– स्वर्णिमा श्रेष्ठ
नेपाल अनेकौँ जाति, भाषा, संस्कृति, धर्म र भौगोलिक विशेषताहरूले बनेको बहुविविधतायुक्त देश हो । बहुविविधताले नेपाली समाजलाई सौन्दर्य, पहिचान र समृद्धि दिएको छ तर यिनै विविधताका बिचमा असमानता, विभेद र असन्तुलित शक्तिसम्बन्धले पनि गहिरोसँग जरा गाडेको छ । जरा गाडेर बसेका संरचनागत समस्याका विभिन्न तहले आदिवासी जनजाति अपाङ्गता भएका महिलालाई नराम्ररी थिचेको छ ।
विशेषगरी सामाजिक, सांस्कृतिक र आर्थिकरूपमा सीमान्तकृत समुदायभित्र जन्मेका व्यक्तिहरूले दैनिक जीवनमा धेरै तहका र बारम्बार दोहोरिने अवरोधहरू भोगिरहेका हुन्छन् । नेपालका आदिवासी जनजाति समुदायभित्रका अपाङ्गता भएका महिलाले के कस्ता संरचनागत अवरोधहरूलाई भोगिरहेका छन् ? राज्यका नीतिगत संरचना र समाजभित्रका परम्परागत मान्यताजन्य संरचनाबाट खडा हुन आएका अवरोधहरूले उनीहरूलाई के कसरी थिचिरहेका छन् ?
साथै, हुर्कने क्रममा तहतहका अवरोधहरूलाई बारम्बार भोग्दै आएका महिलाले त्यसलाई कसरी लिएका छन् ? त्यस्ता अवरोधलाई चिर्न आफूले के कस्ता सङ्घर्ष गरे र गर्दैछन् ? अवस्था सुधार गर्न अझै के के गर्न सकिन्छ ? यिनै प्रश्नका साथ प्रस्तुत आलेखमा विभिन्न क्षेत्रका आदिवासी महिलाको सङ्घर्षपूर्ण जीवनभोगाइलाई अन्तरक्षेदीय दृष्टिकोणबाट केलाउने प्रयत्न गरिएको छ ।
किम्बर्लेका अनुसार, लिङ्ग, वर्ग, जातीयता, भाषा, जात, अपाङ्गता जस्ता मानिसको पहिचानसँग जोडिएका तत्वहरूले मानिसको अवसर, अधिकार र विभेदका अनुभवहरू निर्माण गर्छन् । जब महिलाहरूमा अपाङ्गता पनि जोडिन्छ, तब उनीहरूमाथि तहतहका संरचनागत वञ्चना पनि थपिएका हुन्छन् ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रको विकट गाउँमा हुर्किएकी दीपा शेर्पा, कोशी प्रदेशको मध्य पहाडी गाउँमा हुर्किएकी लक्ष्मी राई, मधेश प्रदेशको तराई क्षेत्रमा हुर्किएकी सोनी मधुरीका साथै बागमती प्रदेशको भक्तपुर जिल्लाको सहरी क्षेत्रमा हुर्किएकी म स्वर्णिमा श्रेष्ठको जीवनभोगाइका सान्दर्भिक अंशलाई यसमा समेटिएको छ । प्रतिनिधि महिलाहरूको अपाङ्गताको अवस्थामा पनि विविधता छ । सबैको बासस्थानको पहिचान बृहत्तर भूगोलमा आधारित छ ।
अन्तरक्षेदीय (इन्टरसेक्सनालिटि) दृष्टिकोण
तहतहको बहुआयामिक वञ्चनाको प्रतिनिधि अनुभवलाई बुझ्न मद्दत गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण मानिएको सैद्धान्तिक अवधारणा हो– अन्तरक्षेदीयता (इन्टरसेक्सनालिटि) । यसलाई अमेरिकी विदुषी किम्बर्ले विलियम्स क्रेनशाले विकास गर्नुभएको हो । प्रोफेसरसमेत रहेकी उहाँ नागरिक अधिकार, आलोचनात्मक जाति सिद्धान्त, अश्वेत नारीवादी कानुनी सिद्धान्त र जाति, जातिवाद र कानुनका अग्रणी विद्वान् मानिनुहुन्छ ।
