स्वास्थ्य स्वयंसेविका भएर २२ वर्ष सेवा गरेकी भगवती राजभण्डारी अहिले नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ की जनप्रतिनिधि हुनुहुन्छ । स्वास्थ्य स्वयंसेविकाबाट २०७८ सालमा अवकाश पाएपछि उहाँले २०७९ वैशाखमा स्थानीय तहको चुनाव लड्नुभयो र वडा सदस्य निर्वाचित हुनुभयो । ६३ वर्षीया उहाँ अहिले पालिका स्तरको जनप्रतिनिधिको भूमिकामा क्रियाशील हुनुहुन्छ । उहाँको विचारमा महिलाले स्वास्थ्य स्वयंसेविकाको रूपमा गाउँघरमा निर्वाह गरेको परिणामदायी र परिवर्तनकारी भूमिकालाई महत्त्वका साथ हेर्नुपर्छ । अहिलेसम्म राज्यले स्वास्थ्य स्वयंसेविकाहरूको कामको मूल्याङ्कन र कदर गर्न नसकेकामा भने उहाँको जायज गुनासो छ ।
भगवतीको अनुभवमा महिला र बालस्वास्थ्यका क्षेत्रमा पहिलेका तुलनामा अहिले धेरै परिवर्तन आएको छ । उहाँले सेवा सुरु गर्दाको समयमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी र ख्याल राख्नुपर्छ भनेर बताउँदा पनि मतलब नगर्ने महिलाहरू अहिले धेरै सचेत भएका छन् । राज्यका व्यवहारमा उहाँहरूले गर्नुभएको स्वास्थ्य सेवा सिमान्त हदमा उपेक्षित भए पनि महिलाहरूमा आएको परिवर्तनले उहाँलाई खुसी दिएको छ । केही वर्षयता आमा र बच्चामा हुने कुपोषण, मातृ मृत्युदर, बाल मृत्युदर घटेको तथ्य त नेपाल सरकारकै अध्ययनहरूले पनि देखाउँदै आएका छन् । यसरी कुपोषणदेखि मृत्युदर घट्नु र महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुनाको पछाडि उहाँ आफू जस्तै गाउँ टोलमा अहोरात्र खटिएका र खटाइएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका र योगदान महत्त्वपूर्ण रहेको ठान्नुहुन्छ । बेलैमा यसको सही मूल्याङ्कन र कदर गर्नबाट राज्य चुक्नु हुँदैनथ्यो भन्ने उहाँको आशय छ ।
सेवा, ज्ञान र अनुभवले खारिएकी भगवतीसँग हालै विदुर नगरपालिकाको कार्यालयमा पत्रकार सम्झना विकले ‘सन्धान’ का लागि कुराकानी गर्नुभएको थियो । महिला स्वास्थ्य स्वयंसेविका हुँदा उहाँले गरेको काम र त्यो कामबाट देखिएको परिवर्तनदेखि जनप्रतिनिधि भइसकेपछिको अनुभवसँग सम्बन्धित विषयमा कुराकानी केन्द्रित थियो । प्रस्तुत छ, सोही कुराकानीका आधारमा तयार पारिएको भगवती राजभण्डारीको कथन :
मैले २०५६ सालदेखि नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा स्वास्थ्य स्वयंसेविका भएर काम गर्दै आएको थिएँ । २०७८ पुसमा स्वयंसेविका दिवसको दिन मैले सेवाबाट अवकाश पाएँ । स्वास्थ्य स्वयंसेविका भएर मैले २२ वर्ष काम गरेँ ।
