Home Opinion विद्यालय नियममा हुनै भएन ‘जेन्डर वायस’

विद्यालय नियममा हुनै भएन ‘जेन्डर वायस’

503
0

हालसालै पश्चिम नेपालको एउटा विद्यालयमा हातमा मेहदी लगाएर विद्यालय आएको निहुँमा छात्राहरूलाई सजाय दिइयो । ‘भोलि यो मेहदी मेटाएर आउँछु’ भन्ने कबुल गराइयो । कान समाएर क्षमा माग्न लगाइयो ।

साउनमा हातभरि मेहदी लगाउने र हरिया परिधानमा सजिसजाउ हुने चलन नेपालमा फस्टाएको छ । जानिफकारहरू यो चलन नेपालमा पहिले नरहेको र भारतबाट आयात भएको बताउँछन् । यो चलनले विद्यालय जाने बालिकाहरूलाई पनि छोएको छ । दूरदराजसम्म पनि यो चलन फैलिएको छ ।

अभिभावक तथा छरछिमेक सबजसो मेहदी र हरियो परिधानमा सजिएको देखिन थालेपछि किशोरावस्थाका बालिकाहरू पनि यसप्रति आकर्षित हुनु नौलो कुरो भएन । कतिपय निजी विद्यालयले नै पनि साना बालिकाहरूलाई साउने सङ्क्रान्तिमा हरियो चुरा र मेहदी लगाउन प्रोत्साहित गरेको पनि सुन्न र देख्न पाइन्छ । त्यसो त विद्यालयमा एकरूपता हुनुपर्छ भन्ने मान्यता अनुरूप रङ्गीचङ्गीभन्दा सादापनलाई ड्रेस कोडको रूपमा लिइने चलन पनि छ ।

बालिका र समाजमा नयाँ चालचलनका रूपमा भित्रिएको संस्कृतिका कुरा हुन् यी । विषय गहन र यसको क्षेत्र व्यापक छ । यसैले यस आलेखमा विद्यालयमा विशेष गरेर बालिकाहरूको विद्यालय पोशाकको साथसाथै कपालको शैलीसँग जोडिएको जेन्डरको सन्दर्भलाई उल्लेख गरिएको छ ।

विद्यालयका बालिका र केश कोरीबाटीको कुरा

गत मार्च महिनामा ललितपुरको एक प्रतिष्ठित विद्यालयकी छात्राले नयाँ हेयर स्टाइल बनाएर विद्यालय जाँदा उनले साथीहरू र विद्यालयकै प्रधानाध्यापकको अनपेक्षित प्रश्नको सामना गर्नुपर्‍यो । कपालको स्टाइलले गर्दा उनी केटी जस्तो नदेखिएको र केटी हुनुमा उनलाई गर्व नलागेको जस्ता प्रतिक्रियाहरू आए । उनी पढाइका साथसाथै खेलकुदलाई पनि निरन्तरता दिइरहेकी परिश्रमी र सक्रिय विद्यार्थी थिइन् । उनले आफ्नो कपाललाई पनि दिनमा कम्तीमा पनि आधा घण्टा त समय दिनु नै पर्दथ्यो । अझ नुहाइ धुवाइ, कपाल सुकाइलगायतका काम गर्दा त हप्ता दिनमा चार पाँच घन्टा समय खेर गएको पत्तै नहुने । अमूल्य समय सदुपयोगका लागि कपालको शैली परिवर्तन गर्दा उनको लैङ्गिकतासँग जोडियो र अनुशासनको दायराभित्र रहेर ती प्रश्नको जवाफ दिन भनियो । यस्तो परिस्थितिको एक्लै सामना गर्न ती छात्रालाई पक्कै पनि कठिन भयो । उक्त विषय विद्यालयको हाताभित्र सीमित रहेन । त्यसलाई लिएर कतिपय मानिसले विद्यालयको नाम र ब्रान्ड ठुलो हुँदैमा त्यसका सञ्चालकहरू लैङ्गिकमैत्री हुन्छन् वा बालबालिकाको समतामूलक हुर्काइप्रति सचेत हुन्छन् भन्ने छैन भन्ने प्रतिक्रियासमेत व्यक्त गरे । यो सकारात्मक परिणामका लागि व्यक्त गरिएको गम्भीर प्रतिक्रिया हो ।

