Home Elaborations ‘नारीवादबारे गहन छलफलको प्रयास नै भएन ।’ -प्रा.डा. मिरा मिश्र

‘नारीवादबारे गहन छलफलको प्रयास नै भएन ।’ -प्रा.डा. मिरा मिश्र

dr-mira-mishra-featured-photo

महिलावाद–संवाद शृङ्खला २

महिलावाद–संवाद शृङ्खला किन ?

विश्वमा १८ औँ शताब्दीदेखि प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ। अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आम रूपमा नकारात्मक दृष्टिकोणले नै हेरिन्छ ।

यसै सन्दर्भमा हामीले ‘महिलावाद–संवाद शृङ्खला’ प्रस्तुत गर्दै आएका छौँ । सन्धानको यस शृङ्खलामा महिलावाद भनेको के हो ? महिलावाद कसका लागि ? महिलावादको आवश्यकता र महत्त्व के छ ? महिलावादी को हुन् वा को होइनन् ? नेपालमा महिलावाद र महिलावादी आन्दोलन कुन रूपमा आरम्भ भयो, कहाँ आइपुग्यो आदि जस्ता विषयमा महिलावाद र महिलावादी मुद्दासँग जोडिएर काम गर्दै आएका व्यक्तिहरूसँग हामी कुराकानी गर्नेछौँ ।

यही शृङ्खलाअन्तर्गत यस पटक त्रिभुवन विश्वविद्यालय (त्रिवि) को लैङ्गिक अध्ययन विभागका प्राध्यापक डाक्टर मिरा मिश्रसँग कुराकानी गरेका छौँ ।

काठमाडौँमा जन्मिनुभएकी प्रा.डा. मिश्र विगत ३७ वर्षदेखि त्रिविमा प्राध्यापनरत हुनुहुन्छ ।  ‘गृह विज्ञान’ विषयमा प्राध्यापन पेसा सुरु गर्नुभएकी मिश्रले पद्मकन्या बहुमुखी क्याम्पसमा सन् १९९६ ‘महिला अध्ययन’ विषयको अध्ययन/अध्यापन सुरु भएपछि साे विषयकाे प्राध्यापन गर्न थाल्नुभयो । ३६ वर्ष प्राध्यापन गरेर सेवाबाट निवृत्त हुनुभए पनि उहाँ हाल त्रिविमै लैङ्गिक अध्ययन विषयकाे स्नातकाेत्तर तहकाे अध्यापन र विद्यावारिधि कार्यक्रममा संलग्न हुनुहुन्छ ।

प्राध्यापनसँगै उहाँले महिलावाद तथा महिलावादी दृष्टिकोणबाट प्राज्ञिक अध्ययन तथा अनुसन्धान गर्दै सञ्चारमाध्यमहरूमा अनुसन्धानात्मक लेखहरू पनि लेख्दै आउनुभएको छ । उहाँ ‘महिलावाद’ लाई ‘नारीवाद’ भन्न रुचाउनु हुन्छ । प्रस्तुत छ, प्रा.डा. मिश्रसँग सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएको संवादमा आधारित सहलेखन ।)

महिलावाद भनेको के हो ?

dr-mira-portrait-photo
सन् २०१७ मा पद्मकन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सवको अवसरमा क्याम्पस परिसरमा मिश्र । तस्विर सौजन्य : मिरा मिश्र

नारीवाद भनेको सामान्य रूपमा लिङ्ग र लैङ्गिकताका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइँदैन भन्ने बुझाइ र अडान हो । नारीवाद मुख्यतः जीवन भोगाइबाट आउँछ । जीवन भोगाइबाट नारीवादी सवाल बन्छ । पितृसत्ताका कारण जीवनमा परेको नकारात्मक असर वा मारलाई सहज स्वीकार नगर्ने बरु प्रश्न गर्ने व्यक्तिलाई नै नारीवादी भनिन्छ । उनीहरूको यो अवस्थालाई उत्पीडनको अवस्था भनिन्छ । जहाँ उनीहरू आफूप्रतिको अन्याय सहनुको साटो त्यसको विरोधमा आवाज उठाउने र लड्ने अवस्थामा हुन्छन् । सामान्यरूपमा भन्नुपर्दा पितृसत्तालाई चुनौती दिनु नै नारीवाद हो । नारीवाद भन्नेबित्तिकै कुनै न कुनै रूपमा पितृसत्तालाई चुनौती दिएको चाहिँ हुनैपर्छ ।

