Home Opinion अरूलाई सहयोग गर्नुपर्छ भन्ने माहोल परिवारबाटै देख्दै आएँ – चेतना लोकसम

अरूलाई सहयोग गर्नुपर्छ भन्ने माहोल परिवारबाटै देख्दै आएँ – चेतना लोकसम

803
1

‘दुःख निवारण गुठी’ की कार्यकारी निर्देशक चेतना लोकसम क्लिनिकल साइकोलोजिस्ट, रेकी हिलर र सिनियर साइकोसोसियल काउन्सिलर अर्थात् वरिष्ठ मनोसामाजिक मनोविमर्शकर्ता हुनुहुन्छ । सेन्टमेरिज स्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी चेतनाले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञान विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी केही समय सोही विश्वविद्यालयमा अध्यापन पनि गर्नुभयो । उहाँको जन्म २०२८ साउन १४ गते काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

करुणादेवी र तिलबहादुर लोकसमको तेस्रो सन्तान चेतनाले यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) नेपाल, प्लान इन्टरनेसनल लगायतका संस्थामा आबद्ध भई समुदायस्तरमा समाजसेवाका काम पनि गर्दै आउनुभएको छ । नेपालमा मानसिक तथा मनोसामाजिक स्वास्थ्य र मनोसामाजिक मनोविमर्शको अवस्था र महत्त्वका विषयमा उहाँ जानकार हुनुहुन्छ । यसमा उहाँको जीवनभोगाइ पनि जोडिएको छ । प्रस्तुत छ, ‘सन्धान’ का लागि चेतना लोकसमसँग मनोसामाजिक मनोविमर्शकर्ता समेत रहनु भएकी सञ्चारकर्मी आश्मा अर्यालले २०८० माघमा गर्नुभएको कुराकानीको सम्पादित अंश :

तपाईंलाई मनोसामाजिक स्वास्थ्य र मनोसामाजिक मनोविमर्शको क्षेत्रमा अध्ययन गरी काम गर्न के कुराले कहिलेदेखि प्रेरित गर्‍यो ?

म सानै छँदादेखि मेरो पारिवारिक माहोल र मेरो आफ्नै स्वभावले मलाई मनोसामाजिक स्वास्थ्य र मनोसामाजिक मनोविमर्शको क्षेत्रमा अध्ययन गरी काम गर्न प्रेरित गर्‍यो भन्ने लाग्छ । मेरा बुबा समाज सुधारक, साहित्यकार र राजनीतिमा चासो राख्ने व्यक्ति हुनुहुन्थ्यो ।

तत्कालीन राजाको नजरमा पनि सुझाव दिने बौद्धिक व्यक्तित्वको रूपमा चिनिनुभएको मेरो बुबा राजाकै आदेशमा भूमिसुधार अधिकारी पनि हुनुभयो । मेरी आमा पनि कसैलाई पनि अन्याय हुनुहुँदैन/गर्नुहुँदैन भन्ने पक्षमा अडिग भएर न्यायका आवाज बोल्नुहुन्थ्यो । म मेरी आमालाई ‘हाउस मेकर’ पनि भन्न चाहन्छु । उहाँको त्याग, सरलता र मायाले गर्दा बुबा र हामी छोराछोरीहरूले सही बाटो भेट्टायौँ ।

सानोमा म आफूलाई खाजा खान दिएको पैसा बचाएर राख्थेँ । त्यो पैसा म बाटोमा हिँड्दा जजसलाई त्यसको आवश्यकता भएको देख्थेँ, उनीहरूलाई बाँड्दै हिड्थेँ ।

सानैमा कसैले मलाई के बन्ने भनेर सोध्यो भने सधैँ म त अरूको सेवा गर्ने हो भन्थेँ । बुबाको इच्छा त छोरी डाक्टर बनोस् भन्ने थियो । तर, मेरो स्वभावले मलाई यो क्षेत्रमा उभ्यायो । सानोमा म आफूलाई खाजा खान दिएको पैसा बचाएर राख्थेँ । त्यो पैसा म बाटोमा हिँड्दा जजसलाई त्यसको आवश्यकता भएको देख्थेँ, उनीहरूलाई बाँड्दै हिड्थेँ । बुबाले पनि आजभन्दा ५० वर्ष अघि अप्ठ्यारोमा परेकालाई सहयोग गर्न भनेर ‘दुःख निवारण गुठी’ भन्ने संस्था स्थापना गर्नुभएको थियो ।

