पिस्कर काण्डमा महिला शृङ्खला ८
विगतका घटना, परिघटना, आन्दोलन र परिवर्तनको बारेमा इतिहासका ठेली लेखिन्छ र छापिन्छ । विश्वविद्यालयमा तिनको पठनपाठन, व्याख्या विश्लेषण हुन्छ । इतिहास लेख्नु र पढ्नु पढाउनु विगतलाई फर्केर हेर्नु र बुझ्नु हो । विगतमा के भएको थियो भनेर खोज्नु ज्ञानात्मक कार्य हो । यो विगतको घटना सङ्कलनसँग मात्रै होइन, लेखनसँग पनि सम्बन्धित छ । विभिन्न कालखण्डका घटना, विषयवस्तु र पात्रहरूलाई जीवन्त राख्ने महत्त्वपूर्ण काम पनि हो, इतिहास लेखन ।
नेपालमा राजनीतिक व्यवस्था र सामाजिक/सांस्कृतिक परिवर्तनका लागि थुप्रै आन्दोलन, विद्रोह, घटना र परिघटनाहरू भए । २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि राणा शासनविरुद्ध होस् वा २०४६ सालमा बहुदलीय व्यवस्था पुर्नप्राप्तिका लागि पञ्चायत व्यवस्थाविरुद्धको जनआन्दोलन होस् वा २०६२/६३ सालमा लोकतन्त्रका लागि गरिएको अर्को निर्णायक आन्दोलन होस्, त्यसबिचको सशस्त्र द्वन्द्व र पछि मुलुकमा सङ्घीयता र गणतन्त्र आउँदासम्मका ऐतिहासिक कुराहरू विभिन्न हिसाबले लेखिए, दस्ताबेजीकरण पनि भए । तर, ती लिखित इतिहासभित्र महिला र महिलाहरूको सहभागिता, नेतृत्व र योगदानका कुराले पनि स्थान पाएका छन् त ? साँच्चै भन्ने हो भने छैन बराबरै छ ।
महिला सहभागिताको प्रसङ्ग कहीँ कतै रहेछ भने पनि त्यो अधुरो, अपूरो र पुरुषको सहयोगीका रूपमा वा सहायक भूमिकामा रहेको मात्रै भेटिन्छ । नेपालको इतिहासका कयौँ दस्ताबेजहरूमा महिलाहरूको उपस्थितिलाई ओझेलमा पारिएको छ । महिलाका सङ्घर्ष र योगदानलाई नजरअन्दाज गरिएको छ । अहिलेसम्म लेखिएका इतिहासहरू असमावेशी र लैङ्गिक दृष्टिबाट पक्षपाती ठहरिने खालका छन् । यसले मानव विकासको इतिहासमा हुनुपर्ने ज्ञानात्मक पहुँचलाई सीमित मात्र गरेको छैन, ज्ञानात्मक पुँजीको पुस्तान्तरणलाई पनि एकाङ्गी बनाउँदै ल्याएको छ । यसैले इतिहासलाई समग्रतामा बुझ्न सकिने गरी महिलाको पक्षबाट खोजी गर्नुपर्ने सुरुवाती दायित्व अहिलेको पुस्तामा थपिएको छ ।
‘सन्धान’ ले स्थापनाकालदेखि नै नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनहरूमा महिलाको सहभागिता, नेतृत्व र योगदानको विषयमा खोज्ने, लेख्ने र ऐतिहासिक महत्त्वका ज्ञानात्मक सामग्री उत्पादन गर्ने मूल ध्येयले काम गर्दै आइरहेको छ । २०७८ सालमा स्थापित ‘सन्धान’ यसै वर्ष २०८१ फागुन २४ (८ मार्च २०२५) देखि चौथो वर्षमा प्रवेश गरिसकेको छ ।
पहिलो वर्ष ‘सन्धान’ ले निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय प्रजातन्त्र पुनर्बहालीका लागि २०४६ सालमा भएको जनआन्दोलनमा महिलाको सहभागिता, नेतृत्व र योगदानको खोजी गर्ने कामको सुरुवात गर्यो भने त्यसपछि २०२८ सालको ‘झापा विद्रोह’ मा संलग्न महिलाहरूको बारेमा पनि खोजी गरेको थियो । यसका साथै, वादी महिलाको अधिकार र पहिचानको आन्दोलनमा सहभागी महिलाहरूको खोजी गरेको थियो ।
