Home Stories दमदार आवाजकी अथक रेडियोकर्मी : कृष्णा ताम्राकार

दमदार आवाजकी अथक रेडियोकर्मी : कृष्णा ताम्राकार


‘तमसोमा ज्योतिर्गमयः अँध्यारोबाट उज्यालोतर्फ’ मिठो भावका साथ स्पष्ट उच्चारण र दमदार स्वरमा जब कृष्णा ताम्राकारले उज्यालो कार्यक्रम रेडियोमा प्रस्तुत गर्नुहुन्थ्यो, तब स्वाभाविक रूपमा आम नेपालीको कान उहाँको आवाजको रेडियो कार्यक्रमले तान्ने गर्दथ्यो । यस्ता दर्जनौँ रेडियो कार्यक्रम थिए, जसमा कृष्णाको प्रस्तुतिको चुम्बकीय गुणले सामाजिक जागरणको सञ्चार गर्दै आइरहेका हुन्थे । महिलाहरूले घरबाहिरको पेसागत काम पाउनै कठिन समय थियो त्यो । त्यस्तो समयमा कृष्णाले रेडियोकर्मी हुने आकाङ्क्षाका साथ स्वर परीक्षा दिएर रेडियो नेपालमा प्रवेश गर्नुभएको थियो ।

निर्दलीय पञ्चायती व्यवस्थादेखि प्रजातन्त्र पुनर्बहाली र संवैधानिक राजतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा उहाँले रेडियो नेपाल मात्र होइन, विभिन्न एफएम स्टेशनहरूमा पनि कार्यक्रम उत्पादन र प्रस्तुति दिनुभयो । उहाँको रेडियो यात्रा जीवनको अन्तिम समयसम्म नै अनवरत रूपमा चलिरह्यो । कृष्णा ताम्राकारको व्यक्तित्व रेडियो जगत्मा काम गर्नेका लागि त ‘कोसेढुङ्गा’ जस्तै रहेको पाइन्छ । अरूका लागि पनि उहाँ प्रेरणाको बलियो स्रोत हुनुहुन्छ ।

बाल्यकालका सम्झना

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा १९९७ साल मङ्सिरमा सानुनानी श्रेष्ठ र ठाकुरदास श्रेष्ठको माइली सन्तानका रूपमा कृष्णा ताम्राकारको जन्म भयो । जीवनको पछिल्लो समयमा आफू जन्मेको गते र तिथि सम्झना नभएको बताउँदै उहाँले भन्नुभएको थियो, “बाल्यकालमा जन्मदिनको दिन जति वर्ष भयो, त्यति वटा योमरीको माला लगाएको सम्झना छ ।” पछिल्लो समय उहाँको बसोबास काठमाडौँको बूढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा थियो ।

पढ्न जानका लागि आमासँग झगडा गर्न सक्ने छोरी हुुनुहुन्थ्यो कृष्णा । यसैले चार दिदीबहिनीमध्ये आफूले मात्र पढ्न पाएको पनि उहाँ सुनाउनु हुन्थ्यो । यसमा अभिभावकभन्दा पनि छोरी पढाउन हुन्न भन्ने त्यतिबेलाको सामाजिक मानसिकता महिला शिक्षाको अवरोधका लागि दोषी रहेको उहाँको बुझाइ थियो ।

