पिस्कर काण्डमा महिला शृङ्खला ६
पूर्णिमाया थामी पिस्कर काण्डका बेला ४० वर्षकी हुनुहुन्थ्यो भने सुकुमान थामी ३७ वर्षका । राणाकालको अन्तिम दशकमा जन्मिएका यी दुई प्रत्यक्षदर्शी एकै समुदाय र भूगोलका भए पनि उहाँहरूको जानकारी र जीवनभोगाइको संसार भने अलग थियो ।
पूर्णिमायालाई राजनीतिक कुरा थाहा थिएन । उहाँलाई जात्रामा जान रहर लाग्यो र ससाना केटाकेटी साथमा लिएर जानुभयो । गोली लागेका व्यक्तिको चित्कारसहितका केही वीभत्स दृश्य अनायासै उहाँले देख्नुभयो । घटना भएको रात आफूहरू माथिल्लो पाटामा बसेको बेला गोली हानाहान भएको र गोली लागेर दुई जना मरेको घटना सम्झँदै उहाँले भन्नुभयो, “पछि त ह्वाररर आयो पुलिसहरू । आफू त भाग्नुपर्यो ।”
ज्यान जोगाउन पनि केटाकेटी साथमा लिएर भाग्नुभयो । घर पनि पुग्नुभयो तर रातिको घटनाको प्रभावले उहाँलाई पछ्याउन छोडेन । गाउँमा सुरक्षाकर्मीको आउजाउ थपियो । आफ्ना कुरा बुझिने गरी राख्न पनि नसक्ने पूर्णिमायाले थामी समुदायले स्थानीय साहुबाट भोग्ने गरेका शोषण र ज्यादतीका केही झलक पनि सुनाउनुभयो ।
“मलाई एक दिन त सुकदलमा काम गर्न गएको … मलाई के भनेछ कानले सुनिनछु,” पूर्णिमायाले भन्नुभयो, “… पछि त हँसियाले झटारो हानिकन ख्वाम्मै यहाँ गाडिन आ’को हँसिया ।” साहुले के भनेको भनी आफूले नसुन्दा हँसियाको झटारो हानेको र घाँटीबाट रगतको भल बगेको उहाँको भनाइ थियो ।
“म त रन्थनिएर एकछिन त त्यहीँ सुतेँ” भन्दै पूर्णिमायाले आफूलाई साहुनीले औषधि खोजेर लगाइदिएको, सासू पनि ‘बुहारी मर्यो’ भनेर रोएर बसेको अनि एक घण्टा जति फेरि बिउ उखालेर राति बिदा भएर आएको बताउनुभयो । उहाँको भनाइ थियो– त्यस्तोसम्म भएको थियो । त्यो कति सालतिर त थाहा छैन ।
सुकुमान भने भित्रभित्रै कम्युनिस्ट पार्टीको गतिविधिमा संलग्न रही जात्राभन्दा पनि कार्यक्रम हुने रातको सम्भावित घटनाप्रति पूर्वधारणा बनाइसकेका व्यक्ति हुुनुहुन्थ्यो । पाँच वर्षअघि नै धान काण्डमा परेर पुसमा एक महिना जेल परेको र तीन वर्षसम्म तारिख बोकेका उहाँको भनाइ थियो– हामी त थाहा भएकै मान्छे भइहाल्यौँ ।
पिस्करमा गोली चलेको घटनाका सन्दर्भमा भने आफूहरूले बेलैमा सम्भाव्य वस्तुस्थितिको सही आकलन गर्न नसकेको सङ्केत गर्दै सुकुमानले भन्नुभयो, “पुलिस आउन त आउँछ होला दुई चार जना, कुटेर पठाउने भनेर तयारी भ’को नि ! ढुङ्गा बर्साएको भरले तर्साउन खोजेको तर माथिदेखि पूरै पुलिसले घेरिसकेको र’छ ।”
पूर्णिमायाले पिस्कर काण्डलाई हेर्ने, बुझ्ने, सोच्ने, सम्झने सन्दर्भमा आफूलाई तत्कालीन साहुको शोषण, हैकम र ज्यादतीबाट मुक्त भएकामा आनन्द लागिरहेको भावसँग जोड्नुभयो भने समकालीन उमेर समूहकै भएर पनि सुकुमानले आफू र आफ्नो समुदायलाई तत्कालीन पार्टीबाट धोका भएको अनुभव गर्नुभयो ।
गोली काण्ड हुनुअघिका वर्षहरू पूर्णिमायाका लागि सहज थिएनन् । स्थानीय साहुले हँसियाको झटारो हानेर घाँटीबाट भलभल रगत निकालिदिएको घटना उहाँको घरभित्रको हिंसा थिएन । त्यो थामी समुदायका कतिपय महिला, जो गरिबी, अशिक्षा, पछौटेपन आदिले थिचिएका थिए, उनीहरूले सामाजिक तहमा भोगेका हिंसाको एउटा कठोर घटना विम्ब थियो ।
थामी समुदायका सुकुमान जस्ता व्यक्तिहरू सोही पृष्ठभूमिमा कम्युनिस्ट पार्टीको सरकार आएपछि सबै राम्रो हुने आशामा भूमिगत नेताहरूलाई भित्रभित्रै दिलोज्यानले सघाइरहेका थिए । यही क्रममा स्थानीय साहुलाई नै तत्कालीन व्यवस्थाको प्रतीक बनाएर घोचपेच गर्दा समुदायका सबैजसोको मन जितिने ठानी जात्राको बेला पारेर भएभरका दर्शक बटुल्दै एउटा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रहरीले गोली चलाएपछि के बुझेका के नबुझेका सबै जात्रालु र दर्शकका लागि घटनाले नसोचेको मोड लियो । त्यसपछि गाउँघरमा प्रहरीले निगरानी गर्दाका दिनहरू थामी महिलाका लागि थप कष्टकर भए । पुरुषहरूले पनि घर छाडी भाग्नुपर्ने र अन्यत्रै लुकेर बस्नुपर्ने भयो ।
महिला, मानव र समाजविज्ञानका कोणबाट इतिहासले नजरअन्दाज गर्नै नहुुने पत्रहरू पूर्णिमायाको भोगाइमा लपेटिएर पनि आए । नेता पाल्ने राजनीतिलाई काँध हालेर जीवनमा कहिल्यै नसोचेको हन्डर खाएका सुकुमान जस्ता पुरुषको भोगाइले उनीहरूका परिवारमा रहेका महिलाको दुरवस्थालाई अव्यक्त भाषामै भए पनि दर्साइरहे ।
गाउँमा सपना देखाउन आएका नेतालाई लुकाएर जोगाउँदै पालेका प्रसङ्गमा परिवारका महिलाको श्रम र योगदानलाई सुकुमानले शब्दमा भने समेट्नु भएन । त्यसो त पूर्णिमायाले पनि पहिलो कुराकानीमा आफ्नो परिवारका पुरुष सदस्यको राजनीतिक संलग्नताको बारेमा खुलाउनु भएन ।
राजनीतिक परिवर्तन, सङ्क्रमणकालीन अन्योल, अस्थिरता र अनिश्चिताले जीवनमा पटक पटक घेरेपछि पूर्णिमाया जस्ता गैरराजनीतिक महिलालाई पनि केही हदसम्म सचेत हुन करै लाग्यो । आफ्नो वर्तमान र सन्तानको भविष्यलाई जोड्दै उहाँले भन्नुभयो, “अहिलेसम्म त राम्रै छ । अब पछि ’छि के होला, छोरानातिको पालामा !”
