पिस्कर काण्डमा महिला शृङ्खला ४
पिस्कर काण्डका प्रत्यक्षदर्शी र भुक्तभोगी थामी समुदायका मानिसले राजनीतिमा लागेर जीवनलाई सहज र सम्पन्न बनाउने विश्वास गरे तर झन्डै आधा शताब्दी बित्दा पनि त्यस्तो हुन सकेन । यस बिचमा तीन पुस्ताका श्रम, सपना, ज्ञान र अनुभव जोडिए । जीवनस्तर भने सोचे जस्तो भएन, माथि पनि उठेन ।
सिन्धुपाल्चोकको पहाडी गाउँ पिस्करमा २०४० सालअघि जे जस्ता समस्या थिए, ४० वर्षसम्म पनि तिनको अन्त्य हुन सकेन । स्थानीय थामीहरू गरिबी, शोषण, अशिक्षा, विभेद आदि समस्यालाई जरैदेखि हटाउन चाहन्थे तर उपाय भेटिरहेका थिएनन् ।
पञ्चायतकालमा बहुसङ्ख्यक स्थानीय मानिसको दैनन्दिन समस्याको जड नै त्यति बेलाको राज्यव्यवस्था हो भन्ने भाष्य बोकेर कम्युनिस्ट विचारधाराका केही मानिस पिस्कर पसे । कोही भूमिगत पनि बसे र त्यहाँको भूगोलमा दुःख र कष्टका साथ गुजारा गर्दै आएका थामी समुदायमा आफ्नो राजनीतिक प्रभाव जमाए ।
थामी समुदायका लागि सबैभन्दा ठुलो समस्या गरिबीको थियो । उनीहरूलाई कम्युनिस्टहरूले ‘गरिबहरूलाई सुखको दिन ल्याउनुपर्छ’ भन्दै चीनमा धनीहरूले गरिबलाई गरेको शोषण, ज्यादतीका फोटा देखाए । नेपालमा पनि चाँडै कम्युनिस्ट सरकार ल्याएपछि सबै एकनास हुन्छ, बोल्न पाइन्छ पनि भने ।
दिलमाया थामी २०४० सालमा १९–२० वर्षकी हुनुहुन्थ्यो । ६० वर्षको उमेरमा उहाँले भन्नुभयो, “हामी गरीब थियौँ । त्यसैले बैठकमा जाने, उहाँहरूको कुरा सुन्ने गर्थ्याैं ।” उहाँले आफ्नो नाम ‘कमरेड ठुलीकान्छी’ रहेको भन्दै आफूले त्यति बेला भूमिगत राजनीति गरेको पनि बताउनुभयो ।
पिस्करका विभिन्न ठाउँमा २०३७ सालदेखि नै पार्टीले मिटिङ राख्थ्यो । मिटिङमा मान्छे जम्मा हुन्थे । २०४० सालको पुस मसान्तको राति महादेवस्थानमा सांस्कृतिक कार्यक्रम गर्ने भयो । त्यहाँ ‘दाजुभाइ, दिदीबहिनी, भाइबहिनी, आमाबुबा सबै जना भेला हुनुपर्छ’ भनियो ।
कार्यक्रम हेर्न नौ वर्षका राजकुमार थामी पनि पुग्नुभयो । उहाँले भन्नुभयो, “वारिपारि छिमेकी गाविसबाट पनि डाक्ने र त्यहाँ जनताको गीत गाउने, जनताको छोराछोरीलाई केही कुरो गरेर, सङ्घर्ष गरेर सुखको दिन ल्याउने भन्नुभ’को हुनाले सांस्कृतिक कार्यक्रम हेर्न गयौँ ।”
कार्यक्रममा नाटक पनि देखाइएको थियो । गोली चलेपछि भागाभाग भयो । ‘भाले बास्ने’ नाटकमा भाग लिएका तिलकमान थामीले पनि आफूहरू भागेको बताउनुभयो । त्यसपछि गाउँघरको अवस्था पहिले जस्तो रहेन । उहाँका अनुसार, गोली काण्ड भएको एक दिनपछि फेरि प्रहरी आएर गाउँका केटामान्छे जतिलाई समात्ने भनेर खोज्न थालेपछि घरमा महिलाबाहेक बस्ने अवस्था भएन ।