कृष्णाका अनुसार, उहाँको बाल्यकालमा मोतीदेवी श्रेष्ठ उहाँको घरमा आउने जाने गर्नुहुन्थ्यो । मोतीदेवी नेपाल कम्युनिस्ट पार्टी एमालेकी संस्थापक सदस्य हो । मोतीदेवीको सङ्घर्षका दिन सम्झँदै कृष्णाले भन्नुभएको थियो, “पछिल्लो समय मोतीदेवी पाटनको फल्चामा बसेको थाहा भएको तर भेट गर्न सकिनँ ।” भेट गर्न नसकेको कुराले उहाँलाई थकथकी लागिरहेको देखिन्थ्यो । उहाँलाई सिर्जना शाही र शाहीको परिवारले तत्कालीन कम्युनिस्टहरूलाई गरेको पालनपोषणको बारेमा पनि थाहा थियो । उहाँका अनुसार, धनसँगै मन पनि भएका शाही परिवारले फोसीमा भात र खसीको मासु पकाएर कम्युनिस्टहरूलाई खानाको व्यवस्था गरेका कुरालाई बिर्सनै हुँदैन । फोसी भनेको नेवार समाजमा प्रयोग हुने एक खाले ठुलो भाँडा हो । उहाँ सिर्जनालाई सम्मान गर्नुपर्ने विचार पनि राख्नुहुन्थ्यो । गङ्गालालका बहिनीहरू पुष्पलता, स्नेहलता सबैसँग कृष्णाको राम्रो चिनजान थियो । यस्तै, नेता शम्भुराम श्रेष्ठको त काखमै हुर्केको र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी आफ्नो मनपर्ने नेता भएको बताउनु पनि हुन्थ्यो । उहाँको भनाइमा मनमोहन अधिकारी आफूभन्दा सानाबाट पनि सिक्न चाहने व्यक्ति हुुनुहुन्थ्यो । यही भएकोले आफूले मनमोहनलाई अङ्ग्रेजीका केही शब्दहरूको उच्चारण गर्न सिकाएको पनि बताउनुहुन्थ्यो । अङ्ग्रेजी उच्चारण सिकाउँदा मनमोहन खुसी हुने गरेको कुरा पनि उहाँ सम्झनुहुन्थ्यो । यस्तै, अष्टलक्ष्मी शाक्यले भूमिगत हुँदा धेरै दुःख पाएको र उहाँको साहस र इमान्दार व्यवहारप्रति अति श्रद्धा लाग्ने कुरा उहाँ गर्नुहुन्थ्यो ।

कृष्णा निरपेक्ष रेडियोकर्मी मात्र नभएर केही मात्रामा राजनीतिक सचेतना र सहभागिता पनि भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँ शम्भुराम, मनमोहन, मोतीदेवी आदिले सम्बोधन गर्ने सभाहरूको आयोजना गर्नका लागि चन्दा उठाउन सिक्का खसाल्न मिल्ने ट्वाक लिएर जाने गर्नुहुन्थ्यो । सङ्कलन भएको पैसा बेलुका पार्टीलाई बुझाउने गरेको सम्झना उहाँमा पछिसम्म ताजै रहेको पाइन्थ्यो । बाल्यकालमा मोतीदेवी, सिर्जना शाही, मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठसँग उहाँको सामीप्य रहेकाले एक खालको राजनीतिक चेतना थियो तर रेडियोमा काम गर्न थालेपछि कृष्णाले आफ्नो पेसागत उन्नतिमा नै ध्यान केन्द्रित गर्नुभएको थियो ।

पढ्न जानका लागि आमासँग झगडा गर्न सक्ने छोरी हुुनुहुन्थ्यो कृष्णा । यसैले चार दिदीबहिनीमध्ये आफूले मात्र पढ्न पाएको पनि उहाँ सुनाउनु हुन्थ्यो । यसमा अभिभावकभन्दा पनि छोरी पढाउन हुन्न भन्ने त्यतिबेलाको सामाजिक मानसिकता महिला शिक्षाको अवरोधका लागि दोषी रहेको उहाँको बुझाइ थियो । उहाँको जन्म राणाकालमा भएको थियो । २००७ सालमा प्रजातन्त्र घोषणा हुँदा उहाँ १० वर्षको हुनुहुन्थ्यो । उहाँ १२ वर्षको हुँदा समाजसेवी तुलसीमेहर श्रेष्ठसँग भारतमा गएर गान्धी आश्रममा पढ्न पाउनुभयो । त्यहाँ पाँच कक्षासम्म पढ्नुभएको थियो । उहाँका अनुसार, कन्या स्कुलमा अध्ययन गर्दा साधना प्रधान र सहाना प्रधानले उहाँलाई पढाउनु भएको थियो । उहाँले स्नातक तहसम्मको अध्ययन दरबार स्कुलमा पठनपाठन हुने गरी नेशनल कलेजबाट पूरा गर्नुभएको थियो ।

