Home Stories एचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा

एचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा

461
0

सन्दर्भ : विश्व एड्स दिवस (डिसेम्बर १)

वि.सं. २०५३ साउनको पहिलो साता । कतिबेला पानी पर्छ, घाम लाग्छ वा बादल, ठेगान छैन मौसमको । पहाडका घर ! छाना जतिसुकै बाक्लो र बलियो भनिए पनि बर्षातमा पानी कतै न कतैबाट चुहिहाल्ने । आकाशमा बादल धुम्म हुनासाथ कहाँनेर चुहिन्छ, थाप्ने भाँडोको जोहो गर्नैपर्ने । त्यसमा पनि त्यतिबेलाको सुदूरपश्चिमको पहाडी क्षेत्र जहाँ बर्षातका चार महिना धौधौ काट्थे मान्छेहरू । हो, साउनको त्यही मौसमी झरी जस्तै मथुराका आँखाबाट पनि आँसुका भेल नै बग्थे ।

अनि त्यतिबेला यत्रतत्र सर्वत्र भेटिने दिसापिसाबको दुर्गन्धभन्दा कम दुर्गन्धित त कहाँ थियो र समाजको सोच ! जिल्लामै सबैभन्दा बढी बुझ्ने मानिस भएको ठाउँ भनेर चिनिने अछामको बयलपाटा (तत्कालीन चण्डिका गाविस) की मथुरा कुँवरको सिउँदो उजाडिएको समय थियो त्यो । जीवनको उर्वर समय, लाउँलाउँ खाउँखाउँ भन्ने बेला श्रीमान्को मृत्यु, अनि आफन्तबाट उहाँले पाएको छिः छि र दुरदुरको कहानी ! जति लेखे पनि कम हुन्छ ।

एचआइभी अर्थात् ‘नौलो रोग’ । तत्कालीन समयमा सरकारले पनि एचआइभी सङ्क्रमणलाई प्राणघातक रोगमा सूचीकृत गरेको थियो । रोग लाग्यो कि मान्छे खत्तम ! मर्नुको विकल्पै थिएन । प्रकृतिको खेल हो या नियति, त्यही बेला मथुराका श्रीमान् डम्मर कुँवरको एचआइभीले ज्यान लियो । मथुरा पनि सङ्क्रमित हुनुभयो । दम्पती नै एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि अछामीले मथुरालाई अलच्छिनी, टोकरी, के मात्रै भनेनन् । उहाँका चार जना लालाबालाले खेपेको हेलाहोचो त कति हो कति ! कुरा गर्दागर्दै मथुराको गला अवरुद्ध हुन्छ । आँखा भरिन्छन् । दुई दशक अघिका ती नमिठा क्षणहरू सम्झिँदै भन्नुहुन्छ, “धारामा पानी लिन जाँदा मलाई कसैले छुने त परैको कुरा हो, धारासमेत चोख्याउँथे । कस्तीका मुख डिठ पण्यो (कस्तीको अनुहारमा नजर गयो) भन्थे । अहिले नै मरौँ जस्तो लाग्थ्यो कतिबेला त ।”

जन्मँदै अभाव र गरिबीसँग लड्नुभयो मथुराले । उहाँसँग हार भन्ने शब्द नै थिएन । त्यसैले उहाँले जीवनसँग पनि हार मान्नुभएन । बरु श्रीमानकाे जीवन खाएको रोगले नै उहाँसँग हार मान्न पर्यो, अहिलेसम्म हार मानिरहेको छ । मथुरा भन्नुहुन्छ, “ममा नै मर्ने सोच आयो र यदि म पनि मरेँ भनेँ त छोराछोरीलाई ज्यूँदै मार्छ समाजले । सायद सामूहिक चिहान बनाउँछ मेरा छोराछोरीको । अहँ म मर्नु हुन्न । जति दिन बाँच्छु, छोराछोरीको ढाल भएर भएर बाँच्छु भन्ने सङ्कल्प गरेँ ।” मथुरा गर्वका साथ थप्नुहुन्छ, “त्यतिबेला मैले मन कमजोर बनाएको भए मेरो पनि ज्यान जान्थ्यो नानी १ हेर्नुस् त आज कति खुसी छु रु कमसेकम छोराछोरीको छहारी त बन्नसकेकी छु ।”

