युवाको जीवनभोगाइ शृङ्खला १
शोभा विक यस्तो एउटा युवा हुनुहुन्छ, जसले दलित समुदायमा जन्मिएको र छोरीमान्छे भएकै कारण सानैदेखि जीवनमा अनेकौँ चुनौतीहरूको सामना गर्दै आउनुपर्यो । जातीय विभेद, आर्थिक अभाव, लैङ्गिक असमानता, बालविवाह, वैवाहिक हिंसा, सामाजिक अपमान जस्ता विकृति र विसङ्गतिजन्य परिवेशको सिकार हुनुपर्यो ।
सुर्खेत जिल्लास्थित हालको भेरीगंगा नगरपालिका वडा नम्बर २ मा २०४४ सालमा जन्मिएकी शोभाले जीवनको एक चरणमा पुगेपछि आफूलाई अघि बढ्न प्रेरित गर्ने श्रीमान्काे मृत्युको चोट खप्नुपर्यो । सँगसँगै बोक्सीको आरोप, सामाजिक बहिष्करण जस्ता घटनाले घेर्दै लगेपछि उहाँ गहिरो मानसिक तनावको अवस्थामा पुग्नुभयो ।
बाल्यकालमै भएको बिहे असफलतामा टुङ्गिएपछि उहाँ एक्लोपन र असुरक्षाको अवस्थामा पुगिसक्नुभएकै थियो । अर्को बिहेपछि सुखका दिन त आए तर ती पनि धेरै टिकेनन् । दुई सन्तानको जिम्मेवारी उहाँकै एकल काँधमा आयो । बाहिरी परिवेशका यावत् चुनौती, विकृति र विसङ्गतिका चोटले जतिसुकै घाइते बनाए पनि शोभाले आफूभित्रको मानसिक परिवेशलाई फेरि उठ्नै नसक्ने गरी गिर्न र मर्न दिनु भएन ।
चालिस वर्ष पनि नपुगेकी शोभाले आफू र आफ्नो जीवनलाई पछाडि फर्किएर हेर्दा आफ्नै प्रयासले समाजमा एउटा सशक्त व्यक्तिको पहिचान बनाउन सफल भएको पाउनुभयो । आफूले व्यक्तिगत ठानेर भोगेका अनेकौँ पीडा र सङ्घर्षका दिनहरू दलित महिलाका साझा भोगाइ रहेछन् भन्ने बुझ्न थालेदेखि उहाँले त्यही कुरालाई सामाजिक परिवर्तनको लागि प्रेरणाको स्रोतका रूपमा बदल्नुभयो ।
अगाडिको बाटो फरक थियो । समानता र सामाजिक न्यायका लागि सामाजिक अभियन्ता बनेर उहाँ निरन्तर अघि बढ्नुभयो । कठिनभन्दा कठिन परिस्थितिहरूको भोगाइले उहाँलाई धेरै कुरा सिकाएर गएको थियो । यसैले सही मार्गमा अघि बढ्नुभयो र आफैँले आफूलाई पुनः स्थापित गर्न सफल पनि हुनुभयो ।
शोभाको सफलताका पछाडि पक्कै पनि सामाजिक न्याय र अधिकारका लागि कार्यरत सङ्घसंस्थाहरूको हात थियो । यस्ता सङ्घसंस्थासँग जोडिएपछि उहाँले त्यसलाई निरन्तरता पनि दिनुभयो । फलतः आफ्नो नेतृत्व क्षमता विकास गर्ने प्रेरणाका साथै प्रशिक्षणको अवसर पाउनुभयो ।
प्रशिक्षणको अवसर पाएपछि समुदायस्तरमा महिला अधिकार, नागरिकता, विवाह दर्ता आदिको पक्षमा र घरेलु हिंसा, बालविवाह तथा जातीय विभेद जस्ता विकृतिका विपक्षमा सक्रिय भई काम गर्न सक्ने हुनुभयो । पीडित तथा वञ्चित समुदायका महिलालाई न्याय र अधिकारको पहुँचमा पुर्याउन शोभाले पहल गरिरहनुभयो ।
