Home Photo Feature राउटी सार्ने तर्खरमा हतारिँदै राउटेहरू (फोटो फिचर)

राउटी सार्ने तर्खरमा हतारिँदै राउटेहरू (फोटो फिचर)

314
0

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ५ कागेतडामा अस्थायी बसोबास गरिरहेका राउटेहरू राउटी सर्ने तरखरमा भेटिए । उनीहरू २०८० पुस ४ गते बुधबार सोही वडाकै घरखेत भन्ने ठाउँमा राउटी सार्नका लागि मङ्गलबार तयारी गर्दै रहेका भेटिए । सोही साल कात्तिक ३० गतेदेखि कागेतडामा बस्दै आएका राउटेहरूले यसपाला मरिमराउ भएका कारण अर्को ठाउँमा राउटी सार्न खोजेका रहेछन् ।

केही दिनअघि मात्र राउटे मुखिया वीरबहादुर कल्यालकी जेठी बुहारीको १३ वर्षको उमेरमै असामयिक मृत्यु भएको रहेछ । मुखियाका अनुसार, मृतक बुहारीलाई नजिकैको जङ्गलमा गाडियो र चोखिएपछि केही दिनभित्रै सो ठाउँ छाड्ने भनी अरू मुखियाहहरूसँग निधो गरिएको थियो ।

पुस ३ गते मङ्गलबार सन्धान टोली कागेतडाको राउटीमा पुग्दा सबैजसो राउटेहरू राउटी सार्ने मूडमा तयारी गर्दै रहेका भेटिए । केही वयस्क र पाका व्यक्तिहरू सरसामान, काठ दाउरा र झिटीझाम्टा कस्दै थिए । कोहीले धान कुटानीको काम गर्दै थिए । कोही निफननाफन पनि गर्दै थिए । तयारीमा बालबालिकादेखि वृद्ध उमेरसम्मका महिला, पुरुष महिला, पुरुष सबैजसो नै सहभागी रहेजस्ता देखिन्थे ।

केही किशोरीहरू नजिकैको खोलामा गएर नुवाइधुवाइ गर्न हतारिइरहेका पनि थिए । उनीहरूलाई कसैसँग बोल्न र अल्मलिन फुर्सद थिएन । साथै, नयाँ ठाउँको राउटीमा अहिले जस्तो नजिकमा पानीको स्रोत छैन । खोलामा गएर नुवाउन पनि टाढा पर्छ र पानीको धेरै नै दुःख छ भनेर उनीहरूलाई बताइएको रहेछ । भोलि नै राउटी छोड्ने निधो भएकाले उनीहरू जसरी हुन्छ आज दिउँसो घाम तातो हुँदैमा खोलामा गएर नुवाउन कस्सिएका थिए । कसै कसैले राउटीदेखि केही पर सडकको नजिक पारेर पोकापुन्तुरा, काठदाउरा राखिसकेका पनि थिए । मुखियाहरूका अनुसार, उनीहरू भोलि बिहान खाना खाइवरी यहाँको राउटी भत्काएर नयाँ राउटी बनाउने ठाउँतिर लाग्नेछन् ।

दैलेखका राउटेहरू अझै पनि घुमन्ते जीवनमै रहेका भेटिन्छन् । राउटेहरू सरेपछि उनीहरूका लागि काम गर्ने संस्थाका कर्मचारीहरू पनि नयाँ ठाउँमै अफिस सार्ने गरेका छन् । सोसेक नेपाल, दैलेखका राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार, विगत पाँच वर्षयता राउटेहरूको बसोबास सरेको ८५औँ पटक हुँदैछ । उहाँहरूसँगै हामी पनि नजिकको ठाउँमा गएर शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गरी बस्छौँ । सोही संस्थाकी स्वास्थ्य प्राविधिक अनमी अनुजा पन्त भन्नुहुन्छ, “जाडो बढ्दैछ, नयाँ ठाउँ अहिलेको जस्तो पहारिलो छैन । चिसोले उहाँहरूको स्वास्थ्यलाई झनै बिगार्न सक्छ । यसैले अब हामी पनि उहाँहरूसँगै भोलि नै उतातिर लाग्ने तर्खरमा छौँ ।”

सन्धान प्रकाशन मिति : २०८० पुस ३ गते, मङ्लबार


Previous articleसङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा
Next articleआकाशको शीत छल्नु कि भुईंको तुषारो !