पिस्कर काण्डमा महिला शृङ्खला ५
पिस्कर र वरपरका गाउँमा २०४० साल माघको पहिलो सातादेखि सबैजसो घर प्रहरीको निगरानीमा परे । अधिकांश थामी समुदायको बसोबास रहेको, थामीहरू भूमिगत राजनीतिमा पनि लागेको, विभिन्न गतिविधि गरी व्यवस्थाविरोधी भावना फैलाइरहेको र त्यस्तो गतिविधिलाई सघाएको जस्ता कारणले सो समुदायका महिलाहरू झन् धेरै निगरानीमा परेका थिए ।
बिर्खमाया थामी पिस्कर काण्ड हुँदा २९ वर्षकी हुनुहुन्थ्यो । “हामी थामीहरूको घरमा को आउँछ, यिनीहरूले यो थामीहरूलाई बाठोटाठो बनाउन थाले भनेर चियोचर्चो गर्थे,” उहाँले गोली काण्डपछिका घटना सम्झँदै भन्नुभयो, “यो गाउँमा नयाँ मान्छे आउँदाबित्तिकै सोधपुछ गरिहाल्थे । हाम्रो घरमा बत्ती बालेको देखे पनि घरमा सिआइडी आएर सोधपुछ गरिहाल्ने, हाइहुकुम चलाउने ।”
गोली काण्डपछिका दिनहरूबारे पूर्णमाया थामीले भन्नुभयो, “भोलिपल्टदेखि थुप्रै पुलिसहरू आएर गाउँमा सबै ठाउँमा छ्यापछ्याप्ती पुलिसहरू हिँड्ने । पुलिसहरू आएर पूरा जङ्गलमा पनि सबै ठाउँमा खोज्ने । बुझ्ने, नबुझ्ने, पार्टीमा लाग्ने, नलाग्ने सबैलाई समाएर लान्थ्यो,” उहाँले भन्नुुभयो ।
पूर्णमाया चालिस सालमा २० वर्षकी हुनुहुन्थ्यो । उहाँले थप्नुभयो, “भेटे जतिलाई पुलिसले समाउने, सोधपुछ गर्ने गर्थ्यो । दमन गरेको थियो ।” धेरै साथीहरू समातिए र थुनामा परे पनि आफू भने सामान्य भएर पुलिसलाई छल्दै हिँडेकाले थुनामा नपरेको उहाँको भनाइ थियो ।
पूर्णमायाका अनुसार, उहाँले पनि २०३५ सालमै गीत गाउन थाल्नुभएको थियो । त्यति बेला १२–१३ वर्षकाहरू बाल सङ्गठनमा लागेका थिए । पार्टीका मानिसले जे जे भन्यो त्यही त्यही गर्थे । महिलाका सन्दर्भमा उहाँले भन्नुभयो, “महिलाहरूले के गर्थ्यो भने सङ्गीत टोलीमा गीत गाउने । जनवादी गीत भन्थ्यो, त्यस्तै गीत गाउने हो ।”
स्थानीय राजनीतिकर्मी तथा समाजसेवी भक्तध्वज बोहरा पिस्कर काण्ड हुँदा १५ वर्षका हुनुहुन्थ्यो । घटना गर्भका जानकार र प्रत्यक्षदर्शी रहेका आधारमा उहाँले तत्कालीन अवस्थाको कम्युनिस्ट पार्टी नेकपा मालेले जनतालाई जागरुक गरेको, कम्तीमा पनि कालो र निलो भनेर छुटाउन सक्ने बनाएको बताउनुभयो ।
सचेत बनेर पञ्चायतविरोधी राजनीतिमा लागेका कतिपय थामीहरू पचासको दशकदेखि नै पार्टीको कामबाट असन्तुष्ट हुन थालिसकेका थिए । भुइँमान्छेको असन्तुष्टि र वितृष्णाको तह असीको दशक छुँदा नछुँदै क्षितिजमाथि पुगिसकेको थियो । कतिपयले पार्टी छाडेर स्वतन्त्र भए भने केहीले पार्टी परिवर्तन पनि गरे ।
पार्टीमै रहेका भए पनि भक्तध्वजले वितृष्णाको अवस्था घाम जस्तै छर्लङ्ग देखिएको बताउँदै भन्नुभयो, “खास हुनुपर्ने विधि, सिस्टम जे घोषणापत्रमा लेखिएको थियो, ती कुरा पूर्णरूपमा पूरा भएको अवस्था भने छैन ।” यस्तो किन ?
