महिलावाद–संवाद शृङ्खला ३ ।
विश्वमा १८औँ शताब्दीदेखि प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ । अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आम रूपमा नकारात्मक दृष्टिकोणले नै हेरिन्छ ।
यसै सन्दर्भमा हामीले ‘महिलावाद–संवाद शृङ्खला’ प्रस्तुत गर्दै आएका छौँ । सन्धानको यस शृङ्खलामा महिलावाद भनेको के हो ? महिलावाद कसका लागि ? महिलावादको आवश्यकता र महत्त्व के छ ? महिलावादी को हुन् वा को होइनन् ? नेपालमा महिलावाद र महिलावादी आन्दोलन कुन रूपमा आरम्भ भयो, कहाँ आइपुग्यो आदि विषयमा महिलावाद र महिलावादी मुद्दासँग जोडिएर काम गर्दै आउनुभएका व्यक्तिहरूसँग हामी कुराकानी गर्नेछौँ ।
यही शृङ्खलाअन्तर्गत यस पटक नेपालको महिलावादी आन्दोलनभित्र पुरुष र पुरुषत्वको बारेमा काम गर्ने गरी स्थापना भएको संस्था हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरीसँग कुराकानी गरेका छौँ ।
‘महिलावाद’ लाई ‘फेमिनिज्म’ भन्न रुचाउने ठकुरी सन् १९९५ मा सात/आठवर्षको हुँदादेखि नै बालअधिकार अभियानमा लाग्नुभएको थियो । अहिले युवा अभियानमा क्रियाशील उहाँ आफूलाई ‘फेमिनिस्ट’ भन्न रुचाउनुहुन्छ । उहाँले बालअधिकार र युवाअधिकार अभियानले गरिरहेको कामलाई महिलावादी दृष्टिकोणबाट अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएको छ । उहाँ महिलावादी आन्दोलनमा पुरुषको सहभागिता र भूमिकाका विषयमा पनि बहस गर्ने र लेख्ने गर्नुहुन्छ । प्रस्तुत छ, हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरीसँग सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीमा आधारित सहलेखन ।
यो शब्दबाटै कुरा सुरु गरौँ, ‘महिलावाद’ लाई तपाईँ किन ‘फेमिनिज्म’ नै भन्न चाहनुहुन्छ ?
यसमा विभिन्न मानिसका विभिन्न तर्कहरू छन् । कसैले महिलावादको रूपमा यो शब्द प्रयोग गर्छन् । महिला हो सबैभन्दा पछाडि परेको भन्छन् । कसैले यसलाई महिलावाद होइन नारीवाद नै भन्नुपर्छ, पहिला यो नारीवाद भन्ने शब्दबाटै सुरु भएको र नारीत्व अर्थात् फेमिनिटीसँग सम्बन्धित विषय हो भन्छन् । पछिल्लो समय चाहिँ अर्को एउटा तर्क आएको छ– नारीवाद वा महिलावाद होइन, यसलाई फेमिनिज्म नै भन्नुपर्छ । फेमिनिज्मले सबैको कुरा सुन्छ । दलित अधिकारको कुरा पनि फेमिनिस्ट मुभमेन्टले उठाउँछ, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मुद्दा पनि फेमिनिस्ट मुभमेन्टको विषय हो भने कसरी यसलाई महिलावाद वा नारीवाद भनेर हुन्छ र ? त्यसैले यसलाई आगन्तुक शब्दको रूपमा ‘फेमिनिज्म’ नै भन्नुपर्छ भन्छन् । व्यक्तिगत रूपमा म पनि फेमिनिज्म नै भन्न रुचाउँछु किनकि यो शब्द यसअघि भनिएका अन्य दुई शब्दका तुलनामा बढी साझा अर्थ दिने मलाई लाग्छ । तथापि जसले नारीवाद वा महिलावाद भन्नुहुन्छ, उहाँहरूको विचारलाई पनि म सम्मान गर्छु ।
नेपाल वा संसारभरि नै त्यस्ता व्यक्तिहरू फेमिनिस्ट हुन्, जो सामाजिक न्यायका लागि आवाज उठाउँछन्, कुनै पनि किसिमको विभेदको विरुद्ध उभिन्छन् । त्यो व्यक्ति नै फेमिनिस्ट हो, जसले आफू कति धेरै सुविधामा छु भनेर आफैँलाई पनि निरन्तर प्रश्न गरिरहन्छ र उत्तरदायी व्यवहार गरिरहन्छ ।
महिलावाद (फेमिनिज्म) भनेको के हो ? सरल भाषामा बुझाइदिनुस् न ?
न्यायपूर्ण समाजको परिकल्पना नै फेमिनिस्ट मुभमेन्टले गरेको परिकल्पना हो । जहाँ कुनै पनि व्यक्तिमाथि कुनै पनि आधारमा भेदभाव हुँदैन । उसको जीवनको निर्णय गर्ने अधिकार उसँगै हुन्छ, अरूसँग हुँदैन । फेमिनिस्ट दृष्टिकोण भनेकै त्यही हो । समानता र न्याय नै फेमिनिस्ट दृष्टिकोण हो । त्यही भएर हामी सधैँ भन्छौँ, ‘फेमिनिस्ट मुभमेन्ट’ भनेको चाहिँ कुनै निश्चित वर्गका लागि होइन, सबैका लागि हो ।
महिलावादी को हो ?
नेपाल वा संसारभरि नै त्यस्ता व्यक्तिहरू फेमिनिस्ट हुन्, जो सामाजिक न्यायका लागि आवाज उठाउँछन्, कुनै पनि किसिमको विभेदको विरुद्ध उभिन्छन् । त्यो व्यक्ति नै फेमिनिस्ट हो, जसले आफैँ पनि कति धेरै सुविधामा छु भनेर आफैँलाई पनि निरन्तर रूपमा प्रश्न गरिरहन्छ र उत्तरदायी व्यवहार गरिरहन्छ । त्यो व्यक्ति जुनसुकै जाति, समुदाय, वर्ग, लिङ्ग वा रङको हुनसक्छ । त्यस्ता व्यक्ति दलित अधिकार अभियानभित्र पनि हुन्छन् । त्यस्ता व्यक्ति बालअधिकार वा युवा अभियानभित्र पनि हुन्छन् । त्यसकारण कुनै पनि व्यक्ति जसले सामाजिक न्याय र समानताका लागि आवाज उठाउँछ र आफ्नो व्यवहारमा पनि प्रयोग गर्छ, ऊ नै फेमिनिस्ट हो । हाम्रो समाजमा खासगरी पुरुषहरूको कुरा गर्दा चाहिँ भाषण गर्ने, कुरा गर्ने, महिला अधिकार वा सीमान्तकृत र बहिस्करणमा पारिएका व्यक्ति र समुदायको पक्षमा कुरा गर्ने तर आफूले व्यवहारमा प्रयोग नगर्ने हुन्छन् । त्यसकारण उत्तरदायित्व वा उत्तरदायी व्यवहार पनि सँगैसँगै जोडिएर आउनुपर्छ, फेमिनिस्टसँग ।
घरभित्र र बाहिर सार्वजनिक रूपमा एक जना महिलावादीको व्यवहार कस्तो हुनुपर्छ ? तपाईँले भन्नुभएको ‘उत्तरदायी व्यवहार’ भनेको के हो ?