वि.सं. २०१६ चैत ९ गते अछामको भागेश्वर गाविस (हाल साँफेबगर नगरपालिका) वडा नम्बर १, कालाआममा जन्मिनुभयो उहाँ । बज्जिरसिंह रावल र कोइली रावलकी जेठी छोरी मथुरा आर्थिक रूपमा विपन्न आमाबाबुकी जेठी सन्तान । बाल्यकाल पनि अभावमै बित्यो । छोराछोरीको पेट पाल्न बज्जिरसिंह घर बनाउने मिस्त्रीको काम गर्नुहुन्थ्यो । आमा घरधन्दा र खेतबारी सम्हाल्नु हुन्थ्यो । दुई भाइ र दुई बहिनीको हेरचाहको जिम्मा मथुराको पनि थियो । त्यसैले उहाँले लेखपढ गर्न पाउनुभएन ।

महिनावारी नहुँदै छोरीको कन्यादान गरिदिए धर्म हुन्छ भन्ने विश्वास थियो त्यो बेला । त्यही विश्वासका कारण ११ वर्षको उमेरमै आमाबाबुले छिमेकी गाउँका डम्मर कुँवरसँग उहाँको विवाह गरिदिए । बिहे हुँदा डम्बर १४ वर्षको हुनुहुन्थ्यो । वैवाहिक सम्बन्धबारे डम्मर र मथुरा दुवै अनभिज्ञ थिए । श्रीमान्–श्रीमतीको सम्बन्ध के हो, थाहा थिएन । आत्मीयता हुने त कुरै भएन । अनि जहाँ भेट्यो त्यहीँ झगडा सुरु भइहाल्थ्यो । सकेसम्म एकअर्कालाई गिराएर कुरा गर्थे र एक अर्काको बारेमा अभिभावकलाई कुरा लाउँथे ।

बिहेको चार वर्ष बित्यो । मथुरा र डम्मर सँगै नसुत्ने । गाउँमा डम्मरलाई केही पुरुषले जिस्क्याउन र उकास्न थालेछन् । अनि बल्लतल्ल उहाँहरूको एउटै ओछ्यान भयो । दुईपटक मात्रै महिनावारी भएकी मथुराको गर्भ रह्यो । २०३४ चैतमा १६ वर्ष पुग्दै हुनुहुन्थ्यो, माघमा जेठो छोराको जन्म भयो । लगातार दुई छोरा जन्मिएपछि छोरी जन्मिइन् । चौथोमा छोरा जन्मिए ।

हाँसिखुसी नै चलिरहेको थियो उहाँहरूको जीवन । बयलपाटामा स्कुल थियो । डम्मरले एसएलसी पास गर्नुभयो । कलेज पढ्न जिल्लामा कलेज थिएन । उहाँ पढाइका लागि छिमेकी जिल्ला डोटी पुग्नुभयो । घरव्यवहारले गर्दा पढाइ पूरा गर्न सक्नु भएन । फी तिर्न नसक्ने भएपछि उहाँले एक वर्षपछि नै पढाइ छोड्नुपर्यो ।

पढाइ त छाडियो तर डम्मरले जागिर पाउनुभएन । त्यतिबेला कामका लागि भारत जाने चलन थियो । २०३५ सालमा डम्मरले पनि मजदुरीका लागि भारत जाने निर्णय गर्नुभयो, जानुभयो । उतै काम गर्न थाल्नुभयो । उहाँको कमाइले घर खर्च, छोराछोरीको पढाइ, लुगाफाटोको जोहो चलेकै थियो । उहाँ कहिलेकसो घर आउनुहुन्थ्यो । कहिले उहाँलाई भेट्न मथुरा नै भारत जानुहुन्थ्यो ।