तर, सबैले प्रश्न गर्दैनन् वा चुनौती दिँदैनन् । पितृसत्ताको कारण जीवनमा परेको नकारात्मक असर वा मारलाई सहज रूपमा लिने पनि धेरै हुन्छन् । उदाहरणका लागि कैयौँ महिलाहरू ‘म महिला भएर जन्मेपछि मेरो जीवन भोगाइ यस्तै त हो नि, राम्रो जीवन भोगाइका लागि त पुरुष भएर जन्मिनुपथ्र्यो’ भनेर पितृसत्ताको मारलाई नियति सम्झी सहज रूपमा लिने गर्छन् । यस्तो अवस्थाका महिलालाई अधीनस्थ अवस्थामा भएका महिला भनिन्छ । आफू मात्र होइन, यी महिलाहरूले आफ्ना छोरी, बुहारीलाई पनि यसैमा रमाउन प्रेरित र कर गर्ने पनि गर्दछन् । उदाहरणका लागि महिनावारी बार्न सिकाउने वा कर गर्नेमा आमा, हजुरआमाहरू नै बढी हुन्छन् । यसैगरी राति अबेरसम्म घरबाहिर नबस्न र छोटो लुगा नलगाउनु भनी आदेश दिनेमा पनि प्रायः उनीहरू नै हुन्छन् । यसले महिलाहरूको ‘मोबिलिटी’ र यौनिकतामाथि नियन्त्रण गर्छ र उनीहरूलाई परनिर्भर बनाइराख्छ । महिलाहरूको आर्थिक र सामाजिक परनिर्भरता पितृसत्ता टिकाइराख्ने प्रमुख अस्त्र हो । यसरी नै महिलाहरू पनि पितृसत्ताको ‘भेहिकल’ बनिरहेका छन् ।

कसरी बनिरहेका छन् ?

प्रसिद्ध नारीवादी तथा इतिहासविद् गर्डा लर्नरले आफ्नो किताब ‘क्रियशन अफ पेट्रियार्की’ मा भनेकी छन्, महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक परनिर्भरता नै उनीहरूको अधिनस्थ अवस्था र मानसिकताको प्रमुख कारण हो । परनिर्भर व्यक्ति आफूलाई खान, लगाउन र बस्न दिने व्यक्तिप्रति अनुगृहीत हुन्छन् । महिलाहरू पनि बाबु, दाजु वा पति र घरप्रति प्रायः अनुगृहीत नै हुन्छन् । यसरी परनिर्भरताबाट उत्पन्न हुने अधीनस्थ मानसिकता महिलाहरूले बलियोसँग बोकेका हुन्छन् । त्यसैले उनीहरू घरपरिवारमा आफ्नो स्थिति दोस्रो दर्जाको भए पनि उत्पीडन महसुस गर्दैनन् वा देखाउँदैनन् ।

नारीवादीबारे चासो राख्ने जो कोही, त्यसमा मिडियाकर्मीहरू पनि पर्दछन्, उनीहरूले  पितृसत्ताको बागडोर पुरुषले मात्रै थामेका छैनन्, महिलाहरू पनि अधीनस्थ अवस्थाका कारण पितृसत्ताको भेहिकल बनिरहेका छन् भन्ने बुझ्नुपर्छ। साथै, किन आफैँलाई दोस्रो दर्जाको व्यक्ति बनाउने पितृसत्तात्मक समाजको कर्ताको रूपमा महिलाहरू भूमिका खेलिरहेका छन् भन्ने बुझ्न पनि त्यत्तिकै जरुरी छ । नत्र उनीहरूको बुझाइ अपुरो हुन्छ । मिडियाको त्यस्तो अपुरो बुझाइबाट निस्कने सूचना गलत र भ्रमपूर्ण पनि हुन्छ ।  

नारीवादबारे आम रूपमा गलत बुझाइ छ । अनि जे बुझिएको छ त्यो अपुरो, अस्पष्ट र गलत छ । नारीवादीहरूले त लैङ्गिक रूपमा समान समाजको परिकल्पना गरेका हुन्छन् अर्थात् लैङ्गिक रूपमा न्यायसङ्गत समाजको परिकल्पना गरेका हुन्छन् ।

महिलावादबारेको आम बुझाइ तपाईंले भने जस्तै छ त ?

सामान्य रूपमा अहिले पनि नारीवाद वा नारीवादीभन्दा एकदम आक्रामक ढङ्गले प्रस्तुत हुने, निरन्तर प्रश्न गर्ने, जे कुरामा पनि छिट्टै जवाफ खोजिहाल्ने, त्यसपछि यो भएन, यो भयो भनेर ‘रिजनिङ’ गर्ने र केही कुरामा पनि चित्तै नबुझाउने हुन्छन् भनेर चित्रण गरिन्छ । र, यस्ता महिलाहरूलाई थेग्न सकिँदैन भन्ने पनि गरिन्छ । अझ सरल रूपमा भन्ने हो भने यस्ता महिलाहरूले घर गर्दैनन्, विवाह पनि नगर्ने र बच्चा पनि पाउँदैनन् र बुढाबुढी पनि स्याहार्दैनन् । अझ गहिरो रूपमा कुरा गर्ने हो भने यस्ता महिलाहरूले पुरुषलाई घृणा गर्छन् । उनीहरूले आफ्नो जीवनमा पुरुष चाहँदैनन् भन्नेखालको बुझाइ छ । 

