‘पिस्कर काण्डमा महिला’ शृङ्खला १
पिस्कर काण्ड भएका बेला रत्नकुमारी थामी १७ र आइतमाया थामी ११ वर्षकी हुनुहुन्थ्यो । २०२३ सालमा जन्मिएकी रत्नकुमारी अहिले ५८ वर्ष र २०२९ सालमा जन्मिएकी आइतमाया ५२ वर्षकी हुनुभयो ।
अभिभावकसँग उहाँहरू पनि २०४० पुस मसान्तको राति पिस्करस्थित महादेवस्थानमा परम्परादेखि मनाउँदै आएको जात्रा हेर्न जानुभएको थियो । ४० वर्षअघि त्यो जात्रामा भएको हत्याकाण्ड र त्यसले स्थानीय जीवनमा पारेका प्रभाव उहाँहरूको मस्तिष्कमा ताजै रहेछ । उहाँहरूले ताजा घटना जस्तै गरी वर्णन गर्नुभयो ।
‘पिस्कर काण्डमा महिला’ सम्बन्धी स्थलगत सामग्री सङ्कलनका लागि ‘सन्धान’ टोली २०८० असोजमा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित ‘पिस्कर काण्ड’ भएको स्थानमा पुगेको थियो । क्यामेरामा मुकुन्द बोगटीका साथै लक्ष्मी बस्नेत र समीक्षा गाहा मगर सो टोलीमा सहभागी हुनुहुन्थ्यो ।
धेरैजसो थामी समुदायको बसोबास रहेको पुरानो पिस्कर राज्यको पछिल्लो संरचनामा त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा रहेको त्रिपुरासुन्दरी गाउँपालिका सङ्घीय राजधानी काठमाडौँबाट ८३.६ किलोमिटर उत्तरपूर्वमा पर्दछ । टोलीले त्यहाँ पिस्कर काण्डका प्रत्यक्षदर्शी तथा भुक्तभोगी महिला, सहिदका परिवार, आफन्त र छिमेकीहरूलाई भेटेको थियो ।
स्थानीय रत्नकुमारी र आइतमायाले पिस्कर काण्डमा गोली लागेर मृत्यु भएका र घाइते भएका विभिन्न व्यक्तिहरूलाई देख्नुभयो । घाइते महिलालाई समातेर जेलमा राखिएको र उतै उपचार गराइएको भन्ने बारेमा सुन्नु पनि भयो ।
जानकारहरूका अनुसार, पुरानो पिस्करमा रहेको महादेवको मन्दिरमा परापूर्वदेखि नै जात्रा लाग्ने गर्दथ्यो । २०४० सालमा पनि पुस मसान्तको राति त्यहाँ जात्रा लाग्दै थियो । तत्कालीन कम्युनिस्ट पार्टी (नेकपा माले) ले जात्राको बेला पारेर महादेवस्थानमा सांस्कृतिक कार्यक्रम गर्ने भयो ।
सो क्षेत्रमा त्यति बेला भूमिगत राजनीति गर्दै गरेका स्थानीय तथा हाल नेकपा एमाले नेता अमृतकुमार बोहराका अनुसार, स्थानीय मानिसलाई पञ्चायती व्यवस्थाविरुद्ध लाग्न सचेत गराउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको थियो । त्यो कुरा सरकार पक्षले थाहा पाएपछि त्यहाँ ठुलो सङ्ख्यामा सुरक्षाकर्मी पुग्यो ।
कार्यक्रमस्थलमा डेढ–दुई सय जना सुरक्षाकर्मी पुगेका थिए । बिहानीपख तिनले आक्रमण गरे । गोली पनि चलाए । सोही आक्रमणमा परी इली थामी र वीरबहादुर थामीको मृत्यु भयो । महिलालगायत अरू धेरै जना घाइते भए । घटनास्थलबाटै केही मानिसलाई पक्राउ गरियो । त्यो रातको सांस्कृतिक जात्रा बिहानीपख राजनीतिक ‘हत्याकाण्ड’ मा बदलियो तर घटना त्यत्तिमै थामिएन ।