अरूको दुःखमा काम गर्नुपर्छ भन्ने माहोल मैले परिवारमा सानैदेखि देख्दै आएँ । अहिले मैले गरिरहेको काम ‘साइकोसोसियल काउन्सिलिङ’ हो । यो पनि अरूको ओठमा हाँसो ल्याउन सकिने विषय र कार्यक्षेत्र हो । यसैले मलाई सही अर्थमा सेवा गर्न सकिने काम यही नै हो भन्ने लागिरहन्छ । कुनै हिसाबले मेरो जीवनमा यो काम सानैदेखि जोडिँदै आयो भन्ने लाग्छ ।

तपाईं दुःख निवारण गुठीको कार्यकारी निर्देशक हुनुहुन्छ । तपाईंको बुबाले स्थापना गर्नुभएको यो संस्थाले कसरी, के के काम गर्दै आएको छ ?

मेरो बुबाले २०३० सालमै स्थापना गर्नुभएको यो संस्थाको उद्देश्य अप्ठ्यारोमा परेका व्यक्तिलाई आर्थिक वा अन्य आवश्यक सहायता प्रदान गर्ने रहेको थियो । त्यो गुठीको कार्यालय हाम्रो घरमै थियो । टाढाटाढाका व्यक्तिहरू मेरो बुबालाई खोज्दै आइपुग्नुहुन्थ्यो । पछि बुबा बिमारी भएर हलचल गर्नै गाह्रो भयो । त्यस्तो अवस्थामा पनि आमाले यताउता गरेर खुब दुःखसँग यो संस्थालाई जोगाउँदै ल्याउनुभयो ।

त्रिभुवन विश्वविद्यालयमा पढाउँथे तर अध्यापनले सन्तुष्ट हुन सकिनँ । मलाई मनोविमर्शको माध्यमबाट सेवाग्राहीलाई सहयोग गर्न मन थियो । त्यसैले पढाउन छोडेँ ।

यस्तैमा बुबाको अन्तिम इच्छा पनि यो संस्था नमरोस् भन्ने नै रह्योे । त्यही भएर बुबाको निधनपछि म र मेरो श्रीमान्‌ले यो संस्था चलाउन थालेका हौँ । यो संस्थाले २०६२ सालदेखि हालसम्म मनोसामाजिक मनोविमर्श तालिम तथा सेवा उपलब्ध गराउँदै आएको छ । यसले मानसिक स्वास्थ्यका लागि आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छ । साथै, विभिन्न समुदाय तथा संस्थासँगको सहकार्यमा विविध खालका सिपमूलक र मानसिक स्वास्थ्य सशक्तीकरण सम्बन्धी कामहरू यो संस्थाले गर्दै आएको छ ।

यहाँले त्रिभुवन विश्वविद्यालयमा पढाउनु पनि हुन्थ्यो तर त्यो काम छोडेर विभिन्न संस्थामा आबद्ध भएर काम गर्न अग्रसर हुनुभयो । पढाउन छोड्नाको कुनै विशेष कारण वा बाध्यता पनि थियो कि ?

हो, मैले पढाउन छोडेँ । स्नातकोत्तर तहमा राम्रो अङ्क ल्याएकै कारण मलाई त्रिभुवन विश्वविद्यालयमा पढाउन दिइएको थियो । त्यो अध्यापनले म सन्तुष्ट हुन सकिनँ । मलाई मनोविमर्शको माध्यमबाट सेवाग्राहीलाई सहयोग गर्न मन थियो । तर, त्यति बेला अध्यापन गर्दासम्म मैले एक जना पनि सेवाग्राहीलाई मनोसामाजिक मनोविमर्शको माध्यमबाट सहयोग गर्न पाएकी थिइनँ । यस खालको मेरो असन्तुष्टि नै मैले अध्यापन कार्य छोड्नाको मूल कारण हो ।

मसँग भएको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न नपाएकै कारण मैले सिभिक्ट भन्ने संस्थामा गएर छमहिने मनोसामाजिक मनोविमर्श तालिम सबैका लागि खुला गर्न आग्रह गरेँ । त्यति बेला उहाँहरूले साना कर्मचारीलाई मात्र मनोसामाजिक मनोविमर्श तालिम दिइरहनुभएको थियो । त्यस्तो सन्दर्भमा मेरो आग्रहलाई स्वीकार गर्नु धेरैका लागि एउटा ऐतिहासिक अवसर पनि बन्यो भन्ने लाग्छ ।

यसरी सिभिक्टमा छमहिने मनोसामाजिक मनोविमर्श तालिम लिने हाम्रो समूह पहिलो समूह बन्यो । तालिमपछि म त्यही संस्थामा आबद्ध भएर अरूलाई तालिम दिने, मनोसामाजिक मनोविमर्श गर्ने काम गर्न थालेँ । मैले अध्यापन छोड्नाको पछाडि अरू खालको कुनै बाध्यता भने थिएन ।