स्वचिन्तन र नेतृत्वका बारेमा जानकार शोभाको जीवनभोगाइ दलित समुदायकी कुनै एक महिलाको व्यक्तिगत कथा मात्र होइन, यो नेपाली समाजमा दलित महिलाहरूले इतिहासको निकै लामो समयदेखि आमरूपमा भोग्दै आउनुपरेका संरचनागत विभेद, लैङ्गिक हिंसा, अपमान र लाञ्छनाको वास्तविक तथ्य पनि हो ।
शोभाको जीवनमा विद्यालय शिक्षा लिने उमेरमा देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । सङ्कटकालको एउटा डरलाग्दो घटनापछि ‘प्रमिला’ बाट उहाँको नाम ‘शोभा’ बनाइएको रहेछ । “ श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय मोहोटी काल्पानी (अहिले उक्त विद्यालयको नाम परिवर्तन भएर श्री सामुदायिक विद्यालय मोहोटी भेरीगंगा नगरपालिका २ काल्पानी भएको छ) विद्यालयका शिक्षकहरूले मेरो नाम नै परिवर्तन गरेर ‘शोभा’ राखिदिनुभयो,” उहाँले भन्नुभयो, “त्यो समय मेरो जीवनकै अत्यन्त डरलाग्दो समय थियो । घरमा सुरक्षाकर्मीले घेरेको दृश्य आज पनि बिर्सन सकेकी छैनँ ।”
अति नै प्रतिकूल र कठिन परिस्थितिमा परेर भयभीत भएको र मनोबल नै घटिसकेको व्यक्तिले पनि समानता र न्यायको लागि काम गर्ने सामाजिक सङ्घसंस्थाको साथ पायो भने आफूले आफूलाई सशक्त व्यक्तिको रूपमा स्थापित गर्न सक्छ । यसका लागि आत्मविश्वासलाई पुनर्जीवन दिने भित्री चाहना र दृढ सङ्कल्प भने चाहिन्छ । शोभाको जीवनभोगाइले दिने सबैभन्दा सशक्त सन्देश यही हो ।
वास्तवमा एउटा सफल व्यक्ति बन्न कुनै पनि व्यक्तिले दुःख, कष्ट, अन्याय, विभेद, अपमान, आरोप, लाञ्छना, भय आदि भोग्नैपर्छ र कुनै बेला उसको मनोबल पनि शून्यतिरै पुगेको हुनुपर्छ भन्ने चाहिँ होइन । अबका दिनमा कसैले पनि कुनै प्रकारको विभेद, हिंसा, अपमान, आरोप, लाञ्छना, भय, चरम निराशा आदि खेप्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।
समसामयिक नेपाली युवालक्षित एउटा आदर्श भावना हो–भिन्न परिवेश, साझा आकांक्षा ! यही भावनाका साथ नेपालले २०८३ साउन २१ गतेदेखि आज २७ गतेसम्म सप्ताहव्यापी कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्ट १२ लाई विश्वका कतिपय राष्ट्रले अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा सन् २००० देखि नै मनाउन थालेका थिए । नेपालमा सन् २००४ को अगस्ट १२ मा यो दिवस मनाउन थालियो । त्यसयता हरेक वर्ष मनाउने गरे पनि राज्यले युवाको वास्तविक अवस्था र बदलिँदो आकांक्षालाई सम्बोधन गर्न सकेको देखिएन ।
स्वदेशमा बेरोजगारी व्याप्त थियो । विदेशमा गएकाको रोजगारीले स्वदेशका धेरै तह र तप्कामा फरक बनाइरहेको थियो । युवाले स्वदेशमै गरी खान पाउनुपर्ने माग राख्दै आए पनि राज्यले सुन्ने कान लगाउने गरेको थिएन । फलतः देशमा लामो समयदेखि व्याप्त भ्रष्टाचारको विरोध र सुशासनको माग राख्दै नेपाली नवयुवा नै गत वर्षको भदौमा सडकमा आउनुपर्यो ।
