Home Insight त्यो बेला गाउँघरमा देवरानी र मैले धेरै दुःख काट्यौँ (भिडियो सहित)

त्यो बेला गाउँघरमा देवरानी र मैले धेरै दुःख काट्यौँ (भिडियो सहित)

249
0

पिस्कर काण्डमा महिला शृङ्खला ३

पिस्करमा २०४० सालको जात्रामा बिहानीपख यत्तिकै गोली चलेको थिएन । पाँच वर्षअघिदेखि नै त्यहाँ व्यवस्थाका पक्ष र विरोधमा लागेकाहरूबिच खिचातानी, आरोप–प्रत्यारोप, मुद्दामामिला आदि चल्दै आएको थियो । जात्रामा राजनीति घुसाइएपछि माघ १ गतेको गोलीकाण्ड भयो ।

पिस्करवासी अमृतकुमारी बोहराको कुराबाट पनि यो कुरा थाहा हुन्छ । सिन्धुपाल्चोक जिल्लाकै बोचमा माइती रहेकी उहाँको २६ वर्षको उमेरमा पिस्करका यस्ता पुरुषसँग विवाह भयो, जो कम्युनिस्ट विचारधाराका थिए ।

आफ्नो परिवारको राजनीतिक संलग्नताबारे उहाँले भन्नुभयो, “हाम्रो परिवारमा को कसरी राजनीतिमा लागे, यसबारे मलाई त्यति थाहा भएन । म त्यति बुझ्दिनँ, पढेगुनेको पनि छैन । सबै कुरा सुनेको भरमा भन्ने हो ।”

सुनेका कुरा एकातिर होलान् तर पारिवारिक जीवनमा उहाँले देखे, भोगे र बुझेका कुरा पनि त थिए ! यसैले भन्नुभयो, “मेरा श्रीमान्, उहाँका तीन दाजुभाइ तीनै जना कम्युनिस्ट पार्टीमा लागेर हिन्नुभयो । कान्छा देवर अमृतकुमार कम्युनिस्ट पार्टीमा लागेपछि लागेरै हिन्न परिगो नि !”

पिस्कर काण्ड हुँदा अमृतकुमारी ४५ वर्षकी हुनुहुन्थ्यो । त्यति बेला पिस्करका घरघरमा सुरक्षाकर्मीले स्थानीय पुरुषहरूको खोजी र निगरानी गर्न थाल्यो । पार्टीमा लागेका पुरुषहरूको झन् धेरै खोजी भयो । वर्ष दिनसम्म उहाँको घर विशेष निगरानीमा पर्‍यो ।

अमृतकुमारीका अनुसार, दुई जना पुलिस एक वर्ष पूरै समय घरकै कटेरामा आएर रातभरि बस्ने र उज्यालो भएपछि मात्र तल झर्ने गर्थे । हरेक दिन श्रीमान्‌काे बारेमा सोध्थे ।

“यहाँ स्कुलमा पनि छ–सात महिना पाँच सयभन्दा बढी पुलिस बस्यो नि ! नारायणले नदिए पनि खेती गर्न हामी दिउँला भन्थ्यो पुलिसले नै,” अमृतकुमारीले ८५ वर्षको उमेरमा भन्नुभयो, “म बुढीमान्छेले नभएको कुरा गर्नु हुँदैन, कुटपिट भने गरेन ।”

कुटपिट नगरे पनि सुरक्षाकर्मीको निगरानी र स्थानीय पञ्चायत पक्षधर केही व्यक्तिले पहिलेदेखि नै गर्दै आएका ज्यादतीले प्रश्रय पाए । त्यसबाट वर्षौंदेखि ‘झुटा मुद्दा’ खेप्दै आएका र भूमिगत भएका व्यक्तिको परिवारका महिला हुनाको मूल्य अमृतकुमारी र उहाँकी एक जना देवरानीले चुकाउनुपर्‍यो, थप दुःख र हैरानी खेपेर ।

गाउँमै बसेर उहाँहरूले बालबच्चाको रेखदेख, लालनपालन र घरखेतका काम धान्नुभयो । पिस्कर काण्ड भइसकेपछि आफ्नो घरमै रहेर दमन र तनाव भोग्ने महिलाहरूमा उहाँहरू पनि पर्नुभयो ।

अमृतकुमारीले आफ्ना श्रीमान्, देवर र जेठो छोरालाई पञ्चायतकालमा ‘उग्रवादी’ भएको आरोप लगाएर भूमिगत रहन बाध्य पारिएको र प्रहरीले निगरानी गरेको बेला स्थानीय देवीजंग पाण्डे र नारायण पाण्डेले खेतमा बाली लगाउनसमेत नदिएकाले आफूहरू घरभित्र भोकै बस्नुपरेको, डरका कारण छिमेकीले पनि बोल्न र सघाउन छाडेका बताउनुभयो ।

उमेरमा पाएका दुःखका भोगाइहरूलाई बृद्धावस्थामा सम्झिएर बताउन पनि गाह्रै हुन्छ । उहाँले भन्नुभयो, “म त सम्झिनै सक्दिनँ । दुःखको कुरा सम्झियो भने छाती फुटेर आउँछ मेरो ।”

राज्यको पछिल्लो संरचनामा बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा रहेको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने पुरानो पिस्कर सङ्घीय राजधानी काठमाडौँबाट ८३.६ किलोमिटर उत्तरपूर्वमा छ । ‘सन्धान’ टोली गत वर्ष २०८० को असोजमा त्यो ठाउँमा पुगेको थियो ।