पहिलो चरणको जवाफ पार्टीका नेताबाटै खोज्नुपर्ने हुन्छ । थामी समुदायलाई जागरुक गरी ‘कालो र निलो भनेर छुटाउन सक्ने बनाएको’ भनेर चिनिएका कुनै एक नेताबाट यसको जवाफ लिने प्रयास गरिँदै पनि छ ।
समुदायमा अघिल्लो र पछिल्लो पुस्ताका बिचको सम्बन्धबाट ज्ञान र अनुभवको हस्तान्तरण हुने वातावरण बनेन । आफूले कुनै बेला अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान संघको सदस्यता लिएको बताउने बिर्खमायाले ६९ वर्षको उमेरमा भन्नुभयो, “अहिलेको नयाँ मान्छेहरूले, अहिलेको जमानाको मान्छेहरूले हामी उमेर गएकाहरूको कुरा सुन्दैनन् ।”
पार्टीमा नयाँ पुस्तालाई प्रयोग गर्ने र तिनलाई अनुभवी कार्यकर्ताका कुरा सुन्न नदिने प्रवृत्तिले ठाउँ पाइसकेपछि र नयाँ पुस्ताले आफूभन्दा अघिल्लो पुस्ताको कुरा नसुन्ने भइसकेपछि समुदाय माथि उठ्न सक्दैन । नयाँ व्यवस्था, पात्र र तरिकाका माध्यमबाट घुमाई फिराई समुदायका हातमा पारिने भनेको उही शोषण, दमन र उत्पीडन नै हो ।
पिस्कर काण्डका भुक्तभोगी थामी समुदायका जीवित पात्रहरूसँग पहिलो चरणमा कुरा गर्नासाथ बुझिएको कुरो पनि यही हो । धेरै लामो पुर्ख्याैली ज्ञान र अनुभवको आदानप्रदानको कुरो त परै रह्यो, उमेर छँदासम्म पार्टीमा लागेर जति नै दुःख गरे पनि जीवनस्तर उठाउन नसकेका कुरा देख्न, सुन्न र बुझ्न नखोज्ने पुस्ताले पनि अन्ततः पाउने दुःख मात्रै हो ।
समुदायमा गडेर बसेको समस्याको जरो उखेलेर फाल्न अरूले होइन, आफैँले पहल गर्नुपर्छ । आफ्ना समुदायका भुक्तभोगी अग्रजका कुरा सुन्ने, तिनले पाएका आश्वासन, गरेका अपेक्षा, झेलेका दुःख बुझ्ने अनि तिनले पाएका कुराको हिसाबकिताब आफैँले राख्न जान्ने हुनुपर्छ । अग्रजबाट हुन गएका गल्तीलाई कुनै पनि तरिकाले आफूमा दोहोरिन नदिनलाई आफैँ सचेत भई अघि बढ्न सक्ने पनि हुुनुपर्छ ।
महिलाका दृष्टिकोणबाट पिस्कर काण्डलाई हेर्न खोज्दा हामीले थप अध्ययन र अनुसन्धानको आवश्यकता अनुभव गरिरहेका छौँ । राज्यव्यवस्था, पार्टी र थामी समुदायका मानिसको बिचमा निरन्तर उपस्थित अन्तरालको अन्तर्य के हो ? थामी महिलाको विविधता, समुदायको अपेक्षा र आकाङ्क्षालाई समग्रमा कसरी बुझ्ने ? उनीहरूको वास्तविक अवस्था के थियो र कहाँ आइपुगेको छ ?
साथमा, पहिले र अहिलेको पुस्ताले दोहोर्याउनै नहुने गल्ती कहीँ कतै कुनै तरिकाले पनि भएको थियो भने त्यो के हो ? अनुभवजन्य ज्ञानको सामुदायिक पुँजीको पुस्तान्तरण कसरी सम्भव छ ? महिलाले भोगेको अवस्थालाई समानताका मानदण्डबाट मूल्याङ्कन गरी इतिहासले दिनसक्ने क्षतिपूर्ति पनि किन नदिने ?