राजकुमारका बुवा राजनीति गर्ने मान्छे । भागाभाग भइसकेपछि पनि उहाँ लुक्दै, काम गर्दै गर्नुहुन्थ्यो । त्यही अवस्थामा पक्राउ गरी उहाँलाई जेलमा राखियो । त्यति बेला उहाँका घरमा दुई छोरी र दुई छोरा मात्रै रहे ।
घरमा अभिभावक नहुँदा किशोरावस्थाका दिदीहरूलाई के भएको थियो, त्यसबारे राजकुमारले केही भन्नु भएन । दिदीका भोगाइबारे सायद जान्नु भएन । भनाइ नै छ, एउटै छानामुनि रहे पनि महिला र पुरुषको संसार अलग हुन्छ । दिदीभाइका बिचमा पनि कतिपय कुरा भनिएका हुँदैनन् । त्यसो त उहाँले आमाको पनि चर्चा गर्नु भएन ।
पुरुषप्रधान समाजमा प्रायः आफ्नो परिवारका महिलाहरूका बारेमा चर्चा गरिँदैन । लगभग ६५ वर्षका तिलकमानले पनि त्यति बेला आफ्नो घरमा भएका महिलाका बारेमा कुरा गर्नु भएन । त्यसो त पुरुष नै सर्वेसर्वा हुन् भनेर सिकाइएको र सधाइएको समाजमा महिलाले पनि आफ्ना सरोकारका विशिष्ट कुरा उठाउँदैनन् । दिलमाया पनि यसको अपवाद हुुन सक्नु भएन ।
पिस्कर र वरपरका गाउँमा २०४० माघको सुरुदेखि नै थामी समुदायका सबैजसो घर प्रहरीको निगरानीमा परिसकेका थिए । दिलमायाले भन्नुभयो, “केटी, महिलालाई भेट्यो भने अनेक प्रश्न सोध्ने, घरको मान्छे काँ छ देखा भन्ने गर्थ्याे ।” कतिपय महिलाले घरखेतको काम गरी खान पनि आफूहरूलाई सजिलो नभएको बताएका थिए ।
जसरी हुन्छ, गरिबी, दुःख, कष्ट, दमन, शोषण आदिबाट छुटकारा पाउने आशामा थामी समुदायका मानिसहरू निर्दलीय पञ्चायत व्यवस्थाको परिवर्तनका लागि चरण चरणका आन्दोलन र जुलुस गरेका थिए । तिलकमानका अनुसार, नेताहरूले ‘कम्युनिस्ट पार्टीको सरकार भएपछि तपाईंहरूको हितमा काम गर्ने सरकार हुन्छ, तपाईंहरूले केही गर्नु पर्दैन’ भनेका थिए ।
भने जस्तो अझै नभएको कुरा उठाउँदै उहाँले थप्नुभयो, “तपाईंहरूले आठ घण्टा काम पाउँछ, काम पाएपछि खान लगाउन सरकारले गरिदिन्छ’ भनेर पनि नेताहरूले हामीलाई भन्थे ।” यस्ता कुरामा विश्वास गर्दै गएपछि २०४६ सालको देशव्यापी जनआन्दोलनलाई पनि जनसाधारणको साथ मिल्यो र बहुदलीय व्यवस्था पुनर्स्थापना भयो ।
बहुदलीय व्यवस्था आएपछि समुदायका धेरैजसो व्यक्तिले भरोसा गरेर साथ दिएको कम्युनिस्ट पार्टी सत्तामा पुग्यो । प्रजातन्त्रदेखि लोकतन्त्र, गणतन्त्र जस्ता नाममा राज्यव्यवस्था पनि परिवर्तन हुँदै गए । यसबिचमा सो पार्टीले सत्ता साझेदारी मात्रै गरेन, दुई तिहाइ बहुमतसहित गठबन्धन सरकारको नेतृत्व पनि गर्यो ।
पिस्कर काण्ड हुँदाका बखत पार्टीले सरकार चलायो भने गरिबी हुँदैन, औषधि उपचार गर्न पाइन्छ, भ्रष्टाचार हुँदैन, खान बस्न, गाँस, बास, कपास र पठनपाठनको सुविधा हुन्छ भन्ने कुरामा धेरैको विश्वास थियो । त्यो विश्वास डगमगाउँदै गयो र त्यस प्रकारको डगमगले पछिल्लो पुस्तालाई पनि छाडेन ।
