Home Insight पहिचान नपाउँदै बित्नुभयो आमा पनि –नेत्र राजवंशी

पहिचान नपाउँदै बित्नुभयो आमा पनि –नेत्र राजवंशी

254
0

झापा विद्रोह सुरु भएको अर्को वर्ष २०२९ फागुन २१ गते तत्कालीन पञ्चायत सरकारले पाँच जना नेताको हत्या गर्‍यो। त्यसैमध्येका एक हुनुहुन्थ्यो, वीरेन राजवंशी । २०२८ सालमा थालनी भएको सो विद्रोहमा उहाँ सुरुदेखि नै लाग्नुभएको थियो । वीरेनको हत्या भएको १७ वर्षपछि देशमा पञ्चायत व्यवस्थाको अन्त्य भएर बहुदलीय व्यवस्था लागु भयो । संसदीय राजतन्त्रसहितको प्रजातन्त्र आयो । व्यवस्था बदलिएपछि आम नागरिकको अवस्था बदलिन नसके पनि वीरेनको पहिचान सहिदमा बदलियो । श्रीमतीको मृत्यु भइसके पनि सन्तानले सहिद पुत्रको नाममा राज्यबाट राहत पाए ।

वीरेनको हत्या हुँदा उहाँकी श्रीमती फत्रीका साथमा चार र डेढ वर्षका दुई छोरा थिए । फत्रीले ती सन्तानलाई हुर्काउँदै श्रीमान्‌काे राजनीतिलाई सहयोग गर्नुहुन्थ्यो । वीरेनका घरमा सहकर्मी नेता, कार्यकर्ता आइरहन्थे । तिनलाई खाना पकाएर दिने काम फत्रीको हुन्थ्यो । वीरेनको हत्या भएपछि भने राजनीतिक नेता, कार्यकर्ता उहाँको घरमा आउन छोडे । वीरेनको विद्रोही राजनीतिका कारण छरछिमेक त फत्रीबाट टाढिएकै थिए, त्यसमाथि हत्या नै भइदियो । त्यसपछि त वीरेनका सहकर्मी नेता, कार्यकर्ता पनि फत्रीको घरमा आउन छाडे । फत्रीसँग आफ्नै बुबाले दिनुभएको खेतीयोग्य जग्गा थियो । डेढ दशक जति घरमा एक्लै दुःखका साथ खेती गरी दुई छोरा हुर्काउँदै अर्को बिहे पनि गर्नुभयो । २०४५ सालमा सुत्केरी हुन नसकेर अस्पतालमै उहाँको ज्यान गयो । बहुदलप्रति प्रतिबद्ध भए पनि प्रजातन्त्र पुनस्र्थापना हुनुअघि नै उहाँको निधन भयो । यसैले वीरेनले विद्रोहबाट खोजेको राजनीतिक परिवर्तनको प्रारम्भिक छनक पनि फत्रीले देख्न पाउनु भएन ।

वीरेन–फत्री दम्पतीका जेठा छोरा हुनुहुन्छ, नेत्र राजवंशी । उहाँले पनि आफ्ना बुबाले गरेको राजनीति के हो र त्यो केका लागि थियो भन्ने कुरा धेरै वर्षपछि मात्रै बुझ्नुभयो । परिवर्तनको महसुस गर्न अझ समय लाग्यो भन्ने उहाँको बुझाइ छ । पञ्चायतकालमा एक जना विद्रोही नेताको भूमिगत अवस्थामै हत्या भएपछि उनका परिवार र सन्तानले के कस्तो अवस्था भोग्नुपरेको थियो ? अहिले ती दिन सम्झँदा कस्तो लाग्छ ? एक जना सहिद र सहिदपत्नी आमाको दुःखमा नजिकका साक्षी बन्नुभएका नेत्रको बुझाइ र भोगाइ के रह्यो ? यिनै प्रश्नको सेरोफेरोमा रहेर ‘सन्धान’ का लागि पत्रकार सुजाता ढुंगानाले २०८० साउनमा नेत्रसँग कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, नेत्र राजवंशीको स्वकथन :

