दुई छोरीकी आमाको हैसियतमा, म मातृत्वको विद्यमान प्रतिबन्धात्मक संरचनालाई चुनौती दिने सोच राख्छु । परम्परागत मान्यताले बाँधिएको परिवेशभित्र मैले निर्वाह गरेको मातृत्वको माध्यमबाट मेरो यात्राले मलाई फरक सोचमा उभ्याएको छ । यो सोच मातृत्वको अवधारणासँग सम्बन्धित छ । यसलाई समतामूलक सामाजिक संरचनाबाट पुनः परिभाषित गरी छोरी पुस्ताका अगाडि उदाहरण कायम गर्न पनि चाहन्छु । म छोरीहरूलाई आफ्नो अन्तर्मनको प्रेरणाले जे बन्न चाहन्छन् त्यो बन्न सक्छन् भन्ने बुझाउन चाहन्छु । छोरीहरूको मूल्य निर्धारण उनीहरू आमा बन्न र परम्परागत मातृत्वको भूमिका निर्वाह गर्नमा मात्र सीमित छैन । उनीहरूको जीवन मूल्य त अद्वितीय व्यक्तिको रूपमा स्थापित हुनुको सारले निर्धारण गर्दछ भन्ने बुझाउन चाहन्छु । यसरी छोरी पुस्तालाई मातृत्वको पितृसत्तात्मक भूमिकाको भारबाट मुक्त गर्न एउटा साझेदार र समझदार व्यक्तिहरू भएको परिवार, समाज र राज्यको आवश्यकता महसुस गराएको छ ।
छोरी हुँदादेखि नै महिलाहरूलाई पूर्वनिर्धारित भूमिकाहरूमा बाँधिएर व्यक्तित्वलाई नै मार्न सक्ने गरी हुर्काउनु हुँदैन । उनीहरूलाई व्यक्तिको रूपमा आफ्नो पहिचानलाई बुझ्न र अँगाल्न प्रोत्साहित गर्नुपर्छ । उनीहरूलाई मातृत्वका नाममा अवैज्ञानिक, अन्यायपूर्ण र विभेदकारी अपेक्षाहरूमा सीमित र परिभाषित गर्न खोज्ने पितृसत्तात्मक मान्यताहरूका विरुद्ध आवाज उठाउनसक्ने बनाउनै पर्छ । महिलाहरूले छोरी, पत्नी र आमा बन्दै गर्दा आआफ्नो इच्छा, अभिलाषा र महत्त्वाकांक्षा पूर्तिको मार्गमा तेर्सिने बाधा र अवरोधहरूबाट मुक्त हुन आवश्यक छ । यसका लागि उनीहरूलाई व्यक्तित्वका विभिन्न आयामहरूबाट सशक्त पनि बनाउनै पर्छ । यसो गर्दा मात्र प्रत्येक महिलाको व्यक्तित्वको सारलाई साँच्चै अँगाल्ने र मातृत्वको भूमिकाका लागि सहज बनाउने समतामूलक समाज निर्माण गर्न सकिन्छ ।
जन्मेको क्षणदेखि नै पितृसत्तात्मक समाजले छोरीमान्छेमा नारीको छवि प्रत्यारोपण गर्छ र आमा हुनुलाई नै नारी हुनुको अन्तर्निहित अङ्ग हो भन्ने धारणाको बीजारोपण गर्न थालिसकेको हुन्छ ।
समतावादी सोच र सो अनुसारको व्यवहार गर्नसक्ने समाजले मात्र मातृत्वको भूमिकालाई वैज्ञानिक हिसाबले समन्यायिक र सम्मानजनक बनाउने हैसियत राख्न सक्छ । यस्तो समाजले मातृत्वसम्बन्धी सामाजिक भूमिका परिवर्तनको मर्मलाई पनि आत्मसात गर्न सक्छ । यसले दाम्पत्य जीवन, परिवार र घरभित्रको सङ्क्रमणकालीन सम्भाव्य अराजकतालाई सुझबुझसहित बेलैमा रोक्न राज्य संयन्त्रलाई पनि घचघच्याउन सक्छ । साथै, यस्तो समाजले मात्र सारपूर्ण समावेशी र महिलामैत्री कार्य वातावरण निर्माणका लागि प्रेरक र बाध्यात्मक दुवै खालको भूमिका निर्वाह गर्न सक्छ । यसो गरेर छोरी पुस्ताको मातृत्व यात्रालाई धेरै हदसम्म स्वेच्छिक, सहज र समन्यायिक बनाउन सकिन्छ ।
मातृत्व एक यात्रा
मातृत्व एक यात्रा हो, जसले महिलाको जीवनलाई परिवर्तन गर्छ । र, मेरो लागि यो आँखा खोल्ने एउटा अनुभव भएको छ । दुई छोरीका आमाको रूपमा मैले मेरो पहिलो बच्चा हुर्काउँदा सुरुमा सामान्यताको भावनाका साथ मातृत्वमा पुगेकी थिएँ । दोस्रो छोरीको जन्मसँगै मभित्र फरक खालको भावनाको पनि जन्म भयो । मैले मातृत्वको निर्मित प्रकृति र यसको पुनः परिभाषाको आवश्यकतामाथि सोच्न र प्रश्न गर्न थालेँ ।
मातृत्वले महिलालाई समग्रमा परिभाषित गर्न सक्दैन । मातृत्व त नारीको बहुआयामिक अस्तित्वको एक पक्ष मात्र हो ।
जन्मेको क्षणदेखि नै पितृसत्तात्मक समाजले छोरीमान्छेमा नारीको छवि प्रत्यारोपण गर्छ र आमा हुनुलाई नै नारी हुनुको अन्तर्निहित अङ्ग हो भन्ने धारणाको बीजारोपण गर्न थालिसकेको हुन्छ । आमा भएपछि नै महिलाले पूर्णता प्राप्त गरेको, सर्वोच्च शिखरमा पुगेको र सर्वोच्च उपलब्धि हासिल गरेको ठानिन्छ । वास्तवमा यो भ्रम हो । मातृत्व सबै महिलाहरूका लागि प्राकृतिक र अपेक्षित मार्ग हो । यस धारणाले भ्रमपूर्ण विश्वासलाई कायम राख्ने पितृसत्तात्मक मान्यताहरूविरुद्ध एक प्रकारले ठुलो चिन्ता बढाउँछ ।
आमा हुनु र मातृत्वको जिम्मेवारी वहनसम्बन्धी समाजको अवधारणा र परिभाषाले महिलाको व्यक्तित्वलाई बेवास्ता गर्छ । आमा बनाउने अद्वितीय प्राकृतिक गुण र आकांक्षाहरूको प्रशंसा गर्न छाडेर सन्तानको हेरचाहका लागि पनि महिलाहरूमाथि नै कठोर अपेक्षाहरू थोपर्छ । एकलकाँटे तरिकाले उनीहरूका पारिवारिक र सामाजिक भूमिकाहरूको निर्धारण गर्छ । महिलाहरूलाई आत्म–खोज र व्यक्तिगत विकासको लागि थोरै मात्र ठाउँ छाडिन्छ । यस्तो पूर्वनिर्धारित प्रक्षेपण पथ (ट्राजेक्टोरी) लाई पछ्याउँदै महिलाहरूले आज्ञाकारी छोरी, कर्तव्यनिष्ठ पत्नी र पालनपोषण गर्ने आमाको जस्तो व्यवहार गरून् भन्ने अपेक्षा पितृसत्तात्मक समाजमा गरिन्छ ।
मातृत्वसम्बन्धी विद्यमान सोच र संरचनाले महिलाको पहिचानको जटिलतालाई आत्मसात गर्न सक्दैन । मातृत्वले महिलालाई समग्रमा परिभाषित गर्न सक्दैन । मातृत्व त नारीको बहुआयामिक अस्तित्वको एक पक्ष मात्र हो । नारी एउटी आमा मात्र होइन, मातृत्वको भूमिकाभन्दा बाहिर कुनै खास सपना, प्रतिभा र महत्त्वाकांक्षा भएका व्यक्ति हुन् । यसैले पनि म मातृत्वको अवधारणालाई चुनौती दिन र यसलाई पुनः परिभाषित गर्न आवश्यक छ भन्नेमा विश्वास गर्छु । मातृत्वलाई महिलामाथिको अविभाज्य र अकाट्य दायित्वको रूपमा लिनु हुँदैन ।
अहिलेको युगमा मातृत्वको परम्परागत धारणाबाट मुक्त भए मात्र महिलाहरूको व्यक्तित्व र विविध योगदानको कदर गर्ने समाज निर्माण गर्न सकिन्छ ।
अधिकारकर्मी तथा सामाजिक अभियन्ता सन्ध्या श्रेष्ठको विचारमा मातृत्व यात्रा सुन्दर हुन सक्छ; यद्यपि थोरै महिलाहरूका लागि यो स्पष्ट रूपमा कष्टप्रद हुन सक्छ । यसैले महिलामाथि मात्रै मातृत्वको भार थोपर्नु जायज हुँदैन । यसलाई महिलाका व्यक्तित्वको एक विकल्पको रूपमा स्वीकार गर्नुपर्छ । अबको समाजमा छोरीहरूलाई मातृत्वसम्बन्धी पारिवारिक, सामाजिक दबाब र अपेक्षाहरूबाट मुक्त हुँदै हुर्किन सिकाउनुपर्दछ । उनीहरू महिला भएपछि आत्मनिर्णय लिनसक्ने हुनुपर्दछ । यसमा सबैभन्दा पहिले त आफू आमा बन्ने कि नबन्ने, बन्ने हो भने कहिले बन्ने र बनिसकेपछि हेरचाहको व्यवस्थापन कसले र कसरी गर्ने भन्ने विषयमा परिवारमा छलफल गरी स्वनिर्णय लिनका लागि उनीहरूलाई सक्षम बनाउनु पनि पर्दछ ।
अहिलेको युगमा मातृत्वको परम्परागत धारणाबाट मुक्त भए मात्र महिलाहरूको व्यक्तित्व र विविध योगदानको कदर गर्ने समाज निर्माण गर्न सकिन्छ । यसका लागि कुनै पनि महिलालाई आमाको रूपमा मात्र पुरातन तरिकाले उभ्याएर पूर्वनिर्धारित विभेदकारी भूमिकाहरूमा सीमित राखिने परिपाटीलाई निरन्तरता दिनु हुँदैन । बरु, महिलाहरूकै रोजाइमा प्रकृतिप्रदत्त मातृ जिम्मेवारीहरू वहन गर्दा पनि आफ्ना उत्कण्ठा र आकांक्षाहरू पूरा गर्न सकून् भनेर भरपूर समर्थन गर्ने सोच, व्यवहार र परिपाटीलाई राज्यले बढावा दिनुपर्छ । लैङ्गिक दृष्टिकोणले समतामूलक समाजमा यस्तो गर्नु जरुरी हुन आउँछ । यसो गर्न सके महिलाहरूमा पनि मातृत्वलाई बोझ ठानेर विराम दिने होइन, स्वाभाविक गतिमा एक यात्राका रूपमा आत्मसात गरी निरन्तरता दिने भावना पलाउन सक्छ ।
मातृत्वको अवधारणा र सामाजिक दबाब
मातृत्वको अवधारणामा सामाजिक दबाब रहेको हुन्छ । यसलाई मूलतः जैविक र सामाजिक परिभाषाको आधारमा बुझ्न सकिन्छ । सामाजिक परिभाषामा पनि परम्परागत र समकालीन धारहरूको प्रभाव देखिन्छ ।
मातृत्वको जैविक परिभाषा ‘प्रजनन’ मा सीमित छ । यसले सन्तानलाई आफैँले जन्म दिएर स्तनपान गराउँदै हुर्काउने महिलालाई जनाउँछ । जैविक मातृत्वका मूल आधारहरूमध्ये एक हो, रगतको नाता । परिवार संरचना र वंश परम्परामा यसैलाई प्राथमिकतामा राख्नका लागि सामाजिक दबाब पनि रहेको हुन्छ ।
आमाहरूको कार्यसम्पादनलाई जैविक मातृत्व मात्र नभई सामाजिक मातृत्वको माध्यमबाट मान्यता दिइने विचार अमेरिकी नारीवादी लेखक एड्रियन रिच (सन् १९२९–२०१२) ले ‘अफ वुमन बअर्न’ मा व्यक्त गर्नुभएको छ ।
मातृत्वको परम्परागत सामाजिक परिभाषाले मातृत्वलाई मूलतः सन्तानको जन्म र पालनपोषणको एकीकृत प्याकेजका रूपमा बुझाउँछ । परम्परागत सामाजिक मातृत्वमा सांस्कृतिक अधिरोपणको प्रभाव छ । यसले आमाहरूलाई निश्चित पारम्परिक भूमिकाहरू प्रदान गर्दछ । यसैले आमाहरूको कार्यसम्पादनलाई जैविक मातृत्व मात्र नभई सामाजिक मातृत्वको माध्यमबाट मान्यता दिइने विचार अमेरिकी नारीवादी लेखक एड्रियन रिच (सन् १९२९–२०१२) ले ‘अफ वुमन बअर्न’ मा व्यक्त गर्नुभएको छ ।