स्थानीय महिलाका अनुसार, जात्रामा गोली चलेको भनियो र सुनियो । त्यसपछि क्षतविक्षत भएर मान्छे मरेको पनि देखियो । गाउँमा अन्योल भयो । कोही घाइते भएका देखियो । घटनापछि प्रहरीहरूले गाउँमा जो कोहीलाई हिँडडुल गर्नै दिएनन् । कफ्र्यु लागे जस्तै भयो ।
घटना भएको दुई–तीन दिनपछि गाउँका घरैपिच्छे पुगेर प्रहरीले सोधपुछ गर्दै खानतलासी गर्न थाल्यो । खानतलासी गरेर पक्राउसमेत गर्न थालेपछि पुरुषहरू डराएर आफ्नो घरमा बस्न आउनै छाडे । उनीहरू वनमा र अन्यत्रै कतै लुकेर बस्न थाले । लामो समयसम्म घरहरू पुरुषविहीन भए ।
प्रहरी र पुरुषका दमन र प्रतिरोधका गतिविधि बढ्दै गएर केही वर्षमा नै पिस्कर काण्डको रूप लिएको थियो । त्यस काण्डपछिको धरपकड र खानतलासीले गर्दा स्थानीय महिला र बालबालिकाहरू गाउँघरमै थप दुःख, कष्ट र समस्यामा पर्न थाले ।
अमृतकुमारले भन्नुभयो, “महिलाहरूले साना बालबच्चासहित त्रासको वातावरणमा दिन, महिना र वर्ष बिताएको अनुभव सुनियो ।”
नेपालमा राजनीतिक व्यवस्था र सामाजिक परिवर्तनका लागि विभिन्न घटना र आन्दोलनहरू भए । त्यस क्रममा केही यस्ता काण्डहरू पनि घटित हुन गए, जसको पश्चप्रभावले स्थानीय महिलाहरूलाई निरन्तर घानमा पर्न बाध्य बनायो ।
घानमा पर्न बाध्य अधिकांश महिलाको दुरवस्थालाई हटाउन भने कसैले ध्यान दिएनन् । सम्बन्धित नेतृत्वले पनि अवस्थाको लेखाजोखा त के वास्ता पनि गर्न चाहेको देखिएन । यस दृष्टिकोणले पिस्कर काण्ड पनि अपवाद हुन सकेन ।
पिस्करका महिलाहरूले त्यति बेला के भोगे ? अमृतकुमारको भनाइ थियो– त्यति बेला सुरक्षाकर्मीको गालीगलौज खानेमा महिला नै परे । घरमा पुरुष नहुँदा खेतीपाती गर्न नसकेर भोकै बसेको नमिठो अनुभव पनि महिलाले सुनाए ।
महिलाले नमिठो अनुभव त सुनाए तर सुन्नेले सत्तामा गएपछि पनि त्यसको सम्बोधन गरेको पाएनन् । राजनीतिक व्यवस्था र सामाजिक अवस्थाको असन्तुलनलाई व्यवहारमा मिलाउने प्रयास पनि गरिएन । यसमा राज्य, राजनीति र संलग्न दलहरूको ऐतिहासिक जवाफदेहिताको सख्त अभाव अति नै खट्किने पक्ष हो ।
पिस्कर काण्डको छायाले प्रत्यक्षदर्शी र भुक्तभोगी स्थानीय महिलाको मनोविज्ञानलाई जीवनको उत्तरार्धमा पुगिसक्दा पनि कुनै न कुनै कोणबाट अँठ्याइरह्यो । महिलाहरूले स्थानीय पञ्चायती व्यवस्था पक्षधरहरूले पनि आफूहरूलाई दुःख दिएको बताए ।
जात्रामा सोच्दै नसोचेको काण्ड त भयो नै । त्यसपछिका दिनहरू पनि पहिले जस्ता हुन सकेनन् । घटनापछिका वर्षहरूमा पञ्च पक्षधरले गाउँमा दिएको दुःखले महिलाहरूको दैनन्दिन जीवन थप त्रासपूर्ण र कष्टकर हुँदै गयो ।
