- राधिका अधिकारी
लुम्बिनी प्रदेशकी पाल्पा–३८ को बिहे भएको ८ महिना मात्रै भएको थियो । घरमा पारिवारिक जमघट भयो ।श्रीमान्काआफन्तहरू जम्मा भएका थिए । २०७१ वैशाखमा विवाह गरेर छोरीबाट बुहारी भएकी उहाँ पराई घरका धेरै कुरा सिक्दै हुनुहुन्थ्यो । तर, उहाँ बेलाबेलामा आफूलाई ‘बुहारी हुँ’ भन्ने सोचमा सीमित नराखेर घरका मानिसहरूलाई पनि माइतकै मानिसलाई झैँ आत्मीय व्यवहार गर्नुहुन्थ्यो । उहाँले त्यसदिन पनि खुलेर हाँस्ने र बोल्ने प्रयास गर्नुभएको थियो । उहाँको खुलस्तपनामाथि श्रीमान्ले थप्पड मार्नुभयो ।
ठुलो स्वरमा बोलेकै बेला सबैका अगाडि पाल्पा–३८ को गालामा थप्पड लगाइएको थियो । थप्पडपछि आपसमा कुरा गरिरहेका सबैमा सन्नाटा छायो । उहाँले श्रीमान्सँग प्रश्न गर्नुभयो, “किन ?” श्रीमान्काे मुखबाट बोली निस्कनुअगावै आफन्तहरूमध्ये कुनै एकको स्वर सुनियो, “श्रीमान्–श्रीमतीमा कहिलेकाहीँ यस्तो भैहाल्छ नि !” त्यसमाथि श्रीमान्सँग दिदी आमाजूले थप्नुभयो, “श्रीमान्काे थप्पडमा माया लुकेको हुन्छ ।”
पेसाले पत्रकार भए पनि उक्त जमघटमा भएको घटनामा पाल्पा–३८ ले प्रतिक्रिया जनाउन सक्नु भएन । “सबैले एक स्वरमा भनेको कुरा, सही नभए पनि हो जस्तो लाग्ने रहेछ,” काठमाडौँ जिल्ला अदालत अगाडिको क्याफेमा भेटिनुभएकी उहाँले भन्नुभयो, “तर त्यो थप्पड मायाको होइन भन्ने मलाई थाहा थियो ।”

विवाहअघि नै पाल्पा–३८ को स्नातकको पढाइ सकिइसकेको थियो । उहाँ काठमाडौँको एक राष्ट्रिय दैनिकका लागि जिल्लाबाटै समाचार पठाउने गर्नुहुन्थ्यो । उहाँले महिला अधिकारका सवालमा पनि कलम चलाउँदै आउनुभएको थियो । उहाँलाई त्यस दिनको घटनाले नमज्जासँग बिथोलिरह्यो । “गलत भयो भनेर थाहा पाउनु तर गलत भयो भन्न नसक्नुले धेरै पीडा दिने रहेछ,” उहाँले भन्नुभयो, “यो कुराले मलाई भयङ्कर पश्चातापको रापले जलायो ।”
पाल्पा–३८ माथि त्यसपछि पनि ‘मायाको मुक्का’ को प्रहार हुन छोडेन । बेलाबखत ससाना कुरामा पनि समाजले निर्माण गरेको त्यही भाष्यमा टेकेर श्रीमान्ले हात छोड्ने क्रम जारी रह्यो । “ममाथि उनको मुक्का बर्सिन ठुलो कारण नै चाहिँदैनथ्यो,” उहाँले भन्नुभयो, “कहिले कामबाट फर्किंदा ढिलो भएको, कहिले अरू मानिससँग बोलेको, कहिले घरको काम नसकिएको बहानामा पिटाइ खान्थेँ ।”
श्रीमान्काे त्यस किसिमको दुर्व्यवहारबाट आजित उहाँले ‘म यो घर छोडेर जान्छु’ भनेर धेरै पटक सोच्नुभयो । त्यस्तो सोच मनमा आएपछि उहाँले घर छोडेर निस्किएपछि आफू जाने सम्भावित ठाउँहरूको लेखाजोखा पनि गर्नुहुन्थ्यो । सम्भावित ठानिएका कुनै पनि ठाउँमा उहाँको मन एक–दुई दिनभन्दा बढी टिक्न सकेन । “त्यसपछि कहाँ जाने भन्ने चिन्ताले म अपमानका थप्पड सहेर बसेँ,” उहाँले भन्नुभयो, “समाज हरेक पटक त्यही थप्पडलाई माया भनिरहेको थियो ।”
पाल्पा–३८ लाई स्वतन्त्र मान्छे मान्नसमेत श्रीमान् तयार नभएको उहाँको कुराले नै देखाउँथ्यो, “तिमी कसैकी श्रीमती, कसैकी बुहारी हौ ।” त्यसमाथि दुर्व्यवहारको त कुरै गर्नु परेन । गरिरहेको काममा प्रोत्साहन गर्नुको सट्टा गिराउने काम मात्र श्रीमान्बाट भइरहेको थियो । त्यो सब उहाँलाई ठिक लागिरहेको थिएन । विगतलाई सम्झँदै उहाँले भन्नुभयो, “जीवनको एउटा विन्दुमा आइपुग्दा म केही नजान्ने मान्छे रहेछु जस्तो लाग्यो । मैले आफ्नो क्षमता बिर्सिन थालिसकेको थिएँ । मैले झन्डै जीवन बिर्सिएको थिएँ ।” उहाँले आफ्नो मानसिक स्वास्थ्य पनि बिग्रँदै गएको बताउनुभयो ।
पाल्पा–३८ श्रीमान्सँग अलग भएर बस्न चाहनुहुन्थ्यो तर त्यस्तोबेला उहाँको अगाडि दिदीको मुहार आउँथ्यो । उहाँकी दिदी ‘डिभोर्सी’ हुनुहुन्थ्यो । ‘डिभोर्सी’ भएकै कारण दिदीप्रति समाजको दृष्टिकोण नकारात्मक रहेको उहाँले थाहा पाउनुभएको थियो । त्यसैले पनि उहाँले आफ्नो सम्बन्धविच्छेदको निर्णय लिन सकिरहनुभएको थिएन ।