सामाजिक मातृत्वको मान्यताको जग पितृसत्तात्मक संरचनामा आधारित हुन्छ । यसले मानिसलाई लिङ्गको दृष्टिकोणले हेर्छ र विभेदलाई बढावा दिने गरी भ्रामक मान्यता र कठोर व्यवहारहरू स्थापना गर्दछ । यस सन्दर्भमा मातृ विषयमा थुप्रै लेख तथा कृतिहरूका लेखक, अभियन्ता तथा ‘द मदर्स मुभमेन्ट अनलाइन’ का सम्पादक तथा संस्थापक जुडिथ स्ट्याडम्यान टकरको भनाइ मननीय छ । उहाँका अनुसार, जहाँ लिङ्गको दृष्टिकोणले पुरुष र महिलाका भिन्न भिन्न विशेषताहरूलाई हेरिन्छ, त्यहाँ आमा बन्ने महिलाहरूले अझै पनि ‘संसारको सबैभन्दा महत्त्वपूर्ण काम’ गरिरहेका छन् भन्ने विश्वास गरिन्छ । यो कुरा उहाँले ‘मोरालिटी अर एक्वालिटी ? मेटर्नल थिङ्किङ एन्ड द सोसल एजेन्डा’ मा उल्लेख गर्नुभएको छ ।
बच्चाहरूको समग्र विकासको लागि पनि महिलालाई नै प्राथमिक एजेन्टको रूपमा तोकिनु भनेको महिलालाई छनोटको सुविधा नदिनु पनि हो ।
‘संसारको सबैभन्दा महत्त्वपूर्ण काम’ गरिरहेको भन्ने विश्वासकै बल प्रयोग गरेर ‘मातृत्व’ ले महिलाहरूको व्यक्तित्व मात्र होइन, जीवनलाई नै परिवर्तन गरिदिन्छ । विभिन्न अनुभवजन्य अध्ययनहरूबाट महिलाहरू नैतिक रूपमा जिम्मेवार हुन र जन्मेको नयाँ जीवनलाई मार्गदर्शन तथा परिवर्तन गर्न अनुकूल हुने खुलासा भएको छ । सामाजिक प्रभावले आमाहरूको सोच्ने तरिकामा असर गर्ने र महिलाहरू आदर्श र ‘उत्तम आमा’ बन्ने अपेक्षा गरिने कुरालाई नकार्न नसकिने कुरा एन्ड्रिया ओ’रेलीद्वारा सम्पादित कृति ‘ट्वेन्टी फर्स्ट सेन्चुरी मदरहुड’ मा उल्लेख छ । यसबाट आमाहरूले आफ्ना छोराछोरीको आवश्यकतालाई सुनिश्चित गर्ने र बुबाको तुलनामा धेरै नै समझदार र जिम्मेवार व्यवहार गर्नेतिर झुकाव राख्छन् भन्ने बुझिन्छ । यसै क्रममा शारोन हेसले पनि ‘द कल्चरल कन्ट्राडिक्सन्स अफ मदरहुड’ मा आमाहरूलाई समाजद्वारा पूर्वनिर्धारित तोकिएको भूमिका र नियमहरूमार्फत आफ्ना बच्चाहरूको समग्र विकासको लागि प्राथमिक एजेन्टको रूपमा लिइने कुरा उल्लेख गर्नुभएको छ ।
यसरी बच्चाहरूको समग्र विकासको लागि पनि महिलालाई नै प्राथमिक एजेन्टको रूपमा तोकिनु भनेको महिलालाई छनोटको सुविधा नदिनु पनि हो । यस सन्दर्भमा मैत्रेयी कृष्णराजले ‘मदरहुड इन इन्डिया : ग्लोरिफिकेसन विद्आउट एम्पावरमेन्ट’ मा यसरी उल्लेख गर्नुभएको छ, समाजको निर्माण र पितृसत्तात्मक प्रकृतिले महिलालाई घरेलु क्षेत्रमा सीमित राख्ने भएकाले मातृत्वपछि महिलाहरू बच्चाहरूको हेरचाह गर्न बलिया हुन्छन् । यसैले पनि मातृत्व महिलाको रोजाइको सट्टा बाध्यता बनेको छ ।
बाध्यताका सन्दर्भमा एड्रिया ओ’रेइलीले ‘फ्रम मदरहुड टु मदरिङ’ कृतिमा ‘समाज र परिवारले महिलालाई आमा हुनका लागि एक निर्धारित भूमिकाको पूर्वघोषणा गरेको छ, त्यसैले एक मात्र परिसरको रूपमा विस्तृत छ । महिलाहरूले आफ्ना बच्चाहरू प्राप्त गर्ने प्राकृतिक इच्छा, आफ्नो व्यक्तिगत ठाउँ छोड्ने र आफ्ना छोराछोरीहरूलाई कुनै अपेक्षाविना हुर्काउने आकांक्षा गर्ने अपेक्षा गरिन्छ’ भनी उल्लेख गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालय, लैङ्गिक अध्ययन विभागका प्रमुख प्रा.डा. विन्दु पोखरेल भन्नुहुन्छ, “महिलाहरूलाई प्रायः आमा बन्नु उनीहरूको जीवनको आवश्यक र प्राकृतिक भाग हो भनेर विश्वास गराइने सामाजिक दबाब छ ।” यो काम पारिवारिक तहबाटै सुरु हुन्छ ।
‘अपेक्षा’ भनिए पनि यसमा भरपुर सामाजिक र सांस्कृतिक दबाब रहेको हुन्छ । यसलाई सुनियोजित तरिकाले सानैदेखि नै मानिसको सोच र व्यवहारमा घुसाइएको हुन्छ । नेपालको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय, लैङ्गिक अध्ययन विभागका प्रमुख प्रा.डा. विन्दु पोखरेल भन्नुहुन्छ, “महिलाहरूलाई प्रायः आमा बन्नु उनीहरूको जीवनको आवश्यक र प्राकृतिक भाग हो भनेर विश्वास गराइने सामाजिक दबाब छ ।” यो काम पारिवारिक तहबाटै सुरु हुन्छ । “केटीहरूलाई बाल्यकालदेखि नै प्रायः आमा बन्ने र आफ्नो परिवारको हेरचाह गर्ने आशामा हुर्काइने गरेको छ,” भन्दै उहाँ थप्नुहुन्छ, “विवाह संस्थाले यस अपेक्षालाई अझ बलियो बनाउँछ ।” मातृत्वको चाहना पनि छोरीमान्छेको हातमा छैन । यसको कारणसहित उहाँ विश्लेषण गर्नुहुन्छ, “महिलाहरूमा सांस्कृतिक रूपमा हेरचाह गर्ने र पालनपोषण गर्ने सर्तहरू हुने भएकाले मातृत्वको चाहना पनि सामाजिक संरचना र अपेक्षाहरूको उत्पादन हो ।”
अन्तर्राष्ट्रिय दातृ संस्थामा कार्यरत सरिता मोक्तान मातृत्व वरपरका सामाजिक मान्यताहरू परिवारबाट सुरु भएर समाजका विभिन्न पक्षहरूमा गहिरो रूपमा गाँसिएको कुरामा विश्वास गर्नुुहुन्छ । आमाको रूपमा महिलाहरूलाई दिइएका अपेक्षाहरू र भूमिकाहरू प्रायः पारिवारिक परम्परा, सांस्कृतिक विश्वास र सामाजिक अभ्यासमार्फत स्थायी हुन्छन् । उहाँ भन्नुहुन्छ, “शिक्षा, कार्यक्षेत्र र ठुला सामाजिक यथार्थहरूले महिलाहरूलाई आमा बन्ने परम्परागत भूमिका निर्वाह गर्न र यससँग सम्बन्धित जिम्मेवारीहरू पूरा गर्न दबाब दिन्छन् ।” कहिलेकाहीँ तिनले जानी वा नजानी मातृत्वभन्दा बाहिरका महिलाहरूको सम्भावना र आकांक्षाहरूलाई कम मूल्याङ्कन गर्न वा खारेज नै गर्न पनि सक्छन् । सामाजिक मान्यता र अपेक्षाहरूले प्रायः महिलाको मूल्य र आपूर्तिलाई आमाको भूमिकासँग मात्र जोड्ने गर्छन् । यस्ता कुरा उठाउँदै उहाँ थप्नुहुन्छ, “यो वजनदार दबाबले अधिकांश महिलालाई मातृत्व नै तिनको लागि जीवनको अन्तिम उद्देश्य हो भनी विश्वास गर्न बाध्य पार्छ ।”
बाध्यता परम्परागत रूपमा तोकिएको प्रजनन भूमिकाबाट सुरु भएर हेरचाहको भूमिकासम्म रहन्छ र यो महिलाको जीवनभर रहिरहन्छ । यसैले हेरचाहको भूमिकामाथि प्रश्न उठाइने गरेको छ । अर्थशास्त्र तथा समाजशास्त्रका प्राध्यापक ग्यारी एस. बेकर (सन् १९३०–२०१४) ले ‘अ ट्रिटिज अन द फ्यामिली’ कृतिमा सर्वहाराहरूले ‘केयरिङ’ ले घरमा वितरणको समस्या समाधान गर्छ र ? भन्ने प्रश्न गर्दै लैङ्गिक भूमिकाहरूमा बहिर्मुखी सामाजिक मानदण्डहरूको कुरा उठाउनुभएको छ । नोबेल पुरस्कार विजेता ग्यारीले पुरुषहरूलाई उत्पादन गतिविधिहरूमा छुट रहेको र महिलाहरूलाई भने प्रजनन गतिविधिहरूमा तोकिएको पनि सो कृतिमा उल्लेख गर्नुभएको छ ।
अहिलेको समाजमा मातृत्वको अवधारणा लिङ्गसँग मात्र सम्बन्धित छैन भन्ने वैज्ञानिक चेतनाले पनि ठाउँ बनाइसकेको छ । यसै कारण महिलाहरूले घरबाहिरका विभिन्न क्षेत्रमा विविध भूमिका अँगालेर लोभलाग्दो प्रगति पनि हात पार्दै आएका छन् ।
भूमिकाको सम्बन्धमा एड्रियनले ‘अफ वुमन बअर्न’ मा मातृत्वको सामाजिक अवधारणाबारे चर्चा गर्दै ‘बच्चाको बुबाका लागि डिम्बलाई उर्वर गर्ने शुक्रकीट मात्र प्रदान गर्नु हो भने बच्चाको लागि ‘आमा’ भन्नाले ‘कम्तीमा नौ महिनासम्म, धेरै पटक वर्षौंसम्मको निरन्तर उपस्थितिलाई बुझाउँछ’ भनी उल्लेख गर्नुभएको छ । मातृत्वको यस्तो अवधारणाको दबाबले धेरै आमाहरूलाई व्यक्तिगत चासोमा ध्यान दिँदै घरबाहिर ‘करिअर’ को पछि लाग्दा दोषी महसुस गराउँछ । साथै, छोरीमान्छेमा मातृत्व नै परम आकांक्षा हुनुपर्छ भन्ने विश्वासलाई निरन्तरता दिन्छ । यस्तो एकआयामी सामाजिक परिप्रेक्ष्यले महिलाको जीवनमा प्रजनन क्षमताभन्दा बाहिरका व्यक्तित्वमुखी जटिलताहरूलाई बेवास्ता गर्दछ । यसले जैविक रूपमा मातृत्वलाई अँगालेर गर्भधारणका कठिनाइहरूको सामना नगर्नेहरूका लागि त झन् जीवनमा अपूर्णता र अपर्याप्तताको भावना थोपर्छ ।
महिलाको जीवनमा यस प्रकारको भ्रममाथि पनि अप्राकृतिक विभेद थपिएका कारण परम्परागत सामाजिक अवधारणाको विकल्पमा समकालीन मातृत्वको अवधारणालाई अघि सारिएको पाइन्छ । अहिलेको समाजमा मातृत्वको अवधारणा लिङ्गसँग मात्र सम्बन्धित छैन भन्ने वैज्ञानिक चेतनाले पनि ठाउँ बनाइसकेको छ । यसै कारण महिलाहरूले घरबाहिरका विभिन्न क्षेत्रमा विविध भूमिकाहरू अँगालेर लोभलाग्दो प्रगति पनि हात पार्दै आएका छन् । समकालीन मातृत्वको अवधारणाले जैविक र परम्परागत सामाजिक मातृत्वको विभेद र भ्रमलाई चिर्न खोज्दैछ । यसैको आलोकमा सामाजिक अभियन्ता मेदिनी खरेल भन्नुहुन्छ, “मातृत्व एक विश्वव्यापी अनुभूति हो । कुनै पनि व्यक्तिले प्राकृतिक लिङ्गको परवाह नगरी मातृत्वको अनुभव गर्न सक्छ । यो जैविक कारकहरूमा मात्र सीमित छैन ।”
