झन्डै चार दशकअघि साहित्यकार पारिजातको संयोजनमा काठमाडौँमा महिला पुस्तक प्रदर्शनी भएको थियो । २०८१ वैशाखको पूर्वार्धमा फेरि ‘मैले चिनेको पारिजात’ अन्तरसंवाद शृङ्खला सहित महिला पुस्तक प्रदर्शनीको आयोजना गरियो । पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सको आयोजनामा काठमाडौँमा भएको पाँचदिने सो प्रदर्शनीमा महिला लेखन र सरोकार लगायतका विषयमा छलफल पनि भयो ।
वैशाख ११ देखि १५ गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा भएको उक्त प्रदर्शनीमा महिला सवालसँग सम्बन्धित विभिन्न विषयका पुस्तक राखिएका थिए । प्रदर्शनीमा खासगरी साहित्यकार पारिजातका सम्बन्धमा विभिन्न कोणबाट शृङ्खलाबद्ध अन्तरसंवादका अतिरिक्त प्रकाशकको चाहना, कठिनाइ र सम्भावना, गीतमा प्रतिनिधित्व, सङ्घर्षगाथा र रङ्गमञ्चमा महिला सरोकारका सवालमा पनि छलफल गरिएको थियो ।
वैशाख ११ गते मङ्गलवार भएको ‘मैले चिनेको पारिजात–१’ अन्तरसंवाद शृङ्खलाको पहिलो सत्रमा शान्तिकुमारी राई र राजेन्द्रप्रसाद अधिकारी हुनुहुन्थ्यो भने सोही दिन नै भएको ‘मैले चिनेको पारिजात–२’ अन्तरसंवादमा वक्ताहरू इन्दिरा दली र रघुजी पन्त हुनुहुन्थ्यो ।
वैशाख १२ गते बुधवार भएको ‘मैले चिनेको पारिजात–३’ अन्तरसंवादमा प्यानलिस्टका रूपमा पम्फा भुसाल र आहुति हुनुहुन्थ्यो । बुधवारकै दोस्रो सत्रमा ‘महिला लेखन : कठिनाइ र सम्भावना’ विषयमा विमल आचार्यले सहजीकरण गर्नुभएको प्यानलमा वक्ताहरू सुलोचना मानन्धर, धनकुमारी सुनार र कैलाश राई हुनुहुन्थ्यो ।
वैशाख १३ गते बिहिवार भएको ‘लेखक, प्रकाशक र बजार’ विषयक छलफलकोे प्यानलमा डा. अर्चना थापा, गणेश सुवेदी र राजेश्वरी सुवेदी हुनुहुन्थ्यो भने सहजीकरण पत्रकार दीपक सापकोटाले गर्नुभएको थियो । बिहिवार नै ‘पारिजात, मिथक र यथार्थ : अन्तरसंवाद’ सम्पन्न गरियो । यस अन्तरसंवादका मुख्य वक्ताहरूमा डा. महेश मास्के र अमृता शर्मा हुनुहुन्थ्यो ।
वैशाख १४ गते शुक्रवार ‘मैले चिनेको पारिजात शृङ्खला ४’ सम्पन्न भयो । यसका वक्ताहरूमा खगेन्द्र सङ्ग्रौला, विष्णुदेवी श्रेष्ठ र राजकुमार केसी हुनुहुन्थ्यो । शुक्रवारको दोस्रो प्यानलमा ‘नेपाली गीतमा महिला प्रतिनिधित्व’ विषयक छलफलमा विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो भने गीता त्रिपाठीले समीक्षा गर्नुभएको थियो ।
प्रदर्शनीको अन्तिम दिन वैशाख १५ गते शनिवारको पहिलो सत्रमा ‘मेरो सङ्घर्षगाथा’ र दोस्रो सत्रमा ‘रङ्गमञ्चमा महिला’ शीर्षकमा छलफल भयो । पहिलो सत्रका वक्तामा उमा भुजेल हुनुहुन्थ्यो भने दोस्रो सत्रका वक्तामा सरिता साह, सिर्जना अधिकारी र अशोक थापा हुनुहुन्थ्यो । शनिवार भएको कार्यक्रमको सहजीकरण लेखक तथा पत्रकार लक्ष्मी रुम्बाले गर्नुभएको थियो ।
काठमाडौँमा हरेक वर्ष विभिन्न समयमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन लगायत विभिन्न प्रकाशन गृहले पुस्तक प्रदर्शनी गर्दै आए पनि महिलासम्बन्धी मात्रै पुस्तक प्रदर्शनी भने निकै कम हुने गरेको छ । यसअघि २०८० चैत ३ गते फोटो सर्कलको आयोजनामा महिला पुस्तक मेला भएको थियो । पारिजात स्मृति केन्द्रका अनुसार, पहिलो महिला पुस्तक प्रदर्शनी २०४२ सालमा काठमाडौँस्थित भारतीय पुस्तकालयमा भएको थियो । चैत १ देखि ७ गतेसम्म भएको उक्त प्रदर्शनी साहित्यकार पारिजातकै संयोजनमा भएको जानकारी केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले उद्घाटन अवसरमा दिनुभयो । उहाँले महिला पुस्तक प्रदर्शनीले महिला साहित्यकारहरूमा असल र गुणस्तरीय कृति लेख्ने उत्प्रेरणा जागृत गर्न योगदान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
महिला पुस्तक प्रदर्शनीकै सन्दर्भ पारेर ‘सन्धान’ ले ‘विष्णुकुमारी वाइबा कसरी पारिजात बनिन् ?’ शीर्षकको अन्तर्वार्तालाई साभार प्रस्तुत गरेको छ । यसअघि २०४४ सालमा ‘वेदना’ साहित्यिक पत्रिकाको कात्तिक–चैत अङ्कमा र ‘मूल्याङ्कन’ पत्रिकाको २०५० जेठ अङ्कमा प्रकाशित यस अन्तर्वार्तालाई पारिजात स्मृति केन्द्रको वेबसाइटमा पनि राखिएको छ । त्यसैलाई सामान्य सम्पादनसहित ‘सन्धान सहकार्य’ अन्तर्गत प्रकाशन/प्रसारण गर्न पाएकामा सम्बद्ध पत्रिकाहरू र पारिजात स्मृति केन्द्रप्रति सधन्यवाद आभार व्यक्त गर्दछौँ ।
उपलब्ध : विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ( पारिजातको अन्तर्वार्ता )
विष्णुकुमारी वाइबा कसरी पारिजात बनिन् ?