स्थलगत सामग्री सङ्कलनका लागि पिस्कर गएको सो टोलीमा लक्ष्मी बस्नेत, समीक्षा गाहा मगर र क्यामेरामा मुकुन्द बोगटी सहभागी हुनुहुन्थ्यो । टोलीले पिस्कर काण्डका प्रत्यक्षदर्शी तथा भुक्तभोगी महिला, सहिदका परिवार, आफन्त र छिमेकीहरूसँग कुराकानी गरेको थियो ।

सोही क्रममा ‘सन्धान’ सँग कुराकानी हुँदा अमृतकुमारीले पिस्कर काण्डमा गोली लागेका कारण पल्कमाया थामीको पनि मृत्यु भएको बताउनुभयो । साङडोल्मा, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्खमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा गिरफ्तारीमा परेका कुरा पनि उहाँले उठाउनुभएको थियो ।

पिस्करस्थित सहिद स्मारकमा भने पल्कमाया थामीको नाम अङ्कित भएको देखिएन । वास्तविक कुरा के हो ? यसबारे थप र विस्तृत खोजीको आवश्यकता अनुभव गर्दै टोली राजधानी फर्कियो ।

स्थलगत भ्रमणबाट प्राप्त जानकारीका आधारमा ‘सन्धान सम्पादक मण्डल’ ले अध्ययन, विश्लेषण, लेखन, सम्पादन, परिमार्जन तथा पुनर्लेखन गरी ‘पिस्कर काण्डमा महिला’ शीर्षक सामग्री तयार गर्‍यो ।

आधा शताब्दी पुग्न एक दशक मात्र बाँकी रहेका बेला घटनास्थलमा भेटिएका व्यक्तिहरूबाट दृश्यमा जे जस्ता जानकारी आए, तिनका सान्दर्भिक अंशलाई त्यही रूपमा लिपिबद्ध गर्ने काम पनि भयो ।

यसैबिच, पिस्कर काण्ड भएको दिन पारेर २०८१ माघ १ गते मङ्गलवार ‘पिस्कर काण्डमा महिला’ शीर्षक शृङ्खलाको प्रकाशन/प्रसारण प्रारम्भ भएको त यहाँलाई थाहै छ ।

यस दौरानमा हामीले इतिहासका घटनालाई सम्बन्धित कालखण्डकै सीमामा रहेर हेर्दै इतिहास र राजनीति विधालाई आपसमा मिसमास गर्न चाहेनौँ । मिडिया कर्म गरिरहँदा ऐतिहासिक र राजनीतिक व्यक्तिलाई अलग पक्ष बुझेर तिनका मौलिक शक्ति र सीमाको महत्त्वलाई बिर्सनै नहुने कुराको अनुभव पनि गर्‍यौँ ।

इतिहासमा राजनीतिको र राजनीतिमा इतिहासको अतिक्रमण भयो र यी दुई पक्षको विधागत काममा एकले अर्काको मूलभूत मान्यतालाई नै ओझेलमा पार्ने गरी काम गरियो भने महिलाको राजनीति र इतिहास दुवैले न्याय पाउन लामो समय कुर्नुपर्ने हुन्छ । अब कति कुर्ने ?

मानव सभ्यतालाई समझदार ढङ्गले अघि बढाउन अन्ततः मानिसले इतिहासको सामना गर्नैपर्ने हुन्छ । बेलैमा सामना गर्नु बुद्धिमानी हो । यही मान्यताका साथ हामी परापूर्वदेखि तह तहमा ठगिएका विभिन्न समुदाय र सबै समुदायका नेपाली महिलाको न्यायको पक्षमा क्षतिपूर्तिको सिद्धान्त प्रयोग गरी ऐतिहासिक मूल्य निरूपण गर्दै जाने प्रयासमा छौँ ।

तार्किक प्रश्न उठाएर तथ्यहरू खोज्ने, अध्ययन र विश्लेषण गर्ने अनि लेख्ने क्रममा हामीलाई के लागेको छ भने इतिहास र राजनीति दुवै पक्षले आ–आफ्ना विधाका ज्ञानात्मक र व्यावहारिक सीमाको ख्याल गर्नैपर्छ ।

सबै समुदायका नेपाली महिलाको इतिहासलाई न्याय गर्न यो अपरिहार्य छ । तत्कालका लागि आमसञ्चार हुँदै दीर्घकालका लागि इतिहास लेखनका माध्यमबाट समन्यायिक समाजको निर्माणमा योगदान गर्नु हाम्रो कार्यगत लक्ष्य पनि हो ।

आजको सामग्री ‘पिस्कर काण्डमा महिला’ शृङ्खलाको तेस्रो अङ्क हो । आजको शृङ्खलामा प्रस्तुत छ, पिस्कर काण्ड र त्यस अघिपछिका विभिन्न घटना र परिवेशजन्य जीवनभोगाइबारे स्थानीय अमृतकुमारी बोहराको भनाइबाट उतार गरिएको स्वकथनको पाठ र त्यसको भिडियो अंश :

पिस्करमा २०३४–३५ सालतिर धेरै गाह्रो थियो । हाम्रो घरमास्तिर सधैँ पानी पलाइरहने, कहिल्यै नसुक्ने पानीको मुहान छ । एक दिन देवरानी पानी थाप्न जाँदा पानी पहेँलै फिँजैफिँजसहितको आयो । साल बिर्सिएँ ।