आफूलाई सन्तानको हेरचाह गर्ने भूमिकामा पनि उभ्याएका मेदिनी आत्मविश्वासका साथ मातृत्वका विषयमा भन्नुहुन्छ, “यो त गहिरो भावनात्मक सम्बन्ध र पोषण गर्ने प्रवृत्तिबाट उत्पन्न हुन्छ, जुन सबैसँग हुन सक्छ ।” उहाँ मातृत्वको अभिव्यक्ति प्रत्येक व्यक्तिका लागि अद्वितीय हुनसक्ने र त्यसबाट उनीहरूको व्यक्तिगत अनुभव र मूल्यहरू प्रतिबिम्बित हुने कुरामा विश्वास गर्नुहुन्छ । त्यसो त अझै पनि धेरैजसो आमाहरू आफ्ना प्रियजनद्वारा पोषित हुने तर त्यहाँ उनीहरूले उपयुक्त मान्यता प्राप्त गर्न नसकेका केही उदाहरणहरू पनि रहेको कुराले उहाँको चेतनालाई नराम्ररी चिमोट्छ ।
पहिचान र चुनौती
अहिलेको समाजमा महिलाको पहिचान र व्यक्तित्वको व्यापकतालाई स्वीकार गरेरै अघि बढ्नुलाई नै बुद्धिमत्तापूर्ण मानिन्छ । पितृसत्तात्मक मान्यताको अनुसरणमा झुकाव भएको समाजमा अझै पनि महिलाहरूको वास्तविक व्यक्तित्व र पहिचानको मुद्दालाई बेवास्ता गर्दै आमाको भूमिकामा सीमित गरिएको हुन्छ । आमा पनि रोजाइको नभएर बाध्यताको हुन्छ र सन्तान जन्मिसकेपछि लामो समयसम्म हेरचाहकर्ताका रूपमा घरआँगनको चौघेराभित्रै सीमित गरिदिन्छ । यसले मातृत्वइतर पक्षमा महिलाहरूको पहिचानको सन्दर्भलाई स्थान दिँदैन । मातृत्वको अप्राकृतिक भूमिकाले सामान्यतः विश्वका आधाआधी जनसङ्ख्या रहेका महिलाको व्यक्तित्व र पहिचानलाई साँघुरो बनाएर वास्तवमा मानव विकासको इतिहासलाई नै घात गरेको छ ।
बदलिँदो सामाजिक परिवेशमा भने महिलाहरूले व्यक्तिगत रूपमा मातृत्वभन्दा बाहिर आफ्नो पहिचानका लागि निरन्तर प्रयास गर्दै आएका देखिन्छन् । यो कुरा नेपाली महिलामा पनि लागु हुन्छ । “धेरै महिलाहरू आमा बन्ने परम्परागत भूमिकाभन्दा बाहिर आफ्नो रुचि, करिअर र व्यक्तिगत लक्ष्यहरू पूरा गर्न खोज्छन्,” प्रा. डा. विन्दु भन्नुहुन्छ, “पितृसत्तात्मक समाजमा महिलाको प्रयासले आकार लिनसक्ने ठाउँ भने अपवादका रूपमा मात्रै राखिएको हुन्छ । आमा हुनैपर्ने र बच्चा जन्माउनैपर्ने पारिवारिक र सामाजिक दबाबले महिलाहरूको आकांक्षा र छनोटहरूलाई आकार दिन सक्छ ।” यसले कहिलेकाहीँ महिलाहरूलाई त्यस्तो पूर्वनिर्धारित मार्गतर्फ डोर्याउँछ, जुन व्यक्तिगत इच्छाहरूसँग तालमेल नमिल्ने पनि हुन्छ भन्ने उहाँको ठम्याइ छ । यो महिलाका लागि धेरै नै चुनौतीपूर्ण अवस्था हो र यसले दिने परिणाम जेसुकै पनि हुनसक्छ । यसबारे उहाँको विश्लेषण छ, “व्यावसायिक र व्यक्तिगत जिम्मेवारीको बोझको कारण उनीहरूको कल्याण र व्यक्तिगत आकांक्षा पूर्तिको मार्गमा महत्त्वपूर्ण चुनौतीहरू खडा हुने मात्र होइन, नकारात्मक प्रभावहरू निम्तिनसक्ने पनि हुन्छ ।”
केही समाजमा ‘छोरा प्राथमिकताको अवधारणा’ ले महिलालाई ‘छोराकी आमा’ को पहिचान दिएर अर्को हिसाबले मातृत्वको दोहोलो काढिएको पाइन्छ ।
मातृत्वको सौन्दर्यका नाममा थोपरिएको पालनपोषण र हेरचाह गर्ने थप भूमिकाले महिलाहरूको पहिचानलाई सीमित गरेको तथ्य निर्विवाद छ । अष्ट्रियामा जन्मेकी अमेरिकी इतिहासकार तथा महिला इतिहास लेखक गेर्डा लर्नर (सन् १९२०–२०१३) ले ‘द क्रियसन अफ पेट्रिआर्की’ कृतिमा ‘पितृसत्ता’ द्वारा महिलाहरूमाथि मातृत्वको सौन्दर्यलाई कडाइका साथ थोपरिएका समाजमा महिलाहरूको अधीनस्थता प्रकट गरेको उल्लेख गर्नुभएको छ । यसरी हेर्दा समाजले आमालाई बच्चाहरूको संरक्षक र प्राथमिक हेरचाहकर्ता हो भनेर एउटा ठाउँ निर्माण गरेर पहिचान र व्यक्तित्वका अनन्त सम्भावनामाथि नै पितृसत्ताको धमिलो पानी खन्याइदिएको देखिन्छ ।
त्यसमाथि केही समाजमा ‘छोरा प्राथमिकताको अवधारणा’ ले महिलालाई ‘छोराकी आमा’ को पहिचान दिएर अर्को हिसाबले मातृत्वको दोहोलो काढिएको पाइन्छ । यसले घर र समाजमा महिलाको आमा हुने समान प्राकृतिक विशेषतालाई पनि सन्तानको लिङ्गको तराजुमा तौलिएर विभेदित र अन्यायपूर्ण बनाउँदै ल्याएको छ । अधिकारकर्मी तथा सामाजिक अभियन्ता सन्ध्या श्रेष्ठ भन्नुहुन्छ, “छोराकी आमाको पहिचान केही समुदायहरूमा फरक र मनपर्ने हुन सक्छ । तर, यसले लैङ्गिक असमानतालाई निरन्तरता दिन्छ ।” महिलाको यस्तो पहिचानले आमाभन्दा पनि छोरा पुस्ता महत्त्वपूर्ण भएको सन्देश जान्छ । मातृत्वमा आमालाई नै अवमूल्यन गर्ने यस्तो पहिचानलाई लैङ्गिक समताको दृष्टिले अत्यन्तै घातक मानिन्छ । मेदिनी भन्नुहुन्छ, “लैङ्गिक असमानतालाई निम्त्याउने हानिकारक स्टेरियोटाइप र पूर्वाग्रहहरूलाई निरन्तरता दिने पहिचानले छोरीका आमाहरूको मूल्यलाई कमजोर बनाउँछ ।”
छोरीमान्छेमा मातृत्वको चाहना र रोजाइको अनुत्तरित सवाल एकातिर छ भने अर्कातिर बालबालिका हुर्काउने दबाबपूर्ण चुनौती पनि थोपरिएको छ । सन्ध्याका अनुसार, बालबालिका हुर्काउने चुनौतीहरूको सामना गर्दा पनि आमाहरूले अक्सर सामाजिक अपेक्षाहरू पूरा गर्न ठुलो दबाबको सामना गर्छन् । छोरीहरूको हुर्काइसँग सम्बन्धित जोखिमका कारकहरूबाट उनीहरू बढी चिन्तित हुन सक्छन् । जोखिमका कारकहरूलाई खुलाउँदै उहाँ भन्नुहुन्छ, “छोरीहरूको सुरक्षा चिन्ता र सामाजिक पूर्वाग्रहहरूले आमाहरूमा थप चिन्ता सिर्जना गर्न सक्छ ।”
नेपालको सन्दर्भमा हुर्कंदो उमेरका बालिकाहरूको सुरक्षा र समानताको सवाल लामो समयदेखि राष्ट्रिय मुद्दा पनि बन्दै आएको छ । यो बालबालिकाको हेरचाहसँग पनि सम्बन्धित छ । यस मुद्दाले अपेक्षित परिणाम भने दिइसकेको छैन । हेरचाहको काम आमाको मात्र होइन, यो काम परिवारका जोकोही पुरुषले पनि समझदारीपूर्वक गर्न सक्छन् भन्ने चेतना पनि कतिपयमा आइसकेको देखिँदैन । चेतनासहित व्यवहारमा परिवर्तन ल्याउनका लागि सहभागितामूलक निर्णय प्रक्रियाबाट परम्परागत लैङ्गिक भूमिकाहरू बदल्नुपर्ने हुन्छ ।
अभियन्ता सन्ध्या महिलाको मातृत्वलाई ‘सुनको पिँजडा’ को संज्ञा दिँदै ‘बायोलजिकल’ अर्थात् जैविक भूमिकाबाहेक अरू जिम्मेवारी पुरुषले पूरा गर्न सक्ने भए पनि अहिलेसम्म समाजले बनाएको पारम्परिक दायरामै अल्झिरहेको तर्क गर्नुहुन्छ ।
यो कामको व्यवस्थापनका लागि परिवार, समाज र राज्य संस्थासम्मको रणनीतिक र कार्यगत भूमिका अपेक्षित रहन्छ । यसबारे प्रा.डा. विन्दु भन्नुहुन्छ, “लैङ्गिक समानता हासिल गर्नका लागि पितृसत्तात्मक मान्यताहरूलाई चुनौती दिनुपर्ने हुन्छ । यसका लागि अभिभावकत्व र निर्णय प्रक्रियामा थप समतावादी दृष्टिकोणलाई प्रोत्साहित गर्नु महत्त्वपूर्ण हुन्छ ।”
समतावादी दृष्टिकोणलाई प्रोत्साहित गर्ने सन्दर्भमा नेपालको भावभूमि कहाँ छ त ? सामाजिक अभियन्ता सन्ध्या महिलाको मातृत्वलाई ‘सुनको पिँजडा’ को संज्ञा दिँदै ‘बायोलजिकल’ अर्थात् जैविक भूमिकाबाहेक अरू जिम्मेवारी पुरुषले पूरा गर्न सक्ने भए पनि अहिलेसम्म समाजले बनाएको पारम्परिक दायरामै अल्झिरहेको तर्क गर्नुहुन्छ । उहाँका अनुसार, परम्परागत पितृसत्तात्मक संस्कृतिहरूमा जस्तै यहाँको समाजले पुरुषहरूलाई आफ्ना भावनाहरू खुला रूपमा देखाउन अझै पनि निरुत्साहित नै गर्छ । यसले मातृत्वसँग सम्बन्धित पोषण गुणहरू व्यक्त गर्ने पुरुषहरूको क्षमतालाई सीमित गर्दै आइरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसैले पनि लैङ्गिक समानता प्रवर्द्धन गर्न र आमाहरूको व्यक्तित्वको व्यापकता, सक्षम पहिचान र विविध अनुभवहरूलाई मान्यता दिन मातृत्वको परम्परागत सामाजिक परिभाषाहरूलाई चुनौती दिन आवश्यक छ ।” यस्ता परिभाषाहरूलाई चुनौती दिनका लागि पितृसत्ता र मातृत्वको संस्थासँग सम्बन्धित सामाजिक सांस्कृतिक पक्षलाई पनि बुझ्नुपर्ने हुन्छ ।
पितृसत्ता र मातृत्वको संस्था
नामबाटै पितृसत्ता र मातृत्वको संस्थाले ‘लैङ्गिकता’ लाई सङ्केत गर्दछन् । शक्तिसम्बन्धका आधारमा यी एक आपसमा विपरीत अवस्थामा राखिएका संस्था हुन् । परिवार, समाज र राज्यमा यिनको भूमिका सामान्यतः प्रधान र अधीनस्थ वा शासक र शासितका रूपमा निर्धारित रहेको पाइन्छ । यसको निर्धारण पितृसत्ताको संस्थाले गरेको बुझ्न गाह्रो छैन ।
पितृसत्ता शब्दले पुरुषको अन्तिम शासनलाई जनाउँछ । यसलाई प्राविधिक रूपमा ‘बुबाको शासन’ भनिन्छ भनी एन्ड्रिया ओ’रेइलीद्वारा सम्पादित कृति ‘एनसाइक्लोपेडिया अफ मदरहुड’ मा उल्लेख छ । विस्तारमा भन्नुपर्दा, पितृसत्ता कुनै पनि प्रणाली हो, जहाँ पुरुषहरू श्रेष्ठ हुन्छन् र सत्ता राख्छन् भने महिलाहरू निम्न र पुरुषको अधिकार वा नियन्त्रणमा रहन्छन् । पितृसत्ता अन्ततः एउटा यस्तो संस्था हो, जसले महिलाहरूलाई अधीनस्थ बनाउने चरणहरू खोज्छ भने मातृत्वचाहिँ मातृत्वको विचारधाराहरूद्वारा स्थापित सबैभन्दा बलियो संस्था हो । एड्रियन रिचले सही टिप्पणी गर्नुभएको छ– “मातृत्वको संस्था पितृसत्ताको उत्पीडनको सबैभन्दा प्रभावकारी औजार हो ।”
