सबैलाई आफ्नो रीतिरिवाज, चाडवाड, संस्कृति प्यारो लाग्छ । भावी पुस्तालाई आफ्ना सांस्कृतिक चालचलन हस्तान्तरण गरौँ भन्ने पनि लाग्न सक्छ । वर्तमान समयमा भने यी कुरा हस्तान्तरण गर्न लायक जस्ता छैनन् । यसको बलियो कारण हो, चाडपर्वका नाममा थोपरिएको फेसनको बोझ ।
नेपालीका लागि अहिले संस्कार, रीतिथिति भनेको भए नभएका फेसन थपेर बोझसहित भावी पुस्तालाई हस्तान्तरण गर्ने विषय बन्दै गए जस्तो देखिँदो छ । कहिले नेपाली समाज उदार छ भन्दै ‘केक संस्कृति’ लाई बढावा दिइरहेको देखिन्छ भने कहिले महिनैपिच्छे आइरहने चाडपर्वहरूमा फेसनलाई जोडेर खर्च बढाइरहेको देखिन्छ ।
नीति नियम र धर्मका निर्माताहरू निकै कल्पनाशील थिए कि ? उनीहरू पनि संसारमा जीवको उत्पत्तिप्रति संवेदनशील थिए कि ? वा नयाँ कुरा जान्न उत्सुक थिए कि ? भनेर लेखन, पठनहरू पनि हुँदै गए । प्रश्न यो पनि हुन सक्छ, त्यतिबेला उनीहरू भ्रममा पो थिए कि ? कल्पनाशीलतालाई भ्रम पनि चाहिँदो हो ! मानिसलाई आफू हुनुको रहस्य जान्नु छ र अनेकौँ खालका भ्रममा रमाउनु पनि । भ्रम भनेका मानिसको मनस्थितिलाई जेलेर राख्ने बलिया धागाहरू हुन् ।
अहिले विवाह, ब्रतबन्ध संस्कार, भोजभतेर र पार्टीका नाममा फेसन हाबी भइरहेको छ । विवाह, भोजभतेर र पार्टीहरूमा बालबालिकालाई पनि ठुलालाई झैँ नै चरिचट्ट पारिन्छ । यो बाध्यता होइन कि रहर र मान्यता जस्तै नै भइसकेको छ ।
अझ महिला र उनीहरू बाँचिरहेको संसारमा भ्रमहरू धेरै नै छन् । महिलालाई सदियौँदेखि सत्ता र शक्तिले भ्रममा पनि राखेका छन् है भन्नेमा थोरै महिलाले मात्र विश्वास गर्छन् । धेरैलाई विश्वास नै छैन । छ त के ? आफूहरूलाई धर्म संस्कृतिले सम्मान गरेको छ भन्ने अन्धविश्वास । देवीत्वकरणको भ्रम ।
अन्धविश्वास र भ्रममा आधारित फेसन र सिकाइ झनै डरलाग्दो हुन्छ । अहिले विवाह, ब्रतबन्ध संस्कार, भोजभतेर र पार्टीका नाममा फेसन हाबी भइरहेको छ । विवाह, भोजभतेर र पार्टीहरूमा बालबालिकालाई पनि ठुलालाई झैँ नै चरिचट्ट पारिन्छ । यो बाध्यता होइन कि रहर र मान्यता जस्तै नै भइसकेको छ । आमा छोरी र बाबु छोराको लागि समय अनुसारका उस्तै देखिने पहिरनहरू अहिलेको चलनचल्तीका फेसन बनेका छन् । प्रश्न उठ्छ, यी चालचलन हुन् कि उपभोक्तावादी फेसन हुन् ? यस्ता चालचलनसँग जोडिएका फेसनले सिक्ने उमेरका बालबालिकाहरूमा सकारात्मक छाप छोड्ला त ? उनीहरू पनि यही बजारवादी समाजसँग अभ्यस्त हुँदै गए भने संस्कार र पर्वको सार के बाँकी रहला ? प्रश्न अनुत्तरित नै छ ।