नीरु सरकारी विद्यालयमा पढाउँछिन् । उनकी विद्यालय जाने उमेरकी छोरी निजी विद्यालयमा पढ्छिन् । उनले छोरीलाई तयार गरेपछि घरधन्दा सिध्याएर विद्यालय जानका लागि आफू तयार हुनुपर्छ । बिहान कतिको हतारमा भइन्छ नि भनेर सोध्दा उनी छोरीको कपाल कोरिबाटी गरिदिनैपर्ने भएकाले त्यसका लागि पनि समय छुट्याउनुपर्ने बताउँछिन् ।

दुईचुल्ठे बाट्दा छोरी चिटिक्क हुन्छिन्, केटी सुन्दर नै देखिनुपर्छ या सुन्दर नै हुनुपर्छ भन्ने मानसिकताले काम गरेको छ । साथै, खुला कपालले लेखपढमा हावाले उडाउँदा बाधा पुर्‍याउँछ भनेर पनि दुईचुल्ठे बाटेको हुनुपर्छ भन्ने लाग्छ

‘छोरीहरूलाई दुईचुल्ठे कपाल बाट्ने चलन नभए पनि हुन्थ्यो होला नि है ?’ यस्तो सुन्दा उनी निकै सकारात्मक तरिकाले जवाफ दिन्छिन् । उनको विचारमा विद्यालयमा अनुशासन कायम राख्न यो नियम बनाइएको हो र यस्तो नियम पालनाको फाइदा पनि छ । भन्छिन्, “छोरीको कपाल बाटिदिइसकेपछि खुसी पनि लाग्छ । छोरी अनुशासित र राम्री भएको जस्तो लाग्छ ।”

विद्यालय पोशाकमा घरबाट जाँदा आफ्नी नातिनीको निकै लामो कपाल देखेर एक जना हजुरआमालाई खुसी लाग्छ । उनी छोरी मान्छेको सौन्दर्य नै कपाल हो भन्ने रुढिबुढी रहेको बताउँछिन् । उनकी बुहारी भान्सामा व्यस्त हुन्छिन् । नातिनीको लामो कपाल तिनै हजुरआमाले कोरिदिनुपर्ने हुन्छ । लामो कपाल कोर्दा आफ्ना हात फतक्कै गल्ने र कपाल लट्टा परेर नातिनीलाई पनि दुख्ने समस्याले भने निकै नै पिरोल्छ उनलाई । यसैले भन्छिन्, “आफैंँ कपाल सम्हाल्न सक्ने नहुन्जेल त नातिनीको विद्यालयले कपाल पाल्न नलाए पनि हुन्थ्यो जस्तो लाग्छ ।”सबिना छोराछोरीलाई पढाउन भनेर पूर्वदेखि काठमाडौँ आएर तरकारी पसल गरेर बसेकी छन् । यसै पनि बिहानको समयमा उनी निकै हतारमा हुन्छिन् । तरकारी लिन सबेरै कहिले कालिमाटी त कहिले बल्खु पुग्छिन् । उनकी छोरी सानै छिन् । खाना बनाउ, बच्चालाई तयार गर, छोरीको कपाल कोरिबाटी गर । बिहानको समय निकै नै दौडधुप र धपेडीपूर्ण लाग्छ उनलाई ।

सबिना छोराछोरीलाई पढाउन भनेर पूर्वदेखि काठमाडौँ आएर तरकारी पसल गरेर बसेकी छन् । यसै पनि बिहानको समयमा उनी निकै हतारमा हुन्छिन् । तरकारी लिन सबेरै कहिले कालिमाटी त कहिले बल्खु पुग्छिन् । उनकी छोरी सानै छिन् । खाना बनाउ, बच्चालाई तयार गर, छोरीको कपाल कोरिबाटी गर । बिहानको समय निकै नै दौडधुप र धपेडीपूर्ण लाग्छ उनलाई ।