सन्तानको शिक्षा र सुखद भविष्यका लागि सुकुमान पहिल्यैदेखि सचेत हुुनुहुन्थ्यो । त्यसैका लागि जोखिम मोलेरै भए पनि राजनीतिमा लाग्नुभयो । उहाँका अनुसार, कम्युनिस्टहरूले सबैभन्दा पहिला माओत्सेतुङको कुरा सिकाए । घरजग्गा सरकारकै हुन्छ तर खान, लाउन, पढाउन सबै सरकारले दिन्छ भने । त्यो कुरा सिकाए तर दिएनन् ।
पञ्चायतकालमा गाउँमा चप्पल लगाउन पनि रहर हुन्थ्यो । सुकुमानले यस सन्दर्भमा पनि भन्नुभयो, “हाम्रो सरकार आएपछि ‘चप्पल दिन्छ, सबै कुरा हुन्छ, बच्चा पढाउँछ’ भन्थ्यो, खै त भएको ?” कठिन अवस्थामा कम्युनिस्ट राजनीति गरेर लामो अनुभव सँगालेका उहाँलाई यस्ता प्रश्नले घेर्न थालेपछि लाग्यो, “पछि त हामी ‘धान खाने मुसा, चोट पाउने भ्यागुता’ पो भयौँ ।”
थामीहरूलाई पद नै नदिने रहेछ भन्ने लागेपछि सुकुमानले पार्टी परित्याग पनि गर्नुभयो । अहिले जुन पार्टीमा गए पनि आफ्नो खुसीले गएको बताउँदै उहाँले भन्नुभयो, “हामी आफ्नै खुसीले कुटो, कोदालो गरेर खाइरहेका छौँ ।”
माटो र मान्छेमा अप्राकृतिक फाटो ल्याएर सत्तामा गएका कसैले पनि थामी समुदायका लागि हातमुख जोर्ने बैकल्पिक व्यवस्था गर्न सकेनन् । कारण जेसुकै भए पनि सुकुमानको राजनीतिक जीवनभोगाइको निष्कर्ष थियो– कम्युनिस्ट पार्टी र जुनसुकैको सरकारबाट हामी जस्तो गरिबले पाउने केही होइन र’छ ।
पूर्णिमाया र सुकुमानको जस्तो जटिल भोगाइ र सरल विचारको लहरमा अरू धेरै समुदाय र त्यहाँका महिलाको तह तहको कथा जोडिन सक्छ । राज्यले उहाँहरू जस्ता व्यक्तिको आँतको घाउ पहिल्याएर फेरि फेरि नबल्झिने गरी उपचार गर्न सक्नुपर्थ्याे, त्यो हुन सकिरहेको छैन ।
साथमा, मानव अधिकार र महिला सवालका विभिन्न पक्षसँग भिडाएर समानता र न्यायको कोणबाट भित्रैसम्म पसी स्वतन्त्र दृष्टिले नियाल्न बाँकी नै छ । बौद्धिक जगत्ले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न सकिरहेको र पाइरहेको छैन ।
राजनीतिक अतिक्रमणको भार सबै क्षेत्रमाथि छ । ‘इतिहास लेखिदिन्छु’ भनिएको सन्दर्भले पनि यही देखाउँछ । संवैधानिकदेखि राज्यका विभिन्न अङ्ग, निकाय, सामाजिक, शैक्षिक तथा प्राज्ञिक संस्था, विभिन्न पेसा, व्यवसाय आदि सबै क्षेत्रलाई गिजोलेर कमजोर बनाउन उद्दत राजनीतिले आफ्नै क्षेत्रमा गर्नैपर्ने काम गर्न र इमान देखाउन भने सकेन ।
पूर्णिमायाको आनन्द र सुकुमानको खुसी सापेक्ष कुरा हुन् । शोषण र उत्पीडनका विभिन्न चक्रमा पर्दै र पारिँदै लगिए पनि अन्ततः उहाँहरू आफूसँग भएको जमिनमा स्वतन्त्रतापूर्वक कृषि कर्म गरी हातमुख जोड्ने चरणमा पुग्नुभयो । पुर्ख्याैली ज्ञान र सिपको मात्रै उपयोग गरे पनि बरु भूमिले आफूलाई नठग्ने रहेछ भन्ने चाल पाउनुभयो ।
इमान र नैतिकताविनाको राजनीतिले भुइँमान्छेहरूलाई प्रयोग मात्रै गर्ने हो । त्यसैको उच्चतम ऐतिहासिक मूल्य अहिले थामीहरू मात्र होइन, अरू समुदायका सर्वसाधारणले पनि चुकाउँदै छन् । भविष्यमा यसको थप मूल्य सम्बद्ध सबैले चुकाउनुपर्ने हुन्छ किनकि भौतिक सत्ता र शक्तिको बल अनित्य हुन्छ ।
इतिहास कसैले लेख्ने र लेखिदिने विधा होइन, यो त कालान्तरसम्म ऐतिहासिकले तार्किक प्रश्न गर्ने, बौद्धिक अनुशासनमा रहेर खोज्ने, विश्लेषण गर्ने र जहाँ जे जस्तो भएको थियो त्यसलाई त्यही रूपमा प्रस्तुत गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने अमूल्य पाठ हो । यो अनुभवसिद्ध ज्ञानको भण्डार पनि हो ।