मूल रूपमा नारीवादबारेको यो बुझाइ संसारमा पहिले पनि थियो र अहिले पनि छ । नेपालमा पनि नारीवादबारेको मूल र आम बुझाइ यही नै हो । अहिले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनसँगै यो बुझाइ अलि फराकिलो त पक्कै भएको छ तर सामान्यतया बुझाइ चाहिँ यस्तै नै छ । उदाहरणका लागि अहिले म जसरी आफूलाई नारीवादी भनेर चिनिन र चिनाउन रुचाउँछु, यो एकैपल्टमा भएको होइन । लैङ्गिक सवालमा काम गर्दै जाँदा नारीवादको बुझाइ फराकिलो हुँदै गयो र त्यो शब्दप्रतिको लगाव बढ्दै गयो । पहिला म स्वयंलाई नारीवादी भन्न हिच्किचाउथेँ । ठाउँ हेरेर नारीवादी परिचय दिन्थेँ । ‘वुमन स्टडिज’ को क्लासमा, जहाँ म पढाउँथे, यो परिचय सहज लाग्थ्यो, अरू ठाउँमा असहज । तर, अहिले समय बदलिइसकेको छ । क्लासमा युवा विद्यार्थीहरूले बिनाहिचकिचाहट आफूलाई ‘नारीवादी हुँ’ भनेर परिचय दिएको सुन्दा खुसी लाग्छ ।

भनेपछि महिलावादबारे गलत बुझाइ संसारभरि नै छ, जे बुझिएको छ त्यो गलत छ ?

हो, नारीवादबारे आम रूपमा गलत बुझाइ छ । अनि जे बुझिएको छ त्यो अपुरो, अस्पष्ट र गलत छ । नारीवादीहरूले त लैङ्गिक रूपमा समान समाजको परिकल्पना गरेका हुन्छन् अर्थात् लैङ्गिक हिसाबले न्यायसङ्गत समाजको परिकल्पना गरेका हुन्छन् । यसैको प्राप्तिका निम्ति लागिपरिरहन्छन् । नारीवादीहरूले घर गर्दैनन्, भएको घर पनि भत्काउँछन् । विवाह गर्दैनन्, बुढाबुढीको स्याहार गर्दैनन्, पुरुषलाई घृणा गर्छन् भन्ने हल्ला नारीवादीलाई बदनाम गर्ने प्रयास मात्रै हो । यो गलत प्रयास मानिसलाई र त्यसमा पनि आम महिलालाई नारीवादी बन्न नदिने राजनीति पनि हो । यस्तो राजनीति हामीले बुझेर नारीवादबारेको वास्तविकता बुझ्नु र बुझाउनुपर्छ ।

हुन त कसैले मलाई ‘फेमिनिस्ट’ नभन भन्यो भने ‘फेमिनिस्ट’ नै भन्नुपर्छ भन्ने होइन । तर, यो शब्दसँग किन डर लाग्यो भन्ने चाहिँ मुख्य प्रश्न हो । त्यो डरले आम रूपमा नारीवादलाई सहजतापूर्वक बुझ्न र त्यसको अभ्यास गर्न रोकिराखेको छ । मेरो बुझाइमा त ‘जेन्डर एक्सपर्ट’ भन्नु र नारीवादी भन्नुमा केही पनि फरक छैन ।

बुझाइ किन साँघुरो भयो र अब कसरी बुझाउने त सबैलाई ?

निचोडमा मलाई एउटा के कुरा भन्न मन लाग्छ भने नारीवाद के हो ? नारीवाद कति प्रकारका हुन्छन् ? र, सबै नारीवादी एकै प्रकारका हुन्छन् कि फरकफरक हुन्छन् ? के सबै प्रकारको नारीवादले पुरुषलाई घृणा गर्छ त ? अनि कुन प्रकारको नारीवादले पुरुषको साथ खोजिरहेको छ वा पुरुषको साथ नभई हुँदैन भन्छ त ? यी र यस्ता कुराहरूमा हाम्राबिचमा राम्रोसँग छलफल नै भएको छैन । यी कुराहरूमा गहन छलफल हुनुपर्छ, अनि मात्रै नारीवाद र नारीवादीलाई बुझिन्छ । नारीवाद र नारीवादीको बारेमा जति पनि बाहिर आएको छ, त्यो चित्रण डरलाग्दो छ, त्यसैले धेरै महिला र पुरुष नारीवादबाट टाढा बस्न रुचाउँछन् । लैङ्गिक क्षेत्रमा लामो समयदेखि लागिरहेका कतिपय महिलाहरूले नै पनि ‘मलाई जेन्डर एक्सपर्ट भन्नुस् तर फेमिनिस्ट नभन्नुस्’ भन्छन् । यो चिन्ता र चिन्तनको विषय हो ।

हुन त कसैले ‘मलाई फेमिनिस्ट नभन’ भन्यो भने उसलाई ‘फेमिनिस्ट’ नै भन्नुपर्छ भन्ने होइन । तर, यो शब्दसँग किन डर लाग्यो भन्ने चाहिँ गम्भीर प्रश्न हो । त्यही डरले आम ढङ्गले नारीवादलाई सजिलै बुझ्न र अभ्यास गर्न रोकिराखेको छ । मेरो बुझाइमा त ‘जेन्डर एक्सपर्ट’ भन्नु र नारीवादी भन्नुमा पटक्कै भिन्नता छैन । जेन्डर एक्सपर्ट अथवा एक्टिभिस्टले लैङ्गिक रूपमा पछाडि पारिएका वर्गका अधिकारका कुरा गर्छन् र त्यही विषयमा काम गर्छन् । यही त हो नि नारीवाद !