रेडियोकर्मीको रूपमा यात्रा

कृष्णाले २०१८ सालमा रेडियो नेपालमा स्थायी कर्मचारीका रूपमा रेडियोकर्मीको यात्रा सुरु गर्नुभयो । ७७ जनाले स्वर परीक्षा दिएका थिए । छानिनेमा उहाँ पनि पर्नुभयो । सुरुमा हिन्दी समाचार उप सम्पादक तथा प्रसारकको जिम्मेवारी पाउनु भएको थियो ।

त्यतिबेला जागिर खान नागरिकता पनि नचाहिने रहेछ । यसैले उहाँले २०४५ सालमा मात्र नागरिकता लिएको बताउनुभयो । त्यतिबेला प्रविधि विकास भए पनि सर्वसुलभ थिएन । यसैले २१ वर्षसम्म पनि उहाँको एउटै फोटो खिचिएको थिएन । उहाँले रेडियो नेपालमा प्रवेश गरेपछि मात्र एक दुई फोटाहरू खिचेको सम्झना गर्नुभएको थियो ।

पञ्चायतकालमा हिन्दी भाषामा समाचार दिन बन्द गर्ने निर्णय भएपछि कृष्णाको कार्य भाषा नेपाली भयो । २०२२ सालमा उहाँलाई नेपाली समाचारको उप सम्पादक तथा प्रसारकको जिम्मा दिइयो । त्यसो त अङ्ग्रेजी भाषामा पनि उहाँको पकड थियो । कुनै एक भाषामा राम्रो गर्न सकियो भने बाँकी सबै भाषामा राम्रो गर्न सकिने विश्वास उहाँको थियो ।

जीवनका उकाली ओराली

हरेक व्यक्तिको जीवनयात्रामा विभिन्न आरोह अवरोह तथा उकाली ओरालीहरू आउँछन् नै । कृष्णाको जीवनमा पनि यस्ता समय र पात्रहरू आए । उहाँले तिनलाई व्यवस्थापन गर्दै नदीको पानी बगे सरह आफ्नो जीवनयात्रालाई रेडियोसँगै अघि बढाइ नै रहनुभयो ।

केही यस्ता दिनहरू थिए, तिनलाई झेलिसकेपछि कृष्णाले सम्झन समेत नचाहने बताउनुहुन्थ्यो । उहाँका अनुसार, मन नपर्ने पात्रहरू पनि उहाँको जीवनसँग जोडिन पुगेका थिए तर कालान्तरमा ती आफैँ छुटे । उहाँले भन्नु पनि भएको थियो, “खराब मान्छेसँगको सम्बन्धमा बाँधिएर जीवनलाई पिँजडामा थुन्नुभन्दा सम्बन्ध तोडेर खुला आकाशमा विचरण गर्नुमा जीवन भेटिन्छ ।” उहाँले आफ्नो रेडियो कर्मलाई निरन्तरता दिँदै गर्दा हिमा, व्योमा र गृष्मा नामका तीन छोरीहरूलाई एक्लैले लालनपालन गरी शिक्षादीक्षा दिएर आत्मनिर्भर बनाउनमा पनि सफलता पाउनुभयो । उहाँको पारिवारिक जीवन एकल आमाको रूपमा केही समय उतारचढावले भरिए पनि अन्ततः सफल, सार्थक, प्रेरक र गौरवपूर्ण रह्यो ।