अचेल त कृष्ण जन्माष्टमीको दिन बालबालिकालाई कृष्ण र राधाको फेसनमा विद्यालय पठाउने चलन नै चलेको छ । यसबाट बालबालिकाहरूले महाभारत र कृष्णलीलाबारे कतिको सिके या गुरुहरूबाट यसबारे के जानकारी पाए भन्ने बुझ्न सकिँदैन ।
महिलाहरू आफू अनेक वार्षिक रीतिथितिमा अल्झिकन ती थिति र फेसनमा समाहित भएर खर्च गरिकन पनि अहिले नयाँ चलन थपिएको छ, जसलाई संस्कृतिको हस्तान्तरण या पुस्तान्तरण पनि भन्न सकिएला । पुस्तान्तरण आधुनिक शैलीको छ र यसलाई बजारीकरणसँग जोडेर खर्चिलो बनाइएको छ । हरेक वर्ष साउन महिना आउँछ, परिवारका महिला सदस्यहरूलाई हरिया र पहेँला चुरापोतेसहित गरगहना र लत्ताकपडा किनिदिनै पर्यो । तीज पनि आउँछ, बालिकाका कलिला हातदेखि नै चुरा झुन्ड्याइदिन धेरैलाई मन लाग्छ । सामाजिक सन्जालले देखासिकी बढाउन सहयोग गरेकै छ । आमाहरूमा मोह पनि जाग्छ । चुरामा सजाएपछि छोरीमा जागेको पोतेप्रतिको खुल्दुली मेटाउने अवसर पनि मिल्ने होला । आफ्नी छोरीलाई विवाहयोग्य हुने गरी संस्कार जो सिकाउनु छ !
विद्यालय र चाडपर्व
नेपालमा संस्कृतिमाथि बजारीकरण थोपर्ने सांस्कृतिक संरचना पनि थपिएको छ । त्यो हो, निजी विद्यालय, जसले संस्कृतिको पहिचान गराउने कार्यक्रम पनि गर्छ । कलिला बालबालिकाहरूका लागि विद्यालयको फर्माइस हुन्छ, ‘ग्रिन डे’ मा हरियै लुगा, ‘रेड डे’ मा रातै लुगा, ‘यलो डे’ मा पहेँलै लुगा । यी पहिरन विशेषतः साउने सोमबार, कृष्ण जन्माष्टमी, तीजलगायतका पर्वप्रति लक्षित हुन्छन् । विद्यालय जाने बालबालिकाले घरमा अभिभावकलाई मलाई त स्कुलमा यी र यस्ता लुगा लगाएर आउनू भनेको छ भनेर सकिनसकी किन्नका लागि हैरान पार्छन् । अचेल त कृष्ण जन्माष्टमीको दिन बालबालिकालाई कृष्ण र राधाको फेसनमा विद्यालय पठाउने चलन नै चलेको छ । यसबाट बालबालिकाहरूले महाभारत र कृष्णलीलाबारे कतिको सिके या गुरुहरूबाट यसबारे के जानकारी पाए भन्ने बुझ्न सकिँदैन । कृष्ण र राधा बनेका बालबालिकाले घरमा आएर यो पहिरन लाउनुपर्नाको कथा यस्तो रहेछ भनेर आफ्ना अभिभावकलाई भनेको पनि सुनिँदैन ।
निम्न तथा मध्यमवर्गीय परिवारले छोराछोरीलाई विद्यालय पठाउनै पनि गाह्रो छ । अभिभावकहरू दैनिकी गुजार्ने काममा व्यस्त हुन्छन् । छोराछोरीका पढाइलेखाइ, सिर्जनशीलता, रुचि या अरुचि र आवश्यकताबारे सोच्ने या सोध्ने फुर्सद पनि अभिभावकलाई हुँदैन । यस्तो अवस्थामा पनि कृष्ण जन्माष्टमीमा राधा र कृष्णको पहिरन किनिदिनु परेको छ । ती किनेका फेसनका चिजबिजहरूलाई एक दिन लगाएपछि अर्को वर्ष नभई लगाउने पालो आउँदैन । आए पनि त्यो ‘आउट अफ फेसन’ भइसकेको, पुरानो भइसकेको, च्यातिइसकेको वा शरीरमा ‘फिट’ नै नहुने भइसकेको हुन्छ ।