सीमान्त तहमा विभेदित महिलाको निरन्तरको दुरवस्था अमानवीय प्रकृतिका हुन्छन् । यसैले इतिहासमा उनीहरूप्रति दया, करुणा जस्ता भाव पनि जरुरी हुन आउँछन् । तत्कालका लागि आमसञ्चार हुँदै दीर्घकालका लागि इतिहास लेखनका माध्यमबाट समन्यायिक समाजको निर्माणमा पनि बल पुगोस् ! यही चाहनाका साथ ‘सन्धान’ ले विभिन्न जिल्लामा घटित ऐतिहासिक काण्डको भित्री तहमा पसेर महिलाको भूमिका र भोगाइको खोजी गर्दै आएको छ ।
खोजीका क्रममा ‘सन्धान’ टोली गत साल २०८० असोजमा सङ्घीय राजधानी काठमाडौँबाट ८३.६ किलोमिटर उत्तरपूर्वमा रहेको पिस्करस्थित घटनास्थलमा पुगेको थियो । टोलीमा लक्ष्मी बस्नेत, समीक्षा गाहा मगरका साथै क्यामेरामा मुकुन्द बोगटी सहभागी हुनुहुन्थ्यो ।
राज्यको पछिल्लो संरचनामा पिस्कर बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा रहेको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ मा पर्छ । त्यहाँ पिस्कर काण्डका प्रत्यक्षदर्शी तथा जानकार महिला मात्र होइन, स्थानीय राजनीतिकर्मी तथा समाजसेवी पुरुष पनि भेटिएका थिए ।
घटनास्थलमा भेटिएका र पछि काठमाडौँबाट सम्पर्क गरिएका व्यक्तिहरूबाट दृश्य र श्रव्यमा जे जस्ता जानकारी आए, तिनका सान्दर्भिक अंशलाई त्यहीरूपमा लिपिबद्ध गरियो ।
लिपिबद्ध तिनै सामग्रीका आधारमा ‘सन्धान सम्पादक मण्डल’ ले अध्ययन, विश्लेषण, लेखन, सम्पादन, परिमार्जन तथा पुनर्लेखन गरी यो सामग्री तयार गरेको हो । आधा शताब्दी पुग्न एक दशक मात्र बाँकी रहेका बेला पिस्कर काण्ड भएको दिन पारेर २०८१ माघ १ गते मङ्गलवार ‘पिस्कर काण्डमा महिला’ शीर्षक शृङ्खला प्रारम्भ भएको त यहाँलाई थाहै छ ।
आजको सामग्री सोही शृङ्खलाको पाँचौँ अङ्क हो । प्रस्तुत छ, भक्तध्वज बोहरा, बिर्खमाया थामीका साथमा पुनः रत्नकुमारी थामीका भनाइको पाठसँगै भिडियो र पूर्णमाया थामीका भनाइको पाठसँगै अडियो अंश :
परिवर्तनका कुरा गर्न
गीत गाउन जान्यौँ

– बिर्खमाया थामी
मेरो नाम बिर्खमाया थामी हो । जन्म २०११ सालमा भएको हो । मैले २०४० सालमा मन्दिरमा घटना देखेँ । त्यतिखेर पञ्चायती काल थियो । चालिस सालमा हामीले गरीब, दुःखी जनताको गीत गाउनुपर्छ, कुराहरू गर्नुपर्छ, मनोरञ्जन गर्नुपर्छ, हाम्रो वारिपारिको साथीहरूलाई पनि बोलाउनुपर्छ भनेर निम्तो गर्यौँ । चारैतिरको साथीहरूलाई खबर गर्यौँ र आउनुभयो ।
कार्यक्रम हुँदै थियो । खाजा खाँदै थियौँ । खाजा भनेको गिठ्ठा, तरुल, भ्याकुर, मकै, भटमास, सखरखण्डहरू थियो । कोही खाइसकेर कार्यक्रममा आउनुभएको थियो । कोही त्यहीँ हुनुहुन्थ्यो । कार्यक्रममा खाजा खाइरहेका बेला पुलिसहरू आए र गोली हाने ।
गाउँको हैकम चलाउने फटाहाहरूले यिनीहरू कम्युनिस्ट रहेछ, यो पूरै कम्युनिस्टलाई मास्नुपर्छ भनेर पुलिसहरू ल्याएर गोली चलाउन लायो । हाम्रा साथीहरूले पनि हामी जनताहरू चुप लागेर बस्नु हुँदैन, अब यिनीहरूसँग लड्नुपर्छ भनेर ढुङ्गामुढा गर्नुभएको थियो । अनि, उनी (पुलिस) हरूले पनि गोली हाने ।
हाम्रा कति साथीहरूलाई घाइते पारे । दुई जना मान्छे मारे । घाइतेहरू आफ्नो घर जान पाएनन् । यतैबाट समातेर लग्यो र जेलमा लगेर कोचिदियो । उपचार गर्न पनि पाएनन् ।
पहिला त अहिलेको जस्तो बत्ती (बिजुली) पनि थिएन । मोबाइल पनि थिएन । जहाँ पनि मान्छे हिँडेरै पुग्नुपर्थ्यो । त्यतिखेर गोली लागेर मान्छे मर्ने, दुःख कष्ट भोग्ने, जेलनेल पर्ने कति भोगियो । कति बालबच्चा, आमाबाहरूको चिल्लीबिल्ली भयो । चालिस सालको घटनाले गाउँमा मान्छे मर्दा मलामी जाने मान्छे पनि थिएन ।