वातावरण सम्बन्धी कार्यक्रम उत्पादन र प्रसारणका क्षेत्रमा उहाँले सन् १९८९ मा बेल्जियमका राजाबाट ‘ग्लोबल फाइभ हन्ड्रेड : द रोल अफ अनर’ को उपाधि प्राप्त गर्नुभयो ।

पेसागत उन्नतिका क्रममा २०२४ सालमा उहाँ राजपत्राङ्कित अधिकृत तहमा बढुवा हुनुभयो । नेपाली भाषाको समाचार सम्पादक तथा प्रसारकका रूपमा कार्य गर्दै २०४९ सालमा रेडियो नेपालको सेवाबाट अवकाश पाउनुभयो । उहाँले रेडियोको काम भने निरन्तर गरी नै रहनुभयो ।

सन् २०१६ मा उहाँमा क्यान्सर देखिएको थियो । त्यसबाट बेला बेला आक्रान्त भएर पनि उहाँले रोगलाई जित्न सफल हुनुभयो । त्यसपछि ८२ वर्षको उमेरमा पुनः उहाँ रेडियो कार्यक्रम उत्पादन र प्रसारणको यात्रामा निरन्तर लागिरहनुभयो । यसैक्रममा इमेज एफएममा हरेक शनिबार बिहान कार्यक्रम सञ्चालन गर्नुहुँदा केही समय स्वास्थ्यले साथ नदिए पनि छोरी गृष्माको सहयोगमा उक्त कार्यक्रमलाई निरन्तरता दिनुभयो । कर्मलाई इमान्दारीको कसीमा अब्बल बनाउँदै अघि बढ्नुभयो ।

कृष्णाले रेडियो कार्यक्रमलाई व्यावसायिक र पेसागत हिसाबले अब्बल तरिकाले उत्पादन गर्नका लागि अन्तर्राष्ट्रिय स्तरका तालिमहरू लिनुभएको थियो । थप अध्ययन पनि गर्नुभएको थियो । उहाँका अनुसार, २०२७ सालमा उहाँले बेलायतमा एक वर्ष र पछि जर्मनीमा दुई वर्षका लागि यस्तो अवसर पाउनुभएको थियो । यसबाट उहाँको पेसागत सुझबुझ, दक्षता, परिपक्वता र अनुभव बढ्दै गयो । उहाँले विविध विषयमा कार्यक्रम उत्पादन गर्नुहुन्थ्यो । वातावरण सम्बन्धी कार्यक्रम उत्पादन र प्रसारणका क्षेत्रमा उहाँले सन् १९८९ मा बेल्जियमका राजाबाट ‘ग्लोबल फाइभ हन्ड्रेड : द रोल अफ अनर’ को उपाधि प्राप्त गर्नुभयो । नेपालमा ‘अवार्ड अफ टुरिज्म जर्नालिष्ट अफ द इयर, २०१७’ बाट उहाँ सम्मानित पनि हुनुभयो ।

समग्रमा भाषिक शुद्धता, शब्दको स्पष्ट उच्चारण, हक्की खालको मौलिक शैली तथा मिजासपूर्ण स्वरको सन्तुलन कृष्णाका विशेषता हुन् । रेडियो कार्यक्रमबाट समाज रूपान्तरणका विषयवस्तुहरू पक्रिएर पस्कन सक्ने उहाँ आफ्नो नाम आफैँ प्रचार गर्दै हिँड्नेमा हैन, निरन्तर काम, क्षमता र इमान्दारीमा विश्वास गर्नुहुन्थ्यो । त्यसैले उहाँका लागि रेडियो ‘आवाजको कर्म’ मात्र हैन, जीवनशैली र जीवनको आधार नै बन्यो । पहिचानपूर्ण मौलिक प्रस्तुति र स्तरीय कथ्यको सम्मिश्रणबाट देश विदेशका लाखाँै श्रोताहरूबिच प्रिय र प्रेरक पात्र बन्नुभयो ।

