पिस्कर काण्डमा महिला शृङ्खला ७
पिस्कर काण्डसँग महिला नेतृत्वका विभिन्न घटनाहरू पनि जोडिएका थिए । २०३४–३५ सालतिरै थामी समुदायका किशोरी र महिलाहरू गीत सङ्गीतको बाटो हुँदै भूमिगत कम्युनिस्ट राजनीतिको नजिक हुन पुगे । बाल क्लबदेखि प्रौढकक्षासम्म शोषण, दमन, अन्याय, अत्याचार, हिंसा, गरिबी, अशिक्षा, बेरोजगारी आदि हटाएर सुखका दिन ल्याउने कुरा गरियो । त्यसका लागि पञ्चायत व्यवस्था हटाएर कम्युनिस्टको सरकार आउनुपर्ने भनियो ।
कुप्रथा, तत्कालीन व्यवस्था र कम्युनिस्टइतर विचार राख्नेलाई जसरी हुन्छ तह लगाउनुपर्ने ‘एक्सन’ का लागि ‘स्कुलिङ’ पनि भयो । यति भएपछि आदिवासी थामी समुदायका महिलाहरू अघि बढ्न तम्सिए । साहुको भकारीबाट कोदो, धान आदि बाँडिएपछि पुस्तौँदेखि शोषण र दमनमा परिरहेका गाउँवासी किसानहरूले केही राहत अनुभव गरे ।
अनाज कब्जा गरी बाँड्न लगाउनेकै इसारामा चल्दा आफ्नो भविष्य राम्रो हुने आशा र विश्वास गरी किसानहरूले सक्दो साथ पनि दिए । यसबारे स्थानीय समुदायका प्रत्यक्षदर्शी महिला र पुरुषका केही कुरा यसअघिका अङ्कमा आइसकेका छन् ।
पिस्कर काण्डअघि, काण्ड भएका बेला र त्यसपछिको अवस्था के थियो त ? अबको पालो, त्यति बेला सङ्गठन विस्तार गर्दै महिलाहरूलाई विभिन्न भूमिकामा लगाएका एक जना त्यस्ता नेताको, जसले पिस्कर क्षेत्रमा २४ वर्षको उमेरदेखि भूमिगत राजनीति गरी करिब नौ वर्ष बिताउनुभएको थियो । उहाँको नाम हो, माधव पौडेल ।
माधवले २०३४ सालमा सिन्धुपाल्चोक जिल्लाको जिम्मा लिएर राजधानी काठमाडौँबाट हिँड्दै गएको, २०४० सालको पिस्कर काण्डका बेला तत्कालीन नेकपा मालेको तर्फबाट सिन्धुपाल्चोकमा बसी भूमिगत राजनीति गरेको, श्रीमती मीरा थामीले पिस्कर घटना हुँदा पार्टीको पिस्कर गाउँ कमिटीको सचिवको जिम्मेवारी सम्हालेको, महिलाहरूले विभिन्न घटनामा अगुवाइ गरेका कुरा ‘सन्धान’ लाई बताउनुभयो ।
किसानलाई प्रौढकक्षा दिँदा पनि महिलाकै बढी सक्रियता रहेको थियो । माधवले महिलाकै अगुवाइमा भएका घटनाहरूबारे जानकारी दिने क्रममा बत्याहा प्रथा विरोधी गतिविधि गर्दै कोदो कब्जा गरी स्थानीय किसानलाई बाँडिएको, भिरमह कब्जा गरी बेचेर क्यासेट किनी जनजागरणका काममा उपयोग गरिएको, महिलामाथि दुर्व्यवहार गर्नेहरूलाई बाह्रबिसेमा बाटो ढुकेरै कुटपिट गरिएको, प्रहरी दमनको प्रतिकार गरिएको आदि प्रसङ्ग जोड्नुभयो ।
पहिलादेखि नै सबैभन्दा अन्याय अत्याचार गर्ने भन्दै आफूले देवीजंग पाण्डेविरुद्धको घटनामा खुर्पा लिएर अगुवाइ गरेको श्रीमती मीरा थामीको भनाइ थियो । उहाँले भन्नुभयो, “बर्खामा धान रोप्ने बेलामा पनि सित्तैमा रोपाइँ गइदिनुपर्ने । लुट्ने, खसीबाख्रो पनि देख्यो भने लुटिहाल्ने । सित्तैमा मेलो गर्दिनुपर्ने । त्यस्तो मेलो त मेरो बाआमाले पनि गर्दिनुभ’को हो ।” उहाँले पाण्डेहरू सबै खराब नभएका पनि बताउनुभयो ।
अन्याय अत्याचारको विरोधसँगै गाउँमा समाज नै परिवर्तन गरी सुख, शान्ति, आनन्द, गाँस, बास, कपास सबैको सुविधा जनतालाई पुर्याउने, दिने, राम्रो गर्ने भनेर २०३४ साल चैतदेखि पार्टीमा लागेको बताउने मीराले बत्याहा प्रथाको विरोध गर्दै महिलाले धान बाँड्न अगुवाइ गरेको घटनाबारे भन्नुभयो, “एक भकारी धान थ्यो, भकारीबाट निकाल्दै धोक्रो धोक्रोमा हाल्दै, हामीले झ्यालबाट पुरुषहरूलाई समाउन दिँदै गर्यौँ । पुरुषहरूले चाहिँ कहाँ कहाँ लग्दै बाँड्दै गरेको ।”
मीराका अनुसार, उहाँकी आमाले पनि चित्रकथा लिएर आफ्नो स्तरका साथीहरूलाई बुझाउँदै हिँड्ने गर्नुहुन्थ्यो । “तर, सर्वहारा वर्गको लागि के भयो त ? अहिले हेर्दा केही भए जस्तो लाग्दैन,” भन्दै मीराले थप्नुभयो, “हिजो चाहिँ सबै एकजुट हुनुपर्छ, फुटेर हुँदैन, जुटेर अघि बढ्नुपर्छ भनेर सिकाए । आज त्यही मान्छेहरूले चाहिँ राम्रो काम किन नगरेको ? जे बोल्यो त्यही मन, जे मन त्यही बोली गरेको भए देशको अवस्था यस्तो हुन्थ्यो त ?”
‘जे बोल्यो त्यही मन, जे मन त्यही बोली गरेर’ विभिन्न घटना र आन्दोलनमा महिलाहरूले जुन खालको भूमिका निभाए, त्यो अनुसार जुन खालको विकास हुनुपर्थ्यो, त्यो चाहिँ नभएको स्वीकार गर्दै माधवले भन्नुभयो, “जुनरूपमा उहाँहरूको योगदान र पिस्करको कहानी राष्ट्रव्यापीरूपमा भन्छौँ, त्यसअनुसार त छैन ।”
यति हुँदाहुँदै पनि ६५ वर्षीया मीरालाई एक दिन मरेर जाने जीवनमा आफूले भने राम्रै गरेँ भन्ने लाग्छ । स्मरणीय छ, आदिवासी समुदायका भएकाले परम्परागतरूपमै थामी महिलाहरू पुरुषभन्दा कम हुँदैनन् । पुरुषप्रधान सोचले घर गरेका नेताहरूमा भने यस कुराको समुचित बोध भएको देखिँदैन ।
स्थानीय समुदायमा रुझेभिजेर राजनीति गरेका ७१ वर्षीय माधवले पनि पार्टीप्रति ‘असन्तुष्ट तर पुरुष’ हरूलाई इङ्गित गरे जसरी भन्नुभयो, “दुर्भाग्य भन्नुपर्छ, त्यहाँका एउटै पनि नेताहरूलाई हामीले नेतृत्वमा ल्याउन सकेनौँ । पछिल्लो दिनहरूमा गाउँपालिकामा भएका चुनावमा पनि थामी नेताहरूलाई अगाडि बढाइएन ।”
भेदभाव, शोषण, दमन, अन्याय, अत्याचारविरुद्धका कुरा गरी महिलाको साथ बटुले पनि लैङ्गिक समानताको मुद्दा ओझेलमै रह्यो । समता त झन् परको कुरा भयो । नेतादेखि कार्यकर्ताहरूको बुझाइ पनि पद लिने र दिनेमा सीमित भएको पाइयो । वर्गीय मुद्दा नयाँ ‘देवीजंग’ हरू जन्माउने मोडमा गयो । स्थानीय थामी तथा किसान समुदायका समस्यालाई लगभग जहाँको तहीँ छाडियो ।
पञ्चायत व्यवस्था हटाएर कम्युनिस्टको सरकार ल्याएपछि जीवन सुखमय हुन्छ भन्ने कुरामा विश्वास गरेर भूमिगत राजनीति गरेका कतिपय थामी किसान कार्यकर्ताले २०५४ सालमै पार्टी छोडे । केही समयपछि त पक्कै राम्रो होला भनी साथ दिइरहेका कार्यकर्ताहरूले पनि आशा मार्दै र पार्टी छाड्दै गए । यो क्रम २० वर्षपछिसम्म पनि रोकिएन ।
शिक्षा, स्वास्थ्य, कृषि, बजार, यातायात, उद्योग, रोजगारी जस्ता आधारभूत सपना पनि साकार हुन सकेनन् । जीविकोपार्जनका नयाँ बाटा र विकल्पहरू दिइएन । जीवनको उत्तरार्धमा पुगेका कतिपयले आफू मात्र होइन, आफ्नो समुदाय र पुस्तालाई नै ठगिएको अनुभव गरे । अन्ततः कुटो, कोदालो लिएर खेतबारी खनीखोस्री नगरी हातमुख जोड्नै नसकिने रहेछ भन्ने पनि बुझे ।
पञ्चायतकालदेखि नै राजनीतिक सक्रियता देखाउँदै आएका स्थानीयवासी थामी समुदायको जीवनस्तर उकास्नका लागि पहल किन भएन ? अरू कुरा छाडौँ, स्थानीय सरकार र उनीहरूका बिचमा पनि केले भाँजो हालिरह्यो ? थामी महिलाका योगदानको पनि सही मूल्याङ्कन किन भएन ? मुख्य कमजोरी कसको हो ? दोष कुन कुन पक्षको हो ?