दुई वर्ष जति त भागाभाग भयो । कसैलाई जेलमा लग्यो । दुई–तीन वर्ष जेलमा कोच्ने भयो । एक जना केही पनि नजानेका सोमबहादुर भन्ने पुलिसको डरले भागेका थिए । उनलाई पनि भेटेर लग्यो । तीन वर्ष जति जेलमा कोच्यायो । अहिले त बुढा भएर आँखाले पनि नदेख्ने, कानले पनि नसुन्ने हुनुभ’को छ ।
थामीहरूको बाक्लो बसोबास रहेको यहाँ थामीहरू सबैलाई हेप्ने, चेप्ने, दुःख दिने, कति लुट्ने, पिट्ने गर्थ्यो । गाली, बेइज्जती गर्ने त्यस्तै थियो । एकदिन म बाटोमा गाई चराउँदै थिएँ । पुलिसले मलाई गाई बाँध्न लगाएर देवीजंगको घरतिर लग्यो । अनि पुलिसहरूले यहाँ को आउँछ, के गर्छ, के के सिकाउँछ भनेर सोधे ।
मैले ‘मलाई त केही थाहा छैन, म रुघाखोकी लागेर त्यतिखेर बिरामी थिएँ, त्यसैले घरमै बसेँ’ भन्दिएँ । उनीहरूले मलाई पछि को को आउँछ, के के गर्छन् त्यो कुरा भन्नू भनेर छोड्दिए । देवीजंगहरूले यो त कम्युनिस्ट, कम्युनिस्टहरूलाई बाँकी राख्न हुँदैन, यिनीहरूलाई मार्नुपर्छ भन्ने सोचेरै त्यस्तो गरेका हुन् ।
पहिला केही कुराहरू पनि बोल्न पाइँदैनथ्यो । कसैको विरोध गर्न पाइन्नथ्यो । बेलुका कार्यक्रम गर्दा बत्ती बाल्दा उज्यालो बाहिर जान्छ भनेर प्वाल थुन्नुपर्ने हुन्थ्यो । बाहिर पालो दिएर बसेर अनि कार्यक्रम गर्नुपर्थ्यो । भएको लाइट पनि अलिअलि मात्रै बाल्नुपर्थ्यो ।
हामी थामीहरूको घरमा को आउँछ, यिनीहरूले यो थामीहरूलाई बाठोटाठो बनाउन थाले भनेर चियोचर्चो गर्थे । यो गाउँमा नयाँ मान्छे आउँदाबित्तिकै सोधपुछ गरिहाल्थे । हाम्रो घरमा बत्ती बालेको देखे पनि घरमा सिआइडी आएर सोधपुछ गरिहाल्ने, हाइहुकुम चलाउने ।
त्यतिखेर क्यासेट पनि थिएन । गाउँमा जनताहरूबाट पैसा उठाएर क्यासेट किनेर कुनामा, ओडारमा लगेर सुन्नुपर्ने अवस्था थियो । हामी बोल्न पाउँदैनथ्यौँ । त्यतिखेर बोल्ने अधिकार पनि थिएन ।
रत्नकुमारी : त्यति बेला घर थिएन । सबै कटेरो थियो, सानो–सानो झुपडीहरू थिए । त्यहाँ अलिअलि पिलपिल बत्ती बालेको देख्नेबित्तिकै देवीजंगका सन्तानहरू आउँथे ।
बिर्खमाया : सिआइडीलाई पठाउने गर्थे ।
रत्नकुमारी : उज्यालो भएको देख्नेबित्तिकै आक्रमण गरिहाल्ने गर्थे । थामीहरूको घरमा एउटा सानो कागजको टुक्रा पनि देख्न हुँदैनथ्यो उनीहरूले । यो कागजको टुक्रा कहाँको मान्छेले, के भनेर ल्याइदिएको हो भनेर सोधखोज गर्दथे । कागज भेटेको घरको मान्छेलाई ड्यामका ड्याम कुटिहाल्थे ।

हामीले प्रत्यक्ष देखेको देवीजंगको सन्तान हो र देवीजंग हो । देवीजंगका बाउ नरजंग पनि थिए रे हामीले देखेनौँ । उनीहरूलाई एक जना नौलो मान्छे आएको देख्न नहुने । हामीले धोएर वा एउटा सुकिलो लुगा लगाएको देख्न नहुने । यसको घरमा को आउँछ, कसले राजनीतिको कुरा पढाउन सिकाउन आउँदोरहेछ भनेर थामीलाई पढ्न पनि दिँदैनथे ।
हामीलाई कुरा सिकाउन त्यति बेला बाहिरको एक जना मान्छे आउनुभएको थियो रे ! मैले देखेको होइन, मेरो आमाले माधव पौडेल आएको भन्नुभएको थियो ।
मेरो आमाले यस्तो मान्छे आएको छ भनेर बाहिर भन्नु हुँदैन, देवीजंगको सन्तान आए भने मेरोमा मान्छे छ, मेरोमा मान्छे आएको छ, मेरो आमा यस्तोमा जान्छ भनेर भन्नु हुँदैन, नभन् भन्नुभएको थियो ।
बिर्खमाया : मैले देखेको उनै माधव पौडेल हुन् । त्यतिखेर हामीले माधव पौडेल नभनेर ‘जगत कमरेड’ भन्थ्यौँ । अमृतकुमार (बोहरा) लाई ‘श्याम कमरेड’ भन्थ्यौँ । उहाँहरूलाई पहिला होइन, पछिपछि देखेका हौँ । उहाँहरूले धेरै कुरा सिकाउनुभयो, कति दुःख कष्ट गर्नुभयो ।