मैले पुरुषहरूसँग बढी काम गर्ने भएर, पुरुषहरूले आफूलाई फेमिनिस्ट भनिरहँदा, समानताका भाषण गर्ने तर व्यवहारमा समानताका काम नगर्ने, महिला तथा दलित, अपाङ्गता भएका, मधेसी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिलाई जिस्क्याउने, उनीहरूलाई होच्याएर बनाइएका जोक्स, उखान टुक्का प्रयोग गर्ने, नराम्रो किसिमको व्यवहार गर्ने, होच्याएर बोल्ने वा त्यस्तो बोलेको ठाउँमा रमाउने हुन्छन् । तिनीहरू नै पब्लिक ठाउँमा देखिँदा चाहिँ फेमिनिस्ट जस्तो कुरा गर्ने हुन्छन् । त्यसकारण हामीले खोजेको उत्तरदायीपूर्ण व्यवहार भएको फेमिनिस्ट हो । बोली अनुसार व्यवहार गर्ने नै उत्तरदायी व्यक्ति हो । घरभित्रको काम बच्चा हुर्काउने जस्ता लैङ्गिक रूपमा छुट्टयाइएको कामलाई ‘महिलाको काम’ भनेर हेर्छ कि हरेकले गर्नुपर्ने काम भनेर हेर्छ ? दैनिक जीवनमा त्यस्तो काम गर्छ कि गर्दैन ? कार्यालयमा उसको व्यवहार कस्तो हुन्छ ? एउटा फेमिनिस्टले व्यवहारमा महिला वा जो कोहीका लागि पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । बोलीमा जस्तै व्यवहार पनि उत्तरदायी हुनुपर्छ । कतै धर्म, रीतिरिवाज वा संस्कृतिको नाममा व्यक्तिले आफूबाहेक बाँकी सबैको यौनिकतामाथिको नियन्त्रण गर्छ कि ? शक्तिमा आफ्नो मात्र पहुँच खोज्छ कि ? अथवा यी विभेद विरुद्ध आवाज पनि उठाउँछ ? यिनै कुरा नै उत्तरदायित्वका सूचकहरू हुन् ।
विभेदपूर्ण व्यवहारका बारेमा म प्रश्न गर्छु । प्रश्न गर्न पुरुषलाई अझ सजिलो हुन्छ । नातागोता, आफन्तहरूको जमघटमा गरिने यस्ता प्रश्नहरू एकैपटक धेरै परिवारमा पुग्छन् । त्यसैले पारिवारिक जमघटमा हुने गलत अभ्यास र गलत कुराकानी सच्याउनु पनि महत्त्वपूर्ण ‘फेमिनिस्ट प्राक्टिस’ हो ।
तपाईँ आफैँले उत्तरदायित्व कसरी निभाइरहनु भएको छ ?
हाम्रो घरमा कुनै पनि काम लैङ्गिक रूपमा यो कसले गर्ने, त्यो कसले गर्ने भन्ने विभाजन हुँदैन । परिवारका सबै सदस्यहरूको मान्यता र व्यवहार पूरै फेमिनिस्ट छ भनेर त म पनि भन्दिनँ किनकि हाम्रो परिवार पनि पितृसत्तात्मक समाजकै उपज हो तर परिवर्तन निरन्तर भइरहेको छ । खासगरी हाम्रा अभिभावक र अभिभावक उमेरका नातागोतामा परिवर्तनहरू आइरहेका छन् । म जति बेला यो विषयमा सचेत भएँ, त्यही बेलादेखि आवाज उठाउन थालेँ र व्यवहारमा उतार्न थालेँ । त्यो समयमा मैले मेरा दिदीहरूको साथ पाएको थिएँ, त्यसले मलाई समानताको आवाज उठाउन सहज भयो ।
प्रायः घरपरिवारमा निश्चित भूमिकाहरू छोरा र बुहारीका लागि भनेर छुट्टयाइएका हुन्छन् । त्यो विरुद्ध आवाज उठाउन पुरुषलाई सहज हुन्छ अर्थात् मेरो श्रीमतीभन्दा मलाई सहज हुन्छ । शक्तिको केन्द्रमा पुरुषहरू हुने भएकाले पुरुष हुनुको ‘बेनिफिट’ लाई प्रयोग गरेर सामाजिक न्यायमा कसरी रूपान्तरण गर्न सकिन्छ भनी आफूले आवाज उठाउने र उठिरहेका आवाजहरू अझ ठुलो र बलियो बनाउन सहयोग गर्नुपर्छ भनेर मैले सुरु गरेँ । त्यसरी आवाज उठाउन सुरु गर्दै घरमा पनि जुन खालको लैङ्गिक विभेदकारी भूमिका रहँदै आएको थियो, त्यसमा बोलेँ र आफैँले पनि अभ्यास गरेँ ।
अर्को महत्त्वपूर्ण कुरा, घरपरिवारका सामाजिक भेटघाटहरूमा पनि लैङ्गिक भूमिकालाई प्रश्रय दिइरहेका हुने रहेछौँ, त्यसमा म प्रश्न उठाउँछु । विभेदपूर्ण व्यवहारका बारेमा म प्रश्न गर्छु । प्रश्न गर्न पुरुषलाई अझ सजिलो हुन्छ, सायद म पुरुष भएर पनि होला । नातागोता, आफन्तहरूको जमघटमा गरिने यस्ता प्रश्नहरू एकैपटक धेरै परिवारमा पुग्छ । यसबाट सन्देश पनि जान्छ । त्यसैले पारिवारिक जमघटहरूमा हुने गलत अभ्यास र गलत कुराकानी सच्याउनु पनि एक महत्त्वपूर्ण ‘फेमिनिस्ट प्राक्टिस’ हो ।
तपाईँले अभ्यास गर्ने अरू ‘फेमिनिस्ट प्राक्टिस’ के कस्ता छन् ?
