Home Insight अरूको अधिकारको कुरा गर्न सक्ने भएँ – कुमारी विक

अरूको अधिकारको कुरा गर्न सक्ने भएँ – कुमारी विक


नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की दलित महिला वडा सदस्य हुनुहुन्छ, कुमारी विक । ३८ वर्षीया कुमारी वडा सदस्य हुनु अघिसम्म घर गृहस्थीका काममै समय बिताउने गर्नुहुन्थ्यो । राजनीतिमा प्रवेश गरेपछि उहाँको दैनिकी बदलिएको छ । आत्मबल बढेको छ । अरू धेरै महिलाको दैनिकी बदलिनुपर्छ भनेर वकालत गर्ने पनि हुनुभएको छ ।

पहिले दुई जनाको अगाडि बोल्न पनि डराउने कुमारीलाई अहिले अवसर पाए महिलाले जुनसुकै क्षेत्रमा पनि जुनसुकै काम पनि गर्न सक्छन् भन्ने लाग्छ, । उहाँ पहिलो कार्यकालमा आफूले इमानदारीपूर्वक काम गरेकै भएर दोस्रो कार्यकालमा पनि उम्मेदवार हुन पाएको बताउँदै भन्नुहुन्छ, “पार्टीले पनि मलाई नै टिकट दियो । मैले मागेर दिएको पनि होइन । टिकट पाएपछि ‘कुमारी, तिमीले पाँच वर्षमा बाँकी रहेको अधुरो काम पूरा गर्नुपर्छ’ भनेर धेरैले भन्नुभयो ।” दोस्रो पटक उहाँले पहिलो चुनावको भन्दा दोब्बर भोट ल्याएर जित्नुभयो ।

कुमारीसँग स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि भएर काम गरेको झन्डै सात वर्षको अनुभव छ । उहाँसँग केही समयअघि नुवाकोटमा पत्रकार सम्झना विकले भेटेर कुराकानी गर्नुभएको थियो । राजनीतिमा लागेदेखि जनप्रतिनिधि भएपछिका सात वर्षमा उहाँको जीवनमा आएका परिवर्तनका साथै कार्यगत अनुभवका बारेमा उहाँका आफ्नै बुझाइ छन् । प्रस्तुत छ, ‘सन्धान’ का लागि पत्रकार सम्झना विकले कुमारी विकसँग गर्नुभएको कुराकानी :

राजनीति कसरी सुरु गर्नुभयो र जनप्रतिनिधि कसरी हुनुभयो ?

मलाई २०७४ सालको स्थानीय तहको निर्वाचन अघिसम्म राजनीति भनेको के हो ? राजनीतिक दल भनेको के हो भन्ने जस्ता कुराहरू थाहा थिएन । राजनीतिको ‘र’ पनि थाहा थिएन भन्दा पनि हुन्छ । २०७४ सालमा चुनाव हुने भयो । चुनावको माहोल हुँदै गयो । गाउँमा जता पनि चुनावकै विषयमा कुरा भएको सुन्थेँ । तर, यसबारे म भने अनभिज्ञ थिएँ । चासो पनि राख्दिनथेँ । एकदिन म माइती ललितपुर (पाटन) गएको थिएँ । त्यति नै बेला गाउँकै अर्को एक जना दाइले ‘तपाईंलाई नेकपा एमालेले दलित महिला सदस्यको लागि उम्मेदवार बनाउने भयो, तपाईं तत्काल घर आउनू’ भनेर मलाई फोन गर्नुभयो ।

मेरा चार जना छोराछोरीमध्ये कान्छो छोराको भर्खरै मृत्यु भएकाले शोकमा पनि थिएँ । छ वर्षीय छोरा नहरमा डुबेर बितेको धेरै पनि भएको थिएन । घरपरिवार, खेतबारी, वस्तुभाउ, घर, घरायसी काममै मेरो दैनिकी चलिरहेको थियो । गाउँले दाइको कुरा सुन्दा अचम्ममा परेँ । माइतीको दाइ नेकपा माओवादीमा आस्था राख्नुहुन्थ्यो । पार्टी फरक भएपछि दाइले मान्नुहुन्न जस्तो लाग्यो र त्यो कुरा दाइलाई नभनी घर फर्कें ।