विद्यार्थीलाई कस्तो शिक्षा दिने, संस्कार संस्कृतिका कुन पक्षलाई कसरी प्रवर्धन गर्ने भन्ने विश्लेषण र पूर्वतयारी गर्ने काम शिक्षक समुदायको नै हो । यसमा बजारीकरणको मात्रै प्रभाव देखिन्छ ।
फागु पर्व आउँदा पनि विद्यालयबाट अर्को फेसनको फर्माइस आउँछ । सेतो रङको नयाँ टिसर्ट किन्नुपर्ने हुन्छ । नयाँ कपडामा फागु खेल्नुपर्ने र फागु खेलिसकेपछि दोस्रंो पटक त्यो पहिरन पनि काममा नआउने ! यसबाट के सिक्छन् बालबालिकाले ? विद्यालय संचालक र शिक्षकहरूले सोच्नुपर्दैन ?
विद्यालय भनेको पक्कै पनि शिक्षकहरूको समुदाय रहने ठाउँ हो । शिक्षकले विद्यार्थीलाई सिकाउने थलो नै विद्यालय हो । यस्तो थलोमा विद्यार्थीलाई कस्तो शिक्षा दिने, संस्कार संस्कृतिका कुन पक्षलाई कसरी प्रवर्धन गर्ने भन्ने विश्लेषण र पूर्वतयारी गर्ने काम शिक्षक समुदायको नै हो । यसमा बजारीकरणको मात्रै प्रभाव देखिन्छ । यस्तो हुनु भएन । आगामी दिनमा यो विषयमा शिक्षक समुदायले गम्भीर रूपले मनन गर्नै पर्छ ।
चाडपर्व, फेसन, महिला र समाज
चाडपर्व भन्दै नेपाली महिलाहरूले उपभोग गरिरहेका जति पनि चिजवस्तु छन्, ती वस्तुहरूको उत्पादन देशभित्र भएको पाइँदैन । महिलाले उपभोग गरिरहेका सौन्दर्य सामग्री र अधिकांश नेपालीले लगाइरहेका पहिरनमा भएका खर्चको रकम सिधै विदेश गएको छ । स्वदेशमा उत्पादन नभएपछि उपभोग्य वस्तुको आयात हुन्छ । आयातका लागि रकम विदेसिनु स्वाभाविकै हो । यसबाट देशको आर्थिक व्यय कति भइरहेको छ ? व्यापार घाटा कम र भुक्तानी सन्तुलन कसरी गर्ने हो ? साथै, अधिक फेसनका सामग्री र लत्ताकपडाबाट नेपालको सामाजिक र सांस्कृतिक वातावरणमा कत्तिको असर परेको छ ? नेपाली उपभोक्ताका शरीरमा के कस्तो असर परेको छ ? अनि जो यी चिजबिजको उपभोग गर्ने हैसियत राख्दैनन् र जसले उपभोग गर्न पाउने सपना साँचिरहेका छन्, उनीहरूको मनोविज्ञानमा के असर परेको छ ? यी कुरामा अहिल्यै गम्भीरतासाथ ख्याल गर्नुपर्ने भइसकेको छ ।
अधिकांश नेपालीको दिमागमा जरो गाडेको धर्म, पाप, पुण्यका कुरा एकातिर छन् भने यी सब पापलाई मोचन गर्ने र पुण्य कमाउने नाममा गरिने देखासिकी र प्रदर्शनको होडबाजी अर्कोतिर छ । यी दुवैको बिचमा दिग्भ्रमित भएर नेपाली समाज फसिरहेको छ ।