सेवाग्राहीलाई हामी सिधै कुनै सल्लाह दिँदैनौँ । हाम्रो लागि कोही पनि व्यक्ति बिरामी होइन, सेवाग्राही हो । सेवाग्राहीले चाहेको जीवन जिउन हामी सहजीकरण मात्र गर्छौं ।

तपाईंले ‘मनोसामाजिक मनोविमर्श’ भन्ने पदावली प्रयोग गर्नुभयो, ‘साइकोसोसियल काउन्सिलिङ’ लाई मनोसामाजिक मनोपरामर्श, मनोसामाजिक परामर्श वा ‘काउन्सिलिङ गर्नु’ भनेको पनि सुनिन्छ । यस बारेमा स्पष्ट पारिदिनुस् न !

‘साइकोसोसियल काउन्सिलिङ गर्नु’ भनेको मनोसामाजिक मनोविमर्श गर्नु हो । मनोविमर्श गर्नु भनेको मनका कुरा गर्नु, विचार र भावनाको विश्लेषण गर्नु हो । ‘परामर्श’ त सिधा र सल्लाहको रूपमा दिइन्छ, तर विमर्श त्यस्तो हुँदैन । एउटा चिकित्सकले बिरामीको समस्या अनुसारको औषधि लेखिदिँदै त्यो प्रयोग गर्दाका फाइदा बेफाइदा बताउँदै के गर्ने, के नगर्ने भनेर बताइदिन्छन् । त्यो परामर्श हो । तर, यसको ठिक विपरीत हुन्छ, ‘साइकोसोसियल काउन्सिलिङ’ । यसलाई हामी ‘मनोसामाजिक मनोविमर्श’ भन्छौँ ।

यसमा सेवाग्राहीलाई हामी सिधै कुनै सल्लाह दिँदैनौँ । न त हामी सेवाग्राहीप्रति हाम्रो धारणा नै बनाउँछौँ, न त्यो (बिरामी हो भन्ने बनिबनाउ) धारणा अनुरूपको व्यवहार गर्छौं । सेवाग्राहीमाथि हामी हाम्रो धारणाको प्रयोग पनि गर्दैनौँ । हामी त सेवाग्राहीसँग छलफल र अन्तरक्रिया गर्छौं । हाम्रो लागि कोही पनि व्यक्ति बिरामी होइन, सेवाग्राही हो । सेवाग्राहीले चाहेको जीवन जिउनका लागि हामी सहजीकरण मात्र गर्छौं । यी र यस्तै बुझाइका कारणले गर्दा हामी मनोसामाजिक मनोविमर्शकर्ता हौँ, परामर्शदाता वा परामर्शकर्ता होइनौँ ।

कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने उसले पहिले मनोसामाजिक मनोविमर्शकर्तालाई भेट्ने कि सोझै चिकित्सककहाँ जाने ? के गर्दा उपयुक्त हुन्छ बताइदिनुहोस् न ?

सबैभन्दा पहिले हामीले जनचेतनाको कमी र मानसिक स्वास्थ्य अवस्थासँग जोडिएका भ्रमलाई तोड्नुपर्ने हुन्छ । उदाहरणका लागि एउटा प्रसङ्ग सुनाउँछु– एक जना सेवाग्राही मकहाँ मनोसामाजिक मनोविमर्शको लागि आउनुभएको थियोे । उहाँले केही समयदेखि औषधि पनि खाइरहनुभएको रहेछ । त्यसैक्रममा उहाँले अर्का एक जना चिकित्सकसँग पनि भेटेर सल्लाह गर्न पाए हुन्थ्यो भनेर मसँग भन्नुभयो । त्यसपछि मैले उहाँलाई एक जना चिकित्सकको नाम सुझाएँ । उहाँ त मैले सुझाएकै चिकित्सककोमा पहिले नै गइसक्नुभएको रहेछ । उहाँले मलाई पछि भन्नुभयो, “म्याम, मलाई अहिलेसम्म सहयोग गरेको त तपाईंसँगको मनोसामाजिक मनोविमर्शले मात्र रहेछ । मैले पहिला जुन औषधि खाएको थिएँ, त्यो औषधिले त काम नै गरेको रहेनछ ।”

