Home Opinion दलित महिला वडा सदस्य : जीवनमा आएको परिवर्तन र जिम्मेवारीको बोध

दलित महिला वडा सदस्य : जीवनमा आएको परिवर्तन र जिम्मेवारीको बोध

511
0

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि दलित महिलाहरूले मुलुकको शासन व्यवस्थामा सक्रिय सहभागिता जनाउने अवसर तथा अधिकार पाएका हुन् । २०७९ साल वैशाखमा भएको स्थानीय निकाय निर्वाचनबाट छ हजार ६२० दलित महिला वडा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।

संवैधानिक र कानुनी व्यवस्थाले गर्दा स्थानीय तहमा दलित महिलाहरूको उल्लेखनीय प्रतिनिधित्व हुनसकेको हो । राज्य सञ्चालन प्रणालीमा दलित महिलाहरूको सहभागिताबाट उनीहरूको दैनिकीमा के कस्ता परिवर्तन आएका छन् ? जिम्मेवारी बोधको स्थिति के कस्तो छ ? प्रस्तुत छ, यिनै प्रश्नमा केन्द्रित रहेर सात प्रदेशका सात दलित महिला वडा सदस्यसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गर्नुभएको कुराकानीमा आधारित आलेख :

बोल्ने क्षमतामा विकास : संगितादेवी सार्की

सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोरायल गाउँपालिका वडा नम्बर ३ की महिला दलित वडा सदस्य संगितादेवी सार्कीको दिनचर्या वडा सदस्य हुनुअघि मेलापात गरेरै बित्ने गरेको थियो । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उहाँ नेपाली कांग्रेसबाट दलित महिला वडा सदस्यमा निर्वाचित हुनुभएको हो । वडा सदस्यमा निर्वाचित भएपछि एकाएक उहाँको दिनचर्या बदलिएको छ । उहाँ आफूमा जिम्मेवारी थपिएको महसुस भएर दिनचर्या पनि बदलिन पुगेको बताउनुहुन्छ ।

पहिले घरव्यवहारमा मात्र ध्यान दिने संगितादेवी अहिले वडावासीको गुनासोलाई वडासम्म पुर्‍याउने माध्यम बन्नुभएको छ । “म पढेलेखेकी छैन । पहिले घरधन्दाबाहेक बाहिरी संसार कस्तो हुन्छ थाहा थिएन,” उहाँ भन्नुहुन्छ, “अहिले नाम लेख्न र सही गर्न आउँछ । केही कुराहरू आफूले जानेर पनि समाजका दिदीबहिनीलाई सिकाउने सम्झाउने गरेको छु ।”

एक वर्ष अघिको र अहिलेको आफ्नो दिनचर्या फरक भएपछि आफूमा परिवर्तन आएको महसुस संगितादेवीलाई हुने गरेको छ । उहाँलाई मेलापात छाडेर विभिन्न कार्यक्रमहरूमा जानुपर्छ । त्यसरी विभिन्न कार्यक्रममा जाँदा नयाँ नयाँ कुरा बुझ्ने अवसर मिल्ने गरेको अनुभव उहाँको छ । उहाँमा आएको परिवर्तनको जग के हो त ? उहाँ भन्नुहुन्छ, “धेरै कुराहरू समूहमा रहेपछि सिकेको हो ।” यो सिकाइले उहाँलाई वडा सदस्यसम्म हुने अवसर दिलाएको उहाँको बुझाइ छ ।

जनप्रतिनिधि भएर दुई चार जनाको अगाडि गएर बोल्न सक्ने, दिदीबहिनीलाई केही कुरा सिकाउन सक्ने भएको छु,” संगितादेवी भन्नुहुन्छ ।

संगितादेवी भन्नुहुन्छ, “मैले वडा सदस्यसम्म हुन पाएँ । वडा सदस्य भएपछि गर्नुपर्ने काम सिक्ने अवसर पनि पाएँ ।” यसो भन्दै उहाँ जीवनमा अवसर र सिकाइलाई सँगसँगै अघि बढाउनुपर्ने ठान्नुहुन्छ । प्रतिस्पर्धाको जमाना छ भन्ने पनि उहाँलाई थाहा भइसकेको छ । यसैले प्रश्न गर्नुहुन्छ, “अहिलेको जमानामा नाम मात्र लेख्न जान्नेलाई के अवसर दिइन्छ र ?”