समग्र नेपाली साहित्यकै विशिष्ठ प्रतिभा तथा नेपाली प्रगतिवादी साहित्य क्षेत्रकी अग्रणी व्यक्तित्व पारिजातको निधनले नेपाली समाजमा अपूरणीय क्षति भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हामी यस अङ्कमा पारिजातकै शब्दहरूबाट र समालोचक निनु चापागाईको मूल्याङ्कनबाट पाठकहरूलाई उहाँको बारेमा समग्र परिचय प्राप्त गर्न मद्दत मिलोस् भनी सामग्रीहरू प्रस्तुत गर्दैछौँ ।
हामीले यहाँ ‘वेदना’ साहित्यिक पत्रिका २०४४ कात्तिक–चैतमा प्रकाशित उहाँसँगको एक लामो र विशेष अन्तर्वार्ता समावेश गरेका छौँ । यसबाट पारिजातको विचार, स्थिति र अन्तरमनका थुप्रै कुरा प्रकाशमा आएका छन् । सम्पादक राजेन्द्रप्रसाद अधिकारीसितको यस अन्तर्वार्तामा २०४४ सालतिरका कतिपय घटनासन्दर्भहरू पनि उल्लेख भएका छन् । तिनीहरूले पनि उहाँलाई बुझ्न नै सघाउ पुर्याउने छ भन्ने हामीलाई लाग्दछ ।
पारिजातज्यू, जीवन के हो ?
विभिन्न समाज परिवर्तनको विभिन्न कालमा विभिन्न युगद्रष्टा, दार्शनिक, विभिन्न धर्मप्रवर्तक तथा वैज्ञानिकहरूले आ–आफ्ना परिभाषा दिएर गएका भए तापनि यस कठिन प्रश्नको सरल प्रत्युत्तर दिन मबाट सम्भव छैन । प्रकृतिमा रहेका लाखौँ जीवधारीहरूमध्ये मान्छे जात (पृथ्वी बाहेक अरू ग्रह नक्षत्रहरूको सम्भावित प्रकृतिलाई छोडिकन) उच्च मस्तिष्कधारी र विकासशील सामाजिक प्राणी भएकाले मान्छेले मान्छेको जीवनको परिभाषा दिन सक्तैन, यसो पनि भन्न सकिन्न । यस अनन्त र अन्तहीन समयभित्र कुनै पनि वस्तुको रूप र आकार हुन्छ जस्तो गरिकन म जीवनलाई कसरी खोजूँ ? विन्दु, रेखा र मान्छेको जीवन पनि ? तर, अनन्त ‘म’ लाई सम्झँदा पनि कहाली लागेर आउँछ ।
यस अनन्तभित्रबाट एउटा जीवनलाई चोइट्याएर परिभाषित गर्नु ? के म साँच्चै दुस्साहस गरूँ, यस प्रश्नको जवाफ दिन ? कोही भन्छन्– जीवन मायाजाल हो । कोही भन्छन्– जीवन सपना हो । कोही भन्छन्– जीवन आज हो कि भोलि ? कोही भन्छन्– जीवन बग्ने नदी हो । भैगो, छोडिदिऊँ यी सबै । सामान्यतया जन्मदेखि मृत्युसम्म (यो अवधि चाहे लामो होस् अथवा छोटो) उमेर र अनुभूतिहरूसँग हेलिँदै परिवर्तन हुँदै, विकसित हुँदै जाने एउटा निश्चित अवधिको नाउ हो जीवन ।
जीवन सधैँ गतिशील छ । जीवनमा विभिन्न अनुभवहरू हुन्छन् । माया प्रेम, घृणा, भोक, शोक, यौन, सङ्गति, विसङ्गति, सहअस्तित्व, आशा, निराशा । र, जीवनमा हुन्छ– परिस्थितिहरूसँग जुझ्दै जसरी भए पनि बाँच्नै चाहने एउटा प्रबल जिजीविषा । एक हत्केलामा मृत्यु लिएर जन्मेका मान्छेजात बाँचुन्ज्याल यस मृत्यु विभीषिकाप्रति अचेत जस्तै रहन्छन् । जीवनसँग जिउनुको यो कस्तो अनुबन्ध ? अनौठो छ । तपाईंहरूले मलाई जीवन के हो भनी सोध्नुभएको छ, यसको मूल्य होइन । त्यसैले म यति नै भन्न सक्छु ।
त्यसो भए जीवनको मूल्य के हो त ?
जीवनप्रति अर्थपूर्ण दृष्टि राख्नु र आस्थावान हुनु नै जीवनको मूल्य हो ।
अनि मृत्यु ?
जीवनको परिभाषा दिइसकेपछि अब मृत्युको परिभाषा दिन मलाई त्यति गाह्रो पर्ने छैन । कारण, जीवनको एक छेउ जन्म र अर्काे छेउ मृत्यु हो ।
जन्म सुरुआत हो र मृत्यु अन्त । मर्नेलाई मृत्युबारे केही थाहा हुँदैन तर बाँच्नेहरूको निम्ति मर्नेहरूको मृत्यु स्वभावतः दुःखपूर्ण हुन्छ । कारण, मृत्यु यस भौतिक शरीरको अन्त हो । मर्नेको सम्झना र संस्मरणहरू बाँच्नेहरूको नै मस्तिष्कमा ज्युँदै रहन्छन् । यसैले दुःखको सृजना हुन्छ । युगद्रष्टाहरूले जीवनलाई जस्तै मृत्युलाई पनि विभिन्न किसिमले हेरेका छन् । यो यहाँ उल्लेख गरिरहन नपर्ला । मृत्युलाई तीन प्रकारमा राख्न सकिन्छ– सामयिक, असामयिक र आकस्मिक । निःसन्देह पछिल्ला दुइखाले मृत्यु दुःखपूर्ण हुन्छन् । जीवनको गतिशीलता एकाएक अथवा असामयिक तवरमा रोकिनुले समाजमा विसङ्गति तथा निस्सारताको भाव उत्पन्न गराउँछ । त्यसैले सचेत युगद्रष्टाहरू यस्ता भावहरूको सापेक्षमा मानव समाजलाई हेर्ने गरेको पाइएका छन् ।
मृत्युप्रतिका यस्ता अवधारणाहरूले जीवनलाई दुःखित नगरोस् भनी जन्मप्रतिभन्दा मृत्युप्रति बढी संवेदनशील, तार्किक र सारपूर्ण र मूल्यवान बनाउन सङ्केत प्रदान गर्दछन् । प्रकृतिमा पदार्थको उत्थान र विनाश अनिवार्य हुन्छ । फलस्वरूप जन्मसँग मृत्यु अनिवार्य छ । उत्थान किन यसरी विनाशसँग अनुबन्धित छ ? यसको प्रत्युत्तर फेरि उही अथाह अनन्तमा कसरी परिभाषित गर्ने ? पृथ्वी आफैँ पनि एकदिन आफूभित्रको तापक्रम सिद्धिएपछि आफैँ नष्ट हुन्छ । भनिन्छ– भौगोलिक हिसाबले आजसम्म पृथ्वीको माथिल्लो सतह ४० माइल जति कडा भइसकेको छ । त्यसभित्र पृथ्वी अझ पनि विगलित अग्निकै अवस्थामा छ । सबै कडा भइसकेपछि पृथ्वीको भित्री ऊर्जा सिद्धिन्छ र पृथ्वीको अन्त हुन्छ ।
अब छोटकरीमा, मृत्यु मानव शरीरको भौतिक अन्त हो । अनुभूति र जीवनको अन्त । विशिष्ट जीवन बाँच्ने महामानवहरू इतिहासमा बाँच्छन् । वैज्ञानिक प्रविधिको विकास भइरहेकै छ । हेरौँ, अझ के के हुन्छ !? अमेरिकाको टफ्ट्स युनिभर्सिटी (Tufts University) मा ‘फिजिक्स’ विषय लिएर पिएच्डी गर्न जानुभएका मुकुन्दमणि अर्यालले केही वर्षअघि बिदामा आउनुहुँदा मलाई भन्नुहुन्थ्यो– हामीले ‘इन्फाइनाइट’ को परिभाषा लगाइसकेका छौँ । म तपाईंलाई यसको ‘रेडियस’ खिचेर देखाइदिन सक्छु । यति भन्नासाथ मैले अघि बोल्न दिइनँ । उहाँलाई रोकिदिएँ । तपाईंहरूले मलाई यस्तो गाह्रो प्रश्न सोधेर गुन लगाउनुभएको छ ।
तपाईंको विचारमा साहित्य के हो ?