चार छोराछोरीकी आमा म, घरधन्दा, वस्तुभाउ, खेतबारीमा काम गरेरै मेरो समय बिताउँथेँ । एकदिन छिमेकी नन्द दन्तकुमारी शाक्यले ‘महिला स्वास्थ्य स्वयंसेविकाको जागिर पाइने’ भन्दै ‘काम गर्न जानू’ भनेपछि गएर बुझेँ । पढ्न लेख्न राम्ररी आउँदैनथ्यो । प्रौढ शिक्षा मात्र पढेको थिएँ । तर पनि काम गर्न सक्छु भनेर स्वयंसेविका भएँ ।
घर परिवारलाई म स्वास्थ्य स्वयंसेविका हुन गएको पत्तो थिएन । मैले तालिम लिएपछि मात्रै घरमा कामको बारेमा भनेँ । ढुङ्गे, बान्द्रे, सिम्बुटार, पाण्डे गाउँ, बोगटी गाउँ, रातमाटे, केउरनीका घर घरमा गएर स्वास्थ्य सचेतना फैलाउने काम गर्नुपर्ने रहेछ । संयुक्त परिवारमा बस्ने भएकाले सबैको चित्त बुझाएर हिँड्नुपर्थ्याे । घरको सारा काम सिध्याएर मात्रै निस्किन पाउँथेँ । तर मैले काम गर्दै जाँदा परिवारका सदस्यहरूले पनि राम्रो मान्न थाल्नुभयो ।
स्वयंसेविका हुँदाका २२ वर्ष
निःस्वार्थ भावना हुनेले मात्र स्वास्थ्य स्वयंसेविकाको काम गर्न सक्छन् । त्यतिबेला स्वयंसेविकालाई मासिक २५ रुपैयाँ दिने गरिएको रहेछ । त्यसैले मैले पैसा हेरिनँ । गाडी चल्ने ठाउँमा गाडीबाट जान भाडा पनि पुग्दैनथ्यो । आफ्नो खल्तीबाटै हाल्नुपर्थ्याे । तालिम दिँदा चिया र बिस्कुट दिन्थे । स्वास्थ्य स्वयंसेविका भएर गाउँ गाउँमा जाँदा खानेकुरा केही पाइँदैनथ्यो । गाउँमा घर टाढा टाढा हुन्थ्यो । बस्ती बाक्लो नहुने ! पानी पनि जहाँ पायो त्यहीँ खान नपाइने ! घरबाटै भाँडाकुँडा लगेर चौतारामा गुन्द्रुक भात पकाएर खाएर स्वयंसेविका दिदीबहिनी मिलेर काम गर्थ्याैं । बिहान ११ बजे बस्नुपर्ने ठाउँमा ८ बजे ताम्लाकुम्ला बोकेर आगोमा भात पकाएर खानुपर्थ्याे ।
सबैको दैलो दैलो गएर भिटामिन ए र जुकाको औषधी, पोलियो थोपा खुवाउने गर्थें । असिनपसिन भएर घरदैलो कार्यक्रम गर्दै घर घरमा चक लगाएर हिँड्न पर्थ्याे । घर घरमा गएर स्वास्थ्यका कुरा गर्दा औषधी वितरण गर्दा कतिले बुझेर खाने गर्थे । कतिले नबुझेर खाइदिँदा धेरै अफ्ठ्यारो पर्दथ्यो ।
कतिको त जग्गा जमिन थिएन । त्यस्ता महिलालाई ‘गमला भए पनि, बोरामा माटो भरेर भए पनि फर्सी, घिरौँला लगायतका तरकारी रोपेर खानू’ भन्थेँ । कति महिलालाई त ती तरकारी कसरी पकाएर खाने भन्ने पनि थाहा थिएन ।
एउटा यस्तै घटना छ, जुन सम्झिँदा मलाई अझ पनि डर लाग्छ । हात्तीपाइलेको औषधी सही समयमा नखाइदिँदा स्वास्थ्यमा समस्या आएपछि गाउँका मानिसले लठ्ठी ठटाएर मलाई झन्डै मारेका थिए । वैशाख महिनाको चर्को घामको बेला थियो । एक जना वृद्धले बेलुका सुत्ने बेलामा खानुपर्ने औषधी मध्यान्हमै खाइदिएछन् । उनलाई झाडाबान्ता भएछ । केही समयपछि ती वृद्धको मृत्यु भएछ । रोगी थिए, कालगतिले नै मरेका हुन् । तर, ‘के औषधी दिएको ?’ भनेर हामीलाई दोष लगाएपछि उनीहरूबाट ज्यान जोगाएर हिँडेका थियौँ ।