जेन्जी आन्दोलनको नामले परिचित भदौको सडक प्रदर्शनको परिणामस्वरूप नयाँ सरकार गठन भएर त्यसले २०८२ फागुनमा प्रतिनिधिसभाको निर्वाचन पनि गरायो । उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार भएका युवालाई व्यापक जनसमर्थन मिल्यो र देशमा पहिलो पटक युवाले नै नेतृत्व गरेको सरकार छ ।
पहिले पनि दिवसलाई युवाका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा वहस पैरवी गर्ने, नीति निर्माण र कार्यान्वयनमा युवा सहभागिता, साझेदारी, लगानी र सहकार्यका साथ युवामैत्री शासन प्रवर्धन गर्ने लक्ष्यमा केन्द्रित गर्ने कुरा हुँदै आएका हुन् ।
ऐतिहासिक दृष्टिले युवामय भइरहेको देशको पृष्ठभूमिमा मनाइएको यस वर्षको युवा दिवसलाई उक्त लक्ष्यमा कत्तिको केन्द्रित गर्न सकियो र कस्तो परिणाम निस्कने हो भन्ने कुराको खोजी, विश्लेषण र मूल्याङ्कन भविष्यमा हुने नै छ ।
द स्टोरी किचेनले केही महिनाअघि विभिन्न क्षेत्रमा कार्यरत नेपाली युवाको जीवनभोगाइलाई उनीहरूकै चिन्तन प्रणाली र नेतृत्व शैलीको दृष्टिकोणबाट हेर्ने, बुझ्ने, लेख्ने प्रयासमा सहकार्य गरेको थियो । त्यसमा विभिन्न ठाउँका युवाले विभिन्न विषय र प्रसङ्गमा व्यक्त गरेका भोगाइलाई ‘सन्धान’ ले अभिलेखीकरण र शृङ्खलाबद्ध प्रस्तुति गर्ने लक्ष्यका साथ तथ्यहरूको सङ्कलन पनि गरेको थियो ।
शोभा विक २०८३ बैशाख ३० गते नेपालगन्जको होटल डाइमन्डमा सुरु भएको तीनदिने स्वचिन्तन र नेतृत्वसम्बन्धी कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । द स्टोरी किचेनको अनलाइन माध्यम ‘सन्धान’ का लागि सरिता पौडेलले सहभागीका भनाइ र गतिविधिको अवलोकनसहित उहाँसँग कुराकानी गर्नुभएको थियो ।
कार्यक्रमका विभिन्न चरणमा शोभाले राखेका भनाइका आधारमा ‘सन्धान समूह’ ले उहाँको जीवनकथा लेखन र सम्पादन गरेको हो । समकालीन युवाको इतिहासका विशिष्ट पाटाहरू यत्तिकै हराएर नजाऊन् र एउटा अंशमै भए पनि भरपर्दो सामग्री तयार होस् भन्ने उद्देश्यले यो कथा तयार गरिएको हो ।
शोभाको जीवनकथामा थप स्पष्टता र तथ्यजाँचका लागि उहाँसँग असारको दोस्रो साता टेलिफोन सम्पर्क पनि गरिएको थियो । राष्ट्रिय युवा दिवस २०८३ र अन्तर्राष्ट्रिय युवा दिवस सन् २०२६ को उपलक्ष्यमा शुभकामनासहित ‘युवाको जीवनभोगाइ’ शृङ्खला १ मा प्रस्तुत छ, शोभा विकको स्वकथन ।