किम्बर्लेका अनुसार, लिङ्ग, वर्ग, जातीयता, भाषा, जात, अपाङ्गता जस्ता मानिसको पहिचानसँग जोडिएका तत्वहरूले मानिसको अवसर, अधिकार र विभेदका अनुभवहरू निर्माण गर्छन् । जब महिलाहरूमा अपाङ्गता पनि जोडिन्छ, तब उनीहरूको जीवन अझै जटिल र चुनौतीपूर्ण बन्छ । उनीहरूमाथि तहतहका संरचनागत वञ्चना पनि थपिएका हुन्छन् ।
अन्तरक्षेदीय दृष्टिकोणबाट हेर्दा जब दोहोरो संरचनाको मारमा परेका समुदायका महिलाहरूमा अपाङ्गता पनि जोडिन्छ, तब उनीहरूको जीवन अझै जटिल र चुनौतीपूर्ण बनेको हुन्छ । उनीहरूमाथि थोपरिने वञ्चनाले पनि हद पार गर्छ । उनीहरू महिला भएको कारण, अपाङ्गता भएको कारण र आदिवासी समुदायमा जन्मिएको कारण गरी तीन वटा अलग–अलग तर परस्पर जोडिएका विभेदका तहभित्रको निस्सासिँदो जीवन भोग्न वाध्य हुन्छन् ।
अन्तरक्षेदीयताको सैद्धान्तिक अवधारणा कसैको व्यक्तिगत सङ्घर्ष मात्र होइन, उसले भोगेको र भोगिरहेको जीवनमा समाजको संरचनागत कमजोरी, अवरोध र असमानतालाई देखाउने एउटा बहुआयामिक ऐना पनि हो ।
प्रतिनिधि महिलाका भोगाइमा अन्तरक्षेदीयता
अन्तरक्षेदीयताको सैद्धान्तिक अवधारणाको पृष्ठभूमिमा उभिएर नेपाली आदिवासी अपाङ्गता भएका महिलाहरूको कथाव्यथालाई हेर्दा उनीहरूको जीवनभोगाइ केवल व्यक्तिगत सङ्घर्ष होइन, यो त नेपाली समाजको संरचनागत कमजोरी, अवरोध र असमानताको ऐना पनि हो भन्ने देखिन्छ ।
हिमाली होस् कि उच्चपहाडी, मधेसी होस् कि तराईवासी, विकट गाउँमा होस् कि सहरमै किन हुर्किरहेकी किन नहुन्, जो कोही पनि किशोरीको सपना हुन्छ– स्कुल गएर पढ्ने, लेख्ने, साथीहरूसँग रमाउने, आत्मनिर्भर हुने, सम्मानजनक भविष्य बनाउने । तर, कसैमा कुनै किसिमको अपाङ्गता छ भने ती किशोरीलाई परिवार र समाजले सधैँ ‘अलि अलग’ तरिकाले हुर्काएको हुन्छ ।
थरीथरी बाजा एउटै ताल भने झैँ सबैको भाव उही हुन्छ, अपाङ्गता भएका छोरीमान्छेलाई जसरी पनि सीमित मात्रै स्थान र अवसर दिने । कतिपयले त अपाङ्गतालाई भाग्य, कर्म र दैवले दिएको नकारात्मक फलसँग जोडेर मर्माहत पार्ने गरी व्याख्या पनि गर्छन् ।
अपाङ्गता भएका छोरीमान्छेलाई अलग तरिकाले हेर्ने मात्र होइन, अलग स्थानमा नै राख्ने र सीमित गर्ने चाहना लादेर नै हुर्काइरहेको हुन्छ । उनीमाथि अलग बोली र सूक्ष्म व्यवहारको प्रहार भइरहेको हुन्छ । कसैले भन्छ, ‘हिँड्न–डुल्न गाह्रो छ, किन बाहिर निस्किन्छेस् ?’ कसैले भन्छ, ‘तैँले त घरमै बस्नुपर्छ ।’
थरीथरी बाजा एउटै ताल भने झैँ सबैको भाव उही हुन्छ, अपाङ्गता भएका छोरीमान्छेलाई जसरी पनि सीमित मात्रै स्थान र अवसर दिने । सामान्य छोरीमान्छेलाई गर्ने जत्तिको बोली र व्यवहार पनि नगरी पाखा लगाउने । कतिपयले त उनको अपाङ्गतालाई भाग्य, कर्म र दैवले दिएको नकारात्मक फलसँग जोडेर मर्माहत पार्ने गरी व्याख्या पनि गर्छन् ।
