– डा. भारती अधिकारी
डा. भारती अधिकारी वरिष्ठ मनोविज्ञ एवं सह–प्राध्यापक हुनुहन्छ । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरी सेवा निवृत्तिपछि पनि उहाँ त्यहीँ नै प्राध्यापनरत हुनुहुन्छ । बनारसको काशी हिन्दु विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि (पिएचडी) गर्नुभएकी डा. भारतीकै नेतृत्वमा त्रि–चन्द्र क्याम्पसमा २० वर्षअघि सुरु भएको मनोसामाजिक मनोविमर्श (काउन्सिलिङ साइकोलोजी) को अधिस्नातक (पोस्टग्य्राजुएट डिप्लोमा) तहको एकवर्षे पाठ्यक्रमको पठनपाठन अहिले पनि चलिरहेको छ । जुनसुकै विषयमा स्नातक गरेको भए पनि यो विषयमा जानकारी राख्न चाहनेले भर्ना भएर पढ्न पाउँछन् तर उहाँ अहिले यसको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने ठान्नुहुन्छ । सुरुवाती दिनमा पाठ्यक्रम बनाउनेदेखि अन्य आवश्यक कामका लागि पहल गर्नुभएकी उहाँका केही गुनासा पनि छन् । यसैले भारतीसँगको कुराकानीलाई यही विषयको पठनपाठन, जीवनभोगाइ र महिलाको मनोविज्ञानसँग जोडिएको छ । प्रस्तुत छ, ‘सन्धान’ का लागि मनोसामाजिक मनोविमर्शकर्ता तथा लेखक आश्मा अर्यालले २०८० चैतमा वरिष्ठ मनोविज्ञ एवं सहप्राध्यापक डा. भारती अधिकारीसँग गर्नुभएको कुराकानीको अंश :
त्रि–चन्द्र क्याम्पसमा मनोसामाजिक मनोविमर्शको एकवर्षे अधिस्नातक तहको पठनपाठन सुरु गर्नुपर्छ भन्ने विचार यहाँमा कसरी आयो ?
सन् २००० मा पिएचडी सकेर बनारसबाट फर्किएपछि मनोवैज्ञानिक अनुसन्धानको क्षेत्रमा केही गर्छु भन्ने ठुलो रहर थियो । त्यसैका लागि मलाई एउटा अन्तर्राष्ट्रिय अवसर पनि प्राप्त भएको थियो । कारणवश त्यो परियोजनाले त्यति बेला नेपालमा काम गर्नै पाएन । आफूले गर्न खाजेको अनुसन्धान गर्न नपाउँदा मलाई नरमाइलो लागिरहेको थियो । त्रि–चन्द्र क्याम्पसमा पढाउने काम चलि नै रहेको भए पनि अब अरू के त भन्ने भावना ममा बढ्दै गयो । त्यति नै बेला अमेरिकालगायतका अन्य देशमा मनोसामाजिक मनोविमर्शको माग बढ्दो छ रे भन्ने सुन्नमा आयो । इन्टरनेटमा खोज्दै अध्ययन गर्दा यो विषयको महत्त्व र प्रभावकारिताले मन छोयो । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट डा. शान्ता निरौला, पद्मकन्या क्याम्पसबाट किशोरी थापा, मिनर्वा जोन्छे र कविता खाती अनि त्रि–चन्द्र क्याम्पसबाट मसहित पाँच जना भएर सन् २००४ मा यो कोर्स पहिलोपटक त्रि–चन्द्र क्याम्पसमै चलाउन सुरु गराउन सक्यौँ ।
त्यसो भए त्रि–चन्द्र क्याम्पसमा अहिले चलिरहेको एकवर्षे मनोसामाजिक मनोविमर्शको पठनपाठन पाँच जना महिलाको सामूहिक पहल र तपाईंको नेतृत्वमा सुरु भएको हो भन्न मिल्छ ?