जड बनेर अधिकांश नेपालीको दिमागमा जरो गाडेको धर्म, पाप, पुण्यका कुरा एकातिर छन् भने यी सब पापलाई मोचन गर्ने र पुण्य कमाउने नाममा गरिने देखासिकी र प्रदर्शनको होडबाजी अर्कोतिर छ । यी दुवैको बिचमा दिग्भ्रमित भएर नेपाली समाज फसिरहेको छ । शिक्षित र विकसित भनिएको अवस्थामा पनि कतिपय महिलाहरूको जीवनमा चेतनाको दियो बल्न सकेको देखिँदैन । दुई वर्षको कोरोना महामारीमा तीज मनाउन नपाएर महिलाहरू नियास्रिएका रहेछन् । अहिले महिलाहरू तीज मनाउन कस्सिएर लागिपरेका छन् भन्ने कुरा मिडियामा समाचार बनिरहेका छन् । बाटोघाटो छेउछाउका होटल, पार्टी प्यालेसहरूमा राता र डिजाइनदार पहिरनसहितका महिलाहरूको नाचगानको रौनकबाट पनि यो कुराको पुष्टि हुन्छ । यसबाट सांस्कृतिक भ्रमको समस्या कतिसम्म गम्भीर बन्दैछ भन्ने पनि बुझ्न सकिन्छ ।
पार्टीपिच्छे नयाँ फेसन, गरगहनाका साथै अर्को थपिएको कुरा भनेको ‘टिकटक’ हो । महिलाहरूले गीतमा भाइरल हुने दाउमा टिकटकमा निकै समय लगाएर तीजलाई अझ रङ्ग्याएको पनि देख्न सकिन्छ । एकातिर महिलाहरू नै फिट देखिने नाउँमा गर्ने फेसन, अब्बल हुने नाउँमा गर्ने मेकअपमा अगाडि रहेका छन्, अर्कोतिर स्वास्थ्य, समय र आर्थिक पाटोलाई नै खलल पुर्याउने चिजबिजमा पनि महिलाहरू नै अगाडि देखिन्छन् । प्रश्न उठ्छ, कतै महिलाहरूले आफैँ नै सचेत हुनुपर्ने समयमा पनि भ्रमित हुने बाटोलाई नै पछ्याइरहेका त छैनन् ? जति पछि भयो उत्ति नै महिलाहरूले नयाँ नयाँ संस्कार थप्दै त्यसमै रुमलिइरहेका त छैनन् ? थुप्रै प्रश्नहरू महिलाहरूमाथि नै तेर्सिइरहेका छन् है !
परम्परागत तर हानिकारक र महिलाद्वेषी अभ्यासलाई पनि कतिपय महिलाले नै बर्सेनि अनुसरण गरिरहेका छौँ । अब त आफूले आफैँमाथि प्रश्न गर्न पनि ढिला भएन र ?
प्राचीनकालमा हिन्दु धर्मको मान्यताअनुसार तीजको दिनलाई महिला उन्मुक्तिको दिन भनेर पनि कसैले बयान गरिदियो । महिलाहरू उक्त दिन माइत जान पाउँछन् भन्ने कुरामा बढाइचढाइ भयो । वर्षदिन बुहार्तन सहेर पराइघरमा गुजार्नुपर्ने समस्याको व्यावहारिक समाधान खोज्नुपर्ने पाटो ओझेलमै रह्यो । एक दिन भए पनि स्वतन्त्र तरिकाले गीत गाउँदै नाचेर मनोरञ्जन गर्न पाउँछन् भन्ने कुरा हाइलाइटमा आयो । तर, माइतीको दर खाएर भोलिपल्ट निराहार व्रत बसी ‘स्वामीराजा’ कै नाममा भक्तिगीत गाउनुपर्ने नियम के स्वेच्छिक थियो ? यसमा दबाब थिएन भने यसभित्रको मनोविज्ञानको मूल सत्ता केमा अडिएको छ भन्ने प्रश्नलाई उठ्नै नदिएर किन दबाइयो होला ? यसमा कपट थिएन भने महिलामाथिको यस्तो विरोधाभासपूर्ण सोच र व्यवहारलाई महिलाहरूले चिर्न किन सकेनन् होला ?