पानीको मुहानमा नारायण पाण्डेका मान्छे थिए । तिनीहरू हुन्जेलसम्म पाण्डेको डरले बाहिर निक्लिन आँट आएन । अनि, ती गइसकेपछि पानी लिन जाँदा पहेँलो र फिँजसँगको पानी पो आयो ।

पानीमा के हाल्दिए थाहा पाउन सकिएन । यस्तो फिँजको पानी खाइयो भने त मरिएला भनेर दुई दिनसम्म त्यो पानी खाएनौँ । छोराछोरी सानै छन्, भोक लायो भनेर एकदमै रुन्छन् । पानी नभएर भोकै बस्नुपर्‍यो त्यो दिन । पानी लिन माथि उक्लनुपर्ने हुन्थ्यो, जानै सकिएन ।

पछि माथि डोले भन्ने ठाउँमा गएर डोकोमा पानी बोकेर खाइयो हामीले । मूलको पानी चार दिनपछि जस्ताको तस्तै भयो । त्यस्तो पानी देख्दा पानीको मुहानमा घुमिरहेका नारायण पाण्डेहरूलाई ‘त्यो मुहानमा के गरेको’ भनेर कसरी भन्न सक्नु ? डर लागेर भन्नै सकिन्थेन । कस्तो गर्थ्याे उसले !

छोराछोरीले अलिअलि झिक्राझिक्री ल्याउँछन्, भोलिपल्ट हेर्दा त्यो पनि छैन । भएको अलिकति पराल पनि छैन । कहाँ कसलाई भन्न जाने त अब ?

नजिकै पुलिस थिए । मैले ससुरालाई लिएर त्यहाँ गएँ । अनि, हामीले ‘केही राख्न पनि पाइएन, ल्याउन पनि पाइएन, के गर्ने’ भन्यौँ ।

अनि, देवी, नारायण पाण्डेले अब तेरो खेतबारीमा सरकार लाग्छ, राख्न त के कुरा भो र भने । यस्तो भएपछि पुलिसले केही गर्न सक्छ त ? सक्दैन नि ! त्यति बेला पनि पुलिसले हाम्रो कुरै सुनेन ।

हाम्रो परिवार कम्युनिस्ट परिवार । हामीलाई पञ्चायत पक्षले नै त्यस्तो गरेको हो । पञ्चायत हटोस् भनेर राजनीतिमा लाग्यो भनेर, यसका सन्तानले राजनीति गर्‍यो भनेर नारायण पाण्डे र उसका सारा परिवारले नै त्यस्तो विध्न खेदो गरे हामीलाई । त्यति बेला हाम्रो कुरा कसैले सुनेन ।

सबै उही देवी, नारायण पाण्डेसँग पछि लागेका थिए । देवीजंग र नारायण एकै परिवारकै दुई घरका शोषक नि ! आम्मामा ! त्यो बेलामा कति गाह्रो भो सम्झेर सम्झना गरिसाध्य नै छैन ।

कति भोकभोकै बसियो, कति नाङ्गै बसियो । धेरै दुःख काटियो । ठुलो छोरा अनि श्रीमान् दुवै घरमा हुन पाएनन् । उनीहरू कहाँ हो कहाँ आफूलाई केही थाहा हुन्थेन । कमाउने मान्छे बाउछोरा नै घरमा नभएपछि कसरी सक्ने र कसरी चल्ने ?

राति एक्लै–दुक्लै बाहिरफेरो निस्कन पाइएन । भेट्ने जतिलाई लगेर थुनिहाल्थ्यो, कुटिहाल्थ्यो । यसैकारण बाउछोराहरू भाग्नुपर्ने हुन्थ्यो र हामी घरमा त्यसरी बस्नुपर्थ्यो त्यो बेला ।

हामीलाई ‘उग्रवादी’ भनेर आरोप लगाएर थुन्ने, कुट्ने गरिन्थ्यो । पानी नखाउन् भनेर बन्द गरिदिने पनि गर्थ्याे। अनि, श्रीमान् र देवर हुनुन्छ भनेर त होला नि, उनीहरू दिन बिराएर आउने ! हाम्रो घरदेखि पानीको मुहानसम्म घुम्ने गर्थे ।

आम्मामा ! पुलिस त एक दिनकै पाँच सय आउँथे । अनि, रातैपिच्छे घर खोल्थे । एक वर्ष पूरै समय हाम्रो घरको कटेरामा पुलिस बस्यो । कटेरामा रातभरि बस्ने दुई जना ती पुलिस उज्यालो भएपछि मात्र तल झर्थे ।

रातमा आउँछ, दिनमा भाग्छ भनेर पुलिसको बास यहाँ हुन्थ्यो । रातभरि बस्न आएका पुलिसले ‘तेरो बुढो खोइ कहाँ छ ? तेरो बुढो किन लुकाउँछेस् ? कहाँ लुकाएकी छेस् ? निकाल् ! सधैँ लुकाएर साध्य हुँदैन, सत्य कुरा भन्’ भन्थे ।

बन्दुक देखाउँदै ‘सरकारबाटै आदेश भएको छ, ठोक्दिन्छौँ, मारिदिन्छौँ, चाँडो बोल्’ भन्थे । यति भनेपछि डराउनै पर्‍यो ।