जेनेट साल्ट्जम्यान चाफेट्जद्वारा सम्पादित एउटा अर्को कृति छ, ‘ह्यान्डबुक अफ द सोसिअलजी अफ जेन्डर’ । यस ह्यान्डबुकमा रहेको ‘सिमिलारिटी एन्ड डिफरेन्सेस : सोसिअलजी अफ जेन्डर’ मा सिन्थिया फुच एपस्टेनले सामाजिक सिद्धान्तले ‘पितृसत्ता’ को जैविक व्याख्या नगरी समाजिकीकरण प्रक्रियाद्वारा लैङ्गिक भूमिकाको निर्माण गर्ने जनाउनुभएको छ । उहाँका अनुसार, यसरी परम्परागत रूपमा निर्धारित भूमिकाहरूको खेती गरिन्छ, त्यसलाई आकार दिइन्छ र ‘पुरुष आधिपत्य’ को उपयुक्तता पुनः बनाइन्छ, जुन परम्परागत मूल्य र सांस्कृतिक मानदण्डहरूद्वारा समर्थित छ । यसमा ‘आधुनिकता’ को लेबल लगाइए पनि परिवार, सञ्चारमाध्यम, निजी कार्यालय र अन्य संस्थामा पुरुषको वर्चस्व रहेको कुरालाई नकार्न सकिँदैन । स्थापित मानदण्डहरू धेरै हदसम्म ‘बुबा’ को पक्षमा भएकाले उनैलाई परिवारको प्रमुख मानिन्छ । आमालगायत घरपरिवार, निजी र सार्वजनिक क्षेत्रमा एक प्रमुख व्यक्तित्वका रूपमा बाबु नै रहन्छन् ।
महिलाको जीवनको अन्तिम उद्देश्य मानिएको मातृत्वका लागि समाजमा कतिपय अवस्थामा गैरजैविक आमाहरूलाई पनि अँगालो हाल्ने चलन छ । यस कोणबाट हेर्दा मातृत्वको अस्तित्व जैविक सम्बन्धभन्दा परसम्म पनि फैलिएको देखिन्छ । अन्तर्राष्ट्रिय दातृ संस्थामा कार्यरत सरिता यसलाई हेरचाहको सन्दर्भसँग जोड्दै भन्नुहुन्छ, “धेरै महिलाले धर्मपुत्र, सौतेनी–अभिभावक वा पालनपोषणका अन्य सम्बन्धहरूमार्फत बच्चाहरूको हेरचाह गर्छन् । त्यस स्थितिमा महिलाहरूले आफूले हेरचाह गर्ने बच्चाहरूको जीवनमा आमाको भूमिका निर्वाह गर्छन् ।” यसरी गैरजैविक आमाहरूले बच्चाहरूलाई प्रदान गर्ने माया, हेरचाह र समर्थनका लागि पनि समान रूपमा मूल्य र मान्यता दिइनुपर्ने आवाज उठ्न थालेको छ ।
मातृत्वलाई पितृसत्ताको भारले दसै दिशाबाट घेराबन्दीमा पारेको छ । यसलाई रोमाञ्चक काम कुरो हो जस्तो गरेर मानिसको मन र मस्तिष्कलाई कलात्मक भ्रममा फसाउन खोजिएको छ ।
मदर टेरेसा (सन् १९१०–१९९७) जस्ता प्रख्यात व्यक्तित्वहरूले जैविक परिभाषाभन्दा परको मातृत्वको अवधारणाको उदाहरण दिनुभएको छ । उहाँहरूले जैविक सन्तानसँग जसरी रगतको नाताले नजोडिए पनि गैरजैविक नाताका आधारमा अरूहरूको पालनपोषण गर्नुभएको छ । उहाँहरूले देखाउनुभएका दयालु कार्यहरूले मातृत्वको निकै गहिरो अर्थलाई ‘हाइलाइट’ गर्दछ । उहाँहरूले सन्तानलाई जसरी अरूहरूलाई गर्नुभएका हेरचाहका कामले मातृत्वका जैविक सम्बन्धहरूलाई पार गर्दछ । यसबाट पितृसत्ता र मातृत्वको संस्थाको परम्परागत शक्तिसम्बन्धको मूल्य मापन गर्ने एक आयामी तराजुको औचित्यमाथि पनि प्रश्न उठाउन सकिने देखिन्छ ।
मातृत्वको ‘रोमान्टिकीकरण’ र बन्धन
मातृत्वको संस्था समाजशास्त्रीय सिद्धान्तमा मात्र सीमित छैन । मातृत्वलाई पितृसत्ताको भारले दसै दिशाबाट घेराबन्दीमा पारेको छ । यसलाई रोमाञ्चक काम कुरो हो जस्तो गरेर मानिसको मन र मस्तिष्कलाई कलात्मक भ्रममा फसाउन खोजिएको छ । यो काम श्रुति परम्परादेखि नै निरन्तर रूपमा हुँदै आएको छनक पाइन्छ । लिखित रूपमा पौराणिक कथा, साहित्य, इतिहास, धर्म, संस्कृति, राजनीति, मानवशास्त्र आदि विविध विषय र विधाहरूमा मातृत्वसम्बन्धी यथार्थ र भ्रमलाई सजाइएको पाइन्छ । तीमध्ये पनि विशेषतः साहित्यिक कृति र चलचित्रहरूमा मातृत्वको सन्दर्भलाई ‘रोमान्टिकीकरण’ गरिएको पाइन्छ । तिनमा पितृसत्तात्मक सांस्कृतिक मूल्यहरूद्वारा परिपोषित आमा र मातृत्वको महिमाको सारमा महिलाको अन्तिम जिम्मेवारी नै मातृत्व भएको ठोकुवा गरिएको हुन्छ । धार्मिक र पौराणिक ग्रन्थहरूमा पनि आमाहरूले आफ्ना बच्चाहरूलाई आकार दिन र उनीहरूको बाल्यकालमा मार्गदर्शन गर्न सक्छन् भनी उल्लेख गरिएको छ ।
विश्वका धेरै समाजमा प्रचलित परम्परावादी साहित्यमा आमाहरूको स्वीकृति, तिनीहरूको सामाजिक मान्यता र नियमहरूको पालना देखाइएको हुन्छ ।
मातृत्व र विश्वासलाई मार्गदर्शन गर्ने पौराणिक साहित्यले महिलाको स्थिति निर्माण गर्ने प्रवृत्ति पनि राख्छ । मनुस्मृतिमा बच्चा जन्माउने महिलाले भगवान्बाट आशीर्वाद पाउने र देवीभन्दा कम स्थानमा नहुने भनी जनाइएको कुरा जी. बुहलरद्वारा अनूदित ‘मनुस्मृति : द लज अफ मनु’ मा उल्लेख पाइन्छ । यस्तै, सुकुमारी भट्टाचार्जीले पौराणिक साहित्यहरूले महिलाको लागि मातृत्व आध्यात्मिक रूपमा उच्चतम प्राप्ति र पत्नीत्वको रहस्यमय रूपान्तरण हो भनेर पनि दाबी गरेको कुरा ‘मदरहुड इन एन्सन्ट इन्डिया’ मा उल्लेख गर्नुभएको छ ।
मातृत्वको जिम्मेवारी महिलाले जसरी कुशलतापूर्वक अरूले पूरा गर्न नसक्ने दाबी न्यान्सी चोदोरोको पनि छ । उहाँको ‘द रिप्रोडक्सन अफ मदरिङ : द साइकोअनालाइसिस एन्ड सोसिअलजी अफ जेन्डर’ कृतिमा प्रशंसाको वर्षा गर्दै महिलाहरूलाई देवीको संज्ञा दिएर पवित्र, हेरचाह, प्रेम र स्नेहको प्राथमिक स्रोतका रूपमा प्रस्तुत गर्दै मातृत्वको भूमिका निर्धारण गरिएको छ । यस क्रममा महिलाहरूलाई कोमल हृदय र प्रकृतिको रूपमा पालनपोषण गर्ने व्यक्ति भनेर पनि प्रस्तुत गरिएको छ ।
इतिहासको सबैभन्दा पुरानो प्रेम कथाको रूपमा रहेको मातृ–बच्चाको सम्बन्धलाई पितृसत्ताले जीवन्त राख्न खोजेको जिकिर मैत्रेयी कृष्णराज गर्नुहुन्छ । यसमा महिला र उनीहरूका बच्चाहरूलाई बाँध्ने भावनात्मक बन्धनलाई समेटिएको छ । यो बन्धन निस्सन्देह सुन्दर र शक्तिशाली भए पनि यो पितृसत्तात्मक समाजको लागि बलियो स्तम्भ हो । यसमा शङ्का गर्नुपर्ने ठाउँ छैन । यसले सामाजिक पर्खालहरू पछाडि महिलाहरूको मन, मस्तिष्क र शरीरलाई कैद गर्न योगदान गर्दछ ।
विश्वका धेरै समाजमा प्रचलित परम्परावादी साहित्यमा आमाहरूको स्वीकृति, तिनीहरूको सामाजिक मान्यता र नियमहरूको पालना देखाइएको हुन्छ । यस्ता साहित्यले प्रायः महिलाको व्यक्तित्वलाई आमाको रूपमै सीमित गर्दै उनीहरूले आफ्ना स्वाभाविक आकांक्षाहरूलाई दमन गर्नुपर्ने भाष्यलाई प्रश्रय दिन्छन् । त्यस्तै सन्देशको माध्यमबाट महिलाहरूलाई व्यक्तित्वका सम्भावनामाथि नै आत्मघात गर्न पनि उक्साउँछन् ।
परम्परावादी साहित्यमा खासगरी आमा भएकी महिलाले आफ्नो व्यक्तित्वमाथि सनातनी घुम्टो हाल्दै आफ्नो सन्तान र परिवारको आवश्यकतालाई नै सर्वोपरि प्राथमिकतामा राखेर मूल काम गर्ने, जीवनमा आइपर्ने जस्तोसुकै उत्पीडन पनि सहने र सधैँ नै मौन रहने अपेक्षा गरिन्छ । यस्तै अपेक्षाहरूलाई जगाइराख्नका लागि मातृत्वसम्बन्धी साहित्यमा रोमान्टिकीकरणका साथै सन्तान–बन्धनको विधिलाई भरपुर उपयोग गर्न खोजिएको हुन्छ । अबका छोरी पुस्ताले यस्ता सामग्रीहरूको अध्ययन र मननमा विश्लेषणात्मक विधिको उपयोग गर्दै अघि बढ्नुपर्ने हुन्छ ।
लैङ्गिक दृष्टिकोणमा आमा र मातृत्व
समाजको विषमलैङ्गिकता उत्पत्तिद्वारा निर्धारित रूपमा लिङ्गको निर्माण र प्रदर्शन गरिएको हुन्छ । यसले महिला र पुरुष जस्ता विषमलिङ्गीका साथै समलिङ्गीहरूको व्यवहार ढाँचा पनि निर्धारण गर्दछ । मातृसम्बन्धी विषयमा सन् १९९९ देखि नै अनुसन्धान र वकालत गर्दै आएका ‘द मदर्स मुभमेन्ट अनलाइन’ का सम्पादक जुडिथ स्ट्याडम्यान टकरले ‘डुइङ डिफरेन्स : मदरहुड, जेन्डर एन्ड द अदर स्टोरिज वि लिभ बाइ’ मा उल्लेख गर्नुभएको छ, ‘लिङ्ग’ सबैभन्दा ठुला कथाहरूमध्ये एक हो – एक मोटो, अदृश्य फिल्म जसले सेक्सको जैविक अपरिहार्यतालाई ढाकछोप (ओभरले) गर्दछ । उहाँले यसलाई सोच र स्वीकार्यताभन्दा बढी भएको र मानिसहरूलाई अजेन्डा कसरी प्रदर्शन गर्ने भनेर सिक्नको लागि जिम्मेवारी दिइएको रूपमा लिनुभएको छ ।
सामाजिक जीवविज्ञानले महिलाको प्रजनन जैविक ‘भाग्य’ अपरिहार्य रहेको र बच्चा जन्माउनुलाई नियति नै ठान्छ । यसले मातृत्वको भूमिका भनेको जीवनको प्रारम्भिक अवस्थादेखि नै महिलाका लागि तोकिएको छ, जहाँ एक महिला र पुरुष बच्चाको छुट्टै पालनपोषणले महिला र निर्धारित प्रकारको पुरुष बन्ने सम्भावना हुन्छ भन्ने मान्यता राख्छ । एक प्रमुख भारतीय महिलावादी लेखक, समीक्षक तथा अभियन्ताका रूपमा परिचित प्रो. जशोधरा बागची (सन् १९३७–२०१५) ले ‘मदरहुड रिभिजिटेड’ मा सामाजिक परिधिले हेरचाहकर्ता र आमाको रूपमा महिलाको भूमिकामा प्रभुत्वशाली महिला र पुरुषको लागि निश्चित भूमिका निर्धारण गर्ने उल्लेख गर्नुभएको छ । यसमा पुरुषलाई आर्थिक प्रदायकको रूपमा प्रमाणित गरिएको छ, जसले घरबाहिर पाइला राख्छ र घरको काममा रमाइलो मान्दैन । यसरी पुरुषको पक्षमा र महिलाको पक्षमा सामाजिक, यौन, राजनीतिक र आर्थिक क्षेत्रमा दोहोरो मापदण्ड कायमै रहेको छ, जहाँ महिलाहरूले कामको तेहरो भार वहन गर्न बाध्य छन् भन्ने कुरालाई नकार्न सकिँदैन ।
