पिस्कर काण्डमा महिला शृङ्खला २
पछिल्लो पुस्ताका थामीहरू, जसले ‘पिस्कर काण्ड’ मा परिवारका अग्रज सदस्य गुमाएर सहिद परिवार र आफन्त हुन पुगे, तिनले चार दशकसम्म पनि आफूलाई पीडित र प्रभावित व्यक्तिका रूपमै पाए । त्यही भावमा आफूलाई उभ्याए ।
तत्काल केही रकम र राहत दिइएको भनिए पनि सहिद परिवारको लागि दीर्घकालीन सोचले खासै केही व्यवस्था गरिएन । सहिदका नाममा विकास बजेट आएको सुनिएको तर त्यो पनि अर्कै ठाउँमा लगिएको, सहिदकै घरगाउँलाई पछि पारिएको, जात्रामा गएका बेला परिवारका अग्रजलाई गोली लागेको भनिए पनि पछिल्लो पुस्तालाई खासै केही थाहा नभएको जस्ता प्रतिक्रिया पनि आए ।
सहिदका नाममा घटनास्थलमा पार्क बनाएर वार्षिकी मनाइने परम्परा बसे पनि उनीहरूले आफू, आफ्नो परिवार र गाउँठाउँलाई विकासमा नाममा पनि ठगिएको चाल पाए । सहिद परिवारको दुःखसुखका बारेमा कसैले पनि नसोध्ने र स्थानीय जनप्रतिनिधिलाई पनि ‘सहिदकी बुहारी’ भनेर स्थानीयले नै नचिन्ने जस्ता गुनासा आए ।
सहिदका नाममा बाठाटाठा व्यक्तिबाट राजनीति भएको तर तिनका परिवारको दुःखसुख र पहिचानप्रति बेवास्ता गरिएको अनुभव गर्दै आएकामध्ये कोहीले सहिद परिवारको अवस्था पनि हेरिदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे भने कोहीले अब बोल्नुपर्छ जस्तो आफूलाई लागेको बताए ।
जसरी अघिल्लो पुस्ताका ‘पुरानो पिस्करवासी’ रत्नकुमारी थामी र आइतमाया थामीका लागि चार दशकअघिको घटना बिर्सनै नसकिने त्रासदी बनिरह्यो र पछिल्ला वर्षहरूमा पनि उनीहरूले जीवनमा त्यतिविधि सहजता प्राप्त गर्न सकेनन्, त्यसरी नै पछिल्लो पुस्ताका स्थानीय सहिद परिवार र आफन्तले जीवनमा कतैबाट पनि खासै आड र उपलब्धि हात पार्न सकेनन् ।
धेरैजसो थामी समुदायको बसोबास रहेको पुरानो पिस्कर राज्यको पछिल्लो संरचनामा बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा रहेको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । सो ठाउँ सङ्घीय राजधानी काठमाडौँबाट ८३.६ किलोमिटर उत्तरपूर्वमा पर्छ । त्यहाँ ‘सन्धान’ टोली गत वर्ष २०८० को असोजमा पुगेको थियो ।
स्थलगत सामग्री सङ्कलनका लागि पिस्कर गएको सो टोलीमा लक्ष्मी बस्नेत, समीक्षा गाहा मगरका साथै क्यामेरामा मुकुन्द बोगटी सहभागी हुनुहुन्थ्यो । टोली पिस्कर काण्डका प्रत्यक्षदर्शी तथा भुक्तभोगी महिला मात्र होइन, सहिदका परिवार, आफन्त र छिमेकीहरूसँग कुराकानी गरी राजधानी फर्किएको थियो ।