हामी स्वयंसेविकाले नै काम गरेर कति बाल तथा मातृ मृत्युदर घट्यो भन्ने पनि लाग्छ । तथ्याङ्क त हामीले भन्न सक्दैनौँ तर स्वास्थ्य मन्त्रालयले नै कर्मचारी खटाएको भए हामीले गरेको जसरी काम गर्थे/गर्दैनथे ! त्यसैले हाम्रो कामको मूल्याङ्कन हुनुपर्थ्याे भन्ने लाग्छ ।
बच्चाको लागि जुकाको औषधी बाँड्न गाउँमा जाँदा महिलाहरूले ‘म पनि कमजोर भएको छु, मलाई पनि औषधी दिनू’ भन्थे । उनीहरूलाई ‘होइन, योे बच्चाले मात्रै खान मिल्छ’ भनेर बुझाउनुपर्थ्याे । तर नबुझ्नेले हामीलाई नदिएका भन्ठान्थे ।
काम गर्न धेरै गाह्रो थियो । घरघरै डुल्दाडुल्दै कतै त पानी पनि खान पाइन्नथ्यो । पाण्डे गाउँमा एक जना दिदीकोमा गएर भने भुटेको मकै, पानी, मोही र ढिँडो खान्थ्यौँ । कहिले घरबाट खाजा बोकेर जान्थ्यौँ ।
तालिममा सिकेका ज्ञान गाउँघरका दिदीबहिनीलाई सिकाउनका लागि स्वास्थ्य सम्बन्धी पर्चा, पम्प्लेट, सीसाकलम, कुपोषण नाप्ने टेप जस्ता सामान मेरो झोलामा सधैँ हुन्थ्यो । स्वास्थ्य स्वयंसेविका भएर गाउँघर पुगेर चेतना फैलाएका ती २२ वर्षमा गरेका अनुभव अनगिन्ती छन् ।
महिलालाई त्यतिबेला न आफ्नो स्वास्थ्यको ख्याल हुन्थ्यो, न बाल स्वास्थ्यको । गाउँघरमा कामकै मात्र ध्यान हुन्छ । म पनि पहिला त्यस्तै थिएँ । पछि स्वास्थ्य स्वयंसेविकाको तालिम लिएपछि हामी कति अज्ञानतामा बाँचेका रहेछौँ भन्ने महसुस भयो ।
गर्भवती महिलाहरू नाजुक भेटिन्थे । घरमा खानेकुरा केही हुँदैनथ्यो । भएको पनि कसरी खाने र ख्वाउने भन्ने उनीहरूलाई थाहा नहुने । घरआँगनमै पाइने लट्टेको साग, फर्सीको मुन्टा, पाकेको फर्सी, पहेँलो फलफूल खानुपर्छ भन्नेसम्म चेतना थिएन ।
कतिको त जग्गा जमिन थिएन । त्यस्ता महिलालाई ‘गमला भए पनि, बोरामा माटो भरेर भए पनि फर्सी, घिरौँला लगायतका तरकारी रोपेर खानू’ भन्थेँ । कति महिलालाई त ती तरकारी कसरी पकाएर खाने भन्ने पनि थाहा थिएन । उसिनेको कलेजो, गेडागुडी, दुध, हरियो सागसब्जी, माछामासु मिलाएर खाने तरिकादेखि खाना खेर नफाली खानुपर्छ भन्नेसम्मका कुरा सिकाउँथेँ । ‘कि देखेसुने, कि पढेगुने’ भन्ने उखान जस्तै मैले देखेर, सुनेर, भोगेर, जानेको सबै कुरा दिदीबहिनीलाई सिकाएँ ।
आफूले तालिममा सिकेका ज्ञान गाउँघरका दिदीबहिनीलाई सिकाउनका लागि स्वास्थ्य सम्बन्धी पर्चा, पम्प्लेट, सीसाकलम, कुपोषण नाप्ने टेप जस्ता सामान मेरो झोलामा सधैँ हुन्थ्यो । स्वास्थ्य स्वयंसेविका भएर गाउँघर पुगेर चेतना फैलाएका ती २२ वर्षमा गरेका अनुभव अनगिन्ती छन् ।
सुत्केरी हुन अस्पताल !