‘मातृत्व’ को महिलावादी दृष्टिकोणका लागि महिलावादको तेस्रो लहर कुर्नुपर्यो । यसमा नारीवादी दृष्टिकोणले मातृत्वको पुनः परिभाषा गरिएको छ ।
नेपालको राष्ट्रिय राजनीतिमा सक्रिय युवा नेता पुकार बमको विचारमा आमाहरूले धेरै जिम्मेवारीहरू बोक्छन्, विशेष गरी प्रजनन कार्यको सन्दर्भमा । उहाँ भन्नुहुन्छ, “दुर्भाग्यवश, आमाहरूद्वारा सम्पादित कामहरूको बारम्बार बेवास्ता गरिन्छ, कम मूल्याङ्कन गरिन्छ । आमाहरूले राजनीतिक क्षेत्रमा पनि चुनौती र असमानताको सामना गर्छन् ।” उहाँका अनुसार, यी समस्याहरू सम्बोधन गर्न राज्यले पर्याप्त जिम्मेवारी लिएको छैन, आमाहरूमाथि राखिएको असमान बोझलाई निरन्तरता दिइरहेको छ । समाजमा सबैतिर महिलाहरूलाई समर्थन र मान्यताको कमी रहेको अवस्था छ ।
मातृत्वको महिलावादी दृष्टिकोण
‘मातृत्व’ को महिलावादी दृष्टिकोणका लागि नारीवादको तेस्रो लहर कुर्नुपर्यो । यसमा महिलावादी दृष्टिकोणले मातृत्वको पुनः परिभाषा गरिएको छ । यस परिभाषाले मातृत्वको परम्परागत अवधारणालाई चुनौती दिन निर्णायक भूमिका खेलेको छ । यसबारे प्रा.डा. विन्दु भन्नुहुन्छ, “यो नारीवादी आन्दोलनले मातृत्वको थप समावेशी र प्रगतिशील समझको वकालत गर्छ, जहाँ महिलाहरूले आफ्नो व्यक्तिगत वृद्धि र आकांक्षाका लागि मातृत्व र व्यक्तिगत ठाउँ दुवै खोज्छन् ।”
सन् १९८० को दशकको मध्यमा महिलावादी दृष्टिकोणले मातृत्वलाई त अस्वीकार नै गरेको थियो ।
मातृत्वको नारीवादी दृष्टिकोणलाई समर्थन गर्न राज्य र परिवार दुवैको महत्त्वपूर्ण भूमिका हुनुपर्ने विचार प्रा.डा. विन्दुको छ । यसमा काम गर्ने आमाहरूका लागि सुत्केरी बिदा, बाल हेरचाह समर्थन र लचिलो कार्य व्यवस्था जस्ता आवश्यकताहरू पूरा गर्ने नीति र प्रावधानहरूको निर्माण तथा कार्यान्वयन जस्ता पक्षहरू छन् । उहाँ भन्नुहुन्छ, “यस्ता व्यवस्थाहरू महिलाहरूलाई आमा र व्यक्तिको रूपमा आफ्नो भूमिकालाई सन्तुलनमा राख्नका लागि अनुकूल वातावरण सिर्जना गर्न महत्त्वपूर्ण हुन्छन् ।”
साथै, यसले मातृत्वको अवधारणा जैविक परिभाषाहरूमा मात्र सीमित हुनु हुँदैन भन्ने कुरालाई महत्त्वका साथ उठाएको छ । यसमा पुरुषहरूलाई पनि परम्परागत रूपमा मातृत्वसँग सम्बन्धित हेरचाह र पालनपोषणका भूमिकाहरूमा सहभागी हुन प्रोत्साहन दिनुपर्ने, हेरचाहबाट पितृत्वलाई अँगालेर लैङ्गिक स्टेरियोटाइपहरूबाट टाढा जान र अधिक समान पारिवारिक गतिशीलता पालना गर्न सकिने कुरा पनि उठाइएको छ ।
उन्नाइसौँ र बिसौँ शताब्दीको अमेरिकी कथाका विशेषज्ञ तथा लैङ्गिक विषयका अध्येता केट म्याककुलोले ‘अफ वुमन (बट नट म्यान अर द न्युक्लियर फ्यामिली) बर्न : मदरहुड आउटसाइड इन्स्टिच्युसनलाइज्ड हेटेरोसेक्सुआलिटी’ मा मातृत्वको लागि नारीवादी दृष्टिकोणले मातृत्वका विभिन्न प्रवर्द्धनहरूलाई समेट्ने विचारहरूको विविधता प्रदान गर्ने उल्लेख गर्नुभएको छ । उहाँका अनुसार, यो पुनरुत्पादन गर्ने जैविक दृढतावादमा मात्र सीमित छैन ।
यसले हेरचाह गर्ने कामको ढाडस र सान्त्वना पनि खोज्छ । यसले आमा र मातृत्वको महिमाको मिथकलाई तोड्दै, मातृत्वको बहसमा समलैङ्गिकता र विषमलैङ्गिकता, स्तनपान र असन्तुष्टि र आमाहरूको स्वभावलाई अन्वेषण गर्छ । तसर्थ, मातृत्वको महिलावादी दृष्टिकोण भनेको परम्परागत विचारलाई टुक्राटुक्रा पार्ने र महिलालाई अधीनतामा डुबाउने दोहोरो मापदण्डको खोजी गर्ने परिप्रेक्ष्य हो भनी महिलावादलाई पुरुष विरोधीको रूपमा आलोचना पनि गरिएको छ । आजको छोरी पुस्ताले यसलाई सामना गर्नसक्ने बौद्धिक तर्कशक्ति आफूमा विकास गर्दै अघि बढ्न खोज्ने हो भने आफ्नै रोजाइको जीवन बाँच्न उनीहरूलाई कसैले चाहेर पनि रोक्न सक्दैन ।
सन् १९८० को दशकको मध्यमा महिलावादी दृष्टिकोणले मातृत्वलाई त अस्वीकार नै गरेको थियो । सिमोन डे बोउवार (सन् १९०८–१९८६) ले ‘द सेकेन्ड सेक्स’ मा मातृत्वलाई महिलाहरूको अवरोधका रूपमा लिनेहरूले मातृत्वको सार परिभाषित गरेको, मातृत्वसँग मिल्दोजुल्दो महिलालाई वशमा राखेको र समानता पालना गरेको कुराको व्याख्या गर्नुभएको छ । उहाँले महिलालाई ‘अरू’ को रूपमा हेर्दा मातृत्वलाई ‘लागु गरिएको मातृत्व’ को रूपमा लिइएको कुरा पनि उठाउनुभएको छ ।
मातृत्वको महिलावादी दृष्टिकोणलाई व्यवहारमा उतार्ने हो भने आमा र बुबाहरू के हुनुपर्दछ भन्ने पूर्वकल्पनाबाट टाढा रहन र सामूहिक जिम्मेवारीको रूपमा बालबच्चाको हेरचाह गर्ने विचारलाई अँगाल्न आवश्यक छ ।
गेर्डा नायर र लउरा बर्नार्डीले ‘फेमिनिस्ट पर्सपेक्टिभ्स अन मदरहुड एन्ड रिप्रोडक्सन’ शीर्षक लेखमा केही कुरामा असहमति रहे पनि मातृत्व महिलाहरूलाई निम्नसामाजिक र आर्थिक ‘वस्तु’ को रूपमा राखिराख्ने एउटा माध्यम भएको र उनीहरूको स्थिति निर्धारण गर्ने अधिकार अस्वीकार भएको सिमोनको अवधारणालाई मातृत्वका आलोचक महिलावादीहरूले साझा गरेका उल्लेख गर्नुभएको छ । यस सन्दर्भमा क्यारोल पाटेम्यानको भनाइ उद्धृत गर्दै उहाँहरूले मातृत्व (र महिलाहरू) को अवमूल्यन लैङ्गिक अन्तरको पितृसत्तात्मक निर्माणको परिणाम भएको पनि उल्लेख गर्नुभएको छ ।
मातृत्वको महिलावादी दृष्टिकोणलाई व्यवहारमा उतार्ने हो भने आमा र बुबाहरू के हुनुपर्दछ भन्ने पूर्वकल्पनाबाट टाढा रहन र सामूहिक जिम्मेवारीको रूपमा बालबच्चाको हेरचाह गर्ने विचारलाई अँगाल्न आवश्यक छ । अबको समाजमा विश्वको जुनसुकै स्थानमा रहेका भए पनि सबै प्रकारका हेरचाहको मूल्यलाई मान्यता दिएर र परम्परागत लैङ्गिक मानदण्डहरूभन्दा बाहिरका व्यक्तिहरूको योगदानको कदर गर्नुपर्छ । महिला र पुरुष दुवैलाई ‘आमा’ वा ‘बुबा’ को भूमिकाभन्दा बाहिर बहुआयामिक पहिचान भएका अद्वितीय व्यक्तिहरूका रूपमा परिभाषित गर्न सशक्त बनाउने थप समावेशी समाज निर्माण गर्न सकिन्छ । प्रा.डा. विन्दु भन्नुहुन्छ, “परम्परागत लैङ्गिक भूमिकाहरूलाई चुनौती दिएर र समावेशिता प्रवर्द्धन गरेर हामी त्यस्तो समाज सिर्जना गर्न सक्छौँ, जसले व्यक्तिहरूलाई विविध पहिचानहरू अँगाल्न र अर्थपूर्ण र समान तरिकाले हेरचाहमा योगदान गर्न सशक्त बनाउँछ ।”
महिलावादीहरूको विचारमा यौन भिन्नताबाहेक मातृत्वको प्रकृतिसँगको सम्बन्ध भनेको ऐतिहासिक, सामाजिक, कानुनी, राजनीतिक र दार्शनिक रूपमा निर्मित भएर हुर्किएको हो । उनीहरू मातृत्वको वंशका सबै पक्षहरूको भिन्नता महिलाहरूको अधीनताको लागि पर्याप्त रहेको ठान्छन् । उनीहरू मातृत्वलाई महिलाहरूको जन्मजात गुण होइन तर जीवनका विभिन्न चरणहरूमा वंशानुगत रूपमा प्राप्त गरेको र निर्धारित भूमिकामा समाजमा फिट हुन बाध्य भएको भनी अधीनताको विरोध पनि गर्छन् । मैत्रेयी कृष्णराजले ‘मदरहुड, मदर्स एन्ड मदरिङ : अ मल्टिडाइमेन्सनल पर्सपेक्टिभ’ मा ‘काम’ को रूपमा मातृत्वको परिभाषालाई महिलावादीहरूले खण्डन गरेर मातृत्वलाई ‘प्रकृति’ सँग तुलना गरेको विचार व्यक्त गर्नुभएको छ । त्यसमा उहाँले सामाजिक मातृत्वले आफ्ना बच्चाहरूको हेरचाह र पालनपोषण लगायतका भूमिकामा महिलालाई प्राकृतिक दायित्वको रूपमा वशमा राख्छ भन्ने कुरा पनि उल्लेख गर्नुभएको छ ।
अहिलेको महिलावादी चेतनाले भन्छ, ‘आमा’ र ‘मातृत्व’ हुनुको प्रशस्ततामा ‘महिला’ हुनुको पूर्णता देखाउन आवश्यक छैन । बरु, मातृत्वको पितृसत्तात्मक परिभाषालाई पुनः परिभाषित गर्न र आमाको आफ्नै अनुभवको अन्वेषण र आमाको दृष्टिकोणलाई न्यारेटिभ थेरापीको सहायताले भए पनि व्यक्त गर्न आवश्यक छ । मातृत्वलाई पुनः परिभाषित गर्दा मातृत्वको अनुभूति जीवविज्ञानभन्दा पनि बाहिर छ भनी पहिचान गर्नु पनि अत्यावश्यक छ ।
पुरुषहरूले पनि हेरचाहसँग सम्बन्धित भावना र जिम्मेवारीहरू समान रूपमा अनुभव गर्न सक्छन् । समताका लागि समृद्धिपरक परिवर्तन खोजिरहेको समाजमा हेरचाहसम्बन्धी पुरुषहरूको अभिव्यक्तिलाई महत्त्वका साथ स्थान दिइनुपर्छ र उनीहरूका यस्ता कामलाई सम्मान र समर्थन गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेका हुन्छन् । छोरीहरूले तिनका कुरा सुनेर परिस्थितिलाई विश्लेषण गर्दै स्वनिर्णय लिनसक्ने गरी आफूलाई तयार गर्नुपर्छ र आफ्नो बहुआयामिक व्यक्तित्वको उच्चतम कडीलाई पक्डिएर आत्मनिर्भरतापूर्वक अघि बढ्न सक्नुपर्छ ।