साहित्य मानव सभ्यताको सर्वोपरि र गरिमाशाली अभिव्यक्ति हो । साहित्य समाजको ऐना मात्र होइन, यो त्रिआयामिक पारदर्शी स्वरूप पनि हो । कुनै पनि देशको सभ्यताको मूल्याङ्कन गर्दा प्रथम त यसको साहित्यको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । साहित्य ऐतिहासिक अवधिको विभिन्न समाज परिवर्तनको कारण वैचारिकता, रूप, विधा, शैली सबै पक्षमा परिवर्तन हुँदै जाने एउटा शृङ्खला हो ।
अनि सृजना नि ?
सृजना कला र साहित्यका विविध पक्षहरू हुन् । लिखित मात्र सृजना हुन्छ भन्ने होइन, सृजना अलिखित पनि हुन्छ ।
जीवन, मृत्यु, साहित्य यी सबै बाँचिरहेको र भोगिरहेको युगमा व्यक्तिको अस्तित्वलाई कसरी परिभाषित गर्नुहुन्छ ?
यो प्रश्न आफैँमा अलि नमिल्दो छैन र ? कुनै पनि कालमा उक्त सबै प्रक्रिया त चलिरहेकै हुन्छन् । अँ, समाज क्रमशः परिष्कृततातर्फ गइरहेको हुन्छ । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तअनुसार समाज आफैँ पनि परिचालित भइरहेको हुन्छ । यसभित्र मान्छेजात पनि समाहित हुन्छ । मात्रात्मकदेखि गुणात्मक परिवर्तनमा फड्को हान्दा मान्छेको पनि प्रमुख भूमिका रहेको हुन्छ । यस परिवर्तनकारी प्रक्रियामा व्यक्तिको अस्तित्व सार्वभौम र विशिष्ट दुबै प्रकारले परिभाषित हुनसक्छ ।
आकांक्षा, शिरीषको फूल, राल्फा आन्दोलन हुँदै प्रगतिवादी लेखनसम्म आइपुगेको आफ्नो साहित्यिक यात्रालाई तपाईं कसरी हेर्नुहुन्छ ?
शारीरिक र मानसिक दुवै किसिमका भोगाइहरूबाट हेर्ने हो भने मेरो जीवनलाई म एउटा विशिष्ट जीवन बाँच्नेहरूमा राख्न चाहन्छु । तपाईंहरूले जति सजिलोसँग यो प्रश्न उठाउनुभएको छ, त्यसको विपरीत मेरो यस अवधिभरिको यात्रा दस खण्ड बढी जटिल र घुमावदार छ । सायद, यस महाकाव्यलाई म आत्मसंस्मरणहरूमा भर्दै जान सक्छु ।
छोटकरीमा के भन्न सकिन्छ भने आकांक्षा (कविता सँगालो) वैचारिक समय हेरिकन त्यो स्वाभाविक छ । कविताभन्दा उपन्यास मलाई लेखन तथा शैलीगत दुवै पक्षले अपरिपक्व कृति हो भन्ने लाग्छ । उमेर र म बाँचेको त्यस समय हेरिकन त्यो स्वाभाविक छ । कविताभन्दा मलाई उपन्यास लेखनमा बढी रुचि थियो । स्नातकको शिक्षा लिँदासम्ममा मैले विशेष रसियाली, भारतीय र फ्रान्सेली उपन्यासहरूको प्रशस्त अध्ययन गरेँ । म नेपाली उपन्यास विधासँग पटक्कै सन्तुष्ट हुन सकिनँ । मभित्र एउटा बेजोड उपन्यास लेख्ने महत्त्वाकांक्षाको राक्षसले शिर उठाउन थाल्यो र आई.ए. देखि बी.ए. पास भइसक्दा जम्मा चार वटा उपन्यासका ठेली लेखेँ । ‘संघर्ष’, ‘मानव अन्तर्यामी’, ‘शारदा’ र ‘वर पीपल’ चित्त नबुझेपछि सुकन्याको आँखा छलेर ती सबै जलाइदिएँ । महत्त्वाकांक्षाको त्यो राक्षस अझ प्रबल हुँदै गयो । यता एउटा बेजोड उपन्यास लेख्न नपाउँदै अर्को बेजोड राक्षस रोगले मलाई तीन वर्ष बिछ्यौनामा कैद गरिदियो । त्यसै राक्षस महत्त्वाकांक्षाको परिणति हो– ‘शिरीषको फूल’ ।
उपन्यास सुरु गर्नुभन्दा पहिले मेरो सानो इच्छा थियो– गोर्खा सिपाहीलाई बदनाम गर्ने । त्यो किनभने, मैले सानो छँदा गोरा सिपाहीहरूका र आतङ्कको कथा थुप्रै सुनेकी थिएँ । दार्जिलिङमा त्यस्ता अप्रिय घटनाहरू घटिरहन्थे । र, मलाई पछि लाग्यो– यी बेफ्वाँकमा अर्काको निमित्त ज्यान गुमाउने गोर्खाहरू पनि त बदनाम नै हुँदाहुन् । त्यसपछि मेरा दाइ श्री के.एस. लामा, उहाँका साथी श्री जे.एम. मोक्तान, जो डेथ भ्यालीबाट भागेर बाँचेर आएका थिए । र, श्री बद्रीनरसिंह त्यस्तै अनुभव भएका । विश्वयुद्धका यी तीन भूतपूर्व सैनिकहरूसँग अन्तर्वार्ता लिएर काठमाडौँको तत्कालीन क्यानभासमा लेख्न थालेको उपन्यास चर्चित पनि भयो । पुरस्कृत पनि भयो ।