वि.सं. २०५२ मा डम्मर बिरामी पर्नुभयो । उपचार गर्दागर्दै सञ्चो नभएपछि उहाँले मथुरालाई खबर पठाउनुभयो, “मेरो मुख हेर्न मन छ भने यतै आइजा । म बाँच्दिन होला ।” श्रीमानकाे कुराले मथुरालाई ठुलो झट्का लाग्यो । केही सोच्न सक्नुभएन । मङ्सिरमा साढे दुई वर्ष पुगेको कान्छो छोरालाई साथमा बोकेर उहाँ भारत जानुभयो । श्रीमान्को शारीरिक अवस्था देखेर सुरुमा त हरेस खानुभयो । तर, श्रीमानलाई जसरी पनि बचाउँछु भन्दै उहाँले भारतको माहिममा राम्रा भनिएका कुनै अस्पताल बाँकी राख्नुभएन । तीन महिनाको अवधिमा भारु तीन लाख खर्च गर्नुभयो । तर, निको हुनु त परको कुरा, रोगै पत्ता लागेन ।

जाँच गर्ने क्रममा माहिमको हिन्दुजा अस्पतालमा फागुनको पहिलो सातातिर रोग पत्ता लाग्यो । अस्पतालले भन्यो, “यो रोग निको हुन्न । औषधि पनि छैन । बढी बाँचे एक महिना बाँच्ला । बरु उपचार गरेर पैसा सक्नुभन्दा घर लैजाउ ।” डम्मरलाई लागेको रोग सरुवा भएकाले अस्पतालले नै मथुरालाई पनि जाँच गर्न पठायो । नौलो रोग र त्यो रोग लागेका व्यक्तिलाई गाउँमा गरिने अपमान सम्झेर मथुरा भक्कानिन थाल्नुभयो । “श्रीमानकाे रिपोर्टले मर्नु न बाँच्नु भइसकेँ । फेरि आफूमा पनि सङ्क्रमण भइसकेको थाहा पाएपछि के भयो होला !” उहाँ त्यो क्षण सम्झिनुहुन्छ । काखको छोरा र ओछ्यानमै थलिएका श्रीमानकाे चित्त बुझाउने उहाँबाहेक कोही थिएन परदेशमा । डम्मरले ‘म घर जान्नँ । यहीँ मर्छु । तँ छोरालाई लिएर घर जा’ भन्न थाल्नुभयो । मथुराले जे भए पनि घरमै होला । जे गर्नुपर्छ, म गर्छु । तपाईंलाई परदेशमा मर्न दिन्नँ । म छँदासम्म तपाईंलाई कसैले केही भन्न र गर्न दिन्नँ भन्दै ढाडस दिनुभयो ।

फकाइफुल्याई गरेर अशक्त श्रीमान्लाई बोकेर मथुरा भारतबाट फर्कनुभयो । २०५३ जेठ ३ गते घर पुग्नुभयो । घर पुग्दा छोराको रोगबारे थाहा पाएपछि हरेस खाएका बाबु गिरी कुँवरको मृत्यु भएको नौ दिन पुगिसकेको थियो । असार ३२ गते डम्मरले पनि प्राण त्याग्नुभयो ।

त्यतिबेलासम्म एचआइभीका कारण अछाममा अरू दुईचार जोडीको पनि मृत्यु भइसकेको थियो । एचआइभीको औषधि नै थिएन । डम्मरको मृत्यु भएको चार वर्षपछि मात्रै अछाममा एचआइभी सङ्क्रमितले औषधि खान पाए । त्यो रोगले ज्यान गुमाएका मान्छेलाई कसैले छुँदैनथे । गाउँघरमा फलानाको मृत्यु भयो भनेर भनिँदैनथ्यो । गाउँमा एउटा कुकुर मर्याे । बिरालो मर्यो । स्याल मर्यो भन्दै अपमान गरेर मान्छेको मृत्युलाई कुकुर, बिरालो र अरू जनावरको मृत्युसँग जोडिन्थ्यो । आफ्नो श्रीमानलाई पनि त्यसै भन्छन् भन्ने पिरले रोग पत्ता लागेदेखि नै मथुरा चिन्तित हुनुहुन्थ्यो । त्यसैले कसैले नछोए छोराछोरीको सहारामा दाहसंस्कार गर्छु भनेर उहाँले मनमनै हिम्मत जुटाउनुभएको थियो । तर, मनमा डर भए पनि डम्मरको लास छुन आफन्तले आनाकानी गरेनन् । हातमा प्लास्टिक बाँधेर लास छोए, दाहसंस्कार गरे ।