त्रिभुवन विश्वविद्यालय, त्यति बेलाको डिन, क्याम्पस चिफ र अरू धेरै जनाको सहयोग नभएको भए हामीले मात्र गरेर त हुँदैनथ्यो तर यो विषयमा पढाइ हुनु जरुरी छ भनेर ‘कोर्स डिजाइन’ देखि आवश्यक पहल गर्ने चाहिँ हामी नै हौँ । त्यसैले म वा हामी पाँच जनाले मात्रै भन्नुभन्दा पनि हामी पाँच जनाले पहल गरेका हौँ भन्न मिल्छ । त्यसमा अलि बढी र नेतृत्वदायी भूमिका मेरो रहेको छ भन्न चाहन्छु । साथै, त्यो बेला हामीले बोलाउँदा आउनुभएका, हामीलाई रचनात्मक सल्लाह सुझाव दिनुभएका र प्रोत्साहित गर्नुभएका साथै यो कोर्स त्रि–चन्द्र कलेजमा सञ्चालन गर्नका लागि मलाई सहयोग गर्नुभएका क्याम्पस चिफ, प्राध्यापक तथा लेक्चररहरू, कर्मचारी र पदाधिकारीहरू सबैलाई म यही अन्तरवार्तामार्फत सम्झिन चाहन्छु ।
मनोसामाजिक मनोविमर्श विषयको क्षेत्र, महत्त्व र चुनौतीको बारेमा पनि भनिदिनुस् न !
बजारमा केही दिन, केही हप्ता तालिम लिएर मनोसामाजिक मनोविमर्शकर्ता हुँ भन्नेहरूको एउटा जमात नै छ । यसले गर्दा एकातिर यति राम्रो सेवाको बदनाम भइरहेको छ भने अर्कातिर सेवाग्राहीहरूको मानसिक स्वास्थ्यमा यसले दीर्घकालसम्म विभिन्न खालका नकारात्मक असर पारिरहेको छ । यस्तो अवस्था आउन र रहिरहन नदिनको लागि यो एकवर्षे कोर्सले सहयोग पुर्याओस् । यही मेरो चाहना छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त भएकाले यो काउन्सिलिङ साइकोलोजीको एकेडेमिक कोर्स साथै काउन्सिलिङ साइकोलोजी, क्लिनिकल साइकोलोजीलगायतका मनोवैज्ञानिक विषयमा स्नातकोत्तर तहको अध्ययन गर्नका लागि यो एउटा पुल र आधार कोर्स पनि हो ।
एकवर्षे कोर्स पढेका सबै ‘काउन्सिलर’ नै बन्छन् या बन्नुपर्छ भन्ने छैन । किनभने मनोसामाजिक मनोविमर्श जति वैज्ञानिक छ, त्योभन्दा धेरै यो कलात्मक हुन्छ । अरूलाई बुझ्न र महसुस गर्न सक्ने गुण र क्षमतासँग सम्बन्धित यो विषयको एकवर्षे डिप्लोमा कोर्स काउन्सिलर बन्न चाहनेहरूका लागि सुरुवाती कोर्स मात्र हो । विभिन्न उमेर, पेसा र समूहगत पृष्ठभूमिका कतिपय विद्यार्थीहरू आफूले बुझ्नका लागि मात्र पनि यो विषय पढ्न आइरहेका हुन्छन् । कतिलाई आफ्नै जीवन, परिवार वा आफन्तहरूसँग घटेका कुनै त्यस्तै घटनाले यतातिर तानेको हुन्छ । तर कोर्स परिमार्जन भएर सेमेस्टर सिस्टम सुरु भएदेखि यो कोर्समा केही यस्ता विषयहरू पनि थपिएका छन्, जुन विषय सबैले एकै वर्षमा पढ्नैपर्छ भन्ने छैन । काउन्सिलर बन्नको लागि यो कोर्समा भएका सबै विषय जान्नैपर्छ भन्ने पनि छैन ।