राल्फा, जसलाई हामी सन्तति भन्थ्यौँ, जुट्ने काम अति साधारण तरिकाले भएको हो । गीतप्रेमी भएको नाताले गीतकै माध्यमबाट रायन र रामेशसँग चिनजान भयो र दिनदिनै चर्चित हुँदै गएको मेरो नाउँले मेरो सम्पर्क संसार पनि दिनदिनै विशाल हुँदै गयो । यसरी आए निनु, मञ्जुल, विमल र केही अरू पनि । हामीमा क्रमशः आत्मीयता बढ्दै गयो । विचारविमर्शको आदान–प्रदान पनि बढ्दै गयो । यो त समूहका कुरा भए । तर, एकातिर मेरो व्यक्तिगत जीवन सहज थिएन । म मरुभूमिको पैदल यात्रा गरिरहेकी थिएँ, मेरो कुनै ‘ओयसिस’ थिएन । मनस्थिति जता छाम्यो उतै रक्ताम्य । मेरो निम्ति जीवन काठको बिछ्यौनामा सुत्नु थियो ।
मेरो यस भीषण मानसिक यातनाको समक्ष मेरो बढ्दो लोकप्रियता मलाई उपहास गरिरहेको जोकर जस्तो लाग्थ्यो । प्रेमको बहाना, विवाहको संकल्प अनि पलायन, कामुक आँखाहरूको पोलाइ, एक्लै बस्नु डरमर्दो ! कतै कसैले एकाएक सकम्बरी तुल्याइदिने हो कि ? कुनै ईष्र्यालुले सुतिरहेको बेला धसेर गइदिने हो कि ? क्षण क्षणको यो डर, आर्थिक कष्ट, ईष्र्या, डाहा । खप्नै नसकेपछि म झन् झन् खुम्चिँदै, सानो हुँदै राल्फाभित्र आफूलाई लुकाउँदै लगेर सोचेँ– म सुरक्षित हुँदैछु । तर राल्फाभित्र पनि म पारिजात त्यति सुखी थिइनँ । तनावको फाँसीमा झुन्डिएर बाँचिरहेकी थिएँ । यस्तो मानसिकता लिएर मैले कतिपय घोर विसङ्गत कविताहरू लेखेँ, कथाहरू लेखेँ । त्यति नै खेर थाहा भयो– मान्छेको जिजीविषा कति प्रबल हुन्छ भन्ने कुरा । विसङ्गति मान्छेको जीवनको अन्त्य होइन । मभित्रको लगातार द्वन्द्वले ममा समाजप्रति तीव्र विद्रोहको भाव जाग्न थाल्यो । आक्रोशमा मैले हलुका शान्तिको अनुभव गर्न थालेँ । ठिक त्यति नै खेर राल्फा सन्तति पनि लोकप्रियताको चुली नाघेर आपसी अन्तर्विरोधमा जेलिन थालेको थियो । समय हाम्रो अनुकूल थिएन । विशेष प्रगतिशील खेमामा बुद्धिजीवीहरूले हामीमा चाख लिन थाले । गोविन्द भट्ट, आनन्ददेव भट्ट, मदनमणि दीक्षित, कृष्णप्रसाद भण्डारी आदि । विद्रोह मुखमा यसरी आइपुगेपछि हामी बाटो खोज्न बाध्य थियौँ । तर, वातावरण दिशाबोध गराइदिन सक्षम थिएन । अन्योलको वातावरण त्यतिखेर पनि थियो । उक्त सबै अनुभूतिहरूको आधारमा म राल्फालाई आफ्नो साहित्यिक यात्राको एउटा प्रमुख खुड्किलो ठान्दछु, जसमा टेकेरै मैले जनपक्षीय यात्रा पनि सुरु गरेकी छु । राल्फा नै एउटा यस्तो माध्यम रह्यो, जसले प्रगतिशीलतातर्फ अग्रसर हुन, भनौँ उन्मुख हुन, आत्मगत र वस्तुगत दुवैतर्फबाट बाध्य तुल्याइदियो । २०२६ साल हिउँदमा गरेको विराटनगरको भ्रमणले मलाई अत्याइदिने स्थितिमा पुर्याइदिएको थियो ।
विशेष गरिकन ‘पंचामृत’ का सम्पादकहरूसँग भएको व्यापक वादविवाद र छलफल । त्यहीँ नै मैले देखिसकेकी थिएँ कि समूहमा आफूलाई विभाजित पारेपछि मात्र यो मनस्थिति सही ठाउँ (जनता) मा पुग्न सक्छ, यस कारण विद्रोह गर्नुपर्छ, क्रान्ति हुनपर्छ । दुःखको कुरो, यसको अघि नै म भेलोर उपचारार्थ गएको बेला पत्रिकाको माध्यमबाट चे ग्वेभारा, रजिस दब्रे र हर्वट मार्कुसबाट प्रभावित भइसकेकी थिएँ । यसरी व्यवहारवाद र उग्रवादबाट आउँदा म प्रगतिवादको हाराहारीमा बाटो बिराएको यात्री जस्तो भइरहेकी थिएँ । ऐन मौकामा कोही सहृदयी प्रगतिवादी मार्गदर्शाीहरूले मलाई यो बाटो हो भनी सही अध्ययनतर्फ सङ्केत गरिदिए । मेरो वर्ग चरित्र जस्तो रहेको होस्, मैले समाजलाई सामाजिक अर्थ व्यवस्थाबाट हेर्न थालेँ । मेरो आफ्नै अन्तरविरोधले पनि मलाई यस स्थितिमा ल्याइपुर्याइसकेको थियो । यसरी म प्रगतिवादप्रति प्रतिबद्ध भएँ । जीवनको यस टुङ्गोमा आइसकेपछि एकाएक मानसिक कष्टहरूको करिश्मामयी तरिकाले अन्त हुन्छ भन्ने होइन । सङ्घर्ष, अन्तरविरोध व्यक्तिको जीवनमा हुन्छ नै, तथापि सामाजिक विज्ञान अर्थात् वर्ग सङ्घर्षको ज्ञान हुन थालेपछि मान्छे त्यति र त्यसरी आश्वस्त हुन्छ, जति र जसरी म भएकी छु ।
तपाईंले आफ्ना पुराना केही कृतिहरूको पुनर्मूल्याङ्कनको माग गर्नुभएको छ– तपाईंको भनाइलाई अझ स्पष्ट पारिदिनुहुन्थ्यो कि ?