पानी, ढाँडखोर, जुका, वनमाराघारी, सिस्नुघारी नभनीकन हुरीबतासमा पनि उहाँहरूले कति दुःख गर्नुभयो, हामी सबैलाई सिकाउनुभयो, ब्युँझाउनुभयो । हामी केही नजानेका थियौँ, बाटो देखाउनुभयो । हामीले केही न केही बाटो देख्यौँ ।
फटाहाहरूले हामीलाई अन्याय र अत्याचार गरेका रहेछन् । पहिला पहिला त हामीलाई थाहै भएन । थाहा नभई त्यस्तो अन्याय र अत्याचारमा पनि हामी पिल्सिएर बस्यौँ । पछिपछि उहाँहरूले सिकाउनुभयो र हामीले अलिअलि कुरा बुझ्ने भयौँ ।
यस्तै कुरा सिकाउने त्यतिखेर कलाकारहरू थिए । ती कलाकारहरू मेलम्चीसम्म पनि पुगेर परिवर्तनका गीतहरू सुनाउँथे । मलाई पनि गीत गाउन पहिलाका भूमिगत साथीहरूले सिकाउनुभएको हो ।
‘प्राणभन्दा प्यारा हाम्रा सहिदहरूलाई …
बाराम्बर क्रान्तिकारी लालसलाम छ हाम्रो’
सहिदहरू हाम्रो प्राणभन्दा पनि प्यारो छन् । सहिदको रगतले सबै जना ब्युँझिन्छन्, सहिदको रगतले सबैलाई बाटो देखाउँछ भनेको छ यो गीतले ।
महिलाहरू पनि यहाँ आउनुहुन्थ्यो । त्यतिखेर मैले देखेको अष्टलक्ष्मी शाक्य हुनुहुन्थ्यो । हामी उहाँलाई ‘ज्योती कमरेड’ भन्थ्यौँ । उहाँहरूले गाउँको फटाहाले अन्याय, अत्याचार, थिचोमिचो गर्छ, चुप लागेर बस्नु हुँदैन, हामी पनि अगाडि बढ्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो । उहाँले पनि सिकाउनुभयो ।
अहिले त हामी केही न केही बुझ्ने भयौँ । हाम्रो पनि अधिकार रहेछ, हाम्रो पनि बोल्न, हिँड्न, पढ्न पाउने अधिकार रहेछ भनेर जान्यौँ, बुझ्यौँ ।
मैले अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान संघको सदस्यता लिएको छु । कति सालमा लिएको त बिर्सिएँ । अहिले बुढेसकाल लाग्यो, उमेर गइसक्यो । अहिलेको नयाँ मान्छेहरूले, अहिलेको जमानाको मान्छेहरूले हामी उमेर गएकाहरूको कुरा सुन्दैनन् ।
पुलिसलाई छल्दै छल्दै हिनेँ

– पूर्णमाया थामी
मेरो नाम पूर्णमाया थामी । २०३५–३६ सालतिर पञ्चायतकालको समय थियो । पञ्चायतीहरूले पिस्करमा त गर्नुगर्यो नि ! पिस्करमा थामीहरू धेरै थियौँ । थामीहरूले बोल्न नहुने, ‘हजुर, काजी’ भनेर भन्नुपर्ने । त्यस्तो अवस्था थियो ।
अनि, त्यस्तो अवस्थालाई तोड्नुपर्छ भनेर पार्टीले सिकाउँदै जानुभयो । त्यति बेला सङ्गीत थियो । सङ्गीत टोलीले गीतहरू बनाउने, जान्नेहरूले गितारहरू पनि यही ठाउँमा बनाउने काठहरूको । अनि तालिम गर्ने अनि कार्यक्रम गर्ने गर्थ्यो ।
गीतहरू भनेको चाहिँ जनताले रुचाउने, जनतालाई बुझाउने खालका गीतहरू गाउँथ्यौँ । पहिला पहिला सङ्कल्प (गीतको किताब) मा नआउँदा त गाउँघरकै बारेमा हामी अगाडि बढ्नुपर्छ भन्ने खालका गीतहरू आफैँआफैँ बनाउने अनि प्रचारप्रसार गर्ने गथ्र्यौं । त्यो गीतहरू गाउनु अहिले त बिर्सिसक्यो ।
हाम्रै साथीहरू गीत बनाउने हुनुहुन्थ्यो । जगतबहादुर दाइ हुनुहुन्थ्यो । उहाँ सङ्गीत टोलीमा सक्रिय भएर मादल बजाउने, गीतहरू बनाउने गर्नुहुन्थ्यो । हामीहरू चैँ सहयोग गर्ने । त्यसमा चनमाइ थियो, आइतमाया थियो अनि म थिएँ ।
सहयोग गर्नेमा अरू पनि थिए । त्यति बेला धेरै थिए । अहिले कोही मरेर गए, कोही अहिले पनि छौँ ।
सबै योजना पार्टीकै हो, त्यति बेला यसो गर्नुपर्छ भन्ने, गर्ने । त्यति बेला बाल सङ्गठन बनाएको थियो पार्टीले । त्यहीँबाट सिक्दै गरेको हो । त्यति बेला १२–१३ वर्षका उमेरका बाल सङ्गठनमा लागेको । के–के गरियो त्यति बेला, के के गरियो !