माधवले भन्नुभयो, “मेरो पनि कमजोरी भन्नुपर्छ, अरूलाई मात्र दोष लगाएर काम छैन ।” उहाँले आफ्नो भागको कमजोरी स्वीकार गर्दै थप स्पष्ट पार्नुभयो, “म पनि अघिदेखि नेता नै छु तर पार्टीको माथ्लो तहको नेतृत्वमा ल्याउन सकिएन । राजकीय पदहरूमा ल्याउन सकिएन,” उहाँको यो भनाइ पनि स्थानीय महिलाप्रति लक्षित भइदिएको भए हुन्थ्यो तर त्यस्तो थिएन ।
माधव दम्पतीलाई ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र क्यामेरामा मुकुन्द बोगटीले उहाँकै निवास ललितपुर जिल्लाको लामाटारमा २०८१ माघ ९ गते भेट्नुभएको थियो । उहाँहरूसँग छुट्टाछुट्टै कुराकानी भएको हो । दुवै जनासँगको कुराकानी पिस्कर काण्डका साथै त्योभन्दा अगाडि र पछाडिका केही प्रसङ्ग, जुन सो क्षेत्रका महिलाको सहभागिता, नेतृत्व र योगदानसँग जोडिन सक्छन्, मा केन्द्रित थियो ।
भिडियो कुराकानीलाई लिपिबद्ध गरी स्वकथनका पाठ निर्माण गरियो । सोही पाठका आधारमा ‘सन्धान सम्पादक मण्डल’ ले अध्ययन, विश्लेषण, लेखन, सम्पादन, परिमार्जन तथा पुनर्लेखन गरी यो सामग्री तयार गरेको हो । स्वकथनका पाठभित्र लैङ्गिक दृष्टिले प्रश्न उठाएर समाधान खोज्नुपर्ने धेरै छिद्रहरू भेटिएका छन् । ती व्यक्त र अव्यक्त दुबै तहमा रहेकाले तिनलाई थप कोट्ट्याउन, केलाउन, छान्न र निफन्न बाँकी छ ।
हामीले पिस्कर काण्ड भएको दिन पारेर २०८१ माघ १ गते मङ्गलवार ‘पिस्कर काण्डमा महिला’ शीर्षक शृङ्खला सुरु गरेका थियौँ । आजको सामग्री सोही शृङ्खलाको सातौैँ अङ्क हो । प्रस्तुत छ, माधव पौडेल र मीरा थामीका भनाइको पाठसँगै भिडियो अंश :
धेरै कुरामा महिलाको नेतृत्व भयो
– माधव पौडेल
म नख्खु जेल विद्रोह गरेर आइसकेपछि मकवानपुर हुँदै सिन्धुपाल्चोकको जिम्मा लिएर २०३४ साल भदौ १४ गते मेरो आफ्नै घरबाट कमरेड अमृतकुमार बोहरासँग दुई दिन हिँडेर पिस्कर गएँ । मोटर चढ्न पनि अप्ठेरो भएकाले हिँडेरै गयौँ । पिस्करकै लालजंग पाण्डे भन्ने शिक्षकले मेरो जिम्मा लिनुभयो र उहाँले मलाई रित्तो घरमा राख्नुभयो ।
लालजंगले बेलुकातिर किसानहरूलाई म बसेको ठाउँमा ल्याइदिनुहुन्थ्यो अनि किसानहरूसँग मेरो कुराकानी हुन्थ्यो । दुई–तीन दिन त्यस्तै चल्यो । त्यो घरमा कोही पनि मान्छे बस्दैनथ्यो । उहाँले पसलबाट कहिले चिउरा, पुवा, ढिँडो ल्याएर मलाई खुवाउनुहुन्थ्यो ।
दुई दिनपछि लालजंगले मलाई ‘तपाईंले झ्यालबाट चिहाउनुभएछ, एक जना भाउजुले देख्नुभयो । अब तपाईं यो घरमा बस्न नमिल्ने भयो’ भन्नुभयो । मैले त्यहाँ बस्न दिनका लागि धेरै अनुरोध गर्दा पनि उहाँले नमानेपछि ‘मलाई कोही गरिब किसानकोमा लगिदिनुस्, सके बस्छु नसके फर्कुंला’ भनेँ ।
मलाई उहाँले दुई वटा सर्त राख्नुभयो । एउटा, उहाँको घरमा अब आइन्दा म कहिले नआउने, अर्को, पक्राउ परेमा मैले उहाँको नाम नपोल्ने । मैले ती सर्त मान्छु भनेँ । त्यसपछि उहाँले एकाबिहानै ४ बजेतिर मलाई पृथ्वीमान थामी र उहाँको दिदी काली थामी दुई जना भएको घरमा लग्दिनुभयो ।
लामो कुरापछि पृथ्वीमानले मलाई राख्न तयार हुनुभयो । तर त्यो घर २० बाइ १२ को छाप्रो थ्यो । एक कोठाको छाप्रो मात्रै । माथि तला र अर्को कोठा केही पनि थिएन । त्यही छाप्रोभित्रै बाख्रा बान्ने पनि त्यहीँ, कुखुरा थुन्ने पनि त्यहीँ, जाँतो पनि त्यहीँ अनि त्यहीँ नै बिचमा अनि दुई तिर दिदी र भाइ सुत्ने ।
छाप्रोभित्र अगेनाको बिचमा भकारीले बाँधेको तीन फिटको ठाउँ ! त्यहाँनेर एउटा पुरानो सन्दुस, घम्यापो, सानो तीनफिटे फल्याक राखेको रहेछ । म त्यही फल्याकमा बस्ने र सुत्ने कुरा भयो । म त्यहाँ एक महिनासम्म बसेँ ।
पृथ्वीमानकी दिदी, जसले गाउँमा ज्यालाबनी गरेर केही ल्याउनुहुन्थ्यो, उहाँको आफ्नो जग्गाको उब्जनीबाट तीन महिना मात्र खान पुग्थ्यो । उहाँका भाइ भकारी बुन्नुहुन्थ्यो । दिदीले ज्यालाबनी गरेर र भाइले भकारी बेचेर मलाई पाल्नुहुन्थ्यो । म एक महिनासम्म त्यहाँ बसेँ ।
सम्बन्ध विस्तार गर्दै जाँदा अरू गाउँमा सेल्टर बनाएँ । नौ महिनासम्म पार्टीसँग सम्पर्क हुन सकेन । पार्टीको मध्य–उत्तर क्षेत्रीय कमिटी थियो, त्यसमा १७/१८ वटा जिल्ला थिए । कमिटीले सबै हेर्नुपर्ने थियो । हाम्रो इन्चार्ज अमृत बोहरा सबैतिर जानुपर्ने थियो । उहाँसँग नौ महिनासम्म भेट्न पाइएन ।
म पनि आउने जाने अवस्था रहेन । नौ महिनाको बिचमा त्यहाँ मैले २८ वटा कमिटी बनाएछु । कमिटी बनाउँदै त्यहाँ केही आन्दोलनहरू छेडिए । एउटा चाहिँ बत्याहा प्रथा विरोधी आन्दोलन थियो । बत्याहा भनेको असारमा चार पाथी धान लियो भने मङ्सिरमा पाँच पाथी बुझाउनुपर्ने प्रथा हो ।
एक दिन काम गर्दिनुपर्ने, कोसेलीका रूपमा तरकारी, डोका, थुन्चे पनि दिनुपर्ने खालको प्रथा रहेछ त्यो । अत्यन्तै निर्मम शोषण गर्ने प्रथा रहेछ । त्यसैले त्यसका विरुद्धमा मैले पहल गरेँ र सङ्घर्ष छेडियो । सबैभन्दा पहिला २०३४ सालको अन्त्यतिर सबै किसानलाई कोदो बाँड्ने आन्दोलन गरियो ।
गाउँको बिचमा एउटा किसानको घरमा उसको ढुकुटी रहेछ । भकारीमा कोदो जम्मा गर्या रहेछ । उसले खातापाता पनि त्यहीँ राख्या रहेछ । कोदो लिएर तिर्न नसक्ने सात जना किसानको बारी पनि साहुले खाएको रहेछ, राजीनामा तमसुक गर्या रहेछ । त्यो पनि च्यात्ने, अरू खातापाता पनि च्यात्ने, जलाउने गरियो । सबै किसानलाई जम्मा गरेर त्यो भकारीको कोदो बाँड्ने आन्दोलन गरियो ।