सूक्ष्म व्यवहारका अनकौँ रूप हुन्छन् । तिनले दिएका चोटहरूले अपाङ्गता भएका किशोरीहरूको आत्मविश्वासलाई बिस्तारै थिच्दै र दबाउँदै लग्छन् । उनीहरूका लागि पहिले त विद्यालय जान पाउनु पनि एउटा ठुलो सङ्घर्ष पार गर्नु हो । त्यसपछि कच्ची बाटो, असुरक्षित यात्रा, सार्वजनिक बस चढ्न–उत्रनको कठिनाइ छ भने त झन् विद्यालय जानु पनि एउटा ठुलो सङ्घर्ष हो ।
विद्यालयमा कतिपय अवस्थामा शिक्षक र साथीहरूले गर्ने असहज व्यवहार पनि सङ्घर्षको रूपमा जोडिन सक्छ । सामुदायिक, सांस्कृतिक, धार्मिक आदि कार्यक्रममा उनीहरूलाई प्रायः सँगसँगै जान नदिएर छेउमै राखिएको हुन्छ । सिँढी, भिड र द्रुत हुने रीतिरिवाजहरूले उनीहरूको सहभागितालाई सीमित बनाइदिएको हुन्छ ।
घरभित्रै पनि उनीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने बाध्यता सिर्जना भइरहन सक्छ । हातेमालो गर्न खोज्दा कसैले प्याच्च भनिदिन्छ– ‘तैँले सक्दिनस् ।’ अकस्मात् सुन्नुपर्ने यस्तो वाक्यले उनीहरूको आत्मबलमा गहिरो चोट पुर्याउँछ । हुर्कंदैदेखि घरीघरी सुन्नैपर्ने यस्ता वाक्यहरूले चोटमाथि चोट थप्दै लान्छन् ।
सामाजिक जीवनपद्धति पनि अपाङ्गता भएका किशोरीहरूका लागि अति नै कठोर हुने गर्छ । अरू दिदीबहिनीले भविष्यका सपनाहरू – पढाइ, रोजगारी, विवाह – आदि बारे उत्साहका साथ कुरा गर्दा उनीहरूलाई कसैले सोध्दैनन् र सुन्दैनन् । उनीहरू चुपचाप अरूका कुरा सुन्छन् मात्र । यसो गर्नाको अर्थ सपनाको अभाव होइन, समाजले आफूहरूजस्ताको भविष्यप्रति विश्वास नै गर्दैन भन्ने कुराको अनुभूतिले थिचिएको हो । यो अत्यन्त कष्टकर अवस्था हो ।
अन्तरक्षेदीयताको सैद्धान्तिक अवधारणाको पृष्ठभूमिमा उभिएर नेपाली आदिवासी अपाङ्गता भएका महिलाहरूको जीवनभोगाइको कथाव्यथालाई नियाल्दा र बुझ्दा पनि केवल व्यक्तिगत सङ्घर्ष होइन, त्यो नेपाली समाजको संरचनागत कमजोरी, अवरोध र असमानताको प्रतिविम्ब पनि हो भन्ने देखिन्छ । दीपा शेर्पा, लक्ष्मी राई, सोनी मधुरी र मेरो आफ्नै अनुभवले पनि यही देखाउँछ ।

कर्णाली प्रदेशको एक सानो हिमाली गाउँकी दीपा शेर्पाको जन्मदेखि नै पाेलियो भएकाले उहाँलाई हिँड्न त्यति सजिलो भएन । स्कुल जाने उमेरमा उबडखाबढ भएको कच्ची बाटो, भूकम्पोत्तर पहिरोको जोखिमले भरिएको र टाढा भएकाले उहाँलाई स्कुल जान असम्भवजस्तो लाग्थ्यो । भौतिक पूर्वाधार नै अपाङ्गतामैत्री नभएको ठाउँ, विभेद र उपेक्षाले पारेको प्रभावलाई सम्झँदै उहाँले भन्नुभयो, “धेरै पटक मैले आफूलाई कमजाेर, अरूको बोझजस्तो अनुभव गरेँ । समाजमा अपाङ्गता भएका महिलले प्रायः विभेद र उपेक्षा भोग्नुपर्छ भन्ने कुरा मैले व्यक्तिगतरूपमा अनुभूत गरेँ ।”

दृष्टि अपाङ्गता भएकी लक्ष्मी राईले पनि बहुआयामिक चुनौतीहरूको सामना गर्दै हुर्कनुपर्यो । उहाँले बाल्यकालदेखि नै अपाङ्गतालाई कमजोरीका रूपमा हेर्ने सामाजिक सोचका कारण आफूले दया, उपेक्षा र बहिष्करण भोग्नुपरेको र महिला भएकै कारण शिक्षाभन्दा घरेलु भूमिकामा सीमित हुनुपर्ने दबाब आएको पनि बताउनुभयो ।