एमाले पार्टीका मान्छेहरूले मलाई ‘एक जना दलित महिला हरेक वडामा अनिवार्य हुनुपर्छ, तपाईं जसरी भए पनि उठ्नू’ भन्नुभयो । मलाई पार्टीले टिकट दिने भन्ने कुरा थाहा हुँदै गयो । टोलछिमेकमा पनि थाहा भयो । त्यसपछि छिमेकी दाजुभाइ, दिदीबहिनीले मलाई ‘उठ्नुपर्छ, जित्नुपर्छ’ भन्दै हौसला दिन थाल्नुभयो । अरू बेला सँगै घाँसदाउरा, मेलापात जाने सबै जनाले मलाई ‘उठ्नै पर्छ, हामी भोट दिन्छौँ’ भन्न थाल्नुभयो ।

कुमारी विक श्रीमान्, सासु र ससुरासँग (घडीको सुईको दिशामा)

म संयुक्त परिवारमा बस्छु । म चुनावमा उठ्ने कुरा घरमा सासूससुरासँग पनि भनेँ । श्रीमान् रोजगारीका लागि साउदीमा हुनुहुन्छ । त्यतिबेला पनि साउदीमै हुनुहुन्थ्यो, उहाँलाई पनि भनेँ । सुरुमा त परिवारका सबै अनकनाउनुभएको थियो । तर ससुराबुबाको आस्था पनि एमालेमै भएकाले उहाँहरूले पछि ‘हुन्छ’ भन्नुभयो । माइतीको दाइले पनि ‘पार्टी फरक भएर केही हुँदैन, राम्रो काम गरेर जनताको मन जित्नुपर्छ’ भन्नुभयो । उहाँले सहयोग पनि गर्नुभयो । मैले ख्यालख्यालैमा उम्मेदवारी दर्ता गराएँ ।

उम्मेदवारी दिएपछि भोट माग्न घरदैलो हिँड्नुपर्ने रहेछ । धेरै जनाले मलाई ‘तिमी राम्रो मान्छे हो, नम्र, सहयोगी छौ, हामी भोट दिन्छौँ’ भन्नुहुन्थ्यो । भान्सा, घरायसी काम, वस्तुभाउ र खेतबारीबाट बाहिर निस्केको मेरो त्यो नै पहिलो पटक हो । भोट माग्न जाँदा धेरै जनासँग हिँड्नुपर्ने, धेरै जनासँग बोल्नुपर्ने, मलाई धेरै अप्ठ्यारो पनि लाग्थ्यो ।

महिनौँ दिनको प्रचारप्रसारपछि चुनाव भयो । मतगणनामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार गणेश नेपाल र मेरो मत लगभग बराबर हुन गयो । मैले ५३४ मत पाएर जितेँ, मेरो पार्टीका अरू चार जना हार्नुभयो । राजनीतिको बारेमा केही थाहा नभएको, घरपरिवार नै संसार भनेर बसेको मान्छे एक्कासि जनप्रतिनिधि भएँ । अहिले सम्झिँदा अचम्म पनि लाग्छ । गर्व पनि लाग्छ ।

राजनीतिमा लागेर काम गर्न त समयको ठेगान हुँदैन भनिन्छ, त्यसरी बाहिर निस्किँदा परिवारको साथ कत्तिको पाउनुभयो ?