महिलावादी हुँ भन्न महिलाहरूलाई चुनौती छ भनेपछि पुरुषहरूलाई पनि ‘म महिलावादी’  भन्न झन् चुनौती होला अथवा डराउँछन् होला नि ?

पितृसत्तात्मक समाजमा थर बाबुबाट छोरामा सर्ने, सम्पत्ति बाबुबाट छोरामा जाने, बिहे गरेपछि महिला नै पुरुषको घरमा जानुपर्ने र मुख्य निर्णयहरू गर्न पुरुष नै चाहिने हुन्छ । साथै, धार्मिक व्याख्याबाट समाजलाई डोर्‍याउने कामको जिम्मा पाएका पुरोहितहरू पनि प्रायः पुरुष नै हुन्छन् । उदाहरणका लागि, सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर नारीवादीहरूले आवाज उठाउँछन् । त्यो पितृसत्ताका लागि चुनौती हो । आफूले जन्मेदेखि नै एकलौटी पाएको र पुर्खादेखि चल्दै आएको चलनको विरोधमा आवाज उठाउने पुरुष पनि नारीवादी हुन् । यसरी नारीवादी हुन पुरुषका लागि चुनौतीपूर्ण विषय हो ।

तर, कैयौँ पुरुषहरू छन्, जो सामाजिक न्यायमा विश्वास गर्छन् । लैङ्गिक समानतालाई लोकतन्त्र र संविधानको मर्म हो भनेर मान्दछन् । उनीहरू लिङ्ग, लैङ्गिकता र यौनिकताको आधारमा महिलामाथि भेदभाव हुनुहुँदैन भनी मत राख्छन् र समान अधिकार हुनुपर्छ भनेर नारीवादीहरूले उठाएका आवाजलाई समर्थन गर्दछन् । सारमा यिनीहरू नारीवादसँग डराउँदैनन् । बरु कैयौँ पुरुषहरू त नारीवादी आन्दोलनहरूमा सहभागी भइरहेका छन् र हुन रुचाउँछन् पनि ।

dr-mira-landscape-photo

महिलावादी आन्दोलनमा पुरुषहरूको भूमिका र उनीहरूको सहभागिता कस्तो हुनुपर्छ ? नेपालमा के छ अवस्था ?

संसारमा नारीवादको कुरा गर्दा एउटै अवस्था देखिँदैन । कतिपयले पुरुषको भूमिका भनेको सहयोगीको रूपमा (प्रो फेमिनिस्ट) हुन्छ भन्छन् । ‘प्रो फेमिनिस्ट’ भनेको के हो भने महिलाको अधिकार प्राप्त गर्नका लागि, महिलालाई जुन जुन क्षेत्रमा पितृसत्ताले वञ्चित बनाएको छ, त्यो प्राप्तिका निम्ति पुरुष पनि सहयोगी भएर लागिपर्छन् भन्ने हो ।

धेरै नारीवादीहरूले पनि पुरुषहरू ‘प्रो फेमिनिस्ट’ भूमिकामा रहून् भन्ने खोज्छन् । उनीहरूको बुझाइमा नारीवादमा महिलालाई सेन्टरमा राख्नुपर्छ किनकि नारीवादको जन्म नै महिलाले लैङ्गिक हिसाबले भोग्नुपरेको विभेदको विरोधस्वरूप भएको हो । त्यसैले पुरुषहरूलाई ‘प्रो फेमिनिस्ट’ भूमिकामा राख्नु उचित भन्छन् ।

केही नारीवादीले के भन्छन् भने पुरुषलाई पनि हामीले नारीवादी नै भन्नुपर्छ, ‘प्रो फेमिनिस्ट’ होइन । जसले लैङ्गिक रूपमा र लैङ्गिक दृष्टिकोणबाट पछाडि परेका वा पारिएकाहरूको अधिकारका लागि कुरा गर्छ, ऊ नारीवादी हो । नारीवादी नै भन्नुपर्छ भन्छन् । अर्काथरीको भनाइ के छ भने पुरुषहरू नारीवादी हुनै सक्दैनन्, उनीहरूको भनाइमा महिलाहरूले उत्पीडनको अनुभव जसरी गर्छन्, त्यो पुरुषहरूले गर्न सक्दैनन् । महिलाहरूको उत्पीडन महसुस गर्नै नसक्ने भएकाले उनीहरू नारीवादी होइनन् भन्छन् । तर, धेरैले चाहिँ नारीवादी उद्देश्यलाई पूरा गर्ने हो भने पुरुषको साथ नभई हुँदैन भन्छन् ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पुरुषको सहभागिताको कुरा नगरी हुँदैन । अब पुरुष र अहिलेसम्म आइपुग्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका मुद्दा पनि थपिएको छ । त्यसैले पुरुषहरू नारीवादीका रूपमा निस्किनुपर्छ । नारीवादको क्षेत्र फराकिलो हुँदै गइरहेको छ । तर, पुरुषहरूलाई कसरी हामीले साथमा ल्याउने, कसरी टिकाइराख्ने र पुरुषहरूको भूमिकालाई कसरी बढाउने यी तीन वटा विषयमा सबैभन्दा पहिला महिला नारीवादीका बिचमा प्रस्टता आवश्यक छ ।

अघि तपाईंले, हाम्रा लागि पनि महिलावादले बोल्नुपर्‍यो भन्ने आवाज युवा पुरुषहरूमा उठ्न थालेको छ भन्नुभयो, यो आवाज कहाँकहाँ कसरी उठेको छ ?