पुराना कृतिहरू भन्नाले मैले त्यो कुरा ‘आदिम देश’ र ‘सडक र प्रतिभा’ का केही कथाहरूलाई लिएर भनेकी हुँ । कारण, प्रगतिशील समीक्षक र पाठकहरूले मलाई दुई चिरा मात्र पारेर हेर्छन् । एक जनविरोधी र दुई प्रगतिवादी । यस्तो हेराइ वैज्ञानिक हुँदैन । मेरो लेखन कसरी गतिमान भएर आएको छ, त्यसको मूल्याङ्कन नभइदिएकोमा मलाई गुनासो छ ।
कुनै बेला तपाईंले ‘शिरीषको फूल’ जलाइदिए पनि हुन्छ भन्नुभएको थियो भने कुनै बेला ‘शिरीषको फूल’ लेखेर अपराधी काम त गरिनँ ? पनि भन्नुभएको छ । यसबारे तपाईंको स्पष्ट धारणा के रहेको छ ?
म आफैँ आज ‘शिरीषको फूल’ लाई निस्सार र घोर परपीडक उपन्यास मान्दछु तर यही उपन्यास लेखेर मैले अपराधी काम गरेँ भनेकी छैन । ‘जनसम्वाद’ का देवी प्र. सुवेदीसँगको भेटवार्तामा मैले साहित्यिक अपराध गरेकी छैन, यति भनेकी हुँ ।
आफ्ना रचनाहरूमा तपाईं कुन कुनलाई उत्कृष्ट कृति मान्नुहुन्छ र किन ?
म यस प्रश्नको उत्तर दिन सक्तिनँ । जुन कृति जति सहज तरीकाले र जति गहन र व्यापक रूपमा जन सम्प्रेषणशील हुन्छ, त्यही कृति उत्कृष्ट हुन्छ । यो मेरो धारणा हो, छनौट गर्ने काम तपाईंहरूको ।
प्रगतिवादी नेपाली साहित्यको वर्तमान अवस्थाबारे तपाईंको विचार ?
प्रतिगामी धारको अघि प्रगतिवादी साहित्यको धार स्पष्ट हुँदै गइरहेको तथ्यलाई स्विकार्न पर्छ । कविता विधा निकै अघि छ । कथा क्षेत्रलाई पनि अब त भरपर्दो भने हुन्छ । नाटक, उपन्यास र समालोचना पछि परेका छन् । अरू व्यावहारिक समस्याहरूको निम्ति ‘वेदना’ को गताङ्कमा प्रकाशित डी.आर. पोखरेलको (परिचर्चा) कलम पढ्ने सुझाव दिन्छु ।
विगतमा प्रगतिवादी साहित्यिक आन्दोलनमा एकताको आवश्यकता महसुस हुँदाहुँदै पनि एकता हुन नसकिरहेको स्थितिमा हालसालै सम्पन्न भएको प्रलेक संघको प्रथम राष्ट्रिय सम्मेलन र प्रलेसंघको भविष्यलाई तपाईंले कसरी हेर्नुभएको छ ?
युगको एउटा निश्चित समयमा पुगेपछि एकताको आवश्यकता हुन्छ । आठ वर्षको कठिन सङ्घर्षपछि प्रलेस गठन भयो, खुसीको कुरा । भविष्यको निम्ति शुभकामना चिताऊँ ! पदलोलुपता त्यागिदेऔँ, सहयात्रीहरूलाई छिर्के हान्ने जस्तो जनविरोधी काम नगरौँ । आज हाम्रो एकताले प्रतिपक्ष खेमा त्रसित भएको देखिन्छ । त्यसैले प्रलेसंघका लेखकहरूले मोर्चाको मर्यादा र गरिमालाई आँच आउने केही काम नगरौँ ।
प्रगतिशील र प्रगतिवादी शब्दलाई लिएर प्रगतिशील साहित्यकारहरूमा पनि अझै अर्थको स्पष्टता नभएको महसुस प्रलेसंघको प्रथम राष्ट्रिय सम्मेलनमा पनि भएको थियो । यी शब्दहरूलाई तपाईंले कसरी व्याख्या गर्नुभएको छ ?
मैले धेरै ठाउँमा धेरै भनिसकेकी छु– प्रगतिशील प्रक्रिया प्रकृतिमा निहित छ । कुनै पनि पदार्थ निरन्तर परिवर्तनशील छ, त्यस्तै साहित्य पनि । पहिलेको भन्दा पछिल्लो अवस्था केही परिष्कृत र उत्कृष्ट हुँदै जानु नै प्रगतिशीलता हो । यसरी मानव समाज पनि क्रमशः परिष्कृतता र उत्कृष्टतातर्फ अग्रसर हुँदै जान्छ । तर, साहित्यमा प्रगतिवाद शब्द कार्ल माक्र्सको अभ्युदयपछि नै विश्व वाङ्मयमा प्रचलित भएको हो । यसमा दुइमत हुन सक्छ जस्तो मलाई लाग्दैन । जहाँ पल्टाए पनि प्रगतिवादी शब्द राजनीति र पार्टीसापेक्ष भएको पाइएको छ । यहाँ एउटा उदाहरण, सन् १९४७ मा अमेरिकाको राष्ट्रपति चुनावमा ए. वालेस नामक व्यक्ति प्रगतिवादी भनी उठ्न खोजेका थिए । तर, उनी उठ्न पाएनन्, बरु गिरफ्तार भए । चुनाव कमिशनले उनलाई स्पष्ट भन्यो– तिम्रो नीति युएसएसआरको युद्धनीति ‘वार पाथ’ मा आधारित छ । यस्ता धेरै उदाहरणहरू छन् । उन्नति चाहनेहरूलाई ‘प्रोग्रेसनिस्ट’ भनेको पाइएको छ तर ‘प्रोग्रेसिव’ होइन । यथास्थितिको विरुद्ध लेखेर समाजलाई अघि बढाउने लेखक प्रगतिशील हुन्छन् । सामान्यतया हामी यस्ता लेखकलाई प्रगतिशील भन्छौँ । तर, प्रगतिवादी भनेपछि पार्टी, पोलिटिक्स, मार्क्सिस्ट थ्योरीसँग सम्बन्धित हुनै पर्छ । मैले बुझेको यही हो र यत्ति हो ।
स्रष्टा पारिजात कथा, कविता र उपन्यास तीन वटै विधामा सुपरिचत र प्रतिष्ठित हस्ताक्षर हो । यी तीनै विधामा सृजनाको दायित्वलाई तपाईंले कसरी सन्तुलित राख्नुभएको छ ? साहित्य सृजनाका तीनै विधाका तपाईंका अनुभव तथा समस्याहरूलाई प्रस्ट्याइदिनुहुन्थ्यो कि ?