स्थलगत भ्रमणबाट प्राप्त जानकारीका आधारमा ‘सन्धान सम्पादक मण्डल’ ले अध्ययन, विश्लेषण, लेखन, सम्पादन, परिमार्जन तथा पुनर्लेखन गरी ‘पिस्कर काण्डमा महिला’ शीर्षक सामग्री तयार गर्दै गयो । तयारीका क्रममा शृङ्खलाबद्धरूपमा प्रकाशन/प्रसारण गर्दै जाने नीति लिइयो ।
सोही नीतिअनुरूप पिस्कर काण्ड भएको दिन पारेर गत हप्ता २०८१ माघ १ गते मङ्गलवार ‘पिस्कर काण्डमा महिला’ शीर्षक शृङ्खला प्रारम्भ भएको थियो ।
प्रस्तुतिका सन्दर्भमा भन्नुपर्दा, आधा शताब्दी पुग्न एक दशक मात्र बाँकी रहेका बेला घटनास्थलमा भेटिएका व्यक्तिहरूबाट दृश्यमा जे जस्ता जानकारी आए, तिनका सान्दर्भिक अंशलाई त्यही रूपमा लिपिबद्ध पनि गरियो ।
इतिहासका घटनालाई महिलाका दृष्टिकोणबाट सम्बन्धित कालखण्डकै सीमामा रहेर हेर्न खोज्दा हामीले थप अनुसन्धानको आवश्यकता अनुभव गरिरह्यौँ । राज्यले जनताका नाममा अवलम्बन गरेका विभिन्न व्यवस्था र थामी समुदायका मानिसको बिचमा उपस्थित अन्तरालको अन्तर्य के हो ? त्यसले सहिद परिवारकै जीवनस्तरलाई पनि माथि उठाउन नसक्नाको कारण के हो ?
साथै, ‘सहिद’ शब्दको राजनीतिले सहिद परिवारका महिलाको जीवनलाई कसरी छुँदै आयो र कहाँसम्म पुर्याउन मद्दत गर्यो ? इतिहास चेतका साथ उत्तर खोज्न बाँकी यस्ता धेरै प्रश्नबाट हामी घेरिइरहेका छौँ । घेराइको बिचमा खिचातानीको अनपेक्षित चाप पनि छ ।
हामी इतिहास र राजनीतिलाई अलग विधा मात्र होइन, इतिहासकार र राजनीतिकर्मीलाई दुई अलग पक्षका रूपमा पनि बुझ्छौँ । यी दुवै विधा र पक्षका मौलिक शक्ति र सीमा छन् । दुवैका भूमिका अति नै महत्त्वपूर्ण छन् ।
इतिहासमा राजनीतिको र राजनीतिमा इतिहासको अतिक्रमण हुुनु हुँदैन । यी दुई पक्षको विधागत काममा एकले अर्काको मूलभूत मान्यतालाई नै ओझेलमा पार्ने गरी काम गरियो भने महिलाको राजनीति र इतिहास दुवैले न्याय पाउन सक्दैनन् । यद्यपि, हामी न्यायको पक्षमा छौँ र सोही दृष्टिकोणबाट मूल्य निरूपण पनि गर्दै जानेछौँ ।
ऐतिहासिक महत्त्वका तथ्यहरू खोज्ने, अध्ययन र विश्लेषण गर्ने अनि लेख्ने क्रममा हामीलाई के लागेको छ भने इतिहास र राजनीति दुवै पक्षले आ–आफ्ना विधाका ज्ञानात्मक र व्यावहारिक सीमाको ख्याल गर्नैपर्छ । सबै खालका नेपाली महिलाको इतिहासलाई न्याय गर्न यो जरुरी छ । न्यायिक समाजको निर्माण हाम्रो कार्यगत लक्ष्य पनि हो ।