मेरो जन्म २०४४ साल भदौ ६ गते साबिक लेखपराजुल गाविस वडा नम्बर ६ शनिमोहरमा भएको हो । यो ठाउँ हाल भेरीगंगा नगरपालिका वडा नम्बर २, सुर्खेतमा पर्छ । मेरा बुबाको नाम पुरस्कार विक र आमाको नाम डल्ली बिटालु हो ।
‘बिटालु’ थरले बहिष्कृत भएको भन्ने जनाउँछ । विशेषगरी कर्णाली क्षेत्रतिर गैरदलित पुरुषले दलित महिलासँग विवाह गर्दा परिवार र समाजबाट बहिष्कृत हुनुपर्छ । त्यस्तो भएकाले मेरो आमाले ‘बिटालु’ भनेर चिनिने अवस्था बनेको हो । त्यसैबाट कतिपय सन्तान तथा परिवारको पहिचान पनि ‘बिटालु’ हुने गर्दछ । यो मैले सुन्दै आएको कुरा हो ।
हामी चार दाजुभाइ र दिदीबहिनीमध्ये म जेठी सन्तान हुँ । हाम्रो बाल्यकाल त्यति सामान्य थिएन । मेरो नाम प्रमिला थियो । भित्रभित्रै धेरै पीडाले भरिएको मेरो बाल्यकाल थियो । बुबाले मादक पदार्थ सेवन गर्नुहुन्थ्यो र बुबा–आमाबिच मेलमिलाप कम थियो । उहाँहरूबिच घरमा झगडा भइरहन्थ्यो ।
आमाबुबाले गर्ने गरेको झगडाको असर हामी बालबालिकामाथि पर्थ्याे । माया, स्नेह र राम्रो संस्कारको अभाव मैले बाल्यकालमै महसुस गरेँ । उमेरसँगै जिम्मेवारी पनि बढ्दै जाँदा त्यो कुराको अभाव कति गहिरो थियो भन्ने थाहा पाएँ ।
घरको आर्थिक अवस्था कमजोर थियो । अभिभावकमा मेल थिएन । उहाँहरू नमिलेपछि हामीले अभिभावकको राम्रो साथ पनि पाएनौँ । हाम्रो जीवन अझ कठिन बन्यो । त्यसैमाथि समाजबाट जातीय विभेद सहनुपर्यो ।
मानिसहरूले हामीलाई बराबरीको नजरले हेरेनन् । कहिलेकाहीँ त समाजले बाँच्न लायककै ठानेन जस्तो पनि लाग्थ्यो । त्यसले गर्दा मनमा निकै पीडा हुन्थ्यो । यो कुरा अहिले मैले कसरी देखाउने ? जीवनमा आउने–जाने सबै पीडा सधैँ देखिने हुँदैनन् ।
केही घाउ शरीरमा देखिन्छन्, केही मनभित्र गहिरिएर बसेका हुन्छन् । मलाई लाग्छ, मेरो जीवन पनि यस्तै अनेकौँ खालका देखिने र नदेखिने घाउ, सङ्घर्ष र चुनौतीहरूले भरिएको यात्रा हो । धेरै कुरा आफ्नो काबुमा थिएन । सुखभन्दा कैयौँ गुना बढी दुःख, पीडा, अभाव भोगियो ।
पढाइको कुरा गर्ने हो भने मैले गाउँकै विद्यालयमा पढेकी हुँ । विद्यालय पुग्न दुई–तीन घण्टा पैदल हिँड्नुपर्थ्याे । त्यतिबेला समाजमा जातीय र लैङ्गिक विभेद व्यापक थियो । छोरीहरूलाई टाढा पढाउन हुँदैन भन्ने सोच थियो । ढिलो घर फर्किए पनि अनेक आरोप लाग्थे ।
विद्यालयमा पनि दलित भएकै कारण विभेद भोग्नुपरेको थियो । एक पटक विद्यालयमा लिटो पकाउने बेला हाम्रो समुदायका बालबालिकालाई ‘तिमीहरू कामी–दमाईहरू यता नआऊ’ भनेर हेपेका थिए ।