ऋषि पञ्चमी : पवित्रता र अपवित्रताको भ्रम
तीज सकिएको लगत्तै ऋषि पञ्चमी आउँछ । यो पर्व पनि महिलाहरूको पवित्रता र अपवित्रताको भ्रमसँग सम्बन्धित छ । महिलाहरूको प्राकृतिक मासिक रजचक्रसँग सम्बन्धित छ । महिनावारीको समयमा पवित्र चिज अनि पुरुषहरूलाई छोएमा त्यसको पाप मोचन गनुपर्ने अवधारणा अघि सारियो र ऋषि पञ्चमी व्रत र पूजाआजा गर्ने चलन चलाइयो । यसबाट सहजै आकलन गर्न सकिन्छ कि धर्म संस्कारभित्र पितृसत्ता हावी छ । यसले प्रकृति प्रदत्त महिलाका विशेषतालाई पनि अभिशाप भनेर अथ्र्याएको छ । यसमा पुरुषलाई पवित्र र महिलालाई अपवित्र जस्तो गरी चित्रित गरिएको छ । यी र यस्ता परम्परागत तर हानिकारक र महिलाद्वेषी अभ्यासलाई पनि कतिपय महिलाले नै बर्सेनि अनुसरण गरिरहेका छौँ । अब त आफूले आफैँमाथि प्रश्न गर्न पनि ढिला भएन र ?
एक महिना अघिदेखि तीजको उपलक्ष्यमा भन्दै दर खाने कार्यक्रम राख्नु र कार्यक्रममा सहभागी हुनु एउटा पाटो भयो । ती पार्टीपिच्छे नयाँ नयाँ पहिरनहरू पहिरिनु, एकरूपता ल्याउने भन्दै यो प्रथालाई तीजवाला युनिफर्म लगाएरै भए पनि एक महिने दर खान हिँडिरहनु, अर्को सभ्यतालाई परिमार्जन नगरिकनै अरू चलन थप्नु भनेको विवेक छाडेर भ्रमकै बाटोतर्फ अगाडि लाग्नु हो । यो अर्को पाटो भयो ।
पुरुषहरूलाई चाहिँ व्रत बस्नुपर्ने, नयाँ गहना र मेकअप तथा झकिझकाउ पहिरनमा सजिएर चाडवाड मनाउनुपर्ने कुनै परम्परागत नियम छैन । सम्भवतः पुरुषहरूलाई त्यतिबेलै थाहा थियो र अहिले पनि थाहा छ, यी सब झमेलाहरू हुन् ।
आजकल त झन् महिलाहरू धर्मको कति गहिराइमा छन् या महिलाहरूमा तुलनात्मक रूपमा अन्धविश्वास कति गढेर बसेको छ भन्ने कुरा पनि बहसमा ल्याउनुपर्ने देखिन्छ । कुनै देवीको मन्दिर परिसरमा केही बेर बसेर अवलोकन गरियो भने त्यहाँ कोही न कोही महिलालाई ‘देवी चढेको’ देख्न सकिन्छ । यसबाट पनि महिलाको अन्तरकुन्तरमा धर्म, पाप, पुण्य, देवी, देवताले कत्तिको घर गरेको रहेछ भनेर भेउ पाउन सकिन्छ ।
पुरुषहरूलाई चाहिँ व्रत बस्नुपर्ने, नयाँ गहना र मेकअप तथा झकिझकाउ पहिरनमा सजिएर चाडवाड मनाउनुपर्ने कुनै परम्परागत नियम छैन । सम्भवतः पुरुषहरूलाई त्यतिबेलै थाहा थियो र अहिले पनि थाहा छ, यी सब झमेलाहरू हुन् । यस्ता काम गरुन्जेल एउटा किताब पढ्न भ्याइन्छ या गाउँ ठाउँमा एउटा सभासम्मेलन नै गर्न भ्याइन्छ । राजनीतिक चिन्तन मनन गर्न भ्याइन्छ । विचार विश्लेषण, आविष्कार, मन्थन गर्न भ्याइन्छ । कतिपय महिलाहरू अझै पनि किन बुझ्न खोज्दैनन् यी कुरा ?