विधवा भएपछि १४ अञ्चल, ७५ जिल्लामा सबैभन्दा दुःखी मै हुँ भन्ने लाग्यो मथुरालाई । नौलो रोगका कारण श्रीमान् गुमाएपछि गाउँमा उहाँले पनि ‘नौलो रोगवाली’ को उपमा पाउनुभयो । गाउँमा विवाह, भोज वा अरू कुनै काम हुँदा उहाँ र उहाँका छोराछोरीलाई बोलाउन छाडियो । स्कुले छोराछोरीले शिक्षक र साथीहरूबाटै विभेद भोगे । सबैले एचआइभीवाला भनेर हेपे । गाउँलेहरूले आफ्ना छोराछोरीलाई तिनीहरूसँग नखेल्नू भने । ‘उता जाऊ’ भने । विद्यालयमा छोराछोरीको बेन्च नै अलग भएको थाहा पाएपछि उहाँले विद्यालयमै पुगेर आफ्ना छोराछोरीलाई कसैले औँला उठाए नछोड्ने धम्की दिनुभयो । त्यसपछि भने विद्यालयमा कसैले खुलेर अपमान गरेनन् ।

कान्छो छोरा तीन वर्षको छँदा एकपटक घरकै पछाडितिर लडेर टाउकोमा ठुलो चोट लाग्यो । कान्छो पनि सङ्क्रमित हुन् कि भन्ने सबैलाई शङ्का रहेछ । माइलो छोराले समेत लडेको भाइलाई उठाएन । भाइ सङ्क्रमित भए आफूलाई पनि सर्छ कि भन्ने डर लागेको रहेछ । लडेको बालक रोइरहँदा पनि कसैले उठाइदिएनन् । मथुराले थाहा पाउनुभयो, गएर उठाउनुभयो र घाउ च्यापिदिनुभयो ।

बाबुको मृत्युपछि आफ्नै भनिनेबाट समेत मथुराका छोराछोरीलाई रुखोे व्यवहार भयो । सामान्य कुटपिट र विभेदको त लेखाजोखा नै भएन । तेस्रो सन्तान छोरीलाई पनि रोग छ भन्ने शङ्का रहेछ । छोरी करिब १३ वर्षकी हुँदा भाइलाई लिएर आमालाई केही नभनी सुटुक्क सदरमुकाम मङ्गलसेनमा रगत चेक गराउन गइन् । एचआइभी नेगेटिभ देखियो । रिपोर्ट थाहा पाएपछि दिदीभाइ त नाचे रे ! घर आएर हाँस्दै, खुसी हुँदै ‘आमा हाम्ले रगत जाँच्यौँ । हामी दुवै जनामा एचआइभी छैन’ भने । निकै भावुक हुँदै मथुराले सुनाउनुहुन्छ, “छोरी र कान्छो छोरा पनि पोजेटिभ हुन् की भन्ने डर थियो । दुःखको पोखरीमा डुबेकी मलाई त्योभन्दा खुसीको खबर के भो होला र रु आँखाबाट आँसु झर्न थाले । दुवैलाई अँगालो हालेँ । अहिले त २६ वर्ष भइसक्यो कान्छो पनि ।”