पहिले वडाकै मानिसले पनि नचिन्ने संगितादेवीलाई अहिले गाउँपालिकाका सबै मानिसले चिनेकामा उहाँ खुसी हुनुहुन्छ । उहाँका श्रीमान् ४२ वर्षीय प्रेमकुमार सार्की मजदुरीका लागि भारत जाने गर्नुहुन्छ । उहाँका पाँच छोराछोरी छन् । दुई छोरीको बिहे भयो भने सानो छोरा ११ वर्षका छन् ।

छोराछोरीले घरको काममा सहयोग गर्ने उहाँको भनाइ छ । “पार्टी (नेपाली कांग्रेस) ले टिकट दिएर उठायो, कामसँगै धेरै अवसरहरू पाइएकोमा खुसी छु,” उहाँ भन्नुहुन्छ । वडामा आफ्नो कुराको पनि सुनुवाइ हुने गरेको वडा सदस्य संगितादेवीको एक वर्षको अनुभव छ । यसरी नै आगामी दिनमा पनि कामहरू होलान् भन्ने उहाँलाई लागेको छ । “हाम्रोमा बिजुली बत्ती, खानेपानी र बाटोको समस्या थियो । त्यो समस्या समाधान भयो,” उहाँ भन्नुहुन्छ, “गाउँपालिका, वडाका सबै कार्यक्रममा बोलाइन्छ, साथै बोल्न पनि दिइन्छ ।”

“पहिले बोल्न पनि डराउने मान्छे । आजभोलि जनप्रतिनिधि भएर दुई चार जनाको अगाडि गएर बोल्न सक्ने, दिदीबहिनीलाई केही कुरा सिकाउन सक्ने भएको छु,” संगितादेवी भन्नुहुन्छ । यस्तो परिवर्तनलाई उहाँ आफ्नो जीवनको ठुलो उपलब्धि ठान्नुहुन्छ ।

सामाजिक काममा पनि व्यस्त : नरमा सुनार

कर्णाली प्रदेशको दैलेख जिल्ला नौमूले गाउँपालिका वडा नम्बर १ की नरमा सुनार दलित महिला वडा सदस्य हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । उहाँका ६१ वर्षीय श्रीमान् जसिराम सुनार खेती किसानी गर्नुहुन्छ । तीन छोराहरू आआफ्नो काममा लागिसकेका र दुई छोरीहरूको बिहे भइसकेको उहाँ बताउनुहुन्छ ।

स्थानीय तहको जनप्रतिनिधि हुनुभन्दा पहिले उहाँ गृहिणी मात्रै हुनुहुन्थ्यो । पहिले घरधन्दाबारे मात्रै थाहा पाए पनि अहिले उहाँ सामाजिक काममा पनि व्यस्त हुँदै आएको बताउनुहुन्छ । “हामी घरको काममा मात्र व्यस्त हुने, बाहिर के हुन्छ, के भइरहेको छ, थाहा नहुने । अहिले बैठक, तालिममा जाने अवसर मिल्छ, त्यसले आफूलाई बाहिरी संसारका बारेमा बुझ्न सहयोग गरेको छ,” नरमा भन्नुहुन्छ ।

वडा सदस्य भएपछि उहाँको दिनचर्यामा परिवर्तन आएको छ । उहाँको भनाइ छ, “गृहिणी मात्र हुँदा मलाई कसले चिन्ने ? अहिले गाउँपालिकासम्म नरमा सुनार भनेर चिन्नुहुन्छ, अझ ‘वडा सदस्यज्यू नमस्कार’ पनि भन्नुहुन्छ, यो मेरो जीवनमा आएको सकारात्मक परिवर्तन हो ।” उहाँका अनुसार, अधिकार, काम, कर्तव्यको बारेमा दुई चार कुरा सुन्ने ठाउँमा हुनु पनि उपलब्धि हो । यो कुरा आफूले अहिले बुझ्दै गरेको उहाँको भनाइ छ ।

पहिले मेलापातमा मात्र सीमित आफ्नो जीवन अहिले फराकिलो बनेको नरमाको बुझाइ छ । “अहिले घरव्यवहारसँगै वडाका कार्यक्रमहरूमा जाने, वडाका केही गुनासा वडा कार्यालयसम्म पुर्‍याउने काम गर्छु । सबैसँग राम्रो बोलचाल, भेटघाट हुन्छ । घरभित्र मात्र रहने म, अहिले बाहिरतिरको माहोल बुझ्ने भएको छु,” उहाँ भन्नुहुन्छ । उहाँको अनुभवमा पैसा मात्र होइन, दुई वटा कुरा सुन्न, बुझ्न पाउनु र आफ्नो चेतना स्तर बढ्नु पनि ठुलो कुरा भएको छ । त्यो सँगसँगै वडाका लागि मिलेर विकासका केही काम गर्ने अवसर पाउनु सुखद कुरा भएको उहाँलाई लाग्छ ।