आन्दोलनमा अगुवाइ महिलाहरूले गर्नुभएको थियो । महिलाहरूमा त्यतिखेर ‘मसली’ भन्थे मीरा थामी, पूर्णमाया थामीलगायतका साथीहरू थिए । पुरुषमा जगतबहादुर थामी, लालबहादुर थामीहरू सक्रिय थिए । त्यसको सफलतापछि गाउँको सामन्त देवीजंग पाण्डेको खेतकै धान कब्जा गर्ने उहाँहरूको अर्को योजना बन्यो र धान पनि कब्जा गर्नुभयो ।
कोदो बाँडेकै घटनापछि गाउँमा एकखाले फटाहाहरूको आतङ्क र दमनको नियत सुरु भैसकेको थियो । झन् देवीजंग पाण्डेको खेतको धान कब्जा गरेर एउटा ओडारमा लगेर राखिसकेपछि त पुलिस नै ल्याए । त्यो ओडार थाहा पाएछन् अनि पुलिस र आफ्नो दलबलसहित उनीहरू आए ।
ओडारमा ल्याएर केही किसानलाई केरकार गरेको अवस्थामा तुरुन्तै अरू किसानहरू, बच्चा बोकेका महिलाहरू पनि सामेल भए । ५०–६० जना जति थिए । उहाँहरूले त्यो सामन्ती र पुलिसहरूको जत्थालाई लखेट्नुभयो । लखेटेर धानका बोराहरू गाउँको बिचमा ल्याएर फलामको ताप्केले सबै किसानहरूलाई बाँड्नुभयो ।
किसानहरूलाई धान बाँडेपछि त्यहाँ एक खालको ‘मुक्त क्षेत्र’ जस्तो भयो । गाउँका बाँकी सबै मान्छेहरू पनि घरपरिवारै राजनीतिमा लाग्ने अवस्थामा पुगेको थियो । त्यो बिचमा पञ्चनेता केशरबहादुर खड्काको अगुवाइमा ३५ जना प्रहरी गाउँमा आइपुगे । किसानहरू जम्मै पुलिस भएको ठाउँमा जम्मा भए ।
महिला, पुरुष सबै गरेर तीन सय जना जति थिए होला । ती सबै पुलिस भएको ठाउँमा जम्मा भएपछि पुलिसले ‘तिमीहरूको नेता को हो देखाओ, तिमीहरूलाई केही गर्दैनौँ, नेतालाई लग्छौँ’ भनेछन् । जम्मा भएकाहरूले ‘हामी सबै नेता हो’ भनेपछि तीन सय जनालाई नै ‘ल हिँड्’ भनेर लगे ।
सबैले नै सामूहिक गिरफ्तारी दिनुभयो । त्यसमा पनि आधीभन्दा बढी महिला हुनुहुन्थ्यो । कोही साना बालबच्चाहरू नै बोकेर जानुभएको थियो । सबै जना हिँडेर करिब डेढ घण्टा तल धुस्कुन भन्ने ठाउँमा पुगेपछि चौताराबाट घोडा चढेर सिडिओ त्यहीँ आएछन् । उनले त्यहाँ रोकेर जगतबहादुर थामी, धनबहादुर थामी, साइला थामीलगायतका छ जना किसानलाई समाएर अरूलाई फिर्ता पठाएछन् ।
पछि तुरुन्तै सिडिओले ७० जनालाई वारेन्ट जारी गरे । वारेन्ट पनि महिला, बुढाबुढी सबैलाई थियो । ती वारेन्ट भएका सबै जना एक महिनासम्म जङ्गलमा, ओडारमा एक एक वटा परालको मुठा लिएर बस्नुपर्ने अवस्था आयो । यो २०३५ सालको कुरा हो । यसको बयान तत्कालीन नेकपा मालेको ‘मुक्तिमोर्चा’ भन्ने ‘मुखपत्र’ को डेढ पेजमा गरिएको छ ।
पुलिसको दमन र आतङ्कपछि भने हाम्रो कुरा सुन्न तयार नहुने, सेल्टर पनि नदिने अवस्था भयो । यसले गर्दा मलाई त्यहाँ बास बस्न पनि गाह्रो भयो । त्यस्तो बेलामा आइतमाया थामी, मीरा थामी, पूर्णमाया थामी, चनमाया थामी अनि लालबहादुर थामी, जगतबहादुर थामी, चतुरमान थामी आदिले पार्टीलाई जोगाउने आँट र हिम्मत दिनुभयो ।
थामी महिला र पुरुषहरूबाटै पार्टी र अरू आन्दोलनहरू उठाउने काम भयो । अरू सेल्टर बन्यो । त्यसरी सङ्गठन त्यस्तो ठाउँबाट सुरु गरेर अगाडि बढ्यो । त्यतिखेर नेपालमा जनवादी गीतको लहर आएको थियो । मञ्जुल, राल्फाको जनवादी गीत आएको थियो ।
‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर हाम्रो नेपालमा’, ‘गाई त पालेँ ढुङ्ग्रोमा मही छैन, गरीबको बोल्दिने कोइ छैन’ भन्ने जस्ता धेरै गीत थिए । हामीले यस्तै गीत र चित्रकथाहरूको माध्यमबाट बुझाएर किसानहरूलाई सङ्गठित गर्थ्यौं ।
जनवादी गीत गाउने साङ्गीतिक टोली थियो, सात जनाको । चार महिला र तीन जना पुरुष, सबै थामीहरू नै हो । आइतमाया, चनमाया, मीरा (मसली), पूर्णमाया, चतुरमान, चिनबहादुर र लालबहादुर थामी हुनुहुन्थ्यो । साङ्गीतिक टोलीमा महिलाहरूकै अगुवाइ थियो ।
सङ्गीत टोलीले ‘भिरमह कब्जा’ गर्ने काम पनि गरेको थियो । पिस्करका ठुलाठुला भिरमा भिरमह हुन्थ्यो । त्यो मह गाउँभरिका किसानहरूले काढिदिनुपर्ने, खाने चाहिँ तौथलीका ठालुहरू रहेछन् । उनीहरूलाई दिनुपर्ने रहेछ ।
सङ्गीत टोलीका सदस्यहरू सङ्गठित भएर किसानहरूले काढेको मह कब्जा गर्नुभयो । चार टिन भएछ । त्यो मह झलनाथ खनालको साला काठमाडौँ, नरदेवीका विश्व चित्रकारले बिक्री गरिदिनुभयो । त्यो पैसाबाट टोलीले ३३ सय रुपैयाँको एउटा क्यासेट किन्यो । क्यासेटले गीति कार्यक्रम गर्न धेरै सघायो । गीत भर्ने, क्यासेटमा सुन्ने, सिक्ने, तालिम गर्ने, अरूलाई सुनाउने भयो ।
सङ्गीत टोलीसँग जम्माजम्मी मादल र बाँसुरीबाहेक केही पनि थिएन । मादल र बाँसुरीको भरमा उहाँहरूले वरपरका चोकटी, धुस्कुन, टेकानपुर, तौथली, राम्चे, बाह्रबिसेलगायतका धेरै गाउँमा गीति कार्यक्रम आयोजना गर्नुभयो । गीत र नाचसँगै सानोसानो टुक्काहरू, नाटकहरू पनि बनाएर उहाँहरूले देखाउन हिँड्न थाल्नुभयो । आफ्नो गाउँमा पनि उत्साह भर्नुभयो ।
गीतको माध्यमबाट मेलम्चीसम्म पनि कार्यक्रम लिएर जानुभयो । त्यस्तो गरिसकेपछि एउटा लहर पिस्करको क्षेत्र विस्तार पनि भयो । पार्टीको विस्तार पनि भयो । उत्साह, जोस, जाँगर पनि भयो । कमिटीहरू बन्न थाले । नयाँ ढङ्गले आन्दोलन अघि बढ्यो ।