आजको सामग्री ‘पिस्कर काण्डमा महिला’ शृङ्खलाको दोस्रो अङ्क हो । प्रस्तुत छ, सहिद वीरबहादुर थामीकी बुहारी एकल माया पनि भनिने जितमाया थामी, नाति सुरेश थामीका साथै सहिद इली थामीका छोरा दिलबहादुर थामी, बुहारी डिल्लीमाया थामी, नातिनी बुहारी सीता थामी, सहिदका आफन्त चन्द्रबहादुर थामी, नाति सोमबहादुर थामी र भतिजा तिलकबहादुर थामीका भनाइको पाठसँगै भिडियो अंश :
दुःखसुखका बारेमा कसैले सोध्दैनन्
– जितमाया थामी (सहिद वीरबहादुर थामीकी बुहारी)
मेरो बुवा, आमा र दाइ पनि जात्रामा जानुभएको थियो । जात्रा जाँदा राम्रो भएर गएको मानिस आउँदा झुत्रो, फुस्रो हुनुभएको थियो । त्यसपछि प्रहरीले मानिस खोज्नुहुन्थ्यो । जङ्गलमा बास बस्नुपर्यो । जङ्गलमा खाना पुर्याउनुपर्ने भएको थियो । त्यो घटना भएपछि धेरैले पीडा भोग्नुपर्यो ।
म यो घरमा २०४४ सालमा बिहे गरेर आएँ । बिहे गरेर आएपछि घरमा माइला, कान्छा देवर अनि सासू हुनुहुन्थ्यो । मेरो श्रीमान् र देवरलाई सहयोगीले पढाउन लग्नुभएको रहेछ । श्रीमान् आएर बिहे गर्नुभयो अनि पुनः उतै जानुभयो ।
हामी बिहेअघि पनि आफन्त भएकाले हत्याकाण्ड, ससुरा सहिद भन्ने कुरा सबै थाहा थियो । घरमा सासू, म र कान्छा देवर थियौँ । माघमा घटना घट्यो । वैशाखदेखि हामीलाई गाह्रो भयो । खानालाई केही नभएर सिस्नु मात्र पकाएर खाएर बस्थ्यौँ ।
कान्छा देवर सानो । सासू मेलामा जानुहुन्थ्यो । मेरो माइतबाट पिठो पठाइदिनुभएको थियो । त्यसलाई पनि पुर्याएर खायौँ । त्यसै गरी जीवन गुजारा गर्दै आएको हो ।
अनि श्रीमान् आएपछि घर बनाउने काममा लाग्नुभयो । सिप थियो । त्यसपछि हामीलाई खानलाई त्यति गाह्रो परेन ।
देवरहरूको विवाह भयो । हामी छुट्टिएर बस्यौँ । म पनि ६१ दिन मेलामा काम गर्न गएँ । खर्च ल्याएर बच्चाहरूलाई हुर्काएँ ।
अहिले पनि त्यस्तै छ । श्रीमान् बित्नुभयो । छोरालाई प्यारालाइसिस भयो । अपाङ्गता भयो । ऊ पिस्कर स्कुलमा पढ्दै थियो ।
बर्खे बिदा भएको समयमा ‘म काम गर्न जान्छु । नुन तेल खाने पैसा भए पनि होला । आमा घरमा बस्नू’ भनेर छोरो काममा गएको थियो । एक महिना काम गरिसक्दा ‘ट्वाइलेट जान खाटबाट उठेको मान्छे खाटमै ढल्यो’ भन्नुहुन्थ्यो । ढलेपछि उसको साथीहरूले वीर हस्पिटल पुर्यायो रे !