लक्ष्मीले भन्नुभयो, “दुर्गम पहाडी भूगोल र अपाङ्गतामैत्री संरचनाको अभावले विद्यालय पहुँच कठिन बनायो, जहाँ विशेष पाठ्यसामग्री, सहयोगी शिक्षक र समावेशी वातावरणको कमी थियो ।” यसका अतिरिक्त उहाँको परिवारको कमजोर आर्थिक अवस्थाले गर्दा पनि उहाँले उपचार, सहायक उपकरण, नियमित स्वास्थ्य सेवा पाउन सक्नु भएन ।
शिक्षा, स्वास्थ्यसँगै रोजगारीका अवसरहरूमा पनि महिला र अपाङ्गता दुबै भएका कारण लक्ष्मीले भेदभाव सहनुपर्यो । सानैदेखि खुम्चिएरै हुर्कनुपरेका कारण सरकारी सेवा, भत्ता र अधिकारसम्बन्धी जानकारी नपुगेको र त्यसले जीवनमा आफू क्रमशः पछाडि पर्दै गएको उहाँलाई महसुस भयो ।

सोनी मधुरीको पैतालामा अपाङ्गता भएकाले सुरुमा विद्यालय जान कठिनाइ भयो । त्यसैले आफ्नो आधारभूत पढाइ–लेखाइ घरमा नै भएको उहाँले बताउनुभयो । सुन्ने र बोल्ने क्षमता सामान्य भएको, भूभौतिक पूर्वाधार पनि अनुकूल भएकाले उहाँ ह्विलचेयरमाथि निर्भर हुनुभयो ।
पढाइलाई अघि बढाउँदै आफ्नै आवाजबाट सामाजिक क्रियाकलापमा सक्रिय रहेकी सोनीले भन्नुभयो, “ह्विलचेयर प्रयोग गर्नुको कारणले मलाई सडक, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक सेवाको पहुँचमा रहन विशेष कठिनाइहरू आइरह्यो ।” उहाँका अनुसार, तराईका पनि धेरै ठाउँमा परम्परागत मान्यता, लैङ्गिक भेदभाव र पहुँचसम्बन्धी संरचनात्मक चुनौतीहरू अझै बाँकी छन् ।

राजधानी नजिकैको सहरी वातावरणमा हुर्किएकी म स्वर्णिमा श्रेष्ठले पनि बाल्यकालदेखि नै शारीरिक चुनौती र सामाजिक पूर्वाग्रहको सामना गर्नुपर्यो । म होचोपन भएका व्यक्तिमा पर्ने महिला हुँ । मेरो उचाइभन्दा धेरै ठुला मेरा अनुभूति र सङ्घर्ष रहे । समाजले मलाई प्रायः ‘होचा–पुड्का’ भनेर चिनायो, हाँसो, जिज्ञासा र कहिलेकाहीँ दया मिसिएको नजरसँगै । सार्वजनिक बस चढ्दा, स्वास्थ्य केन्द्र जाँदा, भीडभाडमा हिँड्दा मैले नचिनेका धेरै मानिसले मलाई बच्चा ठाने । केहीले त मेरो निर्णय क्षमतामाथि नै शङ्का गरे ।
विशेष गरी अपाङ्गता, आदिवासी र महिला भएको पहिचानले मेरासामु समाजमा धेरै खालका चुनौती र अवरोधहरू सिर्जना भए । मलाई मेरो शरीरबारे कुरा गर्न सहज भएन । विशेष गरी मासिक धर्म, सम्बन्ध, सहमति वा प्रजनन स्वास्थ्यजस्ता विषय उठाउँदा वातावरण झन् अप्ठेरो हुन्थ्यो । स्वास्थ्य सेवा लिन जाँदासमेत मसँग सरल र सम्मानजनक भाषाको प्रयोग हुँदैनथ्यो । कहिलेकाहीँ त आवश्यक जानकारी नै नदिई ‘तिमीलाई के चाहियो र ?’ भन्ने । त्यो हदसम्मको उपेक्षा भाव पनि पाएँ ।
मलाई याद छ, प्रायः मानिसहरूले मलाई मेरो रुची, कौशल र क्षमताभन्दा बढी दया र सहानुभूतिको दृष्टिले नै हेरेका थिए । साथी बनाउने, आफ्नो विचार व्यक्त गर्ने र अवसर खोज्ने क्रममा मैले बारम्बार कठिनाइ भोग्न बाध्य हुनुपर्यो । त्यसले मेरो आत्मविश्वास र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको थियो ।
