Home Stories वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल

वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल

86
0
आफ्नै समुदायका बालबालिकालाई बिहान ट्युसन पढाउँदै सन्ताेषी वनकरिया

करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापका वनकरियाले आफ्नो बस्तीमा पुस्तकालय पनि बनाउने भनी केही समयदेखि किताब सङ्कलन गरेर राख्‍न थालेका हुन् ।

वनकरिया बस्तीका ३६ बालबालिकाले विद्यालय तहका विभिन्‍न कक्षामा अध्ययन गर्दैछन् । समुदायकी अगुवा सन्तोषी वनकरियाका अनुसार, खासगरी स्कुल जाने विद्यार्थीले पुस्तक अध्ययन गर्ने बानी बसालून्, फुर्सदको समयमा मोबाइल, टेलिभिजन लगायत अरू ठाउँमा धेरै अल्मलिएर समय खेर नफालून् भनेर आफ्नै बस्तीमा पुस्तकालय बनाउने पहल थालिएको हो ।

वनकरिया समुदायका छ जनाले २०८० सालसम्म एसईई उत्तीर्ण गरिसकेका थिए । उनीहरू उच्चशिक्षामा विभिन्‍न विषय लिएर पढिरहेका छन् । यस समुदायमा स्कुले बालबालिकासँगै समुदायमा प्रौढकक्षा पढ्नेहरू पनि छन् । समुदायकी अगुवा सन्तोषी भन्‍नुहुन्छ, “स्कुले भाइबहिनीसँगै प्रौढकक्षा पढ्नेहरूले पनि फुर्सदको समयमा किताब हेर्न पाउनुहोस् भनेर केही किताबहरू सङ्कलन गरिरहेको छु ।” उहाँले ती किताब सामुदायिक भवनको एउटा कोठामा यत्तिकै राखिएको, किताब राख्‍ने दराज किन्‍न बाँकी रहेकाले केही व्यक्ति र संस्थासँग आर्थिक सहयोग गरिदिन आफूले आग्रह गरेको पनि बताउनुभयो ।

समुदायका अधिकांशले शिक्षाको महत्त्व बुझेका छन् । प्रौढकक्षा पढेर साक्षर भई घरव्यवहार र समुदायको नेतृत्व सम्हाल्ने काममा भने महिलाहरू अगाडि रहेका छन् ।

सन्ताेषी वनकरिया

नेपालको आदिवासी जनजाति समूहमा रहेको वनकरिया लोपोन्मुखमध्येको एक जाति हो । नेपाल सरकारले सबैभन्दा कम जनसङ्ख्या भएका १० वटा जातिलाई लोपोन्मुख जातिमा सूचीकरण गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यो जातिको जनसङ्ख्या १८० जना रहेको छ । तर, सन्तोषीको भनाइमा उहाँहरूको जनसङ्ख्या एकसय जनाभन्दा कम छ । ‘सन्धान’ टोली २०७९ साउनमा वनकरिया बस्तीमा पुग्दा उहाँले आफूहरूलाई नेपालका अरू ठाउँमा पनि वनकरिया छन् भन्‍ने थाहा नभएको बताउँदै भन्‍नुभएको थियो– यो बस्तीमा भएको वनकरिया हामी ७९ जना मात्रै हो । सरकारले कसरी १८० जना गणना गर्‍यो, अरू कहाँ छन्, हामीलाई थाहा छैन ।

करिब दुई दशकभन्दा अघिसम्म बस्ती नजिकको जङ्गलमै बस्‍ने, खाने गरेर फिरन्ते जीवन बिताएका वनकरियाहरू २०६२ सालदेखि मकवानपुर जिल्लाको मुसेधाप भन्‍ने ठाउँमा घर बनाएर बस्न थालेका हुन् । मुसेधापस्थित जङ्गल (आरक्ष) क्षेत्रमा सरकारले उनीहरूलाई २० वर्षका लागि बसोबास गर्न दिए पनि अझैसम्म आरक्ष क्षेत्र भएकाले घरजग्गाको स्वामित्व नदिएको अवस्था छ । मुसेधापमा घर बनाएर आफैँले कमाइ गरी खाँदै आएको जमिन पनि आफ्नो नाममा नभएको गुनासो उनीहरूले विगतदेखि नै गर्दै आएका छन् । २०७९ साउनमा अधिकांश स्थानीयले आफूहरूलाई प्रदेश र सङ्घीय सरकारले वर्षौंदेखि स्थायी बासको आश्वासन दिए पनि नपाएको बताएका थिए । वनकरिया अगुवा सन्तोषीका अनुसार, सरकारले दिएको त्यो आश्वासन अहिलेसम्म पनि आश्वासनमै सीमित छ ।

याे पनि पढ्नुहाेस्


Previous articleआदिवासी महिलाका ऐतिहासिक भूमिका र आन्दोलन
Next articleमहिला पुस्तक प्रदर्शनी र पारिजात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here