विधागत यस दायित्वले मेरो उमेर र अनुभवमा प्रशस्त असर गरेको छ । यो कुरा उमेर र अनुभवमा निर्भर पनि रहेको छ । तथापि, कविता विधा भनेको भित्रैबाट फुटेर आउनुपर्छ । यस्तो हुनका लागि यसले युगौँको अन्तराल पनि लिइदिन सक्छ । मैले २०२६ सालमा अन्तिम कविता लेखेपछि एकैचोटि २०३६ सालमा मात्र अर्को कविता यात्रा सुरु गर्न सकेँ । यसमा एक दशकको अन्तराल रह्यो । जम्मा २१ वटा कविता यस बिचमा लेखिसकेकी छु । कथा विधा मेरो निम्ति पात्र, परिवेश र स्वभावशीलता हो । यो कुनै पनि समय लेख्न सकिन्छ, पात्र फेला परेदेखि । तर, उपन्यासलाई केही तन्मयता, चिन्तन र लेख्दा एकान्त चाहिन्छ । सबैभन्दा सहज बग्ने विधा मेरो निम्ति निबन्ध हो । निबन्ध मैले पछि मात्रै लेख्न थालेकी हुँ तर सबभन्दा बढी यही नै लेखेकी छु ।
तपाईंका कथा तथा उपन्यासका पात्रहरूले मध्यम वर्गको मात्र प्रतिनिधित्व गरेका छन् भन्ने आलोचकहरूको भनाइसँग कत्तिको सहमत हुनुहुन्छ ?
पूर्वाग्रह र पक्षपात नराखी आलोचना गरिदिए त वेसै हुन्थ्यो तर अध्ययन नै नगरी हावाको भरमा लेख्ने तथाकथित समालोचकहरूसँग मेरो सहमति, असहमतिको के अर्थ ? यस विषयलाई लिएर मैदानमा उत्रनु मेरो पनि मानहानिको प्रश्न हो ।
तपाईं रमेश, सुवानी, ‘तोरीबारी, सपना र बाटाहरू’ की नायिका जस्ता पात्रहरूको चित्रणमा बढी सफल हुनुभएको र तपाईंले उनीहरूलाई नै उपन्यासको केन्द्रबिन्दु बनाउनुभएको छ । तर, बाटुली, गोरीमाया, क्रुरी जस्ता पात्रहरूलाई आफ्ना रचनाका प्रधान पात्र बनाउन चाहिँ नसक्नुभएको देखिन्छ नि ?
यो प्रश्न के तपाईंहरूले घोत्लिएरै सोध्नुभएको हो ? परिस्थिति र पात्रहरूको भूमिकालाई बिर्सेर किन नायकनायिका–सचेत मात्र हुनुभएको ? फेरि कथाका पात्रहरूलाई किन उपेक्षा गर्नुभएको ?
जनपक्षीय रचनामा स्वैरकल्पना र अतियथार्थको कस्तो भूमिका हुन्छ ?
स्वैरकल्पना (फेन्टासी) मानिसको घनघोर कल्पनाशीलताको उपज हो । केही विश्वप्रसिद्ध स्वैरकल्पनाका रचनाहरूलाई यहाँ लिऊँ, जसले समाजलाई मनोरञ्जनभन्दा बढी केही दिन सकेका छैनन् । उदाहरणको निमित्त, सिन्बाद द सेलर, अल्लादिन्स ल्याम्प, अरेबियन नाइट्सका कथाहरू, एलिस इन वन्डरल्यान्ड, गुलिभर्स ट्राभेल आदि । सन् १९८२ ताका प्रसिद्ध दक्षिण अमेरिकी उपन्यासकार माक्र्वेजको स्पेनी भाषामा लेखिएको उपन्यासको अङ्ग्रेजी अनुवाद ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ पश्चिमा मुलुकहरूमा अति लोकप्रिय भएको थियो र ‘बेस्ट सेल’ मा गएको थियो । यस उपन्यासमा प्रशस्त मनोरञ्जन भए पनि केही वास्तविकतालाई स्विकार्न कर लाग्छ । म यस उपन्यासलाई बिसौँ शताब्दीको बेजोड फेन्टासी मान्दछु तथापि यो जनपक्षीय भने होइन । एरिस्टोटलको धारणालाई स्वैरकल्पनाको राम्रो परिभाषा मान्दछु । उनी भन्छन्– साहित्यमा स्वैरकल्पना असम्भाव्यदेखि सम्भाव्यतर्फ गई जीवनदायी सृजना हुनुपर्दछ । तर, अधिकांश स्वैरकल्पना यसको ठिक उल्टो सम्भाव्यदेखि असम्भाव्यतर्फ गएका छन् । उनको भनाइदेखि आज धेरै समय बितिसकेको छ । हामी उनको उक्त धारणाप्रति सचेत भएर लेख्छौँ भने स्वैरकल्पनालाई जीवनदायी र जनपक्षीय बनाउन सक्छौँ ।
अतियथार्थवाद (Surrealism) को नातामा आजसम्म बढी प्रलापै लेखिएका छन् । मान्छेको अवचेतन मनका कुरालाई स्वप्नमयी शैलीमा जथाभावी अभिव्यक्त गर्दा एक किसिमको प्रलाप बन्न सक्छ । यो अभिव्यक्ति साहित्य बन्न सक्ला तर जनपक्षीय भने होइन । साहित्यमा अतियथार्थवादलाई पटक्कै नबुझी अतियथार्थवादी कविता लेखेँ भन्ने कविहरू र त्यस्तै नबुझीकनै फलानो अतियथार्थवादी कवि हुन् भनी लेख्ने समालोचकहरूदेखि मलाई हाँसो उठ्छ । जसरी अतियथार्थवादी फ्रान्सेली चित्रकार साल्भाडोर डलीको घडी ‘सेरिज’ का चित्रकलाहरू हेर्दा हाँसो उठ्छ । अतियथार्थवाद धेरैजसो चित्रकलामा अभिव्यक्त भएको पाइन्छ ।
प्रा. यदुनाथ खनालले २०४३ चैतको ‘गरिमा’ पत्रिकाको अन्तर्वार्तामा “कहिले निस्कन्छ त राल्फा, आयामेली पद्धति र आजका के उत्साह भन्ने पत्रिका देख्छु तर एउटा ‘इन्टलेक्चुअल पावर’ प्रतिविम्बित हुने किसिमको कुनै आन्दोलन भएको देखेको छैन” भन्नुभएको छ । तपाईं राल्फा आन्दोलन तथा उत्साह पत्रिकासँग पनि सम्बन्धित हुनुभएकाले उहाँको यो भनाइ तपाईंलाई कस्तो लाग्छ ?