मैले काम सुरु गर्दा घरमै सुत्केरी गराउने धेरै चलन थियो । ‘बच्चा पाउन पनि कहाँ जानुपर्छ र ?’ भन्थे । तर, हामीले ‘कि श्रीमान् कि सासू वा परिवारका कोही सदस्यलाई लिएर अस्पताल आउनू’ भनेर गर्भवती महिलालाई भन्थौँ । तर, सासूहरूले हिजो मैले खेतको गह्रामा बच्चा पाएको, अस्पतालको मुख देखेनौँ भन्दै घरमै सुत्केरी गराउन खोज्थे । त्यस्तो परिवारहरूमा पनि धेरै पटक सम्झाएर गर्भवतीलाई सुत्केरी हुन अस्पताल पठाएकी छु ।
मैले पनि चार वटा बच्चा जन्माएँ । न्वारन गरेदेखि नै पकाएर खाने, खुवाउने र घरको काम सबै गर्नुपर्याे । यो समाजले महिलाको दोहोरो तेहरो जिम्मेवारीलाई देख्दैन ।
काम गर्दै जाँदा महिला, त्यसमाथि पनि बुहारीहरू बढी पीडित भेटेँ । पेटभरि खान पनि नपाउनेहरू भेट्थेँ । त्यस्तो अवस्थामा गर्भवती भएका हुन्थे । जसरी तसरी बच्चा जन्माउने गर्थे । जमिनले अइया भन्न पाउला तर महिलाले भन्न पाउँदैनथे ।
आधा पेटमा दोहोरो तेहरो काम
महिलाहरू कामले थिचिएका, पेलिएका हुन्थे । दिनदिनै कम्तीमा १८ घन्टा काममा खटिनुपर्ने । उनीहरूको लागि आराम, परिवारको हेरचाह, औषधी उपचार पाउने भन्ने त सोच नै थिएन । महिलाले परिवारबाट त्यस्तो सुविधा पाउँदैनथे ।
मैले पनि चार वटा बच्चा जन्माएँ । न्वारन गरेदेखि नै पकाएर खाने, खुवाउने र घरको काम सबै गर्नुपर्याे । यो समाजले महिलाको दोहोरो तेहरो जिम्मेवारीलाई देख्दैन । आफूले भोगेको दुःखले पनि मैले अरू दिदीबहिनीलाई आराम गर्न र खानेकुरामा बल गर्नु भनेर सल्लाह दिन्थेँ ।
‘सासूले खान दिँदैन’ भन्नेहरू हुन्थे । उनीहरूलाई ‘लुकेर खानू’ अथवा अन्य ‘दिदीबहिनीसँग मागेर मिलेर खानू’ भन्थेँ । पेटभरि खान नपाएर शरीरमा रगत नपुगेर रक्तअल्पता हुने समस्या धेरै महिलाको हुन्थ्यो । कुपोषण भएका धेरै आमा र बच्चालाई स्वास्थ्य चौकीमा पुर्याएको छु ।
परिवार नियोजनका कुरा गर्दा
परिवार नियोजनको साधनको बारेमा बताउँदा महिलाहरू मरिमरि हाँस्थे । कति त लाजले भुतुक्क हुन्थे । कण्डमको बारेमा भन्दा र सिकाउँदा त कति महिला स्वयंसेविका नै अफ्ठ्यारो मान्थे । तर, म त लाज मान्दिनथेँ ।
महिला र पुरुषको परिवार नियोजनका साधन बारे मज्जाले कुरा गर्थें । धेरै सन्तान हुँदा र नहुँदाका फाइदा र बेफाइदाका बारेमा बताउँथेँ । त्यसपछि उनीहरू भनेको पनि मान्थे ।
महिनावारी सरसफाइ
महिनावारीको सरसरफाइका बारेमा केही थाहा भएको देखिँदैनथ्यो । महिनावारी हुँदा प्रयोग गर्ने कपडाको टालो घाममा देखाएर नसुकाउने, एउटै कपडा छ महिनाभन्दा पनि बढी प्रयोग गर्ने पनि हुन्थे । त्यस्ता महिलाहरूलाई सुतीको नरम र सफा कपडा प्रयोग गर्न, प्रयोग गरिएका कपडा घाममा कीटाणु मर्ने गरेर सुकाउन सल्लाह दिन्थेँ ।
घरेलुहिंसा रोक्न पुरुष