अग्रजका बेइमानी र कमजोरीले थोपरेको मूल्यको भारले पुस्तौँपुस्ताको जीवनलाई थिचिरहन नपाओस् ! थिचिन दिइरहने काम पनि कोही कसैबाट नहोस् !! यही भावनाका साथ इमान र नैतिक शक्तिको बललाई आत्मसात गर्दै समयमै सबैले आ–आफ्ना भागको इतिहासको सामना गर्न सिकौँ र सकौँ भन्ने ‘सन्धान’ को आग्रह हो ।
विभिन्न जिल्लामा घटित ऐतिहासिक काण्डको भित्री तहमा पसेर महिलाको भूमिका र भोगाइका व्यक्त अव्यक्त पाठको खोजी गर्ने क्रममा ‘सन्धान’ टोली गत साल २०८० असोजमा सङ्घीय राजधानी काठमाडौँबाट ८३.६ किलोमिटर उत्तरपूर्वमा रहेको पिस्करस्थित घटनास्थलमा पुगेको थियो । टोलीमा लक्ष्मी बस्नेत, समीक्षा गाहा मगरका साथै क्यामेरामा मुकुन्द बोगटी सहभागी हुनुहुन्थ्यो ।
राज्यको पछिल्लो संरचनामा पिस्कर बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा रहेको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ मा पर्छ । त्यहाँ पिस्कर काण्डका प्रत्यक्षदर्शीहरूको खोजी गर्दा राजनीति नै नगरेका, नबुझेका सर्वसाधारण महिला र राजनीति गरेका, बुझेका र सम्भाव्य झडपको लागि तयारीमा समेत रहेका पुरुष पनि भेटिएका थिए ।
आधा शताब्दी पुग्न एक दशक मात्र बाँकी रहेका बेला घटनास्थलमा भेटिएका र पछि काठमाडौँबाट सम्पर्क गरिएका व्यक्तिहरूबाट दृश्य र श्रव्यमा जे जस्ता जानकारी आए, तिनका सान्दर्भिक अंशलाई त्यहीरूपमा लिपिबद्ध गरियो ।
सोही सामग्रीका आधारमा ‘सन्धान सम्पादक मण्डल’ ले अध्ययन, विश्लेषण, लेखन, सम्पादन, परिमार्जन तथा पुनर्लेखन गरी यो सामग्री तयार गरेको हो । स्वकथनका पाठभित्र लैङ्गिक दृष्टिले उठाउनुपर्ने धेरै छिद्रहरू भेटिएका छन् । ती व्यक्त र अव्यक्त दुबै रूपमा रहेकाले तिनलाई थप कोट्याउन र केलाउन बाँकी छ ।
खासगरी एकै समुदाय, एकै समय, एकै सन्दर्भमा महिला र पुरुषको हेराइ, बुझाइ र भनाइबाट लिन सकिने ज्ञानलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसमा सामाजिक संरचनामा विभाजित व्यक्तिका कोणबाट देखिन आउने भिन्दाभिन्दै संसारलाई पनि छुन खोजिएको छ ।
पिस्कर काण्ड भएको दिन पारेर हामीले २०८१ माघ १ गते मङ्गलवार ‘पिस्कर काण्डमा महिला’ शीर्षक शृङ्खला सुरु गरेका थियौँ । आजको सामग्री सोही शृङ्खलाको छैटौँ अङ्क हो । प्रस्तुत छ, पूर्णिमाया थामी र सुकमान थामीका भनाइको पाठसँगै भिडियो अंश :
दिनरात उनीहरूकै मेलो नगए पिट्ने
– पूर्णिमाया थामी
दुःख त के ! उ बेलामा हामीले खसीबाख्रा पाल्न हुँदैन, (साहुले) चोरेर लगेर खाइहाल्छ । दुहुनो गाई देख्न हुँदैन, लगेर (दुध दुहेर) खाइहाल्छ । आज मेरो मेलो छ, आउन पाउँदिनँ भन्यो भने कति मेलो छ, कति जना खेतालो छ सोधेर (उतै आफ्नैमा) लगिहाल्छ पिटेर ।
उहिलेका मान्छे त के ! एक सुका पैसा छोडिराख्छ । हामी मेलामा जान पाइँदैन्थ्यो । अर्कोको काम गर्न बोलेको हुन्थ्यो भनेर अर्कोको मेला जाँदाखेरि घरको बाख्रा डोर्याएर लगेर खान्छ । उहिलेको मान्छेहरू के हो के हो !
एउटा बाख्रा नौ धार्नी भयो रे ! एउटा बाख्रा आठ धार्नी भयो रे ! मेरो बाख्रा खाइदियो । फेरि पछि मेलामा पनि जानुपर्यो आफैँ । खायो, खाओस् ! आफ्नो भयो भने अर्को जुनीमा खाउँला, भएन भने के गर्ने त ? खायो खायो, के गर्ने त अब !?
उ बेलामा राम्रो भाले देख्न हुँदैनथ्यो । राम्रो बाख्रा देख्नु हुँदैन । अलि खसी बोका देख्नु हुँदैन । राम्रो गोरु देख्नु हुँदैन । हामीले पाल्यो पाल्यो त्यहीे उसलाई हुन्छ ! त्यस्तो भएर हामी पनि दुःखमा पिल्सिएर बस्यौँ ।
जात्रा जानलाई रहर लाग्यो । यहाँ (महादेवस्थान) आयौँ, अब केटाकेटी ल्याएर आयाैँ । रातको एक बजे त गोली हान्यो । म त्यो माथिल्लो पाटामा थिएँ । गोली हानाहान भयो । अब त्यो केटाकेटी के गर्ने के गर्ने ?