रत्नकुमारीका अनुसार, सय रुपैयाँ ऋण काढ्न तीन दिन लगाएर पल्लो गाउँ जानुपर्थ्यो । असारमा लिएको त्यो सय रुपैयाँको ब्याज, एउटा बारीमा उब्जेको अन्न मङ्सिरमा जति हुन्छ, त्यो पूरै बुझाउनुपर्थ्यो ।
पञ्च पक्षधरसँग एकबोली बोल्न र ठाडो शिरले हेर्न पनि नसक्ने अवस्था थियो । रत्नकुमारीले यसो भन्दै गर्दा सँगै रहेकी आइतमायाले पनि केही कुरा थप्नुभयो । उहाँका अनुसार, दुहुना गाई, हल गोरु, बाख्रा, कुखुरादेखि नयाँ खोस्टाको चकटी, गुन्द्री पनि रातिराति लैजान्थे ।
रत्नकुमारी र आइतमायाले जीवनको उत्तरार्धमा पुगिसकेपछि आफू र आफू जस्ता स्थानीय महिलाको जीवनभोगाइलाई इतिहासतिर फर्किएर आफ्नै ढङ्गले हेर्नुभयो । त्यो हेराइमा जातीय विभेदको पीडा, आर्थिक शोषण र राजनीतिक दाउपेचको दुष्प्रभाव मिसिएको थियो । त्यसमा प्रतिशोध र प्रतिरोधको मौलिक भावभूमि पनि थियो ।
‘पिस्कर काण्डमा महिला’ शीर्षक सामग्रीलाई २०८१ माघ १ गते मङ्गलवारदेखि साप्ताहिक शृङ्खलाका रूपमा प्रकाशन/प्रसारण गरिँदै छ । स्थलगत भ्रमणबाट प्राप्त जानकारीको अध्ययन, विश्लेषण, लेखन, सम्पादन, परिमार्जन तथा पुनर्लेखन गरी ‘सन्धान सम्पादक मण्डल’ ले यो सामग्री तयार गरेको हो ।
प्रस्तुत शृङ्खलाको प्राथमिक सामग्रीमा गत वर्ष घटनास्थलमा भेटिएका व्यक्तिहरूबाट सङ्कलित मौखिक जानकारी र द्वितीयकमा २०४० माघमा राजधानीबाट प्रकाशित छापामाध्यमका सामग्री रहेका छन् । यसमा राजनीतिक तथा आधिकारिक व्यक्तिका भनाइ पनि छन् ।
इतिहासका घटनालाई सम्बन्धित कालखण्डकै सीमामा रहेर हेर्नुपर्छ । आधा शताब्दी पुग्न एक दशक मात्र बाँकी रहेका बेला घटनास्थलमा भेटिएका व्यक्तिहरूबाट दृश्यमा जे जस्ता जानकारी आए, तिनका सान्दर्भिक अंशलाई त्यही रूपमा लिपिबद्ध पनि गरिएको छ ।
इतिहास र राजनीति अलग विधा हुन् । इतिहासकार र राजनीतिकर्मी दुई अलग पक्ष पनि हुन् । यी दुवै विधा र पक्षका मौलिक शक्ति र सीमा छन् । यसैले इतिहासमा राजनीति र राजनीतिमा इतिहासको मिसमास हुनु हुँदैन । त्यस्तो भयो भने महिला इतिहासले पनि न्याय पाउन सक्दैन भन्ने कुरामा हामी चिन्तित छौँ ।
ऐतिहासिक महत्त्वका तथ्यहरू खोज्ने, अध्ययन र विश्लेषण गर्ने अनि लेख्ने क्रममा हामीलाई के लागेको छ भने इतिहास र राजनीति दुवै पक्षले आ–आफ्ना विधाका ज्ञानात्मक र व्यावहारिक सीमाको ख्याल गर्नुपर्छ । नेपाली महिलाको इतिहासलाई न्याय गर्न पनि यो जरुरी छ भन्ने हाम्रो बुझाइ हो ।
आजको सामग्री पिस्कर काण्डमा महिला शृङ्खलाको पहिलो अङ्क हो । प्रस्तुत छ, पिस्कर काण्डले स्थानीय महिलामा पारेको असरका सम्बन्धमा रत्नकुमारी थामी र आइतमाया थामीको स्वकथनको पाठ र भिडियो अंश :