मेरो आमाले भनेको मैले सुनेको– बुबा २०२६–२७ सालदेखि नै भूमिगत हुनुभएको रे ! कहिलेकाहीँ राति लुकेर घर आउनुहुन्थ्यो रे ! बुबा घरमा आउँदा आमाले हामीलाई बुबा आउनुभयो भन्दै उठाउनु हुन्थ्यो रे ! तर, सानै भएर होला मलाई बुबाको अनुहार यादै छैन । जति याद छ, फोटोमा देखिने मात्रै हो ।

मेरो जन्म २०२५ सालमा भएको हो । बुबा बित्दा म चार वर्ष र भाइ डेढ वर्षका थियौँ । उहाँलाई झापा विद्रोहका बेला तत्कालीन पञ्चायत प्रशासनले जेल सार्ने बहानामा झापाको चन्द्रगढीबाट इलाम लग्दै गर्दा झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा हत्या गरेको थियो । उहाँसँगै अरू चार जना रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईंकेल, नारायण श्रेष्ठको पनि हत्या भएको थियो ।

मैले आमालाई बुझ्दा लाग्छ, उहाँमा त्यो खालको राजनीतिक चेतना थिएन । तर, बुबाका साथीहरू आएका बेला आमाले मध्यरातमै खाना पकाएर खुवाउनु हुन्थ्यो । खुवाउनलाई कहिल्यै झर्को मान्नु भएन ।

बुबालाई खोज्दै प्रहरी आउँथे । त्यति बेला हाम्रो (काठले बारेको सानो) टाँडे घर थियो । प्रहरीले कहिले घरको ढोका फुटाइ दिन्थे । कहिले आमालाई घचेट्दै भित्र छिर्थे । आमा केही भन्न सक्नु हुन्नथ्यो । आमाले त्यो बेला पढ्ने लेख्ने अवसर पाउने कुरै भएन । मैले आमालाई बुझ्दा लाग्छ, उहाँमा त्यो खालको राजनीतिक चेतना थिएन । तर, बुबाका साथीहरू आएका बेला आमाले मध्यरातमै खाना पकाएर खुवाउनु हुन्थ्यो । खुवाउनलाई कहिल्यै झर्को मान्नु भएन ।

हाम्रो परिवारलाई खान र लाउनको चाहिँ दुःख नै थिएन । किनभने, मेरो आमा जमिनदारको छोरी । आमाको भागमा विवाह गर्नुअघि नै १७ बिघा जग्गा मावलातिरबाट दिनुभएको रहेछ । हामी ज्यामिरगढी भन्ने ठाउँको त्यही जग्गामा घर बनाएर बसोबास गर्थ्यौं । बुबाको परिवारसँग चाहिँ हाम्रो आवतजावत अलि पातलो थियो । पछि ठुलो भएर थाहा पाएँ । २०२९ साल फागुन महिना रहेछ । बुबासँगै बुबाका चार जना साथीहरूलाई पनि जेल सार्ने बहानामा झापा विद्रोहका बेला तत्कालीन पञ्चायत सरकारले सुखानीको जङ्गलमा लगेर मारेछन् । बुबाको हत्या भएको खबर आएपछि हामी दुई छोरालाई च्यापेर आमा हजुरबाको घर पुग्नुभयो ।

बुबाको मूल घर भने अहिले भद्रपुर–९ पुवातुवाडी भन्ने ठाउँमा पर्छ । त्यहाँ पुग्दा सबै जना रोइराख्नुभएको थियो । हाम्रो त केटाकेटी बुद्धि ! के भएको राम्रो थाहा पाएनौँ । त्यसपछि हामीलाई लिएरै आमा चन्द्रगढी प्रहरीमा पुग्नुभयो । आमाको धेरै बोल्ने स्वभाव थिएन । हामी केटाकेटी झन् के बोल्ने थाहै थिएन । हामीले प्रहरीलाई बुबाको लास दिन भनिरहेका थियौँ, प्रहरीले हाम्रो कुरा सुन्दै सुनेन । त्यति बेलासम्म हाम्रो परिवार मात्रै थियो ।