यो प्रसङ्ग मैले यहाँ किन उल्लेख गरेको भने यसले मनोसामाजिक मनोविमर्शको महत्त्व कति छ भन्ने बुझाउँछ । औषधि प्रयोगकर्ताको लागि पनि मनोसामाजिक मनोविमर्श अत्यन्तै बलियो र प्रभावकारी सेवा बन्न सक्छ । त्यसैले समयमै मनोसामाजिक सेवाको लागि पुग्न सकियो भने त झन् औषधि सेवन गर्नुपर्ने अवस्था नै नआउन पनि सक्छ ।

समयमै मनोसामाजिक सेवाको लागि पुग्न सकियो भने त झन् औषधि सेवन गर्नुपर्ने अवस्था नै नआउन पनि सक्छ ।

मानिसको जीवनमा उतारचढाव आइरहन्छन्, कतिपय घटना र परिस्थितिले मानसिक रूपमा गाह्रो बनाइरहेको हुन्छ । यस्तो अवस्थामा के गर्ने ?

जस्तोसुकै नराम्रो परिस्थितिमा पनि राम्रो कुरा खोज्ने र त्यो नराम्रो जे छ, त्यसलाई स्विकार्ने प्रयास गर्ने । परिस्थितिलाई स्विकार्ने प्रयास गर्नुपर्छ । मेरै भोगाइको कुरा गर्दा पनि मेरो २०६० सालमा बिहे भयो । २०७७ सालमा श्रीमान् बित्नुभयो । श्रीमान् बित्दा कोरोना महामारीको समय थियो । एक त श्रीमान् बित्दाको अवस्था, त्यसमा पनि महामारीका कारण कोही नजिक नआउने । त्यसमाथि रातको बेला थियो । कस्तो भयो होला ? तर, त्यति बेला पनि उहाँको अन्तिम बिदाइमा धेरै मान्छेहरू आउनुभयो । उहाँको अन्तिम बिदाइमा आएका मानिसको जुन भिड देखेँ, त्यसले मलाई पीडासँग सामना गर्न सहयोग गर्‍यो ।

अर्को घटना पनि सुनाउँछु, मेरो पेटमा बच्चा रहेको कुरा मलाई थाहा नहुँदै खेर गएछ । मेरो कार्यक्रमको लागि मेरो कुदाइले त्यो स्थिति आएको भन्ने कुरा पछि मात्र थाहा पाएँ, जुन मेरो लागि पीडादायी अवस्था हो । तर, जुन कार्यक्रमको लागि म लागिपरेको थिएँ, त्यो कार्यक्रमको सफलता मेरा लागि यति आनन्दको क्षण भयो कि मैले त्यस्तो चोट परेको बेलामा पनि आफूलाई सम्हाल्न सकेँ । त्यसैले मलाई लाग्छ, जीवन भनेकै हामीलाई सचेत बनाइराख्नका लागि आइरहने चुनौतीहरूको सँगालो हो । चुनौतीलाई स्विकारेर सकारात्मक पाटोतिर ध्यान दिँदै आफूलाई सम्हाल्ने र अघि बढ्दै जाने । मानसिक स्वास्थ्यको रक्षाका लागि यस्तो उपायको अभ्यास गर्नु नै राम्रो हुन्छ ।

यहाँको विचारमा आजका सन्तानको हुर्काइ कत्तिको मानसिक स्वास्थ्यमैत्री छ ?

चाहे छोरी हुन् या छोरा, हाम्रो सन्तान हुर्काइको तरिका सच्याउनु अति आवश्यक छ । हामीले बालबालिका र किशोरकिशोरीसँग उनीहरूको अधिकार र किशोरावस्थामा आउने शारीरिक मानसिक परिवर्तनको कुरा गर्दैगर्दा उनीहरूका जिम्मेवारी पनि हुन्छन् भन्ने ठानिरहेका हुँदैनौँ । जस्तै, हामी अभिभावक बच्चालाई घरमा छोडेर आफ्नो कामले एकैछिन बाहिर जानुपर्‍यो भने उनीहरूलाई खानेकुरा या अरू केही चिज ल्याइदिने आश उनीहरूको मनमा भरिदिएर मात्र निस्कन्छौँ । तर, हामी उनीहरूलाई यस्तो केका लागि भन्दैछौँ त भन्ने कुराको हेक्का प्रायः राख्दैनौँ ।

आफ्ना बालबालिका र किशोरावस्थाका सन्तानलाई त अभिभावकले उनीहरूको पारिवारिक, सामाजिक, आर्थिक अवस्था र कार्यहरूसँग परिचित पो गराउने हो त ! यसरी स–साना कुरामै पुरस्कार र प्रशंसा दिन थालियो भने उनीहरूको लागि जिम्मेवारी बहन गर्दा मिल्ने पुरस्कारको मूल्य कति हुने त ? सबै थोकमा केही न केही पाउनै पर्ने हो त जीवनमा ? यस्तो होइन भन्ने सोचेर बालबच्चा हुर्काउनुपर्छ । यो पनि एउटा उदाहरण मात्र हो ।