जो प्रायः युवा छन्, उनीहरू नारीवादलाई अलि फराकिलो किसिमबाट व्याख्या गरिरहेका छन् । उनीहरूका निम्ति नारीवाद महिलाको अधिकारको विषय मात्रै नभई पुरुषहरूको जीवनमा परिवर्तन ल्याउन सक्ने एउटा माध्यम पनि हुन सक्छ भन्ने मान्छन् । उनीहरूको विचारमा पितृसत्ताका कारण महिलामा मात्रै होइन, पुरुषहरूमा पनि छटपटी छ । त्यसैले उनीहरू पितृसत्ताले पुरुषलाई पारेको नकारात्मक असरका बारेमा पनि नारीवादले बोल्नुपर्छ भन्ने धारणा राख्छन् । अमेरिकी नारीवादी बेल हुक्स पनि पुरुषको बारेमा पनि नारीवादले बोल्नुपर्छ भन्ने मत राख्नुहुन्छ ।

मैले खासगरी लैङ्गिक अध्ययनका कक्षाहरू र अन्य छलफलमा यस्तो आवाज आएको सुनेकी छु । विभिन्न अध्ययनहरूले पनि यो देखाएको छ । युवा पुरुषहरूले के भन्छन् भने हाम्रो भूमिका परिवर्तन गर्नका लागि नारीवाद चाहियो । हाम्रो जीवन पनि नारीवादले बदल्न सक्छ भन्ने हामीहरूलाई लागेको छ भनेर युवा पुरुषहरूले भन्छन् ।

यस्तो भन्ने पुरुषहरू धेरै हुँदै गइसके । कैयौँ युवा महिलाहरू पनि भन्छन्, ‘यदि नारीवाद महिलाहरूका लागि मात्रै हो भने म नारीवादी होइन ।’ उनीहरू थप्छन्, केटाहरू पनि कति समस्यामा छन, पुरुष भएकै कारणले, त्यो समस्या पनि नारीवादले हेर्दिनुपर्‍यो । तर, नारीवादलाई पुरुषले पनि अपनत्व लिन सक्ने कसरी बनाउने भन्नेमा चाहिँ गहन छलफलको अझै खाँचो छ ।

नेपालको नारीवादी आन्दोलनको एउटा प्रमुख जिम्मेवारी भनेको नारीवादको बारेमा बढीभन्दा बढी र सही सूचना धेरैलाई दिन सक्नु हो, त्यसका लागि नारीवादीहरू आफू नै पहिले सुसूचित हुनुपर्छ र कुन तह वा समूहका मानिसहरूलाई कसरी बुझाउने भन्ने प्रस्ट हुनुपर्छ ।

नारीवाद यति महत्त्वपूर्ण छ भने त यसबारे विद्यालय तहदेखि नै पाठ्यक्रममा राख्ने र अनिवार्य पठनपाठन हुनुपर्ने होइन ?

नारीवादको मुख्य उद्देश्य भनेको ‘जेन्डर जस्ट’ (लैङ्गिक रूपमा न्यायपूर्ण) समाज बनाउनु हो, न कि एउटाको अधिकार खोसेर अर्कोलाई दिनु । यी कुराहरू विभिन्न माध्यमबाट बुझाउन सकिन्छ । विद्यालय र विद्यालय शिक्षाको पाठ्यक्रम एक प्रमुख माध्यम हुन सक्छ । त्यसैले विद्यालय शिक्षाको पाठ्यक्रममा राखिनुपर्छ । खुसीको कुरा, कक्षा ११ र १२ मा ऐच्छिक विषयको रूपमा ‘लैङ्गिक अध्ययन’ विषय राखिएको छ । स्नातकोत्तर तहमा पनि छ । पिएचडी कार्यक्रम पनि सुरु भएको छ । अब स्नातक तहको कोर्समा राख्न पनि एक तहको पाठ्यक्रम बनिसक्यो, अर्थात् एउटा एकेडेमिक पाटोबाट यसको सुरुवात भइरहेको छ, जुन खुसीको कुरा हो ।

छलफलका अरू माध्यम के हुन सक्छन्, सबैले बुझ्नु जरुरी छ भनेपछि यसबारे कसरी बुझाउने ?