बुबा भूमिगत भएपछिको कुरा हो । हाम्रो घरमा लगभग छिमेकीहरूको आवतजावत कम भइसकेको थियो । हामीलाई पनि आमाले छिमेकीको घर नजानू भन्नुहुन्थ्यो । साथीभाइले हामीलाई डाँकाको छोरा भन्थे ।

हामी बस्दै गर्दा सहिद परिवारकै अर्को एकजना महिला पनि आउनु भएको थियो । को हो भन्ने अहिले भन्न सक्दिनँ । उहाँको ज्यान मेरो ममीको भन्दा बलियो देखिने, राजनीतिक चेतनाको हिसाबले पनि सायद बाठो हुनुहुन्थ्यो जस्तो लाग्छ, निडर पनि हुनुहुन्थ्यो । उहाँ आएपछि त प्रहरीलाई ‘कि हामी परिवारैलाई गोली हान्, नभए हाम्रो मान्छेहरूको लास दे’ भन्नुभयो ।

प्रहरीसँग घचेटाघचेट नै पर्‍यो । त्यसपछि जीवन ममीले नै खै कताबाट बन्चरो ल्याउनुभयो । बन्चरोले ढोका फोडेर आ–आफ्नो मान्छेको लास लिएर जाऊँ, गोली हान्छ भने परिवारलाई नै सकोस् । यस्तै भन्नुभयो । हुन पनि त्यो बेलाको समय र माहोल हेर्दा हामी सबै परिवारलाई हान्छ भन्ने भयो । त्यसपछि हामी सबैले लास खोलामा लगेर दाहसंस्कार गरिदियौँ ।

बुबा भूमिगत भएपछिको कुरा हो । हाम्रो घरमा लगभग छिमेकीहरूको आवतजावत कम भइसकेको थियो । हामीलाई पनि आमाले छिमेकीको घर नजानू भन्नुहुन्थ्यो । साथीभाइले हामीलाई डाँकाको छोरा भन्थे । तर, बुबा बितेपछि हामीसँग राजनीतिक सम्पर्क पनि टुट्यो । प्रहरीले हामीलाई दुःख दिन पनि छोड्यो । हामी फेरि मामाघरतिर नै बस्न थाल्यौँ । बुबाको घरतिरबाट हामीलाई कुनै सहयोग भएन । बुबाको हत्या भएपछि काकाहरूले पनि पढ्न पाउनु भएन ।

हजुरबुबाले पढेका मान्छेलाई पञ्चायतले मार्छ भनेर काका, फुपूहरू सबैलाई पढ्न दिनु भएन, रोक्नुभयो । हामी भने घरबाट टाढा बसेकाले पढ्न पायौँ । मैले २०३६ सालमा सात कक्षा पास गरिसकेको थिएँ । त्यसपछि भने घरमा काम गर्नुपर्ने भयो । भाइलाई पनि पढाउनुपर्ने भएपछि मैले स्कुल पढ्न पाइनँ । उसै पनि म सानो ममीको घरमा हली जस्तै भएर बसेको थिएँ ।

आमाले २०३१ सालमा अर्को बिहे गर्नुभयो । श्रीमान् वा श्रीमती नहुनेले अर्को विवाह गर्नु हाम्रो राजवंशी समुदायमा त्यति बेला सामान्य नै थियो । हाम्रो समुदायमा डाङ्वा (घन्ज्या) राख्ने चलन थियो । यो भनेको बिहे गरेको केटा (श्रीमान्) लाई महिलाले आफ्नै घरमा ल्याएर राख्ने चलन हो । यही चलन अनुसार आमाले पनि अर्को बुबा ल्याउनुभयो । तर त्यसपछि हामी अलि आमासँग टाढिए जस्तो भयौँ । म मामाघरमा हुर्किएँ । भाइ र म आमा र मामाघर दुवैतिर आउजाउ गर्थ्यौं ।

हामीले कागजात पेस गरेको झन्डै एक महिना भएर पनि नागरिकता पाएनौँ । शिविर उठ्ने अघिल्लो रात मलाई बोलाएर कसम खान लगाए । त्यसपछि मात्रै मेरो नागरिकता बनेको थियो ।