पाल्पा–३८ ले आफूले भोग्दै आएको पीडाबारे माइतीमा पटक पटक कुरा राख्नुभयो । उहाँको कुरा दिदीकै अवस्थामा पुगेर टुङ्गिन्थ्यो– समाजमा यसका कुनै छोरीले घर गरेर खान सकेनन् भनेर कुरा काट्छन् । समाजमा कुरा काट्नेले नजर लगाउन नपाऊन् र आफ्नो माइतीलाई कसैले केही नभनोस् भनेर उहाँ ६ वर्षको छोरा बोकेर २०७८ पुस ८ गते काठमाडौँ पस्नुभएको थियो ।
काठमाडौँको नयाँ बानेश्वरमा डेरा लिएर छोरोसहित बस्न थालेपछि उहाँले जिल्लाबाट रिपोर्टिङ गर्दै आएको पत्रिकामा काठमाडौँबाटै काम गर्न पनि थाल्नुभयो । काठमाडौँ आएपछि पनि उहाँले श्रीमान्बाट मानसिक हिंसा खेप्नुपर्यो । “फेसबुक, टिकटकमा आउने श्रीमती पिटेका भिडियोहरू दिनहुँ फेसबुकमा पठाउन थाल्नुभयो,” उहाँले भन्नुभयो, “तँलाई पनि यसै गर्नुपर्ने हो भनेर लेख्नुहुन्थ्यो ।” त्यसपछि बल्ल आफू श्रीमान्सँग छुट्टिने नै निर्णयमा पुगेको पनि उहाँले बताउनुभयो ।
श्रीमान्लाई उहाँले भन्नु पनि भएको थियो, “सँगै बस्न हाम्रो विचार मिलेन । कानुनीरूपमै छुट्टिएर बसौँ ।” प्रत्युत्तरमा श्रीमान्बाट श्रीमती पिटिँदै गरेको भिडियोसहित ‘तँलाई यसैगरी कुट्न नपुगेको’ भन्ने अपमानजनक र हेपाहा जवाफ पाउनुभयो । त्यस्तो जवाफ ओइरिन थालेपछि झन् धेरै ‘आइसोलेट’ हुनुभयो र आफैँसँग डराउन थाल्नुभयो । उहाँको काँधमा छोराको जिम्मेवारी थियो । “आमा भएपछि थाक्न पनि त नपाइने रहेछ,” उहाँले भन्नुभयो “काम गर्न मन लाग्दैनथ्यो तर मसँग काम गर्नुको विकल्प थिएन ।”
विसं २०७९ असारको पहिलो साताको एक बिहान पाल्पा–३८ को मोबाइलमा भारतीय जोडीले ‘टिकटक कन्टेन्ट’ का लागि सुट गरेको भिडियो आयो । त्यसमा पतिले पत्नीलाई कुटेको दृष्य थियो र त्यो श्रीमान्बाट नै आएको थियो । उक्त भिडियो हेरेपछि ‘म केका लागि यो कुरा सहेर बसिरहेको छु ?’ भनेर उहाँले आफैँसँग प्रश्न गर्नुभयो र निर्णायक कदम चाल्नका लागि आफूलाई तयार पार्नुभयो ।
पाल्पा–३८ ले काठमाडौँ जिल्ला अदालतमा श्रीमान्सँग सम्बन्धविच्छेद गरी पाऊँ भनेर असार ८ गते मुद्दा दर्ता गर्नुभयो । उहाँ पारिवारिक सहमतिमा जोडिएको सम्बन्ध आपसी सहमतिमै तोड्न चाहनुहुन्थ्यो । उहाँले आफ्ना श्रीमान्लाई त्यो कुरा भन्नु पनि भएको थियो तर त्यति सजिलै श्रीमतीलाई सम्बन्धबाट छुटकारा दिने नियत श्रीमान्काे देखिएन । अदालतले बोलाउँदासमेत तीन पटकसम्म उपस्थित नै नभएर चौथो पटक मात्र अदालत पुगेका श्रीमान्काे भनाइ थियो, “तेरो के छ र ? त्यो छोरो पनि मेरो हो ।”
अदालत परिसरमै पाल्पा–३८ ले पनि भन्नुभएको थियो, “हो लैजाऊ तिम्रो छोरा । पाठेघर पनि तिम्रै होला त्यो पनि लिएर जाऊ ।” काठमाडौँ जिल्ला अदालतको इजलासमा प्रतिपक्षी वकिल र न्यायाधीशले पनि बारम्बार छोरो कसरी हुर्काउँछौ भनेर प्रश्न गरेको तितो अनुभव बताउँदै गर्दा उहाँका आँखा आँसुले भरिएका थिए । लोग्नेको वचनले गर्दा “लैजाऊ तिम्रो छोरा” भने पनि र इजलासका प्रश्नले मर्ममै छेडे पनि उहाँले छोरो छाड्न भने सक्नु भएन र भन्नुभयो, “जबसम्म छोराले म आफ्नो बाबासँग बस्छु भन्दैन तबसम्म दिन्नँ ।”
धेरै पटक श्रीमान्ले आफूलाई ‘तँ को होस् ? तँलाई चिन्दिनँ’ समेत भनेको पनि पाल्पा–३८ ले सुनाउनुभयो । त्यसपछि उहाँले सम्बन्धविच्छेदसँगै अंश मुद्दा पनि दायर गर्नुभयो । २०८१ जेठ २४ गते उहाँको मुद्दाको फैसला भयो । “काठमाडौँ जिल्ला अदालतले अंश दिनू भनेर फैसला गरे पनि उक्त फैसलाको कार्यान्वयन भने अहिलेसम्म भएको छैन,” उहाँले भन्नुभयो ।
पहिचानको अभावले सधैँ लखेट्ने