पिस्कर काण्ड भएको ४० वर्ष पुगेको बेला स्थलगत खोजी गरी यसै वर्ष माघ १ गते ‘पिस्कर काण्डमा महिला’ शृङ्खला नै सुरु गर्यो । त्यसमा स्थलगत अध्ययनको आधारमा खासगरी महिला पात्रहरूलाई भेटेर पञ्चायतकाल र पिस्कर काण्डको सेरोफेरोसँगैको जीवनभोगाइ, दृष्टिकोण र विचार समेटियो । ४० वर्षअघि जुन दिन ‘पिस्कर काण्ड’ भएको थियो, त्यही दिन पारेर सुरु गरिएको सो शृङ्खलाको यो आठौँ अङ्क हो । यसलाई भिडियो रिपोर्टको रूपमा प्रस्तुत गरिएको छ ।
आजको अङ्कमा नौ वटा खण्डहरू छन् । ती मूल भाव पनि हुन् । त्यही आधारमा पहिलो अङकदेखि सातौँ अङ्कसम्म समेटिएका पात्र, विषयवस्तु र घटनालाई विश्लेषण गरिएको छ ।
पहिलो खण्डको मूल भाव नेता, कार्यकर्ता र जात्रालुका दृष्टिमा गोली काण्ड, दोस्रो खण्डको मूल भाव थामी महिलाहरूले भोगेको त्यो दुःख र तेस्रो खण्डको मूल भाव शोषण, गरिबी र अशिक्षाको छिद्रमा भूमिगत राजनीति रहेको छ ।
रिपोर्टको चौथो खण्डमा महिला सहभागिता, नेतृत्व र योगदानको प्रसङ्ग छ । पाँचौँ खण्डमा सापेक्ष आनन्द र आत्मसमीक्षामा थामी महिला र छैटौँ खण्डमा सहिदको राजनीति र सहिद परिवारको अवस्थालाई मूल भाव बनाइएको छ ।
रिपोर्टको सातौँ खण्डमा असन्तुष्टिको अर्को पाटो छ भने आठौँ खण्डमा घरबार सम्हालेका महिलाका दुःख र मर्मलाई समेटिएको छ । नवौँ खण्ड भिडियो रिपोर्टको अन्तिम भाग हो । समग्रमा महिलाको भूमिका र मूल्याङ्कन यसको मूल भाव हो ।
यसै शृङ्खलामा यसअघि प्रस्तुत सात वटा अङ्कका शीर्षकहरू क्रमशः दुःख, कष्ट र त्रासदीको नमिठो सम्झना, पीडितकै मनोभावमा सहिदका परिवार, त्यो बेला गाउँघरमा देवरानी र मैले धेरै दुःख काट्यौँ, जति नै दुःख गरे पनि अवस्था जहाँको तहीँ, सानैदेखि सक्रिय भुइँमान्छेका रहर, दुःख र वितृष्णा, बाउन्न ठक्कर त्रिपन्न हन्डरपछिको सापेक्ष खुसी र आनन्द, दुःखका बेला नेतृत्व फालाफाल/सुखमा सदाचार रोज्नेलाई अनिकाल रहेका छन् ।
पिस्कर काण्डमा महिलाबारे थप अध्ययन, खोजी, विश्लेषण बाँकी नै छ । हामीले हालसम्म भेट्न नसकेका कतिपय पात्रहरूलाई खोज्ने, भेट्ने र कुराकानी गरी थप तथ्य सङ्कलन गर्ने कार्य जारी नै छ । हालका लागि भने यही भिडियो रिपोर्टका साथ यो शृङ्खलालाई स्थगित गरिएको जानकारी गराउँछौँ ।
प्रकाशन मिति : २०८१ फागुन २७ गते, मङ्गलवार
पिस्कर काण्डका थप कथाहरू यहाँ पढ्नुहाेस्
- दुःखका बेला नेतृत्व फालाफाल, सुखमा सदाचार रोज्नेलाई अनिकाल (भिडियो सहित)
- बाउन्न ठक्कर त्रिपन्न हन्डरपछिको सापेक्ष खुसी र आनन्द (भिडियो सहित)
- सानैदेखि सक्रिय भुइँमान्छेका रहर, दुःख र वितृष्णा (भिडियो सहित)
- जति नै दुःख गरे पनि अवस्था जहाँको तहीँ (भिडियो सहित)
- त्यो बेला गाउँघरमा देवरानी र मैले धेरै दुःख काट्यौँ (भिडियो सहित)
- दुःख, कष्ट र त्रासदीको नमिठो सम्झना (भिडियोसहित)
- पीडितकै मनोभावमा सहिदका परिवार (भिडियोसहित)