पुलिसले हामीलाई हरेक दिन ‘मेरो श्रीमान् यहाँ छ भनेर देखाइदेऊ । हामीले मारिहाल्दैनौँ, दुई चार थप्पड हिर्काउने मात्र हौँ । ज्यान ल्याएर यहीँ राखिदिन्छौँ । कहाँ छ, के खान्छ ?’ भनिरहन्थे । तर, हामीलाई के थाहा हुन्थ्यो त !? उनीहरू घर आउन पाए, भेट भए पो भन्थे र थाहा हुन्थ्यो होला ।

यहाँ स्कुलमा पनि छ–सात महिना पाँच सयभन्दा बढी पुलिस बस्यो नि ! नारायणले नदिए पनि खेती गर्न हामी दिउँला भन्थ्यो पुलिसले नै । म बुढीमान्छेले नभएको कुरा गर्नु हुँदैन, कुटपिट भने गरेन ।

हाम्रो घरमा डरले कोही पनि नआउने भएका थिए । हामीसँग डरले कोही पनि बोल्दैनथे । छरछिमेक त बोल्थे तर उसको मान्छे जति कोही बोल्दैनथे ।

उमेरको कोही आउँदैनथे हाम्रो घरमा । दलानमा कोही बस्नै नहुने अवस्था थियो त्यो बेला । जो बस्छ उसैलाई पक्रिहाल्थ्यो ।

एक साल वृद्ध उमेरका जङ्गे नाम गरेका थामी आएर गोरु जोत्दै थिए । अनि, ‘तेरो खेतीमा सरकार लाग्छ, खेती गर्न पाउँदिनस्’ भनेर हाम्रो घरको भित्तोमा म्याद टाँस्यो उनीहरूले ।

भनिहालेँ नि, खेतबारीमा बाली लगाउन गोरु जोत्दा उसले ‘अझै जग्गा कमाएर खाउँला भनेकी छेस् ? गोरु जोत्न मान्छे लाउँला भनेकी छेस् ? तेरो जग्गामा सरकार लाग्छ’ भनेको थियो । अनि साइँला देवर छत्रबहादुरको खेत जोतिरहेका गोरुहरू फुकाइदिएको थियो उसले ।

धान पनि उनीहरूले लुटेर खाए । काट्नी, झाट्नी गरेर एकै महिनामा बाँडेर खाए । यसो गर्नुको कारण नै यही हो कि मेरा श्रीमान्, देवर कम्युनिस्ट थिए ।

दुई तीन वर्ष हाम्रो खेत नै बाँझो भो । खेती गर्ने र खाने कुरा त हरायो । खेतीपाती गर्न पाएको भए जति ’नि खान पुग्थ्यो हामीलाई ।

राजाले त कान्छा देवर ‘अमृतकुमारको टाउको ल्याउनू, टाउको चाहियो’ भनेको रे ! अनि नारायण पाण्डे, देवीजंग पाण्डेहरूले ‘अमृतकुमारको टाउको लानुपर्छ’ भन्थे रे !

खेतीपाती गर्दा भएको साल आठ मुरी धान आउँथ्यो । नभएको साल पनि पाँच–छ मुरी आउँथ्यो । गर्नै नपाएर पो त !

एक जना खड्का थरका छिमेकी थिए, उनी अहिले पनि छन् । उनले खेताला खोजेर लाइदिए । हामी एमाले भएकाले एमालेकै मान्छे खोजेर आएर बल्ल बल्ल धान रोपिएको छ ।

अब काटेर सुकाउँ भने लग्दिइहाल्छ । अनि काट्दै झाँट्दै तुरुन्तै भित्र राख्यौँ त्यतिखेर । यो सबै देवीजंगले गर्दा त्यसो गरेको, पञ्चायतकालको कुरा हो ।

चैतको ३ गते एउटा इन्सपेक्टर आएर खेती गर्न पाउनुहुन्छ, खेती गर्नुस् । हामीले तपाईंको श्रीमान् र छत्रबहादुरलाई भेटेदेखि लगेर गोली हानिदिन्छौँ भन्यो । हामीले फागुनमा रोप्नुपर्ने मकै चैत महिनाको ७–८ गते मात्र रोपियो । त्यतिन्जेलसम्म बारी बाँझै भयो ।

हाम्रो परिवारमा को, कसरी राजनीतिमा लागे यसबारे मलाई त्यति थाहा भएन । म त्यति बुझ्दिनँ, पढेगुनेको पनि छैन । सबै कुरा सुनेको भरमा भन्ने हो ।

मेरा श्रीमान्, उहाँका तीन दाजुभाइ तीनै जना कम्युनिस्ट पार्टीमा लागेर हिन्नुभयो । कान्छा देवर अमृतकुमार कम्युनिस्ट पार्टीमा लागेपछि लागेरै हिन्न परिगो नि !