म भर्खर भर्खरै फेमिनिस्ट आन्दोलनमा लाग्दा, मेरी छोरी जन्मिएकी थिइन् । छोरी अहिले चार वर्ष जतिकी भइन् । त्यति बेला कसैले बच्चा कसले हेर्छ भन्यो भने बच्चा सानै छ, स्तनपान पनि गर्नुपर्ने भएकोले उनको आमासँगै हुन्छिन् भन्थेँ । त्यति बेला त्यो मेरो कुरा आफैँलाई ठिकै हो जस्तो लाग्थ्यो । तर, अध्ययन गर्दै, बुझ्दै अहिलेसम्म आइपुग्दा महसुस भयो कि बुबाले नसक्ने भनेको त स्तनपान गराउन मात्रै त हो । त्यसो हुँदा सानो हुने बित्तिकै बच्चा किन आमासँगै भइराख्नुपर्यो, बुबासँग किन हुन नहुने भनेर सजग भएर छोरीको सबै खालको हेरचाह गर्न थालेँ ।
अहिले म घरमै बसेर काम गर्छु, श्रीमती अफिस गएर काम गर्छिन् (हामी एकअर्कालाई तिमी भन्छौं) । छोरीको हेरविचारको धेरै जिम्मेवारी मेरो हुन्छ । मेरी आमा पनि हुनुहुन्छ, उहाँले पनि गर्नुहुन्छ । बिहान मेरो अनलाइन कक्षा भएकाले खाना पकाउन पाउँदिनँ तर साँझ कसले खाना पकाउने भन्ने छैन, जो छौँ, उसैले पकाउँछौँ । फेमिनिस्ट प्राक्टिसका मेरा यस्ता कुराहरू अरूसँग पनि सेयर गर्छु ।
शक्तिको केन्द्रमा पुरुषहरू हुने भएकाले पुरुष भएको ‘बेनिफिट’ लाई प्रयोग गरी सामाजिक न्यायमा कसरी रूपान्तरण गर्न सकिन्छ भनेर आफूले आवाज उठाउने र उठिरहेका आवाजहरू अझ ठुलो र बलियो बनाउन सहयोग गर्ने भनेर मैले सुरु गरेँ ।
तपाईँले जस्तै समानताको अभ्यास गर्ने ‘उत्तरदायी फेमिनिस्ट’ पुरुषहरू कति होलान् ? तपाईँले काम गर्ने क्रममा युवा साथीहरूको व्यवहार कस्तो पाउनुभएको छ ?
हामीसँगै अभियानमा थुप्रै पुरुष साथीहरू छौँ, केही साथीहरू एकदमै राम्रो र व्यावहारिक हुनुहुन्छ । केही साथीहरू फेमिनिज्मको सिद्धान्त बल्ल थाहा पाउँदै गरेकाले सिक्दै हुनुहुन्छ । केही साथीहरू यस्तो पनि छन्, जो बालअधिकार, युवाअधिकारदेखि फेमिनिस्ट मुभमेन्टका ठुलाठुला कुरा गर्ने तर नजिकबाट बुझ्दै जाँदा व्यवहार त्यस प्रकारको नगर्ने । जस्तै, विभेदकारी जोक्सहरू भन्ने र हाँस्ने, अरूलाई होच्याउने, जिस्क्याउने खालको बानी, बाटामा महिलाहरू देख्यो भने जिस्क्याउने, राम्रा अवसरहरू आउँदा महिलालाई पन्छाएर आफैँ मात्र लिन खोज्ने जस्तो व्यवहार गरेको पनि पायौँ ।
युवाकै पनि बोली एउटा अनि व्यवहार अर्को भएको धेरै पाइन्छ । मानिसमा ‘पाखण्ड’ र ‘दोगलापन’ धेरै छ । राम्रा मानिस हुँदै नभएका त होइनन् तर एकदमै आशालाग्दो गरी छैनन् । हामीले संस्था नै खोलेर काम गरेको तीन वर्ष हुन लाग्यो, आशालाग्दो हिसाबले उत्तरदायी युवाहरूको त्यति ठुलो सङ्ख्या पाइसकेका छैनौँ ।
अबका युवा पुस्तासँग समानताको लागि सकारात्मक परिवर्तनको धेरै आशा गरिएको छ, त्यति धेरै आशा नराख्दा हुने हो ?
मलाई चाहिँ युवा पुस्ताले धेरै नै परिवर्तन गर्छन् भनेर चुप बस्न नहुने रहेछ जस्तो लाग्छ । रूपा सुनारले दलित समुदायको भएकै कारण कोठा नपाउँदा बोल्नुभएको घटना हेरौँ, त्यसमा पनि ‘दलितलाई किन अधिकार दिनुपर्यो’ भन्नेहरू युवा नै थिए । ‘यसपालिको तीज, नो ब्रत प्लिज’ भनेर सोफिया थापाले गीत गाउँदा त्यसको विरोध गर्नेहरू युवा नै थिए । बाइकको पछाडि बसेकी एक जना महिलाले ढाड देखिने गरी कपडा लगाएको भनेर खेदो खन्नेहरू युवा नै थिए । सपना सञ्जीवनीको शक्तिशाली कविता ‘हम सीता न बनबई’ विरुद्ध ओर्लने युवा जमात ठुलै थियो । सामाजिक सञ्जालमा युवाहरूले नै खराब सन्देश, खराब विचारहरू दिइराखेको पाइन्छ ।
यस्ता केही उदाहरणहरू हेर्दा ‘युवाहरूले कायापलट नै गर्छन्’, ‘युवाहरू एकदम परिवर्तन भइसके र उनीहरू नै परिवर्तनका संवाहक हुन्’ भन्ने परिभाषा पूर्ण रूपमा सत्य होइन भन्ने लाग्छ । हामीले २०/२५ जना युवाहरू हेरेर मात्रै त्यस्तो परिभाषा बनायौँ कि ? युवाहरूको ठुलो समूह त हाम्रो सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा जोडिएकै छैन, अभियानबाट अझै पनि बाहिरै छ । यसो भन्नुको मतलब २०४६ सालपछि जन्मिएकाहरूमाथि वैचारिक लगानीको खडेरी छ ।
केही वर्षदेखि युवा अभियानमा लागेको अनुभवका आधारमा हामीले युवाहरूको सोच परिवर्तनका लागि नै धेरै गर्नुछ । हाम्रोमा युवाहरूको जनसङ्ख्या ठुलो छ, पहिले त उनीहरूमै अभियानहरू पुग्न आवश्यक छ ।
युवाहरूको ठुलो समूह त हाम्रो सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा जोडिएकै छैन, अभियानबाट अझै पनि बाहिर नै छ । यसो भन्नुको मतलब २०४६ सालपछि जन्मिएकाहरूमाथि वैचारिक लगानीको खडेरी छ ।
एउटा फेमिनिस्ट पुरुषको दृष्टिकोणबाट हेर्दा नेपालको महिलावादी आन्दोलनलाई तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ ?