दुई जना त मरिसके । कुनैको यहाँ (कम्मरमा) छेडेर मर्यो । कुनैको यहाँ पाखुरामा छेडेर मर्यो । दुई जना त गयो । एक जना चाहिँ ‘पानी देऊ न आमा, पानी देऊ न आमा’ भन्यो । अनि पानी अँध्यारोमा कहाँ लिन जानु ? त्यही खोल्साको पानी दिएको हामीले ।
पछि त ह्वाररर आयो पुलिसहरू । आफू त भाग्नुपर्यो । यति यति आन्द्रा निस्क्याथ्यो त्यो ‘पानी देऊ’ भन्ने मान्छेको । पछि त घिस्याउँदै लगेर कहाँ लगेर मार्यो कुन्नि !? हाम्रो बच्चाहरू ’नि थियो । बच्चाहरू बोकेर गयौँ घरतिर ।

पहिला पहिला त्यस्तो भएर (हामीले) खाना पनि राम्रो खान पाएन । बस्न पनि राम्रो पाएन । दिनरात उनीहरूकै मेलो जानुपर्ने । आफ्नो चाहिँ साउनको टुप्पोमा कोदो रोपेर हुन्छ र ? साउनको टुप्पोमा कोदो रोपेर खायौँ ।
वैशाख, जेठमा पो मकै रोपेर खायौँ । कोही घोगा लाग्थ्यो, कोही घोगा लागेन । त्यस्तै भएर खायौँ बस्यौँ । उनीहरूको मेलो जाँदाजाँदा त्यस्तो हुन्थ्यो । उनीहरूको नसकी आफ्नो काम गर्न मिल्दैनथ्यो । (साहुले) आफ्नो खेताला डाकेको बेलामा कति जना खेताला छन् भनेर सोधेर खेताला सबै लान्छ । गोरु पनि मान्छे पनि सबै लान्छ (लान्थ्यो) । अनि उसकै काम गरिदिनुपर्ने । गएन भने पिट्थ्यो ।
मलाई एक दिन त सुकदलमा काम गर्न गएको मेरो सासू, जेठाजु गा’को । मलाई के भनेछ कानले सुनिनछु । बिउ उखाल्दै थेँ । माथिबाट के भनेको थाहा छैन । पछि त हँसियाले झटारो हानिकन ख्वाम्मै यहाँ (घाँटीको पछाडिपट्टि देखाउँदै) गाडिन आ’को हँसिया ।
के भनेको (मैले) नसुनेको अनि (उसले) हँसियाको झटारो हानेको । अनि त यता यताबाट (घाँटीबाट) त रगतको भलबल भयो । लोग्नेले हँसियाले हानेको, (उसकी) स्वास्नी चाहिँले (मलाई) औषधि लगायो । ‘के गर्नुभएको मरिहाल्यो नि !’ भनेर मलाई औषधी खोजेर लगाइदियो । म त रन्थनिएर एकछिन त त्यहीँ सुतेँ ।
मेरो सासू पनि ‘बुहारी मर्यो’ भनेर रोएर बसेछ । एकछिन एक घण्टा जति भयो होला, फेरि बिउ उखालेर राति बिदा भएर आयौँ । त्यस्तोसम्म भएको थियो । त्यो कति सालतिर त थाहा छैन । म त्यति बेला भयो होला ४० वर्ष जति ।
खाजा पनि इतिइति (थोरै) भुटेको मकै । कहिले त मेलो छोड्ने बेला दिन्थ्यो । दिनभरि नखाएर काम गर्ने, त्यही खाजा पनि दिउँसो खानु पाए त बल आउँथ्यो, आउँथ्यो नि ! भरे जाने बेलामा दिने । कोही खाएर हिँड्छ, कोही नखाई (लिएर) हिँड्छ ।
घुम त यहाँ (पछाडि ढाडतिर दुई हातले देखाउँदै) बोकेर काम गर्नुपर्थ्याे । भुईंमा राखेर कतिखेर लिन जानु ? एकछिन उभिन त दिँदैन । ढाडमा बोकी राख्नुपछ्र्यो ।
केही गर्यो भने मुद्दा लगाइहाल्ने । गतिलो दुहुना भैँसी देख्न नहुने, गाई देख्न नहुने, खसी देख्न नहुने, त्यो खुरुक्क उसलाई बुझाउन गइहाल्नुपर्ने । बुझाउन गएन भने मुद्दा लगाइदि’हाल्ने ।
अहिले त धेरै राम्रो भ’को छ । उ बेलामा त अलिकति चर्को बोल्नु हुँदैनथ्यो । अहिले त आफ्नो गरेर खान पनि पायो । अर्कोको ‘लेऊ न खाउँ’ भन्नु ’नि परेन । आफ्नै ढिकुटीबाट झिक्यो, खायो । अहिले त आनन्दै छ नि ! अहिले राम्रो भएको छ । अहिलेसम्म त राम्रै छ । अब पछि ’छि के होला, छोरानातिको पालामा !
(नोट : पूर्णिमायासँगै रहेका भक्तध्वज बोहराले साहुको सन्दर्भमा देवीजंग पाण्डे भएको खुलासा पनि गरिदिनुभएको थियो ।)
भनेको नपुर्याएपछि झुटै भन्ने त हो !