यावत् समस्यालाई झेल्दै हुर्कनुपरे पनि हामी चारै जनामा एउटा साझा समानता रहेको पाइयो । त्यो हो– हार नमान्ने बानी । अन्तरक्षेदीयताको ऐनामा दीपा, लक्ष्मी, सोनी र मेरो जीवनभोगाइको संयोजनले कठिनाइको सन्दर्भमा एउटा यस्तो तस्विर खिचिन पुगेको छ, जसमा नेपाली आदिवासी अपाङ्गता भएका महिलाहरूको अति विशिष्ट अवस्थालाई पनि देख्न सकिन्छ ।
चिन्ताजनक र दुर्भाग्यपूर्ण विभेद
आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार, आदिवासी जनजातिले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामािजक संरचना र लिखित वा अलिखित इतिहास भएको र ऐनको अनुसूची बमोजिमका जाति वा समुदायलाई बुझाउँछ । २०७७ जेठ ५ को नेपाल राजपत्रमा यस्ता ६० जाति वा समुदायको नाम उल्लेख छ ।
आदिवासी जनजाति समुदायको बसोबास नेपालको हिमाल, पहाड र तराई तीनै भौगोगिक क्षेत्रमा रहेको छ । आदिवासी जनजाति आयोगले राष्ट्रिय जनगणना २०७८ लाई उल्लेख गर्दै आदिवासी जनजातिको सङ्ख्या एक करोड एक लाख ६८ हजार ८४४ रहेको र यो सङ्ख्या कुल जनसङ्ख्याको ३४.८७ प्रतिशत रहेको जनाएको छ । आदिवासी–जनजाति महिला महासंघको विश्लेषण अनुसार, नेपालको कुल महिला जनसङ्ख्याको ३७.५ प्रतिशत आदिवासी जनजाति महिलाहरू छन् ।
पछिल्ला वर्षहरूमा नेपालका आदिवासी समुदायमा अपाङ्गता भएका महिलाहरूले भोग्ने गरेका विभेद र हिंसा चिन्ताजनक र दुर्भाग्यपूर्ण बन्दै गएको छ । घरपरिवार, समुदाय र विद्यालयमा उनीहरू प्रायः असुरक्षित वातावरणमा हुर्किएका छन् ।
अपाङ्गताको सवालमा राष्ट्रिय जनगणना २०७८ अनुसार, देशको कुल जनसङ्ख्यामध्ये छ लाख ४७ हजार ७४४ जना अर्थात् २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । कुल महिला जनसङ्ख्याको दुई प्रतिशत महिलामा अपाङ्गता रहेको छ । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ – नेपाल (निडवान) का अनुसार, नेपालमा अपाङ्गता भएका आदिवासी व्यक्तिहरू अनुमानतः १३ लाख छन्, जसमा करिब सात लाखको हाराहारीमा रहेका अपाङ्गता भएका आदिवासी महिलाहरू जोखिमपूर्ण स्थिति र असुरक्षित वातावरणमा छन् ।
पछिल्ला वर्षहरूमा नेपालका आदिवासी समुदायमा अपाङ्गता भएका महिलाहरूले भोग्ने गरेका विभेद र हिंसा चिन्ताजनक र दुर्भाग्यपूर्ण बन्दै गएको छ । घरपरिवार, समुदाय र विद्यालयमा उनीहरू प्रायः असुरक्षित वातावरणमा हुर्किएका छन् । सामान्य महिला र पुरुषले भोग्नेजस्ता सामाजिक, आर्थिक र सांस्कृतिक चुनौतीहरू त छँदैछन्, यी महिलाहरूले शारीरिक वा मानसिक अपाङ्गता भएका कारण थप कठिनाइहरूको सामना गर्नुपर्ने अवस्था हट्न सकेको छैन ।
अपाङ्गता भएका आदिवासी व्यक्तिहरूमध्ये करिब ८१ प्रतिशत सार्वजनिक सेवा र पूर्वाधारसम्म पहुँच पाउन असफल हुने गरेको निडवानको विश्लेषण छ । पहुँच पाउन असफल व्यक्तिहरूमा विशेषगरी महिलाहरू छन् ।