रत्नकुमारी थामी : मेरो माइती यही माथ्लो घर हो । २०४० सालमा मेरो बिहे भएको थिएन । म यो घरमा आइसकेको थिइनँ ।
अहिले त आमा पनि बित्नुभो’ । बा पनि बित्नुभयो । भाइ, दाइ पनि बित्नुभयो । त्यति बेला त सबै थिए ।
म जात्रामा ग’को, बासँगै । रातको २ बजेसम्म जात्रा हेरेको अनि अब निद्रा लाग्यो, घर जाने भनेर हामी घरमा आयौँ । घरमा आएर सुतेर एक निद्रा हुनहुन लाग्दा गोली चल्यो, गोली भन्ने नि त्यो बेला त था’ छैन ।
बडङ्बडङ् पड्किन्छ । यसो बाहिर निस्केर हेरेको, हेर्दाहेर्दै त आगोको कोइला जस्तो मेरो आमाको घरको छेउतिर झिलिली भएर आयो । यस्तो काठमा लागेछ, काठ नै ठ्याक्कै प्वाल पारेछ । अनि पो गोली र’छ भन्ने थाहा पायौँ ।
पछि बिहानखेरि हेर्दा त यही गरामा (हातले गरा देखाउँदै) मान्छे लडिबसेको । हाम्रो गाउँको होइन, धुस्कुनको हो मर्ने चाहिँ । अनि पुलिसहरू, मेल्टरीहरू ऊ त्यो परको जङ्गलमा प’रसम्म लस्करै गएको देखेको । यहाँ डाङडुङ पारेर पनि हिँडिसकेछ ।
मर्ने एउटालाई त आफ्नै पटुका फुकाएर, त्यति बेला त पटुका बान्थ्यो छोरा मान्छेले पनि, त्यही पटुकाले बाँधेर घिसार्दै अलि तल खोलाको छेउमा लगेर फाल्देछ ।
फालेपछि चिलाउनेको स्याउला भाँचेर छोपिराखेछ । अनि जाँजाँ त्यो घिसार्दै लगेको, त्याँत्याँ आन्द्राहरू पनि खसिराखेछ ।
एउटा चाहिँ त्यस्तो भयो, अर्को एउटालाई चाहिँ आँखाबाट गोली पसेछ र अर्कोपट्टि भक्कै निस्केछ । योभन्दा मुन्नेर गरामा ढलिराखेछ । यस्तो भएपछि राति सबै भागाभाग भयो ।
बिहान उज्यालो भइसकेपछि सबै जम्मा भए । दिनभरि अझ भरेसम्म त्यो मरेको मान्छे यहीँ भयो । मान्छे मारेको भनेपछि त उदेक भयो । सबै जम्मा भयो ।
धुस्कुन, पिस्कर, जलजलेको सबै जम्मा भएर मरेको मान्छेलाई के गर्ने कहाँ लाने भनेर यही हाम्रो आँगनमा कुरा भयो ।
पुलिस, मेल्टरीहरू पनि गइहाले । पुलिस, मेल्टरीहरू भन्ने पनि यो गाउँको मान्छेले त्यति बेलै देखेको जस्तो लाग्छ ।
अरूलाई पनि गोली लागेको रहेछ । टेकानपुरको जगतबहादुर बोहोरा भन्नेको हात भाँच्चेको । मेरो भाउजु पर्ने पिस्करको पाल्का (पल्कमाया) थामीलाई पाखुरामा गोली लागेर पाखुरा नै भाँच्चियो ।
सुनकोशीको अर्को सोनामाया तामाङ भन्नेलाई यस्तै (हातको नाडी) मा लागेछ । यहाँबाट छेडेर यता अर्कोपट्टि निस्केछ । हड्डी चाहिँ भाँच्चिएनछ । हात मोटो र’छ, मासु झोलिराखेको थ्यो, यही पिँढीमा ।
टेकानपुरकै अर्को एक जना नाम त था छैन, घर्तीलाई यस्तो खुट्टा (नली खुट्टा) मा लागेछ र खुट्टा भाँच्चेछ । गोली त अरू थुप्रैलाई लागेको रे कताकता टाढाटाढाकोलाई ! त्यत्ति मैले याद गरिनँ ।