– सुकुमान थामी
म तीन सालमा जन्मेको । मेरो नाम प्रचलित चाहिँ शुक्रमान, नागरिकतामा सुकुमान थामी छ । सुरुमा पार्टीमा अमृत (अमृतकुमार बोहरा) थिए अनि म सुकुमान भएँ । अनि, लालजंग पाण्डे भयो र काकाको छोरा सन्चबहादुर थामी ।
पहिला पार्टी भन्ने थिएन तर पछि थाहा भयो, भित्रभित्र माले पार्टी र’छ । सङ्गठन बनाउँदै ल्याउँदा त्यो कुरा थाहा भयो । उहाँहरू भूमिगत बस्ने मान्छे, बाहिर देखाउन पनि नहुने ’थ्यो । पहिला अमृत आउनुभ’को । पछि एक जना, दुई जना, तीन जना, चार जना हुन थाले । अनि ललितपुर, लामाटारबाट माधव पौडेल पिस्कर आउनुभयो ।
अमृत चाहिँ उता उता जानुभयो अनि फेरि अष्टलक्ष्मी आउनुभो । उहाँ पनि सङ्गठनको मान्छे रहेछ । उहाँहरू बाँडिनु भो अनि फेरि केशव बडालजी आउनुभो । अनि हुँदै सबै जना पिस्करमा जम्मा भयौँ ।
हामीले उहाँहरूलाई पाल्नुपर्यो नि त अब ! दिनभरि मेलामा जाने, यति (थोरै) खाजा ल्यायो । चार माना कोदो ल्यायो, त्यही पिन्यो, त्यही खायो गरेर एक दुई वर्ष पाल्यौँ ।
त्यति बेला त माले नै थियो नि भित्रभित्र ! अनि भइसकेपछि अठ्ठाइस, उनान्तिस साल, एकतिस सालमा जम्यो यो ठाउँमा । पार्टीलाई जमाउँदै ल्याउनुभयो नि त ! अब पैँतिस साल भयो, कम्युनिस्टहरूले यहाँ पनि केही त ‘क्याप्चर’ गर्नुपर्ने भयो ।
तौथलीबाट तीन घरको कोदो चाहिँ यहाँ राख्ने गर्थ्याे । त्यो कोदो कब्जा गर्नुभएछ र बाँड्नुभएछ । त्यो बाँडेपछि त पार्टीमा मान्छे धेरै भयो ।
अनि, चालिस सालमा जाँदा देवीजंगको धान काट्ने, कुन्यु राख्ने गर्थ्याे । पार्टीले त्यो धान कब्जा गर्यो । धान कब्जा गरिसकेपछि पुलिसहरू आएर खोजे । अमृतलाई त खोज्ने नै भयो, खोजेकै छ । पुलिसले उनीहरूभन्दा हामीलाई बढी भन्यो ।
धान कब्जाले गर्दा यहाँको प्रधानपञ्चलाई पनि पुलिसले लग्यो । अमृतको दाइ (छत्रबहादुर) प्रधानपञ्च हुँदा म वडा सदस्य थिएँ । वडा सदस्य गरेर नौ जनालाई पक्रेर लग्यो । जम्मा नौ जनाको नाम ’थ्यो, छत्रबहादुर (अमृतको दाइ, प्रधानपञ्च), म सुकुमान भएँ । अर्को सन्चबहादुर थामी, श्यामबहादुर थामी अनि मोहन थामी, अर्जुन थामी, धनबहादुर थामी, तल पुरानो पिस्करको चाहिँ साईंला ’थ्यो, ललितबहादुर ।
नौ जनामा दुई जनालाई ‘धान काण्ड’ मा चोरी मुद्दा लायो । हामी सात जनालाई चाहिँ सरकारी मुद्दा लायो । सरकारी मुद्दा भनेको यिनीहरूले राजालाई फाल्न खोजेको हो भन्ने हो । यसमा कम्युनिस्टको हात छ भन्ने पनि भयो । सात जनालाई सरकारी मुद्दा लाइदियो । सरकारलाई पल्टाउन लाग्यो भन्ने मुद्दा लायो । थाहै नहुने मान्छेलाई पनि मुद्दा लायो ।
हामी त थाहा भएकै मान्छे भइहाल्यौँ । दाइ प्रधानपञ्च भएपछि भाइ अमृतलाई पनि पाए (पुलिसले) लग्ने भइहाल्यो । म पहिला जेल परेको पैतिस साल पुसमा हो । त्यति बेला जेल बसेको एक महिना । तीन वर्ष तारिख बोक्यौँ ।
चालिस सालमा त सबै हाम्रो कब्जा भयो भन्ने भयो । पहिला जनवादी गीत भन्थ्यो, त्यो गीतको लागि दोलखा जिल्ला, सिन्धुपाल्चोक, काभे्र कहाँ कहाँबाट मान्छे जम्मा पार्नुभ’को रहेछ यहाँ । कम्युनिस्टले पूरा हाम्रै मान्छे भन्यो ।
सरकारले पनि १४५ जना जति पुलिस पठाएछ । सांस्कृतिक कार्यक्रम भइरहेका बेला पुलिसले पुरानो पिस्करलाई घेरेछन् । बिहान उज्यालो हुने बेलामा कब्जा गर्ने भन्ने उनीहरूको योजना र’छ । हाम्रोतिरको लागि चाहिँ कार्यक्रमपछि खाजा, जाँड ख्वाउने भनेको थियो । पुलिस आउन त आउँछ होला दुई चार जना, कुटेर पठाउने भनेर तयारी भ’को नि !
