मिठाईदेबी विश्वकर्मा १०/११ वर्षकी हुँदा राजबन्दीहरूलाई जेलमा भेटेर चिठी आदानप्रदान गर्नुहुन्थ्यो । २००४ सालतिर टंकप्रसाद आचार्य, रामहरि शर्मा, चूडानाथ शर्मा, गणेशमान सिंहलगायत राजबन्दीको रूपमा जेलमा हुुनुहुन्थ्यो । उहाँहरूलाई जेलबाहिरबाट चिठी पुर्याउने र उहाँहरूको खबर जेलबाहिर ल्याउने काम मिठाईदेबीलाई लगाइन्थ्यो । त्यो काम कसैका लागि पनि सजिलो थिएन । त्यसमाथि जोखिमपूर्ण थियो । यसैले सावधानी जरुरी थियो । उहाँका अनुसार, फलफूल र तरकारीमा चिठीपत्रहरू लुकाएर राखिएका हुन्थे । ती सामानलाई जेलमा रहेका नेताहरूसम्म पुर्याइदिएपछि नेताहरूले पनि सावधानीपूर्वक उहाँमार्फत आफ्ना खबर पठाउँथे ।
मिठाईदेबी बुझ्ने हुँदै गएपछि ‘विभेदविरुद्ध लड्नुपर्छ, अधिकार खोसेर लिनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्न पनि थाल्नुभयो । उहाँका अनुसार, यसमा उहाँका ठुलोबुबा सहर्षनाथ कपालीको सहयोग र प्रेरणा थियो । दलित समुदायका अगुवा मानिनुहुने कपालीकै अगुवाइमा दलितले पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न पाउनुपर्छ भनेर २०११ सालमा आन्दोलन भएको थियो । सो आन्दोलनको सम्झना गर्दै मिठाईदेबी भन्नुहुन्छ, “त्यो आन्दोलनमा म अगाडि नै थिएँ, एकैछिनमा पुलिसले समात्यो र दिनभरि गाडीमै राख्यो ।” उहाँका अनुसार, त्यतिबेला पशुपतिनाथ मन्दिरको ढोकामै ‘कुकुर र दलितलाई प्रवेश निषेध’ भनेर लेखिएको हुन्थ्यो । दलित भनेर मानिसमाथि हुने गरेको अमानवीय विभेद र सो विभेदले जन्माएको अपमानबोधका कारण त्यो आन्दोलन भएको थियो ।
त्यसपछि समग्रमा जातीय विभेदविरुद्ध र विशेष गरी दलित महिलाको अधिकारको लागि लड्न मिठाईदेबीले आफूलाई समर्पित गर्नुभयो । उहाँले २०१२ सालमा ‘नेपाल परिगणित नारी संघ’ को स्थापना गर्नुभयो । दलित महिलाहरूको हक अधिकारका लागि काम गर्न भनेर खोलिएको सोही संस्थामार्फत त्यो बेला पोडे टोल भनिने काठमाडौँको दलित बस्तीमा उहाँले स्कुल स्थापना गर्नुभयो र पोडे जातिका बच्चाहरूलाई शिक्षा दिन थाल्नुभयो ।
काठमाडौँको कोटेश्वरमा ‘मदर्स केयर इंग्लिस स्कुल’ स्थापनादेखि काठमाडौँकै विजेश्वरीमा दलित विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा मिठाईदेबीको योगदान र सहभागिता रहेको देखिन्छ । यी सबै काममा उहाँ एक्लो भने हुनुहुन्थेन । उहाँका अनुसार, विभेदका विरुद्ध र दलित महिलाको अधिकारका लागि उहाँसँगै काम गर्ने महिलाहरूमा झुनु परियार, तेजकुमारी कपाली, मेवा कपाली पनि हुनुहुन्थ्यो ।
राजनीति भनेको के हो भनेर बुझ्नु अघिदेखि नै राजनीतिमा क्रियाशील हुन पुग्नुभएकी मिठाईदेबी २०३५ सालमा काठमाडौँ जिल्ला पञ्चायतको सदस्यमा मनोनीत हुनुभएको थियो । २०३६ सालमा उहाँ नेपाल महिला सङ्गठन केन्द्रीय कार्यसमितिको सहायक सचिव हुनुभयो । जातीय विभेद र छुवाछुतविरुद्ध काम गर्दै उहाँले पत्रकारिताका माध्यमबाट पनि यस्ता विषयमा आवाज उठाउनुभएको पाइन्छ । २०६१ सालमा उहाँका लेखहरूको सङ्ग्रह ‘नेपाली नारीको अवस्था र अवस्थिति’ प्रकाशित भयो । विभिन्न पत्रपत्रिका र रेडियोमा उहाँका कथा, कविता, निबन्ध आदि पनि प्रकाशित र प्रसारित भएका छन् । उहाँ तत्कालीन नेपाल महिला संगठनको मुखपत्र ‘महिला बोल्छिन्’, ‘प्रेरणा’ साप्ताहिक, ‘संजीवनी’ साहित्यिक मासिक पत्रिकाको सम्पादक पनि हुनुभयो । १९९३ फागुन १० गते काठमाडौँ (इन्द्रचोक) मा जन्मिनुभएकी उहाँले २०१४ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । त्यतिबेला ‘मेट्रिक’ भनिने एसएलसी पास गर्दा आफन्तहरूलाई बोलाएर भोज गरिएको उहाँ सम्झिनुहुन्छ । उहाँ दलित समुदायबाट स्नातक तह उत्तीर्ण गर्ने पहिलो महिला पनि हुनुहुन्छ ।
अधिकारका लागि भएका आन्दोलन, भेला, बैठकहरूमा काठमाडौँमा भेटघाट र चिनजान भएका धरानका टी. आर. विश्वकर्मासँग २०१९ सालमा मिठाईदेबीको बिहे भयो । भन्नुहुन्छ, “पाँचसात वर्षको लभपछि हाम्रो बिहे भएको हो ।”
शिक्षा, समाजसेवा, राजनीतिदेखि पत्रकारितालगायत विभिन्न क्षेत्रमा काम गरेको कदरस्वरूप उहाँले ‘डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गर्नुभयो । उहाँ नेपाल सरकार, राष्ट्रिय दलित आयोगलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सम्मानित पनि हुनुभयो ।
‘सन्धान’ ले हालै ८७ वर्षीया मिठाईदेबीसँग २०११ सालमा भएको मन्दिर प्रवेश आन्दोलनदेखि सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशील भएको बारेमा जिज्ञासा राखेको थियो । इतिहासमा अभिलिखित कतिपय घटनाहरू अहिले उहाँको विस्मृतिमा पुगिसकेका रहेछन् । यस्तो अवस्थामा लामो कुराकानी सम्भव नभए पनि प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र मुकुन्द बोगटीले मिठाईदेबी विश्वकर्मासँग गर्नुभएको कुराकानीको सम्पादित अंश :
याे पनि पढ्नुहाेला
सन्धान, प्रकाशन मिति २०८० बैशाख ४ गते साेमवार