समतामूलक परिभाषाको खोजी
अहिलेको विश्वमा मातृत्वको परिभाषालाई महिलावादी दृष्टिकोणबाट पनि अघि बढेर वास्तवमै समतावादी बनाउनुपर्नेमा जोड दिन थालिएको छ । यसलाई थप समावेशी र समतामूलक अवधारणामा आधारित बनाउनुपर्ने दिशामा सरोकारसिद्ध आवाजहरू पनि उठाउन थालिएको छ । प्रा. डा. विन्दु भन्नुहुन्छ, “मातृत्वको अवधारणालाई आमा हुनुको सीमित परिप्रेक्ष्यभन्दा बाहिर गएर पुनः परिभाषित गर्नु महत्त्वपूर्ण हुन्छ । मातृत्वको परिभाषाले महिलाहरूको समग्र कल्याण र जीवनका विभिन्न पक्षहरूमा उनीहरूको सशक्तीकरणलाई समेट्नुपर्दछ ।” यसका लागि नीतिगत हस्तक्षेप र सामाजिक मनोवृत्ति र मानदण्डहरूमा परिवर्तन आवश्यक हुन्छ । साथै, साझा जिम्मेवारीको अवधारणालाई कार्यान्वयनमा ल्याउने हो भने हेरचाह गर्ने जिम्मेवारी आमाहरूको मात्र हो भन्ने कथित वास्तविकतालाई तोड्न सकिने उहाँको धारणा छ ।
प्रा.डा. विन्दु भन्नुहुन्छ, “जहाँ महिलाहरूलाई आफ्नो मातृ भूमिकाहरू पूरा गर्दै व्यक्तिगत ठाउँ खोज्न प्रोत्साहित हुन सकोस् । समाजले महिलाहरूलाई आमाको भूमिकामा बाध्य नपारोस् ।”
प्रा.डा. विन्दु तेस्रो लहरको महिलावादको प्रकाशमा मातृत्वलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड दिँदै भन्नुहुन्छ, “जहाँ महिलाहरूलाई आफ्नो मातृ भूमिकाहरू पूरा गर्दै व्यक्तिगत ठाउँ खोज्न प्रोत्साहित हुन सकोस् । समाजले महिलाहरूलाई आमाको भूमिकामा बाध्य नपारोस् ।” महिलाको पहिचानलाई मातृत्वमै सीमित नगरोस् र महिलालाई मुख्यतः मातृत्वको रूपमा परिभाषित नगरोस् भन्नेमा उहाँ सचेत देखिनुहुन्छ ।
मातृत्वको समतावादी परिभाषाले आमाहरूको पक्षमा थप न्यायोचित र सहयोगी वातावरण निर्माण गर्नुपर्ने हुन्छ । यसो गर्दा अभिभावक र घरपरिवारका जिम्मेवारीहरूमा सक्रिय रूपमा सहभागी हुन पुरुषहरूलाई प्रोत्साहित गर्ने नीति लिइनुपर्दछ । यसो गर्नसके परम्परागत लैङ्गिक भूमिकाहरूलाई व्यवहारमा चुनौती दिन सकिन्छ र हेरचाहमा विद्यमान लैङ्गिक असमानता तथा महिलाहरूमाथि थोपरिएको असामान्य भारलाई घटाउँदै र हटाउँदै समावेशी र समतावादी समाज बनाउन सकिन्छ ।
युवा नेता पुकार ‘मातृ’ शब्दले पनि ‘मातृत्व’ नै महिलाभित्र समेटेको ठान्नुहुन्छ । उहाँ पनि यसलाई पुनः परिभाषित गर्नुपर्ने ठान्दै भन्नुहुन्छ, “आमा हुनुको सीमित परिप्रेक्ष्यभन्दा बाहिर मातृत्वको अवधारणालाई पुनः परिभाषित गर्नु महत्त्वपूर्ण छ ।
परम्परागत सामाजिक दबाबले मातृत्वको अवधारणामा महिलाको व्यक्तित्वका विविध सम्भावनाहरूलाई ओझेलमा नपारोस् भन्नेमा पनि उहाँको जोड छ । उहाँ भन्नुहुन्छ, “मातृत्वलाई कहिलेकाहीँ ‘ग्लैमराइज’ गरिएको छ र आदर्श बनाइएको छ, जहाँ राज्यलाई पनि प्रतीकात्मक रूपमा ‘आमा’ भनिन्छ, महिलाहरू एक आदर्श हेरचाहकर्ता बन्ने आशा राख्दै ।” उहाँका अनुसार, यस्तो धारणाले पुरुषहरू प्रायः हेरचाह गर्ने जिम्मेवारीहरूबाट टाढा घरबाहिर बस्ने परम्परागत लैङ्गिक भूमिकाहरूलाई स्थायी बनाउने, महिलाहरूमा भने हेरचाह गर्ने, रोटी कमाउने र बनाउनेहरूको रूपमा आफ्नो भूमिकालाई सन्तुलनमा राख्नै नसकिने गरी बोझ थोपर्ने हुन्छ ।
युवा नेता पुकार मातृ शब्दले ‘मातृत्व’ नै महिलाभित्र समेटेको ठान्नुहुन्छ । उहाँ पनि यसलाई पुनः परिभाषित गरी परिमार्जन गर्नुपर्ने ठान्नुुहुन्छ र भन्नुहुन्छ, “आमा हुनुको सीमित परिप्रेक्ष्यभन्दा बाहिर मातृत्वको अवधारणालाई पुनः परिभाषित गर्नु महत्त्वपूर्ण छ । मातृत्वले महिलाहरूको समग्र अवस्थाका साथै उनीहरूको जीवनका विभिन्न पक्षहरूमा सशक्तीकरण गर्नुपर्ने कुरालाई समेट्नुपर्दछ ।”
प्रा.डा. विन्दुको विचारमा मातृत्वको वरिपरि अपेक्षाहरू निर्माण गर्न पारिवारिक वातावरण र संस्थागत मानदण्डहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । उहाँ भन्नुहुन्छ, “मातृत्वभन्दा बाहिरका महिलाहरूको व्यक्तिगत आकांक्षा र पहिचानहरूको सम्मान गर्न र उनीहरूको व्यक्तिगत, व्यावसायिक र हेरचाह गर्ने जिम्मेवारीहरू सन्तुलनमा राख्न मद्दत गर्न व्यापक समर्थन प्रणालीहरू प्रदान गर्न आवश्यक छ ।”
बिर्सनै नहुने कुरो के छ भने पितृसत्तात्मक मान्यताहरूद्वारा खडा गरिएका अपेक्षा र सीमाहरू जतिसुकै राम्रा भनिए पनि महिलाका लागि प्रतिबन्धात्मक र हानिकारक हुन सक्छन् । तिनले कुनै न कुनै प्रकारले असमानतालाई निरन्तरता दिन र महिला सशक्तीकरणमा बाधा पुर्याइरहन सक्छन् । यसैले त्यस्ता मान्यताहरूलाई चुनौती दिन गरिने महिला सशक्तीकरणलाई विद्रोहको रूपमा हेरिनु हुँदैन बरु अझ समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने कदमको रूपमा हेरिनुपर्छ भन्ने भावनाको सञ्चार सरोकारवालाहरूबिच हुन थालेको छ । उनीहरूका अनुसार, लैङ्गिक अवरोधहरू तोड्न र लैङ्गिक समानता हासिल गर्न सामाजिक विघटन, साझा जिम्मेवारी प्रवर्द्धन, नीतिगत हस्तक्षेप र शिक्षा, सामाजिक प्रक्रियाहरू र विकास क्षेत्रहरूको सहकार्य महत्त्वपूर्ण हुन आउँछ । जानकारहरू यसबाट निर्धारित लैङ्गिक भूमिकाहरूलाई चुनौती दिएर परम्परागत लैङ्गिक मानदण्डभन्दा बाहिरका व्यक्तिहरूको विविध क्षमता र योगदानहरूलाई मान्यता दिने थप समावेशी र प्रगतिशील समाजको लागि मार्ग प्रशस्त गर्न सकिने ठान्छन् । साथै, मातृत्वको समतामूलक परिभाषा यसैको एउटा महत्त्वपूर्ण अंश हो भन्ने पनि ठान्छन् ।
आमाको दृष्टिकोणबाट मातृत्वलाई पुनः परिभाषित गर्नु भनेको महिलाहरूलाई आमा बन्ने वा नबन्नेसहित आफ्नो जीवनको बारेमा छनौट गर्न सशक्त बनाउनु हो ।
एन्ड्रिया ओ’रेलीले आमाहरूको दृष्टिकोणबाट मातृत्वलाई पुनः परिभाषित गर्नुपर्ने पक्षलाई ‘हाइलाइट’ गर्नुभएको छ । यसको पुनः परिभाषाले पितृसत्तात्मक मान्यताहरूभन्दा बाहिर आमा र मातृत्वका त्यस्ता जटिलताहरूलाई अँगाल्न खोज्छ, जसले ऐतिहासिक रूपमा महिलाहरूलाई विशेष भूमिकाहरूमा सीमित गरेको छ । उहाँका अनुसार, परम्परागत परिभाषाभन्दा बाहिरका आमाहरूलाई अँगालो हाल्नु भनेको उनीहरूको व्यक्तित्व, आकांक्षा र स्वायत्तताको अधिकारलाई स्वीकार गर्नु हो ।
आमाको दृष्टिकोणबाट मातृत्वलाई पुनः परिभाषित गर्नु भनेको महिलाहरूलाई आमा बन्ने वा नबन्नेसहित आफ्नो जीवनको बारेमा छनौट गर्न सशक्त बनाउनु हो । यसको अर्थ मातृत्व नै महिलाको मूल्य वा पहिचानको एक मात्र निर्धारक होइन भन्ने कुरालाई मान्यता दिनु पनि हो । जो कोही आमाहरूलाई तिनीहरूको अद्वितीय गुण र योगदानका लागि मनाइन्छ, चाहे तिनीहरू करिअरको पछि लाग्ने, रचनात्मक कार्यहरूमा संलग्न हुने वा आफ्ना छोराछोरी हुर्काउन आफूलाई समर्पित गर्ने नै किन नहुन् ।
यसैले समाज आमा र मातृत्वको सङ्कुचित र सीमित परिभाषाबाट टाढा जानुपर्छ । अबको परिभाषामा मातृत्वसम्बन्धी अनुभवहरूको विविधतालाई समेट्नुपर्छ र परम्परागत भूमिकाहरूलाई चुनौती दिने आमाहरूलाई समर्थन गर्दै समझदारी प्रकट गर्नुपर्छ । आमाहरूलाई सशक्तीकरण गर्दै तिनीहरूको बहुआयामिक पहिचानलाई सार्थक बनाए मात्र समाजलाई पितृसत्तात्मक बाधाहरूबाट मुक्त गर्न सकिन्छ । यसैबाट महिलाहरूका लागि थप समावेशी र समानतापूर्ण संसार पनि सिर्जना गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा मेदिनी, सन्ध्या, पुकार, सरिता र प्रा.डा. विन्दु जस्ता व्यक्तित्वहरूले साझा गरेको अन्तर्दृष्टिले पनि समकालीन नेपाली समाजमा मातृत्वलाई तत्काल पुनः परिभाषित गर्नुपर्ने आवश्यकतालाई औँल्याउँछ ।
आमा र सन्तानबिचको प्रेम वास्तवमा एक शक्तिशाली र प्राचीन बन्धन हो । तर, यो बन्धनलाई महिलालाई पितृसत्तात्मक मान्यतामा सीमित राख्ने औजारका रूपमा प्रयोग गरिएको छ । अबको छोरी पुस्ताले बेलैमा यो कुरा बुझ्नु जरुरी छ । साथै, मातृत्वलाई आमाहरूको दृष्टिकोणबाट यसरी पुनः परिभाषित गर्नुपर्नेमा उनीहरूले ध्यान दिनुपर्छ, जसमा उनीहरूको व्यक्तित्व र परम्परागत अपेक्षाहरूभन्दा बाहिरको आकांक्षालाई व्यापक रूपमा समेटिन सकोस् ।
नेपालको सन्दर्भमा मेदिनी, सन्ध्या, पुकार, सरिता र प्रा.डा. विन्दु जस्ता व्यक्तित्वहरूले साझा गरेको अन्तर्दृष्टिले पनि समकालीन नेपाली समाजमा मातृत्वलाई तत्काल पुनः परिभाषित गर्नुपर्ने आवश्यकतालाई औँल्याउँछ । मातृत्वलाई अब परम्परागत पितृसत्तात्मक मान्यताहरूमा सीमित राखेर मानव विकासको सिँढी उक्लिन सम्भव छैन ।