ढुङ्गा बर्साएको भरले तर्साउन खोजेको तर माथिदेखि पूरै पुलिसले घेरिसकेको र’छ । गोली छोडिसकेको र’छन्, वीरबहादुर (थामी) पहिला नै लडिसकेछ । अनि यता (हातले दायाँतिर देखाउँदै) मेरोअगाडि इली (थामी) ढलिहाल्यो । पक्लक्क…. ढल्यो, आन्द्रा त बाहिर निस्क्यो, धुवाँ आउँदोर’छ । श्यामबहादुर मामा र मैले देखेको । अमृतको भतिजी त्यो नानीले पनि देख्यो ।
मलाई त्यो नानीलाई लुकाएर लैजा भन्यो । म त्यो नानी लेर माथि आउँदै गर्दा फेरि अर्को एउटा गोली चल्यो । अन्तिमतिर चाहिँ मै थेँ, मञ्चभित्रै थिएँ । भित्र धेरै होला मान्छे भनेर भित्र आएछ । (घटनास्थलमा हातले दायाँबायाँ देखाउँदै) यहाँनिर इली थामी, यहाँनिर श्यामबहादुर मामा । त्यहाँबाट म थेँ अनि यहाँनिर अमृतको दाइको छोरी, १२/१४ वर्षको होला ।
इलीको घर धुस्कुन नै हो, फापरचौरको हो । वीरबहादुर पनि ढल्यो, धुस्कुनकै हो, पहरी गाउँको । अर्को, टेकानपुरको जगतबहादुर ढलेछ, हात भाँचेछ । यहाँ तलको पाल्कमाइ भन्ने (महिला) पनि ढलिहालेछ, पाखुरा भाँच्चेछ । सोना तामाङ यहाँ (पिस्कर) को होइन, ऊ पनि ढलिसकेछ । अर्को, जुरेको एक जना तामाङ पनि ढलेछ । उनीहरू घाइते भए । मर्नु चाहिँ दुई जना मरे ।

पिस्करमा गोली चलेर मान्छे मरेको दुई दिनपछि त छ्यापछ्याप्ती भइहाल्यो पुलिसहरू ।
महिलाहरू नल्याउनू, हातगोडा नचल्ने नल्याउनू, आँखा नदेख्ने नल्याउनू, बुढाहरू हिँड्न नसक्ने नल्याउनू भन्ने हुकुम भ’को रै’छ । त्यसपछि त गाउँभरि पुलिस छ्यापछ्याप्ती भइहाल्यो । हामी पार्टीमा लागेकोलाई त बाहिरबाहिरै पक्रेर लग्यो । त्यसपछि सबैलाई खोज्यो ।
चालिस सालमा मलाई चाहिँ तारामाराङको तेर्से भन्ने गाउँमा भेट्यो । डम्बर अर्याल भन्ने थिए, पहिला मास्टर, पछि पालिकाको अध्यक्ष (२०७४ सालमा मेलम्ची नगरपालिकाको प्रमुख) पनि हुनुभयो । उहाँको गाउँमा गएर मैले एकचालिस सालदेखि छयालिस–सतचालिस सालसम्म काम गरेर बसेँ । दिनको २० रुपैयाँको दरले ज्याला दिन्थ्यो । आरा लाए पनि, काठको काम गरे पनि ।
मेलम्चीमा म छ वर्षसम्म बसेँ । घरमा आउनेजाने गर्दै काम गरेर बसेँ । मेरो परिवार भनेको छोरा, बुहारी र बुढी थियौँ । पैँतिस सालदेखि चालिस सालसम्म हामीलाई खोज्न त छोडेन, नछोडेपछि पछि हामी घरमा नबसी बाहिरबाहिरै बस्यौँ । उतै काम पनि गर्दै बस्यौँ ।
अनि पछि, मुद्दा लागेकालाई राहत दिने कुरा भएछ । कोहीलाई ३० हजार, कोहीलाई ५० हजार, ७५ हजार र लाख रुपैयाँ रहेछ । पहिला पिस्कर पञ्चायत भन्थ्यो । यो ठाउँको राहतको लागि पहिला रातो किताबमा जान्थ्यो रे नाम ! त्यसमा मुख्य अमृतको नाम भयो, उसको जहानको भयो । अनि मेरो नाम गयो । अरू १०÷११ जनाको नाम गयो जम्मा ।
हामीले चाहिँ राहत पायौँ । हामीलाई पनि १० हजार मात्रै पाउँछ भनेर भन्थ्यो । भनेपछि हामी माथि काठमाडौँ आठ जना गयौँ । अरूको चाहिँ झिकिसकेछन् ।
पुरानो पिस्करमा चालिस सालमा पुग्दा भएको अर्को पनि कुरा भन्छु । सुनबहादुर थामीले चिया नखाएको रहेछ, चियाको बारेमा थाहा रहेनछ उसलाई । एकचोटि जेलमा पुगेर पशुपति शमशेर (पशुपति शमशेर जबरा) ले सोधेछन् सिडियो प्रहरीलाई । ‘हामी त आफैँ किन्छौँ भन्छन्, यहाँबाट चियासिया केही दिने गरेको छ कि छैन ?’ भनेछन् र ‘चिया लेइदेऊ’ भनेछन् ।
अनि चिया ल्याउँदा छानेको रहेनछ रे ! बाँकी चियापत्ती पनि खाएछन् सुनबहादुरले । यो कुरा एउटा किताबमा निकालेको छ । त्यसमा मेरो नाम पनि छ । त्यो थामी (सुनबहादुर) ले चिया खा’को कुरा पनि त्यस्तै लेख्देको र’छ । पिस्करको सम्झनामा लेखेको किताबमै छ, त्यो मान्छे (सुनबहादुर) ले चियाको छोक्रा खाको, त्यही लेख्देको रहेछ । त्यसरी पनि त्यो मान्छे जेल बसेको ।
अहिले उनी (सुनबहादुर) छँदैछन् । उसको नाममा ५० हजार राहत आ’को तर सात हजार मात्रै झिकेर ल्याइदिएछन् । उसले त्यो सात हजारले खड्कुलो किनेछ । पिस्करमा खड्कुलो भन्ने तामाको ठुलो भाँडो थिएन । उसले एउटा खड्कुलो किनेछ ।
जेलमा बसेको मान्छेको राहत पनि खानसम्म खाइदिएछन् । पिस्कर काण्डको नाममा निकालेको किताबमा त्यो यसरी खा’को भन्ने पनि छ । अहिले कोही मन्त्री बने, सांसद बने, दुनियाँ बने । यस्तै हो चालिस सालको कुरा !