स्वास्थ्य जनचेतना फैलाउँदै गर्दा कति महिलाहरू घरेलुहिंसामा परेको पनि भेटेँ । उनीहरूलाई हिंसा सहेर बस्न हुँदैन भनेर भन्दै गर्दा महिला अधिकारको बारेमा पनि जानकारी दिन्थेँ । त्यही भएर कुनै पनि कार्यक्रम, तालिममा महिला मात्रै मात्र नबोलाएर पुरुषलाई पनि बोलाउन भन्थेँ ।
महिला अधिकार, महिला स्वास्थ्य, बाल स्वास्थ्यका कुरा महिला पुरुष दुवैले बुझ्नुपर्छ । अझ हिंसा अन्त्य गर्न त महिलाले भन्दा पुरुषले बुझ्नु जरुरी छ ।
मैले देखेको परिवर्तन
मेरो २२ वर्षको स्वयंसेविकाको कार्यकालमा पहिले र अहिले धेरै परिवर्तन आएको छ । २०५६ सालमा ४३ जना दिदीबहिनीले तालिम लिएर काम थालेका थियौँ । अहिलेका महिलाहरू आफ्नो स्वास्थ्यसँगै प्रजनन अधिकारका बारेमा सचेत भएका छन् । हाम्रो घरको भान्सा नै औषधालय हो भनेर घरघरमै बुझाएँ । अहिले बिस्तारै मान्छेहरूले खानपानमा ध्यान दिन थालेका छन् ।
पहिले स्वास्थ्यका कुनै एउटा सूचना भन्न र चेतना पुर्याउन घरघरमै पुग्नुपर्थ्याे । मान्छेलाई नै भेट्नुपर्थ्याे । अहिले सञ्चारमाध्यम छन्, सामाजिक सञ्जाल छन् । फोनमा पनि कुरा गर्न पाइन्छ । एउटा मेसेज गरेर पनि धेरैलाई एकैपटक सूचना दिन सकिन्छ । त्यतिबेला घर घरमा पुग्नुपर्थ्याे । कतिले त हामीलाई देख्ने बित्तिकै ‘मेरो घर नआइज, गैहाल्’ पनि भन्थे । कतिले ‘तपाईंलाई पैसा आयो होला, मलाई पनि रोग सन्चो बनाउने औषधी दिनुस्’ भन्थे ।
सुरु सुरुमा २०५६ सालतिर भेटेका दिदीबहिनी अहिले कति चेतनशील, जागरूक, आफ्नो कुरा ठाउँमा राख्न सक्ने, आफ्नो स्वास्थ्यप्रति सचेत हुनुभएको छ । यस्तो देख्न पाउँदा आफ्नो त्यो बेलाको दुःख र पीडा नै भुल्छु ।
विवाहित र ३०/३२ वर्ष उमेर कटेका महिलाहरूलाई स्वास्थ्य संस्थामा गएर पाठेघर तथा स्तनको परीक्षण गराउन पनि भन्थ्यौँ । पछि पछि त धेरै दिदीबहिनीले यस्ता कुराहरू मान्न थाल्नुभयो । अहिले आफ्नो अधिकारको बारेमा खुलेर बोल्न सक्ने हुनुभएको छ ।
सुरु सुरुमा २०५६ सालतिर भेटेका दिदीबहिनी अहिले कति चेतनशील, जागरूक, आफ्नो कुरा ठाउँमा राख्न सक्ने, आफ्नो स्वास्थ्यप्रति सचेत हुनुभएको छ । यस्तो देख्न पाउँदा आफ्नो त्यो बेलाको दुःख र पीडा नै भुल्छु । अहिले उहाँहरू नै आफ्ना घर, टोल, छिमेकका छोरी, बुहारी, बालबच्चालाई यस्तै कुरा सिकाउने गर्नुहुन्छ । ती दिदीबहिनीहरूले अहिलेसम्म पनि सारै माया गर्नुहुन्छ । यस्तो देख्दा नै हो खुसी लाग्ने ।
न पैसा न त सुरक्षित भविष्य
हामी स्वयंसेविकाको जवानी उमेर सबै यही पेसामा गयो । बुढेसकालमा न पैसा न त सुरक्षित भविष्य भयो । सरकारी जागिर खानेको पेन्सन आउँछ, हाम्रो त बुढेसकालमा झिकेर खाने माध्यम नै भएन । हामीले नेपाल सरकारले तोकेको पैसा (भत्ता) पनि पाएका छैनौँ । ‘मनको बह कसैलाई नकह’ भने जस्तै भएको छ । सरकारले हामी स्वयंसेविकाको काम जति छ, त्यसको मूल्याङ्कन गर्नुपर्ने हो तर त्यो गरेन ।