मलाई ‘८० हजार जम्मा गरेपछि छोरा बाँच्न सक्छ’ भनेर फोन आयो । आफन्तहरूसँग पाँच पाँच हजार मागेर ३० हजार जम्मा गरेँ । अनि तल्ला घरका ससुरालाई लिएर काठमाडौँ छोरा भेट्न गएँ । भर्ना गराएँ । वीरबाट गंगालाल सिफारिस गर्नुभयो ।
घरदेखि हस्पिटलसम्म मलाई सहयोग पनि गर्नुभयो । पत्र बनाएर ठाउँ–ठाउँमा चन्दा मागेर छोरालाई काठमाडौँमा लगेर उपचार गराएँ । उसलाई पाँच महिना हस्पिटल बसेर घरमा ल्याएँ ।
एक लाख दुई हजार खर्च लाग्यो अनि बाख्रा पाल्दै बेचेर पैसा तिर्दै छु । अझै सबै तिर्न सकिएको छैन ।
म यो घरमा बिहे गरेर आएपछि सहिद परिवार भनेर राहत, सहयोग दिएको मलाई थाहा भएसम्म एक लाख दिनुभएको हो । त्यो पैसाले एक ठाउँमा बारी लिनुभएछ तर त्यो पनि लालपुर्जा नभएको मान्छेसँग लिनुभएछ ।
नेताहरू भोट माग्न आउँछन् । भोट माग्नुभन्दा पहिला केही दिने आशा देखाउँछन् तर गएपछि फर्केर हेर्दिएनन् । धारा बनाइदिन्छौँ भनेको त्यो पनि बनाइदिएनन् ।
सहिदको नाममा भनेर केही आयो कि नाइँ हामीलाई थाहा हुँदैन । पुस मसान्तमा ससुरा बुवाको नाममा कार्यक्रम हुन्छ । त्यही बेला बाटो परेको बेला गीता नेपाल, भक्तध्वज बोहराहरू आउनुभएको थियो ।
सहिदको बारेमा, सहिद परिवारका दुःख सुखका बारेमा कसैले सोध्दैनन् । मैले केही मागेको पनि छैन । यस्तो अवस्था छ ।
केही सहयोग गर्दिए हुन्थ्यो जस्तो लाग्छ । ठाउँ–ठाउँमा के के बनाउनुभन्दा जीवन गुजारा गर्न नै गाह्रो भएकालाई त्यो पैसा बाँड्दिए हुन्थ्यो जस्तो लाग्छ ।
भन्नुपर्छ जस्तो लाग्दै छ
– सुरेश थामी (सहिद वीरबहादुरका नाति)
आर्थिकरूपमा हामी एकदमै कमजोर भएकाले हाम्रो लागि सहायता गर्दिए हुन्थ्यो जस्तो लाग्छ । घरमा बालबालिकाहरू पनि छन् । उनका लागि शिक्षाको व्यवस्था गरिदिए हुन्थ्यो ।
मैले पनि दुई वर्ष अध्यापन गराएँ (पढाएँ) । श्री धुस्कुन आधारभूत विद्यालयमा पढाउँदै थिएँ । मेरो १२ कक्षाको सर्टिफिकेट मागेको थियो । मेरो १२ क्लियर छैन । अनि ‘अब पढाउन नआउनू’ भन्नुभयो ।
पढ्न पनि मिल्ने त्योसँग रोजगारी पनि भइदिएको भए हुन्थ्यो जस्तो लाग्छ । अझै पनि पालिकाले मलाई पढाउने व्यवस्था मिलाइदिए हुन्थ्यो ।
सहिदको नाति भनेर बोलाउने र कार्यक्रममा सम्मान गर्ने गर्नुहुन्छ तर आर्थिकरूपमा सहयोग अनि रोजगारीका लागि कुरा गर्नुहुन्न । मैले पनि त्यसरी जागिरका लागि कुराकानी गरेको छैन । अब भन्नुपर्छ जस्तो लाग्दै छ ।
जात्रामा गएका बुवालाई गोली
– दिलबहादुर थामी (सहिद इली थामीका छोरा)
जात्रामा गएको बेला गोली लागेर बुवा इली थामीको मृत्यु भयो । बुवाको मृत्यु हुँदा म ३२ वर्षको थिएँ । जात्रामा गएको बुवा आउलान् भन्दा बुवाको टोपी मात्र लिएर आमा आउनुभयो ।
हाम्रो परिवार (हामी) कुनै राजनीतिक पार्टीमा आबद्ध पनि थिएनौँ । २०४० सालमा माघे सङ्क्रान्तिको अघिल्लो दिनको राति भएको जात्रामा पिस्कर हत्याकाण्ड भयो । जात्रामा गोली लागेर बुवाको मृत्यु भएको खबर पाएँ ।