अपाङ्गता भएका आदिवासी महिलाहरूमध्ये धेरैजसो घरायसी काममा सीमित रहन बाध्य छन् । उनीहरू धार्मिक, सामाजिक वा सामुदायिक गतिविधिमा सहभागी हुन पाउँदैनन् । आमा, दिदी वा छिमेकीबाट समेत भेदभाव र अपमान भोग्ने अवस्था सामान्यजस्तै छ । विद्यालय नपुगेका, आर्थिकरूपमा परनिर्भर र सामाजिकरूपमा अलगथलग परेका यी महिलाहरू प्रायः बलात्कार, जबर्जस्ती विवाह, कामको शोषण र आवाज उठाउन नसक्ने अवस्थासम्म पुग्छन् ।
अपाङ्गता भएका आदिवासी व्यक्तिहरूमध्ये करिब ८१ प्रतिशत सार्वजनिक सेवा र पूर्वाधारसम्म पहुँच पाउन असफल हुने गरेको निडवानको विश्लेषण छ । पहुँच पाउन असफल व्यक्तिहरूमा विशेषगरी महिलाहरू छन् । यी महिलाहरू एक तहमा महिला भएको कारण, अर्को तहमा अपाङ्गता भएको कारण र अर्को तहमा आदिवासी समुदायसँग सम्बन्धित भएको कारण गरी तेहोरो विभेदको संरचनागत जालोभित्र फसेका हुन्छन् ।
नेपालमा महिला अधिकार र अपाङ्गता अधिकारका कार्यक्रमहरू भए पनि ती कार्यक्रमहरूले आदिवासी अपाङ्गता भएका महिलाको विशिष्ट अवस्थालाई पर्याप्त सम्बोधन गरेका छैनन् । राज्यका नीतिहरू पनि ‘सबै महिलाका लागि एउटै दृष्टिकोण’ वा ‘अपाङ्गता भएका सबै व्यक्तिका लागि एउटै नीति’ भन्ने सतही सोचका ढाँचामा सीमित छन् ।
सतही ढाँचा र दृष्टिकोणले आदिवासी अपाङ्गता भएका महिलाको विशिष्ट जीवनको वास्तविकतालाई देख्दैन । यसले गर्दा उनीहरूको आवाज नीतिमा, समाजमा र सार्वजनिक क्षेत्रमा कमजोर रहन्छ । त्यसो त यस अवस्थालाई परिवर्तन गर्ने प्रयासस्वरूप केही आदिवासी अपाङ्गता भएका महिला समूहहरूले सामुदायिक आन्दोलन, अधिकार अभियान र आत्मसहायता समूह स्थापना गरेका पनि छन् ।
अझै पनि धेरै महिला विस्थापित, दबाइएका र केही महिला मात्र न्यायको लागि लडिरहेको अवस्थामा भेटिन्छन् । न्यायको लडाईं पनि सहज छैन ।
समूहमार्फत् उनीहरूले स्थानीय तहसँग साझेदारी गर्दै आफ्ना लागि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र कानुनी सहायता माग गरेका छन् । आन्दोलनले समुदायमा चेतना जगाउने, पीडितलाई न्याय दिलाउने र समान अवसर सुनिश्चित गर्ने दिशा खोलिरहेको छ र यो प्रारम्भिक चरणमै छ ।
अझै पनि धेरै महिला विस्थापित, दबाइएका र केही महिला मात्र न्यायको लागि लडिरहेको अवस्थामा भेटिन्छन् । न्यायको लडाईं पनि सहज छैन । अन्याय गर्ने, पीडक, भ्रष्ट र व्यभिचार गर्नेले नै राहत र उन्मुक्ति पाउने गरी धाकधम्की लगाएरै अदालतलाई हातमा लिने परिपाटी पनि बढ्दो छ । यस्तो हुँदा पीडामा परेका महिलाहरू थप कष्टकर जीवन भोग्न वाध्य भइरहेका छन् ।