बालककालमै देखेको गोली काण्ड र बाबुको पालामा आफ्नो घरआँगनमै भएको राजनीतिक गतिविधि र सो दलप्रतिको विश्वासलाई राजकुमारले चाहेर पनि पछिल्लो समय कायम राख्न सक्नु भएन । उहाँलाई लाग्यो– परिवर्तन केही पनि भएन । जीवनस्तर जहाँको तहीँ रह्यो । पार्टीले त्यसमा सुधार ल्याउने प्रयत्न पनि गरेन । तिलकमानले पचासको दशकमै यस्तो अनुभव गरिसक्नुभएको थियो ।
थामी समुदायले खोजेको त्यति धेरै त केही पनि थिएन । सानैदेखि पार्टीले भनेका कुरामा लागेर सङ्घर्ष गर्दा दुःख मात्रै भयो, सुखको दिन देख्न पाइएन भन्ने कुराले कतिपयको चित्त फाट्दै गयो । कतिपय महिलाहरू पनि बिच्किन थाले ।
राजकुमारले भन्नुभयो, “उहाँहरूले एकथरी भन्नुभो, अहिले अर्कोथरी भइदियो ।” त्यसपछि उहाँले २०७४ सालमा पार्टी परित्याग र परिवर्तन गर्नुभयो । त्यसो त पार्टी छाड्ने क्रम बिस वर्षअघि नै सुरु भएको थियो । तिलकमानले भन्नुभयो, “चुनावमा हामीलाई पनि टिकट चाहिन्छ भन्दा टिकट नदिएर उनीहरू आफैँ उठे । त्यो भएकाले हामी २०५४ सालमा बिछोड भयौँ ।”
बिछोडका सवालमा कत्ति पनि पछुतो नमानी तिलकमानले भन्नुभयो, “इली र वीरबहादुरको छाप्रो हेर्नुस् न् ! अहिलेसम्म केही पनि गरेको छैन । हामी जनतालाई झन् के गर्लान् ?” उहाँको अभिव्यक्तिमा वर्षौंवर्षदेखि अनुभव गर्दै आएको चरम अविश्वास झल्किएको थियो ।
ढिलो चाँडो त्यस्तो अनुभवको लहर अरूहरूमा पनि सर्दै आयो । अति विश्वासपछिको चरम अविश्वासको जन्मले दुवै पक्षलाई अन्ततः दिने भनेको खति नै हो । यस काण्डका सन्दर्भमा पनि त्यही भयो ।
राजकुमारमा जीविकोपार्जनको लागि वैकल्पिक सोच पनि पलायो । आफूलाई कृषि कर्म र अन्न उत्पादनसँग जोड्दा नै जीवन सहज हुने उहाँले ठान्नुभयो र भन्नुभयो– मकै लाए पनि, धान रोपे पनि, गहुँ छरे पनि एक वर्षमा कम्तीमा पनि खान पाइन्छ नि धेरथोर !
राजनीति र परिवर्तनको नाममा कुनै पनि समुदायका पुरुषले पहिले कसैमाथि अति विश्वास गर्छन् र पछि अरूले आफूहरूमाथि विश्वासघात गरेको अनुभव गर्छन् भने त्यसको अन्तिम मारमा ती समुदायका महिलाहरू नै पर्छन् । संरचनागत तवरमै पछि पारिँदै आएका लैङ्गिक समूह हुनाले थामी महिलाहरू पनि त्यस्तो मारबाट पर रहेको र रहन सक्ने अवस्था छैन ।
भनिन्छ, समयको कठघरामा उभिएर सबैले इतिहासको सामना गर्नुपर्छ । अबको सरोकार भनेको सिकाइ मात्र हो । हामीले अब त्यो काण्डको इतिहास बनाउने होइन, त्यसमा भएका तथ्यहरूको उत्खनन् गर्दै सत्यको नजिक पुग्ने प्रयास गर्ने हो । सम्बन्धित घटना, विषयवस्तु र व्यक्तिमा लुकेर रहेको ज्ञानात्मक पुँजीको पहिचान र संरक्षण गर्ने हो ।
