Home Opinion “स्त्री र पुरुषबिच श्रम विभाजनको आवश्यकता देखिन्छ ।” – सुसन मास्के

“स्त्री र पुरुषबिच श्रम विभाजनको आवश्यकता देखिन्छ ।” – सुसन मास्के


यो सामग्री वि.सं.२०४८/४९ चैत्र/बैशाखमा मूल्याङ्कन मासिकको वर्ष १०, अंक ३ मा प्रकाशित महिलामुक्ति आन्दोलन किन ? शिर्षकको लेखबाट साभार गरिएको हो । अस्मिता प्रकाशनका तत्कालिन सम्पादक सुसन मास्केसँगको अन्तरवार्ता यहाँ साभार गरिएको छ ।

लेखन तथा अन्तरवार्ता मुक्ता श्रेष्ठ

प्रायः सहरबजारका महिलाहरू पढेलेखेका भएर पनि बौद्धिक र राजनैतिक क्षेत्रमा किन उनीहरू पुरुषसरह चाख लिँदैनन् ? आर्थिकरूपले आत्मनिर्भर शिक्षित महिलाहरू पनि किन सांस्कृतिकरूपले पुरुषनिर्भरतालाई सहजै स्वीकार गरिरहेछन् ?

पढेलेखेका सहरी महिलाहरू पुरुषसरह बौद्धिक र राजनैतिक क्षेत्रमा चाख लिँदैनन् भन्ने भनाइसित मेरो सहमति छैन । सवाल यहाँ चाखको भन्दा पनि अधिक अवसरको छ, जुन अवसर पुरुष सञ्चालित सामाजिकतन्त्रमा महिलाले अत्यन्त कम पाउँछन् । 

मसित भर्खरै व्यावसायिक महिला वकिल साथीले यसरी गुनासो गरेकी थिइन्, “मेरा श्रीमानले बिहानै ओच्छ्यानमै राइजिङ नेपाल, गोरखापत्रदेखि अन्य साप्ताहिक पत्रिकाहरू पढ्न भ्याइसकेका हुन्छन्, तर मन हुँदाहुँदै पनि उनीसरह म पत्रपत्रिका पढ्न सक्दिनँ ।”

स्पष्ट छ, बिहानको तिनको समय भान्छाघर, केटाकेटीको होमवर्क, तिनलाई स्कुल पठाउने तयारी र स्वयं पनि कार्यालय जाने हतारमा र घरका अरू कामकाज सुल्ट्याउनमा अल्झिएको हुन्छ । दिनभरि कार्यालयको खटाइ, साँझमा फेरि घरधन्दा बेहोर्नुपर्ने अधिकांश शिक्षित सहरी महिलाहरूको यो बाध्यतामा कस्तो बौद्धिक अभ्यास र कहाँको राजनैतिक संलग्नताको अपेक्षा गर्न सकिन्छ ?

कति घरका पुरुष सदस्यले आफ्नो घरबाट कुनै राजनैतिक समारोह, साहित्यिक गोष्ठी तथा अन्य क्रियाकलापमा महिला सदस्यहरूलाई जान प्रोत्साहित गर्छन् वा पठाउन तदारुकता देखाउँछन् ? दुईचार घण्टाको सवालमा सायद सकारात्मक जवाफ कसैकसैबाट पाइएला पनि, तर स्त्रीले दुईचार दिन घरबाट टाढा यस्ता क्रियाकलापमा आफूलाई संलग्न गराउनपरे विकल्प नभेटेसम्म सवाल नै आउँदैन ।

आर्थिक उत्पादनका निम्ति शिक्षित महिलाहरू घरबाहिर निस्किए पनि बौद्धिक तथा राजनैतिक गतिविधिबाट आफूलाई काटेर राख्नको पछाडि धेरै हदसम्म एक्लोरूपमा वहन गर्नुपर्ने घरेलु कामप्रति स्त्रीको एक्लो उत्तरदायित्व हो । घरेलु कामधन्दालाई जसरी स्त्रीकरण गरिएको छ, त्यसले सम्भावना भएका सक्षम जनशक्ति (शिक्षित महिला) को बुद्धि र क्षमतालाई सही ठाउँमा उपयोग गर्न दिएको छैन । 

शिक्षित स्त्रीले स्वतन्त्र चिन्तन, बौद्धिक तथा अन्य बाह्य महत्त्वपूर्ण गतिविधिसित जोडिनु पनि त्यत्तिकै आवश्यक छ, जति कुनै शिक्षित पुरुषले । अतः घरेलु दायित्वप्रति समानरूपले स्त्री र पुरुषबिच श्रम विभाजनको आवश्यकतालाई बुझ्न आवश्यक देखिन्छ ।

रह्यो, आर्थिकरूपले आत्मनिर्भर शिक्षित महिलाले सांस्कृतिकरूपले पुरुषनिर्भरतालाई सहजै स्वीकार गर्ने कुरा । 

यहाँ के कुरामा ख्याल रहनु जरुरी छ भने स्त्रीको सांस्कृतिक मूल्य र मान्यताको मापदण्ड पनि पुरुषप्रधान समाजले तय गरेको हो । अतः पुरुष वर्चस्व राखिने नै भयो । यो अलग कुरा हो कि बिस्तारै ती मूल्य र मान्यताको पूनर्मूल्याङ्कन गरिनुपर्ने बेला आइसकेको छ र अनावश्यक संस्कारबाट आफूलाई मुक्त गर्दै लग्नुपरेको छ । 

आज लोग्नेको खुट्टा धोएको पानी खाने, देवता सम्झिएर ढोग्ने, दीर्घायुका निमित्त व्रत बस्ने केही प्रतिशत मात्र सचेत स्त्रीको निम्ति हास्यास्पद कुरा हुन सक्छ । स्त्रीको बहिनी, आमा, श्रीमती, छोरी आदिको भूमिकासित जोडिएको स्त्रीत्वसम्बन्धी सांस्कृतिक मान्यताभित्र नै त ती गलत र स्त्रीलाई हेय तुल्याउने रीतिथिति र आधारलाई छुट्याएर तिनलाई खुला चुनौती दिन र त्यसमाथि विजय पाउन शिक्षित महिलाहरूले नै संवाहकको भूमिका निर्वाह गर्न सक्छन् । 

सांस्कृतिक परिवर्तन मानिसको सोचाइ, व्यवहारमा आउने परिवर्तन हो । यसको निम्ति समय त अवश्य लाग्छ तर जहाँ पनि परिवर्तन चाहनेले नै परिवर्तनको निम्ति आवाज उठाएका हुन्छन् । अतः महिलाबाट नै सुनियोजित र सङ्गठित आवाज उठ्नुपर्छ र यसको पक्षमा सुरुवात पनि भैसकेको छ ।

यो सामग्री वि.सं.२०४८/४९ चैत्र/बैशाखमा मूल्याङ्कन मासिकको वर्ष १०, अंक ३ मा प्रकाशित महिलामुक्ति आन्दोलन किन ? शिर्षकको लेखबाट साभार गरिएको हो ।