राजनीतिमा समयको ठेगान हुँदैन भनेको हो रहेछ । कति बेला बाहिर निस्कनुपर्ने ठेगान नै नहुने । मेरो सासूआमा बुझ्ने खालको हुनुहुन्छ । त्यसैले म ढुक्कसँग बाहिर निस्कन पाउँछु । उहाँले मलाई त्यो वातावरण मिलाइदिनुहुन्थ्यो । खाना पकाउने, भाँडा माझ्ने, बच्चाको हेरचाह गर्ने जस्ता सबै काम उहाँले गर्नुहुन्थ्यो । श्रीमान् परदेशमा भए पनि उहाँले पनि मलाई सँगै भएको जस्तो आभास दिनुहुन्थ्यो । फोनबाटै पनि ‘नडराऊ, काम गर्दै गएपछि जानिन्छ, सकिन्छ’ भन्नुहुन्थ्यो । सरसल्लाह गथ्र्यौं ।

मलाई माया गर्ने धेरै दिदीबहिनी हुनुहुँदो रहेछ । त्यसले पनि मलाई ‘म एक्लो छैन’ जस्तो लाग्न थाल्यो । जनप्रतिनिधि भएर घरबाट बाहिर जाँदा चार वर्षकी सानी छोरीको धेरै याद आउँथ्यो । छोरी रोगी थिई, कुपोषण भएको थियो । कुपोषण दुई किसिमको हुँदो रहेछ छोरीलाई सुकेनास भएको थियो । त्यही भएर छोरीले मुन्टो (टाउको) अड्याउन नसक्ने, हातगोडा लुलो हुने, खाना राम्रो सँग नरुच्ने हुन्थ्यो । कान्ति बाल अस्पतालमा १२ दिन भर्ना गरेर उपचार गरेपछि कम हुँदै गएपछि उ पनि विस्तारै निको भई । अनि मलाई सहज भयो ।

जनप्रतिनिधि हुनुअघि र भइसकेपछि आफूमा, आफ्नो सोचाइ र बुझाइमा के कस्तो फरक भए जस्तो लाग्छ तपाईंलाई ?

निर्वाचित भएपछि सबैले भोज खानुपर्छ भन्नुभयो । मैले दुइटा खसी काटेर सामूहिक भोज लगाएँ । सामूहिक भएपछि सबै जातजातिका मानिस आउने भए । त्यसपछि खाना बनाउन गैरदलितलाई लगाएँ । गैरदलितले नै खाना पस्किने र बाँड्ने गर्नुभयो । सबैले खानुभयो । मैले पस्केर दिइनँ ।

वडाध्यक्ष गणेश दाइ पनि भोजमा अलि बेलुका आउनुभएको थियो । उहाँले मलाई ‘कुमारी बहिनी, खाना पस्केर दिनू’ भन्नुभयो तर मैले पस्केर दिन सकिनँ । उहाँलाई ‘दाइ, गैरदलित मान्छेलाई म दलित समुदायको मान्छेले कसरी दिनू ? भन्ने लाग्यो अनि दिइनँ’ भनेँ । अहिले भएको भए मज्जाले दिन्थेँ ।

अहिले म छुवाछूतको विरुद्ध आवाज उठाउँछु । धेरै कुरा बुझेँ । जातीय भेदभाव गर्ने अभ्यास मान्छेले नै बनाएको रहेछ । प्रकृतिले त सबै मान्छेलाई एउटै बनाएको हो । त्यतिखेर दलित भएर आफूले भोजमा छुन हुँदैन जस्तो लाग्थ्यो । अहिले लाग्दैन । ममा धेरै परिवर्तन आइसक्यो । मेरो आत्मबल र आत्मविश्वास बढेको छ । मान्छे सबै बराबर हुन् भन्ने बुझेको छु । यस्ता कुरा अरूलाई पनि बुझाउने गरेको छु । मेरो चेतना बढ्दै गयो । विभेदविरुद्ध सधैँ आवाज उठाउँदै आएको छु ।

हिजोसम्म मलाई छुवाछुत गर्नेलाई आज मैले मेरै घरमा खाना पस्केर खुवाएकी छु । समाजमा मलाई हेर्ने दृष्टिकोण बदलिएको छ । हिजोको ‘डरपोक कुमारी’ आज ‘निडर र आत्मविश्वासी’ भएकी छु । समान अधिकारको कुरा गर्न सक्ने भएकी छु ।

तपाईं २०७४ सालमै निर्वाचित जनप्रतिनिधि भएको मान्छे, अहिले पनि जनप्रतिनिधि नै हुनुहुन्छ । अहिलेसम्म के कस्ता काम गर्नुभएको छ ?