खासगरी वर्गीय गीतहरू, वर्गीय माया जोगाउने खालका गीतहरू र महिलाहरूमा भएको थिचोमिचो, जेबी टुहुरेको महिलासम्बन्धी गीत त्यति बेला बढी चर्चित थियो । २०३७ सालमा बाह्रबिसेको सुनकोसीमा तीज कार्यक्रमको आयोजना गर्नुभयो ।
धुस्कुनमा एउटा ललितबहादुर भण्डारी भन्ने देवीजंग पाण्डे जस्तै थिए । उनी महिलाहरूले गरेको कार्यक्रम बिथोल्नका लागि सुनकोसी पुगेका रहेछन् । अनि महिलाहरूले समाएर उनलाई खम्बामा बाँधेछन् । अब आइन्दा यस्तो गर्दिनँ भनेर कजाएर केरकार गरेर छोड्ने काम पनि महिलाहरूले गर्नुभयो ।
सरकारको अन्याय अत्याचारको विरुद्धमा महिलाहरूले २०३७ सालमै बाह्रबिसेमै विरोध प्रदर्शन पनि गर्नुभयो । अर्को घटना पनि छ, बाह्रबिसेमा दुई जनालाई महिलाहरूकै अगुवाइमा मेला थामीकै अगुवाइमा सात जना किसानको टोलीले, बाह्रबिसे सुनकोसीको स्कुलनेर हिँड्ने बाटो ढुकेर खुट्टा भाँच्ने भनेर एउटाको खुट्टा भाँच्दिनुभयो ।
अर्को एक जनाको चाहिँ खुट्टा भाँच्चिएन । नाम नभनौँ, अहिले नेपाली कांग्रेसका माननीयसम्म पुगेका नेता हुन् । तिनीहरूले महिलाहरूलाई समाउँदै हिँड्ने, हातपात गर्ने, मान्छेको पैसा लुट्ने जस्तो अत्याचार गर्थे, सिआइडीको काम पनि गर्थे । यस्तै आरोपमा महिलाले त्यति बेला त्यस्तो कारवाही गरेका थिए ।
पिस्कर काण्डभन्दा अगाडि २०४० वैशाख १८ गते अनेरास्ववियुको प्रथम जिल्ला सम्मेलन गरेका थियौँ, सुनकोसीमै । त्यो सम्मेलनमा पनि दमन भयो, २५ वटा जति गोली चल्यो । लालबहादुर थामी र भुडेसाइला थामी भन्ने दुई जनालाई गोली लागेर घाइते हुनुभयो । दमनको प्रतिकारमा विद्यार्थी नेता साबित्री बोहराले अगुवाइ गर्नुभयो । एउटा हवलदार घाइते हुने गरी पिटिए ।
हामीले किसानहरूलाई पढाउनका लागि प्रौढकक्षा पनि गर्थ्यौं । दिनभरि खेतीकिसानी काम गर्ने अनि रातभरि पढ्ने गर्नुहुन्थ्यो । पहिला ‘सुर्तीखैनी लेउदेउ’ भन्ने महिलाहरू पढन थालेपछि काममा बाह्रबिसेतिर गएका आफ्नो घरका पुरुष सदस्यलाई ‘मट्टितेल लिएर आऊ, टुकीबत्ती ल्याइदेऊ’ भन्नुहुन्थ्यो ।
बिस्तारै महिलाहरू जाँडरक्सीको विरोध गर्ने पनि हुनुभयो । रक्सी नभइ नहुने ठाउँमा जाँड हाल्ने घैँटोमा मकै, कोदो राख्ने अवस्था पनि भयो । यस्तै हुँदै सङ्गठनमा काम गर्ने क्रममा सङ्गठन विस्तार हुँदै थियो । जिल्लाको विभिन्न भागमा कमिटीहरू बन्दै थिए । त्यहीबिचमा अष्टलक्ष्मी शाक्य पनि १०–११ महिना पिस्कर क्षेत्रमा पुग्नुभयो । कडा वारेन्ट थियो, उहाँको पनि धेरै खोजी भयो ।
पिस्करमा मैले बनाएको क्षेत्रमा इलाका इन्चार्ज मीरा थामीलाई जिम्मा लगाएर उहाँलाई त्यहाँ राखेर म जिल्लाका अरू भाग हेर्न गएँ । उहाँ पिस्कर हत्याकाण्डभन्दा दुईचार महिना अगाडिसम्म बस्नुभयो । पेटमा सातआठ महिनाको बच्चा भइसकेपछि निकै गाह्रो भइसकेपछि उहाँ त्यहाँबाट जानुभयो ।
चालिस सालको पिस्कर घटना कस्तो भयो भने, गीतबाटै लहर फैलाएको हुनाले ‘जात्रामा एउटा गीति कार्यक्रम गरौँ, सबै मान्छे आउँछन्’ भन्ने कुरा भयो । जिल्ला पार्टी कमिटीले नै प्रचार गर्यो । अनि चोकटी, लाटु, टेकानपुर, तौथली, धुस्कुन, कर्थलीलगायत सात गाउँका किसानहरू कार्यक्रम हेर्न भनेर आउनुभयो ।
टुक्काहरू, गीतहरू, नाचहरू, वर्ग छुटिएका, वर्ग जमाउने गीतहरू उहाँहरूले लिएर आउनुहुने भयो । हेर्दा गर्दा गर्दै त मान्छे त १५ सय, दुई हजार हुने खालको आयो । अब के गर्ने त्यत्रो साथीहरू आउनुहुन्छ । गाउँभरि उर्दी लगाएर सख्खरखण्ड, तरुल, मकै, भटमास जम्मा गरेर खाजाका लागि भुट्न लगाएर राख्ने काम भयो ।
बारीको पाटामा सारा सोतर ल्याएर बिछाउने अनि बसेर हेर्ने । मञ्च बनाउने काम सबै भयो । अब केही गरे फटाहाहरू आए भने के गर्ने भनेर सुरक्षाका लागि घँगारुको एक एक हातको दुई चार भारी लठठ्ी काटेर ल्याउने काम पनि भयो । दुई चार डोका ढुङ्गा पनि जम्मा गरेर राखिएको थियो । गोली चलेको ठाउँभन्दा अलि माथि काइँला थामी भन्नेको घर नजिकै थुपारेर राख्ने काम भयो ।
वास्तवमा हाम्रो कार्यक्रम के थियो भने, त्यहाँको गीत लहर चलाउने त्यहाँका महिला, किसान र त्यहाँका पुरुष किसानको अगुवाइमा गीति कार्यक्रम आयोजना भएको हो । पिस्करकै सङ्गीत टोलीका चेलाहरू अरू ठाउँमा बनेका थिए । त्यही हुनाले उनीहरूकै तयारीमा कार्यक्रम गर्दा ठुलो भएको हो ।
पार्टीको औपचारिक कार्यक्रम नभइकन त्यो जनसांस्कृतिक कार्यक्रम मात्र थियो । त्यसमा प्रहसन, सानासाना नाटक, टुक्काहरू सबैले आफैँआफैँले ल्याउने खालको तयारी भा’थ्यो । कार्यक्रमको उद्घोषक बमबहादुर पौडेल भन्ने हाम्रो कर्थलीको साथी हुनुहुन्थ्यो । म पनि त्यहाँ थिएँ । अर्को तारा पन्त भन्ने साथी पनि हुनुहुन्थ्यो । अरू सबै गाउँका किसान हुनुहुन्थ्यो ।
कार्यक्रम सकियो । सबै घरघर जान थाल्नु भएको थियो । तारा पन्तलाई अर्को गाउँमा पठाएको थिएँ र हिँडिसक्नु भएको थियो । पूर्णमाया पनि तलतिर जाँदै हुनुहुन्थ्यो । तारा पन्तलाई अर्को केही कुरा भन्न बिर्सेछु र भेट्नलाई पछ्याउँदै तलतिर झरेँ । तर पूर्णमाया र तारा पन्तलाई समाइसकेछ । यो गोली चल्नुभन्दा १०–१५ मिनेट अगाडिको कुरा हो । त्यहाँ पुग्दा पुलिसहरूले मलाई पनि समाइहाले । त्यसपछि डिएसपीले बारीको पाटामा सबै पुलिसलाई राखेर आदेश दिँदै भन्यो, ‘मञ्चको मान्छे सबै झिरिप पार्ने, मञ्च बाहिरकोलाई अहिले केही पनि नगर्ने’ । यो आदेशपछि पुलिसहरू गोली हान्न गए ।