हिजोआज धेरै ‘स्पेस’ हरू छन् र नयाँ ‘स्पेस’ हरू पनि बन्ने क्रममा छन् । बाल क्लब, किशोरकिशोरी समूह र आमा समूहहरू, महिला हिंसाविरुद्ध पुरुषहरूको समूह इत्यादि । ती ठाउँहरूमा छलफल हुनुपर्छ । तर, एउटा प्रश्न आउँछ, कस्तो छलफल गर्ने र कसले गर्ने ? त्यसैले नारीवादको बारेमा छलफल चलाउनेहरू नै के हो नारीवाद ? कति प्रकारका हुन्छन् ? यसका सैद्धान्तिक आधारहरू के हुन् र नारीवादका विविध प्रकार हुन्छन् भनेर छलफल चलाउन जानेहरूले नै पहिला बुझ्नुपर्छ । त्यसपछि छलफल चलाउन लागिएको समूहको आवश्यकता के हो र नारीवादसँग उनीहरूको जीवन कसरी जोडिन्छ भन्नेबारे पनि स्पष्ट हुनुपर्छ । त्यसैले नेपालको नारीवादी आन्दोलनको एउटा प्रमुख जिम्मेवारी भनेको नारीवादको बारेमा बढीभन्दा बढी र सही सूचना धेरैलाई दिन सक्नु हो, त्यसका लागि नारीवादीहरू आफू नै पहिले सुसूचित हुनुपर्छ र कुन तह वा समूहका मानिसहरूलाई कसरी बुझाउने भन्ने प्रस्ट हुनुपर्छ ।

महिलावादलाई बुझाउन वा बहसमा ल्याउन सञ्चारमाध्यमको भूमिका कस्तो हुनुपर्छ ?

सञ्चारमाध्यम भनेको कुनै पनि सूचना, जानकारी एकैपल्ट धेरै मानिसमा पुर्‍याउने माध्यम हो । तसर्थ मिडियाकर्मीहरूको जिम्मेवारी नारीवादीहरूको भन्दा कम हुँदैन । त्यसैले मिडियाकर्मीहरूले महिलासम्बन्धी, लैङ्गिकतासम्बन्धी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका बारेमा पाउने सूचनालाई लैङ्गिक दृष्टिकोण राखेर, बुझेर र ‘भेरिफाइ’ गरेर मात्र बाहिर ल्याउनुपर्छ । उदाहरणका लागि नारीवादीहरूले समानता खोजेको हो, न्यायसङ्गत समाज खोजेको हो, त्यो समानता भनेको त संविधानको मर्म पनि हो भन्ने कुरामा मिडियाकर्मीहरू प्रस्ट छन् भने सही सूचना र नारीवादी दृष्टिकोणहरू बाहिर आउँछन् ।

‘र्‍याडिकल फेमिनिस्ट’ बाहेक प्रायः सबै प्रकारका नारीवादीले लैङ्गिक समानता ल्याउन पुरुषको साथ चाहिन्छ भन्छन् । यो कुरालाई बाहिर ल्याउन सक्नुपर्छ । सबैलाई बुझाउन सक्नुपर्छ ।

सैद्धान्तिक रूपमा भन्नुपर्दा, कुन प्रकारको महिलावाद कस्तो हो ?

सुरुदेखि भन्दा लिबरल, मार्क्ससिस्ट, सोसलिस्ट, र्‍याडिकल नारीवादलाई ‘कोर नारीवाद’ भन्छौँ । त्यसपछि अरू आउँछ । लिबरल अर्थात् उदारवादी नारीवादले महिला पनि पुरुषसरह नै समान हैसियत भएका व्यक्ति हुन् भन्ने मान्यता राख्दछ र समान अधिकारको कुरा गर्छ । जस्तो नेपालमा हो भने नेपाल सरकारले पुरुषलाई जेजे अधिकार दिएको छ, त्यो सबै अधिकार महिलालाई पनि दिनुपर्छ भन्छ । यसको उदाहरणको रूपमा छोराछोरीले आफ्नो बुबाको नामबाट नागरिकता पाउँछन् भने आमाको नामबाट पनि पाउनुपर्छ भन्छन् । पुँजीवादी व्यवस्थालाई यसले चुनौती दिँदैन, बरु यही राज्यसँग समान अधिकार माग्छ । साथै, लैङ्गिक रूपमा संवेदनशील कानुन बनाउन राज्यलाई दबाब दिन्छ । र, पुरुषले पनि घरको काम गर्नुपर्छ भन्ने मान्यता राख्छ ।

मार्क्ससिस्ट नारीवादले के भन्छ भने पुँजीवादी व्यवस्थामा धनी र गरिब बनिरहन्छ । जुन समाजमा धनी र गरिबबिच खाडल हुन्छ, त्यो समाजमा विभिन्न किसिमका असमानता हुन्छन् । लैङ्गिक असमानता पनि यसको एउटा पाटो हो । पहिला चाहिँ राज्यको स्वरूप  पुँजीवादीको सट्टामा कि समाजवादी हुनुपर्‍यो कि साम्यवादी हुनुपर्‍यो, अनि मात्रै लैङ्गिक समानता प्राप्त हुन्छ । उनीहरूले थप के भन्छन् भने त्यसका लागि महिला र पुरुष दुवै मिलेर वर्ग सङ्घर्ष गर्नुपर्छ, वर्ग नै नरहेपछि लैङ्गिक विभेद पनि हुँदैन ।