मातृत्वको अवधारणाले निर्विवाद रूपमा लैङ्गिक सीमाहरू पार गर्नुपर्दछ । यो एक भावना, विचारधारा र अभ्यास हो, जुन जो कोहीले पनि अँगाल्न सक्छ । हेरचाहमा साझा जिम्मेवारी अत्यावश्यक छ । यसमा सहभागी हुनका लागि पुरुषहरूलाई प्रोत्साहित गर्नुपर्छ । यसो गरेमा पुरुष र महिला दुवैले उनीहरूको परिवारको पालनपोषण र समर्थनमा सक्रिय रूपमा भाग लिन सक्छन् ।
अगाडि बढ्ने हो भने मातृत्व नै महिलाका लागि एक मात्र इष्टतम विकल्प हो भन्ने धारणालाई राज्य, समाज र व्यक्तिहरूले आआफ्नो ठाउँबाट चटक्कै त्याग्नुपर्छ । महिलाहरूलाई आमाको भूमिकामा सीमित नगरी व्यक्तिगत पहिचान र व्यक्तिगत आकांक्षाहरू पछ्याउन सक्ने ठाउँ र अवसरहरू प्रदान गर्नुपर्छ । मातृत्वको महिमा, रोमान्टिकीकरण र बच्चासितको भावनात्मक बन्धनसम्बन्धी भ्रम र कपटपूर्ण कथनलाई पनि विश्लेषकका आँखाले हेरेर त्यसको निहितार्थलाई पनि बुझ्नु आवश्यक छ ।
धेरै संस्कृतिमा आमाहरूको अनुभवलाई समर्थन गर्न र बुझ्न अधिक प्रोत्साहित गर्ने वातावरण निर्माणमा पुरुषहरूको भूमिका महत्त्वपूर्ण हुने सामाजिक अभियन्ता मेदिनीको धारणा छ ।
आमाहरूको जैविक भूमिकालाई समर्थन गर्न र मातृत्वको थप समावेशी समझलाई बढावा दिन नीतिगत हस्तक्षेपहरू नै आवश्यक पर्छन् । राज्यले महिलाहरूलाई आफ्नो व्यक्तिगत, व्यावसायिक र हेरचाह गर्ने जिम्मेवारीहरूलाई प्रभावकारी रूपमा सन्तुलनमा राख्न सक्षम बनाउने प्रावधानहरू सक्षमतापूर्वक लागु गर्नुपर्छ । यी अन्तर्दृष्टिहरू अँगालेर र मातृत्वलाई पुनः परिभाषित गरेर राज्यले व्यक्तिहरूलाई परम्परागत लैङ्गिक मानदण्डहरूबाट अलग हुन, विभेदकारी र अन्यायपूर्ण सामाजिक अपेक्षाहरूलाई चुनौती दिन र आमाहरूलाई अद्वितीय पहिचान, प्रतिभा र आकांक्षाहरू भएका व्यक्तिहरूको रूपमा पहिचान गर्नसक्ने वातावरण सिर्जना गर्न सक्छ । यसमा व्यक्ति र समाजको संलग्नता अपरिहार्य हुन्छ ।
अहिलेको सन्दर्भमा मातृत्वलाई पुनः परिभाषित गर्नु एउटा लहडी आकांक्षा मात्र होइन, यो सबै मानिसको समृद्धिका लागि थप समतामूलक, समावेशी र सहयोगी समाज निर्माण गर्नेतर्फको अपरिहार्य कदम पनि हो । धेरै संस्कृतिमा आमाहरूको अनुभवलाई समर्थन गर्न र बुझ्न अधिक प्रोत्साहित गर्ने वातावरण निर्माणमा पुरुषहरूको भूमिका महत्त्वपूर्ण हुने सामाजिक अभियन्ता मेदिनीको धारणा छ । उहाँले आफू पुरुष भए पनि सन्तानको हेरचाहका निम्ति आमाको भूमिका निर्वाह गर्नुभयो । यस क्रममा क्षमाशील व्यक्तित्वको रूपमा आमाहरूको मातृत्वसँग सम्बन्धित विनाशर्त प्रेम र करुणालाई झल्काउने उहाँको बुझाइ रह्यो ।
विकासशील संस्थामा लामो समयसम्म कार्यरत सन्धयाले छोराछोरी हेर्ने र हुर्काउने काममा पतिबाट भरपुर समर्थन, समझदारी र साझेदारी पाउनुभएको थियो ।
मातृत्वका सन्दर्भमा परम्परागत लैङ्गिक मानदण्डहरूबाट मुक्त भएर अझ बढी सहयोगी, समावेशी र समतामूलक वातावरण सिर्जना गर्न सकिने विचार अधिकारकर्मी तथा सामाजिक अभियन्ता सन्ध्याको छ । विकासशील संस्थामा लामो समयसम्म कार्यरत उहाँले छोराछोरी हेर्ने र हुर्काउने काममा पतिबाट भरपुर समर्थन, समझदारी र साझेदारी पाउनुभएको थियो । उहाँ छोराछोरीलाई श्रीमान्काे हेरचाहमा छोडेर आफू काममा हिँड्दा अहिलेसम्म कहिल्यै पनि कुनै पछुतो नभएको बताउनुहुन्छ । उहाँका अनुसार, यसले पनि आमाबाबुका जिम्मेवारीहरू बाँडफाँट गर्ने र आमाबाबु दुवैले छोराछोरीहरूको पालनपोषण गर्न र मायालु हेरचाह प्रदान गर्न सक्छन् भन्ने पुष्टि गर्छ ।
आधुनिक प्रविधिहरूले वास्तवमा नै मातृत्वको परम्परागत परिभाषालाई चुनौती दिएका छन् भन्ने सन्ध्यालाई लाग्छ । चिकित्सा विज्ञानमा भएको प्रगतिले महिलाहरूलाई विकल्प र समर्थन प्रदान गरेकाले महिलाहरूले पनि मातृत्वका सन्दर्भमा परिवारमा नयाँ चुनौतीहरू ल्याएका छन् । आफ्नो व्यक्तिगत जीवन, करिअर र मातृ जिम्मेवारीहरूबिच सन्तुलन कायम गर्ने प्रयासमा आमाहरूले अक्सर कठिनाइहरूको सामना गर्छन् । यस्तो भए पनि यसलाई समझदारीपूर्वक सन्तुलित र व्यवस्थित गर्दै परिवारका पुरुष सदस्यसँग साझेदारी गरेरै भए पनि अघि बढ्न सकिन्छ भन्ने आत्मविश्वास उहाँमा रहेको पाइन्छ ।
घरभित्रको परिस्थिति सबैको एकनास हुँदैन तर मातृत्वमा आइपर्ने सन्तान हेरचाहको बोझलाई सम्भव भएसम्म काँध सार्ने प्रयासका लागि महिलाहरू पनि तयार हुनुपर्छ ।
सबैमा यस्तो आत्मविश्वास पाउन गाह्रो छ । त्यसमाथि गर्भावस्था र सुत्केरीको समयमा आमाले गर्नैपर्ने त्यागको सीमा हुँदैन । त्यसमाथि उनीहरू अविश्राम अतिरिक्त बोझका लागि पनि पछि हट्दैनन् । बच्चाको लागि आमाको त्याग र अतिरिक्त बोझप्रतिको तत्परताको चर्चा गर्दै सामाजिक अभियन्ता मेदिनी भन्नुहुन्छ, “बच्चा जन्माउँदा आमाहरूले सहने शारीरिक र भावनात्मक पीडा महत्त्वपूर्ण छ र केही आरामको लागि तिनीहरूको चाहना बुझ्न सकिन्छ । यद्यपि, समाजका अपेक्षाहरूले गर्दा प्रायः आमाहरूले आफ्ना बच्चाहरूलाई सर्वोच्च प्राथमिकता दिन अतिरिक्त बोझ बोक्छन्, जसले गर्दा उनीहरूको आत्म–हेरचाहको आवश्यकताको बेवास्ता हुने गरेको छ ।”
घरभित्रको परिस्थिति सबैको एकनास हुँदैन तर मातृत्वमा आइपर्ने सन्तान हेरचाहको बोझलाई सम्भव भएसम्म काँध सार्ने प्रयासका लागि महिलाहरू पनि तयार हुनुपर्छ । विकासशील संस्थामा आबद्ध सरिताले आफ्नो पूर्वपतिको मृत्युपछि कमाउनेको भूमिका निर्वाह गर्नुभयो । यस क्रममा उहाँको बुबाको समर्थन र सहयोगले सन्तान हुर्काउनमा महत्त्वपूर्ण आधारको काम गर्यो । सरिताको भोगाइले आमा र बुबाको भूमिकामा अदलाबदली र महिलापुरुष एक अर्काका पूरक हुन सक्छन् भनेर देखाउँछ । उहाँको अनुभवमा बालबालिका हेरचाहको कार्य परिवारका सदस्यहरूबिच विभाजित र सन्तुलित हुँदा यसले आमाहरूमा ‘सीमित’ राखिएको कामको बोझलाई कम गर्न सक्छ र आमाहरूको व्यक्तिगत तथा व्यावसायिक विकासमा ठुला अवसरहरू उपलब्ध गराउन सक्छ । उहाँ भन्नुहुन्छ, “युवा पुस्तासँग अब मातृत्व र विवाहलगायत विभिन्न मार्गहरूको खोजी गर्ने थप विकल्प र अवसरहरू उपलब्ध छन् । मानसिकतामा परिवर्तन आएको छ । महिलाहरूलाई विवाह र मातृत्व उनीहरूका लागि सही छनोट हो कि होइन भनेर निर्णय गर्ने स्वतन्त्रता हुनुपर्छ, सामाजिक अपेक्षाहरूको दबाबको महसुस गरेर होस् वा नगरेर ।”
समाजले पितृसत्तात्मक मूल्यमान्यताको प्रभावमा महिलाहरूलाई मातृत्वको अतिरिक्त हेरचाहको भूमिका पनि निर्वाह गर्न बाध्य पारेको सरिताको अवलोकन पनि छ । उहाँ भन्नुहुन्छ, “लामो समयदेखि नै महिलाहरूको भूमिका र जिम्मेवारीहरू पितृसत्तात्मक मानदण्डहरूबाट निर्धारण हुँदै आएका छन् । यिनीहरूका एजेन्सी र अवसरहरू सीमित छन् ।” पितृसत्तात्मक मानदण्डहरूलाई चुनौती दिँदै लैङ्गिक समानतालाई बढावा दिन थप समावेशी र सशक्त समाज निर्माण गर्न आवश्यक रहेको उहाँ ठान्नुहुन्छ ।
लैङ्गिक समानतालाई बढावा दिने क्रममा व्यक्तिहरूका लागि सम्भावनाहरूको खोजी र पहिचानका लागि ‘रोल मोडेल’ हरू महत्त्वपूर्ण हुन्छन् । यसबारे सरिता भन्नुहुन्छ, “मातृत्वसहित विविध मार्गहरू पछ्याउने सकारात्मक रोल मोडेलहरू हुन आवश्यक छ ।” मातृत्व महिलाको पहिचानको एउटा प्राकृतिक पक्ष मात्र हो भन्ने कुरामा जोड दिने हो भने पनि महिलाहरूलाई व्यक्तिका रूपमा आफ्नो रुचि, सिप र आकांक्षाका आधारमा आफ्नो ठाउँ खोज्न, रोज्न र आफ्नो व्यक्तित्वलाई परिभाषित गर्न सहज हुन्छ । अबको छोरी पुस्ताले यो कुरा मनन गर्न जरुरी छ ।
युवा नेता पुकार बम पनि ‘आमा’ को भूमिका सामाजिक रूपमा महिलामाथि थोपरिएको भूमिका भएकाले यसलाई बदल्न सकिने विचार राख्नुहुन्छ । उहाँ हेरचाह गर्ने जिम्मेवारी आमाहरूको मात्र हो भन्ने ‘कथित वास्तविकता’ लाई साझा जिम्मेवारीको अवधारणाबाट तोड्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार, अभिभावक र घरपरिवारका जिम्मेवारीहरूमा सक्रिय सहभागी हुन पुरुषहरूलाई प्रोत्साहन गरियो भने आमाहरूका लागि थप न्यायोचित र सहयोगी वातावरण मिल्छ । यसका लागि उहाँ नीतिगत हस्तक्षेप र सामाजिक मनोवृत्ति र मानदण्डहरूमा परिवर्तन आवश्यक रहेको पनि ठान्नुहुन्छ ।
सामाजिक विघटन नै लैङ्गिक समानता प्रवर्द्धन गर्ने र परम्परागत लैङ्गिक भूमिकाहरू हटाउने महत्त्वपूर्ण पक्ष हो । यसले चुनौतीपूर्ण सामाजिक मान्यता र अपेक्षाहरूलाई समावेश गरी लैङ्गिक आधारमा विशिष्ट भूमिका र जिम्मेवारीहरू तोक्ने गर्दछ । यस सन्दर्भमा मातृत्वलाई लिङ्ग विशेषको परिभाषामा सीमित गरिनु हुँदैन । बच्चाहरूको हेरचाह र पालनपोषणको भूमिका कुनै पनि लिङ्गको व्यक्तिले समान रूपमा पूरा गर्न सक्छ ।