कुनै चमत्कार भइदिन्छ कि ! श्रीमान्लाई निको पो हुन्छ कि ! भन्दै मथुराले भारतमा कहाँकहाँ धाउनु भएन ? साइबाबाको पुट्टपर्तीसम्म पुग्नुभयो । त्यही पुट्टपर्तीमै हो साढे दुई वर्षका कान्छा छोराले साइबाबाको मूर्तिमा माला चढाउँदै ‘मलाई केही चाहिएन साइबाबा । मेरो बुबा बचाइदिनु । मलाई लाउन खान केही नदिनुु’ भनेको । अबोध बालकको त्यो प्रार्थना सुनेर मथुरा मर्माहित हुनुभएको थियो । बरबरी झर्न थालेका आँसु पुछेर लाइनबाट बाहिर निस्कनुभएको थियो । त्यो घटना सम्झँदै उहाँ भन्नुहुन्छ, “राम्ररी बोली नफुटेका बालकमा कसरी आयो होला त्यो अक्कल ?”

मथुराले माइलो छोराका लागि डोटीमा बुहारी माग्नुभयो । कसैले यो त एचआइभी सङ्क्रमितको छोरा हो भन्दिएछ । अनि केटी पक्षले केटाको रगतको रिपोर्ट देखाउनुपर्छ, नत्र विवाह हुन्न भन्यो । मथुराले आफूबाहेक कुनै पनि छोराछोरीमा सङ्क्रमण छैन भन्दा विश्वास गरिएन । अनि उहाँले खबर पठाउनुभयो– ‘त्यसो भए डोटीबाट तपाईंकी छोरीको रगतको रिपोर्ट पठाइदिनु, अछामबाट मेरो छोराको पठाउँछु ।’ त्यसपछि केटी पक्षले नाइँनास्ति गरेन, बिहे भयो । अहिले राम्रै छ ।

श्रीमानकाे मृत्यु हुँदा मथुरा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट वडा सदस्य (जनप्रतिनिधि) हुनुहुन्थ्यो । गाउँमा अरूभन्दा जान्ने बुझ्ने । देवर टंक कुँवर चण्डिका गाविस अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का नेता पनि । त्यसैले पनि मथुराले अरू एचआइभी सङ्क्रमितले जस्तो सामूहिक आक्रमण भने भोग्नुपरेन ।

श्रीमान् सङ्क्रमित भएर घर फर्केपछि गंगोत्री नामक संस्थाका प्रतिनिधि घरमा आइराख्थे । उनी एचआइभीबारे जनचेतनामूलक तालिम दिन्थे । एकपटक नौ वडाका ५३ जना निर्वाचित प्रतिनिधिलाई तालिम दिइयो । जनप्रतिनिधिको हैसियतले मथुरालाई पनि त्यो तालिम लिने अवसर मिल्यो । उहाँले एचआइभीबारे थप बुझ्नुभयो । अनि आफू जस्ता सङ्क्रमित र सहाराविहीनका लागि काम गर्छु भन्ने अठोट गर्नुभयो । त्यही संस्थामा उहाँले १५ वर्ष स्वयंसेवकको रूपमा काम गर्नुभयो । लुकेर बसेकाहरूलाई बाहिर आउन र खुलेर एचआइभीविरुद्ध डट्न हौसला बाँड्नुभयो ।

