धादिङको संगीता घले १२ वर्षको उमेरसम्म आँखा देख्नुहुन्थ्यो । कक्षा ५ सम्म सामान्य तरिकाले पढ्नु पनि भयो । सानैदेखि उहाँको एउटा आँखा भने कमजोर रहेछ । उहाँका अनुसार, एउटा आँखाले धमिलो देखिन्थ्यो, पछि त अर्को आँखामा पनि मोतिविन्दु भयो । डाक्टरको सल्लाहमा उहाँले मोतिविन्दु भएको आँखाको शल्यक्रिया (अप्रेसन) गराउनुभयो । उहाँ भन्नुहुन्छ, “डाक्टरले अप्रेसन गरेपछि आँखा देख्नुहुन्छ भनेका थिए तर अप्रेसन सफल भएन ।”
फलतः संगीताले दुवै आँखा देख्न छोड्नुभयो । सदाका लागि आँखाको ज्योति गुमेको चाल पाउँदा त उहाँले संसारमा आफू एक्लै भएको महसुस गर्नुभएको थियो । दृष्टिविहीन भएपछि संगीताले आफ्नो सामान्य दैनिकीलाई नै परिवर्तन गर्नुपर्ने भयो । सामान्य स्कुलमा पढ्न पाउनु भएन ।
संगीताको परिवार भने बुझ्ने खालको थियो । यसैले उहाँका लागि दृष्टिविहीनहरू पढ्ने छात्रावास (होस्टेल) भएको स्कुल खोज्यो । जिल्लामै त्यस्तो स्कुल भेटिएपछि उहाँलाई त्यहीँ राख्ने निधो भयो । २०६९ सालमा उहाँले छात्रावासमै बसेर पढ्न थाल्नुभयो । त्यतिबेला घर छाड्नुपरे पनि आफूले पढ्न पाएकामा संगीता खुसी हुनुहुन्थ्यो ।
अहिले पनि संगीताको पढाइ जारी छ । उहाँ काठमाडौँमा रहेको एउटा ‘होस्टेल’ मा बसेर स्नातक तह पढ्दै हुनुहुन्छ । आफू जस्तै दृष्टिविहीनका लागि जीवन उपयोगी तालिम दिने प्रशिक्षक बन्ने चाहना उहाँको छ । साथै, शिक्षक बन्ने लक्ष्य राख्नुभएको छ ।
दृष्टिविहीन भएपछि पढ्नका लागि संगीताको धेरै समय छात्रावासमै बित्यो र बितिरहेको छ । यसैले खाना पकाउने काम खासै गर्नुभएको छैन । उहाँले कहिलेकाहीँ घर जाँदा मात्र परम्परागत चुल्होमा आगो बालेर खाना पकाउनुभएको रहेछ । भन्नुहुन्छ, “सुरु सुरुमा आगो बाल्दा हात पोल्ने, तरकारी काट्दा हात काट्ने पनि हुन्थ्यो तर काम गर्न छोडिनँ ।” ग्यास चुल्होमा खाना पकाउन भने उहाँलाई डर लाग्थ्यो । बानी पनि थिएन ।
गत वर्ष प्रयत्न नेपालले ग्यासमा खाना पकाउने तालिम दियो । त्यसपछि भने संगीतालाई डर लाग्न छोडेको छ । उहाँ भन्नुहुन्छ, “ग्यास चलाएर जे पनि पकाउन सक्ने आँट आएको छ ।”
कास्कीको पोखराकी लक्ष्मी अधिकारीलाई तीन वर्षको उमेरमा टाइफाइड भयो र आँखाको ज्योति गुम्यो । यो कुरा उहाँले सुन्दै आउनुभएको हो । सानै उमेरको घटना भएकाले आफूले आँखा देख्दाको अनुभव सम्झिन नसक्ने पनि उहाँ स्पष्ट पार्नुहुन्छ । स्कुलदेखि क्याम्पससम्मको पढाइ उहाँले छात्रावासमै बसेर सक्नुभयो । त्यसपछि पोखरा सिइङ ह्यान्ड्स नेपालमा जागिर गर्न थाल्नुभयो । उहाँले काम गर्दै गरेको कार्यालयको शाखा काठमाडौँमा राख्ने भएपछि उहाँ पोखराबाट काठमाडौँ आउनुपर्ने भयो । काठमाडौँमा आएर पनि उहाँ केही समय ‘होस्टेल’ मै बस्नुभयो ।
लक्ष्मीको बिहे भयो । त्यसपछि उहाँ होस्टेल छोडेर श्रीमान्सँग डेरामा बस्न थाल्नुभयो । श्रीमान् पनि दृष्टिविहीन हुनुहुन्छ तर उहाँले भान्साको सबै काम गर्नुहुँदो रहेछ । लक्ष्मी भन्नुहुन्छ, “आफू जस्तै दृष्टिविहीन श्रीमान्ले सधैँ खाना पकाउँदा मलाई पनि भान्साको काम गर्न आए हुन्थ्यो भन्ने लाग्थ्यो ।” आफूले खाना बनाउन नजान्दासम्म घरमा कोही पनि पाहुना नआइदिए हुन्थ्यो भन्ने पनि उहाँलाई लाग्थ्यो ।
सानैदेखि ‘होस्टेल’ बसेर पढेकाले लक्ष्मीले खाना पकाउने सिप सिक्न पाउनुभएको थिएन । कहिलेकाहीँ घर भएको बेला पनि परिवारका सदस्यले ‘तिमीले गर्दा ढिलो हुन्छ, नगर, हामी नै गर्छौँ’ भन्ने गर्नुहुन्थ्यो । यस्तो भएपछि काम जान्ने कुरै भएन ।