डिएसपी अलि मोटो थियो, बिस्तारै हिँड्ने तरखरमा थियो । अर्को डिएसपी नेतृत्वको अर्को टोली पनि आयो । म छेउमा थिएँ । अर्को डिएसपीले मलाई ‘ए केटा, किन यहाँ बसेको’ भने । ‘यिनीहरूलाई कुरेर बसेको’ भनेर पुलिसलाई भनेँ । १२–१३ जना पुलिस पनि थिए । ‘गोली हान्न आएको मान्छे यहाँ बस्ने’ भनेर भने । पुलिसले ‘बाटो देख्या छ’ भन्यो । मैले ‘देख्या छु सर’ भनेँ ।
म जुरुक्क उठिहालेँ । उनीहरू गह्रौँ बन्दुक लिएर आथे । उठ्न उ भयो । हतार भएको उले हिँडिहाल्यो । ‘सर अगाडि हिँड्नुस्’ भनेँ । दुई चार पाइला अलिकति उसलाई अगाडि हिँडाएपछि म अलि पर गएँ । पछि स्वाट्ट उक्लिएर कान्ला’ चढेर डोलाई फालेँ । म भागिहालँे, तारा पन्तलाई समात्यो । त्यहीँ हुनुहुन्छ ।
अरू समात्या पनि त्यहीँ छन् । ‘साले चोर भाग्यो’ भनेर उस्ले त मलाई निगरानीमा राखेको । यो बाहिरको मान्छे भनेर उसलाई त्यो पनि थाहा थिएन । ‘साले चोर भागे’ भनेर भने । त्यसको डेढ मिनेटपछि गोली चल्यो । पूर्णमाया पनि कसरी कसरी फुत्किनु भएछ ।
दुई तीन कान्ला माथि चढेँ म । गोली चलिसकेपछि उनीहरू मतिरभन्दा पनि गोली चलेकोतिर गए । सबैभन्दा अघि मञ्चमा गएर मैनटोल निभाएछन् । मैनटोल निभाइसकेपछि गोली चलाउन थाले ।
हाम्रो यताबाट ढुङ्गा र घँगारुको लठ्ठीको तयारी थियो । यताबाट वीरबहादुर, जगतबहादुरहरू, इलीहरू अनि अरू साथीहरूले ढुङ्गा हान्न थाल्नुभयो । बत्ती निभिसकेपछि अन्धकार भयो । उनीहरूले टर्च लाइट देखाएर गोली हाने । वीरबहादुरको कन्चटमै गोली लाग्यो अनि इली थामीको पेटमा लाग्यो ।
धेरै गोली धेरै जना साथीहरूलाई लाग्यो । १०–१५ जना साथीहरूलाई गोली लाग्यो । अनि उनीहरू तितरबितर भए । यताबाट घँगारुको लठ्ठी र ढुङ्गा बर्सेपछि उनीहरू तितरबितर भइसकेपछि किसानहरूले पनि गोली चलाउँछन् भन्ने परेछ । त्यो भएर उनीहरू जहाँ थिए, त्यहीँबाट गोली चलाउन थाले ।
आधा घण्टासम्म भिडन्त भयो । उताबाट गोली र हाम्रो यताबाट ढुङ्गा र घँगारु लठठी । झन्डै आधा घण्टा त्यस्तो भएपछि पुलिसका हाकिम डराएर भागे । ‘ल केटा हो, गोली लागेका घाइते मान्छे लिएर आउनू’ भन्ने आदेश गरेछन् ।
वीरबहादुर त्यहीँ ढल्नुभएको अनि इली अलि छटपटिएकोलाई पुलिसले घिसार्दै लगेर तल खोलाको खोल्सामा लगेर मर्यो भनेर त्यही बनमाराको झाङले छोपेर गए । त्यसपछि १२–१५ जनालाई बिहान उज्यालो हुने बेला उनीहरूले समातेर लगे । त्यतिखेर समातिनेमा दुई तीन जना महिला पनि हुनुहुन्छ ।
जगतबहादुर बोहरा, पाल्कमाया थामी, श्रीमान तामाङ, बेत्रावती पौडेल अनि नैनबहादुर पौडेल, राजु थामी, पासाङ डोल्मा, भीमबहादुर, यसरी महिलासहित १५ जना जतिलाई उज्यालो हुने बेलामा समातेर लगे ।
कोही अलि बढी घाइते भएका थिए । कोही सामान्य थिए । पुलिसले घाइतेलाई लगे । महिलासहितको १५ जनालाई लिएर गए । त्यो दिनभरि आएनन् । उनीहरू भोलिपल्ट मात्रै आए ।
वीरबहादुरको दाहसंस्कार साथीहरूले गरे । म त्यसमा निस्किनँ । मैले त्यतिखेरै बिहानै इलाका कमिटीको बैठक, त्यहाँ पाँच जना साथीहरू मात्र उपस्थित हुन सक्नुभयो । फेरि रातभरि पनि बैठक बस्यौँ । कसैले खाएको छैन ।
इलीको लास खोलामा भेट्टाइयो । तल खोल्सामा ५० वटा लास छ भन्छन् । गाउँमा कोही छैन । मान्छे कति मर्यो थाहा छैन । कति घाइते भए थाहा छैन । अवस्था रुवाबासी छ । खान मन लागेको अवस्था छैन ।
सङ्क्रान्ति भनेर एक जना साथी, पूर्णमाया हो कि कसले हो मासुभात ल्याउनुभएको रहेछ । उल्ले उस्लाई खानू भन्ने उस्ले उस्लाई भन्ने तर कसैले त्यो पनि खाको छैन ।
रातभरि बैठक गरियो । के गर्ने कसो गर्ने भयो । एउटा काम गर्न पर्यो भनेर गाउँभरि भएको किताब जम्मा गर्ने, भूमिगत किताबहरू जम्मा गरेर लुकाउने कुरा भयो । सात भारी जति किताब भएछ । हामी पाँच जनाले सात भारी किताब भाग लगाएर लुकाउने भयौँ ।
उज्यालो हुन लागेपछि सबैले आ–आफ्नो जिम्माको किताब कहाँ लुकाउने आफ्नो जिम्मामा लिएर गए । म लालबहादुर थामीको घरमा बसेको थिएँ । मुलाबारी भन्ने ठाउँमा बैठक गरेका थियौँ । त्यो बैठकमा लालबहादुर थामी, म, मीरा थामी, पूर्णमाया थामी, पूर्ण थामी मात्रै भयौँ अरू साथीहरू राम पनि मेघनाथ पनि आउन सक्नु भएन ।
मृतकप्रति श्रद्धाञ्जली गर्यौँ । बैठकमै अब के गर्ने भनेर गर्दैथ्यौँ । ७२ जनाको टोली आएछ हेर्नुस् । हामी त्यही तल्लो घरमा बसेको । लालबहादुरको श्रीमतीले ‘रेगान से रेगान’ भनेर थामी भाषामा भन्नुभयो । त्यो भनेको ‘आयो आयो’ भनेको हो । त्यो सुनेर हामी तल खुत्रुक्क खोलामा ओर्लियौँ ।
म र लालबहादुरलाई एक एक भारीको जिम्मा थियो किताब । एक भारी किताब बोकेर खोलामा ढुङ्गाको कगारो (चेप÷काप) मा हाल्दियौँ । हामीतर्फ चाहिँ पानीको छहरा र भिर थियो । नदेखिने छहरा, अलि कोल्टेतिर थियो, त्यहीँबाट उक्लिएर पारीपट्टि लाग्यौँ ।
प्रहरीहरू ७२ जनाको टोली आएको रहेछ । डङ–ड्याङ डुङडुङ गरेछन् । हामी बसेको गोठमा पनि हेरेछन् । गोठमा केही कागजपत्र राख्या थियौँ । त्यो पनि देखेनछन् । महिलाहरूले कति गर्नुभो भन्ने कुरा यहाँ पनि आउँछ ।