घरमा बसेर दुईचार सय पनि देख्न नपाउने मैले पहिलो कार्यकालमा ५० लाखको बजेट वडामा लगेँ । त्यसमा २० लाख ठाडो बाटो, १० लाख खानेपानीको योजना, २० लाख महिला लक्षित कार्यक्रम थियो । महिला लक्षित बजेटबाट महिलालाई आर्थिक आत्मनिर्भर बनाउनका लागि तरकारी खेतीको तालिम, कुसन तथा गुडिया बनाउने तालिम गराएँ । त्यो तालिमले महिलाहरूको जीवनमा साँच्चै परिवर्तन आएको छ । तालिमसँगै अधिकारका कुरा पनि बुझायौँ । तालिम लिएका महिलाहरूमा पनि अहिले धेरै परिवर्तन आइसकेको छ । उहाँहरू स्वरोजगार हुनुभएको छ । आर्थिक रूपमा आत्मनिर्भर हुँदै जानुभएको छ । उहाँहरूले आफ्नो कुरा ठाउँमा राख्न सक्नुहुन्छ ।

चार कक्षासम्म मात्र पढेको तपाईं ‘पहिले त बोल्न पनि डराउँथेँ’ भन्नुभएको थियो । जनप्रतिनिधि भएर काम गर्दा केही गाह्रो भयो ?

चार कक्षामाथि नपढेको र घरभित्रको काममै आधा जिन्दगी बितेकाले मलाई बाहिरी कुरा केही थाहा थिएन । कानुनको बारेमा त झनै केही थाहा थिएन । कतिले ‘वडा सदस्य भएर तिम्लाई यति पनि थाहा छैन ?’ भन्थे । कतिले ‘भर्खर त जनप्रतिनिधि भएको छौ, गर्दै जाँदा सिकिहाल्छौ’ पनि भन्थे ।

लोग्नेमान्छेको छेउमा गएर बस्नुपर्थ्याे । उनीहरूसँगै हिँड्नुपर्थ्याे । यसो गर्नुपर्दा मलाई ‘कसैले नराम्रो सोच्ने हो कि’ भन्ने डर लाग्थ्यो । वडाको बैठक (मिटिङ) का लागि महिला र पुरुषका लागि लहरै कुर्सी राखिएको हुन्थ्यो । म भने डर लागेर लहरबाट पर छुट्टै बस्थेँ । अगाडि बसेर बोल्न खोज्दा मुटु थरथर काम्थ्यो । आफ्नो परिचय मात्र भनेर बसिहाल्थेँ । सुरुमा त ‘माइन्युट’ मा साइन गर्ने, ताली बजाउने काम मात्रै हुन्थ्यो । डर र लाजले घेरिएर बस्थेँ । आफूमाथि भएको विभेदलाई पनि खुट्याउन सक्ने भइसकेकी थिइनँ ।

ससुराबुबा २०७७ सालमा कांग्रेसमा प्रवेश गरेपछि पनि मलाई केही असजिलो भयो । एउटै घरमा फरक पार्टीको सदस्य हुँदा परिवारमा कहिलेकाहीँ विवाद पनि हुन्थ्यो । २०७८ सालमा सासूआमा बित्नुभयो । उहाँ बितेपछि घरपरिवारको जिम्मेवारीसँगै जनप्रतिनिधिको पनि काम गर्दै आइरहेको छु । ममाथि दोहोरो, तेहोरोभन्दा पनि बढी जिम्मेवारी छ तर समय मिलाएर सबै गरिराखेको छु ।

सुरुका दिनमा आफूभित्र भएका डर, लाज, अप्ठ्याराहरूलाई कसरी हटाउनुभयो ?