भ्याइनभ्याइ हुन्छ । हुन त श्रीमान् पनि सँगै देखिन्छन् उनका तर तिनले छोराछोरी तयार गर्न केही पनि सघाउँदैनन् । मोबाइल हेरेर बसिरहन्छन् । सबिनालाई छोरीको कपाल पनि छोराको झैँ छोटो बनाइदिन पाए अलिकति भने पनि हलुका हुन्थ्यो भन्ने लाग्छ ।

राधाको भने अलि फरक छ स्थिति । उनका श्रीमान् बिहान छोराछोरीलाई तयार गर्ने, छोरीको कपाल पनि कोरिबाटी गरिदिने, विद्यालय पोशाकमा आइरन लगाउने, मैला कपडा धुने आदि काम बिनाहिचकिचाहट गर्छन् । छोरीको कपाल लामै हुनुपर्ने, उनले कपाल बाटेर विद्यालय जानुपर्ने किन ? भन्ने प्रश्नलाई भने अहिलेसम्म आफूहरूले विश्लेषण नै नगरेको बताउँछन् राधा दम्पती ।

छात्राहरूको केश र कोरीबाटीको विषयमा मकवानपुर जिल्लाको नाम चलेको एक निजी विद्यालका प्रधानाध्यापक यस्तो तर्क गर्छन्– दुईचुल्ठे बाट्नु, कपाल पाल्नु दुवै विभेद भनौँ या चलन नियम, यो समाजले दिएको कुरो हो । विद्यालय पनि समाजबाट पृथक हुँदैन । उनका अनुसार, दुईचुल्ठे बाट्दा छोरी चिटिक्क हुन्छिन्, केटी सुन्दर नै देखिनुपर्छ या सुन्दर नै हुनुपर्छ भन्ने मानसिकताले काम गरेको छ । साथै, खुला कपालले लेखपढमा हावाले उडाउँदा बाधा पुर्‍याउँछ भनेर पनि दुईचुल्ठे बाटेको हुनुपर्छ भन्ने लाग्छ उनलाई । ती प्रधानाध्यापकका अनुसार, उनको विद्यालयमा दुईचुल्ठे अनिवार्य छैन । कैयौँ विद्यालयका प्रिन्सिपल या शिक्षक केवल पढाउँछन् । उनीहरू नियमको कुरा त गर्छन् तर उनीहरूमा लैङ्गिक सचेतना या विश्लेषण गर्ने क्षमता देखिँदैन । त्यसो हुँदो हो त छात्रामाथि यौनजन्य दुराशय राख्ने पनि थिएनन् ।

लैङ्गिकताको परम्परागत मान्यतालाई नछोइकन भन्नुपर्दा महिलाको कपालका धेरै महत्त्वपूर्ण पाटा छन् । केशले महिलाको व्यक्तित्वमा निखार ल्याउँछ । सम्पूर्ण अनुहारको सुन्दरतामा यसले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यी हाम्रा सामाजिक मान्यता हुन् ।

महिला र कपालको सम्बन्धमा मान्यता

हिन्दु संस्कृति मान्ने समुदायमा लामो कपाललाई सौन्दर्यको प्रतीक नै मानिन्छ । धार्मिक मान्यताका अनुसार भने महिलाको कपाल लामो हुनुपर्छ तर त्यसलाई बाँधेर या बाटेर राख्नुपर्छ । कपाल बाँध्नु भनेको सम्बन्धलाई पनि बाँध्नु हो । कपाल फिँजाएर हिँड्दा नकारात्मक विचारहरू मनमा पैदा हुन सक्छन् । अझ भन्नुपर्दा महिलाले कपाल तब खुला छोड्न सक्छन् जब उनको लोग्नेको मृृत्यु हुन्छ । यस्ता खालका सामाजिक मूल्यहरू महिला र कपालकै बारेमा छन् । हाम्रा यस्तै मान्यताको अंश विद्यालयमा छात्राले कपाल कोरीबाटी चुल्ठी गरेर जानुपर्ने नियममा परेन होला भनेर पक्कै पनि भन्न सकिँदैन ।