अनि (माघ) ३ गतेदेखि फेरि पुलिसहरू आउन थाल्यो । पुलिसहरू आइसकेपछि यहाँ त छोरामान्छे भनिसकेपछि एक जना पनि बस्नु भएन । सबै भागाभाग भयो । घरमा खोज्न आयो, घरमा नभेटेपछि वनवनमा पनि खोज्न गयो ।
मेरो माइला दाइ अनि जेठाजुलाई (माघ) ३ गते समातेर लग्यो । वनतिर भाग्नुभएको थियो । त्यतैबाट समातेर लग्यो । माइला दाइलाई जेठमा छोड्यो, जेठमा घर आउनुभयो । मेरो जेठाजु तीन वर्ष बस्नुभयो ।
चालिस सालको घटनापछि त खेतबारीमा गोरु जोत्ने मान्छे पनि छैन, कोदालो खन्ने मान्छे पनि छैन । दुई तीन वर्षसम्म त्यस्तो भयो ।
त्यति बेला फासिस्ट सरकार, पञ्चे सरकार भन्छ । त्यो मान्छेलाई पञ्चे सरकारकै मान्छेले मारेको हो । पञ्चे सरकारकै मान्छे आएर सबै खोजी गर्यो । घरघर ढुँड्ने, बाङ्बुङ पार्ने गरेर खोजी गर्यो ।
अनि, छोरामान्छे भेटे लाने, छोरीमान्छेलाई पनि लग्यो । जात्रामै गोली लाग्ने पाल्कमायालाई पनि छ महिना जेलमा राख्यो । जेलभित्रै राखेर पाखुराको उपचार गर्यो रे ! उहाँ अहिले त हुनुहुन्न, बित्नुभयो ।
सोना भन्ने तामाङ चाहिँ सुनकोशीको थ्यो रे ! उसलाई जेलमा लग्यो कि लगेन थाहा भएन । साबित्री बोहरा भन्ने टेकानपुरको थियो, उहाँलाई पनि जेलमै लग्यो । अरू चाहिँ थाहा भएन ।
हामी केटाकेटी, ठुलोमान्छे, सानोमान्छे सबैलाई सोध्छ । कहाँ लग्यो, कहाँ पठायो भनेर सोध्ने, डिङ्ग्रीमुङ्ग्री गर्ने, चोटाकोठा सबै खोज्ने । तीन वर्षसम्म त्यस्तो गर्यो । कतिलाई कुट्ने, लछारपछार गर्ने गर्यो ।
लाटु (पिस्कर नजिकैको ठाउँ) को एक जना अलि कान नसुन्ने मान्छे थ्यो । जात्रामा आउनुभएको बेला यतै ऊ पर ढाँडतिर फुपूको घरमा बस्नुभएको थियो । यहाँ ओहोरदोहोर गर्न पनि नहुने कफ्र्यु लागेजस्तो भएको थियो । उहाँलाई भेटेर ड्यामका ड्याम बेस्कनी कुट्यो ।
गाउँमा भेटेजति थुप्रैलाई कुट्यो । यस्तो त तीन–चारवर्षसम्म भयो । आइरहने, मुद्दा लगाउनेहरूलाई खोजिरहने गरिरह्यो ।
मान्छे मारेको ठाउँमा त्यसपछि जात्रा लागेको बेला आउनै डर भयो नि त ! त्यसपछि (धेरै वर्ष जात्रा लागेन) ।
माधव पौडेल भन्ने मान्छे जात्राको त्यो रातमा पनि हुनुहुन्थ्यो रे ! मैले त्यो बेलामा चिनेको थिएन । अमृत बोहोराको त घर नै यहीँ । गाउँठाउँ नै हो । (उहाँकी श्रीमतीको) सुत्केरी पनि यहीँ उतार्नुभएको रे हाम्रो ममीहरूले !
अमृतकुमार त्यति बेला यहाँ आउनुभएको थियो कि थिएन भनेर मलाई चाहिँ थाहा भएन । तर, माधव पौडेल भन्ने मान्छे त्यो रात यहीँ हुनुहुन्थ्यो रे ! हाम्रै ऊ (तलतिर) त्यो गह्रामा खाजा बाँड्दै हुनुहुन्थ्यो ।
हाम्रो ममीबुबाहरू, यो टोलको साथीहरू जम्मा भएर खाजाको व्यवस्था गर्नुभ’को रे ! गाउँतिर सबैकोमा गएर उठाएर जम्मा पारेर सबैलाई खाजाको व्यवस्था गर्नुभ’को रे !