अर्चना थापाको स्तम्भ ‘टेलिङ अ टेल’ मा साहित्यकार सगुना शाहले आफ्नो जीवनकथा प्रस्तुत गर्दै सम्बन्धविच्छेद र त्यसपछिका जीवनभोगाइलाई खुलस्त पार्नुभएको थियो । त्यसअनुसार, सगुनाले पाँच वर्षभन्दा बढी समय श्रीमान्सँग अलग बसेपछि सन् २०१० मा कानुनीरूपमा पारपाचुके गर्नुभयो । पारपाचुके भएको थाहा पाएपछि सचेत मानिएका व्यक्तिलाई समेत अचम्ममा पारेको पाउनुभयो । कतिपयले आफूसँग कुरा गर्न आएको सम्झना पनि उहाँले गर्नुभयो ।

सगुनाको विवाह १७ वर्षको उमेरमा भएको थियो । श्रीमान्सँग छुट्टिएर बस्छु भनेर निर्णय गर्दा उहाँ ३० वर्षको हुनुहुन्थ्यो । त्यसबेला उहाँका छोराहरू १० र ६ वर्षका थिए । आफ्नो जीवनभोगाइलाई प्रस्तुत गर्दै गर्दा उहाँ लगभग ५० वर्षकी हुनुहुन्थ्यो । त्यतिबेला उहाँले कानुनीरूपमै श्रीमान्सँग छुट्टिएको पनि १५ वर्ष पूरा भइसकेको थियो ।
सम्पन्न परिवारकी छोरी र बुहारी भए पनि सगुनालाई आफूमाथि श्रीमान्बाट भएको गलत व्यवहारबाट बाहिर निस्कन समय लाग्यो । उहाँका अनुसार, बितेको समयको उति साह्रै सम्झना गर्नु छैन किनकि त्यो सम्बन्धबाट बाहिर निस्किएपछि आफूले खेपेको हन्डरले नै पुराना थुप्रै घाउलाई पुरिसके । “पुरिए पनि शरीरका घाउ मनमा लागेको घाउ नपुरिँदो रहेछ,” उहाँले लामो सुस्केरा हाल्दै भन्नुभयो, “जसको ट्रमा जिन्दगीभरि बोकेरै हिँडिरहेकी छु ।”
सगुनालाई सम्बन्धविच्छेद भएपछि कहाँ जाने भन्ने चिन्ता गर्नुपर्ने स्थिति थिएन । माइतमा उहाँका दाजुभाइ थिएनन् । बुबाको मृत्यु हुँदा सगुना १० वर्षकी हुनुहुन्थ्यो । आमाले एकल भएर सन्तान हुर्काउन मानसिकरूपले खेपेको यातना देखेरै उहाँ हुर्किनुभएको थियो । विवाहपछि सगुनाका दुई छोरा भए । लामो समयसम्म गलतलाई गलत भन्दाभन्दै पनि त्यस्ता कुराको विरुद्ध उठ्न नसक्नुको कारण पनि दुई छोरा नै थिए ।
“मेरा बच्चाहरूलाई ‘ब्रोकन घर’ को ट्याग लाग्ला भनेर पिर लाग्यो,” उहाँले भन्नुभयो, “आफ्नो बाल्यकाल बुबाविना बितेकाले पनि मेरा छोराहरूले त्यो नभोगून् भन्ने लाग्थ्यो ।” यद्यपि, जीवनको एउटा विन्दुमा पुगेपछि उहाँलाई छोराहरू अभिभावकविहीन बन्लान् भन्ने चिन्ताभन्दा पनि उनीहरूले के सिक्दै हुर्केलान् भन्ने भयले सतायो ।
छोराहरू पनि पुरुष भनेको स्त्रीलाई प्रताडना दिने व्यक्ति हो भनेर हुर्किए भने र पछि अरूका छोरीमाथि पनि त्यस्तै हिंसा गरे भने के होला ? त्यसका लागि आफू नै जिम्मेवार हुनेजस्तो लागेपछि बल्ल आफूले सम्बन्धविच्छेदको बाटो रोजेको उहाँले सुनाउनुभयो । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर र फ्रान्सेली भाषामा ‘एड्भान्स डिग्री’ लिएकी सगुना बहुमुखी प्रतिभाकी धनी व्यक्ति हो ।
अभिनय, अनुवाद, लेखन तथा शिक्षण कार्यमा लागेको र आर्थिकरूपमा बलियो व्यक्ति हुँदाहुँदै पनि पारपाचुकेपछि आफूले पहिचानविहीनताको अनुभूति गरेको उहाँको भनाइ थियो । “म विवाहित पनि होइन अविवाहित पनि होइन । म हो चाहिँ के भन्ने कुराले भावनात्मक असर गरिरहेको हुने रहेछ,” उहाँले भन्नुभयो, “पासपोर्ट बनाउने बेलामा मैले ‘म के हुँ’ भनेर थुप्रै पटक सोचेकी छु ।”
पछिल्ला दिनहरूमा बेलाबेलामा “म को हुँ” भनेर उहाँले आफैँसँग प्रश्न गर्न थाल्नुभयो । सरकारी अड्डातिर विवाहित र अविवाहित भन्ने पहिचान मात्र छ । यी दुबै विकल्प उहाँका लागि बोझिला थिए । उहाँले भन्नुभयो, “म यी दुबै समूहमा पर्दिनँ । यसले जीवन बाँच्नका लागि असहज त बनाएको छैन तर मेरो परिचय खोइ त भन्ने भावनात्मक प्रश्न र आघात हुने रहेछ ।”
मेरो नाममा झुटा अभिलेख बनाइयो

सुदूरपश्चिम प्रदेशकी डोटी–३७ को २०६८ माघमा २० वर्षको उमेरमा मागीविवाह भयो । उहाँको वैवाहिक जीवनले लामो यात्रा तय गर्न भने सकेन । श्रीमान्–श्रीमतीबिच भावनात्मक मेल हुन सकेन । उहाँका श्रीमान्ले लामो समयदेखि दीर्घरोगको औषधि सेवन गर्दै आएको कुरा उहाँलाई विवाह भएको धेरैपछि मात्र थाहा भयो । आफन्तले झुक्याएर विवाह गराइदिएका रहेछन् ।