पश्चिमा राष्ट्रहरूमा परम्परागत रूपमा लाम्चिलो, रौँहरू नभएको सफा र चम्किलो, सलल परेको चिल्लो कपाल र सुनौलो रङयुक्त अनुहारलाई आदर्श महिलाको अनुहारका रूपमा लिइन्छ ।

बालिकाहरू भविष्यमा गएर आर्थिक रूपमा सक्षम भए त समस्या नहोला, होइन भने त यस्तो व्यय पुरुषले उठाउनुपर्ने हुन्छ । यसरी बालिकादेखि महिलालाई सौन्दर्यसँग जोडिएको छ र खर्चालु मान्छेको उपमा पनि दिइएको छ ।

लैङ्गिकताको परम्परागत मान्यतालाई नछोइकन भन्नुपर्दा महिलाको कपालका धेरै महत्त्वपूर्ण पाटा छन् । केशले महिलाको व्यक्तित्वमा निखार ल्याउँछ । सम्पूर्ण अनुहारको सुन्दरतामा यसले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यी हाम्रा सामाजिक मान्यता हुन् । यिनै मान्यताबाट निर्देशित हुँदै शिशु तहदेखि बालिकाहरूलाई दुईचुल्ठे बाटेर रिबन लगाइवरी विद्यालय पठाउनुपर्ने नियम धेरै विद्यालयहरूमा बनाइएको छ । सञ्चार माध्यममा धेरै चलेका बालबालिकासम्बन्धी कार्टुनमा पनि विद्यालयका छात्राहरूलाई दुईचुल्ठे कपालमै देखाइएको हुन्छ ।

कपालको अर्थशास्त्र

विद्यालय पढ्ने उमेरका बालिकाहरूको कपाल बाटेर विद्यालय पठाउने कुरासँगै अर्थशास्त्रको बजारीकरण पनि जोडिएर आउँछ । लामो कपाल भएपछि यसलाई धोइपखाली गर्न पानी, स्याम्पु, कन्डिसनरलगायतको जोहो पनि गर्नै पर्छ । कपाल नुहाउनेबितिक्कै कपाल सुकिहाल्दैन । यसले पनि समय लिन्छ । त्यस्तै परे छोरीहरूले कपाल सुकाउने हेयर ड्रायरको माग गर्छन् । सकेसम्म किनिदिनै पर्छ ।

फेसन भन्ने कुरो आजकल दुर्गम होस् या सुगम, धनी होस् या गरिब नगरी नहुने जस्तो भइसकेको छ । यसले के देखाउँछ भने आर्थिक रूपले पनि महिलालाई आवश्यक पर्ने सामग्रीहरू खर्चिला हुन्छन् । खर्चिला भए पनि छोरी मान्छेलाई चाहिन्छ नि कस्मेटिक सामग्री भन्ने मान्यता बन्छ र अभ्यास नै बस्न जान्छ । यसरी प्रायः विश्लेषण गर्ने गरिएको पाइँदैन ।

एक शिक्षक समाजमा छोरी ‘गुडिया जस्तो सुन्दर’ हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै ‘यो पितृसत्तात्मक सोचको उपज हो’ भन्छन् ।

बालिकाहरू भविष्यमा गएर आर्थिक रूपमा सक्षम भए त समस्या नहोला, होइन भने त यस्तो व्यय पुरुषले उठाउनुपर्ने हुन्छ । यसरी बालिकादेखि महिलालाई सौन्दर्यसँग जोडिएको छ र खर्चालु मान्छेको उपमा पनि दिइएको छ । यस्ता विरोधाभासहरू दैनन्दिनका स्कुलिङहरूबाट आइरहेका छन् । के यसबारेमा हामीले गम्भीर भएर सोचेका छौँ ? मनन गर्नुपर्ने छ ।

विद्यालयहरूमा पोशाक नियम

अधिकांश विद्यालयमा पोशाक नियम छन् । सामान्यतया विद्यालयहरूमा पोशाक नियमको रूपमा केटीहरूले सर्टस्कर्ट लगाउनुपर्ने हुन्छ । केटाहरूले सर्टपेन्ट, टाई, ज्याकेट, ट्राउजर लगाउनुपर्ने नियम छ ।