न्यायको खोजीमा रहेका सेवाग्राही महिलाहरूको यस्तो अवस्थाले स्पष्ट सन्देश दिन्छ– समान अधिकार, पीडितमैत्री द्रुत न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति जस्ता आधारभूत कुरा व्यवहारमा लागु नहुँदासम्म सबैभन्दा कमजोर समुदाय, अपाङ्गता भएका र त्यसमा पनि महिलाहरू अझ बढी नियोजित तरिकाले खेदिएका हुन्छन् । उनीहरूलाई सबैतिरबाट घेराबन्दीजस्तै गरी जोखिमको चक्रव्यूहतिरै धकेलिइरहेको हुन्छ । यसको समूल अन्त्य जरुरी छ ।
दोहोरो–तेहोरो विभेदका तहहरू
नेपालजस्ता विकासोन्मुख देशहरूमा अपाङ्गता भएका महिलाहरूले भोग्ने चुनौती बहुआयामिक हुन्छ । उनीहरूको समस्याको केन्द्रमा अपाङ्गता मात्र हुँदैन; त्यससँगै जोडिएका सामाजिक संरचना, सांस्कृतिक मान्यता, आर्थिक स्थिति, लिङ्ग र भौतिक पहुँचका अभावले चुनौतीहरूलाई अझ गम्भीर बनाउँछ । यही कारणले अपाङ्गता भएका महिलाहरूले ‘दोहोरो–तेहोरो’ विभेदको सामना गर्नुपर्छ । अपाङ्गता, महिला पहिचान र कहिलेकाहीँ जातीय–सांस्कृतिक वा आर्थिक पृष्ठभूमि एकैसाथ विभेदको आधार बन्छन् ।
सामाजिक संरचना, सांस्कृतिक मान्यता र पहुँचको दृष्टिबाट हेर्दा अपाङ्गता भएका महिलाको जीवनयात्रा अक्सर बाल्यकालदेखि नै भिन्न देखिन्छ । विद्यालयमा पहुँच अभाव, सहायक सेवा नहुनु र शिक्षक वा सहपाठीबाट हुने तिरस्कारले उनीहरूलाई शैक्षिक परिदृश्यबाट सुरुमा नै ओझेलमा पार्न थाल्छ । दृष्टिविहीन, श्रवण अपाङ्गता वा शरीरगत कमजोरी भएका बालिकाहरूलाई ‘हेर्न नसक्ने’, ‘नबोल्ने’, ‘चल्न नसक्ने’ भनेर छुट्ट्याउने प्रवृत्ति अझै पनि धेरै ठाउँमा देखिन्छ ।
समाजले महिलालाई स्वाभाविक रूपमा ‘घरभित्र सीमित’ र ‘निर्भर’ भूमिकामा रहने अपेक्षा गर्छ । जब कुनै महिला अपाङ्गता लिएर जन्मिन्छिन् वा पछि अपाङ्गताको स्थिति प्राप्त गर्छिन्, तब त्यस्तो अपेक्षाले थप दबाब र अवरोध सिर्जना गर्छ ।
छुट्ट्याउने प्रवृत्तिका कारण गरिने सूक्ष्म व्यवहार निकै घातक हुन्छ । यसले बालिकामा आत्मबल घटाउने मात्र होइन, शिक्षा आर्जन गर्नबाट पछि पार्ने जोखिम पनि बढाउँछ । अपाङ्गता भएका छोरीमान्छेलाई ‘पढाएर के हुन्छ ?’ भन्ने सोचले धेरै परिवारमा उनीहरूलाई शिक्षाको पहुँच दिलाउनभन्दा घरेलु कामतिर धकेलिएको पाइन्छ ।
लिङ्गीय भूमिकासँग जोडिएको विभेद पनि निकै नै गहिरो छ । समाजले महिलालाई स्वाभाविक रूपमा ‘घरभित्र सीमित’ र ‘निर्भर’ भूमिकामा रहने अपेक्षा गर्छ । जब कुनै महिला अपाङ्गता लिएर जन्मिन्छिन् वा पछि अपाङ्गताको स्थिति प्राप्त गर्छिन्, तब त्यस्तो अपेक्षाले थप दबाब र अवरोध सिर्जना गर्छ । त्यस्तो अवस्थामा महिलालाई अवसर होइन, दयाको भाव देखाउने चलन बढी देखिन्छ । त्यसले उनीहरूको आत्मसम्मानमा चोट पुर्याउँछ ।
घरायसी वातावरणमा पनि अपाङ्गता भएका महिलाले दोहोरो विभेद भोग्छन् । कतिपय समुदायमा अपाङ्गता भएका छोरी वा बुहारीलाई धार्मिक क्रियाकलापमा सहभागी हुन नदिने प्रचलन अझै कायम छ– कहिले ‘अशुभ’ भनेर त कहिले ‘काम बिगार्लिन्’ भनेर । सांस्कृतिक मान्यता र धार्मिक विश्वासले विभेदलाई झनै सुदृढ बनाउँछ । धेरै समुदायमा अपाङ्गता भएका व्यक्तिलाई ‘कर्मको परिणाम’, ‘अशुभ सङ्केत’ जस्ता गलत धारणाबाट हेरिने गरिएको पाइन्छ ।