शारीरिकभन्दा धेरै उहाँले मानसिक यातना भोग्नुभयो र २०७० साल फागुनमा काठमाडौँ जिल्ला अदालतबाट सहमतिमै श्रीमान्सँग पारपाचुके गर्नुभयो । सहमतिमामा सम्बन्धविच्छेद गर्दा आफू रहेकै ठाउँबाट गर्न मिल्ने भएर उहाँले काठमाडौँ जिल्ला अदालतबाटै सम्बन्धविच्छेद गरेको, त्यसपछि सासूससुरासँग विदा माग्न घर गएर केही महिना बसेपछि फेरि त्यो घरमा नफर्किने गरी काठमाडौं आएको उहाँको भनाइ थियो ।
श्रीमान्सँग सम्बन्धविच्छेद गर्दा उहाँको काखमा ६ महिनाको छोरा थियो । विसं २०७१ असारमा १० महिनाका छोरा बोकेर काठमाडौँ आएकी डोटी–३७ ले समाजमा सबैसँग आफू ‘डिभोर्सी’ भएको कुरा खुलाउन सक्नु भएन । “हामी डिभोर्सी महिलालाई हेर्ने समाजको नजर आज पनि राम्रो छैन,” उहाँले भन्नुभयो, “अर्को कुरा मेरो छोरालाई पनि यसले असर गर्ने रहेछ ।”
एकल भएकै कारण समाजबाट भोगेको लाञ्छना, अपमान र तिरस्कारको लामो सूची छ डोटी–३७ सँग । सम्बन्धविच्छेदपछि समाजका विभिन्न तप्काले देखाएको रवैया र प्रतिक्रियाले उहाँलाई आक्रोशित बनाएको पाइयो । सम्बन्धविच्छेद गर्ने समयमा जाहेरीमा उल्लेख गरिएका शब्दहरूले आफूलाई झनै अन्याय र अपमानित गरेको उहाँको भनाइ थियो ।
श्रीमान्सँग एकाघरमा रहँदासम्म डोटी–३७ ले न त घर छोडेर हिँड्नुभएको थियो न त परिवारले उहाँलाई खानलाउन नदिने काम गरेको थियो । श्रीमान्सँग भित्री समस्या त थियो तर श्रीमान्काे परिवारका सदस्यहरूले उहाँलाई कहिल्यै नराम्रो व्यवहार गरेका थिएनन् । सम्बन्धविच्छेदको समयमा भने उहाँमाथि घर छोडेर हिँडेको, परिवारलाई नहेरेको भन्ने आरोप लगाइयो ।
आरोपका पछाडि जाहेरीमा डोटी–३७ का तर्फबाट भनी लेखिएका बनिबनाउ र हुँदै नभएका कुरा पनि कारण बनेका थिए । सासू, ससुराले नराम्रो व्यवहार गरेको, खान लगाउन नदिएको लगायतका कुरा पनि मेरो जाहेरीमा थपियो । “जाहेरीमा जे उल्लेख गरियो, त्यो गलत थियो,” उहाँले भन्नुभयो, “मैले जे हो त्यही कारण उल्लेख गर्न आग्रह पनि गरेकी हुँ तर त्यो कुराको सुनुवाइ भएन ।”
सम्बन्धविच्छेदको बनिबनाउ कागजको खाली ठाउँमा परिचय उल्लेख गरेर फाइल तयार पारियो र त्यहीअनुसार डोटी–३७ को सम्बन्धविच्छेद भयो । “यो राज्यमा मेरो नाममा नभएको अभिलेख सङ्ग्रह गरेर राखिएको छ,” उहाँले भन्नुभयो, “यो कुराले मलाई आज पनि नराम्रोसँग बिझाउँछ ।”

डोटी–३७ मात्र होइन, सम्बन्धविच्छेदका लागि तयार पारिने कागजातमा प्रयोग हुने गरेका शब्दहरूलाई लिएर अरू पनि थुप्रै महिलाले आपत्ति जनाउने गरेका थिए । त्यसको सुनुवाइ किन हुन सकेन ? कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) नेपालकी कार्यकारी निर्देशक तथा अधिवक्ता अनिता न्यौपाने थपलियाले भन्नुभयो, “२२ वर्ष मैले यो क्षेत्रमा बिताएँ । सम्बन्धविच्छेदका लागि बलियो आधार खोजिने हुँदा आज पनि कुटपिट, खान लगाउन नदिएको जस्ता अवस्था उल्लेख गरिएपछि सजिलो हुने भएर यसैमा प्राक्टिस गरिन्छ ।”
अपमानजनक भाषाशैली बदल्न पनि सकस
पछिल्लो समय सहमतिमा हुने सम्बन्धविच्छेदका केही घटनामा भने ‘विचार नमिलेर छुट्टिएको’ भन्ने भाषा उल्लेख गर्ने गरिएको अधिवक्ता राधिका खतिवडाले बताउनुभयो । तर, “मुद्दा चलेर, महिलाले चाहेर गरिने सम्बन्धविच्छेदमा भने महिलाहरू जे कारणले छुट्टिन चाहन्छन् सोही कुरा उल्लेख गरेर मुद्दा किनारा लगाउन आज पनि सकस रहेको छ,” उहाँले भन्नुभयो ।

