Home Insight बदलिँदै माझी महिलाको दैनिकी – विन्दा माझी

बदलिँदै माझी महिलाको दैनिकी – विन्दा माझी

734
0

माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये एक हो । यो जाति ‘अति सीमान्तकृत’ समुदायमा पर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार माझीहरूको जनसङ्ख्या एक लाख एक हजार ३५२ रहेको छ । माझी समुदायका मानिसको बसोबास नदीको छेउछाउमा रहेको पाइन्छ । उनीहरूको बसोबास खासगरी सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर जिल्लामा रहेको छ । मधेश प्रदेशका केही जिल्लामा पनि माझीहरूको बसोबास रहेको जानकारी राष्ट्रिय जनगणना २०७८ प्रतिवेदन पुस्तकमा उल्लेख छ ।

सन्धान टोली’ केही महिनाअघि रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ को हात्तीटारमा रहेको माझी बस्तीमा पुगेको थियो । तामाकोशी नदीको किनार छेवैमा रहेको यो बस्तीमा बिन्दा माझी भेटिनुभयो । उहाँले स्थानीय अगुवाका रूपमा काम गर्दै आउनुभएको रहेछ । हामीले उहाँसँग हात्तीटारका माझीका साथै समग्र माझी समुदायको रहनसहन, जीवनशैलीसँग जोडिएका मूलभूत विषयमा कुराकानी गरेका थियौँ । प्रस्तुत छ, बिन्दा माझीसँग गरिएको कुराकानीको सम्पादित अंश उहाँकै कथनमा :

हामी माझीहरू आदिवासी हौँ । हाम्रो बसोबास कोसी छेउतिर हुन्छ । जहाँ भए पनि नदी छेउतिर हुन्छ । अहिले हाम्रो बस्ती हात्तीटार पनि तामाकोशी नदीको किनारमै छ । नदीबाट धेरै टाढा र माथि डाँडातिर माझीहरू बस्दैनन्, पहिलादेखि नै यस्तै हो ।

हाम्रो जातिको पुख्र्यौली पेसा माछा मार्ने, डुङ्गा चलाउने र रक्सी पारेर बेच्ने हो । अहिले भने त्यो पेसा कसैले पनि गर्दैनन् भने पनि हुन्छ । गाउँघरमा पुरुषहरू नभएपछि माछा मार्ने चलन नै हराइसक्यो भने पनि हुन्छ । माछा मार्ने काम पुरुषहरूले मात्र गर्थे, हामी महिलाहरू जाँदैनथ्यौँ । कोसी छेउमै बस्छौँ तर हामी नै माछा खान पाउँदैनौँ भने पनि हुन्छ ।

डुङ्गा चलाएर मान्छेहरूलाई नदी पार गराउने काम पनि हिजोआज हुँदैन । किनभने अचेल जता पनि पुल बन्यो, त्यही भएर डुङ्गा चलाउने काम हुँदैन ।

अहिलेको पेसा

हाम्रो समुदायका पुरुष दाजुभाइहरू पनि लेखपढ गर्न थाले र विभिन्न पेसामा जान थाले । सेना, प्रहरी र अन्य विभिन्न पेसामा जागिरमा जान थाले, गएका छन् । रोजगारीका लागि विदेश पनि गएका छन् । काम गर्न सक्ने उमेरमा पुरुषहरू धेरैजति गाउँमा हुँदैनन् । छैनन् ।

हिजोआज जीवनयापनको लागि सबैले गर्ने भनेको मुख्य त खेतीपाती हो । कोसी नजिकै भएकाले यहाँ पानीको समस्या छैन । त्यही भएर उब्जनी राम्रो हुन्छ । यहाँ जे लगाए पनि फल्छ । गाईभैँसी पालेर दुध, घिउ बेच्ने, कुखुरा, हाँस, बाख्रा र भेडापालन गरेर पनि आयआर्जन गर्छौं ।