सानै भए पनि कसैले त्यसरी भेदभाव गर्ने कुरा गर्यो भने मैले त्यसको विरोध गर्थें । ‘तिमी पनि मानिस, म पनि मानिस; जातले किन फरक बनाउँछ ?’ भनेर प्रश्न पनि गर्थें । त्यतिबेला शिक्षकहरूसँग समेत मेरो विवाद परेको थियो ।
विद्यालय जीवनमा अर्को पीडादायी घटना पनि भयो । एक जना शिक्षकले ममाथि नकारात्मक दृष्टि राख्ने र अनुचित व्यवहार गर्ने काम गर्नुभयो । मैले त्यसको पनि विरोध त गरेँ तर त्यो घटनाले मेरो मनमा गहिरो चोट पुर्यायो । पछि त्यो शिक्षक कोरोना भाइरसको महामारी फैलिएको समयमा बित्नुभयो । उहाँले बित्नुभन्दा २–३ दिनअघि मसँग ‘मैले तिमीलाई नराम्रो व्यवहार गरेँ’ भनेर माफी माग्नुभएको थियो ।
सङ्कटकालको समयमा पढाइ झन् कठिन भयो । एकातिर माओवादी र अर्कोतिर सुरक्षाकर्मीको डर थियो । विद्यालय जान पनि निकै जोखिम थियो । एक पटक माओवादीहरूको सांस्कृतिक कार्यक्रममा नाचगान गर्न बोलाए । नाचगान र कलाकारितामा मेरो रुचि थियो । यसैले म त्यहाँ गएँ । त्यतिबेला मेरो नाम ‘प्रमिला’ थियो ।
सांस्कृतिक कार्यक्रममा गएकै कारण यता प्रशासनले मलाई माओवादीसँग जोडेर खोज्न थालेछ । सुरक्षाकर्मीहरूले घरसम्म आएर मेरो खोजी गर्न थाले । त्यसपछि मलाई जोगाउन विद्यालयका शिक्षकहरूले मेरो नाम नै परिवर्तन गरेर ‘शोभा’ राखिदिनुभयो । त्यो समय मेरो जीवनकै अत्यन्त डरलाग्दो समय थियो । घरमा सुरक्षाकर्मीले घेरेको दृश्य आज पनि बिर्सन सकेकी छैन ।
मेरो जीवनका दुई घटना कहिल्यै बिर्सन सक्दिनँ । पहिलो, सङ्कटकालमा सुरक्षाकर्मीले घर घेरेको र दोस्रो घटना, श्रीमान्काे मृत्यु भएको । ती दुवै घटनाले मेरो जीवनमा फरक मोड दिए । मलाई पछाडि फर्कनै नसक्ने गरी जीवनभरका लागि बदलिदिए ।

महिलाले पनि पुरुषसरह सबै काम गर्न सक्छन् भन्ने विश्वास मभित्र सानैदेखि थियो । बाल्यकालदेखि नै मेरा ठुला सपना थिए । म गायक बन्न चाहन्थेँ, कलाकार बन्न चाहन्थेँ । अनि त्यसपछि फेरि म ड्राइभर बन्छु भन्दै ड्राइभर पनि भएँ । मलाई बन्दुक समाउने पनि ठुलो धोको हो, ‘गनम्यान बन्छु’ भनेर सोच्थेँ । खासमा आर्मी बन्ने चाहना थियो ।
परिस्थितिले मेरा ती कुनै पनि सपना पूरा हुन दिएन । आफू कलाकार बन्ने मेरो सपना पूरा हुन नसके पनि अहिले मेरी छोरीले त्यो काम गर्दैछिन् । उनी कला क्षेत्रमा अघि बढिरहेकी छिन् । निशा विक हो छोरीको नाम । उनले नै मेरो सपना पूरा गर्ने प्रयास गरिरहेको महसुस गर्छु ।
मेरो बालविवाह भएको हो । मैले सानै उमेरमा विवाह गरेँ । कक्षा ८ मा पढ्दै थिएँ । १३ वर्षको उमेरमा २०५७ सालमा मेरो बिहे भएको हो । परिवारले विवाहलगत्तै मबाट सन्तान चाहन्थ्यो तर त्यसका लागि म सानै थिएँ । दुई–तीन वर्षसम्म सन्तान भएन ।