खनालजीसँग मेरो केही असहमति छ । ‘उत्साह’ लाई राल्फा र आयामेली पद्धतिसँग दाँजेर हेर्न मिल्दैन । एउटा साझा मञ्चको रूपमा प्रकाशित हुन थालेको साहित्यिक पत्रिका मात्र हो । त्यो कुनै दर्शन तथा आन्दोलन होइन । राल्फाबारे माथि चर्चा भइसकेको छ । आयामका प्रमुख प्रवक्ता इन्द्रबहादुर राई आयामेली हुनुभन्दा पहिले शैली पक्षका राम्रा कथाकार हुन् । आयामेली भइसकेपछि उनमा दुर्बोधता आएको हो । हाल फेरि उनका कथाहरूको शैलीगत स्तर ओर्लिएको छ र राम्रै छन् । श्री राई सबै दर्शनका ज्ञाता भइकन पनि प्रगतिवादको बाटोमा काँडा बिछ्याइरहन नबिर्सने घोर प्रतिक्रियावादी विद्वान् हुन् । काइँला एउटा सशक्त कवि हुन् । वैचारिक पक्ष अस्पष्ट हुँदाहुँदै पनि खनालजीले आयाम जस्तो कमजोर पक्षबाट कुन त्यस्तो ‘इन्टलेक्चुअल पावर’ प्रतिविम्बित हुने आन्दोलनको अपेक्षा गर्नुभएको हो ? ‘उत्साह’ अझ पनि कसीमा घोटिइँदैछ ।
केही सहरबाहिरका साहित्यकारहरूमा नेपाली साहित्य सहरमुखी भएको भन्ने भनाइ रहेको पाइएको छ । यसबारे तपाईंको अनुभव ?
यस भनाइमा सत्यता छ र यसो हुनु दुःखको कुरो पनि हो । धेरैजसो लेखकहरू सहरकै हुने गरेका र सहरप्रति नै आकर्षित रहने हुँदा यसो भएको हो । अब त यतिसम्म भइसक्यो, काठमाडौँका पत्रिकाहरूमा नछापे लेखक चिन्नै गाह्रो पर्ने । यसो भएपछि साहित्य सहरमुखी हुन्छ नै । गाउँप्रति पनि सचेत हुनुपर्ने हो, बरु बढी नै ।
तपाईंले बारम्बार पारिजातभित्र यौटी स्वास्नीमान्छे छे र उसलाई मैले कहिल्यै सुमसुम्याउन पाएकी छैन भन्ने गर्नुभएको छ । पारिजातभित्रकी त्यो स्वास्नीमान्छे को होला ? र, तपाईं पारिजात तथा तपाईंभित्रकी स्वास्नीमान्छे बिच कस्तो सम्बन्ध रहेको छ, बताइदिनुहुन्छ कि ?
मैले जीवनमा जे जति चाहनाहरू सँगालेकी थिएँ, ती कुनै पूरा हुन पाएनन् । मेरा थुप्रै आकांक्षाहरूको हत्या भएको छ । कुनै प्रकृतिले, कुनै परिस्थितिले, कुनै अभिभावकले र कुनै जान अनजान आफैँले । त्यसैले मलाई कहिलेकाहीँ लाग्छ, मेरो मनभित्र अभेद्य पर्खालपछि कुनै स्वास्नीमान्छे अवश्यै छे । त्यो मेरै प्रतिरूप हो । त्यो रुष्ट छे, असन्तुष्ट छे, जसलाई सुम्सुम्याउन म पाउँदिनँ । यतिका व्यस्तताहरू, कोलाहलहरू, सम्पर्कहरू बिच विभाजित मेरो सही व्यक्तित्व नै आजको म सही पारिजात हुँ । मलाई त्यो भित्रकीसँग कुनै सरोकार नै छैन । तथापि, म थाहा पाउँछु, मभित्र त्यो स्वास्नीमान्छे विद्यमान छे । मैले रनवन घुम्न पाइनँ, डुल्न पाइनँ, पकाउन पाइनँ, सिउन र बुन्न पाइनँ भनी ऊ मसित ठुस्किरहेकी छे जस्तो लाग्छ । म आफैँ बुझ्दिनँ, ऊ कस्तो अनुभव पोख्न चाहन्छे ?
बी.ए. दोस्रो वर्षको छात्रा रहँदा ममा हस्तरेखा पढ्ने धुन सवार भयो र म सारा कोर्स एकातिर थन्क्याएर हस्तरेखामा दत्तचित्त भएँ । एउटा गतिलो पुस्तक फेला पारेकी थिएँ । त्यो पढेपछि धर्सो कोर्नु, हिसाब गर्नु र साथीहरूको हातमा प्रयोग गर्नु नै मेरो दिनचर्या बन्न पुग्यो । पछि बाबुको कडा निषेधपछि मैले त्यो रुचिलाई त्यागिदिन प¥यो । त्यसपछि मदन मेमोरियल स्कुलमा जागिर खाँदा एक दिन स्कुलको पुस्तकालयमा पी.सी. सरकारको ‘फर्स्ट बुक अफ ह्यान्ड ट्रिक्स’ फेला पारेँ । रुचि लाग्यो र त्यतैतिर लागेँ र केही प्रयोग गर्न पनि थालेकी थिएँ । तर, केमिकलहरू जुटाउन नपाउँदै बाबुलाई थाहा भयो र उनले फेरि पनि मलाई त्यस्तै कडा निषेध लगाइदिए । चेस खेलप्रतिको प्रबल रुचिलाई त्यत्तिकै प्रबल इच्छाशक्तिको प्रयोग गरेर किरिया नहालेको भए सायद मेरो जीवनको मोड आज यस्तो हुने थिएन । आज म अरूको दुःख र समस्याको भारी बिसाउने चौतारी र अरूहरूको तनाव र बोझ थन्क्याउने गोदाम जस्तो भएकी छु । सधैँभरि म अरूको तनाव र समस्यामा अल्झिइरहेकी हुन्छु । यस्तैमा काम अनि सृजना … । खै, म आफैँलाई कतिखेर सुमसुम्याऊँ ? कतिखेर आफ्नो विषयमा सोचूँ ? सक्नुहुन्छ भने तपाईंहरू अलि अलि शेयर किनिदिनुस् न, मेरा समस्या र तनावहरूको !
कुनै अन्तर्वार्तामा एक जना नेपाली महिला कथाकारले पुरुष भएर जन्मिन नपाएकोमा निक्कै थकथकी अनुभव हुन्छ भनेर भन्नुभएको छ । आफू महिला भएकामा तपाईंलाई पनि त्यस्तै लाग्छ कि ?