पिस्कर काण्डसँग जोडिएका व्यक्ति र तिनका अभिव्यक्तिमा जोडिएका कतिपय व्यक्तिका कार्यव्यापारहरू ज्ञानकै अभिन्न अङ्ग हुन् । ज्ञाननिर्माणको क्रममा प्रस्तुत सामग्रीहरूलाई रिस, राग, द्वेष, बदनियत, घातप्रतिघात आदिको सतही अभिप्रायभन्दा माथिल्लो तहमा रहेर ऐतिहासिक दृष्टिले हेर्न आग्रह पनि गर्दछौँ ।
पूर्वजले गरेका कामकारवाहीलाई बेलैमा खोजेर शिक्षा लिनेदिने हो भने प्रकारान्तरले नै किन नहोस् पुस्तान्तरण र स्थानान्तरण हुँदै जान सक्ने क्षतिको सिलसिलालाई धेरै हदसम्म रोक्न सकिन्छ । पुरुषप्रधान समाजमा महिलाको सहअस्तित्व र समन्यायिक अवस्थाको खोजीमा पिस्कर काण्डलाई पनि एउटा ज्ञानभण्डारका रूपमा लिन सकिन्छ ।
‘सन्धान’ टोली यही सोचका साथ गत वर्ष २०८० को असोजमा पिस्करस्थित ऐतिहासिक घटनास्थलमा पुगेको थियो । राज्यको पछिल्लो संरचनामा बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा रहेको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने यो घटनास्थल सङ्घीय राजधानी काठमाडौँबाट ८३.६ किलोमिटर उत्तरपूर्वमा छ ।
स्थलगत सामग्री सङ्कलनका लागि पिस्कर गएको सो टोलीमा लक्ष्मी बस्नेत, समीक्षा गाहा मगर र क्यामेरामा मुकुन्द बोगटी सहभागी हुनुहुन्थ्यो । टोली राजधानी फर्किएपछि घटनास्थलमा भेटिएका व्यक्तिहरूबाट दृश्य र श्रव्यमा जे जस्ता जानकारी आए, तिनका सान्दर्भिक अंशहरूलाई त्यसै रूपमा लिपिबद्ध पनि गरियो ।
घटना भएको आधा शताब्दी पुग्न एक दशक मात्र बाँकी रहेका बेला ‘सन्धान सम्पादक मण्डल’ ले स्थलगत भ्रमण टोलीबाट प्राप्त जानकारीका आधारमा अध्ययन, विश्लेषण, लेखन, सम्पादन, परिमार्जन तथा पुनर्लेखन गरी ‘पिस्कर काण्डमा महिला’ शीर्षक सामग्री तयार गर्यो ।
सोही काण्ड भएको दिन पारेर २०८१ माघ १ गते मङ्गलवार ‘पिस्कर काण्डमा महिला’ शीर्षक शृङ्खला प्रारम्भ भएको त यहाँलाई थाहै छ । आजको सामग्री उक्त शृङ्खलाको चौथो अङ्क हो । प्रस्तुत छ, दिलमाया थामी, राजकुमार थामी र तिलकमान थामीका भनाइको पाठसँगै भिडियो अंश :
गाउँको माहोल फेरियो
अनि सकियो मेरो राजनीति
– दिलमाया थामी
छत्तिस–सैँतिस सालतिरदेखि नै गाउँका मानिसहरू र माधव पौडेलहरू आउनुहुन्थ्यो । हामीले उ बेलामा ‘कमरेड’ भनेर चिन्थ्यौँ । उहाँको नाम २०४६ सालपछि थाहा पायौँ । अष्टलक्ष्मी शाक्यहरू आउनुहुन्थ्यो । अष्टलक्ष्मी शाक्यलाई ‘ज्योति कमरेड’ भनेर चिन्थ्यौँ । अनि पुरुषलाई छोरामान्छे कमरेड भन्थ्यौँ ।
हामी गरीब थियौँ । गरीबहरूलाई सुखको दिन ल्याउनुपर्छ भन्नुहुन्थ्यो । चीनमा धनीहरूले गरिबलाई गरेको शोषण, ज्यादतीहरूको फोटोहरू देखाउनुहुन्थ्यो । अनि हामीले पनि चाँडै कम्युनिस्ट सरकार ल्याउनुपर्छ अनि सबै एकनास हुन्छ, बोल्न पाउँछ भन्नुहुन्थ्यो । त्यसैले बैठकमा जाने, उहाँहरूको कुरा सुन्ने गर्थ्याैं।