निओ मार्क्ससिस्ट अथवा समाजवादी नारीवादीहरूले पुँजीवादी व्यवस्थामा वर्ग रहिरहन्छ, त्यसकारण यस्ता समाजमा लैङ्गिक असमानता पनि रहिरहन्छ भन्ने विश्वास गर्छन् । तर, वर्गसङ्घर्ष मात्रै यसको समाधान होइन भन्नेमा पनि विश्वास गर्छन् । यस्ता फेमिनिस्टहरू के भन्छन् भने पुँजीवादी व्यवस्थाले धनी र गरिबबिच खाडल ल्याउँछ, त्यो पक्कै हो । त्यसैले गर्दा लैङ्गिक विभेद त हुन्छ तर त्यति मात्र त होइन नि !

book-launch-photo
पद्मकन्या बहुमुखी क्याम्पसमा आयोजित प्रा.डा. चन्द्रा भद्रा (दायाँ) को पुस्तक विमोचनको क्रममा प्रा.डा. मिश्र (बायाँ) र बिचमा प्रा.डा. बिन्दु पोखेरल । तस्विर सौजन्य : मिरा मिश्र

मार्क्ससिस्ट नारीवादीहरू घरबाहिर महिलालाई पनि आर्थिक रूपमा सक्रिय बनाउनुपर्छ भन्छन्, यो कुरा ठीक हो तर घरभित्रको कुरा खोइ त ? घरधन्दा, बच्चा स्याहार्ने, हुर्काउने, बुढाबुढी स्याहार्ने जस्ता कुराहरूलाई मार्क्ससिस्ट नारीवादीले बहस नै गर्दैनन् । जब कि घरमा गरिने घरधन्दा, बच्चा स्याहार्ने, हुर्काउने, बुढाबुढी स्याहार्नेजस्ता कुराहरू घरबाहिर गएर गर्ने आर्थिक भनिने कुराभन्दा अलिकति पनि कम छैन, झन् महत्त्वपूर्ण छ ।

समाजवादी नारीवादीहरूले चाहिँ घरभित्रको विषयलाई पनि महत्त्व दिन्छन्, मुख्य रूपमा यही कुरा गर्छन् । तर, त्योभन्दा एक खुड्किला माथि गएर उनीहरूले केही हदसम्म जातजातिको कुरा पनि गर्छन् । यौनिकताको कुरा पनि गर्छन् । यसर्थ, समाजवादी नारीवादीहरूले मार्क्सवादी नारीवादीभन्दा अलि फराकिलो विचारधारा राख्न खोजेको देखिन्छ ।

‘र्‍याडिकल फेमिनिस्ट’ लाई नारीवादका विविध हाँगामध्ये सबैभन्दा कडा हाँगा भनेर पनि बुझिन्छ । यसको मुख्य बुझाइ भनेको संसारका सबै महिलाहरू पितृसत्ता र त्यसको देखिने ‘फेस’ पुरुषबाट केही न केही मात्रामा उत्पीडनमा परेका हुन्छन् । उत्पीडन भनेको उकुसमुकुसको अवस्था हो । पैसा कम पाउने, स्कुल जान पाउने/नपाउने जस्ता कारणले विभेदमा पर्नु भनेको समान कामको समान ज्याला नपाएर शोषणमा पर्नु जस्तो मात्रै होइन । प्रायः महिलाहरू आर्थिक, सामाजिक र राजनैतिक परनिर्भरताको कारणले कुनै न कुनै उकुसमुकुसमा परेका हुन्छन् । उनीहरूको स्वअस्तित्व हुँदैन । त्यसैकारणले जबसम्म पितृसत्ता रहिरहन्छ र त्यसको हालीमुहालीमा पुरुषको प्रमुखता रहिरहन्छ, तबसम्म महिलाहरू उत्पीडनबाट निस्किनै सक्दैनन् । त्यसैले उनीहरू पितृसत्ता र पुरुषलाई ‘रिजेक्ट’ गर्नुपर्छ भन्छन् । पितृसत्ता रहुन्जेल महिलामुक्ति सम्भव छैन भन्ने उनीहरूको बुझाइ हो ।

समग्रमा के हो भने सबै प्रकारका नारीवादीहरूको प्रमुख उद्देश्य भनेको लैङ्गिक समानता प्राप्त गरी समतामूलक समाज बनाउने नै हो । र्‍याडिकल फेमिनिस्टबाहेक प्रायः सबै प्रकारका नारीवादीहरूले लैङ्गिक समानता ल्याउन पुरुषको साथ चाहिन्छ भन्छन् । यो कुरालाई हामीले बाहिर ल्याउन सक्नुपर्छ । सबैलाई बुझाउन सक्नुपर्छ ।

कुनै पनि समाज न्यायपूर्ण र सबैले बस्नलाई  उपयुक्त बनाउनका लागि नारीवादी सिद्धान्तहरू महत्त्वपूर्ण हुन्छन् । नारीवादी सिद्धान्तले सामाजिक न्याय र समानताको कुरा गर्छ । विविधतामा विश्वास गर्छ ।

नेपालको महिलावादी आन्दोलनले महिलाभित्रको विविधिताको मुद्दा उठेन, पहिचान गरेन भनिन्छ नि ?

