Home Opinion आफैँबाट सुरु गर्नुपर्छ महिनावारी विभेदको अन्त्य (भिडियो)

आफैँबाट सुरु गर्नुपर्छ महिनावारी विभेदको अन्त्य (भिडियो)

785
0

सन्दर्भ : अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस (डिसेम्बर ८)

महिलामाथि गरिने विभिन्न प्रकारका हिंसा र विभेदमध्ये महिनावारी विभेद पनि एक हो । महिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । यो महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित मासिक चक्रमा चल्ने नियमित र अभिन्न अवस्था पनि हो । यस्तो हुनु स्वाभाविक भए पनि घरपरिवार र समाजले यसलाई धर्म र संस्कृतिसँग जोडेर महिलालाई विभेद गर्ने गरेको छ । परम्परादेखि चलिआएको विभेदको क्रम टुट्न सकेको छैन, समाजमा अझै कायमै छ ।

महिनावारी विभेद विभिन्न स्वरूपमा देशैभरि छ । अझ भन्नुपर्दा नेपाली पुगेका विश्वका जुनसुकै मुलुकमा पनि महिनावारीका बेला छाइछुई मान्ने वा महिनावारीका बेला यसो गर्न हुन्छ, यसो गर्न हुँदैन भन्ने चर्चा र अभ्यास भइरहेको छ । नेपालको मध्य र सुदूरपश्चिम जिल्लाहरूमा त यो छाउपडी प्रथाकै रूपमा कायम छ । यस प्रथामा पहिलो पटक रजस्वला भएका बालिका/किशोरीहरूले ११ देखि १५ दिनसम्म आफ्नो घरभन्दा बाहिर वा छुट्टै गोठमा बस्नुपर्छ । त्यसपछि हरेक पटक रजस्वला हुँदा पाँच वा सात दिन छाउपडी गोठ वा छुट्टै ठाउँमा बस्ने चलन छ । यस प्रकारका अभ्यासले किशोरी तथा महिलाको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य र सुरक्षामा नकारात्मक असर पारेको छ । यसका साथै समग्रमा महिलाले मर्यादित जीवन जिउन नै पाइरहेका छैनन् ।

महिनावारीका बेला गरिने विभेदको असर निकै जोखिमपूर्ण हुने गरेको पाइन्छ ।
केही वर्षयता छाउपडी प्रथाविरुद्धको आवाज नउठेको पनि होइन । छाउपडी प्रथाको अन्त्यको लागि सर्वोच्च अदालतमा रिट परेपछि २०६२ साल वैशाखमा सर्वोच्च अदालतले सरकारलाई आदेश नै दिएको थियो । सरकारले २०६४ सालमा छाउपडी प्रथा उन्मूलन निर्देशिका जारी गर्‍यो । त्यसपछि सरकारी तथा गैरसरकारी क्षेत्रबाट छाउगोठ हटाउने अभियानहरू सञ्चालन भए । अहिले पनि भइरहेका छन् । भौतिक रूपमा धेरै छाउगोठहरू हटाइए पनि मानसिकतामा रहेको महिनावारी विभेद अझै पनि उन्मूलन हुन सकेको छैन । महिनावारी हुँदा बार्ने चलन गाउँदेखि सहरसम्मै कुनै न कुनै रूपमा कायम रहेको पाइन्छ ।

आज ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस’ १ हरेक वर्ष डिसेम्बर ८ तारिखलाई संसारभरि नै मर्यादित महिनावारी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यस सन्दर्भमा विभिन्न कार्यक्रमहरू हुने गरेका छन् । यही सन्दर्भ पारेर हामीले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका तीन किशोरीहरू तुलसी खड्का, खिनाकुमारी खड्का र प्रमिला नेपालीसँग महिनावारी विभेदका अभ्यास र महिनावारी बार्न छोड्दा खेप्नुपरेको समस्याका बारेमा कुराकानी गरेका छौँ । गौरीगंगा नगरपालिका वडा नम्बर ४ की तुलसी खड्का र सोही नगरपालिका राजपुरमा बस्ने खिनाकुमारी खड्कासँग पाँच वर्ष छाउगोठमा बसेको अनुभव छ । दुवै जनाले विद्यालयको शिक्षाका क्रममा र विभिन्न कार्यक्रमहरूबाट महिनावारी र महिनावारीका बेला हुने विभेदबारे थाहा पाउनुभयो र छाउगोठ बस्न छाडिदिनुभयो ।

तुलसी खड्का र खिनाकुमारी खड्काकाे अनुभव भिडियाेमा हेर्नुहाेला

गौरीगंगाकै प्रमिला नेपालीको अनुभव भने अलि फरक छ । घरमा आमाबुबाले महिनावारी बार्ने कुरा गर्नुभएन तर छरछिमेक र समाजको डरले आफूलाई घरपरिवारले पर राख्ने गरेको प्रमिलाको भनाइ छ । विभिन्न समूह तथा किशोरी क्लबहरूमा आबद्ध भएपछि महिनावारी हुनु कुनै पाप होइन भन्ने कुराको ज्ञान प्रमिलालाई भयो । त्यसपछि उहाँ पहिले आफैँ बदलिनुभयो । आफूले मात्र महिनावारी विभेदलाई अन्त्य गर्नुभएन, अरूले पनि त्यस्तो विभेदमा पर्नु नपरोस् भनी गाउँसमाजमा प्रमिलाले महिनावारी विभेदविरुद्ध अभियान नै सञ्चालन गर्नुभयो ।

‘महिनावारी अनुभव’ का बारेमा तुलसी खड्का, खिनाकुमारी खड्का र प्रमिला नेपालीसँग ‘सन्धान’ टोलीले केही दिनअघि धनगढी पुगेका बेला कुराकानी गरेको थियो । प्रस्तुत छ, उहाँहरूसँग ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्य मुकुन्द बोगटीले गरेको कुराकानीको सम्पादित अंश :

प्रमिला नेपालीको अनुभव भिडियाेमा हेर्नुहाेला

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ मंसिर २२ गते, बिहीवार