पिस्करको महादेवथानमा गोली लागेर ढलेको मानिसलाई तल खोलाको छेउमा देखेँ । त्यहाँ मौवाको पातले छोपेको अवस्थामा, आन्द्राभुँडी निस्किएको अवस्थामा बुवाको शव रहेछ । पछि म पनि गएँ ।
घरमा ल्याएर दाहसंस्कार गर्याैँ । पुलिस आयो, ‘के गगर्याैँ ?’ भन्यो गयो ।
बुवालाई सरकारले सहिद घोषणा गर्यो तर हामीले त्यस्तो केही पाएनौँ । दुई वर्ष चामल दियो । पाँच हजार पैसा दियो । त्यही हो ।
हामीलाई केही थाहा हुँदैन
– डिल्लीमाया थामी (सहिद इली थामीकी बुहारी)
ससुरा बुवाको मृत्यु हुँदा मेरो बिहे भएको थिएन । म यो घरमा बिहे गरेर आएको थिइनँ तर म त्यो जात्रामा गएको थिएँ । त्यहाँ भएको घटनाको बारेमा मलाई थाहा थियो ।
जात्रामा धेरै मानिस भागाभाग भएपछि हामी पनि भाग्यौँ, लुकेर बस्यौँ । पछि दुई जनाको मृत्यु भएको पनि थाहा पाएँ ।
प्रहरीहरू त्यो घटनापछि घर घरमा खोजतलासका लागि आउँथ्यो । घरमा बढी पुरुषहरूलाई खोज्थ्यो । त्यही भएर पुरुषहरू सबै भाग्थे ।
पछि मेरो यहाँ बिहे भयो । त्यसपछि त त्यो जात्रामा मृत्यु भएका एक जना मेरो ससुरा नै हुनुभयो । सरकारले ससुराबुवालाई सहिद घोषणा गर्यो तर राज्यबाट खासै केही पाइएन ।
मेरो बिहे हुनुअघि केही दियो दिएन, थाहा छैन । म आएपछि कहिले तीन हजार, कहिले पाँच हजार रुपैयाँ पैसा दिएको मात्र थाहा छ ।
इली र वीरबहादुर थामीका लागि विकास आयो भन्छन् तर हामीलाई केही थाहा हुँदैन । केही कार्यक्रम भयो भएन थाहा छैन । गाउँमा केही भए पनि हामीलाई केही थाहा हुँदैन ।
हामी आर्थिकरूपमा गरिब छौँ । शिक्षा, स्वास्थ्य, रोजगारीका लागि पनि सहयोग आएन । ससुरा नै सहिद भएपछि हाम्रो परिवारलाई सहयोग हुनुपथ्र्यो ।
वडा सदस्य बनाइयो तर …
– सीता थामी (सहिद वीरबहादुरकी नातिनीबुहारी)
म २०६२ सालमा बिहे भएर यो घरमा आएँ । सबैले सहिद परिवार भन्नुहुन्थ्यो ।
नेताहरूले त्यस हत्याकाण्डको फाइदा उठाएर आफ्नो नाम बेची ठाउँमा पुग्नुभयो । तर, जो पीडित परिवार हो, उसका लागि केही भएन ।
शीर्ष स्थानमा पुगेपछि नेताहरूले फर्केर पनि हेर्नु भएन । ससुराबाजे वीरबहादुर थामीको एक छोरा, एक छोरी मात्र हुनुहुन्छ । उहाँहरूलाई पनि सहयोग गरेर शिक्षित बनाइदिएको भए अवस्था सुध्रिने थियो जस्तो लाग्छ ।
वीरबहादुर र इली थामी भनेर विश्वमा चिनियो तर यो सहिदको परिवार भनेर कसैले चिन्दैन । सहिद परिवारको अवस्था के छ कसैलाई मतलब पनि हुँदैन ।
मलाई वडा सदस्य बनाइयो तर पनि कसैले चिन्नुहुन्न । मेरो बिहे भएर आएदेखि सहिदको परिवार भनेर नेताहरू भेट्न, सोध्न, खोज्न आएको थाहा छैन ।
स्थानीय तहका नेताहरू भोट माग्न आउनुहुन्छ । महादेवस्थानमा सहिदलाई सम्झने कार्यक्रम हुन्छ । त्यहाँ वर्षको एक पटक बोलाउनुहुन्छ । वीरबहादुर थामीको परिवार भनेर आसन ग्रहण गराइन्छ ।
बाजेससुरालाई सहिदको दर्जामा राखिएको छ तर परिवारका कसैलाई केही सेवा सुविधा छैन । घटना घटेको केही वर्षपछि एक लाख रुपैयाँ दिनुभएको थियो रे !