हामी बाल सङ्गठनमा लाग्नुपर्छ, एकजुट हुनुपर्छ, छुट्नु हुँदैन, जुट्नुपर्छ भन्ने खालका त्यस्तै त्यस्तै कुरा गर्दै हिँड्थ्यौँ । गीत गा’को पनि त पैँतिस सालतिरैदेखि हो मैले । पैँतिस सालमा म १५ वर्षको थिएँ ।
नाटक गरेको थियौँ, नाटकमा कोही देवीजंग बन्ने, कोही किसान बन्ने, जात्रामा नाटक देखाउने, गीत गाउने गरेर कार्यक्रम गथ्र्यौं । नाटक देखाउने, गीत गाउने काम थियो । गाउँ टोलमा पनि नाटक देखाउँथ्यौँ, गीत गाउँथ्यौँ ।
महिलाहरूले के गर्थ्यो भने सङ्गीत टोलीमा गीत गाउने । जनवादी गीत भन्थ्यो, त्यस्तै गीत गाउने हो । हामीहरू जहाँ जहाँ जान्थ्याँै, त्यहाँ त्यहाँ गीत गाउँदै गीतको महत्त्व पनि बुझाउँथ्यौँ ।
चालिस सालमा पिस्करमा गोली चलेको हो । त्यो बेला जात्रा थियो । कार्यक्रममा पुलिसले गोली हान्यो, धेरैलाई समातेर लग्यो । त्यो दिनमा सामसुम्म भयो अनि भोलिपल्टदेखि थुप्रै पुलिसहरू आएर गाउँमा सबै ठाउँमा छ्यापछ्याप्ती पुलिसहरू हिँड्ने ।
भेटे जतिलाई पुलिसले समाउने, सोधपुछ गर्ने गर्थ्यो । दमन गरेको थियो । पुलिसहरू आएर पूरा जङ्गलमा पनि सबै ठाउँमा खोज्ने । बुझ्ने, नबुझ्ने, पार्टीमा लाग्ने, नलाग्ने सबैलाई समाएर लान्थ्यो । लगेर सोधपुछ गर्ने अनि कोहीलाई छोड्ने, कोहीलाई धेरै बेर थुनामा राख्ने गर्थ्यो ।
पुलिसले मलाई समातेन, म थुनामा परिनँ । अरू साथीहरू धेरै जना परेका थिए ।
उता खाजाहरू दिने व्यवस्था थियो । सबै ठाउँको साथीहरू आउनुहुन्थ्यो । एक दिन एउटा साथीलाई बाटोसम्म पुर्याउनका लागि पिस्करपट्टि आ’को थिएँ म । त्यति बेला बाटोमा पुलिसहरू भेटाएको थिएँ ।
एउटा पुलिसले मसँगै हिँड्ने तारा पन्त भन्ने (पुरुष) साथी हुनुहुन्थ्यो, उहाँलाई समायो । म बाटोको छेउ छेउ हिँडेर गइरहेको बेला लास्टतिरभन्दा अगाडिको पुलिसले ‘बत्ती बाल्’ भन्यो । खै, मलाई किन त्यस्तो भन्न आयोे, मैले ‘किन बाल्ने बत्ती ?’ भनेछु । अनि, एउटा पुलिसले मेरो पाखुरामा समात्यो । तर, खै कसरी कसरी त्यो बेला यसो यसो गर्दै हात मर्केर पुलिसबाट म फुत्केँ ।
पुलिस कुनामा ढलेछ अनि अरू पुलिसहरू अलि पछाडि भएकाले पनि भाग्न सफल भएँ । सँगै हिँड्ने साथीलाई समाएपछि बाटामा म एक्लै भएँ ।
पुलिसहरू हाम्रो घर वरपर धेरैजसो बस्थ्यो । उता मुलाबारीतिर यता माथितिर बस्थे । म उनीहरू आएको डाँडाबाट हेरेर उनीहरू एउटा बाटो आयो भने अर्का बाटो जान्थेँ । त्यसो गरेर पुलिसलाई छल्दै छल्दै हिनेँ ।
म त्यति बेला गाउँघरमा सामान्य खालको बनेर हिँड्ने गर्थें । मलाई समाउन नलेख्या होला, त्यही भएर समाउनु चैँ मलाई समाएन ।
वितृष्णाको अवस्था घाम जस्तै छर्लङ्ग

– भक्तध्वज बोहरा
पैँतिस सालदेखिको मलाई अनुभव भएको, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) ले सिन्धुपाल्चोक जिल्लाको पिस्कर भन्ने ठाउँको जनसमूहलाई पनि उठाउनुपर्छ भन्ने योजना लिएर पार्टी यहाँ (पिस्करमा) प्रवेश गर्यो ।