साझा जेष्ठ नागरिक सङ्घमा आबद्धता

कृष्णाले छ दशक लामो पेसागत जीवनमा कहिल्यै पनि आफ्नो राजनीतिक प्रतिबद्धताका बारेमा नबोलेको तर पछिल्लो समय उहाँलाई साझा पार्टीको आदर्श र राजनीतिक परिकल्पना धेरै हदसम्म आफ्नो विचारसितै मिलेजस्तो लागेकाले साझा ज्येष्ठ नागरिक सङ्गठनमा संलग्न भएको कुरा उहाँले फेसबुक स्टाटसमा उल्लेख गर्नुभएको थियो । उहाँको मान्यता भनेको देशलाई हाँक्ने ठाउँमा राम्रो स्वास्थ्य, पर्याप्त शैक्षिक योग्यता र प्रतिबद्धता भएका उमेरदार व्यक्तिहरू नै रहनुपर्छ भन्ने थियो । यस पार्टीमा भएको विचार मन परेकाले जीवनको उत्तरार्द्धमा ‘सकेको गरौँ’ भन्ने भावना आफूमा रहेको उहाँ बताउनुहुन्थ्यो ।

प्रेरणाका पक्ष

महिलाहरूले पढ्न नपाउने सामाजिक सोचप्रति कृष्णाले टक्कर दिँदै पढ्न र पढिसकेपछि आत्मनिर्भर भएर आफ्नो जीवन एक्लै भए पनि अगाडि बढाउन सक्नुभयो । उहाँको त्यो आँट, लगन, सुझबुझ आदि आजका बालिका र महिलाहरूका लागि प्रेरणादायी छ । कर्ममा विश्वास गर्ने, पेसागत रूपमा इमान्दार रहने र लगनशील भएर हरेस नखाइकन निरन्तर अघि बढेमा सफलता प्राप्त गर्न गरिन्छ । यस्तो जुनसुकै स्वरूपको शासन व्यवस्थामा सम्भव छ भन्ने कुराको पुष्टि उहाँले आफ्नो जीवनकालमा गरेर देखाउन सक्नुभयो ।

कृष्णाको जीवनको सर्सरी अध्ययन गर्दा एक रेडियोकर्मीले सामाजिक जागरणमा महत्त्वपूर्ण योगदान गर्न कामप्रतिको समर्पण, निष्ठा, लगन र दृढता आवश्यक रहेको देखिन्छ । उहाँले जीवनको अधिकांश कालखण्ड बिताउनु भएको रेडियो सञ्चारको क्षेत्रमा विभिन्न खालका चुनौतीहरू रहेका छन् । चुनौतीहरूका बिचमा डटेर उहाँले यस क्षेत्रमा कोरेको बाटो र पाएको प्रसिद्धि आफैँमा उदाहरणीय र सबैका लागि प्रेरणाको रूपमा रहेको छ ।

रेडियोकर्मी कृष्णा ताम्राकारको २०७९ चैत ९ गते बिहीबार बेलुका निधन भयो । ८६ वर्षका उहाँमा निमोनिया देखिएकाले केही दिनदेखि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उहाँप्रतिको श्रद्धाञ्जलीस्वरूप मोतीदेवी स्मृति केन्द्रसँग सहकार्य गरी ‘सन्धान’ ले यो सामग्री प्रकाशन/प्रसारण गरेको हो । कृष्णा ताम्राकारको जीवनी मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘प्रेरणादायी महिलाहरू’ पुस्तकको सातौँ संस्करण, २०७९ मा छापिएको छ । सोही सामग्रीलाई सामान्य सम्पादनसहित ‘सन्धान सहकार्य’ अन्तर्गत साभार गरिएको छ ।

प्रेरणादायी महिलाहरू पुस्तकका थप सामग्रीहरू

सन्धान प्रकाशन मिति : २०७९ चैत्र १० गते, शुक्रवार