अहिले आफू कार्यकालको पहिलो वर्षमा नै हुनाले अनुभव बटुल्ने र बाहिर संसार बुझ्ने क्रममै रहेको उहाँ बताउनुहुन्छ । “अहिले आफूले सोचेअनुसार काम गर्न पाएको छैन, काम नभए पनि दलित समुदायबाटै अपाङ्गता भएकालाई वडा, गाउँपालिका, प्रदेशबाट सहयोग गरिदिए हुन्थ्यो जस्तो लागेको छ,” नरमा भन्नुहुन्छ । यसबारे वडामा कुरा पनि राखेको र गराैँला भन्ने आश्वासन पाएको उहाँको भनाइ छ । उहाँ आगामी वर्षहरूमा आफूले अझै काम गर्ने र सिक्दै जाने आशा गरेको बताउनुहुन्छ ।

वडा अध्यक्ष बन्ने क्षमता विकास : ईश्वरी परियार

लुम्बिनी प्रदेशको दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर ३ की दलित महिला वडा सदस्य ईश्वरी परियार दोस्रो कार्यकालमा हुनुहुन्छ । नेकपा माओवादी पार्टीकी उहाँ वडा सदस्य हुनुअघि आफूलाई राजनीति र समाजसेवा थाहा नभएको बताउनुहुन्छ । वडामा दलित महिला सदस्यको अनिवार्यता भएपछि २०७४ को स्थानीय तहको निर्वाचनमा पार्टीले उहाँलाई टिकट दिएर निर्वाचित पनि हुनुभएको थियो ।

एउटा कार्यकाल पूरा गरिसकेको अनुभवका आधारमा ३४ वर्षीया ईश्वरी आफूसँग अब वडा अध्यक्षको जिम्मेवारी चलाउन सक्ने क्षमता पनि भएको ठान्नुहुन्छ । “तर पितृसत्तात्मक समाजमा महिलालाई हेर्ने फरक दृष्टिकोण र जिम्मेवारी सम्हाल्न सक्दैनन् भन्ने सोचाइले महिलालाई नपत्याउने चलन अहिले पनि यथावत् छ,” उहाँ भन्नुहुन्छ, “त्यसकारणले वडाध्यक्ष उठ्छु भनेर भन्ने आँट आएन ।” उहाँका अनुसार, दलित महिलाहरू जिम्मेवारी सम्हाल्न सक्षम भए पनि उनीहरूलाई हेर्ने फरक दृष्टिकोणका कारण वडा सदस्यमै सीमित हुनुपरेको छ ।

दोस्रो पटक वडा सदस्य भएर काम गरिरहँदा आफूलाई झन् काम गर्न सजिलो भइरहेको उहाँको अनुभव छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडा सदस्य हुनका लागि अन्य दलित महिलासँग पनि राय बुझिएको तर चाहना कसैले नदेखाएको उहाँको भनाइ छ ।

घरबाहिर के के हुन्छ, थाहा हुँदैन थियो तर जनप्रतिनिधि भएपछि धेरै कुरा, काम गर्ने कसरी, सबै कुराको बुझ्ने अवसर मिल्यो ।

“वडामा स्पष्ट नीति नियम नहुँदा वडा सदस्यका लागि त्यति धेरै हकअधिकार त हुँदैन तर पनि वडाका सबैले मिलेर वडामा भएका काम गर्ने गरेका छौँ,” ईश्वरी भन्नुहुन्छ । पहिलो कार्यकालका सन्दर्भमा उहाँ धेरै समय त सिक्ने क्रममा नै सकिएको बताउनुहुन्छ । त्यो सिकाइले अहिले भने काम गर्न सजिलो भइरहेको छ भन्ने उहाँलाई लाग्छ । उहाँका अनुसार, वडामा वडाध्यक्षसँग सल्लाह, छलफल गरेरै अहिलेसम्मका कामहरू भइरहेका छन् ।

सामान्य लेखपढ गर्न जान्ने ईश्वरीलाई जीवनमा पढेरभन्दा पनि परेर गरेको अनुभवले धेरै कुरा सिकाएको छ भन्ने लाग्छ । उहाँले विवाहपछि आफूले सिलाइकटाइ व्यवसाय गरी घरव्यवहार चलाउँदै आएको र जनप्रतिनिधि भएपछि व्यवसायसँगै वडाको काम पनि गर्दै आएको बताउनुहुन्छ । उहाँका ४३ वर्षीय श्रीमान् सुन्दर परियार विदेशमा हुनुहुन्छ ।