कति महिलाहरूले सिलाइ सिकेर सिलाइकटाइ पनि गर्छन् । पहिला बच्चाको एउटा सानो कपडा सिलाउनुपरे पनि मन्थली बजार पुग्नुपर्थ्याे अहिले बच्चाको, ठुलै मान्छेको कपडा सिलाउन यहीँ हात्तीटारमै पाइन्छ ।

प्रजनन स्वास्थ्यप्रति सचेत

महिलाहरू अचेल आफ्नो स्वास्थ्यप्रति सचेत छन् । ख्याल गर्छन् । गर्भवती भए जाँच पनि गराउन जाने गर्छन् । महिला स्वयंसेविकाहरू आएर स्वास्थ्य जाँच गर्ने, बालबच्चालाई खोप लगाउनुपर्छ भन्नुहुन्छ । त्यही भएर अलिकति बेथा लाग्न थाल्ने बित्तिकै हस्पिटल गइहाल्छन् । अस्पताल जाने भएर होला, अचेल त धेरैको अप्रेसन गरेर बच्चा निकाल्छन् ।

मेरो त दुइटा बच्चा हो । एउटा बच्चा अस्पतालमा जन्मेको । एउटा त घरमै जन्मेको । आफूभन्दा ठुलाहरूले हामीले त तीनदिन बेथा लागेर पनि घरमै बच्चा पाको भने । त्यसपछि म पनि अस्पताल गइनँ । कसैले लगेनन् अनि घरमै जन्मियो ।

अचेल त सबैले बुझेका छन् । जाँच गराउँछन् । अस्पताल जान्छन् । लान्छन् । पहिलाका बुढापाकाहरूले त ‘बच्चा जन्माउन पनि अस्पताल ?’ भन्थे । अचेल त्यस्तो भन्न छोडे ।

कोसी पूजा

माझीको ठुलो चाड भनेको ‘कोसी पूजा’ हो । यो पूजा फागुन महिनामा पर्छ । त्यतिबेला कोसीमा लगेर कुखुरा पूजा गर्नुपर्छ । त्यो एकदिन रमाइलो गर्ने, आफन्तहरू आउनेजाने हुन्छ । पूजाको दिन काम गर्नुहुँदैन । हँसिया, कोदालो बोक्नु पनि हुँदैन भन्ने हुन्छ । त्यो भएर काम गर्नै मिल्दैन ।

अरू चाडबाड पनि मनाउँछौँ । दशैँमा रातो टीका नै लगाएर मनाउँछौँ ।

शिक्षा, विकास र चेतना

पछिल्लो समयमा यहाँका सबै बालबालिका स्कुल जान्छन् । छोरा र छोरी दुवैलाई स्कुल पठाउँछन् । आर्थिक अवस्था अलि राम्रो भएकाहरूले बोर्डिङ स्कुल पठाउँछन् । धेरै चाहिँ यहीँ नजिकै भएको सामुदायिक विद्यालयमा पढ्छन् ।

हामी बसेको ठाउँतिर पनि सडक खन्न, खानेपानीको धारा जोड्नका लागि वडाले पनि बजेट हाल्देको थियो । दुई जना हाम्रै समुदायको वडा सदस्यहरू (अनिसा माझी र वृहस्पति माझी) हुनुहुन्छ । वडा अध्यक्षमा पनि अशोक तामाङ हुनुहुन्छ । क्षेत्रीबाहुन वडाध्यक्ष भएको भए हामीलाई ‘माझीमत्वाली’ भनेर पत्याउँदैन थिए होला । हेपचेप गर्थे होला । तर अहिले त्यस्तो छैन । आफ्नै जातको जनप्रतिनिधि भएको भएर अलि सजिलो भएको होला जस्तो पनि लाग्छ ।

रामेछापका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०८० असाेज १० गते, बुधवार


Previous articleकोरोनाको फरक कथा
Next articleखाना पकाउने तालिम लिएपछि थप आत्मनिर्भर भयौँ- दृष्टिविहीन महिलाहरू (भिडियाे सहित)