महिलावादी आन्दोलनलाई अलि फरक विचार र दृष्टिकोणबाट हिँड्ने बाटो २०६२/६३ को जनआन्दोलनपछि भएको जनजाति आन्दोलन र मधेस आन्दोलनले देखाइदियो । किनभने, हाम्रोमा धार्मिक, सांस्कृतिक, भौगोलिक आधारमा एउटा निश्चित वर्ग सुविधामा छ । अर्को वर्ग पछाडि पारिएको छ । वञ्चितीकरणमा र सीमान्तकृत अवस्थामा छ । त्यति बेलासम्मको फेमिनिस्ट मुभमेन्टमा सुविधामा भएकै महिलाहरू मात्र अगाडि आइरहनुभएको थियो ।
दोस्रो जनआन्दोलनपछि अलि बढी प्रश्न गर्न थाल्यौँ । नेपालको फेमिनिस्ट मुभमेन्टलाई अन्तरसम्बद्धताको दृष्टिकोण (इन्टरसेक्स्नल अप्रोच) बाट हेर्नुपर्छ भन्ने विचारहरू आउन थाले । अहिलेसम्म आइपुग्दा महिला आन्दोलनलाई पनि विविधता र अन्तरसम्बद्धतामा हेर्नुपर्छ भन्ने छलफल अलि बढी गर्न थालिएको छ, त्यसैले समकालीन समाज र आजका छलफलहरू नेपालको फेमिनिस्ट आन्दोलनका लागि महत्त्वपूर्ण समय र विषय हो भन्ने लाग्छ ।
अहिलेसम्म हेर्दा संरचनात्मक विभेदलाई चिरफार गरेरै सवाल उठाएको अलि पाइँदैन, बिस्तारै हुँदैछ भनिन्छ तर गति सुस्त छ । पछिल्लो समयमा खासगरी महिलाभित्रका पनि विविधता र सीमान्तकृत समुदायको आवाज र नेतृत्वका लागि जुन किसिमले आवाज उठिरहेको छ, यसले चाहिँ नेपालको फेमिनिस्ट मुभमेन्टलाई एकदमै सहयोग गर्छ भन्ने लाग्छ । अर्को खुसीको कुरा, पछिल्लो समय फेमिनिस्ट मुभमेन्टमा पुरुषहरूसँगको संलग्नता, आबद्धता सँगसँगै पुरुषहरू र सुविधामा भएका महिलाहरूकै पनि आबद्धताको बारेमा आलोचनात्मक कुराहरू पनि आइरहेका छन् । त्यसले हाम्रो समानता र न्यायको आन्दोलनलाई बलियो बनाउँछ ।
पितृसत्ता र पितृसत्तात्मक संरचनाभित्रको गलत पुरुषत्वले कसरी हामी पुरुषहरूलाई हानि पुर्याइरहेको छ भन्ने कुरा पुरुषहरूले बुझ्न जरुरी छ ।
महिला आन्दोलनले मुद्दा उठाइरहेको विधि, प्रक्रिया वा गति कस्तो छ ? र, महिलाभित्रको विविधताको मुद्दाको उठान र नेतृत्व कसले कसरी गर्नुपर्छ ?
अहिलेसम्म ‘मूलधार’ मा निश्चित जाति, वर्गको हालमुहाली रहँदा चाहिँ त्यसबाट बग्ने पानी समावेशी भएन भन्ने हो । नेपालका अरू आन्दोलनहरूमा पनि त्यस्तो देख्न सक्छौँ, महिला आन्दोलनमा पनि देखिन्छ । तर, पछिल्लो चारपाँच वर्षयता हेर्ने हो भने एकदमै सीमान्तकृत समुदायका मानिसहरूले पनि मेरो मुद्दा म आफैँ उठाउँछु भनेको पाइन्छ । उदाहरणका लागि, दलित महिलाको मुद्दा त दलित महिलाले जस्तै गरी अरू कसैले उठाउनै सक्दैन, मधेसी दलित महिलाको मुद्दा पहाडको दलित महिलाले बुझ्नुपर्ने जति बुझ्न सक्दैनन् भनेरै विविध खालका आवाजहरू आइरहेका छन् । व्यक्तिगत रूपमा मैले भन्नुपर्दा जसको सवाल हो, उसले नै नेतृत्व गर्नुपर्छ । अर्को समूहको साथ सहयोग हुनुपर्छ ।
त्यसो भए महिला सवालका मुद्दामा पुरुषहरू चाहिँ चुप लागेर बस्ने हो त ? भन्ने प्रश्न पनि आउला । होइन, पुरुषहरूको साथ, सहयोग, सहकार्य र उत्तरदायित्व एकदमै जरुरी हुन्छ । तर, महिलाका मुद्दा के के हुन् ? समस्याहरू के के हुन् र के गर्नुपर्छ ? भन्ने सवालको नेतृत्व चाहिँ स्वयं महिलाले नै गर्नुपर्छ । बरु पुरुषहरूले पितृसत्ता र पितृसत्तात्मक संरचनाभित्रको गलत पुरुषत्वले कसरी हामीलाई खराब बनाइरहेको छ, पितृसत्ताको मारमा हामी पुरुष पनि कसरी परिरहेका छौँ भन्ने विषयमा नेतृत्व गर्न सक्दछन् ।
तपाईँको संस्था ‘हामी दाजुभाइ’ ले ‘पितृसत्ता वा पितृसत्तात्मक समाज र पुरुषत्व’ विरुद्ध काम गर्छ भन्नुभयो, त्यो भनेको के हो ?