कुनै समयमा तीजमा बिलौनाको मात्र नभएर परिवर्तनको गीत गाएर, क्रान्तिको गीत गाएर पनि तीज मनाइन्थ्यो । यो चाड केही हदसम्म प्रगतितर्फ उन्मुख पनि देखिन्थ्यो । प्रजातन्त्र हुँदै गणतान्त्रिक देशका नागरिक भइसक्दा पनि नेपाली चेतनाले भने तीजलगायतका सबै चाडपर्वहरू मनाउने क्रमलाई निरन्तरता दिएकै छ । निरन्तरता पनि समतामुखी परिमार्जन गरेर होइन, अझ खर्चिलो र भड्किलो बनाएर, देखासिकी गरेर र फेसनेबल बनेर । यसैले प्रश्न गर्न सकिन्छ, कतै महिलाहरूलाई घोर उपभोक्तावादी त बनाउँदै छैनन् यी थपिएका रीतिथितिले ? यस्ता कार्यहरूमा पुरुषहरूका के मतान्तर हुन सक्छन् ? उनीहरूले यो कार्यलाई रोक्नका लागि के गर्न सक्छन् ? महिलाहरू आफैँले संस्कृति पनि नमरोस् र विकृति पनि नभित्रियोस् भन्ने खालका के काम र व्यवहार गर्न सक्छन् ? निकै सोचनीय प्रश्न महिलाहरूसामु खडा भएको छ ।
समतामूलक नयाँ सभ्यतालाई आघात पार्ने पुरानै सोच र ढर्रालाई विश्वव्यापी रूपमा बजारीकृत फेसनका बलमा मनाउँदैमा चाडवाडले संस्कृतिको मूल्य र मानवीय मर्मलाई धान्न सक्दैन । यसले महिलाहरूलाई उपभोक्तावादको पासोमा पारेर समतामुखी समाजतिर अघि बढ्ने यात्राको धारलाई पनि दिग्भ्रमित गर्न सक्छ । यसैले संस्कृति र सभ्यताको हस्तान्तरण र पुस्तान्तरण त गरौँ तर रूपान्तरणलाई ध्यानमा राखेर । युगानुकूल विभेद हटाउने, दिग्भ्रम चिर्ने र आफ्ना चाडवाडलाई सकारात्मक परिमार्जनसहित मनाउने कामको अगुवाइ महिलाबाटै भए झनै राम्रो । यसै पनि फेसन र महिलाको पवित्रतालाई जाँच्ने कसी त हुनै हुन्न, नेपाली चाडवाड ।
याे पनि पढ्नुहाेला
- तीज मनाउनेबारे वैचारिक बहस गर्नुपर्छ – शान्ता मानवी (भिडियो सहित)
- समाज परिवर्तन गर्ने राम्रो अवसर हुन सक्छ तीज –राधा पौडेल (भिडियो सहित)
- विद्यालय नियममा हुनै भएन ‘जेन्डर वायस’
- तीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्छ – कल्पना धमला (भिडियो सहित)
सन्धान प्रकाशन मिति : २०७९ भदाै १० गते, शुक्रवार