हामी चिया बेच्थ्यौँ । १० पैसा गिलास चिया पर्थ्याे । चिनी धार्नीको चार रुपैयाँ ७५ पैसा ’थ्यो । त्यो बेला मेरो घरमा खरको छाना हालेको ’थ्यो, भत्किसकेको ’थ्यो । अनि, छाप्रो हालेर माथि बाटोमा बस्थ्यौँ । चिया पकाएर बेच्थ्यौँ । दोलखा जिल्लाबाट यतातिर आउने बाटो नै यही ’थ्यो त्यो बेला ।
मेरो भाइको पनि घर ढलेको थियो । त्यही पनि त्यस्तो घरको पनि भित्र लगेर नेतालाई राख्थ्यौँ । अनि, ‘भैँसीको पाडो हेर्दै गर है’ भनेको जस्तो गर्दै बाहिरबाट कोही आउँछ कि भनेर हेर्थ्याैं । त्यसरी हामीले त्यो बेला नेताहरूलाई जोगायौँ ।
अमृतलाई घर जान पनि दिँदैनथे दाइले र बाउले । अनि, हामी जति जना छौँ, तीन चार जना हामीले नै पालेको उनलाई । त्यो बेला जङ्गल पनि अहिलेको जस्तो थिएन । कहिले कोदोको नलभित्र लुकाउँथ्यौँ, उहाँ सुतिबस्नु हुन्थ्यो । पछि त हामी ‘धान खाने मुसा, चोट पाउने भ्यागुता’ पो भयौँ । उहाँहरू हिँडिहाल्नुहुन्थ्यो । हामी यहीँ बस्नेलाई गाह्रो भयो ।
पशुपति शमशेरले पनि गाउँको लागि गर्छु त भन्थे । कम्युनिस्ट नेताहरूले हामीलाई पाखा पाखा लगाउन थालेपछि हामीले पार्टी छोड्या हो । छोडिसकेपछि अहिले तपाईंको इतिहास लेखिदिन्छु भनेर अस्तिको चुनावसम्म पनि माधव पौडेलले भन्नुहुन्थ्यो । अमृत बोहराले पनि त्यही भन्नुहुन्थ्यो ।
‘तपाईंको इतिहास’ रे ! मरिसकेपछि त इतिहास किन चाहियो र ? सास नजाँदै भात दिए पो खान्थ्यो । सास गएपछि जति दिए पनि खाँदैन नि, ‘कोचार्छ, खाँदैन’ भन्या जस्तै ! अहिले पनि पिस्करको इतिहास बनाउँछु भन्छन् । जिरीदेखिको मान्छे चालिस सालमा पिस्कर आएको छ । यहाँ धेरै ठाउँका मान्छे आएका छन् । तालामाराङदेखिको, जलविरेको पनि आउने ठाउँ यही थियो ।
काठमाडौँको मदन भण्डारी त्यो बेलामा यहीँ पाखरमा थिए । बस्ने कुन ठाउँमा, कस्कोमा बस्ने ? के गर्नुपर्ने, जाने ठाउँ कुन हो ? थाहा हुन्थेन । यहाँ यति दिनमा ‘हामी आउँछौ है’ भन्थे, हिँड्थे । त्यो बेला लालजंग पाण्डे हुुनुहुन्थ्यो, पछि मर्नुभयो । उहाँको घरमा राख्थ्याैँ । एक दिन पुलिस आएछ । आइसकेपछि लालजंगलाई पक्रिहाल्यो ।
तिस पाथी जाने धोक्रोमा चाहिँ माओत्सेतुङको कागजपत्र चलाउँथे कम्युनिस्टहरूले । उहाँले लालजंगको बहिनी र आमाको चोलो र फरिया लगाएर त्यो सामान निकाल्दिनुभएछ । निकालेपछि तल कोदोबारीमा बसेको पुलिसहरू आएर लालजंगलाई लगिहाल्यो । त्यति बेला धेरै जना लग्यो । उनीहरूको धेरै जना रहेछ ।
सबैले लालजंगलाई मात्र दोष लाए । बाहिर बाहिर अरू तारिखमा छुटे । त्यसरी जेलमा राख्दाखेरि उहाँलाई खान पनि छैन । लगाउने, ओढ्ने पनि त्यस्तै । हामी पहिला सोतरमा पनि सुत्या मान्छे हौँ । खाना पनि हामी सोतरमा राख्ने खाने । खोस्टाको पातमा हाल्ने । बिहेमा हाम्रो टपरी भने पनि थाल भने पनि नेबाराको पात । पहिला चलनै त्यही ’थ्यो ।
हाम्रो घरमा पाँच जना छन् । दुई जना अरू आएपछि त पात त टिप्नुपर्यो । त्यति बेलामा यो जङ्गलै थिएन । सबै बारी नै बारी ’थ्यो । यहाँसम्म (हातले देखाउँदै) बारी बारी । यो माथि जङ्गल थियो ।
अब अहिले सरकारले जग्गा बाँझो नराख भन्छन् । बाँदर आउँछ, ढेडु आउँछ, दुम्सी आउँछ, मृग आउँछ, यो साराले खान्छ तर मार्न हुँदैन रे ! मार्यो भने त्यो मान्छे जेलको जेलै । सरकारले त्यस्तो साधारणलाई छोड्दैन ।
अहिले हामी सुन्दैछम्– माथि सुन तस्करीलाई छोड्छन् । मान्छे चटाचट काट्छन्, तिनीहरूलाई पनि छोड्छन् । हामीले यहाँ स्याल आयो भने पनि मार्नु हुँदैन भन्छन् । यस्तो सरकार, यस्तो पनि हुँदो र’छ । राम्रो गर्ला भनेर पहिले त्यस्तो गरियो । अहिले गरीबले के पाउने रहेछ त ?
