्ली भयो । कस्तो विपत्ति आइलागेको, एकपछि अर्को गरेर !

इन्द्रमाया पौडेल आफ्नो ९९ औं जन्मोत्सव मनाउने क्रमममा छोरी डा. विमला राई पौडेलसँग कुराकानी गर्दै । तस्विर सौजन्यः इन्द्रमाया पौडेल परिवार

छिमेकी प्रेमलाल आचार्यले थाहा पाएछन्, राति नै आएर आफ्नो घरमा लगे र ओत लाग्यौँ । गाउँमा शत्रु मात्र होइन, हामीलाई माया गर्ने मानिस पनि प्रशस्तै थिए । त्यति बेला गाउँलेहरू साह्रै सहयोगी पनि थिए । हामी बसेको घर भत्किएको भोलिपल्ट सबै गाउँले, विशेष गरी युवाहरूले मिलेर सुन्टी, पराल, सुत्ली, बाँस सबैबाट उठाएर एकैदिनमा बस्नलायक बनाइदिए । उनीहरूले आ–आफ्नो घरबाट परालको मुठा ल्याएर घर छाइदिए र हामी फेरि त्यही घरमा बस्यौँ ।

अग्निधर पराजुलीले मेरो दुःख देखेर ‘एक बिघा जग्गामा वारिदेखि पारिसम्म खेती लगाएर खाऊ, मलाई केही पनि दिन पर्दैन’ भने । खेतीबाली त लगाउनु तर कसरी लगाउनु ? अर्को समस्या पहाडजसरी उभियो अगाडि ! केही न केही उपाय त निकाल्नै पर्ने थियो ।

ठुली छोरी दीना अर्काको घरमा गई चामल निफनेर पारिश्रमिकको रूपमा कनिका लिएर आउँथी । हामीले त्यही कनिका पकाई खाएर पनि जीवन गुजारा गर्‍यौँ।

सङ्घर्षले, समयले नै बाटो पनि देखाउँदो रहेछ । गाउँकै प्रेमलाल आचार्यको ४ बिघा जग्गा थियो । उनकी श्रीमतीले काम भ्याउँदै नभ्याउने ! खालि खेतालाको भरबाट खेती उतार्नुपर्ने । मेरी ठुली छोरी दीना पनि साथमा थिई । त्यति बेला मैले मीना, बीना, घनश्याम, जानुका सबैलाई पढाइ नबिग्रोस् भनेर लाखापाखा लगाएकी थिएँ ।

माहिली छोरी मीना अनमी नर्स तालिम गर्थी विराटनगरमा । ठुली भदै कृष्णा विवाह गरेर विराटनगरमा बस्थी । कान्छो छोरो घनश्यामलाई उसैकहाँ लगेर राखेँ । बिहान बेलुका छोराले भदैको बच्चा हेरिदिन्थ्यो । भात खाएर स्कुल जान्थ्यो । उनीहरूको पढाइ नछुटोस् भनेर त्यसो गरेँ । कान्छी छोरी बीनालाई लगेर मेरा भाइबुहारीको घरमा राखिदिएँ । उसले माइजूको घरमा नै बसेर पढाइलाई नियमित गरी । अनि नातिनी जानुकालाई चाहिँ उसकै मितबाबुकोमा लगेर राखिदिएँ ।

अब घरमा मसँग ठुली छोरी दीना र नातिनी अनि छोराका छोराछोरी मञ्जु, महेश, त्यहीँ भर्खर जन्मेकी सानी र बुहारी थिए । बुहारी घरमा बस्ने र आफ्नो बच्चा पनि स्याहार्ने ! म र ठुली छोरी प्रेमलालकोमा धान रोप्न जान्थ्यौँ । मैले उनलाई भनेँ– हामी तपाइँको ४ बिघा जग्गा रोपेर सक्छौँ, अरू खोज्नु पर्दैन । हाम्रो एक बिघा जग्गा पनि तपाईंले पार लगाइदिनुपर्छ । उनले मेरो कुरा मानेपछि हामीले सम्झौता गर्‍यौँ ।