मातृत्व र यस वरिपरिको हेरचाहको भूमिकालाई महिलाको एकल काँधबाट पुरुषतिर पनि सार्नका लागि सर्वाधिक उपयुक्त विकल्प नै समझदार साझेदारी हुन आउँछ ।
त्यसैले हेरचाह र अभिभावकत्वमा बढी सक्रिय भूमिका निर्वाह गर्न पुरुषहरूलाई प्रोत्साहन दिनुपर्ने कुरा धेरैतिरबाट उठ्ने गरेको छ । यसो गर्दा बालबच्चाको हेरचाह गर्ने काम महिलाहरूको मात्रै जिम्मेवारी हो भन्ने स्टेरियोटाइपलाई तोड्न मद्दत पुग्छ । हेरचाह गर्ने काममा समान दृष्टिकोणले स्थान पायो भने अभिभावकत्व थप सन्तुलित हुनसक्छ । बच्चाको विकासका लागि महत्त्वपूर्ण मानिने पालनपोषण र सहयोगी वातावरण उनीहरूलाई हेरचाह गर्ने कुनै पनि व्यक्तिले प्रदान गर्न सक्छ । यस्तो हेरचाह गर्नें व्यक्ति आमा, बुबा, नातेदार र अन्य कोही पनि हुनसक्छ । नेपाली समाजमा कतिपय घर र परिवारभित्र हेर्ने हो भने मातृत्वकै एउटा भूमिका मानिएको बालबच्चाको हेरचाहका लागि आदर्श रोल मोडेल मान्न सकिने समझदार र साझेदार पुरुषहरू भेटिन्छन् । उनीहरू जस्ताकै कारण परिवर्तन सहज र सम्भव हुने हो ।
सर्वाधिक उपयुक्त बाटो
मातृत्व र यस वरिपरिको हेरचाहको भूमिकालाई महिलाको एकल काँधबाट पुरुषतिर पनि सार्नका लागि सर्वाधिक उपयुक्त विकल्प नै समझदार साझेदारी हुन आउँछ । यसका लागि सम्बद्ध व्यक्ति, परिवार, समाज र राज्यसम्मले समझदारी बढाएर साझेदारीका लागि आआफ्ना तहबाट खुलेरै हातेमालो गर्न आवश्यक छ । सर्वप्रथम त बाबुआमामध्ये कुनै पनि व्यक्तिले आआफ्नो परिवार तहमा हेरचाहलाई दुवैले गर्ने गरी जिम्मेवारी बाँडफाँट गर्न तयार हुनुपर्छ । यसका लागि अहिलेको छोरी पुस्ताले आआफ्नो व्यक्तित्वका सबल पाटाहरूलाई निखार्दै आत्मनिर्भर बनिसकेपछि मात्र मातृत्व र सन्तानका विषयमा ध्यान दिऊन् । यसका लागि समतावादी दृष्टिकोण लिएर समझदार व्यवहार गर्नसक्ने व्यक्तिलाई मात्र जीवनमा साझेदार बनाएर मातृत्व यात्रामा अघि बढ्ने व्यावहारिक रणनीति लिन सक्नुपर्छ ।
आमाहरूमाथि पर्ने बोझलाई सम्बोधन गर्न नीतिगत हस्तक्षेप, सहयोग वृद्धि र साझा जिम्मेवारी अत्यावश्यक सर्त हुन् । यसका लागि सामाजिक संस्थाहरूको पनि साथ चाहिन्छ । तिनले घरबाहिर काम गर्ने आमाहरूको व्यक्तित्व र योगदानलाई मान्यता दिने, कदर गर्ने परिपाटी बसाल्दै समतामूलक समावेशी समाज निर्माणका लागि मातृत्व र हेरचाहका मुद्दामा सहकार्य गर्दै राज्य संस्थालाई घचघच्याउन सक्छन् । शैक्षिक क्षेत्र, सामाजिक प्रक्रियाहरू र विकास पहलहरू जस्ता सामाजिक संस्थाको समन्वयात्मक सहकार्यले मातृत्वका भ्रमलगायत लैङ्गिक असमानतालाई हटाउन व्यापक दृष्टिकोण सिर्जना गर्न सक्छ । यी क्षेत्रका संस्थाहरूले बहुपक्षीय रणनीति बनाएर विद्यमान मानदण्डहरू र अवरोधहरूलाई बहुकोणबाट चुनौती दिन सक्छन् ।
लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने, अभिभावकहरूलाई सहयोग गर्ने र परम्परागत लैङ्गिक मान्यताहरूलाई चुनौती दिने नीतिहरू लागु गरेर परिवार, समाज र राज्यलाई नै थप समावेशी र समृद्ध बनाउन सकिन्छ ।
राज्य संस्था सबैको अभिभावक संस्था हो । यसले आमाहरूको दोहरो–तेहरो भूमिकाको बोझलाई हल्का बनाउने नीतिगत व्यवस्था गर्दै हात फुकाएर लगानी पनि गर्नुपर्छ । भविष्यका आमाहरूको कामकाजी व्यक्तित्वलाई बेलैमा सक्षम बनाउने वातावरण सिर्जना गर्नुपर्छ । कामकाजी आमाहरूलाई समर्थन गर्ने समतामूलक र समावेशी नीतिहरू ल्याउनुपर्छ । जानकारहरूका अनुसार, यसमा किफायती बाल हेरचाह सुविधाहरू, लचिलो कामको व्यवस्था, तीन महिनाभन्दा बढी मातृ (सुत्केरी) बिदा, अभिभावकीय बिदालगायतका प्रावधानहरू महत्त्वपूर्ण हुन्छन् । यस्ता नीतिहरूको प्रभावकारी कार्यान्वयन भएमा आमाहरूको जीवनसँगै समग्र समाज र राज्यको उत्थानमा लोभलाग्दो परिवर्तन आउन सक्छ ।
निःसन्देह राज्य संस्थाले नै साझेदारहरूबिच हेरचाह गर्ने कार्यहरूको समान वितरणलाई प्रवर्द्धन गर्नुपर्छ । यसका लागि लैङ्गिक भूमिका र हेरचाह गर्ने वरपरका सामाजिक मान्यताहरू र विश्वासहरूलाई भत्काएर, रोल मोडेलहरू बनाएर, पुनः मूल्याङ्कनका साथ मातृत्वका भूमिकाहरूको नवनिर्माण जरुरी हुन्छ । कामकाजी महिलाहरूमा हेरचाह गर्ने जिम्मेवारीहरूको बोझ कम गर्नका लागि आमाहरूलाई सहयोग गर्न जरुरी छ ।
यस क्रममा आमाहरूको भूमिकाको बहुआयामिक प्रकृतिलाई स्वीकार पनि गर्नुपर्छ । यसको लागि मूल जिम्मेवारी राज्यले नै लिनुुपर्ने हुन्छ । राज्यका नीति र कार्यक्रमहरूको प्रभाव समाज र परिवार संस्थामा पर्छ । यसले आमाहरूको काँधमा रहेको हेरचाहको कामलाई बाबुलगायत परिवारका पुरुषसितको साझेदारीमा ढाल्न मद्दत गर्दछ । लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने, अभिभावकहरूलाई सहयोग गर्ने र परम्परागत लैङ्गिक मान्यताहरूलाई चुनौती दिने नीतिहरू लागु गरेर परिवार, समाज र राज्यलाई नै थप समावेशी र समृद्ध बनाउन सकिन्छ ।
मातृत्वलाई पुनः परिभाषित गर्दै लैङ्गिक समानतालाई बढावा दिने हो भने आमाहरूका विविध अनुभव र योगदानहरूको मूल्याङ्कन गर्ने समाजको निर्माण र उत्थान सम्भव हुन्छ । मातृत्वका सन्दर्भमा सन्तान नजन्माउने व्यक्तिहरू पनि महत्त्वपूर्ण हुन्छन् । सन्तानमुक्त अवधारणालाई पनि समाजले सहजतासाथ स्वीकार गर्ने नीति र व्यवहारलाई बढावा दिनुपर्छ । यसका लागि सन्तानमुक्त भएर बाँच्न चाहनेहरूको भावनाको कदर गर्ने, उनीहरूको आत्मसम्मानमा आँच आउने कथन र अन्यायपूर्ण व्यवहारलाई निरुत्साहित गर्ने परिपाटी बसाउन सकिन्छ ।
कतिपय महिलाको मातृत्व यात्राले उनीहरूको रोजाइ र अवसरहरूलाई सीमित गर्ने गरेको छ । यसैले अबको छोरी पुस्ता परम्परागत लैङ्गिक भूमिका र पितृसत्तात्मक प्रभावबाट मुक्त हुनैपर्छ । यसलाई राज्यका नीति र कार्यक्रमहरूले पनि साथ दिनुपर्छ । पुरुषको वर्चस्व रहेको समाजमा बालबालिकाको हेरचाह र लालनपालनका लागि पितृत्व पनि मातृत्व जत्तिकै सक्षम हुन सक्छ । यस्तो मान्यतालाई स्विकारेर लैङ्गिक समानताको प्रवर्द्धन गर्दै निर्णय प्रक्रियामा महिला सहभागिता बढाउन पनि त्यत्तिकै आवश्यक छ । सहभागिता र साझेदारी नै समतामूलक समाजतर्फको महत्त्वपूर्ण कदम पनि हो ।
जानकारहरूका अनुसार, परम्परागत रूढीहरूभन्दा बाहिर विभिन्न भूमिकामा रहेका आमाहरूलाई समर्थन गर्दै उनीहरूको योगदानलाई मूल्यवान् बनाउने हो भने मुलुकमा थप समावेशी र दयालु समाज सिर्जना गर्न सकिन्छ । यसका लागि छोराछोरी हुर्काउने र परिवारलाई असर पार्ने निर्णयहरू गर्दा आमा र बुबा दुवैलाई समान अवसर र जिम्मेवारीहरू हुनुपर्ने अवधारणाको अवलम्बन राज्यले गर्नु र गराउनुपर्ने हुन्छ । राज्यलाई आधारभूत गति दिने काम व्यक्तिहरूले नै गर्ने हो ।
अहिलेका छोरी पुस्ता ती व्यक्तिका प्रतिनिधि पनि हुन् । तिनले आफ्नो मातृत्व यात्रालाई आआफ्नै रोजाइमा समतामूलक सोच र व्यवहारका साथ अघि बढाउन खोजे भने रोक्नेहरू अवश्य पाखा पर्नेछन् । महिलाको रोजाइ र अनुकूलतामा आधारित मातृत्वको सोच र व्यवहारले घरघरमा स्थान पाउँदै जाने वातावरण अपरिहार्य छ । मातृत्वका सन्दर्भमा विभेदित अनुभव गरेका तर समतावादी समझ भएका विश्वका धेरै मानिसको चाहनाको सार हो यो । यसैले व्यक्तित्व विकासमा चाहेको पुगोस्, मातृत्व यात्रामा समझदार साझेदारीको बाटो खुलोस् ।
‘बलियो साझेदारी र समझदारीको खोजीमा छ मातृत्व’ शीर्षकको यो अनुसन्धानमूलक स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२३’ कार्यक्रम अन्तर्गत विवेका थापाले तयार गर्नुभएको हो ।
“सन्धान फेलोसिप २०२३” अन्तर्गतका थप स्टाेरीहरू
- जो बलात्कृत उही विस्थापित : न त न्याय न क्षतिपूर्ति
- झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान
- नेपालमा अटिजमको अवस्था र असर
- वादी महिलाको पहिचान र अधिकार आन्दोलन
- नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : पहिचानको आन्दोलन
- कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
- तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान
- समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू
- कर्णाली विशेष : टाढिँदै छ बालिका बलात्कारमा न्यायको पहुँच
सन्धान, प्रकाशन मिति : २०८० भदाैं २२ गते, शुक्रबार