पार्टी प्रवेश गर्ने क्रममा त्यतिखेर महिलाको नेतृत्व गरेर अष्टलक्ष्मी शाक्य (ज्योति) नेतृत्व गरेर यहाँ आउनुभयो । उहाँ आएपछि महिलाहरूको बिचमा भेला गर्ने, सुरुमा सामान्य भेलामार्फत जागरूक बनाउने अभियान चलाउनुभयो । आउनेबित्तिकै पार्टीको योजना लिएर आएको भन्दा त्रसित हुने अवस्था थियो ।
पञ्चायतकालमा तत्कालीन कम्युनिस्ट पार्टीलाई दमन गरिन्थ्यो । त्यसो भएकाले सुरुमा उहाँ (महिला) हरूलाई जागरूक बनाउने योजना ल्याइयो । त्यसपछि पूर्णरूपमा उहाँहरू जागरूक भइसकेर आफूमाथि भएको अन्याय, अत्याचार, शोषणको बारेमा बुझ्नसक्ने हुुनुभयो । उहाँहरूलाई कसरी थिचिएका, मिचिएका थियौँ भन्ने बारेमा जागरूक बनाइसकेपछि अनि क्रमिकरूपमा पार्टीको कुराहरू गर्ने काम भयो । त्यसरी गर्दा पार्टीप्रति आस्था पनि जाग्दै गयो ।
त्यतिखेर त लामो समय पार्टीमा काम गरेर पार्टीको विश्वासको पात्र बनेपछि मात्रै पार्टीको सदस्य बन्ने विधि थियो । पार्टीको नीति, विधान थियो । त्यो विधानमा टेकेर काम गर्दै जाने क्रममा अब यति मात्रले पुग्दैन भन्ने भयो । माघेसङ्क्रान्तिको अघिल्लो दिन मसान्तको बेलुका महादेवथान भन्ने मन्दिरमा मेला लाग्छ । त्यो मेलासँगै पार्टीको एउटा कार्यक्रम पनि आयोजना गरेर जनतालाई जागरुक बनाउनुपर्छ भन्ने खालको योजना पार्टीले बनायो ।
कार्यक्रम गर्ने योजना बनाइसकेपछि पिस्करले मात्र पुग्दैन भनेर छिमेकी गाविस टेकानपुर, तौथली, धुस्कुन हुँदै बाह्रबिसे, राम्चे, कर्थली, चोकटीलगायतका साथीहरूलाई पनि भेला गरियो । त्यसरी यहाँ एउटा बृहत् कार्यक्रम तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेले आयोजना गर्यो ।
त्यो कार्यक्रममा पञ्चायतकालमा चालिस सालभन्दा अगाडि भएका दमनको विरोधमा कमिक, गीतमार्फत पार्टीले कुरा उठाएको थियो । त्यसो गरिसकेपछि त्यहाँ आउनेहरूले हामी साँचिक्कै जागरुक बन्नुपर्ने रहेछ भन्ने बुझे । साथीहरूमा पनि जागरण आयो ।
हामी यस्तो खालको अन्यायमा परेका रहेछौँ । भोलि हामीले त्यो अन्यायको विरुद्धमा लड्ने बाटो भनेको यो रहेछ भन्ने खालको सोच भयो उहाँहरूको बिचमा । त्यो जागरणले तत्कालीन पार्टीलाई पनि फाइदा पुग्यो । पार्टीप्रति आस्था राख्नेहरूलाई पनि फाइदा पुग्यो ।
जात्रा हेर्न र कार्यक्रममा सहभागी हुन टाढाबाट आउने साथीहरूलाई खाजाको व्यवस्था गरेका थियौँ । सामान्य भुटेको मकै र भ्याकुर, गिट्ठा पनि चन्दा जसरी प्रत्येक साथीहरूबाट सङ्कलन गरेर जम्मा गरेका थियौँ । टाढाटाढाबाट आउने साथीहरूलाई त्यो दिइसकेपछि कार्यक्रम पनि लगभग अन्त्य भएको अवस्था थियो । त्यति बेला बिहानको लगभग ४ बजेको थियो तर त्यतिखेर हामीलाई प्रहरीले घेरा हालिसकेको रहेछ ।
प्रहरीले हस्तक्षेप गर्छ कि भन्ने त पहिला पनि पार्टीलाई अलिअलि लागेको थियो । त्यस्तो खालको ठुलो हस्तक्षेप भयो भने हामी प्रतिकारमा उत्रिनुपर्छ भन्ने आन्तरिक सोचमा बसेको अवस्था थियो । त्यहाँ ढुङ्गामुडा पनि ठिक पारिएको थियो । घरेलु हतियार प्रयोग गर्ने अवस्थामा त थिएनौँ ।