आफू खुसी भएर सँगसँगै अरूलाई पनि खुसी दिने काम गर्न सक्नुले मानिसको जीवनमा बढी अर्थ राख्छ ।

अरू पनि यस्ता धेरै गल्तीहरू हामीले बालबच्चाको हुर्काइमा गरिरहेका छौँ । जस्तो, अरूको देखासिकीमा बालबालिका हुर्काउनु, चुनौती नै नदिई भौतिक लगानी मात्र गरेको ग¥यै गर्नु, आफ्नो सन्तानको मानसिक अवस्था, सामाजिक व्यवहारमा केही विचलन देखा पर्‍यो भने त्यसलाई स्वीकारसम्म नगर्नु । कति किशोरकिशोरी, युवा पुस्ताका व्यक्तिहरू मेरोमा आउनुहुन्छ तर त्यो कुरा उहाँहरूको अभिभावकलाई थाहै हुँदैन ।

काउन्सिलिङ गर्दै जाँदा उहाँहरूले ‘म्याम, यो त मेरो बुबाआमाले बुझ्नुपर्ने हो नि’ भनेर पटकपटक भनिरहनुभएको हुन्छ । किशोरकिशोरीको आमाबुबासँग त्यस्ता कुरा गर्‍यौं भने उहाँहरू मान्नै तयार हुनुहुँदैन । उहाँहरूको भनाइ हुन्छ– हामीले भनेका सबै गरिदिएका छौँ, महङ्गो स्कुलमा पढाएका छौँ, उसलाई यस्तो हुनै सक्दैन । आमाबुबाको त्यस्तो बुझाइ एकदमै गलत हो ।

नेपालमा मनोसामाजिक मनोविमर्शको अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ?

सेवा लिनका लागि सेवाग्राहीहरू त आउनुहुन्छ तर हामी मनोसामाजिक मनोविमर्शकताहरूकै बिचमा एकता छैन । हामी थोरै छौँ तर आजको दिनसम्म पनि एकजुट भएर साझा सङ्गठनसम्म बनाउन सकेका छैनौँ । गर्न धेरै बाँकी छ र त्यसको लागि म र मेरो लागि भन्ने भावनाबाट माथि उठेर हामी र हाम्रो लागि भनेर काम गर्ने कोही चाहिएको छ । धैर्य गर्नुपर्छ एकदिन अवश्य राम्रो हुन्छ ।

अन्त्यमा भनिदिनुहोस् न, कुनै पनि व्यक्तिले खुसी हुन के गर्नुपर्ला ?

आफू मात्र खुसी हुनु मेरो लागि खुसी नै होइन । मेरो लागि त्यस्तो खुसीको सकारात्मक अर्थ छ भन्ने पनि महसुस हुँदैन । आफू खुसी भएर सँगसँगै अरूलाई पनि खुसी दिने काम गर्न सक्नुले मानिसको जीवनमा बढी अर्थ राख्छ । निःस्वार्थ भावले प्रेरित भएर कसैका लागि केही गर्न सक्नु नै व्यक्ति खुसी हुने सुन्दर उपाय हो भन्ने लाग्छ मलाई ।

प्रकाशन मिति : २०८० फागुन १८ गते, शुक्रवार

यो पनि पढ्नुहोला


Previous articleबालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी
Next articleपहिचान नपाउँदै बित्नुभयो आमा पनि –नेत्र राजवंशी

1 COMMENT

  1. म चेतना लक्सम ज्यु को निगरानिमा निक्कै समय देखि छु । अत्यन्तै सामान्य लाग्ने वहाँ भित्र अदभुत शक्तिको महशुस गरि रहेको छु ।
    दुई दशक भन्दा लामो बिराम र औषधि सेवनले छिनेको ज्यान अहिले मानसिक शारीरिक दुबै हिसाबले म तन्दुरुस्त मात्र होइन सबल नै भइ सकेको छु । चेतना ज्युलाइ र वहाँले सरल र मधुर आवाजमा दिनु भएको मोटिभेसनलाइ मैले नसम्झेको दिनै हुँदैन । उहाँ सम्म पुग्न माध्यम बनेका चलचित्र निर्देशक भाइ हाङ चेम्जोङलाइ अनेकौ धन्यवाद ।
    हर पल नमन चेतना ज्यु ।

Comments are closed.