राजाले त कान्छा देवर ‘अमृतकुमारको टाउको ल्याउनू, टाउको चाहियो’ भनेको रे ! अनि नारायण पाण्डे, देवीजंग पाण्डेहरूले ‘अमृतकुमारको टाउको लानुपर्छ’ भन्थे रे ! मेरा श्रीमान् गिरबहादुर बोहरा अमृतकुमारको जेठो दाजु हुनुन्छ । माइला देवर पहिला नै विदेश गएका र उतै बितिसक्नुभएकाले मैले देख्न पाइनँ ।

आजको जस्तो ओड्ने ओछ्याउने कहाँ पाउनु ? यति भोकै बसियो, यति नाङ्गै बसियो । माघको दिनमा उत्पातको जाडो हुँदा गुन्द्री ओडेर सुतेका हौँ हामी तर गुन्द्रीले छेल्दोरहेन्छ । अलिअलि हो र त्यतिसम्मको दुःख काटेको हामीले ।

त्यो २०४० सालमा र माओवादीको पालामा जे भयो भनेर भनिसाध्य छैन । दिनैभरि रोएको रोयै, रोएरै दिन गयो, रात पनि गयो जस्तै हुन्थ्यो । आजको जस्तो ओड्ने ओछ्याउने कहाँ पाउनु ? यति भोकै बसियो यति नाङ्गै बसियो ।

माघको दिनमा उत्पातको जाडो हुँदा गुन्द्री ओडेर सुतेका हौँ हामी तर गुन्द्रीले छेल्दोरहेन्छ । अलिअलि हो र त्यतिसम्मको दुःख काटेको हामीले ।

घरको छाना छाना तुसारो हुन्छ । पिँढीबाट बाहिर निक्लौँ खुट्टामा चप्पल थिएन त्यस बेला । कमाउने मान्छे लुक्दै हिन्न परेपछि पैसा भएन । अन्न रोप्न नपाएपछि भोकै परिने नै भइयो ।

सानो छोरो छ सात वर्षको, ठुली छोरी १०–१२ वर्षको मात्र थिए । उनीहरूको रेखदेखसँगै गाईबाख्रालाई घाँस काट, हाल गर्दैमा ठिक्क हुन्थ्यो । मकै, कोदो पनि बेलामा रोप्न सकिएन, किनकि पाइएन ।

अब अलिकति गर्ने भन्ने छोरालाई पनि धपाइहाल्यो । बाउलाई पनि धपाइहाल्यो । उनीहरूले हामीलाई अलिअलि गरे र ! गर्दिने मान्छे नभएपछि कसरी गर्नु ? म एक्लैले कति गर्न सक्थेँ होला र ?

अहिले पो घर नजिक पसल छ । त्यतिखेर नुन, लुगा, तेलदेखि हरेक चिज बाह्रबिसे गएर ल्याउनुपर्थ्यो । सामान किन्न सँगै जाउँ न साथीहरू भनियो भने कम्युनिस्ट भए सँगै जान्थे, अरू जाँदैनथे ।

फेरि जङ्गलको बाटो भएर जानुपर्ने भएकाले जङ्गलको डर पनि हुन्थ्यो । पैदल हिनेर जानुपर्दा बाह्रबिसे धेरै टाढा पर्थ्यो । त्यो बाटो भारी बोकेर कति हो कति हिनियो । खान परि गो, मकै किन्न गएर ल्याउनुपर्थ्यो ।

एक्लै फर्कंदा अलिकति रात पर्‍यो भने मार्ला कि भन्ने डर हुन्थ्यो । उनीहरू घरमा पनि उत्तिकै आउने । ठाउँ ठाउँमा पनि उत्तिकै बस्ने । मेरो श्रीमान् दुई वर्षसम्म वन वनदेखि कहाँ कहाँसम्म भागेर लुकेर बस्नुभयो । इष्टमित्र, राम्रोमान्छेकहाँ नदेखिइकन बस्नुभो होला ।

देखिएपछि त भन्दिइहाल्थे । पुलिस गएर पक्रिइहाल्थे । जसले राख्छ त्यो राख्नेलाई पनि यो ‘उग्रवादी’ लाई किन राखिस् भन्छ भन्ने डर भयो त्यति बेला ।

अनि, बहुदल आएपछिका १०–१२ वर्ष त कता कता राम्रो भो । थामीहरू पनि आफ्नै दाजुभाइ, इष्टमित्र जत्तिकै राम्रा भए । नारायण पाण्डेहरू बहुदल आएपछि यहाँ बसेनन्, काठमाडौँ गए ।

माथि गुरुङ गाउँ छ । त्यहाँ तीन भाइ नै जागिरे भएका, धनीमानी छन् । एकदम राम्रा, ठुला नहुने । हामीलाई अन्न पुगेन भने त्यहाँ लिन जाने । जङ्गलबिचमा एकलासमा घर छ भनेर यामानको कुकुर पालेको थियो । अनि वरबाट बोलाए भने गयो ।

परबाट हात हल्लाउँदै ‘आज देवीजंग र नारायण पाण्डे हिँड्या छन् नआऊ’ भन्थे । अनि नजानुपर्ने हुन्थ्यो । घरबाट झिकेर खाने अन्न छैन । लिन गएको ठाउँमा त्यस्तो छ । अनि त्यो दिन भोक्कै बस्न परेन त ?