परिवारको हौसला र साथ सहयोगले जीवनमा स्थानीय तहको जनप्रतिनिधिको हैसियतमा पुग्न सफल भएको बताउने उहाँका दुई छोराछोरी छन् । छोराछोरीले घरको काम सकेसम्म सघाउँछन् । उहाँ भन्नुहुन्छ, “श्रीमान् परदेश हिँडेपछि सिलाइ छोडेर वडा र पालिकाको न्यायिक समितिको काममा नै खटिएको छु ।”

ईश्वरीलाई घरव्यवहार र सिलाइकटाइको काम मात्र गर्दा घरधन्दा र कपडा सिलाउने कामको ध्याउन्न मात्र थियो । उहाँ भन्नुहुन्छ, “घरबाहिर के के हुन्छ, थाहा हुँदैन थियो तर जनप्रतिनिधि भएपछि धेरै कुरा, काम गर्ने कसरी, सबै कुराको बुझ्ने अवसर मिल्यो । धेरै कुरा सुन्ने अवसर पाएँ ।” आफूले विभिन्न तालिम लिने अवसर पाएर ज्ञानका कुरा सिकेको, आफूमा बोलीको विकास भएको भन्ने उहाँलाई लाग्छ । भन्नुुहुन्छ, “चार जना मानिसको अगाडि गएर बोल्न सक्नु पनि उपलब्धि हो ।”

उहाँको बुझाइमा नीति नियम त्यति स्पष्ट छैन । “तर पनि दलित महिलाहरूका लागि भनेर दलित महिलाको क्षमता विकासका लागि तालिम राख्नुपर्छ भनेर पहिलो कार्यकालमा राखेका हौँ,” उहाँ भन्नुहुन्छ, “दलित समुदायभित्र यस्ता परिवार पनि छन्, जहाँ बालबालिकालाई विद्यालय पठाउन कापी कलम किन्दिन सक्ने अवस्था नभएका पनि हुनुहुन्छ ।” उहाँका अनुसार विपन्न वर्गकालाई कापी कलम वितरण पनि गरियो । “आयआर्जनका लागि बाख्रा, सुँगुरहरू पालेर केही आम्दानी गरौँ भनेर मन भए पनि किन्न नसक्ने दिदीबहिनीहरूलाई छनोट गरेर वितरण पनि गरेका थियौँ,” उहाँ थप्नुहुन्छ । दलित महिला वडा सदस्यप्रति वडाका दलित समुदायको अपेक्षा हुने भएकाले आफूले त्यसतर्फ पनि ध्यान दिएर काम गरेको उहाँको भनाइ छ ।

क्षमता विकास भयो : देवी विक

गण्डकी प्रदेशको कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ की दलित महिला वडा सदस्य देवी विक पनि अहिले मेलापात छाडेर बाहिरी संसार बुझ्दै हुनुहुन्छ । उहाँका ५० वर्षीय श्रीमान् बुद्धिबहादुर विक खेती किसानी गर्नुहुन्छ । घरमा श्रीमान्‌का साथै तीन छोरी र एक छोराको सहयोग पाएकाले आफू जनप्रतिनिधि भएर वडाका काममा हिँड्ने गरेको उहाँको भनाइ छ ।

सामान्य नाम मात्र लेख्न सक्ने ४९ वर्षीया देवीलाई अहिले पढेर मात्र होइन, सुनेर पनि धेरै कुरा बुझ्न सकिने रहेछ भन्ने लागेको छ । उहाँ २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भएर निर्वाचित हुनुभएको हो । उहाँ अहिले आफ्नो क्षमता विकाससँगै काम सिक्दै रहेको बताउनुहुन्छ ।

“वडा सदस्य भएपछि आफ्नो अधिकार र हिंसाविरुद्ध बोल्न दिदीबहिनीलाई सिकाउने गरेको छु, जनप्रतिनिधि नभएको भए घरधन्दा गरेरै मर्ने रहेछु जस्तो लाग्छ ।”

पहिले देवी आफूमाथि भएगरेका विभेद, हिंसाको बारेमा अनभिज्ञ नै हुनुहुँदो रहेछ । आफू जनप्रतिनिधि भएपछि मात्र उहाँले आफूमाथि थुप्रै विभेद र हिंसा भइरहेको रहेछ भन्ने थाहा पाएको बताउनुहुन्छ । विभेद र हिंसा भएमा कानुनी बाटो पनि रोज्न सकिने अहिले मात्र थाहा पाएको उहाँको भनाइ छ । “आफूलाई गाली गर्ने, कुट्ने, जे मन लाग्यो त्यही भन्ने त हिंसा रहेछ भनेर अहिले थाहा पाएको हो र हिंसाका बारेमा दिदीबहिनीलाई पनि सिकाउने गरेको छु,” उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधि नभएको भए घरधन्दा गरेरै मर्ने रहेछु ।