पालिकाले जनप्रतिनिधिको व्यक्तित्व विकासका लागि दिएको तालिमले बिस्तारै मभित्र भएको लाज र डर हराउँदै गयो । राजनीतिमा हरेक परिस्थितिसँग लड्न सक्ने, जस्तोसुकै चुनौतीसँग जुध्न सक्ने खालको मान्छे हुनुपर्ने रहेछ भनेर देख्दै सिकेँ । अरूसँग बोल्दा कसैले केही भन्ला, नराम्रो सोच्ला भन्ने लाग्थ्यो तर त्यस्तो हुँदो रहेनछ । एकदमै डराउने र आत्तिने पनि गर्थें । त्यो पनि बिस्तारै कम भयो । बाहिर कतै जानुपर्दा घरमा भन्न पनि डराई डराई भन्थेँ । डराउँदै, गर्दै, सिक्दै, गर्दै गएँ ।

वडा सदस्यसँगै नगरकार्यपालिकाको पनि सदस्य भएँ । पहिले घरमै सासूससुरासँग पनि नजर जुधाएर बोल्न नसक्ने म अचेल जो मान्छेसँग पनि बोल्न सक्ने भएको छु । आत्मविश्वास बढेको छ । आफ्नो अधिकारका साथै, दलितको, दलित महिलाको र महिलाको अधिकारका बारेमा मैले धेरै कुरा सुन्दै, बुझ्दै गएँ । केही कुरा पुस्तक पढेर पनि जानेँ । यस्ता अधिकारका कुरा अचेल धेरैलाई सिकाउँछु, बुझाउँछु ।

तपाईं दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ, दलित समुदायप्रति थप जिम्मेवारी हुन्छ कि अरू जस्तै हो ?

वडामा योजना बनाउँदा मेरो प्राथमिकता महिला र दलित समुदायको लागि हुन्थ्यो । अहिले पनि हुन्छ । म जितेको १० नम्बर वडामा दलित समुदाय भनेको मिजार टोल मात्र छ । मैले दलित समुदायलाई ‘के आवश्यक छ ? कस्ता कार्यक्रम भयो भने तपाईंहरूको हित हुन्छ ?’ भनेर टोलमा पुगेँ । तर, उहाँहरूले मेरो कुरालाई वास्ता गर्नु भएन । मिजार टोलका सबै जना क्रिश्चियन धर्म मान्नुहुन्छ । मेरो घरपरिवार मात्र हिन्दु हो । ‘दलितको नाम बेचेर पैसा नखाऊ, हामीलाई दलित भनेर चिनिनु छैन’ भन्दै टोलका बासिन्दाले उल्टै मलाई कराए । त्यसो भनेपछि म पछि हटेँ । मैले आफ्नो समुदायको लागि काम गर्न खोज्दा पनि गर्न पाइनँ वा गर्न दिएनन् । कति पुरुषले भने दलित र महिलाको लागि मात्रै योजना, बजेट छुट्याउने भन्थे ।

निर्वाचित भएपछि कुमारी विक मतदाताहरूको घरदैलोमा ।

विदुर नगरपालिकामा १३ वटा वडा छन् । अरू सबै वडामा दलितको लागि बजेट माग पनि भयो, विनियोजन पनि भयो । तर, आफ्नै वडाका दलित समुदाय आफूहरू ‘दलित भनेर चिनिदैनौँ’ भन्छन् । यसले मलाई धेरै दुःख लाग्यो । यस्ता चुनौतीहरू आइराख्दा रहेछन् । मैले ढिठ भएरै पहिलो कार्यकालका पाँच वर्ष सकाएँ ।

तपाईंले २०७९ सालमा पनि चुनाव जितेर आउनुभयो । कस्तो हुँदैछ, दोस्रो कार्यकालको झन्डै डेढ वर्ष चाहिँ ?