‘हामी दाजुभाइ’ भनेको भएर कतिपयले चाहिँ दिदीबहिनीलाई ‘संरक्षण’ गर्न दाजुभाइ संस्था खोलेको हो कि भन्नुहुन्छ । तर, त्यस्तो होइन । हामी संरक्षणवादी दृष्टिकोणमा जाँदैनौँ, जानु पनि हुँदैन भन्नेमा स्पष्ट छौँ । त्यसो भए यही नाम किन राखियो भन्ने विषयमा थोरै भन्न चाहन्छु– पुरुष साथीहरूसँग बसेर गफ गर्दा, कुराकानी गर्दा प्रयोग गर्ने शब्द ‘ब्रो’ हो । ब्रो भनेको ब्रदर र ब्रदरको नेपालीकरण गरेर ‘दाजुभाइ’ बनाएका हौँ ।
अब संस्थाले गरिरहेको कामको बारेमा भन्दा पुरुष वा केटाहरूलाई पनि पितृसत्ताले असर गरेको हुन्छ, धेरैलाई फाइदा पनि भइरहेको छ । महिलाहरूलाई त ठुलो असर गरिरहेकै छ, यसो हो भने दुवैलाई हानि पुर्याउने सत्ता अर्थात् यसको आधारमा चलिआएको चालचलन, धर्म, संस्कृतिलाई प्रश्न र परिवर्तन गर्नुपर्छ भनेर लागेका हौँ । सँगसँगै पुरुषले पाएको अनावश्यक सुविधा कटाउने र समानताका लागि उत्तरदायी व्यवहार हुनुपर्ने कुरा तथा पुरुषभित्रको विविधतामा पनि काम गर्छौं । सबै पुरुषले पितृसत्ताबाट उही सुविधा पाएका छैनन् । यस्ता विषयमा पनि कुराकानी गर्ने गर्दछौँ ।
पितृसत्ताको बारेमा भन्नुपर्दा, ‘पितृ’ भनेको कुनै पनि त्यस्तो समाज हो जहाँ पुरुषलाई केन्द्रमा राखिन्छ र ‘सत्ता’ भनेको शक्ति हो । पुरुषसँग सबै शक्ति हुन्छ भने त्यो समाज नै पितृसत्तात्मक समाज हो । कतिपय अवस्थामा महिलाहरूबिचमा नै झगडा भएको देखिन्छ तर त्यहाँ पनि शक्तिमा पुरुष नै हुन्छन् । उदाहरणका लागि, छोरा जन्माएन भनेर सासूले बुहारीलाई पिटेको कुरा सुन्छौँ र त्यसलाई महिलाहरूबिचको झगडा भनिरहेका हुन्छौँ । त्यहाँ अलिकति गहिरिएर बुझ्ने हो भने ‘छोरा नजन्माएर’ भन्ने विषय छ । छोरासँग सम्बन्धित भएर ती सासू शक्तिमा देखिइन् । सासूको छोरासँग बिहे गरेको भएर बुहारी शक्तिहीन देखिएको हो ।
यसरी शक्तिहरू राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक रूपमा हेर्दा जहाँ पनि पुरुषकेन्द्रित भएको समाज नै ‘पितृसत्तात्मक समाज’ हो । नेपालको अहिलेको समाज पनि पितृसत्तात्मक समाज हो । यसले पुरुषहरूलाई धेरै सम्पन्न बनाएको छ, त्यसलाई हामीले नकार्न सक्दैनौँ । सँगसँगै पितृसत्ताले पुरुषहरूलाई हानि पनि गरिरहेको छ । त्यसैले किन पुरुषका लागि पितृसत्ता हानिकारक छ र फेमिनिस्ट आन्दोलनले कसरी यो हानिको हल गर्छ भनेर बुझाउने गरी काम गरिरहेका हौँ ।
पुरुषलाई आफ्नो दैनिक जीवन आफैँले चलाउनुपर्छ भनेर कहिल्यै तयार नै गरिँदैन ।
पितृसत्ताले पुरुषलाई अरू के के हानि पुर्याइरहेको छ ?
पुरुष भनेको एक्लो व्यक्ति वा समूह मात्रै होइन र सबै पुरुष उस्तै हुँदैनन् । पुरुषभित्र पनि विविधता छ । वर्ग, जात, भूगोल, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका आदि । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकभित्र पनि समयौनिक पुरुष (Gay), अन्तरलिङ्गीपुरुष (Intersex Men), पारलैङ्गिक पुरुष (Trans Men) हरू हुन्छन् । धनी र गरिब पुरुष हुन्छन् । यी सबै खालका पुरुषसँग पितृसत्तात्मक घर र समाजले गर्ने आशा चाहिँ एउटै हुन्छ– ‘कमाउनैपर्छ’, ‘परिवार पाल्नैपर्छ’ । कोही पनि पुरुषले म घरमा बसेर काम गर्छु भन्यो भने खराब हुने, कमजोर मानिने पितृसत्ताको चाल हो ।
बानी व्यवहारको हिसाबले पुरुष नरम मनको हुन नहुने, कमजोर मन भएको पुरुष नराम्रो मानिने र जबर्जस्ती पनि हिंस्रक बन्नुपर्ने । कतिपय अवस्थामा हिंस्रक नहुँदा, कसैलाई नपिट्दा वा ठुलाठुला झगडा नगर्दा त पुरुष नै होइन, यसमा पुरुषत्व नै छैन भन्ने गरिन्छ । पुरुष भएर रुनु हुँदैन भनेर हुर्काइन्छ, रुन बन्देज लगाइन्छ ।
अर्को महत्त्वपूर्ण कुरा, पुरुषलाई आफ्नो दैनिक जीवन आफैँले चलाउनुपर्छ भनेर कहिल्यै तयार नै गरिँदैन । लुगा धुने, खाना पकाउने, भाँडा माझ्ने जस्ता कामका लागि तयार नगर्दा पुरुषहरूले धेरै दुःख पाउँछन् र पाइरहेका छन् ।
अर्को कुरा, पुरुषहरू ‘शक्तिशाली’ हुन्छन् भन्ने सोचका कारण पुरुषहरूमाथि हिंसा भइरहे पनि बाहिर आउँदैन । पुरुषहरू ल्याउन चाहँदैनन् । त्यही भएर बालकहरूमाथि भइरहेका यौनजन्य हिंसा, पुरुषमाथि भएका एसिड प्रहारका जस्ता घटना बाहिरै नआउने रहेछ । यस्ता विविध कुराले गर्दा पुरुषका लागि पितृसत्ता हानिकारक छ । यसो भन्दैमा महिला र पुरुष दुवैलाई बराबर हानि गर्छ भन्नु न्यायोचित हुँदैन । पितृसत्ताको कारणले पुरुषले रुन पाउँदैन तर महिलामाथि बलात्कार हुन्छ, यो दुवै हानिलाई एउटै तराजुमा राख्न चाहिँ मिल्दैन ।
त्यही भएर पितृसत्ताकै अन्त्य र महिलावादको अवधारणादेखि नै काम गरिरहनु भएको हो ?
एकदमै ठिक भन्नुभयो, बुझाउनुपर्ने कुरा नै यही हो । हामीकहाँ फेमिनिज्मको बारेमा एक किसिमको ‘फोबिया’ छ । फेमिनिज्म भनेको खराब हो, यसले बिगार्छ, नास्छ भन्ने सोचाइ छ तर त्यसो होइन । फेमिनिस्ट मुभमेन्टले हामी, हाम्रो परिवार, समाज र राष्ट्रलाई झन् उन्नत बनाउन सहयोग गर्छ ।
म कहिलेकाहीँ सोच्छु, मैले एकदमै माया गरेर हुर्काएको छोरी, उनले आमालाई मात्रै मायाले अँगालो हालिन् भने त मलाई पनि चित्त दुख्छ नि तर हाम्रो समाजले त छोरीले बुबालाई अँगालो मार्नुहुँदैन, बुबा भनेको डरलाग्दो हुन्छन्/हुनुपर्छ, बुबासँग त छोराछोरी डराउनैपर्छ भन्ने देखाउँछ ।
यी सब कुराहरू नबुझेर फेमिनिज्म खराब लागिरहेको छ । अर्को चाहिँ घरमा टेलिभिजन मात्रै हेरेर बस्ने वा आफ्नो सबै काम अरूले नै गर्देओस् भन्ने चाहना राख्नेहरूका लागि मात्रै फेमिनिज्म खराब हो । यस्तै अवधारणा बुझाउन हामी काम गरिरहेका छौँ ।
घरभित्रको भातभान्साको कामदेखि बालबच्चाको हुर्काइ र सक्नेले आफ्नो काम आफैँ गर्नुपर्छ भनेर सानैदेखि सिकाएको कत्तिको पाउनुभएकाे छ ?