हामीलाई गर्ने व्यवहारमा पनि परिवर्तन महसुस गर्न नपाई मर्थें । मानिस सानोतिनो गुनासो सुनिदिने ठाउँमा पुगेसी बल्ल मानिसको जस्तो व्यवहार गरिने अनुभव गरिरहेको छु ।” समाजमा आफ्नो समुदायका लागि व्यवहारमा आएको परिवर्तन नै आफ्ना लागि उपलब्धि भएको उहाँको बुझाइ छ । देवीको विचारमा अधिकार बुझ्ने, बुझाउने, केही मानिसका अगाडि बोल्न सक्ने हुनु पनि उपलब्धि हो ।

देवी अहिले आफू काम गर्ने, अनुभव बटुल्ने र सिक्ने क्रममै रहेको बताउनुहुन्छ । आफूले वडामा केही काम भयो भने वडा कार्यालयसम्म खबर पुर्‍याउन भन्ने गरेको र सबैको सेवा गर्न पाएकोमा खुसी लागेको उहाँ बताउनुहुन्छ । “अझै कार्यकालका लागि धेरै वर्ष बाँकी छन् ।

योजनाहरू बनाउने कार्यमै रहेको छु । अहिले धेरै कुरामा नभए पनि केही कुरामा आएको परिवर्तनले नै खुसी छु,” उहाँ भन्नुहुन्छ । पहिले बोल्नै नखोज्नेहरूले पनि अहिले नमस्कार गर्ने, ‘कता हिँड्नुभयो?’ भन्ने र सन्चोबिसन्चो सोध्ने गरेको उहाँको अनुभव छ । “यति जीवनमा आएको परिवर्तन हो,” उहाँ भन्नुहुन्छ ।

बाढीपीडितहरू भएको ठाउँमा पनि वडाबाट आफूहरू पुगेर सहयोग गरेको देवीको भनाइ छ । “दलित समुदायका दिदीबहिनीहरू अन्य समुदायका भन्दा अलि पिछडिएका छन् । राजनीतिक रूपमा पनि पछाडि छन्,” उहाँ भन्नुहुन्छ । यसैले अहिले आफैँले पनि अधिकार के छ, के गर्न हुन्छ र के गर्न हुँदैन भनेर सचेत गराउने गरेको देवीको भनाइ छ । “दलित समुदायका दिदीबहिनीहरू आफै पनि हामी दलित भनेर पछाडि परेको अवस्था थियो तर अहिले सचेत हुनुभएको छ । हामी पनि गर्न सक्छौँ, समान हौँ भन्नुहुन्छ,” उहाँ थप्नुहुन्छ ।

अनुभव र आत्मविश्वास बढ्दो : धनमाया विशुन्के (बबिता)

बागमती प्रदेशको दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ४ की धनमाया विशुन्के (बबिता) जनप्रतिनिधि हुनुअघि गाउँका समूहहरूमा काम गर्नुहुन्थ्यो । ४५ वर्षीया उहाँमा राम्रो बोलीचाली गर्न सक्ने खुबी रहेछ । यसैकारण नेकपा एमाले पार्टीले आफूलाई दलित महिला वडा सदस्यका लागि टिकट दिएर उठाएको उहाँको भनाइ छ । उहाँका ५२ वर्षीय श्रीमान् कर्णबहादुर विशुन्के खेती किसानी गर्नुहुन्छ । उहाँका छोराछोरी हुर्किइसकेका छन् । परिवारको साथ र सहयोग पाएका कारण आफूले वडा सदस्य भएर काम गर्न पाएको उहाँको भनाइ छ ।

धनमायासँग जनप्रतिनिधि भएको वर्ष दिन जतिको अनुभव छ । उहाँले जनप्रतिनिधि भएपछि फरक अनुभव गर्दै आउनुभएको छ । आफूले वडामा भएका समस्याहरूलाई वडा कार्यालयसम्म पुर्‍याउने गरेको उहाँको भनाइ छ । “एक वर्ष मात्र हुँदैछ काम गरेको, सिक्दै छु । यो अवधिमा वडामा हामीले उठाएको आवाजहरूको पनि सम्बोधन भइरहेको छ । कामहरू भइरहेका छन्,” धनमाया भन्नुहुन्छ, “आयोजनाका काममा पनि योजना बनाएरै काम गरिरहेका छौँ ।” काम गर्ने क्रममा कहिलेकाहीँ बाधा र चुनौती आउने गरेका पनि उहाँ बताउनुहुन्छ ।