कहिलेकाहीँ सधैभरि यसरी रोएर बस्नुपर्दो रहेछ, भोकै नाङ्गै बस्नपर्ने रहेछ, किन कम्युनिस्ट भइएछ, नभइदिएका भए पनि हुने रहेछ भन्ने पनि लाग्थ्यो । तर, लागिसकेका श्रीमान् र देवरहरूलाई के भन्नु ? कहिलेकाहीँ हाम्रा नातेदार, आफन्त यहाँ आए भने ‘अमृते आयो, यहाँ अमृते आएर लुकाइएको छ’ भन्दिन्थे । अनि तुरुन्तै पुलिस आइहाल्थे ।

हामीले आफूले खाने भनेर कोदो, धान खेती गरेर भकारीमा हाल्थ्यौँ । देवर र श्रीमान्‌लाई तिनै भकारीमा लुक्या छ कि भनेर बन्दुक हालेर खोज्ने गर्थ्याे पुलिसले । काठको ठुलो–ठुलो सन्दुक हुन्थ्यो । त्यसमा लुक्या छ कि भनेर लगाएको चाबी पनि फुटाइदिने गर्थ्याे ।

त्यो बेलाको कुरा सम्झिसक्नु नै छैन हजुर ! देवरानी (छत्रबहादुरकी श्रीमती) र मैले अलिअलि होइन, धेरै दुःख काट्यौँ । के गर्नु ! सधैँ रोएर हिनेको हो ।

कालाम्मे रातमा एक पटक त पाँच सय जना पुलिस आएर ढोका खोल्नुस् भने । मेरी छोरी सानी थिई । उसले आमालाई मार्लान् भनेर मेरो पाखुरा समातेर सँगै आउँथी । पुलिसले ‘तपाईं सत्य कुरा गर्नुहोस् । छोरो कहाँ छ ? बाउ कहाँ छ ? देखाउनुस्’ भन्थे । हामीलाई थाहै छैन त कसरी सत्य कुरा गर्नु !

मेरो जेठो छोरा १४ वर्ष पूरा भएर १५ वर्ष लाग्ने माघे सङ्क्रान्तिमा नै त्यस्तै भयो । उसले घर छोडेर भाग्नुपर्‍यो । त्यो बेलाको कुरा सम्झिसक्नु नै छैन हजुर ! देवरानी (छत्रबहादुरकी श्रीमती) र मैले अलिअलि होइन, धेरै दुःख काट्यौँ । के गर्नु ! सधैँ रोएर हिनेको हो । अहिले पनि डर हुन्छ । एक्लै दुक्लै हिन्यो भने त कति शत्रु लाग्छन् ।

मेरो बिहे २६ वर्षको उमेरमा भयो । अनि २७ वर्षमा पहिलो सन्तानको रूपमा छोरो जन्मियो, त्यो गयो । अनि २८ वर्ष हुँदा यी दिदीभाइ जन्मिएका ।

म बिहे गरी आउँदा सासू हुनुहुन्थेन । मेरो श्रीमान् र ससुरा मात्रै भएको घरमा भर्खर भर्खर बिहे गरेर आउँदा धेरै दुःख काटेँ मैले । सासू नभएको ठाउँ धेरै दुःख ।

कान्छा देवर अमृतकुमार चौतारामा पढ्नुहुन्थ्यो । साइँलो देवर आर्मीमा जागिरे हुनुहुन्थ्यो । उहाँको पहिले बिहे गरेको श्रीमती, हाम्रै गाउँको फुपू पर्नेले छोड्देको रहेछिन् । माइला देवर पनि विदेशमा हुनुहुन्थ्यो ।

२६ वर्षमा बिहे भएको मेरो । बेहुलीको लुगा फुकालेर जन्तीलाई खाना पकाएर खान दिएकी हुँ मैले । माइतमा सुख भयो । घरमा धेरै दुःख भो ।

असोजमा सासूको बर्खान्त भइसकेपछि फागुनमा मलाई बिहे गरेका हुन् । बाजा बजाएको होइन । १५/२० जना जन्ती डाकेर ठिक्कको बिहे गरिएको हो ।

मेरो माइती बोच । भन्न त बाह्रकुटे, कृषि पनि भन्छन् । माइतीतर्फ मेरो दिदी सात वर्ष हुँदा बितेकी रे ! म एउटा मात्र छोरी भएँ । अनि बुबाले यो छोरीलाई बिहे गर्दिनँ, अंश दिएर राख्छु भन्नुभएको रे !

ठुलो घर बनाएको थियो । दाजुभाइले पनि तिमी एउटा बैनी, माथि तिमी बस, हामी तल बस्छौँ भने । अनि पो त २६ वर्षमा बिहे भएको मेरो ।

बिहे गरेर आउँदाको दिन त सबै भताभुङ्ग । बाख्राको खोर गनाएर भित्र पसिसक्नु, बसिसक्नु छैन । त्यस्तो घरमा भित्र्याए मलाई । बेहुलीको लुगा फुकालेर जन्तीलाई खाना पकाएर खान दिएकी हुँ मैले ।

माइतमा सुख भयो । घरमा धेरै दुःख भो । पछि हामीले सबै चाँजोपाँजो मिलाएपछि, खेती गर्न लागेपछि सबैतिर राम्रो हुँदै आयो ।

बिहे गरेर आएको १७–१८ वर्षपछि घरमा पञ्च लागे । ससुरा गइसके (बिते) पछि र देवर अमृतकुमार एमाले पार्टीमा लागिसकेपछि त्यस्तो भयो ।

देवर त भित्रै हुनुहुन्थ्यो । मैले के गर्ने ? उहाँले फरिया, चोलो लाएर, हँसिया, डोको बोकेर, निक्लेर जानुभयो । पक्रिन आएको पुलिसलाई नचिनिने बनाउन स्वास्नीमान्छे बनाएको हो । त्यसरी फरिया चोलीमा निक्लेर जानुभएको देवरलाई १८ वर्षपछि भेट्यौँ ।