यो विषयमा सैद्धान्तिक ज्ञानभन्दा धेरै व्यावहारिक अभ्यास र भूमिका अभिनय (रोल प्ले) गराउनुपर्ने हुन्छ । त्यस्तो भए पनि विद्यार्थीको चाप अनुसारको स्रोत, साधन र व्यवस्थापनको अभाव आदि कारणले भूमिका अभिनय गराउने वातावरण बनाउन सकिएको छैन । एक त सेमेस्टर सिस्टम, त्यसमा पनि ‘थेसिस’ लेख्नैपर्ने भार विद्यार्थीहरूमा छ । मलाई भने सबैथोक एक वर्षमै पढाएर सक्नुपर्छ भन्ने लाग्दैन । भाषागत सहजता र सिकाइ क्षमता पनि सबैको फरक–फरक हुन्छ । म त भन्छु, मन, भावना, व्यवहार र सम्बन्धसँग जोडिँदै आफूलाई स्वचेतनाको स्थितिमा स्वस्थ र सन्तुलित राख्न सिकाउने यति महत्त्वपूर्ण विषय पढ्न आउने विद्यार्थीहरू हाम्रो अहङ्कारी, अव्यवस्थित र अव्यावहारिक शैक्षिक व्यवस्थाले नभागून् । यस्तो काम लाग्ने विषय जतिसक्दो धेरैले पढून् र मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यप्रति सचेत भएको एउटा ठुलो भिडले यो क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रूपमा काम गर्न पाओस् भन्ने मलाई लाग्छ ।
अलिकति तपाईंको व्यक्तिगत कुरा गरौँ । अहिले एक वरिष्ठ मनोविज्ञ भएर हेर्दा आफ्नो बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
मलाई जन्माउँदा मेरी आमाको उमेर २१ वर्षको थियो । उहाँ त्यति बेला १० कक्षामा पढ्दै हुनुहुन्थ्यो । उहाँको प्रवेशिका परीक्षा पास गर्ने धोको भने आमा हुनु र घरायसी जिम्मेवारी निर्वाह गर्नुपर्ने कारणले पूरा हुन पाएनछ । त्यसैले होला, आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीहरूले धेरै पढ्नुपर्छ भन्ने आमालाई लागिरहन्थ्यो ।
मलाई पढाउनमा मेरी आमा (शकुन्तला श्रेष्ठ) को ठुलो योगदान छ । म बामे सर्दादेखि नै आमाले मलाई पढाउन थाल्नुभएको रे ! बुबा काठमाडौँ मेडिकल हल र सेन्टरमार्फत एलोपेथी औषधिको बिक्री गर्ने । त्यो काम मेरो बुबा गोपालदास श्रेष्ठ र काका बालकृष्ण श्रेष्ठले सुरु गर्नुभएको हो । तिनै औषधि प्याकिङ भएर आएका गाताहरूमा लेखेर आमाले मलाई अक्षरहरू चिनाउँदै पढाउनु हुन्थ्यो । आमासँग पढाउने कला पनि रहेछ जस्तो लाग्छ । अक्षर लेखिएका गातालाई अलि पर फ्याँकिदिँदै जाऊ त, ‘ए’ टिपेर ल्याऊ, जाऊ, ‘बि’ लिएर आऊ … भन्नुहुन्थ्यो आमाले । यस्ता कुरा याद छ अलिअलि । बुबाले एलोपेथी औषधिको बिक्री गर्ने काम २०१०/११ सालभन्दा अगाडि तत्कालीन त्रिभुवन राजाकै पालामा थाल्नुभएको रे ! त्योभन्दा अगाडि आयुर्वेद औषधिको चलन थियो ।
आमाले घरमै केही समय पढाउनुभयो । त्यसपछि मलाई नजिकैको स्कुलमा भर्ना गरियो । म निकै सानो उमेरमा पढ्न जान थालेँ । स्कुलमा लेख्न लगाइने प्रायः सबै अक्षरहरू मलाई आमाले घरमै सिकाइसक्नुभएको थियो । मै लेखेर छिटै सक्थेँ र त्यसपछि मेरो काम भनेकै बाँकी दिनभरि स्कुलमा सुत्ने हुन्थ्यो । बच्चा थिएँ, चुप लागेर बस्न नसक्ने, लेखेपछि के गरौँ र कसो गरौँ हुन्थ्यो अनि निदाउँथेँ । त्यसपछि मलाई एउटा प्राइभेट स्कुलमा पढ्न पठाउनुभयो । त्यहाँ जाँदा म तीन वर्षकी मात्र थिएँ तर पनि म जान्ने छु भनेर सिधै कक्षा २ मा लगेर राखिदिनुभयो ।