विसं २०६९ सालबाट न्यायिक क्षेत्रमा सक्रिय अधिवक्ता राधिकाले पनि कानुनी भाषाका कारण थुप्रै महिलाले मन दुखाउने गरेको स्वीकार गर्नुभयो । “धेरै सम्बन्धविच्छेदका मुद्दाका मिसिलमा आज पनि पुरानै अवस्था उल्लेख गरिएको हुन्छ,” उहाँले भन्नुभयो, “मैले चाहिँ महिला जुन अवस्थाका कारण सम्बन्ध सकिरहेका हुन्छन्, त्यही अनुसार जाहेरी तयार पार्ने प्राक्टिस गरेको छु ।”
प्राक्टिस सजिलो छ त भन्ने प्रश्नमा राधिकाले भन्नुभयो, “सहमतिमा सम्बन्धविच्छेद गर्नेहरूका लागि समस्या हुँदैन । तर, कानुनी लडाइँमै जानुपर्ने मुद्दामा भने सजिलो छैन ।”
सम्बन्धविच्छेदको स्थिति
विवाहलाई आज पनि समाजमा पवित्र बन्धनका रूपमा परिभाषित गर्ने गरिएको पाइन्छ । दुई परिवेशमा हुर्किएका दुई जनाले विवाहपछि सँगसँगै नयाँ जीवन अगाडि बढाउने सपना देख्छन् तर उनीहरूको जीवन सहज नभएमा, सम्बन्ध अगाडि बढाउन नसक्ने अवस्था आएमा त्यो सम्बन्धलाई विच्छेद गरिन्छ । वैवाहिक सम्बन्धलाई कानुनीरूपले समाप्त गर्ने विधि र प्रक्रियाको नाम हो, सम्बन्धविच्छेद ।
नेपालमा सम्बन्धविच्छेदसम्बन्धी कानुनी प्रावधानमा विभिन्न समयमा परिमार्जन हुँदै आएका छन् । आजभन्दा पौने दुई सय वर्षअघिको ‘मुलुकी ऐन, १९१०’ को ‘लोग्न्या स्वास्नीको’ महलमा सम्बन्धविच्छेद हुनसक्ने व्यवस्था गरिएको पाइन्छ । २०२० साल भदौ १ बाट लागु भएको ‘मुलुकी ऐन’ को महल १२ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था गरिएको पाइन्छ । पछिल्लो समयमा २०७५ भदौ १ गतेबाट लागु भएको ‘मुलुकी देवानी संहिता, २०७४’ को भाग ३ परिच्छेद ३ मा ‘सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था’ उल्लेख छ ।
राष्ट्रिय जनगणना २०७८ मा २१ हजार २८७ महिलाको सम्बन्धविच्छेद भएको उल्लेख छ । यस्तै, ५९ हजार ५२५ महिला श्रीमान्बाट छुट्टिएर बसेको उल्लेख छ । सर्वोच्च अदालतका पछिल्ला पाँच वर्षका वार्षिक प्रतिवेदन अनुसार मुलुकका अदालतहरूमा सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको चाप बढिरहेको छ ।
नेपालमा सम्बन्धविच्छेद भएका दम्पतीहरूको सङ्ख्यात्मक विश्लेषण गर्ने हो भने यो बढ्दो क्रममा रहेको पाइयो । यससँगै सम्बन्धविच्छेदपछि एकल भएका महिलाको सङ्ख्या पनि बढ्दो क्रममा रहेको देखियो । राष्ट्रिय जनगणना २०७८ मा २१ हजार २८७ महिलाको सम्बन्धविच्छेद भएको उल्लेख छ । यस्तै, ५९ हजार ५२५ महिला श्रीमान्बाट छुट्टिएर बसेको उल्लेख छ ।
सर्वोच्च अदालतका पछिल्ला पाँच वर्षका वार्षिक प्रतिवेदनहरूको अध्ययन गर्दा मुलुकका अदालतहरूमा पनि सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको चाप बर्सेनि बढिरहेको देखियो । वार्षिक प्रतिवेदन २०७७।७८ अनुसार, सर्वोच्च, उच्च र जिल्ला अदालतहरूमा परेका सम्बन्धविच्छेदका मुद्दाहरूको कुल लगत २१ हजार ४७९ रहेको र त्यसमध्ये १३ हजार १११ मुद्दाको फछ्र्यौट भएको र एक हजार १३८ मुद्दा बाँकी रहेको पाइयो ।
सम्बन्धविच्छेदसम्बन्धी मुद्दाहरूको लगत त्यसपछिका वर्षहरूमा बढ्दै गएको पाइयो । वार्षिक प्रतिवेदन २०८०।८१ मा तीनै तहका अदालतहरूमा गरी कुल ४० हजार ३२० पुगेको र त्यसमध्ये ३१ हजार ७५२ मुद्दाको फछ्र्यौट भएको र आठ हजार ५६३ मुद्दाको किनारा लाग्न बाँकी नै रहेको पाइयो । यसले पाँच वर्षको अवधिमा सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको लगत सङ्ख्या झन्डै दोब्बर पुगेको देखाउँछ । यसमा मुद्दा फछ्र्यौटको सङ्ख्या कुल लगतको ७५ प्रतिशतभन्दा अधिक रहनु भने सकारात्मक पाटो हो ।
सम्बन्धविच्छेदले दुई व्यक्तिको सम्बन्ध टुट्नुलाई मात्र जनाउँदैन, यो सामाजिक, धार्मिक, आर्थिक र कानुनी संरचनाका धेरै पक्षलाई समेट्ने प्रक्रिया हो ।
समस्याको विविधता र व्यापकता
