Home Vision ‘२८ वर्ष अगाडि किताब निकालेँ तर डरले लुकाएर राखेँ’ –सीमा खान

‘२८ वर्ष अगाडि किताब निकालेँ तर डरले लुकाएर राखेँ’ –सीमा खान

1239
1

‘ऐतिहासिक कथा शृंखला’

हामीले सन्धान वेब पोर्टलमा ‘ऐतिहासिक कथा’ श्रृंखला सुरु गरेका छौँ । यो श्रृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनः स्मरण गर्नु र गराउनु हो ।

यसै क्रममा आज मुस्लिम समुदायकी अधिकारकर्मी सीमा खान (अल्मास खान) ले २०५० सालमा लेख्नुभएको पुस्तक ‘बुहारीको मोटरसाइकल’ का बारेमा चर्चा गर्दैछौँ । उहाँले यो पुस्तक प्रकाशित गरे पनि ससुराको डरका कारण बजारमा पठाउनुभएन । उहाँका अनुसार नेपालमा मुस्लिम समुदायका महिलाले लेखेर प्रकाशन गरेको यो पुस्तक नेपालमै पहिलो हो । त्यसैले यस पटकको ‘ऐतिहासिक कथा श्रृंखला’ मा यसै पुस्तकका बारेमा सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले कुराकानी गर्नुभएको छ । यस पुस्तकमा उहाँले आफ्नो नाम अल्मास खान राख्नुभएको छ ।

‘बुहारीको मोटरसाइकल’ पुस्तकको विषयवस्तु बारेमा बताइदिनुस् न ?

मेरो यो पुस्तक झन्डै तीन दशक अघि प्रकाशित भएको हो । त्यो बेला बुहारीले मोटरसाइकल चढ्दा घर, परिवार र समाजले नकारात्मक दृष्टिले हेर्ने समयको सेरोफेरोमा लेखिएको कथा हो । किताबको मुख्य पात्र ब्राह्मण परिवारको एउटी बुहारीलाई बनाएको छु । किनभने, मुस्लिम समुदायकी बुहारीले मात्र होइन, त्यति बेला ब्राह्मण परिवारकै बुहारीले पनि मोटरसाइकल चढ्दा खेप्नुपरेको चुनौतीका बारेमा लेखेको छु । करिब ३० वर्ष अगाडि महिला, त्यसमा पनि बुहारीले मोटरसाइकल चढ्नुलाई राम्रो नमान्ने अवस्थालाई पुस्तकमा उतारेको हुँ । मुस्लिम समुदायका महिलाले पुस्तक नै प्रकाशित गरेको यो पहिलो हो । तर मैले लुकाएरै राखेँ, विमोचन पनि गरिनँ ।

किताब प्रकाशन गरेर पनि लुकाएर राखेको भन्नुभयो, किन ?

त्यति बेला म पनि बुहारी नै थिएँ । मेरो ससुरा एकदमै कडा हुनुहुन्थ्यो । यो किताब बजारमा जाँदा कसैले केही भन्छन् कि भन्ने डर थियो । सबैभन्दा बढी डर ससुराको लाग्थ्यो । त्यसैले किताब लेखेर पुरानो पत्रकार स्वर्गीय जसुदा प्रधानको प्रेसबाट छापेँ तर विमोचन गर्ने र बजारमा पठाउने आँट आएन । तर, रमाइलो के भयो भने किताब प्रकाशित भएको करिब १० वर्षपछि ससुराले भेट्नुभएछ । किताब देखे पनि मलाई केही भन्नुभएन तर अरूसँग राम्रै लेखेको रहेछ भन्नुभएको थियो रे भनेर नजिकका आफन्तहरूले मलाई सुनाएका थिए ।

पुस्तकको नाम कसरी राख्नुभयो ?

यो कथासंग्रहले उठाएको कुरा नै एउटा धनी परिवारकी छोरीले माइतीमा चलाइरहेको मोटरसाइकल बिहे गरेपछि बुहारी भएर चलाउन नपाउँदाको अवस्थाको सेरोफेरोमा छ । त्यसैले यो शीर्षक छानेको हुँ । मैले यो किताब लेख्ने समयसम्म बुहारीहरूले मोटरसाइकल चलाउनु चुनौती नै थियो ।

यो किताब फेरि बजारमा ल्याउने योजना छ ?

हो, यो किताब फेरि प्रकाशन गरेर बजारमा ल्याउने योजनामा छु । बीचमा साझा प्रकाशनलाई दिइएको थिएँ, साझाले प्रदर्शनीमा राखिदिएको रहेछ । धेरैले प्रशंसा गर्नुभयो, राम्रो फिडब्याक पाएँ । किताबको बारेमा थाहा पाउने र देख्नेहरूले पनि खोज्नुभएको छ । त्यसैले पुनःप्रकाशन गर्ने योजनामा छु ।

तपाईंले किताब लेखेको करिब तीन दशकमा बुहारीको अवस्थामा परिवर्तन भएको पाउनुहुन्छ ?

अहिले धेरै कुरा परिवर्तन भइरहेको छ । त्यो बेलाकै जस्तो छ भन्न त मिल्दैन । तर, एक खालको स्वतन्त्रता पाए, पढेर जागिर खाने भए पनि बुहारी भएकै कारण घरभित्र बहन गर्नुपर्ने जिम्मेवारी चाहिँ त्यत्ति बदलिए जस्तो लाग्दैन ।

तपाईंले अरू पनि किताब लेख्नुभएको छ ?

लेख्दैछु । पहिलादेखि नै लेख्थेँ तर प्रकाशन गर्ने अवसर पहिलेदेखि नै पाइनँ । मेरो बुबा पनि असाध्यै कडा हुनुहुन्थ्यो । त्यो भएर कसैले थाहा नपाउने गरी डायरीमै उपन्यास लेखेर राखेको थिएँ । एउटा नयाँ किताब पनि चाँडै प्रकाशन हुँदैछ ।

सन्धान, प्रकाशन मिति : २०७८ चैत ७ गते, सोमवार


Previous article‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’
Next article‘समानता र न्याय नै फेमिनिस्ट दृष्टिकोण हो ।’ -सन्जोग ठकुरी

1 COMMENT

Comments are closed.