पहिले अनेमसंघ, किसान संघ, बाल सङ्गठन भन्थ्यो, त्यसैमा जान्थ्यौँ । हामी रातमा लुकिछिपी जान्थ्यौँ । २०३६ सालमा पार्टीको बैठकमा हिँड्ने सबै जनाले पैसा उठाएर १० रुपैयाँ उठाएर क्यासेट (चक्का) किनेका थियौँ । त्यही क्यासेट सुन्नलाई टाढा टाढाबाट एक ठाउँमा भेला हुन्थ्यौँ ।
भाग एक, दुई, तीन, चार भन्दै जनवादी गीतका क्यासेट हुन्थ्यो । गीतहरू सुन्न एकदमै मन पर्ने तर पञ्चायत सरकारको पालामा उज्यालो बाल्न ’नि नपाउने । त्यही पनि रातिको बेला छामछुम गर्दै गीत सुन्न जान्थ्यौँ । त्यसरी गीत सुन्न ठुली भाउजू, माइली आमाहरूसँगै हिँड्थ्यौँ ।
हाम्रो ठुलो भाउजूलाई नाम ‘तारा’ भन्नुहुन्थ्यो । कमरेडहरूले नै राख्देको नाम हो । कान्छी भाउजूको नाम ‘चञ्चली कमरेड’ भनेर राख्दिनुभ’कोथ्यो । मलाई गाउँमा ठुलीकान्छी नामले बोलाउने भएर, पार्टीमा पनि मलाई ‘कमरेड ठुलीकान्छी’ भनेर बोलाउँथे ।
मलाई पार्टीको बैठकहरू, कार्यक्रममा जान घरबाट कसैको रोकतोक थिएन । दाइभाउजूले भनेपछि आमाबुवाले सहजै मान्नुहुन्थ्यो । त्यसैले स्वतन्त्र भएर हिँड्न पाएँ । दिनभरि घरको काम सक्काएर रातिमा बैठकमा हिँड्ने गर्थ्याैं । पैँतिस सालदेखि सैँतिस सालसम्म पार्टीका लागि हिँडेँ ।
पञ्चायतमा भूमिगत राजनीति गरेँ । अठ्तिस सालमा बिहे भयो । उन्चालिस सालमा छोरा जन्म्यो । फेरि छोरीको पनि जन्म भयो । त्यसपछि म बाहिर हिँड्न पाएन । २०४० सालको पिस्कर हत्याकाण्डपछि यहाँको माहोल नै फरक भयो । कोही पनि हिँड्न नपाउने । सङ्गठन गर्न पनि नपाउने । दुई जना सहिद भए ।
सहिदहरूको सम्झनामा सहिद दिवसको कार्यक्रम पनि तौथली, टेकानपुरमा गर्नुपथ्र्यो । त्यहाँ पनि श्रीमान् सहभागी हुने, म घरव्यवहारमै अलमलिएँ । सानो दुइटा बच्चा, गाई, बाख्रा समाल्ने मेरो पाटोमा पर्यो । त्यसपछि म घरबाट निस्कन पाएन ।
पिस्कर हत्याकाण्डभन्दा अगाडि २०३९ सालमा सुनकोसीमा एउटा कार्यक्रम भएको थियो । त्यो कार्यक्रममा धेरै मानिस जम्मा हुने भनेको भएर छोरालाई लिएर कार्यक्रममा गएँ । त्यहाँ पञ्चायतको ज्यादती प्रत्यक्ष देखेँ । कार्यक्रम भइरहेको ठाउँमा पुलिसहरू आएर मञ्च सबै भताभुङ्ग पारिदिए । अनि पञ्चायतको बारेमा सबै कुरा थाहा पाएँ ।
पुलिसहरूले त्यहाँ गएका सबैलाई ‘भाग् भाग्’ भन्यो तर हामी भागेनौँ । एकछिनमा कसैलाई गोली हान्यो, लौरोले हान्यो । कति घाइते भए, कति जनाको हातखुट्टा भाँचियो । त्यस्तो घटना आफैँ सहभागी भ’को कार्यक्रममा देखेँ ।