पहिलो कार्यकाल सिक्दै र बुझ्दैमा बित्यो । यो कार्यकाल अझ राम्रो गर्छु भनेर चुनावमा होमिएँ । पार्टीले पनि मलाई नै टिकट दियो । मैले मागेर दिएको पनि होइन । टिकट पाएपछि ‘कुमारी, तिमीले पाँच वर्षमा बाँकी रहेको अधुरो काम पूरा गर्नुपर्छ’ भनेर धेरैले भन्नुभयो । त्यही भएर दोस्रो पटक एक हजार ७० भोट ल्याएर जितेँ, जुन पहिलो चुनावको भन्दा दोब्बर हो ।

यसपालि वडाध्यक्षमा पनि गणेश दाइ नै हुनुभयो । तर, पहिलो जस्तो दोस्रो कार्यकाल हुन सकिरहेको छैन । आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा हामी चार जना वडा सदस्यहरूले भनेका योजनाहरूमा एउटा पनि बजेट परेन । पहिलो कार्यकाल २०७४ सालमा पालिका प्रमुख नेकपा एमालेको हुनुहुन्थ्यो ।

अहिले गठबन्धनबाट कांग्रेसकाे उम्मेदवारले जित्नुभएको छ । वडाध्यक्ष पनि कांग्रेसकाे हुनुहुन्छ । त्यही भएर वडाध्यक्षले हाम्रो कुरालाई पन्छाउँदै आफैँ मात्र निर्णय गर्नुहुन्छ । हामी अरू चार जना वडा सदस्यको कुराको सुनुवाइ नै हुँदैन । मैले यत्रो वर्षमा राजनीति गर्दा बुझेको पालिकामा प्रमुखमा आफ्नो पार्टीको मान्छे भयो भने काम गर्न सहज हुने रहेछ । आकाश धर्तीको फरक हुँदो रहेछ । पहिलो कार्यकालमा मिलेर काम गरियो तर वडाध्यक्ष दाइले अहिले मनमौजी भएर काम गर्नुभएको छ । यसले गर्दा मलाई आफूले काम गर्न नसकेको जस्तो भएको छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

म अहिले ३८ वर्ष भएँ । नजानीकनै राजनीतिमा आएँ । संविधान र निर्वाचन कानुनले बाध्यकारी व्यवस्था गरेकाले नै मैले जनप्रतिनिधि भएर काम गर्न पाएँ । संविधानले नभने पनि पितृसत्ताले पुरुषलाई उच्च र महिलालाई निम्न भनी परिभाषित गरिदिएको छ । त्यही भएर महिलालाई घरबाहिर निस्किएर काम गर्न सहज छैन । तर, असम्भव भने होइन रहेछ । त्यसैले कुनै पनि पद पुरुषका लागि मात्रै होइन भन्ने सोचेर महिलाहरू पनि अगाडि आउनुपर्छ भन्छु ।

अवसर पाइयो भने घरको जिम्मेवारी पूरा गर्दै पदीय जिम्मेवारी पनि निभाउन र नेतृत्व सम्हाल्न सक्ने रहेछौँ । दलित, त्यसमा पनि महिला भएर मैले वडामा धेरै काम गर्न सकेँ । आफूलाई परिष्कृत पनि गर्दै लगेँ । पहिले त लोग्नेमानिसको छेउमा उभिन पनि डराउने म, अहिले महिला र दलित समुदायको अधिकारका बारेमा खुलेर कुरा गर्छु । गर्दै आएकी पनि छु । राजनीतिमा लाग्न लगन, धैर्य र साहस मात्र भएर नहुँदो रहेछ, पैसाको शक्ति अझ ठुलो हुने रहेछ ।

अर्को कुरा, देशको कानुन जनप्रतिनिधिले बुझ्नैपर्छ तर आमनागरिकले पनि बुझ्नुपर्ने रहेछ । अब करिब साढे तीन वर्ष बाँकी छ । गर्न त धेरै गर्न पाए हुन्थ्यो जस्तो लागेको छ तर फरक फरक पार्टीको जनप्रतिनिधि हुँदा अप्ठ्यारो भएको छ ।

दलित समूदायसँग सम्बन्धित स्टोरीहरू

सन्धान प्रकाशन मिति : २०८० असाेज १९ गते, शुक्रबार