हामी आमाछोरीले यसरी खेत रोप्यौंँ, साँझ बिहान पनि काम गर्‍यौँ । प्रेमलालले आफ्ना गोरु र हलीबाट हाम्रो एक बिघा जग्गा खनजोत गरिदिए । यसैताका ठुली छोरी दीना अर्काको घरमा गई चामल निफनेर पारिश्रमिकको रूपमा कनिका लिएर आउँथी । हामीले त्यही कनिका पकाई खाएर पनि जीवन गुजारा गर्‍यौँ । धान पाकेपछि आमाछोरी भएर काट्यौँ । अब त्यसलाई चुटेर धान र पराल छुट्याउने कसरी ? अर्को समस्या आइलाग्यो ।

इन्द्रमाया पौडेल आफ्नो परिवारका सदस्यहरुको साथमा काठमाडौंमा । तस्विर सौजन्यः इन्द्रमाया पौडेल परिवार

तर, गाउँका लेखनाथ पौड्याल, कृष्ण आचार्य र सुवेदी थरका मानिसले पराल उनीहरूले लैजाने सर्तमा धान चुटिदिए । त्यस वर्षको खेतीबाट २६ मन धान आयो । यति धानले वर्षदिन धान्दैन भन्ने लागेर ६ मन धान आफूसँग राखी अरू सबै बेचिदिएँ । त्यही पैसाले शनिश्चरे गई मकै किनेर ल्याएँ । मकै किन्दा धानभन्दा धेरै आयो । एक भकारी राखेँ । त्यही मकै पिसायो, ल्यायो, बेलुका रोटी खायो, बिहान भात खायो । यसरी पहिलेको भन्दा अलिक राम्रो दिन आयो हाम्रो । त्यसपछि गाउँका केटाकेटीलाई पढाएँ ।

जति नै दुःख भए पनि मैले छोराछोरी र नातिनीलाई विद्या सिक्नबाट वञ्चित गराइनँ ।

गाउँका केटाकेटीलाई पढाउँदा एक जनाबाट महिनाको दुई रुपैयाँ पाउँथेँ । दुई रुपैयाँले धेरै काम गर्थ्याे उति बेला । दुई दुई रूपैयाँ गर्दागर्दै २० जनाको महिनाको ४० रुपैयाँ हुन्थ्यो । पैसा हातमा भएपछि सजिलो हुन थाल्यो । त्यसपछि चक्रबहादुरकी श्रीमतीलाई ‘घिउको पैसा काट नानी’ भनेँ । उनले घिउको पैसा लिन मानिनन् । त्यस्ता मान्छे पनि थिए त्यति बेला । मैले पदमलाल बुढाथोकीसँग सापटी लिएको पैसा पनि तिरेँ । मलाई अति नै दुःख परेको बेलामा मैले सिकेको विद्या पनि काम लाग्यो । यसरी जति नै दुःख भए पनि मैले छोराछोरी र नातिनीलाई विद्या सिक्नबाट वञ्चित गराइनँ ।

दिनहरू यसै गरी बितिरहेका थिए । गाउँका एक जनाले जनकपुरमा धर्मराजजस्तै एउटा होन्जा (रमाइलो मेला चलाउने मान्छे) हिँडिराखेको थियो भने । ‘कुन होन्जा हो, कस्तो हो, के हो ?’ भनेर सोधेँ । उनले ‘मेलामा जुवा खेलाउँछन् रे भनेको सुनेँ । आँखाले चाहिँ देखिनँ । उनी एउटा हवलदारसँग हिँडिरहेका थिए’ भने ।

साँच्चै मेरो हराएको छोरो नै पो हो कि ? मनमा शङ्का लाग्यो । मेरो भदैज्वाइँ (कृष्णाका श्रीमान् बलराम खनाल) मोरङ बस सर्भिस भन्ने गाडीमा विराटनगर–जनकपुर लाइनका कन्डक्टर थिए । उनलाई ‘धर्मराज जनकपुरमा छ अरे । मलाई जनकपुर पुर्‍याइदिनुस्, मसँग खर्च छैन’ भनेँ । उनले मलाई जनकपुर पुर्‍याए । एउटा सानो कोठा खोजेर एउटा ओछ्यान मात्र भएको त्यो कोठामा मलाई लगेर थन्क्याए । त्यसपछि उनी आफू निस्केर बाहिर गएका थिए, धर्मराजलाई भेटेछन् । उनले उसलाई लिएर म कहाँ आए । यसरी हाम्रो भेट भयो ।