मेरी छोरी वैशाखमा वर्ष दिनकी पुग्दै थिई । देवर यही घरमा नै हुनुहुन्थ्यो । माघे सङ्क्रान्तिको दिनमा दुई जना पुलिस आए । किन आए मलाई थाहै भएन । अनि म भित्र बिहानको खाना पकाउन लागेकी बेला यहीँ पल्तिरका बोहरा दाजुभाइले ‘ए भाउजू’ भनेर बोलाए र ‘अमृतकुमार खोइ ?’ भने । मैले ‘मलाई थाहा छैन, यहाँ हुनुहुन्न’ भनेँ ।

पार्टीभित्र पहिले नै उहाँको बिहे गरिसकेको रहेछ । उतै बिहे गरेर छोराछोरी जन्मिसकेका रहेछन् । बहुदल आएपछि देवरानी (अष्टलक्ष्मी शाक्य) पनि घर आइहालिन् । उनलाई त्यतिखेरै देखेको । देवरानी नेता हुन् ।

अनि उनीहरूले ‘किन थाहा छैन ? हिजोसम्म त यहीँ थियो रे, आज कहाँ गयो त ?’ भने । देवर त भित्रै हुनुहुन्थ्यो । मैले के गर्ने ? उहाँले फरिया, चोलो लाएर, हँसिया, डोको बोकेर, निक्लेर जानुभयो । चिने त पक्रिइहाल्थ्यो । पक्रिन आएको पुलिसलाई नचिनिने बनाउन स्वास्नीमान्छे बनाएको हो । त्यसरी फरिया चोलीमा निक्लेर जानुभएको देवरलाई कहाँ हो, के हो १८ वर्षसम्म देखेनौँ हामीले । त्यस दिन त्यसरी गएका देवर १८ वर्ष भूमिगत बसेपछि बल्ल भेट भयो ।

पार्टीभित्र पहिले नै उहाँको बिहे गरिसकेको रहेछ । छोराछोरी पनि जन्मिसकेका रहेछन् । बहुदल आएपछि देवरानी (अष्टलक्ष्मी शाक्य) पनि आइहालिन् । उनलाई त्यतिखेरै देखेको । देवरानी नेता हुन् । उनी दुई पटक मन्त्री पनि भइन् । उनी पछिल्लो पटक यही जेठमा आएर गइन् ।

पञ्चायतमा देवीजंगले मात्र काण्ड लाइदिएको भए पो ! झन् माओवादीका पालामा त के कुरा गर्नु ! माओवादी र पञ्चायत दुवै बेलामा दुवैका कारण बरोबर त्यतिकै उस्तै गाह्रो भो ।

अब पञ्चायतकालमा पनि साँझबिहान हामी एक्लै कहीँ जानु हुँदैनथ्यो । आफ्ना बुढा बाहिर गए भने पनि न मारिसक्यो, न कुटेर थला पारेको पो छ कि भन्ने हुने । घर नआउने बेलासम्म थर्थरी हुन्थ्यो ।

खसी पाल्यो भने आएर हेर्छ र देख्यो भने फुकालेर लगिहाल्छ । नभन्या कुरा भन्नु भएन । माओवादीकालमा घरमा बाँधेका खसी हामी लान्छौँ भन्थे तर पञ्चायतमा यस्तो भनेनन् । देवर छत्रबहादुरका घरमा सम्पत्ति सबै लुट्यो । धुरीमा झण्डा राखेको । असोजमा चाबी लायो । पहिल्यै आर्मी आइदिएको भए सम्पत्ति लान पाउँदैनथ्यो होला । २२–२३ जना माओवादीले त्यत्रो सबै सिरीखुरी सम्पत्ति लगे ।

माओवादी कोहीले यता वनमा लान्छन् कसैले उता । केही पनि बाँकी राखिदिएनन् । तीन वर्षसम्म त्यो घर रित्तो ड्वाङड्वाङती ! यहाँ पालिका बनेको ठाउँमा कत्रो बडेमानको घर थियो । माओवादीले त्यहाँको सबै लुटेर मात्रै लगेनन्, आगो पनि लगाइदिए त्यहाँ ।

माओवादी पनि कम्युनिस्ट हो कि हैन ? खोइ म के थाहा पाउनु ? मैले र देउरानीले जति यो गाउँमा दुःख कल्ले पाए होला र !?

कस्तो कस्तो दुःख काटेर छोरालाई पढाएको । मेरो जेठो छोरा १४ वर्ष पूरा भएर १५ वर्ष लाग्ने माघेसङ्क्रान्तिमा नै त्यस्तै भयो । उसले घर छोडेर भाग्नुपर्‍यो । फेरि, पढाउन जाने मेरो छोरोलाई पनि लास पारे । अर्को एक वर्ष रोएर बस्नुपरेको हो ।

छोराले स्कुल पढाउन जाँदा ‘यो ढुङ्गाले थिचेर मार्नुपर्छ’ भनेर यत्रो बडेमानको ढुङ्गा ल्याएका थिए रे माओवादीले ! मार्न चाहिँ मारेनछन् । उँभोबाट आउँदाखेरि मैले यो मेरो छोरो हो भनेर चिनिनँ, चिन्नै सकिनँ ।