प्राइभेट स्कुलको अनुशासन निकै कडा थियो । रटेर पढ्नुपर्ने हुन्थ्यो । नपढे पिटाइ खानुपर्ने । सबै शिक्षकको हातमा छडी सधैँ हान्न तयार हुन्थ्यो । गुरुकुलमा जस्तै गुरुले जे जे भन्नुहुन्थ्यो त्यही त्यही मान्नुपर्ने । मेरो भाइ पनि मसँगै त्यही स्कुलमा पढ्थ्यो । भाइले अनुशासित भएर, रटेर पढ्ने रहर पटक्कै गर्दैनथ्यो । नपढेकै कारण उसले दिनहुँजसो कुटाइ खाएको मैले चाहिँ टुलुटुलु हेरिरहनुपथ्र्यो । तर, कक्षा ५ मा पढ्दै गर्दा एक दिन मेरो बाल मनले अह्राएअनुसार भाइलाई पिट्दै गरेको गुरुको हातको कोर्रा खोसेर त्यसले उनैलाई पिटेर ‘अब हामी कहिल्यै यो स्कुलमा आउँदैनौँ’ भन्दै भाइलाई लिएर म त्यो स्कुलबाट निस्किएँ ।
म घर पुग्नुअघि नै मैले गुरुलाई कुटेको खबर बुबाआमासम्म पुगिसकेको रहेछ । मनमा डर त थियो नै तर त्योभन्दा बढी मैले भाइको लागि जे गरेँ ठिक गरेँ भन्ने विचारले ममा सन्तोष र आफैँप्रतिको विश्वास भरिएको थियो । मेरो त्यो व्यवहारमा बुबा चाहिँ मुसुमुसु हाँस्नु मात्र भयो तर आमा खुबै चिन्तित देखिनुभयो । त्यति बेला आमाको खुबै गाली पनि खाएँ मैले । एक त स्कुलहरू नै धेरै हुँदैनथे त्यति बेला, त्यसमाथि हामी धेरै सन्तान थियौँ । सबैलाई पढाउनुपर्ने, सबैको लालनपालन गर्नुपर्ने, कमाउने भनेको त्यो बेला पुरुषहरूले मात्रै हो भन्ने धारणा थियो । अहिले जस्तो आफ्ना छोराछोरीको समग्र विकासलाई हेर्नुपर्छ, बालबालिकाहरूमा लगानी गर्नुपर्छ भन्ने चेतना आइसकेको थिएन । त्यस्तो अवस्थामा आमाको त्यो गाली र चिन्ता पनि स्वाभाविक थियो ।
बाल्यकालका यस्ता घटनाको असर यहाँको पूर्वकिशोरावस्था र किशोरावस्थामा के कस्तो गरी प¥यो ?
गुरुलाई कुटेपछि फेरि त्यही स्कुलमा जाने रहर र आँट ममा कत्ति पनि बाँकी रहेन । त्यो घटनाको केही दिनपछि मलाई टाइफाइडको ज्वरोले च्याप्यो । खानेकुरामा मैले खान मन गर्नेभन्दा नखाने चिजहरू धेरै थिए । आलु, मासु र दुध खान पाउँदा मक्ख पर्ने म, त्यसपछि सागको एक त्यान्द्रो पनि मुखमा नपरे हुन्थ्यो भने झैँ गर्थें । सायद यस्तै कारणहरूले गर्दा होला मेरो स्वास्थ्य सानैबाट अलि कमजोर नै भएर आयो । टाइफाइडपछि मेरो आँखा पनि कमजोर भयो र मैले बाक्लो चस्मा लगाउनुपर्ने भयो । मोटो सिसा भएको चस्माबाट हेर्दा मलाई आफू नराम्री भएँ कि भन्ने पनि लागिरहन्थ्यो । त्यसमाथि रिस, चिन्ता, घुर्की जस्ता भावनात्मक प्रतिक्रियाहरू मेरो अनुहारमा देखेर आमाले ‘अनुहार हेर न अनुहार’ भनेर गाली गर्नुभएको बेला मलाई आफू झनै ‘कुरूप’ भएछु भन्ने लाग्थ्यो । अहिलेका धेरै केटाकेटीहरूले जस्तै ‘किन यसो भन्नुभएको आमा मलाई मन पर्दैन’ भनेर प्रतिकार गर्ने हिम्मत त्यति बेला सानैदेखि छोरीमान्छेलाई दिइएन । संस्कारले नै हाम्रो बोली दबाएको थियो सायद !