वैधानिक तरिकाबाट सम्बन्धविच्छेद भएका एकल महिलाहरूको जीवन सामान्य र सहज हुन नसकेको, उनीहरूले अर्कै खालका समस्या र सकस भोग्नुपरेको पाइयो । पारपाचुकेपछि पाल्पा–३८ को पहिलो विवाद छोरासँगै भयो । त्यो एकप्रकारले अबोध छोराको मनोविज्ञानमा परेको प्रभावसँगको सङ्घर्ष पनि थियो ।
छोराको प्रश्न हुन्थ्यो– “मामु मेरो बाबा नराम्रो मान्छे हो ?” उहाँले छोरालाई सम्झाउने कोसिस गर्नुहुन्थ्यो, “त्यस्तो होइन बाबु !” छोराको अर्को प्रश्न हुन्थ्यो– “त्यसो भए मेरो बाबासँग किन नबस्नु भएको ?” त्यतिबेला उहाँ बोल्न नसकेर अलमलिनुहुन्थ्यो ।
कुरै गर्ने हो भने घर मात्र होइन, माइती परिवारको भेदभावपूर्ण व्यवहार पनि पाल्पा–३८ का लागि बिझ्ने बनेर आएको थियो । उहाँकी काकी ४० वर्षको उमेरमा २०७८ सालमा विधवा हुनुभएको थियो । “उहाँलाई श्रीमान् गुमाएको भनेर परिवारले सहानुभूति राख्यो । परिवार र समाजले ‘दुःखी’ को रूपमा स्वीकार गर्यो । पुनर्विवाहको विषयमा सोच्यो,” उहाँले भन्नुभयो, “तर, त्योभन्दा धेरै कम उमेरमा एकल जीवन सुरु गरेकी मलाई भने परिवारले पनि दोषारोपण गर्यो ।”
सबैले आफूलाई दोष दिएको कुराले उहाँलाई झनै असहज बनाउँदै लग्यो । “डिभोर्स भएपछि सबैले मलाई नै दोष दिए,” उहाँले भन्नुभयो, “घर बचाउन नसक्ने, धेरै बोल्ने, एक्लै चल्ने भएकै कारण घर भत्काएको भनेर दोष लगाइयो ।”
सम्बन्धविच्छेदसम्बन्धी तथ्याङ्कले नेपालमा महिलाहरू वैवाहिक हिंसाबाट बाहिर निस्कन थालेको देखाउँछ । तर, वैवाहिक हिंसाबाट मुक्त भएर समाजमा निस्कँदै गरेका महिला नयाँ प्रकारको जोखिममा पनि प्रवेश गर्न सक्ने अवस्था रहेको भनाइ ल्याक नेपालकी कार्यकारी निर्देशक अनिताको थियो । उहाँका अनुसार, सम्बन्धविच्छेदपछि महिलाहरूलाई समाजले ‘असुरक्षित’ र ‘सहज उपलब्ध’ मान्ने र सोही दृष्टिले हेर्ने कारणले गर्दा धेरै महिला सम्बन्धविच्छेदपछि यौनहिंसामा पर्ने गरेका छन् ।
परिवार, कार्यालय, घरमालिक वा समाजकै पुरुषहरूबाट अश्लील टिप्पणी, शारीरिक स्पर्श, यौन प्रस्ताव वा धम्कीका कारण थुप्रै महिला कानुनी सहयोग तथा परामर्शका लागि केन्द्रमा आउने गरेको पनि अनिताले बताउनुभयो ।

वरिष्ठ पत्रकार बबिता बस्नेतको विश्लेषणअनुसार, विधवा महिलाप्रति समाजमा सामान्यतया सहानुभूति देखिन्छ । तर, ‘डिभोर्सी’ महिलाप्रति समाजले प्रायः दोषारोपण नै गर्ने गरेको छ । “किन छुट्टिइन् ? के गल्ती गरिन् ? घर गरेर खान किन सकिनन् ? भनेर उनीहरूमाथि लाञ्छना लगाउने गरिएको छ,” उहाँले भन्नुभयो । त्यसले डिभोर्सी महिलालाई अनावश्यक अपराधभाव जगाउने र सामाजिक न्यायदेखि टाढा बनाउने उहाँको भनाइ थियो ।
पाल्पा–३८ ले पनि सम्बन्धविच्छेदपछि त्यस्तै अनुभव गर्नुभयो । उहाँले कार्यकक्षमा सहकर्मीबाट पनि फरक हेराइ पाउन थाल्नुभयो । हरेक दिन किन, कसरी, अब के गर्छौ जस्ता प्रश्नको सामना गर्नुप¥यो । उहाँले सबैतिरबाट आफू असुरक्षित भएको महसुस गर्नुभयो ।
वरिष्ठ पत्रकार बबिताका अनुसार, सम्बन्धविच्छेदपछि महिलालाई परिवारको साथको पहिलो आवश्यकता हुन्छ । उहाँले भन्नुभयो, “बाबुआमा, दाजुभाइ, दिदीबैनी जो छन्, उनीहरूले साथ दिए भने बाँकी जीवन अगाडि बढाउन सहज हुन्छ । परिवारको साथ पाएपछि अरू मान्छेले प्रश्न पनि त्यत्ति उठाउँदैनन्, परिस्थिति सामान्य भएर जान्छ ।” सम्बन्धविच्छेदपछि कहाँ जाने भनेर जाने ठाउँ नहुँदा धेरै महिलाले अन्याय सहेर श्रीमान्काे घरमै बसिरहेको पनि उहाँको भनाइ थियो ।
‘डिभोर्सी’ महिलाप्रति राज्य पनि उदासीन
‘डिभोर्स’ पछि एकल भएका महिलाका लागि राज्यसमेत उदासीन रहेको पाल्पा–३८ को भनाइ थियो । एकल भएपछि समाजबाट प्रत्यक्ष–परोक्ष सबैखाले यातना सहेकी उहाँको प्रश्न थियो– विवाहपछिको जीवन सहज नभइसकेपछि एउटा छोरीमान्छेले जीवनमा सहजता रोजेर घरबाट निस्कँदै गर्दा जाने ठाउँ कहाँ छ ?