मेरो विचार यसको ठिक विपरीत छ । मेरो व्यक्तिगत अनुभवमा आमाको माया कस्तो हुन्छ, त्यो थाहा छैन र म आमा पनि भइनँ । त्यसैले मातृत्व पनि थाहा छैन तर मेरो हृदय वात्सल्यले भरपुर छ । यसैकारण नारीलाई म प्रथम आमाजातमा राख्छु । अनुभूतिका आधारमा नारीहरू पुरुषहरूभन्दा धनी छन् । जस्तो गरिकन नारीले मात्र भोग्ने केही अनुभूति छन्, रजस्वला, गर्भधारण, प्रजनन, प्रसववेदना, वात्सल्य आदिले गर्दा नारीको स्थान उच्चतम छ । नारी–प्रकृतिमा यही वात्सल्य, ममता र सह–अस्तित्वको भाव निहित रहेको हुँदा सधैँ नारीलाई लिएर प्रतिस्पर्धा राख्ने, झगडालु, ईर्ष्यालु, वनमानुस जस्ता पुरुषलाई सह–अस्तित्वको सङ्क्रमण गराएर आफ्नो ओढारमा नारीले नै भित्र्याए । पुरुषलाई सामाजिक बनाए, आफूलाई प्रकृतिबाट सिकेर श्रम गर्न सिकाए । जम्मामा, नारी नै हुन् असीम शक्ति र मायाका स्रोत, जसले मानव सभ्यताको पहिलो क्यानभासमा एउटा गरिमाशाली हस्ताक्षर कोरिदिइन् । म आफूलाई स्वास्नीमान्छे भएकोमा गौरवान्वित ठान्दछु ।
प्रेम र यौनलाई तपाईंले कसरी हेर्नुभएको छ ?
प्रेम मानव मात्रमा हुने एउटा सार्वभौम अनुभूति हो । त्यसो त प्रेम अरू प्राणी जातिमा छैन भन्ने होइन । बाघ बघिनी जस्ता खुँखार र एकलकाँटे प्राणी पनि वर्षको एकपल्ट उनीहरूको ‘मेटिङ डेज’ मा आठ नौ दिनसम्म नारिएर सँगै घुमेको देख्न पाइन्छ । मान्छेजातमा त यो प्रेम बाह्रैकाल छ । प्रेमलाई लिएर समाज परिवर्तन प्रक्रियाको भित्री स्वरूप अझै सङ्घर्षरत नै छ र मान्छेको सचेतनता पनि विकासतर्फ नै छ । तथापि, आजसम्म प्रेममा एकनिष्ठता आइसकेको छैन ।
परिणामस्वरूप, यौन पनि एकनिष्ठ भएको छैन । यौन एकनिष्ठ हुन सक्छ, यो ठोकुवा गर्न सकिँदैन । कारण, मान्छेको निम्ति यौन भोक, तिर्खा र निद्रा जस्तै अनिवार्य हुन्छ । आपसमा प्रेम भावना भएपछि यौनसम्बन्ध हुनु, त्यो स्वाभाविक प्रक्रिया हो तर यौनसम्बन्धमा प्रेम हुनै पर्छ भन्ने कुनै जरुरी छैन । यौनसम्पर्क मान्छेले मौका हेरेर जोसुकैसँग जहाँकहीँ पनि राख्न सक्छन् तर प्रेमको रूप यति सहज छैन । समाजवादतर्फ सङ्क्रमण भएको समाज बाहेक अरू देशहरूमा रहेको वेश्यावृत्तिको व्यापक कारोबारले पनि यौन र मान्छेको सम्बन्ध कस्तो छ, स्पष्ट पार्छ ।
यौनसम्बन्धले गर्दा पुरुष हैकमवाला समाजमा वेश्यावृत्ति जस्तो पुरुषलाई क्षणिक शारीरिक सुख दिएर थकित हुने पेसा गर्नु महिलाप्रति अपमानजनक र शोषणपूर्ण नीति हो । वात्सल्यले गर्दा नारीमा कामुकता कम हुन्छ । र पनि, नारीले चाहेमा उनीहरूलाई यो सुविधा छैन । अमेरिकामा र युरोपका केही देशहरूमा पुरुषहरू वेश्यावृत्ति गर्छन्, तिनलाई ‘मेल प्रस्टिच्युट’ भनिन्छ । मेरो भनाइ महिलाले यौन तृप्तिको सुविधा पाउनुपर्छ भन्ने होइन । वेश्यावृत्तिको क्रमशः उन्मूलन भई समाज शिष्ट र सौम्य स्थितितिर प्रवृत्त होस्– यही चाहन्छु ।
तपाईं पूर्णतया लेखनमै आश्रित हुनुहुन्छ भन्ने हामीलाई लागेको छ । पेसागत लेखनको विकास नभइसकेको हाम्रो आजको अवस्थामा तपाईंले आफ्ना कठिनाइलाई कसरी झेल्नुभएको छ ?
खै पेसा पनि के भन्नु ? पेसा भए त केही आउँछ । यहाँ त अधिकांश श्रम जनसेवामा नै गएको छ । कहिलेकाहीँ आउँछ अलि अलि, त्यो पनि न्यूनतम र यस गरीब देशमा गरीबको पक्षमा लेख्ने लेखकको के हैसियत हुन्छ र ? सोच्छु– म जस्ता अरू पनि त होलान् । पैसा एकमुष्ट आएको बेला बासी होला जस्तो हुन्छ, एक्लै खाने बानी छैन । खाँचोमा परेका प्रियजनहरूको भाग छुट्ट्याएरै खाने गरेकी छु । ऐयासी जीवनको सपना त कहिल्यै देखिएन तर हामी एक वर्गको सुविधापूर्ण जीवन ग्यारेन्टीको निम्ति प्रतिबद्ध छौँ । श्रम गर्नेहरूले सुविधापूर्ण जीवन बाँच्न पाउनुपर्छ तर आज पर्यन्त केही असुविधा र अप्ठ्यारामा नै बाँचिरहेकी छु । कसो कसो बानी परेछ क्यारे ! एउटा इमान्दार प्रकाशक भेट्टाए केही सुविधा त हुन्थ्यो ! वस्तु हो, होला । मानसिक अस्मिता मेरो जीवनको अनमोल वस्तु हो ।
‘सन्धान सहकार्य’ अन्तर्गत हामीले विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहबाट प्रकाशित प्रसारित महिलाका जीवनकथालाई साभार गरी प्रकाशन प्रसारण गर्दै आएका छौँ । यसै क्रममा प्रस्तुत अन्तर्वार्ता पारिजात स्मृति केन्द्रको वेबसाइट (ब्लग) विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ( पारिजातको अन्तर्वार्ता ) बाट लिई सामान्य सम्पादनसहित साभार गरिएको पुनः जानकारी गराइन्छ ।
प्रकाशन मिति : २०८१ बैशाख १६ गते, आइतवार