सरकार अहिले मातृशिशु स्वास्थ्यमा भएको सुधारको कुरा गर्छ । हामीले घरदैलोमै पुगेर स्वास्थ्य चेतना नफैलाएको भए सरकारले मातृमृत्युदर, बालमृत्युदर कम गराउन सक्थ्यो ? तर, जसरी हाम्रो कामको मूल्याङ्कन हुनुपर्ने हो, भएन ।
हामीलाई पुरस्कार नै दिन पर्दैन, स्याबासी दिए मात्र पनि हुन्छ । तर, हाम्रो मेहनतलाई राज्यले देख्नुपर्छ । यो काम सजिलो छैन । स्वास्थ्य स्वयंसेविका हुनका लागि निःस्वार्थ भावना र लगन चाहिन्छ । त्यसको मूल्याङ्कन र कदर गर्नुपर्छ भन्ने कुराको महसुस राज्यले पनि गर्नुपर्छ ।
आत्मा रुवाउने व्यवहारसँगै सम्मान
म लगायत २२ जना स्वास्थ्य स्वयंसेविकाले एकैपटक अवकाश पायौँ । हामी अवकाश भएपछि विदुर नगरपालिकाको स्वास्थ्य संयोजक पूर्णध्वज श्रेष्ठले हामीलाई पहिले दिइएको स्वास्थ्य स्वयंसेविकाको पोशाक पनि फिर्ता माग्नुभयो । अनि हामीलाई औषधी बोकेर हिँड्ने सानो बक्स दिइएको हुन्थ्यो, त्यो पनि मागेर राखे । यस्तो हुँदा असाध्यै दुःख लाग्दो रहेछ । पोशाक र बक्स फिर्ता माग्दा मेरो त आत्मा रोएको छ ।
विदुर नगरपालिकाले हाम्रो कामको कदर गर्दै स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ नगद सहित सम्मान गरेको छ । अब यस वर्षदेखि नगरपालिकाले कार्यरत स्वयंसेविकालाई वार्षिक १० हजार रुपैयाँ पनि दिने भनेको रहेछ । आशा गरौँ, स्वास्थ्य स्वयंसेविकाको कामको सम्मान र मूल्याङ्कन गर्नेछन् ।
वडा सदस्य भएपछि
म स्वास्थ्य स्वयंसेविका हुँदा समाजसेवा पनि गर्दथेँ । म टोल विकास समितिको अध्यक्ष भएको थिएँ । त्यही बेलामा महादेवथान ढुङ्गे किरियापुत्री भवन, शिव मन्दिरको पाटी निर्माण भएको हो । मेरो परिवार कांग्रेस विचारधारालाई मान्ने गर्छ । त्यही भएर मलाई वडा १ बाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस पार्टीले टिकट दियो ।
म आफैँ त राजनीतिमा थिइनँ तर मेरो काम, समुदायमा चिनजान, घुलमिल भएका कारणले पनि होला, सबैले ‘भगवती दिदीले जित्नुहुन्छ, उठ्नुस्’ भने । नभन्दै महिला सदस्यमा जितेँ पनि ।
राजनीतिक पार्टीबाट चुनाव जितेकाले राजनीति कस्तो हुँदोरहेछ, काम कसरी गर्नुपर्ने रहेछ भन्ने पनि सिक्दै छु ।
हामी निर्वाचित भएको १५ महिना भएको छ । यो अवधिमा खानेपानीको ट्याङ्की, बाटोमा पर्खाल उठाउने, गोरेटो बाटो बनाउने जस्ता काम गराउन पहल गरेको छु । भर्खर सिक्दै बुझ्दै छु । तीन वर्ष नौ महिना बाँकी नै छ ।
मेरो अबको योजना बालबालिका तथा महिलाको स्वास्थ्य र महिलालाई स्वरोजगार बनाउने छ । यस्ता काममा आफ्नो वडामा बजेट पार्नका लागि पहल गर्नेछु । राजनीतिक पार्टीबाट चुनाव जितेकाले राजनीति कस्तो हुँदोरहेछ, काम कसरी गर्नुपर्ने रहेछ भन्ने पनि सिक्दै छु ।
सन्धान प्रकाशन मिति : २०८० भदाै १३ गते, बुधवार