बैठकपछि अरू साथीहरू पनि जानुभो । कोहीकोही साथीहरूले बाटैमा प्रहरी आउँदैछ भन्ने थाहा पाउनुभएछ । पूर्ण थामी तल रमाइ भन्नेको घरमा घट्ट थियो, त्यतै त्यतै जानुभएछ । उहाँ किताबको भारीसहित रमाइको घरमा बस्नुभयो ।
बैठक बसेको ठाउँ मुलाबारीबाट रमाइको घरमा जान पैदल आधा घण्टा जस्तो लाग्थ्यो । पुलिस त्यतैतिर गएछ, घरमै गएछ । रमाइको श्रीमतीलाई ‘यहाँ को लुकाएर राखेको छस्’ भनेर पुलिसको जत्थाले सोधेछ । ‘अँ राख्या छ । जम्मै मान्छे, टन्नै मान्छे राख्या छ । हेर्ने जानू’ भन्नुभएछ ।
अनि ‘हैन नरिसाउनु न, मान्छे छ कि छैन पो भन्या त’ भन्दै पुलिसहरू त्यहाँबाट गएछन् । त्यसरी विभिन्न कारणले कमिटीका मान्छे चाहिँ तत्काल पक्राउ परेनौँ । दमनमा जति लगे, पछि हामीले जोगायौँ ।
दुई दिनपछि रेडियोमा समाचार आयो । पार्टीले वक्तव्य निकालेछ, पार्टीले पाँच–छ जना मान्छे मरेको भनेर वक्तव्य निकालेछ । दमनका बारेमा सूचना केही पनि छैन । त्यो भएपछि खबर गर्न जानुपर्यो भनेर म जाने भएँ र हिँडेँ । मुडेमा गएर बस चढेँ ।
पिस्कर हत्याकाण्डमा दुई तीन सय मान्छे त पक्रियो । पक्राउ परेका सबैलाई हत्याकाण्डको मुद्दा लाग्यो जब कि हत्या उनीहरूले गरेका थिए । त्यो घटनामा भूमिगत मान्छे कोही भेट्टाएनन् । किताबहरू पनि केही भेटेनन् ।
पक्रेको मान्छेले कुनै कुरा खोलेनन् । भूमिगत मान्छे छन्, पार्टी छ भन्ने खालको कसैले केही पनि खोलनन् । ‘हामी त जात्रा हेर्न गएको मान्छे, गीत नाच हेर्न गएको मान्छे हो’ भनेर मात्रै भनेछन् । महिलालाई कुट्यो, पुरुषलाई कुट्यो, बुढालाई कुट्यो तर पनि कहीँबाट पनि कुरा खुलेन ।
सङ्गीत टोलीमा भएकामध्ये अहिले पूर्णमाया हुनुहुन्छ, मीरा भइहाल्यो । मीराको भाइ जगतबहादुर भन्ने सङ्गीतमा अगुवा नै थिए । चनमाया पनि हुनुहुन्छ । कोही बित्नुभयो । पल्कमायालाई हातमा गोली लागेको थियो, अनि पक्रेर लग्यो । उहाँ डेढ वर्षमा छुटेको हो ।
घटनामा वीरबहादुर र इली थामीको मृत्यु भयो । अलि दिनपछिको दमनमा चाहिँ लालमान थामी, १५ दिनको सुत्केरी कान्छी थामी र उनको बच्चा गरी तीन जनाको मृत्यु भयो । उहाँहरूलाई पनि हामीले सहिद मान्या छाँै ।
चालिस सालको माघे सङ्क्रान्तिमा घटना भयो । त्यसको आठ–दश दिनको बिचमा नै भएको यो घटना । सुत्केरी कान्छी मायालाई त कुटपिट गरेर नै मारेको । अनि मानबहादुरको आमालाई पनि दमन गरेर दमनको पीडाले मर्ने बनायो ।
घरघरमा जाने, कुट्ने, पिट्ने झाङ्गलझुङ्गुल पार्ने । घरमा ठुलो मान्छे कोही पनि छैन । सानासाना मान्छे, महिला, केटाकेटी, सुत्केरीलाई कुट्ने गर्दाखेरि उनीहरूलाई त्यसरी मर्ने पारेका हुन् ।
चन्द्रबहादुर भण्डारीको त छाप्रोमा आगो लगाइदिएर एक महिनाको काखको छोरी जलेको । पाँच जना यसरी बित्नुभयो । उहाँहरू १५ दिनभित्रै दमनकै बिचमा बित्नुभएकाले पाँच जनालाई सहिदको रूपमा पिस्करको कथामा हामीले राखेका छौँ ।
घटनाकै बिचमा महिलाले सघाएको धेरै छ । एक जना काइँली थामी भन्ने हुनुहुन्थ्यो । उहाँको दुई वटा साना साना बच्चा थिए । एउटा एक डेढ वर्ष होला, अर्को अलि ठुलो तीन वर्षको होला अनि पेटमा अर्को । उहाँ पनि जात्रा हेर्ने भनेर आ’को । पुलिसहरू गएर मैनटोल निभाएपछि त्यो मैनटोल भुईंमा लड्यो । त्यो देखेपछि पार्टीको मैनटोल हो भनेर माया लागेछ र साना बच्चाहरू बोकेरै गएर मञ्चबाट ल्याउनुभएछ । उहाँले सानो पसल पनि राखेको रहेछ ।
पिस्कर हत्याकाण्डको विरोधमा पार्टीले राष्ट्रव्यापीरूपमा आन्दोलन चलायो । अनेरास्ववियु, अखिल नेपाल महिला संघको माध्यमबाट पनि आन्दोलन भयो । धेरै ठाउँमा सभा, जुलुस भए । पिस्करमा स्कुलहरू बन्द भए । स्कुलमा पुलिसहरू बसिरहे ।
बाहिरी आठ–दस वटा देशका मान्छेहरू पिस्कर पुगे राति भेट्न ल्याउने गाउँमा भएका महिलाहरू नै हुन् । यसरी उहाँहरूसँग भेट पनि गर्यौँ । घटना विवरण महिलाहरूकै मुखबाट सुनाउने हुन्थ्यो अनि विदेशीहरू फर्किन्थे । त्यसरी पिस्कर घटना अन्तर्राष्ट्रिय स्तरमा पनि प्रसारित भएको थियो ।
एउटा घटना, सामन्तहरूले गाउँघरमा छानी छानी कम्युनिस्ट पार्टीमा लागेकालाई कुट्ने, हत्या गर्ने प्रयत्नसम्म गरे । राम कार्की र पूर्ण थामीलाई उनीहरूले पिटेर मरणासन्न पारे । त्यो घटनाको बदलामा महिलाकै नेतृत्वमा मीराहरूकै नेतृत्वमा टोली बनेर सामन्ती देवीजंगलाई बाटोमा ढुकेर हमला गर्ने काम भयो ।
हमलामा मार्न पनि सकिन्थ्यो, पाँच–सात जना भएर ढुङ्गाले हानेको हो तर मार्ने आदेश त मैले दिएको थिइनँ । त्यसैले उहाँहरूले मरणासन्न बनाएर छोड्नुभयो ।
अर्को घटना, त्यही सिलसिलामा । दसैँको बेला नवमीमा तौथलीमा जात्रा हुन्छ । त्यही जात्राको दिन दुई–तीन वटा खसी काटेर सामन्तीहरूले त्यो भेगका गुन्डा जम्मा गरेर पाँच–सात जनालाई नमारी नछोड्ने भनेर तयारी गरिरहेका र’छन् । अष्टमीको दिन पनि हल्ला भा’थ्यो ।
नवमीको दिन बिहानै खबर आयो । त्यसपछि मैले सिठ्ठी बजाएर सबै भेला हुनुपर्यो भनेँ र पाँच सय जना जति किसानहरू घर घेर्न जानुभयो । महिलाहरू पनि थुप्रै गएका थिए । घर घेरेर उनीहरूलाई नमार्नु, झगडा नगर्नु, मान्छे मार्नु हाम्रो ध्येय होइन तर घरको थाममा हिर्काउने, तर्साउने गर्न भनिएको थियो । त्यही गर्नुभयो ।