जति हुनुपर्ने त्यति भएको छैन । लैङ्गिक विभेद समाजद्वारा नै सिर्जित भएको हो । लैङ्गिकतासँग सामाजिकीकरण प्रक्रिया जोडिएको हुन्छ । मेरो एउटा पृष्ठभूमि बालअधिकार अभियान भएको भएर बालअधिकार अभियानमा लैङ्गिकता र समानताको बारेमा छलफल गर्ने गरिन्थ्यो, अभिभावकहरूसँग छलफल हुन्थ्यो ।
तर, एकदम इमान्दारीपूर्वक भन्दा नेपालको बालअधिकार अभियानभित्र जसरी यस्ता विषयमा समय र स्रोतको लगानी हुनुपर्ने हो, त्यो भएको छैन । पाँच वर्षका एउटा छोरा र अर्की छोरी सँगै छन् भने छोरी आमासँगै लुगा धुन वा अरू काम गर्न जान्छिन् तर छोरा जाँदैन । किनभने, त्यहाँ ती बच्चाहरूले कसले के काम गरिरहेका छन्, त्यो देखेर उनीहरूको दिमागमा बस्यो । त्यसैले यस्ता कुराहरू बच्चालाई सिकाउन अभिभावक नै मुख्य जिम्मेवार हुन्छन् । बच्चाले देखेर सिक्ने वातावरण बनाउने जिम्मा अभिभावकको हो । नेपालको बालअधिकार अभियानले लैङ्गिक सचेतनाका लागि अभिभावकसँग अझ धेरै काम गर्नुपर्छ ।
नेपालको फेमिनिस्ट आन्दोलनसँग बालअधिकार अभियानले सहकार्य गर्नु जरुरी छ । यसले फेमिनिस्ट आन्दोलनमा ठुलो योगदान गर्न सक्छ । यसमा बालअधिकार अभियान पनि तयार हुनुपर्छ ।
बालअधिकारको अभियानको कुरा गर्नुभयो, तपाईँ पनि यो अभियानमा जोडिँदै आउनुभयो, बालअधिकारको अभियान कत्तिको महिलावादी दृष्टिकोणको छ ?
मैले फेमिनिस्ट मुभमेन्टलाई बुझ्न र अध्ययन गर्न थालेपछि एउटा रिसर्च गरेँ । नेपालको बालअधिकार अभियान र त्यस अभियानमा २५ वटा जति सञ्जालहरू छन्, ती सञ्जालहरूको नेतृत्वमा को छ त भनेर पहिलेदेखिकै लैङ्गिक अभ्यास हेर्दा अधिकांश पुरुषहरू रहेछन् । हामीले बालअधिकार अभियानमा के गल्ती गरेछौँ भने लैङ्गिक समानताको कुरा बाल क्लबमा खुब सिकाएछौँ, बालबालिकालाई यसो गर्नु हुन्छ र गर्नु हुँदैन भनेर सिकाएछौँ तर वयस्क उमेरका हामी आफैँले चाहिँ अभ्यास गर्न चुकेका छौँ । आफूलाई हेर्दै हेरेनछौँ । त्यही भएर अघि मैले ‘उत्तरदायित्व’ को कुरा गरेको हुँ, उत्तरदायित्व महत्त्वपूर्ण हुन्छ ।
त्यसो भए त बालअधिकार अभियान र महिलावादी आन्दोलनबिच समन्वयरसहकार्य हुनुपर्ने रहेछ नि ?
हो, नेपालको फेमिनिस्ट आन्दोलनसँग बालअधिकार अभियानले सहकार्य गर्नु जरुरी छ । यसले फेमिनिस्ट आन्दोलनमा ठुलो योगदान गर्न सक्छ । यसमा बालअधिकार अभियान पनि तयार हुनुपर्छ । किनकि बालअधिकार अभियानभित्र पनि धेरै साथीहरू आफूलाई सार्वजनिक रूपमै फेमिनिस्टको रूपमा परिचित गराउन चाहनुहुन्छ, उहाँहरूको योगदान महत्त्वपूर्ण हुन्छ । यो दुवै आन्दोलन हो, हामीले निरन्तर लेख्ने, बोल्ने र छलफल गर्ने गर्नुपर्छ । यसले सामाजिक रूपान्तरणमा एकदमै सहयोग गर्छ ।
अहिलेसम्म चाहिँ नेपालको महिलावादी आन्दोलन र बालअधिकार अभियानबिच सहकार्य भएको पाउनुहुन्छ ? अथवा अब सहकार्य र समन्वयका लागि कसले कसरी पहल गर्नुपर्ला ?
सहकार्य शून्य नै होइन, केही भएका छन् । केही अभियानहरू सँगै पनि देखिन्छन् । तर, यो दुईबिचको सहकार्यको आवश्यकता र महत्त्वका बारेमा हुनुपर्ने गरी बहस त भएको पाइँदैन । मूल रूपमै भन्ने हो भने फेमिनिस्ट प्राक्टिस बालअधिकार अभियानमा नभएको देख्दा बालअधिकारका हर्ताकर्ता र नेतृत्व गर्नेहरूले फेमिनिस्ट मुभमेन्टसँग सहकार्यका लागि बढी पहल गर्नुपर्छ भन्ने लाग्छ ।
फेमिनिस्ट मुभमेन्टले नै पनि पहल गर्न सक्छ । किनकि बालअधिकार अभियानले बालिका अधिकार, सीमान्तकृत बालबालिकाको अधिकार, आमाको स्वास्थ्य र सुरक्षाको विषयमा लामो समयदेखि आवाज उठाउँदै आएको छ भने यी मुद्दा महिला अधिकारको आन्दोलनका पनि हुन् । यसरी हेर्दा यी दुईबिच सहकार्यको आवश्यकता छ, पहल जसले गर्दा पनि हुन्छ तर गर्नु चाहिँ पर्छ ।
तपाईँ लैङ्गिक अध्ययन विषयमा विश्वविद्यालयमा औपचारिक शिक्षा पनि लिइरहनु भएको छ, त्योभन्दा अगाडिदेखि नै अधिकारका क्षेत्रमा काम गरिरहनुभएको छ ? कसरी सुरु गर्नुभयो ?