छात्राहरूको पोशाकको विषयमा निजी विद्यालयका एक शिक्षक समाजमा छोरी ‘गुडिया जस्तो सुन्दर’ हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै ‘यो पितृसत्तात्मक सोचको उपज हो’ भन्छन् । त्यसो त उनी स्कर्टले छात्राहरूलाई प्रशस्त खेल्ने कुद्ने कार्यमा नै व्यवधान पुर्‍याइरहेको हुन्छ पनि भन्छन् । यो विषयमा विद्यालय प्रशासनहरूले विशेष ध्यान पुर्‍याएर छात्र र छात्राको विद्यालय पोशाकको नियममा एकरूपता ल्याउनुपर्ने देखिन्छ ।

लामो कपालको लठ्ठोलाई दिनुपर्ने समयको मूल्य छोरीले जीवनभर चुकाउनेपर्ने अवस्थाको अहिल्यैदेखि अन्त्य नखोज्ने किन ? छोरा सरह छोरीलाई लामो कपाल पाल्ने कि नपाल्ने भन्ने छनोटको सुविधा विद्यालयको नियमदेखि नै दिनसके बुद्धिमानी होेला र ?

कपालमा अल्झिएको समयको मूल्य

बालिकाहरूले विद्यालय जानका लागि हरेक दिन गर्नुपर्ने तयारीका लागि पनि बालकको तुलनामा लामो कपाल पालनुपर्ने नियमका कारण बढी समय खर्च गर्न बाध्य छन् । कपाल कोरिबाटी गर्नुपर्ने, आफू तयार भएर भाइबैनीहरूलाई पनि तयार गर्नुपर्ने हुन्छ । त्यसपछि हस्याङ फस्याङ गर्दै विद्यालय जानुपर्ने अवस्थाका धेरै छात्राहरू टोल छिमेकमा नै देखिन्छन् । सहर बजारमा गृहिणी तथा कामकाजी आमाहरूले छोरीको कपाल कोरीबाटी गर्ने कि खाना तयार गर्ने ? कामकाजी आमाहरूले आफू तयार हुने समय कसरी निकाल्ने ? बालिकालाई कपाल बाटेर विद्यालय पठाउनुपर्ने नियमका कारण कतिपय परिवारमा एक प्रकारको तनाव नै देखिन्छ । कतिपय बाबुहरू पनि छोरीको कपाल कोरिबाटी गर्ने सिप र समय निकाल्नुपर्ने अवस्थामा छन् । भलै यसलाई विद्यालयको नियम भनेर अथवा छोरी चिटिक्क देखिन्छे भनेर अथवा छोरी सानी हुँदासम्म त हो नि, पछि आफैँ गर्न सकिहाल्छे भनेर पनि अभिभावकको तर्फबाट आँखा चिम्लिने गरिएको किन नहोस् ।

प्रश्न उठाउन सकिन्छ, लामो कपालको लठ्ठोलाई दिनुपर्ने समयको मूल्य छोरीले जीवनभर चुकाउनेपर्ने अवस्थाको अहिल्यैदेखि अन्त्य नखोज्ने किन ? छोरा सरह छोरीलाई लामो कपाल पाल्ने कि नपाल्ने भन्ने छनोटको सुविधा विद्यालयको नियमदेखि नै दिनसके बुद्धिमानी होेला र ?

सामाजिकीकरणमा कोही पनि ठगिनु भएन

परिवारपछि विद्यालय नै सामाजिकीकरणको प्रक्रियाको प्रमुख निकाय हो । तर, अझैसम्म पनि अधिकांश विद्यालयहरूको नियम छात्र र छात्राप्रति मैत्रीपूर्ण र समानतामा आधारित रहेको पाइँदैन । यसो हुनुमा उही परम्परागत मान्यताले भूमिका खेलेको देख्न सकिन्छ । ४–५ वर्षदेखि १५–१६ वर्षसम्मको उमेर सिकाइको उमेर हो । यो उमेरमा विद्यालय पोशाक नियमले पनि पुरुषत्व तथा स्त्रीत्वको विभेदकारी भाव त सिकिरहेका छैनन् छोराछोरीहरूले भन्ने प्रश्न पनि उठ्न सक्छ ।