‘हामी कम्युनिस्ट भन्ने के प्रमाण छ, त्यसै कम्युनिस्ट भन्छस्’ भन्नुभयो । महिला केटाकेटी सबै जानुभएको थियो घर घेर्न । मलाई के लाग्छ भने पिस्करलाई केन्द्रित गरेर भन्नुपर्दा धेरै कुरामा महिलाको नेतृत्व भयो । २०४० सालभन्दा अगाडि पनि र पिस्कर घटना भइसकेपछि पनि ।
पञ्चायतकालमा पिस्करका थामी समुदायलाई जस्तो जीवन हुन्छ भनेर भनियो र जे आशा अभिलाषा बोकेर उहाँहरू आन्दोलनमा लाग्नुभएको थियो, त्यो अहिलेसम्म प्राप्त हुनसकेको छैन । अहिले पनि धेरैको जीवन र दैनिकी उस्तै छ । खान, बस्न अहिले पनि सङ्कट छ । जग्गा जमिन त्यही हो, उब्जाउ हुँदैन । अहिले त बाँदरले उधुम दुःख दिएको छ ।
आमरूपमा आफ्नैरूपमा समाज परिवर्तन हुने कुरा, विकास हुने कुरा भएको छैन होइन, भएको छ । तर आन्दोलनमा जुन खालको भूमिका उहाँहरूले निभाउनुभएको थियो, त्यो भूमिका र आन्दोलनका कारण जुन खालको विकास हुनुपर्थ्यो, त्यो चाहिँ पर्याप्तरूपमा भएको छैन जस्तो लाग्छ ।
जुन रूपमा उहाँहरूको योगदान र पिस्करको कहानी राष्ट्रव्यापी रूपमा भन्छौँ, त्यस अनुसार त छैन । दुर्भाग्य भन्नुपर्छ, त्यहाँका एउटै पनि नेतालाई हामीले नेतृत्वमा ल्याउन सकेनौँ ।
पछिल्लो दिनहरूमा गाउँपालिकामा भएका चुनावमा पनि थामी नेताहरूलाई अगाडि बढाइएन । हिजो ज्यान माया मारेर, हत्केलामा ज्यान राखेर हिँडियो तर हाम्रो उत्थान भएन भनेर आक्रोश पैदा भयो र मालेमा धेरै गए ।
माले पार्टी एमाले भइसकेपछि पनि उनीहरू फर्केनन् । त्यसपछि उनीहरू माओवादीमा गए । मैले जन्माएका आठ–दश जना सशस्त्र द्वन्द्वमा परेर मरेका छन् ।
मेरो पनि कमजोरी भन्नुपर्छ, अरूलाई मात्र दोष लगाएर काम छैन । म पनि अघिदेखि नेता नै छु । तर पार्टीको माथ्लो तहको नेतृत्वमा ल्याउन सकिएन । राजकीय पदहरूमा ल्याउन सकिएन ।
अहिले त अरू पनि कारणहरू छन् । हिजोका हाम्रा आनीबानी, हिजोका कम्युनिस्ट आदर्श, कम्युनिस्ट भावना प्रदर्शन गरिएको थियो, ती कुराहरू पार्टीमा स्थापित गर्न सकिएन ।
आफ्नो चिहान आफैँ खने
आफ्नो घर आफैँ भत्काए
– मीरा थामी

घटना (२०४० सालको पिस्कर काण्ड) को बारेमा त धेरैलाई थाहा छ । त्यो दिन हामी नाटक गर्थ्यौं, गीत गाउने, कमिक्स गर्थ्यौं । सङ्गीत टोली थियो । सङ्गीत टोलीमा मेरो भाइ जगतबहादुर, म, चनमाइ, मेरो बुहारी, आइतमाइ, पूर्णमाया, चतुरमान, चिनबहादुर थियौँ । आइतमाइ अहिले छैनन्, बितिसकिन् ।
कार्यक्रम गर्दाखेरि गोली चल्यो, दुई जना सहिद भयो । त्यसपछि गाउँमा पुलिसहरू धेरै आए । दमनपछि एक वर्षसम्म त लगातार दमन भयो । पुलिस आएर मान्छेको घरघर पस्ने, जे भ’को त्यो फाल्दिने । घरमा बस्न नसकेर जङ्गलमा ओडारमा परालको मुठा लगेर त्यही ओछ्याएर बस्नुपरेको थियो ।
मेरो बालाई पक्रेर लगिहाल्यो । मेरो सानो भाइ थ्यो । भाइलाई लिएर आमा रातभरि खोलाको छेउमा भ’को ओडारमा बास बस्नुपरेको थ्यो । खोलाकै छेउमा एउटा घर त थ्यो, त्यहाँ बास माग्न जानुभ’को रे !
‘तिमीहरू यहाँ नआऊ, तिमीहरू आयौ भने पुलिस आउँछ’ भनेछन् । अनि आमा रुँदै सानो भाइ लेर ओडारमा बस्नुभएछ । त्यस्तो कष्ट भोग्नुपरे पनि आमाले कहिल्यै पनि ‘यसो गर्नु ठिक छैन, तिमीहरू नहिँड’ भन्नु भएन ।
कत्तिकत्ति किताबहरू लुकाउनुपर्थ्यो । डोको, धोक्रोमा बोकेर लुकाउनुपर्थ्यो । पुलिसहरू घेरेर आउँथे । हाम्रो खेतीघर अलि अनकन्टारमा थ्यो । त्यहाँ चाहिँ नजिकै जङ्गल र खोला पनि थ्यो । त्यहाँ लुकाउँथ्यौँ किताबहरू ।
चित्रकथाका किताबहरू थिए । त्यस्तै किताबहरू देखाउने, हिँड्ने, अरूलाई बुझाउने, सम्झाउने गर्थें । जनवादी गीतहरू गाएर प्रचार गर्ने । मित–मितिनी लाउने । पछि पनि सम्पर्क गर्न, जान सजिलो हुन्छ भनेर मित–मितिनी लाउँथ्यौँ ।
पुलिस पनि ठाउँ ठाउँमा भेटिन्थे । पुलिसले घेरा लाए भने डोको बोकेर घाँस काट्न हिँडे जसरी हिँड्ने अनि उनीहरू नदेखेपछि डोको फाल्देर आफ्नो काम गर्थ्यौं । त्यसरी जोगिन कसैले सिकाएको पनि होइन, यत्तिकै आउँथ्यो ।
एकचोटि त पुलिस त्यहीँ तल नजिकै आइसकेछ । के गर्नु गर्नु भयो । त्यहीँ एक जनाको घरमा पसेर डोको र नाम्लो मागेर बोकेर घाँस काट्ने जसरी हिँडेँ । कतिचोटि त्यस्तो भए पनि म पुलिसको हातमा चाहिँ परिनँ ।
गाउँघरमा दमन भइरहेपछि झन् कसैलाई निरास हुन दिनु हुँदैन, अझ उठाउनुपर्छ, जगाउनुपर्छ भनेर रातभरि रातभरि बैठक बस्थ्यौँ । जहाँ सङ्घर्ष हुन्छ, त्यहीँ बलिदान हुन्छ । हामी गाउँ छोडेर भाग्नु हुँदैन भनेर झन् सबैलाई बलियो बनाउँथ्यौँ ।
दिउँसो दिउँसो कता कता लुक्ने, अनि बेलुका भएपछि घर घरमा जान्थ्यौँ । कहिले जङ्गलमै गएर मान्छे भेटेर पनि सङ्गठन गर्थ्यौं । त्यस्तो हुँदा पनि डर पनि कहिल्यै लागेन, निराश पनि कहिल्यै भएन ।
त्यति बेलाको कुरा सम्झेर अहिले रमाइलो लाग्छ । यस्तो दिन पर्लक्कै परिवर्तन हुन्छ भन्ने लाग्थ्यो । एकचोटि चुनाव लड्ने कुरा आयो । चुनाव भएपछि त के के हुन्छ होला जस्तो लागेको थ्यो । यो ठाउँमा पुगेर जनताको आवाज बोल्ने, जनताको पिरमर्का दुःखकष्ट आवाजबाटै, कलमबाटै उठाउने भन्ने थियो ।