सन्तान भएन भनेर परिवारबाट ममाथि तनाव दिइयो र अपमान हुन थाल्यो । यस्तैमा १६ वर्षको उमेरमा २०६० सालमा मेरो छोरीको जन्म भएको हो । छोरी जन्मिएपछि पनि मेरो वैवाहिक जीवन सुखद रहेन । मेरा श्रीमान् नेपाल आर्मीमा कार्यरत हुनुहुन्थ्यो । उहाँको अन्य महिलासँग पनि सम्बन्ध रहेछ ।
मलाई घरमा हिंसा, अपमान र दुःख बढ्दै गयो । उहाँको अर्कै महिलासँग सम्बन्ध भएको थाहा पाएपछि मैले एउटा संस्थाको सहयोग लिएर कानुनी लडाइँ लडेँ । आफ्नो अधिकारका लागि अदालतसम्म पुगेँ र सम्बन्धविच्छेद गरेँ । सम्बन्धविच्छेदपछि माइतीमा बस्न थालेकी थिएँ ।
माइतीमा आमाबुबा सँगै नभएको र भाइबहिनीको विवाह भइसकेको थियो । उनीहरूको आ–आफ्नो परिवार भइसकेको थियो । माइतीमा बस्न पनि मलाई सहज भएन । त्यसपछि म एक्लोपन र असुरक्षाको अवस्थामा पुगेँ । म जीवनदेखि नै पूरै हार खाइसकेकी थिएँ । जिउनकै लागि मैले दोस्रो विवाह गर्नैपर्ने भयो ।
मैले दोस्रो विवाह गरेँ । श्रीमान्ले मेरो जीवनमा सकारात्मक परिवर्तन ल्याउनुभयो । उहाँले मेरो काममा निकै सहयोग गर्नुहुन्थ्यो । ‘महिलाले पनि धेरै कुरा गर्न सक्छन्’ भनेर उहाँले मलाई प्रोत्साहन दिनुहुन्थ्यो । मैले पढाइ छोडेको लगभग १८–१९ वर्ष भइसकेको थियो । उहाँकै प्रेरणाले फेरि पढ्न भनी विद्यालय फर्किएँ । कक्षा ९ मा भर्ना भएँ । मैले एसइईसम्मको पढाइ पूरा गरेँ ।
मेरो एउटा छोरा पनि जन्मियो । हामी खुसी थियौँ । हाम्रो त्यो खुसी धेरै लामो समय टिक्न भने सकेन । जीवनले फेरि मलाई निकै ठुलो चोट दियो । २०७४ साल साउन १७ गते मेरो श्रीमान्काे मृत्यु भयो । त्यो मेरो जीवनमा आइपरेको सबैभन्दा ठुलो आघात थियो ।
श्रीमान्काे मृत्यु भएपछि म गहिरो निराशामा डुबेँ, डिप्रेसनमा पुगेँ । आर्थिक अवस्था अत्यन्त कमजोर थियो । ऐलानी जग्गामा बनेको सानो टहरामा एक्लै दुई सन्तान हुर्काउँदै बस्न थालेँ । समाजले एकल महिलालाई हेर्ने दृष्टिकोण पनि अत्यन्त नकारात्मक थियो । आर्थिक, सामाजिक र मानसिकरूपमा म अत्यन्त कमजोर अवस्थामा पुगेकी थिएँ ।
श्रीमान्काे मृत्युपछि म पूर्णरूपमा भत्किएकी थिएँ । कतिपयले मलाई नै दोष दिए । ‘बुढोलाई खाई’ भन्नेसम्मको आरोपसमेत लगाए । कतिले बोक्सीको आरोप पनि लगाए, अपमान पनि गरे । माइतीमा पनि मेरा लागि सहज वातावरण रहेन । म जिउनु न मर्नुको अवस्थामा पुगिसकेकी थिएँ ।

जीवनको त्यस्तो कठिन अवस्थामा मेरा लागि मेरी छोरी निशा सबैभन्दा ठुलो सहारा र भरोसा बनेकी थिइन् । त्यतिबेला उनी १०–११ वर्षकी मात्र थिइन् । उनले मलाई, ‘मम्मी, हाम्रो लागि भए पनि बाँच्नुपर्छ’ भनेर सम्झाउँथिन् । आज पनि मेरी छोरी नै मेरो जीवनको सबैभन्दा ठुलो शक्ति हुन् ।