“हामी दलित समुदायबाट प्रतिनिधित्व गर्छौं, “धनमाया भन्नुहुन्छ, “जनप्रतिनिधि भएपछि हामीलाई हेर्ने दृष्टि नै अर्को रहेको छ ।”

धनमायाका अनुसार, वडामा खानेपानीको राम्रो व्यवस्था थिएन, बाटोघाटोको विकास भएको थिएन । उहाँ भन्नुहुन्छ, “हामीले ग¥यौँ ।” ‘तिमीहरू जनप्रतिनिधि भएर गएपछि एक वर्षमा हामीलाई यति धेरै विकास गरेर देखाइसक्यौ’ भनेर वडावासीले भन्ने गरेको उहाँको दाबी छ । साथै, आफूले वडावासीबाट अब वडा अध्यक्षमा लड्ने क्षमता बनाउनलाई हौसला प्राप्त गरिरहेको उहाँको भनाइ छ । वडा सदस्यको पाँचवर्षे कार्यकाल सकिएपछि आफूले वडा अध्यक्षको जिम्मेवारी पनि सम्हाल्न सक्ने अनुभव बटुली सक्नेमा धनमाया विश्वस्त देखिनुहुन्छ ।

जनप्रतिनिधि भएपछि जनताका लागि काम गर्ने क्रममा आफूले धेरै कुरा सिक्ने गरेको र अहिले सिकाइकै क्रममा रहेको धनमायाको बुझाइ छ । भन्नुहुन्छ, “तालिम, बैठकमा सहभागी हुनाले आफ्नै क्षमता विकास र वृद्धि भयो । बोल्न सक्ने क्षमतामा सुधार आयो । बोल्ने तरिका, बोल्ने भाषा सिकाइको कुरामा पनि वृद्धि भयो । हामीले तालिमबाट प्राप्त गरेको सिकाइबाट समाजका दिदीबहिनीलाई पनि केही ज्ञानका कुरा सिकाउन सकिने भयो ।”

“हामी दलित समुदायबाट प्रतिनिधित्व गर्छौं,” धनमाया भन्नुहुन्छ, “जनप्रतिनिधि भएपछि हामीलाई हेर्ने दृष्टि नै अर्को रहेको छ ।” उहाँका अनुसार, समाजमा पनि विभेदको कुरामा बोल्न नसक्नेलाई हेप्ने गरिन्छ । बोल्न सक्ने, कुनै पदमा, कुनै क्षेत्रमा अब्बल छ भने उनीहरूलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । बोल्ने, बोलाउने कुरामा पनि परिवर्तन आउँछ ।

यो कुरा आफूले पहिलेदेखि देख्दै आएको र आफूमा पनि देखिएको उहाँको भनाइ छ । पहिले नाम मात्र भन्नेले अहिले ‘वडा सदस्यज्यू’ भनेर सम्बोधन गर्नेदेखि हिजो बोल्न गाह्रो मान्नेहरू पनि आज ‘वडामा पुगेको छ, भोलि यसले केही गर्छे’ भनेर पनि आफूलाई सम्मान दिएर हेर्ने गरेको उहाँको बुझाइ छ ।

नयाँ अनुभव र सकारात्मक भाव : उषादेवी महरा

मधेश प्रदेशको बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ५ को दलित महिला सदस्य हुनुहुन्छ, उषादेवी महरा । ४२ वर्षीया उहाँ जनता समाजवादी पार्टीबाट दलित महिला वडा सदस्यमा निर्वाचित हुनुभएको हो । सानैमा पढलेख गर्ने अवसर नपाएकी उषादेवी अहिले विभिन्न कार्यक्रम, बैठकहरूमा गएर धेरै कुराहरू सुनेर काम गर्न अवसर पाएको बताउनुहुन्छ । “पहिले गृहिणी थिएँ, घरबाट बाहिर निस्कँदैन थिएँ, अहिले वडा सदस्य भएपछि हिँड्छु,” उहाँ भन्नुहुन्छ ।

“जनप्रतिनिधि भएपछि बैठकमा जाने, बोल्ने गर्दा जीवनमा नयाँ अनुभवहरू भइरहेको छ ।”