मैले आफ्नो खुट्टामा उभिएपछि बल्ल त्यो कुरा आमालाई भन्न सकेँ । जवाफमा आमाले हाँस्दै भन्नुभयो– सबैले तिमीलाई राम्री भन्थे अनि मैले पनि भन्दा फुर्केलाऊ भनेर नभनेको नि ! मेरी आमालाई झुठ आफैँ हराउँछ र सत्य आफैँ उजागर हुन्छ भन्ने लाग्छ । आमाको त्यही अविचलित विश्वासको विरुद्ध म चाहिँ मैले सहनुपर्ने कारण खोजिरहन्थेँ । टोलका सबै बालबालिकाहरू आमाको मायालु स्वभावका कारण उहाँको वरिपरि भइरहेको देख्थेँ । त्यस्तो देख्दा पनि मलाई डाह लाग्थ्यो । उसै पनि भाइ र मेरो झगडा पर्दा आमाले ‘भाइ पो सानै छ कुरा बुझ्दैन, तिमी त दिदी हौ नि’ भनेको मलाई पटक्कै मन पर्दैनथ्यो । म त्यस्तो बेला आफ्नी आमाले आफूलाई दिनुपर्ने माया अरूसँग बाँडिएको महसुस गर्थें । टाइफाइड निको भएपछि मैले कक्षा ५ र ६ एउटा बिहानको स्कुलमा पढेँ । त्यहाँ परीक्षामा सधैँ प्रथम हुँदा म खुसी भएकी थिएँ तर फेरि त्यो स्कुल छोडेर धेरै विद्यार्थीहरू भएको एउटा ठुलो अर्को स्कुलमा पढ्न जानुपर्ने भयो । त्यो नयाँ स्कुलमा जाँदा मेरो उमेर नौ वर्षको मात्र थियो । त्यहाँ उमेर सानो भयो भनेर फेरि मलाई कक्षा ६ मै राखिदिनुभयो ।
एउटा स्कुलबाट पढेर प्रथम भइसकेको मैले त्यहाँ कक्षा दोहर्याएर पढ्नुपर्दा आफूलाई साह्रै सानी, एक्ली र असहाय भएको ठानेँ । कक्षा दोहर्याएकै कारण मेरो पढाइको स्तर पनि खस्किँदै जान थाल्यो । जसोतसो पढेर कक्षा ९ मा पुगेँ । तर, कक्षा ९ को अन्तिम परीक्षा दिँदा मेरो तीन वटा परीक्षा छुटेर म फेल भएँ । कक्षा ९ दोहर्याउँदा भने मेरी भदै त्यही स्कुलमा मसँगै पढ्ने भइन् । पहिला मलाई फुच्ची भनेर होच्याउने विद्यार्थीको समूह पनि अर्को कक्षामा पुग्यो । बल्ल मैले कक्षामा आफूसँग मिल्ने साथी पाएँ । मेरो पढाइ पनि बिस्तारै फेरि राम्रो हुँदै जान थाल्यो । त्यसैले बाल्यावस्था र किशोरावस्थामा बालबालिका तथा किशोरकिशोरीमैत्री वातावरण भएन भने अनि भएको वातावरणमा उनीहरू घुलमिल हुन सकेनन् भने अप्ठेरो हुन्छ । त्यो अवस्था कति कष्टकर र चुनौतीपूर्ण बन्छ भन्ने कुरा म महसुस गर्न सक्छु । त्यसले पछिसम्म पनि उनीहरूको मानसिक तथा संवेगात्मक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने कुरा पनि समयमै बुझ्नु अति आवश्यक हुन्छ ।
असहज र विभेदकारी भोगाइले कस्तो बेला महिलाको मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा विचलन ल्याउँछन् ?
निरासाको समयमा यस्तो विचलन हुने रहेछ । मैले पनि एक समय आत्महत्याको प्रयास गरेँ । त्यो अवस्थामा साह्रै निरीह र आशा हराएको महसुस भएको थियो । निरासाको अवस्थामा त्यस्तो हुने रहेछ । जिउनुको अर्थ खोज्दा कुनै विकल्प नदेखिने । त्यस्तो अर्थ खोज्दै गरेको अवस्थामा कतैबाट कसैले थोरै आशा जगाइदिन सक्यो भने पनि त्यसले जीवनमा धेरै ठुलो अर्थ र महत्त्व राख्ने रहेछ । महिला भएकै कारण समाजले कोरिदिएको लक्ष्मणरेखाले नै महिलालाई असहज बनाउँछन् । महिलाहरूले भोग्नुपरेका मानसिक तथा मनोसामाजिक समस्याको मूल कारण नै विभेदपूर्ण व्यवहार हो । त्यसले कुनै न कुनै मोडमा महिलालाई विचलित बनाएर निरासामा पुर्याउन सक्छ । त्यसको व्यवस्थापन भएन भने महिलाको मानसिक स्वास्थ्यमा विचलन देखिन्छ ।
यसलाई कसरी बुझ्ने ? अब के गर्नुपर्छ होला ?