“कानुनीरूपमा अन्य महिला र एकल महिलाका लागि केही फरक छैन । राज्यले विवाहित र अविवाहित भनेर सम्बोधन गर्छ,” उहाँले भन्नुभयो, “भावनात्मकरूपमा अब म के हुँ भन्ने प्रश्नले लखेटिरहन्छ ।” यस्तो प्रश्नको लखेटाइमा परेको तीतो अनुभव साहित्यकार सगुनाले पनि व्यक्त गर्नुभएको थियो ।
‘एकल महिला सुरक्षा कोष (सञ्चालन) नियमावली, २०७०’ मा सम्बन्धविच्छेदपछि एकल भएकी महिला र श्रीमान्काे मृत्युपछि एकल भएकी महिलालाई एकै ठाउँमा राखेर परिभाषित गरियो । समाजमा भने यी दुई खालका महिलालाई हेर्ने दृष्टिकोणमा नै भिन्नता थियो र त्यो व्यवहारमा रहिरह्यो । दुबै अवस्था महिलाको व्यक्तिगत पीडा, आर्थिक कठिनाइ र सामाजिक चुनौतीसँग जोडिएका त हुन्छन् तर, समाजले उनीहरूलाई हेर्ने दृष्टि, अनुमान र मूल्याङ्कन अलग–अलग हुन्छ भन्ने कुराले स्थान पाएन ।
लेखक, अनुवादक, रङ्गमञ्च कलाकार तथा अनलाइन बुक क्लब ‘बुकअहोलिक्स’ की संस्थापक सगुनासँग अन्तर्वार्ताहरूमा पारपाचुकेको जीवनकथा सोधिँदा यस्तो सोधीखोजी समाजको मात्रै रहेको र राज्यले एकल महिलाका समस्याको सम्बोधन नगरेको उहाँको बुझाइ थियो । “तिमी एकल महिला हौ भनेर राज्यले कहिल्यै सम्बोधन गरेन,” उहाँले भन्नुभयो, “मलाई मेरो माइती बलियो भएको हुनाले जाने ठाउँ थियो, समस्या भएन होला । हैन भने धेरै छोरीहरूको आज पनि डिभोर्सपछि जाने ठाउँ छैन ।”
वरिष्ठ पत्रकार बबिताले भन्नुभयो, “पछिल्लो समय हरेकको पहिचानको सवाल उठ्दै गर्दा केही फारामहरूमा विवाहित, अविवाहित र सम्बन्धविच्छेदको अप्सन राखेको भेटिन्छ । कसैले सम्बन्धविच्छेदमा टिक लायो भने त्यहाँ रहेका अधिकारीहरूले छक्क परेर अलि फरक दृष्टिकोणले हेरेको पाइन्छ ।” उहाँले यो पनि भन्नुभयो, “कतिपय महिलाहरू आफ्नो जाने ठाउँ नभएर पनि हिंसा खपेर बसिरहेका छन् ।”

सम्बन्धविच्छेद भएका महिला र बच्चाहरूका विषयमा राज्य संवेदनशील नरहेको नेकपा एमाले नेता तथा पूर्वसांसद शान्ता चौधरीको अनुभव पनि छ । आफू सांसद छँदा संसद्मा एकल महिलाको सम्बोधन गर्नुपर्ने विषयमा कुरा उठाएको तर त्यसमाथि खासै छलफल नभएको स्मरण गर्दै उहाँले भन्नुभयो, “म एकल भएकाले एकल महिलाको सम्बोधनको विषय उठान गरेको जस्तो मानियो । मजस्ता अरू थुप्रै महिलाले यो असहजता महसुस गरेका थिए भन्ने लागेर नै उठाएको थिएँ तर छलफल नै भएन ।”

पछिल्लो समय एकल महिलाका लागि राज्य तथा सामाजिक संस्थाहरूले लक्षित कार्यक्रमहरू गर्दै आए । यस्ता कार्यक्रम विवाह नगरी बसेका एकल महिला, श्रीमान्काे मृत्युपछि एकल भएका महिला र सम्बन्धविच्छेदपछि एकल भएका सबै महिलालाई समेट्ने गरी बनाइएका भए पनि यी कार्यक्रममा अधिकांश विधवा महिला मात्रै समेटिने र डिभोर्सी महिला प्राथमिकतामा नपर्ने गरेको जानकारी मकवानपुर जिल्ला, मनहरी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी शिला अधिकारीले दिनुभयो । यद्यपि, डिभोर्सी महिलाले कानुनी, आर्थिक र भावनात्मकरूपमा धेरै सङ्घर्ष गर्न परिरहेको उहाँको भनाइ थियो ।
समस्या सम्बोधनका लागि