उहाँका ४७ वर्षीय श्रीमान् अमृतमान महरा खेती किसानी गर्नुहुन्छ । उहाँका छोरा सवारी चालक हुनुहुन्छ भने छोरी स्नातक तहमा अध्ययन गर्दै हुनुहुन्छ । उषादेवी आफू बाहिर हिँड्दा छोराछोरीले घरको काममा सहयोग गर्ने गरेको बताउनुहुन्छ ।

स्थानीय तहको निर्वाचन आउनुअघि उहाँकै घर नजिकको दाइले जनता समाजवादी पार्टीबाट ‘वडा सदस्यमा उठ्’ भनेपछि आफू उठेको उषादेवीको भनाइ छ । “जनप्रतिनिधि भएपछि बैठकमा जाने, बोल्ने गर्दा जीवनमा नयाँ अनुभवहरू भइरहेको छ,” उहाँ भन्नुहुन्छ ।

जनप्रतिनिधि भएपछि आफूसँग सबै जना बोल्ने र वडामा बाटोघाटो बिग्रिएको अवस्थामा वडावासीले वडासम्म खबर पुर्‍याउन आफूलाई लगाउने गरेको उहाँको भनाइ छ । पहिले आफू घरभित्रै सीमित रहे पनि अहिले बाहिर हिँड्ने र बोल्ने क्षमतामा विकास भएको, आफूमा सकारात्मक परिवर्तन आएको उहाँ बताउनुहुन्छ ।

आफ्नै नामबाट चिनिँदाको बेग्लै खुसी : श्यामकुमारी विक

कोसी प्रदेशको मोरङ जिल्ला कानेपोखरी गाउँपालिका वडा नम्बर ४ को दलित महिला सदस्य हुनुहुन्छ, ५० वर्षीया श्यामकुमारी विक । २०७४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा पनि उहाँ वडा सदस्य निर्वाचित हुनुभएको थियो । एमाले पार्टीप्रति आस्था राख्ने र गाउँघरमा आमा समूह, कृषि समूह लगायतका समूहमा हिँड्ने भएकाले सबैसँग परिचित भएपछि एमाले पार्टीले उहाँलाई वडा सदस्यमा उठ्न टिकट दिएको थियो ।

श्यामकुमारी २०७९ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा दोस्रो पटक वडा सदस्यमा निर्वाचित हुनुभएको हो । जनप्रतिनिधि हुनुअघि घरायसी कामहरू गर्दै समूहमा आबद्ध रहेर उहाँका दिनहरू बितिरहेका थिए । वडा सदस्य भएपछि उहाँको दिनचर्या फरक बनेको छ । उहाँले आफूमा जिम्मेवारी बढेको पनि महसुस गर्नुभएको छ ।

कार्यक्रम, बैठकहरूमा जाँदा बिहान चाँडै उठेर घरको कामको व्यवस्थापन गरेर जाने गरेको पनि उहाँ बताउनुहुन्छ । घरव्यवहारदेखि वडा कार्यालयसम्मको काम आफूले भ्याउने गरेको उहाँ बताउनुहुन्छ । उहाँका ७० वर्षीय श्रीमान् दिल्लीबहादुर विश्वकर्मा खेती किसानी गर्नुहुन्छ । श्यामकुमारीका दुई छोरीहरूको बिहे भइसकेको छ भने दुई छोराहरूले आफ्नै व्यवसाय गर्दैछन् ।

पहिले घरव्यवहारमा सीमित म अचेल विभिन्न कार्यक्रममा जाने र हक, हित र अधिकारका लागि बोल्ने गर्छु । झैझगडा भएका ठाउँहरूमा पनि गएर मेलमिलाप गराउने गर्छु ।

आफूले वडामा गर्नुपर्छ भनेर उठाएका कामहरूको केही मात्र सुनुवाइ भएको उहाँको भनाइ छ । पहिलो कार्यकाल बैठकमा जाने, कुराहरू सुन्ने र सिक्ने गर्दागर्दै बितेको उहाँको भनाइ छ । दोस्रो पटक २०७९ सालमा जनप्रतिनिधि भएपछि आफूमा सकारात्मक परिवर्तन आएको उहाँ बताउनुहुन्छ । पहिले घरव्यवहारमा सीमित उहाँ अहिले विभिन्न कार्यक्रममा जाने र हक, हित र अधिकारका लागि बोल्ने गरेको बताउनुहुन्छ । बोल्ने क्षमतामा पनि पहिलेको तुलनामा विकास भएको, पहिले बोल्ने भन्दा के बोल्ने भन्ने हुन्थ्यो तर अहिले कहाँ के विषयमा बोल्ने सबै कुरा थाहा हुने उहाँको भनाइ छ । उहाँ झैझगडा भएका ठाउँहरूमा गएर मेलमिलाप गराउने पनि गर्नुहुन्छ । पहिले श्रीमान्‌काे नामबाट आफूलाई चिनिने गरेकोमा अहिले आफ्नै नामबाट चिनिँदा उहाँलाई बेग्लै खालको खुसी लाग्ने गरेको छ । दोस्रो कार्यकालमा विभिन्न कार्यक्रमहरू गर्ने योजना बनाएको पनि उहाँ बताउनुहुन्छ ।