जनप्रतिनिधि मथुरा

दाजु (जेठो बाबुका छोरा) भीम रावलको प्रभावले मथुरालाई पहिलेदेखि नै एमाले मन पर्थ्याे । त्यही कारण २०४७ सालमै उहाँले पार्टीको सङ्गठित सदस्यता लिनुभएको थियो । उहाँ कति हक्की र निडर स्वभावको हुनुहुन्थ्यो, त्यसको पुष्टि एउटा घटनाबाट हुन्छ । २०५६ सालको संसदीय निर्वाचनमा अछाम क्षेत्र नम्बर १ मा कांग्रेसका गोविन्द शाह र एमालेका भीम रावलबिच प्रतिस्पर्धा भयो । गोविन्द शाहको जित भयो । कांग्रेस कार्यकर्ताहरू बयलपाटा लिनुपर्छ भन्दै भरुवा बन्दुक बोकेर नारा जुलुससहित भीम रावलको गाउँ नजिकै बयलपाटा पुगे । पराजयको पीडामा रहेका एमाले कार्यकर्ताका पनि हातहातमा लठ्ठी थिए । माझको पिपलबोटनेर दुवै पार्टीका कार्यकर्ताको आमनासामना भयो । सम्भावित दुर्घटना रोक्न मथुरा अघि सर्नुभयो । जुलुसको बिचमा उभिएर दुवै हात फैलाउनुभयो र भन्नुभयो, “को हो गोली हान्न सक्ने बहादुर, आइज । तातो गोली खान्छु । पार्टीको लागि शहीद म हुन्छु ।” उहाँको जोस, निडरता र पार्टीप्रतिको मायाको जिल्लाभर तारिफ भयो । त्यतिबेलासम्म नागरिकताविहीन मथुराको नागरिकताको प्रमाणपत्र पार्टीकै पहलमा बनाइयो तर उमेरचाहिँ सोधिएन छ । त्यसैले नागरिकतामा उहाँको उमेर वास्तविक उमेरभन्दा ८ वर्ष बढी छ ।

चालिस वर्ष नपुग्दासम्म उहाँले तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल र त्यसपछि अखिल नेपाल महिला संघमा बसेर काम गर्नुभयो । “पार्टीको कार्यक्रममा अछामका प्रत्येक मञ्चमा भाषण गर्ने र बाहिरबाट जाने नेतालाई माला लगाइदिने महिला म नै हुन्थेँ,” उहाँ सुनाउनुहुन्छ ।

एचआइभी सङ्क्रमितलाई आफन्तले नै सुटुक्क मर्ने सल्लाह दिन्थे त्यो बेला । तर, मथुराले आफू मात्रै बाँच्नुभएन, लड्नुभएन, आफू जस्ता हजारौँका लागि हिम्मत बन्नुभयो र एचआइभीसँग हार नखान भन्दै पूर्ण जीवन जिउन हौसला दिनुभयो । एचआइभीविरुद्धकी फाइटर उहाँ रोग लागेपछि मृत्यु नजिक देखिहाल्नेका लागि प्रेरणा हुनुहुन्छ ।

अदम्य साहस, कामप्रतिको लगाव, इमान्दारी र परिवर्तन चाहने इच्छाशक्तिको कदर गर्दै उहाँलाई ५० भन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाले पुरस्कार प्रदान तथा सम्मान गरिसकेका छन् । एचआइभी सङ्क्रमितबिच निकै प्रिय उहाँले दुई कार्यकाल एचआइभी सङ्क्रमितहरूको राष्ट्रिय महासंघको नेतृत्व गर्नुभयो । अब भने उहाँ फेरि जिल्लामा फर्कने सोचमा हुनुहुन्छ ।

मथुराको जेठो छोरा हुनुहुन्न । २०७४ सालमा हृदयाघातका कारण जेठो छोराको मृत्यु भएपछि उहाँले जीवनमा फेरि एकपटक ठगिएको महसुस गर्नुभयो । एचआइभी सङ्क्रमितको छोरा भन्दै अपमान सहेको कान्छो छोरा अहिले इन्जिनियर छ । उहाँ अछाममै कार्यरत हुनुहुन्छ । हिजो जुन समाजले छिः छिः र दुरदुर गर्यो, त्यही समाजमा डटेर परिवर्तनका लागि काम गरिरहनु भएको छ र अझै धेरै काम गर्ने धोको छ मथुराको ।

नोट : यो लेख मोतीदेवी स्मृति केन्द्रद्वारा २०७६ सालमा प्रकाशित ‘प्रेरणादायी महिलाहरू’ शीर्षक पुस्तकबाट साभार गरिएको हो । लोग्शरी कुँवर लिखित ‘एचआइभीविरुद्वकी फाइटर–मथुरा’ शीर्षकको यो लेख प्रकाशनका लागि अनुमति दिएकोमा प्रकाशकलाई हार्दिक धन्यवाद । साभार क्रममा लेखमा सामान्य सम्पादन गरिएको छ ।

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ मंसिर १५ गते, बिहीवार