दुई हजार चालिस सालको माघको घटनापछि दिनदिनै पुलिस आउने, घरमा बस्न नदिने, केटालाई भेट्यो भने कुट्ने, जेल लैजाने, थुन्ने । केटी, महिलालाई भेट्यो भने अनेक प्रश्न सोध्ने, घरको मान्छे काँ छ देखा भन्ने गर्थ्याे । घरमा, गोठमा पनि बस्न नदिने । पुलिसले घर, गोठ जताततै खोज्थ्यो ।
चौबिसै घण्टा काम गर्नेले पनि
खान नपाएपछिको प्रतिक्रिया
– राजकुमार थामी
म नौ वर्षको थिएँ त्यतिखेर । म २०३१ सालको हो । चालिस सालमा घटना घट्या हो । २०३७ सालदेखि नै हाम्रो घरमा मात्र नभएर गाउँमा सबै ठाउँमा मिटिङ राख्ने, मान्छे जम्मा हुने त्यो कार्यक्रम हुन्थ्यो । २०४० सालको घटना कसरी भयो भने त्यहाँ एउटा सांस्कृतिक कार्यक्रम गर्ने कुरा त्यहाँ हाम्रो पार्टीले नै गर्या’थ्यो ।
कार्यक्रममा हामी दाजुभाइ, दिदीबहिनी, भाइबहिनी, आमाबुवा सबै जना भेला हुनुपर्छ । वारिपारि छिमेकी गाविसबाट पनि डाक्ने र त्यहाँ जनताको गीत गाउने, जनताको छोराछोरीलाई केही कुरो गरेर, सङ्घर्ष गरेर सुखको दिन ल्याउने भन्नुभ’को हुनाले सांस्कृतिक कार्यक्रम हेर्न गयौँ ।
करिब करिब चार/साढे चार बजेतिर कार्यक्रम सिद्धिने–सिद्धिने टाइम भा’थ्यो । त्यतिखेर त्यहाँ खाजा बाँड्ने एकथरी पनि थिए दाजुभाइहरू । अर्कोथरी त्यहाँ गाउने नाच्नेहरू रमाइलो गर्नेहरू पनि थिए त्यतिखेर । तर पुलिस प्रशासनहरू आएर सिधै गोली, नहानीकन खुट्टातिर या आकाशतिर डर देखाउनको लागि, पड्काइदियो । दुई जना सहिद भए । इली थामी र वीरबहादुर थामी भन्ने ।
पिस्करमा यस्तो–यस्तो घटना घट्यो रे भनेर चारैतिरबाट भन्यो । अनि, हाम्रो बुबाहरू पनि भागाभाग गरेर लुक्दै, काम गर्दै अनि लुक्दै गरेको । काम गर्दै गर्दा अलि माथि ४ नम्बर वडा बैती भन्ने ठाउँमाथि उहाँले घर बनाउनुभा’थ्यो । त्यतिखेरको अवस्थामा मान्छेले सुराकी लगाएर हाम्रो बुवा समातिनुभयो । पुलिसले समातेर लेर गइसकेपछि कम्तीमा डेढ वर्ष, दुई वर्ष चाहिँ जेलमा सडाइदिए ।
घरमा (ठुलो मान्छे) कोही थिएन । भाइ थियो, म थिएँ, दिदीहरू थिए । चार–पाँच वटा गाईवस्तु थियो । गाउँमा त्यस्तो उब्जाउ हुने केही थिएन । नभइसकेपछि हामी अब सानै उमेरमा गाउँ छोडेर अन्तै जाने, काम गर्ने, खाने, लाउने त्यही हुँदै थियो । २०४० सालमा त्यो घटना घटिसकेपछि २०४६ सालमा बहुदल घोषणा भयो ।
बहुदल घोषणा भइसकेपछि अनि त्यहाँबाट अलिअलि बोल्ने, सबैको मुख बोल्ने अधिकारजस्तै, अलिअलि बोल्न सक्ने भए । अनि आफ्नो बोली अर्कालाई सुनाउन, अर्काको बोली हामीले सुन्न पायौँ । त्यतिखेर त अरू नयाँ मान्छे पनि भेट्यौँ भने हामीलाई धेरै–धेरै डर लाग्थ्यो ।