घरमा मेरो बुबा र दाइ मीठो खाना बनाउने । मेरो आमा र दिदीहरू एकदम बोल्ने, नेतृत्व लिने गरेको मैले सानैदेखि देखेँ । ती कुराले मलाई कहीँ न कहीँ प्रभाव पार्यो होला । त्यसपछि बाल क्लबहरूमा आबद्ध भएँ, त्यहाँ लैङ्गिक समानताका कुरा सिक्दै, पढ्दै, छलफलमा भाग लिँदै गइयो । सन् २०१३/१४ तिर हामीले युवासँग सम्बन्धित एउटा संस्था स्थापना गर्यो । मेरो मनमा लैङ्गिक समानता र महिला अधिकारका लागि पुरुषहरू पनि बोल्नुपर्छ भन्ने पहिलेदेखि नै थियो । काम र अध्ययनकै क्रममा सन् २०१८ सम्म आइपुग्दा के अनुभव भयो भने महिलाका लागि पुरुष ‘बोल्दिने’ भन्नु चाहिँ महिला ‘बिचरा’ हुन् र उनीहरूका लागि हामी पुरुषले ‘बोल्दिनुपर्छ’ भनेर सोचियो कि भनेर आफैँप्रति प्रश्न गरेँ ।
काम र अध्ययनकै क्रममा पितृसत्ताले त पुरुषलाई पनि त असर गरिरहेको रहेछ भन्ने पनि बुझ्न थालेँ । पितृसत्ता भनेको यो हो, यसले महिलालाई कस्तो असर गरिरहेको छ, पुरुषलाई कस्तो असर गरिरहेको छ भनेपछि मैले फेमिनिज्म र फेमिनिस्ट मुभमेन्टको बारेमा थप अध्ययन गर्न र बोल्न थालेँ । त्यति बेलासम्म मसँग विकासे संघसंस्थामा काम गरेको मात्रै अनुभव थियो । तर, अब यस विषयमा प्राज्ञिक रूपमै सिद्धान्तहरू अध्ययन गर्नुपर्छ भन्ने लागेर त्रिभुवन विश्वविद्यालयमा ‘लैङ्गिक अध्ययन’ विषयमा पढ्न सुरु गरेँ । यो अध्ययनले मलाई विचार निर्माण गर्न, दृष्टिकोण बनाउन एकदमै सहयोग पुगिरहेको छ । अझ अध्ययन गर्ने, बुझ्ने क्रममै छु ।
घरमा कोही पाहुना आयो भने प्रायः पुरुषहरू पाहुनासँग गफ गर्ने, महिलाले चिया बनाएर ल्याउने अभ्यास हुन्छ । महिलाहरूले पनि प्रश्न गर्ने गरेको पाइँदैन भने पुरुषले पनि म भान्सामा जान्छु भन्दैन । तर, मैले यस्ता कुरामा व्यवहार परिवर्तन गरेको छु ।
यो विषय अध्ययन गर्ने पुरुषहरू तपाईँको ब्याचमा कति छन् ? तपाईँलाई त ‘पुरुष भएर’ लैङ्गिक अध्ययन विषय पढेको भन्ने प्रश्न पनि आयो कि ?
मलाई अलि पहिलादेखि नै चिनेकाहरूबाट त खासै प्रश्न आएन तर अरू केहीबाट यो विषय पढेर के हुन्छ, केटीहरूले पो पढेर जागिर पाउँछन्, केटाहरूका लागि यसको स्कोप छ र ? भन्ने प्रश्नहरू आए । यी प्रश्न पनि किन आए भने पढ्नु भनेको ज्ञान लिनु, विचार, दृष्टिकोण बनाउनु हो भनेर प्रायः बुझिँदैन, त्यसैले केही प्रश्नहरू आउनु स्वभाविकै पनि लाग्यो ।
जेन्डर भन्ने विषय फेरि महिलाले नै पढ्ने हो भन्ने हाम्रो आम बुझाइ पनि छ, त्यसैले हुन सक्छ, कक्षामा पुरुष म एक्लै छु । १३/१४ जनामध्ये सुरुमा दुई जना थियौँ, एक जनाले बिचमा छोड्नुभयो । कक्षामा प्रायः छात्राहरू मात्रै हुनु पनि अघि मैले भनेकै कारणसँग जोडिन्छ ।
फेमिनिस्ट आन्दोलनको इतिहास पढ्दा महिलासँगै बढी केन्द्रित छ, हुनु पनि पर्छ । त्यो अध्ययन गर्न पुरुष साथीहरूले अप्ठ्यारो मानेर भर्ना भएर पनि कतिपय छात्रहरूले बिचमै पढाइ छाडेका हुन् कि जस्तो लाग्छ । मनैदेखि आत्मसात नगरी यस्ता विषय पढ्न पनि सकिँदैन । तर, मलाई चाहिँ यो विषय पढ्नु एकदमै महत्त्वपूर्ण लागिरहेको छ । सैद्धान्तिक कुरा यसरी अध्ययन नगरी बोलेर हुँदैन भन्ने महसुस मलाई हुन्छ ।
तपाईँ आफूमा काम र प्राज्ञिक अध्ययनले के फरक ल्यायो जस्तो लाग्छ ?
मैले अघि पनि भनेँ । पाँच/सात वर्षअघि म लैङ्गिक समानताकै कुरा गर्थेँ तर सानो बच्चाको हेरविचार कसले गर्ने हो भन्यो भने दुध चुस्ने बच्चाको हेरचाह त आमाले नै गर्नुपर्छ भन्थेँ, त्यही सोच थियो । त्यो सोचाइ गलत रहेछ भनेर बुझ्न मलाई निकै समय लाग्यो ।
अर्को उदाहरण, घरमा कोही पाहुना आयो भने प्रायः पुरुषहरू पाहुनासँग गफ गर्ने, महिलाले चिया बनाएर ल्याउने अभ्यास हुन्छ । यसमा महिलाहरूले पनि प्रश्न गर्ने गरेको पाइँदैन भने पुरुषले पनि म भान्सामा जान्छु भन्दैन । तर, मैले यस्ता कुरामा व्यवहार परिवर्तन गरेको छु ।
तर अझै धेरै बुझ्नु छ । म त पुरुष, काठमाडौंमा बस्छु, खसआर्य, मेरो जुन भाषा, धर्म छ, त्यो नै ‘मूलधारे’ छ । यसले गर्दा मसँग धेरै अवसर छन्, जुन अवसर मभन्दा फरक भौगोलिक, धार्मिक, सांस्कृतिक र यौनिक पहिचान भएकाहरूसँग छैन । त्यसका साथै समावेशीका कुरा, अन्तरसम्बद्धताका कुराहरू त अझै धेरै अध्ययन गर्न, बुझ्नै बाँकी छ । अझै धेरै अध्ययन गरेर आफैँले व्यवहार परिवर्तन गरेर अरूलाई पनि बुझाउँदै जानुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईँको संस्थाले ‘फेमिनिज्म र पुरुष’ विषयमा सम्मेलन गर्दै आएको छ, यो किन ?