पहिचान नै गर्न नसकेको भन्दा पनि सीमान्तकृत महिलाहरूको विविध नारीवादी सवालहरू समग्र नारीवादी आन्दोलनका लागि कति महत्त्वपूर्ण छ र यस्ता सवालहरूलाई मूलधारको महिला आन्दोलनमा कसरी जोड्ने भन्ने कुरामा प्रस्टताको अभाव चाहिँ पक्कै देखिन्छ । मूलधारको नारीवादी आन्दोलनले मूलतः आम महिलाको अधिकारको कुरा गर्छ । उदाहरणका लागि नागरिकताको अधिकार, सम्पत्तिको अधिकार, स्कुल पढ्न पाउने अधिकार आदि । यो अधिकारको कुरा कुनै वर्ग, समूह विशेषका महिलाका लागि मात्र नभई सबै महिलाका निम्ति हो भनेर तर्क पनि गर्छन् । यो कुरालाई नकार्न मिल्दैन ।

तर, नारीवादी सवाल भनेको जीवन भोगाइबाट आउने सवाल हो र विविधताले भरिएको नेपाली समाजमा नारीवादी सवालहरू पनि विविध हुन्छन् भन्ने कुरा त्यत्तिकै महत्त्वको हुन्छ भन्ने बुझ्नु पनि मूलधारको नारीवादीको जिम्मामा आउँछ । जातको आधारमा, वर्गको आधारमा, क्षेत्रको आधारमा र यौनिकताको आधारमा महिलाहरूले भोग्दै आएकाे पीडा अरू कुनै पनि पीडाभन्दा कम हुँदैन । त्यसैले मूलधारको नारीवादी आन्दोलनको अर्को जिम्मा भनेको उत्पीडनमा परेका, बढी मारमा परेकाहरूको मुद्दा पहिचान गर्नु र त्यत्ति नै महत्त्वका साथ केलाउनु पनि हो । सीमान्तकृत जातजातिका महिलाहरू दोहोरो, तेहेरो र विविध मारमा परेका हुन्छन् । जस्तै: दलित महिला जात, वर्ग र लिङ्गको आधारमा हुने तेहेरो मारमा परेका हुन्छन् ।

अहिले नेपालको सन्दर्भमा महिलावादी आन्दोलनले उठाउनुपर्ने मुद्दा के हो ?

अहिले धेरै मुद्दाहरू उठेका छन्, हरेक मुद्दाको आफ्नै महत्त्व हुन्छ । तर, मलाई दुई वटा मुद्दा निकै महत्वपूर्ण लाग्छन् । जस्तो, महिलाको जिम्मामा रहेको मानिने ‘बेतलबी घरायसी काम’ र ‘बलात्कार’ (महिलामाथिको यौनजन्य हिंसा) । बलात्कार त अति नै भयो । यसमा विभिन्न कोणबाट छलफल हुनुपर्‍यो । कडा कानुन, दोषीलाई सजाय दिने त छँदैछ, यसबाहेक मलाई लागिरहने चाहिँ एउटा पुरुषलाई बलात्कारी बनाउने पुरुषत्वको निर्माण कसरी हुन्छ ? सामूहिक बलात्कारका घटना भइरहेका छन्, के यो यौन चाहना मात्रै हो त ? उनीहरूबिच कस्तो कुराकानी हुन्छ ? उनीहरूले कस्ता भिडियोहरू हेर्छन्, उनीहरूको हुकाई कस्तो थियो र कस्तो व्यक्ति बन्न प्रेरित गरियो ? आदि धेरै तहहरू खोतल्नुपर्छ र नारीवादी दृष्टिकोणबाट छलफल चलाउनुपर्छ । त्यसका साथै अहिलेका साना छोरा र छोरीहरूको हुकाई कसरी भइरहेको छ भन्ने पनि बहसको विषय हुनु आवश्यक छ ।

महिलावाद र यसको अवधारणालगायत विषयमा लामो कुराकानी भयो, अन्त्यमा केही भन्नुहुन्छ ?

कुनै पनि समाज न्यायपूर्ण र सबैले बस्नलाई उपयुक्त बनाउनका लागि नारीवादी सिद्धान्तहरू महत्त्वपूर्ण हुन्छन् । नारीवादी सिद्धान्तले सामाजिक न्याय र समानताको कुरा गर्छ । विविधतामा विश्वास गर्छ । लैङ्गिकता र यौनिकताको आधारमा कसैलाई पनि अन्याय हुनुहुँदैन भनेर वकालत पनि गर्छ । त्यसैले कुनै पनि व्यक्ति, घर, परिवार र समाजलाई उन्नत बनाउने कुरा नै नारीवाद हो । त्यसैले नारीवादी भन्न कसैले पनि डराउनुपर्दैन । नारीवादीहरूले घर बिगार्दैनन्, परिवार पनि बिगार्दैनन् । बरु सही किसिमले राम्रो भन्न मिल्ने घर, परिवार र समाज बनाउँछन् ।

सन्धान, प्रकाशन मिति : २०७८ चैत २ गते, बुधवार


Previous article‘महिलाले गर्न हुँदैन’ भनिएका चार वटा विशिष्ट काम ५० वर्षअघि नै गरेँ’ – कविता पौडेल
Next article‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’