‘गाउँगाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’, ‘नउठी भएन नेपालका दिदीबहिनी हो’ यस्तै धेरै गीत गाउँथ्यौँ । सङ्कल्पको भाग १, २, ३ मा धेरै गीत थियो । जनवादी गीतहरू ।
“सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन,
जीवनदेखि हारेर मर्छु नभन,
सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो”
मेरो आमा पनि चित्रकथा लेर आफ्नो स्तरको साथीहरूलाई बुझाउँदै हिँड्ने गर्नुहुन्थ्यो । तर, सर्वहारा वर्गको लागि के भयो त ? अहिले हेर्दा केही भए जस्तो लाग्दैन ।
देवीजंगमाथि कुटपिटको घटना त गजबको कुरा छ नि । म चाहिँ खुर्पा लेको थिएँ । ढुङ्गाहरू पनि राखेका थ्यौँ । राम कार्कीको बर्खे कटेरो थियो, मान्छे हिँड्ने बाटोको मुनिपट्टि । त्यही कटेरोमा बसिराख्यौँ हामी । देवीजंग बाह्रबिसे ग’को भन्ने थाहा थ्यो ।
देवीजंगले नै पुलिस ल्याएर हाम्रो साथीहरू मर्नुपर्यो, जेल जानुपर्यो, हामीले यत्रो दमन भोग्नुपर्यो भनेर यसको पनि हातखुट्टा भाँच्नुपर्छ भन्ने योजना थ्यो । मार्न चाहिँ नमार्ने, हातखुट्टा चाहिँ भाँच्ने भन्ने थियो । त्यही भएर ढुङ्गाले, लठ्ठीले ड्याङका ड्याङ् हानेको हानेइ गरेको ।
पछि त फेरि माया लाग्यो अनि खुर्पा लगेको थ्यो हान्नलाई पछाडिबाट अलिअलि हानेको । त्यो पनि मरेको जस्तै भइहाल्यो । अनि उकालो लाग्यौँ, भागेर जङ्गलतिर पस्यौँ । अरू कता कता गए ! वीरबहादुर र म चाहिँ छत्रबहादुरको घरभन्दा यतापट्टिको जङ्गलैजङ्गल भाग्यौँ ।
पहिलादेखि नै देवीजंगको सन्तानहरूले जनतालाई दुःख दिने । सबैभन्दा अन्याय अत्याचार गर्थे । देवीजंगको पनि सन्तानै त नभनौँ, कोही त राम्रो पनि थिए ।
बर्खामा धान रोप्ने बेलामा पनि सित्तैमा रोपाइँ गइदिनुपर्ने । लुट्ने, खसीबाख्रो पनि देख्यो भने लुटिहाल्ने । सित्तैमा मेलो गर्दिनुपर्ने । त्यस्तो मेलो त मेरो बाआमाले पनि गर्दिनुभ’को हो ।
अनि बोहरातिरका मान्छेहरू चाहिँ जनताप्रति श्रद्धा गर्ने, विश्वास गर्ने, साथ दिने, सहयोग गर्ने खालका थिए । देवीजंग पाण्डेको चाहिँ सन्तानै नराम्रो त नभनुँ, कोही त राम्रै ’नि थिए । उतिरका पनि कोही त राम्रो पनि थिए । त्यही भएर अन्याय अत्याचारको विरोध गर्थ्यौं ।
अन्याय अत्याचारको विरोधसँगै गाउँमा समाज नै परिवर्तन गर्ने, देश परिवर्तन गर्ने, नौलो जनवाद ल्याउने, सुख, शान्ति, आनन्द र गाँस, बास, कपास सबैको सुविधा जनतालाई पुर्याउने, दिने भन्ने थियो नि ! त्यही राम्रो गर्ने भनेर २०३४ साल चैतदेखि लागेको म पनि ।
हाम्रो गाउँमा बत्याहा प्रथा भन्ने पनि थियो । बत्याहा लाउने भन्ने हुन्थ्यो । नहुनेलाई चैत–वैशाखमा बाली दिने अनि मङ्सिरमा फिर्ता उठाउने । सापटी जस्तै हो । पिस्करमा यस्तो पहिलादेखि नै थ्यो । हजुरबा हजुरआमाहरूकै इष्टमित्र तौथलीको नेवार थिए । हाम्रो एउटा ठुलो घर थ्यो, त्यही घरमा भकारी भकारीमा धान राख्थे, ती नेवारले ।
हामीले त्यसरी राखेको धान बाँड्देको । मसँगै तीन जनाना थियौँ । एक जना तल्लोघरको भाउजू बितिसक्नुभो, नाम माइली माइली भन्थ्यो । अनि म भएँ, अर्को पूर्णमाया थ्यो । अनि पुरुषहरू पनि थिए ।
एक भकारी धान थ्यो, भकारीबाट निकाल्दै धोक्रो धोक्रोमा हाल्दै, हामीले झ्यालबाट पुरुषहरूलाई समाउन दिँदै गर्यौँ । पुरुषहरूले चाहिँ कहाँ कहाँ लग्दै बाँड्दै गरेको । अनि फेरि आफैँ घर चोरी भो भनेर एक्लै तौथली गएर मैले ती नेवारलाई भनेको ! (लामो हाँसो)
म गाउँ गाउँमा सङ्गठन बनाउन हिँडेँ । चोकटी, लाटुमा गएँ । लाटु चाहिँ एकदम जाडो हुने । एक जना किसानको घरमा रातिसम्म बैठक भो । ओढ्ने ओछ्याउने गतिलो छैन । एउटा गुन्द्री ओछ्याउने, अर्को गुन्द्री ओढ्ने । अर्को एउटा पछ्यौरा थियो ।
अँगेनामा ठुल्ठुलो मुढा बाल्ने गर्थ्यौं । आगो उछिट्टेर मेरो पछ्यौरा डढिसकेको, आफूलाई पोलेपछि थाहा पाएको पनि सम्झिएँ अहिले । त्यतिखेरको कुरा सम्झिँदा एकदम खुसी लाग्छ । त्यो गरेर पो पञ्चायत व्यवस्था ढल्यो भन्ने लाग्छ ।
पञ्चायत ढल्न त ढल्यो तर अझै राम्रो काम चाहिँ किन नभएको ? हिजो त्यस्तो नौलो जनवाद ल्याउने भनेको, राजा फालेको तर पनि उस्तै । के कारणले यसरी टुक्रिनुपरेको पार्टीहरू ? हिजो चाहिँ सबै एकजुट हुनुपर्छ, फुटेर हुँदैन, जुटेर अघि बढ्नुपर्छ भनेर सिकाए । आज त्यही मान्छेहरूले चाहिँ राम्रो काम किन नगरेको ?
आफ्नो चिहान आफैँ खने । आफ्नो घर आफैँ भत्काए । मलाई अचेल यस्तो घृणा जागेर आउँछ । यस्तो गर्नु भनेको सर्वहारा रगत पिउने मान्छेहरू जस्तो लाग्छ मलाई ।
जे बोल्यो त्यही मन, जे मन त्यही बोली गरेको भए देशको अवस्था यस्तो हुन्थ्यो त ? यति हुँदाहुँदै पनि बेकारमा गरिएछ भन्ने त लाग्दैन । एक दिन मरेर जाने जीवनमा राम्रै गरियो भन्ने लाग्छ ।
प्रकाशन मिति : २०८१ फागुन १३ गते, मङ्गलवार
पिस्कर काण्डका थप कथाहरू यहाँ पढ्नुहाेस्
- बाउन्न ठक्कर त्रिपन्न हन्डरपछिको सापेक्ष खुसी र आनन्द (भिडियो सहित)
- सानैदेखि सक्रिय भुइँमान्छेका रहर, दुःख र वितृष्णा (भिडियो सहित)
- जति नै दुःख गरे पनि अवस्था जहाँको तहीँ (भिडियो सहित)
- त्यो बेला गाउँघरमा देवरानी र मैले धेरै दुःख काट्यौँ (भिडियो सहित)
- दुःख, कष्ट र त्रासदीको नमिठो सम्झना (भिडियोसहित)
- पीडितकै मनोभावमा सहिदका परिवार (भिडियोसहित)