हामीले पार्टी बचाउने भनेर २०४६ सालपछि कम्तीमा पनि एमालेले एउटा सरकार चलाउने, एमालेको सरकार आयो भने गरिबी हुँदैन, हामी औषधि उपचार गर्न पाउँछौ, भ्रष्टाचार हुँदैन, खान बस्न, गाँस, बास, कपास र पठनपाठनको सुविधा हुन्छ भनेर उहाँहरूले भन्नुभा’थ्यो । तर उहाँहरूले एकथरी भन्नुभो, अहिले अर्कोथरी भइदियो ।
हामीले केसम्म गर्यौँ भने यो पार्टी पिस्करमा जोगाउनको लागि, यो पार्टीलाई माथिल्लो स्तरमा पुर्याउनको निम्ति हामीले घरैपिच्छे पैसा उठाएर, गहुँ, मकै, भटमास उठाएर, दिउँसो कार्यक्रममा जाने गर्थ्याैं । कति उठाउँछस् पैसा भन्लान् भनेर सबै जना जुट्ने, देउसी खेल्ने कार्यक्रम पनि बनायौँ । टिम पनि धेरै बनायौँ ।
महिला संघको एउटा टिम, किसानको किसान संघ, युवा संघ अनि सङ्गीत टिम एउटा गरेर सबै ठाउँमा देउसी खेल्थ्यौँ । देउसी खेल्न मुढे, निङ्गाले, खरिढुङ्गा, धारेढुङ्गा, खानीखोला, पाखरपेड्कु, देउरालीतिर पनि देउसी खेलेर ल्याएको पैसा पार्टीलाई बुझाउँथ्यौँ । यसरी पार्टी ठुलो भएको हो ।
आठ घण्टा चाहिँ काम गर्न पर्छ भनेर उहाँहरूले हामीलाई सिकाउनुभो । अनि, हेर्दाखेरि अहिले आठ घण्टा होइन, चौबिसै घण्टा काम गर्नेले गर्या छ, खान पा’छैन । हाम्रो अवस्था हिजो जस्तो छ, त्यस्तै छ अहिले पनि । हामीले रातारात त्यतिका देउसी खेल्यौँ, रातारात भनेनौँ, दुःख भनेनौँ, उकालो भनेनौँ, ओरालो भनेनौँ, लड्दैपड्दै गरेर हाम्रो रगतपसिनाले भिजेको छ पार्टी ।
पहिला एकता थियो, कम्युनिस्टको सबैको । २०५२ सालमा माओवादी निस्किेपछि केही मान्छे माओवादीतिर लागे । हामी एमाले नै थियौँ । २०७४ सालको चुनावसम्म हामी एमाले नै थियौँ । त्यहाँबाट पछि जतिखेर पनि यो वर्ष ’नि हुँदैन, त्यो वर्ष ’नि हुँदैन भन्ने भयो । त्यो भएको कारणले २०७४ सालमा मैले पार्टी परिवर्तन गरेँ । मैले कसैलाई भोट दिइनँ । मैले एमाले पार्टी छोड्दिएँ ।
मकै लाए पनि, धान रोपे पनि, गहुँ छरे पनि एक वर्षमा कम्तीमा पनि खान पाइन्छ नि धेरथोर ! तर, हामी पार्टीमा ला’थ्यौँ, दुःख मात्रै गर्यौँ । परिवर्तन केही पनि भएन । त्यो भएको हुनाले पार्टी त्याग गरेर निस्केको हो । त्यो पार्टीलाई छोडेर हामी आठ–दस जना राप्रपामा गयौँ । हिजो ‘दमन गरेको राप्रपाले’ भन्थ्यो, भोलि उनीहरूले लेखाजोखा गरोस् न भनेर हामी राप्रपातिरै गयौँ ।
सहिदको नाममा स्मारक
परिवार भने छाप्राको छाप्रामै
– तिलकमान थामी
अमृत (अमृतकुमार बोहरा) २०२८ सालमा भूमिगत भएको । हामीहरूका लागि सङ्घसङ्गठन गर्ने काम २०३५ सालबाट सुरु भएको हो । त्यसपछि आन्दोलन गर्दा धान काण्ड, वन काण्ड त्यस्ता विभिन्न काण्डहरू भएर मुद्दा पर्यो ।