अन्ततः स्पष्ट भूमिका निर्धारण र सुझबुझको खाँचो

दलित समुदायका महिलाहरू पछाडि परे भनेर स्थानीय सरकारले वडा स्तरमा एक दलित महिला सदस्य नीति ल्यायो । तर, सरकारले नीतिलाई स्पष्ट बनाएर उहाँहरूको भूमिका निर्धारण नगरिदिँँदा आफूहरूको निर्णय अधिकार नै नहुने गरेको दलित जनप्रतिनिधि महिलाको गुनासो छ । केहीले चाहिँ दलितको प्रतिनिधित्वको सवालमा कानुनी अस्पष्टताहरू रहेको भन्दै त्यसलाई प्रस्ट्याउनुपर्ने तर्क पनि गर्ने गरेको पाइन्छ ।

कतिपय स्थानमा राजनीतिक रूपमा सक्रिय दलित महिलाले अवसर पाए । कतिपय स्थानमा भने राजनीतिमा उतिसारो सक्रिय नभएका दलित महिला पनि निर्वाचित भए । कुनै पनि ठाउँमा दलित महिलाको सहभागिता नहुनुभन्दा नपढेको र नजानेकै भए पनि वडामा जितेर वडावासीको लागि काम गर्ने मौका पाएकामा आफूलाई केही राहत भएको दलित महिला जनप्रतिनिधिको भनाइ छ ।

वडामा दलित समुदायको बसोबास नै नभएर उम्मेदवारी पर्न नसक्ने अवस्थामा महिलाकै प्रतिनिधित्व हुने गरी बैकल्पिक व्यवस्था गर्नुपर्ने देखिन्छ ।

देशका कुल ७५३ वटा स्थानीय तहको सबै वडा गरी चुनावी प्रक्रियाबाट छ हजार ७४३ दलित महिला सदस्य हुनुपर्ने थियो । तर, दलित समुदायको बसोबास नै नभएका वडा पनि छन् । तिनमा उनीहरूको प्रतिनिधित्व हुने कुरो भएन । कतिपय ठाउँमा त महिला दलित महिला वडा सदस्यको कोटामा उम्मेदवारी नै पर्न सकेन । यसले गर्दा महिला दलित वडा सदस्यको कुल सङ्ख्या शतप्रतिशत हुन सकेन ।

वडामा दलित समुदायको बसोबास नै नभएर उम्मेदवारी पर्न नसक्ने अवस्थामा महिलाकै प्रतिनिधित्व हुने गरी बैकल्पिक व्यवस्था गर्नुपर्ने देखिन्छ । विकल्पमा अन्य सीमान्तकृत समुदायमध्येबाट कोही न कोही महिलालाई नै चुन्नुपर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । यस्तो भएमा कुनै पनि महिला जनप्रतिनिधिको स्थान रिक्त हुन पाउँदैन ।

सहभागिताको सवालमा यसै पनि महिलालाई जम्मा ३३ प्रतिशत उम्मेदवारीको भाग छुट्ट्याइएको छ । त्यसमा पनि केही ठाउँमा दलित महिला नै नभएकाले उम्मेदवारी पर्न सकेन । परिणामतः समग्रमा महिला जनप्रतिनिधिहरूको नै सङ्ख्या घट्न पुगेको छ । फेरि फेरि यस्तो नहोस् भन्नेमा सरोकारवाला सबैले बेलैमा सुझबुझका साथ पहल गर्नुपर्ने देखिन्छ । यसबाट कसैको भाग खोसिँदैन र समग्रमा महिला प्रतिनिधित्वमा कमी पनि हुन पाउँदैन ।

सन्धान प्रकाशन मिति : २०८० पुस १६ गतेसाेमबार

दलित समूदायसँग सम्बन्धित स्टोरीहरू


Previous articleसुँडेनी कामसँगै राजनीति पनि गरेँ (भिडियाे सहित)
Next articleमेरो पेसा, मेरो सङ्घर्ष – ज्ञानु