सबैले सधैँ सबै परिस्थितिहरूसँग सामना गर्न सक्छन् या सक्नुपर्छ भन्ने सोच्छौँ भने यसले हाम्रो असंवेदनशीलता र अज्ञानताको मात्र प्रतिनिधित्व गर्छ । हरेक व्यक्तिसँग उसको मेडिकल अवस्था, जात, लैङ्गिकता, धर्म, पेसा जस्ता विभिन्न पक्षहरू त जोडिन्छन् नै तर यी कुराको आधारमा उसको मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा असर पार्ने संरचनाको निर्माण हुनु र यसले समर्थन पाउनु राम्रो होइन । प्रत्येक व्यक्तिभित्र राम्रा गुण र क्षमताहरूसँगै सुधार गर्नुपर्ने पक्षहरू पनि हुन्छन् । हरेक व्यक्तिका आ–आफ्नै बुझाइ र सीमाहरू हुन्छन् । व्यक्तिगत विशेषताहरूलाई स्वीकार गर्दै सीमाअनुसारको न्यायोचित वातावरण र समर्थन प्रणालीको निर्माण गर्नुपर्छ । यही नै हामी मानसिक तथा मनोसामाजिक स्वास्थ्यकर्मीहरूको साझा दायित्व हो ।
मनोचिकित्सक र मनोसामाजिक मनोविमर्शकर्तालाई कसरी बुझ्ने ?
मनोचिकित्सकले मनोवैज्ञानिक अध्ययन, तरिका र पद्धतिहरूको आधारमा सेवाग्राहीहरूको अवस्थाको मूल्याङ्कन गर्छ । मनोसामाजिक मनोविमर्शकर्ताले व्यक्तिको मानसिक र मनोसामाजिक स्वास्थ्यको सम्बन्धलाई सन्तुलित र व्यवस्थित बनाउन सहयोग गर्छ । खासमा यी दुवै मनोविज्ञानकै हाँगाहरू हुन् । मनोचिकित्सकले ‘साइकोलोजिकल काउन्सिलिङ’ मा आवश्यक परेका बेला विभिन्न थेरापी र साइकोलोजिकल टेस्टहरूको पनि प्रयोग गर्छन् । मनोसामाजिक मनोविमर्शकर्ताको पनि आफ्नै एउटा त्यस्तो कार्य प्रक्रिया हुन्छ, जसमा उनीहरूले कुराकानीका साथै वैकल्पिक विधि र उपायहरूको प्रयोग गर्ने गर्छन् ।
अन्त्यमा, तपाईंहरूले २० वर्षअघि सुरु गर्नुभएको ‘काउन्सिलिङ साइकोलोजी’ को अध्ययन अध्यापन अहिलेसम्म काठमाडौँमै सीमित छ । यसलाई काठमाडौँबाहिर पनि पुर्याउन आवश्यक छ कि छैन ? तपाईंले यसमा केही पहल गर्नुभएको छ ?
‘काउन्सिलिङ साइकोलोजी’ पढ्ने विद्यार्थीहरूको चाप सम्हाल्न सारै गाह्रो भइरहेको छ । एकदमै धेरैले यो विषय पढ्न खोजिरहेको देखिन्छ । अहिले काठमाडौँभित्र पनि त्रि–चन्द्र क्याम्पस र बुद्धनगरको एउटा प्राइभेट क्याम्पसले मात्र यो ‘कोर्स’ चलाउनका लागि स्वीकृति पाएका छन् । अहिले सेमेस्टर प्रणालीअनुसार यो कोर्सलाई परिमार्जन पनि गरिहाल्नुपर्ने छ । म त सेवाबाट निवृत्त भइसकेँ तर पनि पढाइरहेको छु । आफैँले जन्माएको यो कोर्सको अहिलेको गन्जागोल हालतले गर्दा मलाई धेरै नै दुःखी बनाउँछ । तपाईंले भने जस्तै अब त यो विषयको पढाइलाई काठमाडौँमा मात्र सीमित राख्न नहुने हो । काठमाडौँबाहिर पनि पठनपाठन गराउनका लागि सबैभन्दा पहिला त त्रिभुवन विश्वविद्यालयले नै क्याम्पसहरूलाई यो कोर्स सञ्चालन गर्ने अधिकार/अनुमति दिनुपर्छ । क्याम्पसहरूले पनि यो विषयको महत्त्व बुझेर विश्वविद्यालयसँग अनुमति लिनका लागि पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
प्रकाशन मिति : २०८१ साउन २ गते, बुधवार
याे पनि पढ्नुहाेस्
- डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था
- छोरीको अटिजम पहिचानपछि नयाँ जीवन सुरु भयो
- महिलाको समस्या घटाउन परिवारको भूमिका बढी महत्त्वपूर्ण (भिडियो सहित)– खिमा रिजाल
- अरूलाई सहयोग गर्नुपर्छ भन्ने माहोल परिवारबाटै देख्दै आएँ – चेतना लोकसम