मेरो जीवनमा एउटा समय यस्तो पनि आयो, जुन बेला मैले आत्महत्या गर्ने निर्णय गरिसकेकी थिएँ । कहिले बोक्सीको आरोप त कहिले बुढो खाई भन्ने आरोपका कारण म निकै ठुलो समस्या र तनावमा परेकी थिएँ । दुई वर्षको छोरा काखमा थियो । तर, झुटा आरोप सहन निकै गाह्रो हुने रहेछ । त्यतिबेला औषधि खाएर आफू र छोराको जीवन अन्त्य गर्ने तयारी गरिसकेकी थिएँ ।
केही शुभेच्छुक साथीहरूको सहयोग र सम्झाइबुझाइले म त्यो निर्णयबाट पछाडि फर्किएँ । आज सोच्दा त्यो निर्णय अत्यन्त गलत थियो भन्ने मलाई लाग्छ । तर, आफ्नो श्रीमान् गुमाएको बेला उल्टै आफैँमाथि बोक्सी भन्ने र बुढो खाएको झुटा आरोप लगाइयो । त्यतिबेला मलाई एकाएक असह्य पीडा भएको थियो ।
मनभित्र उकुसमुकुस हुन्थ्यो । अत्तालिने, प्रेसर बढ्ने र मुटुको ढुकढुकी तीव्र हुने समस्या हुन्थ्यो । यस्तो अवस्थामा म चिसो पानी पिउँथेँ र लामो सास फेरेर आफूलाई शान्त बनाउने प्रयास गर्थें । पछि ज्ञानमार्गमा भेटिएका एक जना गुरुले मलाई आत्मालाई बलियो बनाउने उपाय सिकाउनुभयो । उहाँका ती शब्दहरूले मलाई भित्रैदेखि सम्हालिन मद्दत गरे । नभए त त्यो समय मेरो लागि अत्यन्तै पीडादायी थियो ।
श्रीमान्काे मृत्युपछि केही समय म स्वयं पनि मादक पदार्थको कुलतमा फसेँ । पछि विभिन्न सामाजिक संस्थासँग पनि जोडिएँ । त्यसपछि मेरो जीवनले नयाँ मोड लियो । मैले महसुस गरेँ-पहिले आफू परिवर्तित हुनुपर्छ, त्यसपछि परिवार र समाजलाई परिवर्तन गर्न सकिन्छ ।
मेरो जीवनको सङ्घर्ष यतिमै सीमित रहेन । अघि पनि भनेँ समाजले मलाई बोक्सीको आरोपसमेत लगायो । त्यो आरोपले मेरो आत्मसम्मानमाथि गहिरो चोट पुर्यायो । मानिसहरूको अमानवीय व्यवहारले कहिलेकाहीँ बाँच्नै नसक्ने अवस्था बनाइदियो । तर त्यही अँध्यारो समयमा एउटा संस्था मेरो जीवनलाई उज्यालो ठाउँमा पुर्याउने बलियो पुल बनेर आयो ।

म दलित महिलाहरूको अधिकारका लागि काम गर्ने फेडो नामक संस्थासँग आबद्ध भएँ । संस्थाले मलाई तीन पटक प्रशिक्षक प्रशिक्षण (टट) तालिम दियो । त्यो टट तालिमले मेरो जीवनलाई नयाँ दिशा पनि दियो । फेडोसँग आबद्ध भएपछि मैले नेतृत्व, अधिकार, न्याय र सामाजिक परिवर्तनका विषयमा सिक्ने अवसर पाएँ ।
फेडोमा कार्यरत दिदीबहिनीहरूले मलाई हौसला दिनुभयो । विशेषगरी मञ्जु सुनार र मीना विश्वकर्माको प्रेरणाले म आजको अवस्थामा आइपुगेकी हुँ । उहाँ म्याडमहरूबाटै बिस्तारै मैले आफूलाई चिन्ने र सम्हाल्ने शक्ति पाएँ । जीवनमा खाएका ठक्कर र हन्डरका कारण अन्याय सहेर चुप लाग्ने भइसकेकी म, अहिले फेरिएकी छु । समाजमा भए, गरिएका गलत कुराको विरोध गर्न सक्ने भएकी छु ।