महिला र पुरुषका केही जैविक फरकपन र भूमिका बाहेकका अरू सामाजिकीकरणका पक्षहरू सम्बन्धित समाजले निर्धारण गरिदिएकाले असहज व्यक्तित्व व्यवस्थापनलाई सहज बनाउने जिम्मा समाजकै सचेत नागरिकहरूको हो ।

विद्यालयको पोशाक या कपाललगायत व्यक्तिगत सरसफाइ र हाउभाउले विद्यार्थीहरूमा अनुशासन र समानता कायम राख्न मद्दत पुर्‍याउँछ भन्ने धारणा रहिआएको छ । आजका विद्यार्थीहरू भोलि कस्तो व्यक्तित्वको देखिएला भन्ने अनुमानका आधारमा सामान्यतया छात्रहरूले लगाउने विद्यालय पोशाक तय गरिएको हुनसक्छ भन्न पनि सकिन्छ । उता, छोरीहरूलाई स्कर्ट लगाउनुपर्ने पोशाक नियमले उनीहरूको खेल्ने, कुद्ने, बस्ने तरिकाहरूलाई प्रतिबन्धित गर्छ भन्ने निष्कर्ष पनि निक्लन सक्छ ।

आफू जन्मेर हुर्कंदै गरेको समाजका लैङ्गिक मूल्य मान्यताहरूले महिलाको स्वतन्त्रतालाई परिवारदेखि नै खुम्च्याउँदै लगेको छ । यस परिप्रेक्ष्यमा विद्यालयका पोशाक या कपालको साजसज्जाको नियमलाई पनि भिन्न मान्न सकिँदैन । समाजशास्त्रीहरूको मान्यता छ, विद्यालयमा भाषा, बसाइ व्यवस्थापन, पोशाक नियम र कपालको नियमले जेन्डर स्टेरियोटाइप तथा प्रष्ट रूपमा परम्परागत सामाजिक लैङ्गिक भूमिका निभाइरहेको त छैन ?

विद्यमान अनुशासनका नियम विपरीत कसैले आफ्नो धारणा राख्दा उक्त व्यक्ति अनुशासनको दायराबाट बाहिर त पर्न सक्छ तर लैङ्गिक रूपले कुनै लिङ्ग कपालकै कारणले या पोशाककै कारणले सामाजिकीकरणमा ठगिनु हुँदैन । यस्तो भएको छ भने त समानता र न्यायको पक्षमा आवाज मुखरित हुनै पर्छ ।

महिला र पुरुषका केही जैविक फरकपन र भूमिका बाहेकका अरू सामाजिकीकरणका पक्षहरू सम्बन्धित समाजले निर्धारण गरिदिएकाले असहज व्यक्तित्व व्यवस्थापनलाई सहज बनाउने जिम्मा समाजकै सचेत नागरिकहरूको हो । विद्यालयले समताप्रति सकारात्मक भूमिका निर्वाह गर्न सक्छ ।

अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । विद्यालय उमेरका बालबालिकाहरूको सर्वोत्तम हितका बारेमा निर्णय गर्ने काम अभिभावक, विद्यालय सञ्चालक, राज्य सबैको हो । यसर्थ, बालिकाहरूलाई उनीहरूको पोशाक र कपालको शैली र सज्जाले पनि अप्ठेरो परेको छ कि भनेर विचार गर्न ढिला भइसकेको छ । अप्ठेरो परेको भए सहज र समान हुने नियम बनाउनेतर्फ लाग्नु पनि सम्बन्धित निकाय र व्यक्तित्वहरूकै दायित्वमा पर्न आउँछ । लैङ्गिक समानताका लागि सरोकारवाला सबैले नै जिम्मेवार हुन जरुरी छ ।

याे पनि पढ्नुहाेला

फेसन र महिलालाई जाँच्ने कसी हुन् र चाडवाड ?

सन्धान प्रकाशन मिति : २०७९ साउन २३ गते, साेमवार