एउटा पार्टीमा २०२८ सालदेखि ५४ सालसम्म लाग्यौँ । भने जस्तो भएन । त्यसपछि एकोहोरो भएर नहुने रहेछ भनेर हामी अर्कोतिर गयौँ । ‘हाम्रो मान्छेलाई पनि पद देऊ’ भन्दा हुँदैन रे ! हामीले चाहिँ के पाउनु छ त ? त्यही भएर त्यति बेलादेखिको मान्छे पनि पछि स्वतन्त्र भयौँ । अहिले कोही अरू पार्टीमा गयौँ ।
‘चाइनामा माओत्सेतुङ छ, जस्तो माओत्सेतुङले गर्यो, त्यस्तै गर्छौं’ भनेर हामीलाई किताब देखाएर पढेर सुनाउँथे । त्यो बेला हामीले पत्यायौँ । सबैभन्दा पहिला माओत्सेतुङको कुरा सिकाए, कम्युनिस्टहरूले । त्यहाँ पहिला के रहेछ भन्दा ‘घरजग्गा आफ्नो हुँदैन, सरकारकै हुन्छ । खान, लाउन, पढाउन सबै सरकारले दिने’ भन्थ्यो । हाम्रोमा त्यो कुरा सिकाए तर दिएनन् ।
अरू पार्टीले के गर्छ थाहा भएन । पार्टी छोडेपछि हामी स्वतन्त्र बन्यौँ । स्वतन्त्रबाट चवन्न सालबाट हाम्रो ज्वाइँलाई उठायौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्को मान्छे उठायो । हाम्रो ज्वाईंले जित्ने भइसकेपछि जितेको भोट बाह्रबिसे लग्यो, थानामा गन्न भनेर । त्यो बेलामा पिस्करमै गन्थे तर पछि उहाँ लगेर अरू मिसाएर, उहाँ अरू पनि मतपत्र मिसाएर हाम्रो ज्वाईंलाई हराइदिने काम भयो ।
भनेको मतलब के रहेछ भने एकथरिलाई मात्र चाहिने रहेछ पद, थामीहरूलाई नदिने रहेछ । यही भएर अहिले जुन पार्टीमा गए पनि आफ्नो खुसीले गएको हो । हामी आफ्नै खुसीले कुटो, कोदालो गरेर खाइरहेका छौँ । कम्युनिस्ट पार्टी र जुनसुकैको सरकारबाट हामी जस्तो गरिबले पाउने केही होइन र’छ ।
नेपालमा त्यत्रो पिस्कर काण्ड भयो, चालिस सालमा । अहिले न त इलीको सन्तानले केही पाए । न त वीरबहादुरको सन्तानले केही पाए । वीरबहादुरको एउटा नाति (छोराको छोरा) लाई सबै जना कराएर बल्ल बल्ल बल्ल स्कुल पढाउन राख्दे’को । कति महिना पढायो, काम गर्यो । अहिले उसलाई पनि निकाल्दे’छन् ।
माथि सरकारले दिने रहेनछ । त्यो बेला माओत्सेतुङकै धारणा ल्याउँछु भन्थे, पछि त ल्याएनन् । लगाउने जुत्ता, चप्पल हुँदैनथ्यो । हाम्रो सरकार आएपछि ‘चप्पल दिन्छ, सबै कुरा हुन्छ, बच्चा पढाउँछ’ भन्थ्यो, खै त भएको ? पहिला कम्युनिस्टले भनेको त केही कुरा पनि भएन नि !
हामी त्यो बेलामा मेलम्चीमा थियौँ । मेलम्चीबाट उता बसेर काम गर्थ्याैं । यहाँ चारैतिरबाट गए ’नि उताको ठाउँमा मिलेर काम गर्ने । त्यहाँ मेरो घर पिस्कर भनेको थिइनँ । पिस्करबाट साथी त थुप्रै लग्या थिएँ । त्यहाँ कसैले हामीलाई घर सोध्यो भने पनि अन्तै भन्थ्यौँ । जात पनि आफ्नो भन्दैन्थ्यौँ । किनकि, हामीलाई गाउँमा पुलिसले खोजी राखेको थियो ।
मलाई पनि पुलिसले खोजी रहन्थ्यो । मेलम्चीको एउटा ठाउँमा चारकुने घर थियो । त्यो चारकुने घरमा पुलिस बस्थ्यो । अहिले त्यो घर बगायो । हामी त्यहीँ काम गथ्र्यौं । त्यहाँ पुलिस सरुवा भएर पिस्करबाटै जाँदो रहेछ । अनि त्यो पुलिसले पिस्करमा यस्तो गरेर आएँ भनेर भन्थ्यो । हामी पिस्करको मान्छे चाहिँ साथी साथी एकले अर्कालाई हेरेर हाँस्थ्यौँ ।
हामीसँग चिनीबहादुर र तलको ठाकुरराम हुनुहुन्थ्यो । पुलिसहरूले त्यसरी भन्थ्यो, यहाँ आएको बेला । हामीले ‘उनीहरूलाई त पुलिसहरूले त केही गरेको छैन है ?’ भन्थ्यौँ । मैले त्यहाँ धेरै ठाउँमा काम गरेँ । दिनको २० रुपैयाँ । आरा लगाए पनि २० रुपैयाँ, मल बोके पनि २० रुपैयाँ । सबै कुरो गर्दा पाउने त्यही २० रुपैयाँ नै ।
मेलम्चीमा काम गर्ने ठाउँको साथीहरूले बहुदल आएपछि पुलिसलाई भन्दिए– उहाँ साथीलाई चिन्नुहुन्न ? उहाँ पिस्करको हो । त्यसो भन्दाखेरि उहाँहरू छक्क पर्नुहुन्थ्यो । अनि, पिस्कर काण्डमा म पनि गएको थिएँ भन्छन् तर गोली हान्ने बेलामा हामी निस्किसकेका थियौँ पनि भन्थ्यो ।
मेरो लागि हो भने त जनतालाई कसैले थिचोमिचो नगरोस् ! कसैलाई नहप्काओस् ! थामी समुदायमा पहिलाको मान्छेलाई छोडेर अब धेरैतिर लागे । पहिलाका बुढाहरू त बढी उतै गए । अझै पनि बुढाहरू चैँ पत्याउँछन् है ! म चाहिँ पत्याउँदिनँ त्यस्ता कुरा । पहिला माओत्सेतुङले यस्तो गर्छ, यस्तो बन्नुपर्छ भन्ने मान्छेहरूले त्यो कुरा नपुर्याएपछि झुटो रहेछ भन्ने त हो हाम्ले !
प्रकाशन मिति : २०८१ फागुन ६ गते, मङ्गलवार
पिस्कर काण्डका थप कथाहरू यहाँ पढ्नुहाेस्