मैले राम्रा कुरालाई स्वीकार्दै र नराम्रा कुरालाई नकार्दै समस्यामा परेका मानिसहरूलाई सम्भव भएसम्म सहयोग गर्ने प्रयास गर्छु । अहिले म किशोरावस्थामा जस्तै भेदभावको विरोधमा आफ्ना कुरा खुलेर राख्न सक्ने मात्र होइन, अरूका लागि आवाज उठाउन सक्ने पनि भएकी छु । समाज सुधारका लागि लड्न सक्ने व्यक्ति बनेकी छु ।
अहिले म सामाजिक अभियन्ताका रूपमा काम गरिरहेकी छु । घरेलु हिंसा, बालविवाह, नागरिकता, विवाह दर्ता, महिला अधिकार र जातीय विभेदका मुद्दामा समुदायका मानिसहरूलाई सहयोग गर्छु ।
घरभित्रै अन्याय, अत्याचार र संरचनागत समस्यामा जकडिन बाध्य पारिएका धेरै महिलाहरूलाई न्यायको लागि डोर्याउँदै कानुनी प्रक्रियासम्म पुर्याएकी छु । यसरी कतिपयको जीवन नै परिवर्तन भएको देख्दा अत्यन्त खुसी लाग्छ ।
मेरा लागि सबैभन्दा ठुलो सफलता भनेको अरूको जीवनमा आशा जगाउन सक्नु हो । कसैलाई अधिकार दिलाउन सक्नु, अन्यायविरुद्ध उभिन सक्नु र पीडितलाई न्यायको बाटो देखाउन सक्नु नै मेरो काम हो र यसमा मलाई गर्व छ ।
आज पनि समाजमा जातीय विभेद पूर्णरूपमा अन्त्य भएको छैन । दलित महिला भएकै कारण मैले अपमान, धम्की र अवरोधहरू अझै भोगिरहेकी छु । तर, अब म डराउँदिनँ । म आफ्नो पहिचानप्रति गर्व गर्छु । बाँच्नका लागि गर्नुपरेका अनगिन्ती सङ्घर्षले नै मलाई अहिले बलियो बनाएको महसुस भएको छ ।
आज मैले बुझेको सबैभन्दा ठुलो कुरा भनेको आत्मिक बल हो । आत्मिक बल नै सबैभन्दा ठुलो कुरा रहेछ । खुसी बाहिर होइन, आफ्नै मनभित्र हुने रहेछ । मानिसले आफूलाई आफैँ खुसी बनाउन सक्यो भने मन बलियो हुन्छ, मनोबल बढ्छ । सङ्घर्षका ती कठिन दिनहरूले मलाई यही र यस्तै पाठ सिकाए ।

आज म आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउन रुचाउँछु । औपचारिक प्रमाणपत्रको आर्जनभन्दा पनि समुदायका मानिसहरूको जीवनमा मैले ल्याउन सकेको परिवर्तन नै मेरो असली पहिचान हो । मेरो जीवनलाई एउटा वाक्यमा वर्णन गर्नुपर्दा म भन्छु– मेरो जीवन सङ्घर्षमय यात्रा हो; धेरै चोटि लडेँ, धेरै चोटि रोएँ, तर कहिल्यै हार मानेर बसेकी छैनँ ।
मलाई लाग्छ, सङ्घर्ष अझै जारी छ तर अब मसँग निराशा होइन, आशा छ; कमजोरी होइन, आत्मविश्वास छ र अरूका लागि केही गर्न सक्ने अद्भूत शक्ति छ । यही नै मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धि हो । यही नै मेरो प्राप्ति पनि हो ।
प्रकाशन मिति : २०८३ साउन २७ गते, बुधवार