धर्मराजलाई ‘यसरी चल्दैन बाबु । तिमी हिँडेपछि घरमा यस्तो यस्तो भयो भनेर सबै बेलिविस्तार लगाएँ । जसले ब्याजमा पैसा दिएका थिए उनले घर पनि लगे, पाडा, गाडा सबै लगे, ढुकुटी पनि भत्काएर लगे, केही पनि छैन हाम्रो, ऋण लागेर बर्बाद भयो’ भनी सम्झाएँ । मेरो कुरा सुनेपछि पनि धर्मराज घर फर्कन मानेन । उसले ‘रमाइलो मेला चलाउन एक महिना बस्छु । मेलाको काम सकिएपछि घर फर्किन्छु । त्यतिन्जेलमा केही पैसा पनि कमाउँछु’ भन्यो । हामी फर्कियौँ । धर्मराज भने यसको एक महिनापछि मात्र विराटनगर आयो ।

म गाउँमा केटाकेटी पढाउँथेँ । केटाकेटीलाई कखरा चिनाउँथेँ, संस्कृत–नेपाली पढाउँथेँ । छोरी बीना (डा. विमला राई पौड्याल) ले पनि केटाकेटी पढाउन मलाई सघाउँथी ।

दीनाले त्यति बेला जोगबनीमा काम गर्न थालेकी थिई । उसले दाजु धर्मराजलाई त्यतै बोलाइछे । त्यसपछि उसले विराटनगरको रानीमा एउटा घर भाडामा लिएर व्यापार गर्न थाल्यो । हामी चाहिँ गाउँमै बस्यौँ । उसको व्यापार राम्रो हुँदै गएपछि मैले बुहारी र केटाकेटीलाई उसैकोमा पठाइदिएँ ।

म गाउँमा केटाकेटी पढाउँथेँ । केटाकेटीलाई कखरा चिनाउँथेँ, संस्कृत–नेपाली पढाउँथेँ । धेरै संस्कृतका प्रार्थना श्लोकहरू सिकाउँथें । आफूलाई आर्थिक रूपमा केही सहज भएपछि र खाने लाउने समस्या हल भएपछि मैले छोराछोरी र नातिनीलाई आफूसँगै राख्न थालेकी थिएँ । छोरी बीनाले पनि केटाकेटी पढाउन मलाई सघाउँथी । बीनाले अलि ठुलालाई अङ्कगणित, विज्ञानजस्ता विषय सिकाउँथी । नातिनी जानुकाले भात–तिउन पकाउँथी । जम्मा ४१ जना थिए बच्चाहरू । बिहान ६ बजे घरैमा उनीहरूलाई पढाएर ८ बजे छुट्टी गरी खाना खान्थ्यौँ । जुठा भाँडा सफा गरेर छोरीहरू धेरै टाढा सौंठा सिजुवा भन्ने ठाउँको स्कुलमा जान्थे । हामी बसेको गाउँमा ७ कक्षादेखि माथि पढ्न स्कुल थिएन ।

विराटनगरको चुनिबारी कल्याणपुर कार्यालयमा बसोबास गर्ने एक जनाले छोडेर गएको एक बिघा जमिन छ भन्ने सुनेँ । त्यस कार्यालयमा गएर ‘त्यो जग्गा मलाई दिनहोस्’ भनेँ । त्यहाँका अधिकारीले ‘हुन्छ’ भनेका थिए तर अरू मानिसले भाँजो हाले । त्यो जग्गा उनीहरूले नै बाँडचुँड गरेर लिए । तर, पछि कसोकसो मैले पनि १६ कठ्ठा जग्गा पाएँ । त्यसमा केही खेतीपाती गर्‍यौँ । हामीले गाउँ छोडेपछि त्यो जमिन गाउँकै स्कुललाई भोगचलन गर्न दान दियौँ ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकक्ष शितल निवासमा भेटघाट पछि फोटो खिचाउदैं इन्द्रमाया पौडेल । तस्विर सौजन्यः इन्द्रमाया पौडेल परिवार