संस्थाले एक वर्ष काम गरिसकेपछि हामीलाई के महसुस भयो भने नेपालको फेमिनिस्ट मुभमेन्टमा पुरुषहरू हुनुपर्छ कि पर्दैन, पुरुष छन् कि छैनन् ? भन्ने कतिपयलाई थाहा थिएन । फेमिनिस्ट भनेको के हो ? के पुरुष पनि फेमिनिस्ट हुन्छन् ? कि फेमिनिस्ट महिला मात्रै हुन् ? अथवा फेमिनिस्ट आन्दोलनमा पुरुष किन आउनुपर्यो भन्ने पनि देखियो । धेरै जना दोधारमा भएको पाइयो । यस्तो देखिसकेपछि यो अवधारणामा छलफल, बहस हुनुपर्छ भनेर सन् २०२० मा नेपालमै पहिलोपटक ‘फेमिनिज्म र पुरुष’ भनेर सम्मेलन गरेका हौँ । यस वर्ष पनि गरिसक्यौँ ।
सम्मेलनको मूल उद्देश्य भनेकै धेरैभन्दा धेरै पुरुषलाई फेमिनिज्म र लैङ्गिक समानताको बारेमा ‘फोबिया’ छ, त्यो चिर्न सकौँ र लैङ्गिक रूपले न्यायपूर्ण समाजको परिकल्पना गरौँ, फेमिनिज्म मुभमेन्ट भनेको पुरुषले हार्ने र महिलाले जित्ने वा कसैको हार वा जित नभई दुवैको जितको अवस्था हो भन्ने बुझाउनका लागि हो । समानता र न्यायका लागि हो भन्ने बुझाउनका लागि यो मुभमेन्टमा लागेका र लाग्न चाहने साथीहरूलाई एक ठाउँमा ल्याऊँ भन्ने उद्देश्यले पनि सम्मेलन गरेका हौँ ।
महिलावाद वा महिलावादीलाई त डरको रूपमा हेरिन्छ । तर, महिलावादी हुन चाहनेलाई तपाईँ के भन्नुहुन्छ ?
यसलाई एकदम सजिलो गरी बुझ्नुपर्छ । यदि तपाईँ लैङ्गिक समानता र न्यायपूर्ण समाजका लागि काम गर्नुहुन्छ, बोल्नुहुन्छ, लेख्नुहुन्छ, पढ्नुहुन्छ अथवा आवाज उठाउनुहुन्छ र सँगसँगै आफ्नै व्यवहारमा पनि लागु गर्नुहुन्छ भने तपाईँ ‘फेमिनिस्ट’ हो ।
तर, फेमिनिस्ट बन्नु सजिलो पनि छैन । अहिलेसम्म हाम्रो घरमा महिलाले घरको सबै काम गरेर, अझ अहिले त महिलाहरूले नै बाहिर कमाउने पनि काम गरेर धेरैका लागि अझ प्रायः पुरुषका लागि घर सुखमय बनिरहेको छ । पुरुषले भने अफिसको मात्रै काम गरेर पुगिरहेको छ । त्यसरी सुखमय भइरहेको अवस्थालाई अर्को कसैले प्रश्न गर्यो भने ‘घर बिग्रिने भयो’ भन्ने गलत बुझाइ भएको हो । कतिपयलाई किन घर बिगार्नु पर्यो, घर चलेकै छ भन्ने पनि लाग्न सक्छ र उनीहरु चुपचाप बस्छन् । यो बुझाइको कमी हो ।
पुरुषले त झन् आवाज उठाएपछि आफूले पनि घरव्यवहारको काम गर्नुपर्छ भन्ने बुझेको छ भने ऊ किन बोल्छ ? त्यसैले यस्ता प्रश्न उठाएर बोल्यो भने फेमिनिस्ट भइन्छ र ‘फेमिनिस्टले घर परिवार भाँड्छ’ भनेर कोही डराएको वा कसैलाई डर देखाइएको हो । पुरुषको दृष्टिकोणबाट भन्नुपर्दा त ऊ आफूलाई उत्तरदायी हुन, जिम्मेवार बन्नलाई इच्छा नै गर्दैन । त्यसैले फेमिनिज्मतिर रुचि राख्दैन । महिलाहरूको दृष्टिकोणबाट प्रश्न उठाउँदा सम्बन्धमा केही दरार आयो भने महिलालाई नै दोष लगाउने सामाजिक चलन छ । घर भाँडिने, सम्बन्ध बिग्रिने र सम्पूर्ण दोष आफैँलाई आउने भनेर पुरुष डराएको हो भन्ने लाग्छ ।
अन्त्यमा, अहिले नेपालको महिलावादी आन्दोलनले उठाउनुपर्ने मुख्य मुद्दाहरू के के हुन् ?
पहिलो, नेपालको फेमिनिस्ट आन्दोलनलाई हेर्दा र मेरो अध्ययनको आधारमा भन्दा अन्तरसम्बद्धता (इन्टरसेक्सनल) को मुद्दा जति उठाउनुपर्ने हो, त्यति पुगेको छैन । काठमाडौँमा अलिअलि सुरु भएको छ, यतिले पुग्दैन । अन्तरसम्बद्धताको कुरा गाउँगाउँमा अभियानकै रूपमा उठ्नुपर्छ । यसका लागि नेपालको महिला आन्दोलन पनि सजग हुनुपर्छ, काम गर्नुपर्छ । समावेशी र अन्तरसम्बद्धताको मुद्दालाई सँगसँगै लैजानुपर्छ ।
दोस्रो, इन्टरनेट (प्रविधि) को कुरा, हामी ‘डाटा फेमिनिज्म’ पनि भन्छौँ, कोभिडका कारण इन्टरनेटमै सीमित पनि हुनुपर्यो । यो बाढी जसरी आएको इन्टरनेट प्रविधिलाई फेमिनिस्ट दृष्टिकोणबाट छलफल गरिहाल्नुपर्ने देखिन्छ ।
तेस्रो, नेपालको फेमिनिस्ट आन्दोलनमा पुरुषको भूमिका किन, कहाँ र कसरी भन्ने विषयमा स्पष्ट हुनुपर्छ ।
र, मैले पुरुषहरूसँग बढी काम गर्छु भने त्यहाँभित्र पनि अन्तरसम्बद्धता हेर्नुपर्यो, कस्तो पुरुष, कहाँको पुरुष, कुन धर्म वा भाषा, क्षेत्रको पुरुष ? अपाङ्गता भएका र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकभित्रका पनि पुरुषका विविध मुद्दा के के हुन् ? पहिचान गर्नुपर्यो । यो एक्लैले गर्ने होइन, सबैले मिलेर उत्तरदायी र सजग भएर गर्नुपर्छ ।
तस्विरहरू सौजन्य : सन्जोग ठकुरी ।
सन्धान, प्रकाशन मिति २०७८ चैत ९ गते बुधवार