अनि, सहिदको नाममा आएको सहयोग व्यक्तिलाई भन्दा पनि गाउँ बनाउनुपर्छ भनेर भूमि, मन्दिर त्यही नाममा सहयोग बनेको छ भन्ने सुनेको थिएँ । अरू हामीलाई थाहा छैन ।
सहिदहरूको नाममा आएको रकमको संरचना बनेको छ भने हामीलाई पनि थाहा हुनुपर्छ भन्ने लाग्छ । हाम्रो अभिभावकको नाममा यस्तो बनेको छ भनेर गर्व गर्ने ठाउँ हुनुपर्छ ।
पछि पर्यो सहिदकै घरगाउँ
– चन्द्रबहादुर थामी, (सहिदका स्थानीय आफन्त)
सहिदको आर्थिक अवस्था विश्लेषण गरेर उहाँहरूको परिवार सङ्ख्या हेरेर राज्यले शिक्षामा, रोजगारीमा जोड दिए हुन्थ्यो ।
सहिद हुनुभएका धुस्कुनका बासिन्दा हुनुहुन्छ तर सहिदको लागि विकास भनेर पिस्करमा लाने काम भयो । अब धुस्कुनमा पनि सहिदको नाममा केही निर्माण हुनुपर्छ भनेर उहाँहरूको नाममा भूमेघर बनायौँ ।
सहिद परिवारले पहिलो पटक एक लाख पायो । अनि कहिलेकाहीँ सम्मानहरू पाउनुहुन्छ । त्यो नेकपा एमालेको कार्यक्रममा मात्र पाउनुहुन्छ ।
थामी समुदायमा आर्थिक अवस्था कमजोर हुनेहरू पनि हुनुहुन्छ । त्यो अवस्था हेरेर कस्तो प्रकारको सहयोग गर्नुपर्ने हो गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।
धुस्कुन हैन पिस्कर गयो विकास
– सोमबहादुर थामी (सहिद इली थामीका नाति)
इली थामी र वीरबहादुर थामी सहिदको घर धुस्कुनमा छ तर विकास पिस्करमा जान्छ । विकासका कार्यक्रमहरू अन्यत्र भइरहेका छन् ।
स्थानीय, प्रदेश सरकार जुन कुनै सरकारले सहिद परिवारलाई ध्यान दिएन । त्यसैले अब कुनै किसिमको राहत सामग्री भए पीडित परिवारले नै पाउनुपर्छ ।
साथै, सहिदहरूको परिवारमा शिक्षा, स्वास्थ्य, रोजगारीको कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
इली थामी र वीरबहादुर थामीलाई सहिद भनेर सबैले चिन्नुहुन्छ तर विकास हेर्ने हो भने उहाँहरूको घर भएको यही ठाउँमा देखिएको छैन । सहिदका नाममा आउने सहयोगले धुस्कुनको विकास गर्नुपर्ने हो ।
परिवारको अवस्था हेरिदिए हुन्थ्यो
– तिलकबहादुर थामी (सहिद इली थामीका भतिजा)
इली थामीलाई राज्यले सहिद घोषणा गर्यो तर उहाँहरूको परिवारप्रति कुनै चासो, सुविधा दिएको छैन ।
सहिदको परिवारमा अहिले भएका नातिनातिनालाई निःशुल्क शिक्षा र छोराबुहारीलाई आर्थिक अवस्था हेरेर सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ । साथै, उहाँको छोराका लागि रोजगारीको व्यवस्था गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।
प्रकाशन मिति : २०८१ माघ ८ गते, मङ्गलवार
याे पनि पढ्नुहाेस्