धर्मराज विराटनगर आएर काम गर्न थालेपछि ‘जाली तमसुक बनाएर आफ्नो घरखेत हडप्ने र मेरी आमालाई दुःख दिने कसैलाई म छोड्दिनँ’ भन्न थालेछ । विराटनगरमा अलि अलि व्यवसाय गर्दै गरेका पराजुली दाजुभाइले त्यो कुरा सुनेपछि डराएछन् । भेटघाट गरेर सामसुम पार्ने उद्देश्यले भदै कृष्णाको घरमा चार पाँच जना गाउँले दाजुभाइहरू मिली धर्मराजलाई भेट्न आएछन् । त्यहाँ सबै हिसाबकिताब धर्मराजले सबैका सामु राखेपछि त कृपारामले धर्मराजलाई उल्टै पाँच हजार रुपैयाँ तिर्नुपर्ने पो देखिएछ । अनि सोही दिन बेलुका कृपारामले त्यो पैसा तिरेर माफी मागेछन् ।

मलाई बिनासित्तै दुःख दिएको कुरा र ‘अब धर्मराज गाउँ आउँदै छ’ भन्ने कुरा सबैतिर फैलियो । गाउँमा धर्मराज घर फर्कंदै छ भन्ने खबर फैलनेबित्तिकै जो जतिले आपत् परेको बेला दुःख दिएका थिए, तिनीहरू भेट्न आउन थाले । त्यसै बेला मेरो पसलमा खाएर तिर्नुपर्ने पैसा नतिरेको अर्को परिवार पनि पैसा फिर्ता गर्न भनेर म बसेको ठाउँमा आए ।

मलाई त्यो पैसाको कुनै अर्थ र मोह थिएन । जति बेला नुन पनि किन्ने पैसा थिएन, त्यसो नगर, सम्पत्ति नलैजाऊ, मैले पाउने पैसा मलाई देऊ भनेर लाख भन्दा पनि मानेनन् । अहिले धर्मराजको डरले फिर्ता दिन आए । मैले पैसा फिर्ता गर्न आउनेको मुखमा त्यो पैसा फ्याँकिदिएँ । जीवनमा त्यत्रो दुःख दिईसकेपछि उनीहरूले दिएको त्यो पैसाको अब मलाई के अर्थ थियो र ?

केही समयपछि विराटनगरमा धर्मराजको व्यापार फस्टाउँदै गयो । उसले ‘अब सबै यतै आउने । बीना, जानुकालाई पनि अब यतै पढाउँछु’ भन्न थाल्यो । यसपछि हामी विराटनगरको रानी मिल्स एरियामा धर्मराजको परिवारसँग नै बस्न गयौँ ।

‘सन्धान सहकार्य’ अन्तर्गत विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई साभार गरी प्रकाशन, प्रसारण गर्ने गर्दछाैँ। यसै क्रममा आज हामीले इन्द्रमाया पौड्यालको आत्मकथा ‘शताब्दी यात्रा’ नामक पुस्तकमा रहेको ‘नेपालका सङ्घर्षपूर्ण दिनहरू’ शीर्षकको एक सामग्रीलाई ल्याएका छौँ । सामान्य सम्पादनसहित प्रकाशनका लागि अनुमति दिनुभएकोमा लेखकलाई धन्यवाद !

याे पनि पढ्नुहाेला

इन्द्रमाया पौड्यालसँगको एक सय बर्षको अनुभव भिडियो कुराकानी हेर्नुहोला

नोट : इन्द्रमाया कान अलि कम सुन्नुहुन्छ । कुराकानीमा सहजीकरण गर्नुभएका व्यक्ति उहाँकी छोरी डा. विमला राई पौड्याल हुनुहुन्छ ।

सन्धान प्रकाशन मिति : २०८० भदाै ८ गते, शुक्रवार


Previous articleखेलाडी महिलामाथि सबैतिरबाट विभेद (भिडियो सहित) – विमला पौडेल
Next articleछोराको बिहेमा जन्ती गएँ, बुहारी लिएर फर्कें -जयन्ता पोखरेल