लक्ष्मीले गत वर्ष प्रयत्न नेपालले दृष्टिविहीनहरूका लागि खाना पकाउन सिकाउने तालिम दिन लागेको थाहा पाउनुभयो । सो तालिममा उहाँ पनि सहभागी हुनुभयो । “खाना पकाउन सिकेको पहिलो पटक हो,” लक्ष्मी भन्नुहुन्छ, “खाना पकाउन जानेपछि संसारमा सबैभन्दा ठुलो काम गर्न सकेको महसुस भयो ।”
हिजोआज घरमा साथीहरू र आफन्त पाहुना आउँदा लक्ष्मीलाई खुसी लाग्छ । पहिलो पटक खाना पकाउँदाको अनुभवबारे उहाँ भन्नुहुन्छ, “पहिलो चोटि खाना मिठो भएन, अदुवा लसुन पनि धेरै हालेछु ।” नमिठो भए पनि उहाँलाई आफूले खाना पकाउनै पर्छ भन्ने लाग्यो । प्रयास गर्दै गएपछि जान्दै पनि जानुभयो । अहिले त मिठो बनाउन सक्नुहुन्छ । यसको रहस्य खोल्दै उहाँ भन्नुहुन्छ, “तरकारी पकाउँदा सानो ग्यास बनाएर केही बेर भुट्दै बिस्तारै पकाउनुपर्ने रहेछ ।”
बाँकेको नेपालगन्जकी जीमा लाम्कोरिया (चौधरी) दृष्टिविहीन भएकाले नौ वर्षको उमेरदेखि होस्टेल बस्न थाल्नुभयो । उहाँ नुहाउन, आफूले लगाएको कपडा धुन र कपाल बाट्न सक्नुहुन्थ्यो । होस्टेल बसेपछि खाना पकाउन परेन । त्यहाँ व्यक्तिगत सरसफाइदेखि कोठा सफा गर्ने, सिरकको खोल धुने, हाल्ने सबै काम भने आफैँले गर्नुपर्ने थियो । बाहिर जाँदा पनि एक्लै हिँड्नुपर्थ्याे । आफूले सकेसम्म सबै काम सिक्नुपर्छ भन्ने जीमा समय मिलाएर होस्टेलमा भान्साको काममा पनि सघाउने गरेको बताउनुहुन्छ ।
जीमाले सानै हुँदा घरमै आगो बालेर खाना पकाउने तरिका सिक्नुभएको थियो । उहाँ सम्झनुहुन्छ, “पहिलो पटक आगोमा खाना पकाउँदा कति पटक आगोले पोल्थ्यो । सुरुमा तरकारी पकाउँदा तरकारी कति छ छामेर नुन हाल्थेँ, चाख्थेँ र नलागे फेरि थप्थेँ ।”
जीमा काठमाडौँ आउनुभयो र केही वर्ष होस्टेलमै बस्नुभयो । त्यसपछि कोठा भाडामा लिएर डेरामा बस्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, “कोठामा बस्न थालेपछि ग्यास पनि चलाउन सिक्नुपर्छ भनेर ग्यासमा खाना पकाउन थालेँ ।”
जीमाले खाना पकाउन जानेको सिपलाई आफूमा मात्र सीमित राख्नु भएन । आफू जस्तै दृष्टिविहीनहरूलाई सिकाउने चाहना पनि राख्नुभयो । फलस्वरूप उहाँले दृष्टिविहीनहरूलाई दिइने तालिमको सह–प्रशिक्षक बनेर काम गर्दै आउनुभएको छ । उहाँ प्रयत्न नेपालको उपाध्यक्ष पनि हुनुहुन्छ ।
बाँकेको १७ वर्षीया सिर्जना थारु पनि काठमाडौँको एउटा होस्टेलमा बसेर स्नातक तह अध्ययन गर्दै हुुनुहुन्छ । गाउँमा हुँदैदेखि सानैमा होस्टेल बस्न थालेकी सिर्जनालाई पनि सानैदेखि लाग्थ्यो, “आफ्नो काम आफैँ गर्नुपर्छ ।”
९ वर्षको उमेरदेखि होस्टेल बसेर पढ्दै आएकाले उहाँले सिक्ने, सिकाउने वातावरण पाउनु भएन । घरमा हुँदासम्म एक्लै बाहिरतिर कतै हिँड्नुपरे पनि उहाँलाई डर लाग्थ्यो । काठमाडौँ आएर ‘प्लस टु’ पढ्न थालेपछि भने उहाँको सोच बदलियो । सधैँ अर्काको साथ पाइन्छ भन्ने हुँदैन भन्ने उहाँलाई लाग्यो । त्यसपछि बाटामा एक्लै हिँड्न आँट गर्नुभयो । उहाँ भन्नुहुन्छ, “हौसला र अवसर पाइयो भने दृष्टि नभएर केही पनि नरोकिने रहेछ ।”
संगीता, लक्ष्मी, जीमा र सिर्जना यस्ता प्रतिनिधि पात्रहरू हुनुहुन्छ, जसले आँखाको दृष्टि नहुँदैमा कुनै पनि काम गर्न नसकिने होइन भन्ने कुरामा विश्वास गर्नुहुन्छ । उहाँहरू सबैका लागि उदाहरणीय र सफल व्यक्तित्व हुनुहुन्छ । जस्तोसुकै कठिन ठानिएको काम पनि गर्छु भनेर सिक्ने हो भने जानिन्छ र अरूमा भर नपरी आफैँले गर्न सकिन्छ भन्ने उहाँहरू ठान्नुहुन्छ । “अलिकति कठिन भए पनि नसकिने केही रहेनछ”, संगीताको निष्कर्ष छ, “अवसर र परिवार तथा समाजको विश्वास र सहयोग ठुलो कुरा रहेछ ।”