पैँतिस सालमा आठ–नौ जना जेल पर्यो । २०३६ सालमा जनमत सङ्ग्रह भयो । जनमत सङ्ग्रहमा पनि बहुदल ल्याउनुपर्छ भनेर जुलुस गरायो । हामी जुलुसमा सामेल भयौँ । २०४० सालमा पिस्करको महादेवस्थान मन्दिरमा एउटा सांस्कृतिक कार्यक्रम भयो । राति भाले बास्ने नाटक थियो । त्यसमा म पनि थिएँ ।
पुसको मसान्तको रातमा सांस्कृतिक कार्यक्रम भयो । उज्यालो हुने बेलामा कार्यक्रम सिद्धियो भनेर भनियो । त्यो कार्यक्रम सकेपछि खाजा खुवाउने भनेका थियौँ । मकै, भटमास जनतासँग उठाएर भुटेर लगेर त्यहाँ राखेको थियो ।
पहिला यहाँ (बिजुली) बत्तीको चलन थिएन । मैन्टोल बालेर कार्यक्रम गरेको थियो । अनि, चारैतिरबाट पुलिस आएर घेरेको रहेछ । उनीहरूले पहिला मैन्टोलमा फाइरिङ गरेछन् । त्यसपछि ढुङ्गामुढा भयो । पुलिसले गोली चलायो । दुई जना मरे ।
सांस्कृतिक कार्यक्रम (पुस) मसान्तको दिनमा भएको, (माघ) १ गते गोली चलेको । अनि, २ गतेको दिनमा फेरि प्रहरी आइसकेपछि यो गाउँको केटामान्छे जतिलाई समात्ने भने । त्यसपछि हामी जम्मै तितरबितर भयौँ । भागाभाग गर्याैँ ।
यहाँ गाउँमा महिलामान्छेबाहेक कोही केटामान्छे बस्न सक्ने भएन । एक महिनासम्म स्कुलमा प्रहरी बस्यो । त्यति बेला हामी वनमा जान्थ्यौँ । हिउँ आ’को थियो । त्यो दुःख, कष्ट काटेर भूमिगत जस्तै भयौँ ।
पार्टीका मानिसहरूले के भन्थे भने पहिले शोषित, पीडित, गरीब जनताको हितमा काम गर्ने सरकार हुनुपर्छ । उनीहरूले ‘धनिमानी एकसरो बनाउनुपर्छ’ भन्ने कुरा गर्थे तर त्यो भएन ।
चुनावमा हामीलाई पनि टिकट चाहिन्छ भन्दा टिकट नदिएर उनीहरू आफैँ उठे । त्यो भएकाले हामी २०५४ सालमा बिछोड भयौँ । त्यसपछि हामी पार्टी छोडेर स्वतन्त्रबाट उठ्यौँ ।
अहिले हामी इली र वीरबहादुरको परिवारलाई मात्र हेर्न भन्छौँ । सहिदको नाममा भनेर यहाँ स्मृति दिवस मनाउनुहुन्छ । जहिले पनि, बर्सैपिच्छे कार्यक्रम राख्नुहुन्छ । कार्यक्रममा सहिदहरूलाई एउटा खादा र माला लगाएर मात्र पुग्दैन ।
आन्दोलनले गर्दा यो पिस्करको देश विदेशमा प्रचारप्रसार भयो । त्यति बेला यहाँ भएको गोली काण्ड र दमनको विरोध भयो । विरोध भएपछि दमन, धरपकड अलि कम भयो तर हामीलाई आन्दोलन गर्न लगाउने नेताहरूले त्यो बेलामा बोलेका कुराहरू बोल्ने मात्र भयो ।
बोलेका कुराहरू व्यवहारमा लागू भएन । उनीहरू पहिले ‘कम्युनिस्ट पार्टीको सरकार भएपछि तपाईंहरूको हितमा काम गर्ने सरकार हुन्छ, तपाईंहरूले केही गर्नु पर्दैन’ भन्थे । ‘तपाईंहरूले आठ घण्टा काम पाउँछ, काम पाएपछि खान लगाउन सरकारले गरिदिन्छ’ भनेर पनि नेताहरूले हामीलाई भन्थे तर त्यो भएको छैन ।
इली र वीरबहादुरको छाप्रो हेर्नुस् न् ! अहिलेसम्म केही पनि गरेको छैन । हामी जनतालाई झन् के गर्लान् ?
प्रकाशन मिति : २०८१ माघ २२ गते, मङ्गलवार
पिस्कर काण्डका थप कथाहरू यहाँ पढ्नुहाेस्