जनमत सङ्ग्रह २०३६ सालमा घोषणा भएको थियो । त्यसलाई हामी बहुदलको चुनाव भन्थ्यौँ, अहिले पनि भन्छौँ । त्यस चुनावमा आमाले ‘हामी त बहुदलका मान्छे हौँ, बहुदलमा भोट हाल्नपर्छ’ भन्नुहुन्थ्यो । मैले त भोट हाल्न पाइनँ । आमाले बहुदलको पक्षमै भोट हाल्नुभयो । २०४३ सालमा घुम्ती शिविरबाट नागरिकता बनाउने टोली ज्यामिरगढी गाविसमा बसेको थियो । हामीले कागजात पेस गरेको झन्डै एक महिना भएर पनि नागरिकता पाएनौँ । त्यति बेला हामी आमा–छोरालाई नै टाउको कटुवाका सन्तान भनेर साह्रै अपमान गरे । मैले त नागरिकता लिने बेलामा टाउको कटुवाहरूसँग जाँदिनँ भनेर कसम नै खाएको । मलाई त्यस्तो कसम खान लगाइयो । शिविर उठ्ने अघिल्लो रात मलाई बोलाएर कसम खान लगाए । त्यसपछि मात्रै मेरो नागरिकता बनेको थियो ।

मेरो आमाको मृत्यु २०४५ सालमा भद्रपुर अस्पतालमा भयो । सुत्केरी व्यथाले च्यापेको बेला बच्चा जन्माउन नसकेर उहाँले ज्यान गुमाउनुभयो । आमाले अर्को बुबासँग विवाह गरेपछि सायद अफ्ठ्यारो नै अफ्ठ्यारो झेल्नुभयो । त्यसैको बिचमा हामीलाई छोडेर जानुभयो । आमाको मृत्यु भएको एक वर्षपछि २०४६ सालमा देशमा बहुदल आयो । बहुदल आएपछि हाम्रो पहिचान फेरियो । पहिले डाँकाको छोरा भन्नेले सहिदका छोरा भन्न थाले । जीवन ममी (जीवन घिमिरे, संविधान सभा सदस्य), विश्वेसरा ममी (विश्वेसरा दाहाल, पूर्व राष्ट्रिय सभा सदस्य), केपी अङ्कल (नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली), नरेश अङ्कल (नरेश खरेल, संविधानसभा सदस्य) हरूसँग बहुदल आएपछि नै हाम्रो भेटघाट सुरु भयो ।

बुबाका कारणले आमाले जे जति दुःख पाउनुभयो, हामी जुन पीडामा हुर्कियौँ, त्यसको कुरा गरेर साध्य छैन । बुबाले चाहेको परिवर्तनको सपना बुबाले त देख्न पाउनु भएन नै, आमाले समेत देख्न पाउनु भएन ।

सहिदको नाममा सहिद परिवार भनेर एक लाख रुपैयाँ राहत पायाैँ । भाइले जागिर खान सुरु गरेको थियो । तर, भाइ २०५३–५४ सालतिर ब्लड क्यान्सरका कारण बित्यो । भाइको उपचारमा पनि निकै सहयोग भयो । बुबाको सम्झनामा हामीले वीरेन स्मृति प्रतिष्ठान नै बनाएका छौँ ।

बुबाका जीवनी अहिले मेचीनगर नगरपालिकाको स्थानीय पाठ्यक्रममा समावेश भएको छ । यसले गर्दा बुबाको पहिचान नयाँ पुस्ताका बालबालिकासम्म पुगेको छ । उनीहरूले थाहा पाएका छन् । प्रतिष्ठान घुम्न आउँछन्, हामीसँग कुरा गर्छन् । खुसी लाग्छ । तर, बुबाका कारणले आमाले जे जति दुःख पाउनुभयो, हामी जुन पीडामा हुर्कियौँ, त्यसको कुरा गरेर साध्य छैन । बुबाले चाहेको परिवर्तनको सपना बुबाले त देख्न पाउनु भएन नै, आमाले समेत देख्न पाउनु भएन । मेरो आमा त झन् सहिदपत्नी भन्ने सम्मान समेत नपाउँदै बित्नुभयो ।

प्रकाशन मिति : २०८० फागुन २१ गते, साेमवार

यो पनि पढ्नुहोला