मकै भुटेर, तरुल, सखरखण्ड उसिनेर राख्नुभएको रे ! अनि, माधवले हाम्रै ऊ त्यो गरामा बसेर टाढाटाढाबाट आउनेलाई (त्यही खाजा) बाँड्दै हुनुहुन्थ्यो रे !
आइतमाया थामी : मलाई थाहा भ’ को कुरा चाहिँ हामी त सानसानै केटाकेटी थियौँ । हाम्रो बुबाहरूलाई चाहिँ ‘आज मेरो मेलो आउनुपर्छ । रत्नबहादुर ! मेरोमा जोत्न आउनुपर्छ’ भन्नुहुन्थ्यो ।
‘आज पाउँदैन हजुर, काजीसाप’ भनेर बुबाले भन्नुहुन्थ्यो । अनि ‘कसरी नपाउने, काँ जाने ?’ भनेर हप्कीदप्की गर्थे । आफ्नो मेलो छ भने पनि हलगोरु धपाएर उसकै मेलो लाने गर्थे । त्यस्तो त्यस्तो थ्यो पहिला पहिला ।
हामीलाई पनि जहिले पनि हेपिरन्छ । त्यही पाँडे खलक भनुँ न, पहिला नरजंग बाउले त्यसरी हेप्थ्यो हाम्रो हजुरबाहजुरामालाई । हाम्रो आमाबालाई पनि त्यस्तै भयो ।
अनि, हाम्रो पालामा चाहिँ अलि भएन, त्यसरी हेप्पिएर बस्न सक्दैनौँ भन्ने भयो । २०४० सालमा पनि देवीजंगले नै त्यत्रो पुलिसहरू ल्याएर मान्छे मार्ने त्यत्रो काण्ड चलायो ।
अनि, यस्तो हेपिएर बस्नु हुँदैन भन्ने भो । हुँदाहुँदै ४०, ४१, ४२ साल भइसकेपछि ‘अब यस्तरी हेप्पिएर बस्नु हुँदैन ! अब यसलाई पनि कुटपिट गर्नुपर्छ’ भनेर हाम्रो थामीहरू पनि दुई–तीन जना भएर कुटेछ ।
चित्रेपाटी भन्ने ठाउँमा देवीजंगलाई कुटेछ र नालामा घुसारिराखेको रे ! मर्नु चाहिँ मरेनछ । त्यसपछि अलि खस्क्यो । त्यसपछि अब यिनीहरूलाई पनि केही न केही गर्नैपर्छ भन्ने थामीहरूलाई भयो । उनीहरूको घर घेर्नुपर्छ भन्ने कुरा गरे अलि ठुल्ठुलोहरूले ।
हामी त अलि सानसानै थियौँ । दसैँको मौका थियो । उनीहरूको सबै सन्तान आएको थियो घरमा । अनि, सबै थामीहरू गएर उसको घरमा सीसाको झ्याल थियो, सबै भएर यत्रोयत्रो ढुङ्गा हानेर झर्यापझुरुप बनाइदियौँ, ठुलो सानो सबै भएर ।
म त सानै थिएँ । त्यस्तो गरिसकेपछि उनीहरूलाई पनि डरत्रास भयो होला । हामीलाई हेपचेप गर्न अलि नसक्ने भो । नत्र पहिला त हामी बोल्नु पनि पाउँदैन, हिँड्नु पनि पाउँदैन ।
एउटा भैँसी पाले पनि लाने । एउटा गोरु पाले पनि लाने । एउटा बाख्रा, खसी, बोका पाले पनि लाने, लुट्ने । त्यस्तो गर्थ्यो, हेप्थ्यो ।
अनि ‘यसरी हेपिएर बस्नु हुँदैन, हामी थामीथामी मिलेर यिनीहरूलाई पनि केही न केही गर्नुपर्छ’ भन्ने भयो । हामीले पनि ढुङ्गामुडा गर्ने, घर भत्काउने गरेको । कोहीले त घरमै गएर थाम काट्ने पनि गरे । त्यसो गर्दा उनीहरू घरभित्रबाट निस्केन ।
ठुलोसानो सबै भएर दबाब दिँदै गर्यौँ । म ८ वर्षको हुँदा बुबा खस्नुभो । हाम्रो पालामा उनीहरूको मेला गर्नु जानु परेन । मेरो बुबाआमाहरूलाई चाहिँ गारो पार्यो ।