“एउटा त सम्बन्धविच्छेदलाई सामान्य कुरा हो, नमिलेपछि छुट्टिएकै राम्रो भन्ने बनाउन जरुरी छ भने अर्को चाहिँ सम्बन्धविच्छेदपछि जाने ठाउँ, बस्ने स्थान नभएकाहरूका लागि सेल्टर स्थापना गर्नु आवश्यक छ,” वरिष्ठ पत्रकार बबिताले समस्या सम्बोधनका लागि उपाय सुझाउँदै भन्नुभयो, “सम्बन्धविच्छेद भएका महिलाका बच्चाहरूको मनोविज्ञानमा असर नपर्ने कक्षाहरू सञ्चालन गर्नुपर्ने र यो विषय स्कुलको पाठ्यक्रममै राख्नुपर्ने हुन्छ ।”
बबिताका अनुसार, आत्मनिर्भर नभएका महिलाहरू सम्बन्धविच्छेद गर्ने अवस्थामा छन् भने उनीहरूका लागि राज्यले फरक सम्बोधन गरेर बाँच्ने आधार सिर्जना गरिदिनुपर्ने हुन्छ । राज्यले सम्बन्धविच्छेद भएका महिलाका लागि समाजमा सहज वातावरण सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । यस सम्बन्धमा पाल्पा–३८ ले पनि भन्नुभयो, “डिभोर्सी’ महिलाका समस्यालाई हेरेर राज्यले त्यसको सम्बोधन गर्नुपर्ने हुन्छ ।”
विशेषगरी विवाहपछि श्रीमान्कै कारण सकसमा परेका महिलालाई स्वतन्त्र भई सहजरूपमा सम्मानजनक जीवनयापन गर्न तथा कुनै पनि कारणले एकल भएका महिला र तिनको अभिभावकत्वमा रहेका बालबच्चामाथि हुने सबै प्रकारका नकारात्मक सोच, व्यवहार आदिलाई हटाउने आधार तयार गर्नु महत्त्वपूर्ण छ।
विशेषगरी सबै महिलाको साझा समस्याका रूपमा रहेको पहिचानको अभावलाई जरैदेखि मेटाउने उपायको खोजी गर्नुपर्ने, विवाहपछि श्रीमान्कै कारण सकसमा परेका महिलालाई स्वतन्त्र भई सहजरूपमा सम्मानजनक जीवनयापन गर्न र सन्तान हुर्काउन पाउने अधिकारको प्रत्याभूति दिने, कुनै पनि कारणले एकल भएका महिला र तिनको अभिभावकत्वमा रहेका बालबच्चामाथि हुने सबै प्रकारका नकारात्मक सोच, व्यवहार आदिलाई हटाउने आधार तयार गर्ने आदि कुरा महत्त्वपूर्ण छन् ।
साथै, हिंसा, शोषण आदिलाई प्रश्रय दिने सामाजिक विधि, व्यवहारविरुद्ध खोजिएका कानुनी उपचारलाई कुनै पनि विधि, प्रक्रिया र बहानामा पीडकमुखी हुन नदिने, सम्बन्धविच्छेदका लागि तयार महिलाको हकमा हुँदै नभएका कुरा अभिलेखीकरण गरेपछि सम्बन्धविच्छेद हुन सक्ने वातावरणमा तत्काल रोक लगाउने, आमा वा बाबुप्रति विष घोल्ने सामाजिक सोच र व्यवहारबाट बालबालिकालाई मुक्त राख्ने गरी शैक्षिक सामग्री निर्माण गर्ने र भएका पाठ्यक्रमलाई सुधार गर्ने आदि पक्ष मननीय छन् ।
‘सम्बन्धको सकस तोडेपछिका समस्या सम्बोधन गर्नै बाँकी’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत राधिका अधिकारीले तयार गर्नुभएको हो ।
प्रकाशन मिति : २०८२ फागुन १४ गते, बिहिवार
सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू
- कालापहाडका भीरमा महिलाहरूको श्रम र जीवन सङ्घर्ष
- तलाक – तलाक – तलाक कुरआनको आदेशविपरीत सामाजिक परिवेश
- वैदेशिक रोजगारीले एकल बनाएका महिलाको सङ्घर्ष
- चोरी विवाहमा बाँधिएका तामाङ महिलाका जीवनभोगाइ
- बहुपतिप्रथामा महिलाको अवस्थालाई परबाट नियाल्न खोज्दा
- विवाहपछि महिलाको बहुपक्षीय विस्थापन र असर
- भिक्षा, गाली र अपमानको चक्रमा नेटुवा समुदायका महिला
- कर्णालीको राजनीतिमा दलित महिला
- आदिवासी जनजाति अपाङ्गता भएका महिलाका तहतहका सङ्घर्ष
- राजनीतिमा थारू महिलाको सहभागिता र अवस्था
- माओवादी सशस्त्र सङ्घर्षमा दलित महिलाको सहभागिता र योगदान