शान्तिपूर्वक कार्यक्रम गरेकाले हामी शान्तिपूर्वक नै रहन आह्वान गर्छौं भनेर आह्वान गरे पनि स्थिति साम्य भएन । नभइसकेपछि हामीले ढुङ्गामुडामार्फत प्रतिकार गर्न थाल्यौँ । प्रतिकार गर्न थालेपछि उनीहरूले गोली हाने । ‘डाइरेक्ट’ गोली हानेको भए त त्यहाँ सयौँ मान्छे हताहत हुन्थे, तर पनि त्यो बिचमा घाइते त सयौँ साथीहरू हुनुभयो ।
घाइते साथीहरूलाई तत्कालीन अवस्थामा पनि पञ्चायतले गिरफ्तार गरेर लग्यो । कोही पाँच वर्ष, कोही चार वर्ष जेल बस्नुभयो । मलाई जानकारी भएअनुसार सोना तामाङ (महिला) बाह्रबिसे नगरपालिका वडा नम्बर ४ वा अहिलेको सुनकोसी भन्ने ठाउँको उहाँ घाइते हुनुभयो । पछि त्यही रोगले बित्नुभयो ।
त्यसपछि एक जना टेकानपुरको जगतबहादुर बोहरा, उहाँको दुइटै पाखुरा भाँचिएको थियो । त्यस्तो अवस्थामा उहाँलाई नछोडी गिरफ्तार गर्यो । उहाँ पाँच वर्ष जेल बस्नुभयो । उहाँको (परिवारमा) श्रीमती र छोराछोरीसहित चार जना हुनुहुन्थ्यो । एक अवस्थामा उहाँको परिवारैले जेल जीवन बिताउनुभयो ।
अर्को, यहाँकै एक जना अहिले सामान्यरूपमा बोलचाल गर्न र कान पनि सुन्न सक्नुहुन्न । सामान्य आँखा मात्रै देख्नुहुन्छ, सुनबहादुर थामी । सुनबहादुरले भन्नुहुन्थ्यो, ‘जेलमा बस्दा चियाको चोक्टा कहिल्यै दिएन, मलाई झोल मात्र दियो ।’ चिया जीवनमा कहिले खानुभएको रहेनछ । यस्तो यस्तो अवस्थाबाट पनि गुज्रेको अवस्था थियो ।
तत्कालीन अवस्थाको कम्युनिस्ट पार्टी नेकपा मालेले यहाँसम्म ल्याएर जनतालाई जागरुक गरेको अवस्था छ । कम्तीमा पनि कालो र निलो भनेर छुटाउन सक्ने काम तत्कालीन पार्टीले गर्यो । तर खास हुनुपर्ने विधि, सिस्टम जे घोषणापत्रमा लेखिएको थियो, ती कुरा पूर्णरूपमा पूरा भएको अवस्था भने छैन ।
के के कुराले बाधा ल्यायो अड्चन ल्यायो भन्ने कुरा भन्न चाहिँ म केन्द्रीय लेबलमा पुगेको नेता होइन । म सामान्य भुईं लेबलमा बसेर जनताको बिचमा रहेर, घुलमिल गर्दै, सामान्यरूपमा जे सक्छु अथवा मेरो बुवा, बाजेले गरेको धर्म निभाउँदैछु । यसको अलवा समाजसेवा पनि गर्दैछु ।
एक हदसम्म भन्ने हो भने अन्याय, अत्याचारको पूर्णरूपमा अन्त्य भएको अवस्था छैन, नभएकै हो । पार्टीले पनि त्यो खालको योजना ल्याउन नसकेको अवस्था हो । पार्टी एउटा मात्र नभएर हरेक पार्टीमा वितृष्णाको अवस्था छ, यो हामीले घाम जस्तै छर्लङ्ग देखेकै छाैँ ।
अहिले राजनीतिक दलहरू च्याउसरी उम्रिएका छन् । सबै दलका आफ्नै योजना छन् । खास भन्नुपर्दा, पूर्णरूपमा नभए पनि तत्कालीन मालेको ‘सिस्टमेटिक’ तरिकाले अलिकति भए पनि केही गर्नुपर्छ भन्ने भावना भएको तर त्यो भावना बिचमा कतै हराएको हो कि भन्ने पनि मलाई कता कता लाग्छ ।
प्रकाशन मिति : २०८१ माघ २९ गते, मङ्गलवार
पिस्कर काण्डका थप कथाहरू यहाँ पढ्नुहाेस्