मुहारदेखि सबै रगतका धारा ! हेरिसक्नु छैन । बाँच्छ भने जस्तो लागेको थिएन । ल्याएर सुताउँदा जम्मै रगत छ ! स्ट्रेचरमा राखेर घरबाट लाँदाखेरि ‘आमा नरुनू, म बाँचे भनेँ बाँचिहालेँ, मरिहाले पनि दाइ छ, दिदी छन्, पाल्लान् नि !’ भनेर गएको थियो ।

हस्पिटल लाँदा ‘बिचमा नछोडिदेऊ’ भनेपछि जेठको दिनमा बल्ल बल्ल ४ बजे काठमाडौँ पुराएर भर्ना गरेको हो । जेठको २६ गते छोरालाई त्यस्तो भएपछि असार, साउन र भदौ महिना हस्पिटलमा राख्यौँ । एक पटक छोरा भेट्न भनेर साउनमा हस्पिटल गएँ । छोरा यही हो भनेर चिनिनँ हेर्नुस् । पछि पो छोराले ‘अब चाहिँ बाँच्छु होला’ भन्यो अनि छोडेर आएँ ।

फापरचौरको माओवादीसित कुरा गरेपछि ऊ चैतमा घर आयो । त्यो छोरो साह्रै कमजोरी छ । माओवादीले अब आए हुन्छ भनेपछि बल्ल घरमा आयो छोरा । छोराले बाह्रबिसे बसेर अत्तरपुर हो कि के भन्ने ठाउँमा पढाउँथ्यो । जे होस्, मानु सिद्दिएको रहेनछ, छोरा बाँच्यो हेर्नुस् ! त्यो छोराले अहिले पनि स्कुल पढाउँछ ।

छोरीलाई पढाउन पाइएन । यो जेठो छोरालाई पनि आठमा भर्ना मात्रै गरेको थियो, भाग्न परिहाल्यो । छोरीलाई कक्षा ४ मा भर्ना गरेको मात्रै थियो, २०४० सालमा त्यत्रो काण्ड लागि गयो । अनि कैले, कसरी पढाउने ? अहिले त राम्रो छ । छोराछोरीबाट सन्तोक छ । कान्छो छोरो पनि स्थायी भएको छ जागिरमा । बुहारी पनि स्कुल जान्छिन् । उनको अस्थायी हो ।

म त सम्झिनै सक्दिनँ । दुःखको कुरा सम्झियो भने छाती फुटेर आउँछ मेरो । ढिँडो पेटभरि खान पाइएन । ढिँडो र गुन्द्रुक पनि अमृत भयो क्या ! कत्रो चिज जस्तो भयो ।

छोराछोरीलाई त सबै दुःख थाहै छ । नातिनातिनालाई पनि थाहा छ । हाम्रो मुवाले त कस्तो दुःख काटेर हामीलाई पालेका भन्छन् उनीहरू । त्यो बेलाको गाह्रो अप्ठ्यारो त ओहो ! अलिअलि होइन धेरै धेरै गाह्रो । यो गाउँभरिमा आफ्नै नाताकाले पनि ‘यो छत्र, बिरेलाई मार्नैपर्छ, यिनीहरूले गाउँ खाए’ भन्थे, के भन्नुहुन्छ !

म त सम्झिनै सक्दिनँ । दुःखको कुरा सम्झियो भने छाती फुटेर आउँछ मेरो । ढिँडो पेटभरि खान पाइएन । ढिँडो र गुन्द्रुक पनि अमृत भयो क्या ! कत्रो चिज जस्तो भयो ।

घर नजिकै यहाँनेर हामीलाई सहयोग गर्ने गुरुङ थिए । लोग्नेमान्छे जति पूरै काठमाडौँमा । अहिले कालोपुलमा उनीहरूको घर छ । सुर्जेको आमा भन्ने जेठीले मलाई पोहोर कति धेरै सामान र लगाउने धोती पनि ल्याइदिएकी । म आमापट्टिको पनि होइन, मामापट्टिको पनि होइन । उनीहरू गुरुङ म बोहरा । तँ यत्रो दुःख गरेर बसिस्, तँलाई कत्रो दुःख पर्‍यो, सधैँ रुन्थिस् । सम्झेर छाती फुटेर आँसु आउँछ । भन्दै सम्झेर छोरोले सामान ल्याइदिएर यहाँ बोलाउन आएको थियो मलाई ।

कम्युनिस्ट विचार मिल्ने मिल्ने त्यतिखेर एक भएर हिने । तिनै थामीहरू कति मिले । अहिले उनीहरूले नै हाम्रो कत्रो जरो खन्छन् । हामीलाई सहयोग गर्ने यो वरिपरिका मान्छेहरू अहिले कोही सहयोग गर्दैनन् । अघि ज्यान दिएर लाग्ने मान्छे, अहिले शत्रु भएका छन् । अहिले तिनै थामीहरू माओवादी भएका छन्, कांग्रेस भएका छन् ।

पहिला थामीहरूले यस्तोमा लाग्नुपर्छ भनेपछि एकदम ज्यान र ध्यान दिएर लागे । अहिले पछिल्लो दुई वर्ष जति भयो उनीहरू नै शत्रु भए । नारायण पाण्डे आएर फकाएर उनीहरू उतै लागे । अघिका राम्रा मान्छे, अहिले सबै नराम्रा भए के भन्ने !

प्रकाशन मिति : २०८१ माघ १५ गते, मङ्गलवार

पिस्कर काण्डका थप कथाहरू यहाँ पढ्नुहाेस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here