रत्नकुमारी : आफ्नो खुसीले बाली लगाएर आफ्नो दुःखले कमाइ लाएर खान पाउने भयौँ । पहिला त असारभरि उसको मेला जानुपर्ने हुन्थ्यो, गएर गर्दिन्थ्यौँ । उसको मेला पहिला गरिदिनुपर्थ्यो ।
साउनको अन्तिम भएपछि थामीको कमाइ लाउँथ्यौँ । साउनमा लगाएको बाली यो लेकको ठाउँमा एउटै नहुने ।
जेठको १५–२० तिरै रोपे अलि फल्थ्यो । हामीहरूको बाली ढिलो लाउनुपर्ने । ढिलो लाउँदा लेकको चिसोपानीले हाम्रो बालीनाली त एउटै हुँदैनथ्यो ।
आइतमाया : बाजा बजाउने, रोपेको रोप्यै गर्ने हुन्थ्यो रे ! खाजा भने इतिकिती (हातका पाँच औँला खुम्च्याउँदै) फूलमकै र नेबाराको गेडाको अचार । त्यै पनि बेल्कातिर दिन्थ्यो रे ! हामीले त उनीहरूको काम गरेनौँ ।
रत्नकुमारी : उहाँ (आइतमाया) ले त उसको सन्तान सबै चिन्नुहुन्छ नि उता माइती गाउँपट्टि ।
आइतमाया : ज्याला पनि कोदो भए पनि, धान भए पनि चार माना दिन्थ्यो ।
रत्नकुमारी : त्यो पनि अघिपछि दिन्थ्यो होला । बेठी लाउने दिनको त ज्यालास्याला दिने थिएन रे ! खाजा मात्रै दिन्थ्यो रे ! अघिपछि जाँदा दिएको चार माना धान वा कोदो घर ल्याएर सुकाउँदा, कुट्दा, फल्दा दुई माना हुन्छ ।
आइतमाया : लास्टमा सक्किसकेपछि खाजा इति (हातका पाँच औँला खुम्च्याउँदै) फूलमकै दिन्छ त्यत्ति हो ।
रत्नकुमारी : पहिला मेरो ममीबुबाको पालामा, मेरै पालामा समेत एक सय रुपैयाँ ऋण काढ्यो भने ब्याज मात्रै वर्षको ठ्याक्कै पाँच पाथी अन्न दिनुपर्थ्यो ।
दिनभरिको बाटो हिँडेर ऊ त्यो माथिको डाँडा (चोर औँलाले डाँडातिर देखाउँदै) पुग्छौँ । त्यहाँको मान्छेसँग ऋण काढ्छौँ । दिनभरि हिँडेर गएको दिनमा कहिले त त्यो मान्छे हुँदैन अनि कैले आइज भन्छ फेरि त्यही दिन जानुपर्यो । तीन दिन लगाएर ऋण काढ्यो, ल्यायो, आफ्नो भएको समस्या के हो त्यो टार्यो ।
असारमा एक सय रुपैयाँ ल्याइयो भने मङ्सिरमा ठ्याक्कै पाँच पाथी अन्न दिनुपर्थ्यो । अन्न लिन ऊ आफैँ आउँथ्यो । त्यो सप्पै सय रुपैयाँ ऋणको ब्याज बुझायो । त्यो सय रुपैयाँ पैसा जस्ताको तस्तै बसिरहन्छ । त्यति बेला त्यस्तो गर्नुपर्थ्यो ।
अहिले त समूहमा बस्यो । समूह संस्थाबाट अलिअलि केही सहयोग आउँछ । हामी पनि समूहमा बसेर एक दुई रुपैयाँ भए पनि बचत गर्छौं । टाढा ऋण काढ्न जानु परेन ।
आफ्नो समूहमा ऋण काढ्यो, समस्याको समाधान गर्यो । ऋण ल्याउँदा तीन महिनाको, नौ महिनाको भाका हुन्छ । कमाउन गयो, कमाएपछि त्यही भाकामा ऋण तिर्छौं ।
अहिले त धेरै सजिलो भएको छ ।
प्रकाशन मिति : २०८१ माघ १ गते, मङ्गलवार