गलत धारणाबाट उब्जिएका सोचले महिलालाई अझै धेरै असर गर्छ, किनकि उनीहरू परिवार र समुदायमा ‘शुद्धता’, ‘पवित्रता’, ‘सामाजिक मर्यादा’ जस्ता अपेक्षाहरूबाट घेरिएका हुन्छन् । शारीरिक अवस्था मिलेन भने उनीहरूलाई देवीदेवताको पूजा, परम्परागत चालचलन वा सांस्कृतिक भूमिकाबाट बाहिर राखिन्छ, जसले उनीहरूको आत्मसम्मानमा दीर्घकालीन असर गर्छ ।
भौतिक सुविधा नहुँदा उनीहरू पूजापाठ, सांस्कृतिक कार्यक्रम वा सामुदायिक भेलामा सहभागी हुन पनि सक्दैनन् । सहभागिताको अभावले उनीहरू एकातिर समाजबाट टाढिँदै जान्छन् भने अर्कोतिर कामको लोडमा पनि पर्छन् । त्यत्ति नै बेला गर्नुपर्ने घरेलु काम उनीहरूमाथि नै थोपरिने गरेको पाइन्छ । चाहे त्यो काम उनीहरूका लागि शारीरिकरूपमा कठिन नै किन नहोस् !
शिक्षा र रोजगारीमा पहुँचको दृष्टिकोणबाट हेर्दा नेपालका धेरै विद्यालय, कलेज र कार्यालयहरू अपाङ्गतामैत्री पूर्वाधारविना निर्माण भएका देखिन्छन् । सिँढी मात्र भएको भवन, उचाइअनुसार नसुहाउने डेस्क–कुर्सी, साङ्केतिक भाषा नजान्ने शिक्षक, दृष्टिविहीनका लागि ब्रेल सामग्रीको अभाव जस्ता कुरा यसमा पर्छन् । यसरी भौतिक र शैक्षिक अवरोधका कारण योग्य र सक्षम महिलाहरू अवसरबाट बाहिर रहन्छन् ।
शिक्षा मात्र होइन, रोजगारीमा पहुँचको अभाव पनि नेपालका लागि निकै ठुलो चुनौतीको विषय हो । रोजगारीमा ‘देखिने स्वरूप’ वा ‘शारीरिक क्षमता’ का आधारमा अस्वीकार गर्ने प्रवृत्ति बलियो छ । यसले उनीहरूको आर्थिक स्वतन्त्रता र आत्मनिर्भरताको मार्गलाई रोक्छ । यी सबै प्रकारका अवरोधहरू एकअर्कासँग जोडिएर तेहोरो विभेदको निर्माण हुन्छ— अपाङ्गता, लिङ्ग र सामाजिक–सांस्कृतिक पृष्ठभूमि ।
समाधानका रूपमा सहज पहुँचयुक्त पूर्वाधार, सहायक उपकरण र भाषा सेवा विस्तार, शिक्षक तथा समुदायका लागि सचेतना कार्यक्रम तथा परिवारलाई अपाङ्गतामैत्री दृष्टिकोण दिनु आवश्यक हुन्छ ।
तेहोरो विभेदको स्थितिमा महिलाले भोगिरहेको उदासी, तनाव, अलग्गिएको अनुभूति जस्ता मानसिक चुनौतीलाई पनि समाजले प्रायः नदेखेजस्तै गरी व्यवहार गर्छ । यस्ता उपेक्षाले भरिएका सूक्ष्म व्यवहारले पार्ने असरबाट बाहिर निस्कन सामुदायिक सहयोग, परिवारको समर्थन र प्रणालीगत परिवर्तन अपरिहार्य हुन्छ ।
समाधानका रूपमा सहज पहुँचयुक्त पूर्वाधार, सहायक उपकरण र भाषा सेवा विस्तार, शिक्षक तथा समुदायका लागि सचेतना कार्यक्रम तथा परिवारलाई अपाङ्गतामैत्री दृष्टिकोण दिनु आवश्यक हुन्छ । यसका साथै, महिलालाई निर्णय प्रक्रियामा सहभागी गराउने र अवसरको केन्द्रमा राख्ने पहलले उनीहरूको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ ।
अपाङ्गता भएका महिलाको समस्या व्यक्तिगत नभई सामाजिक हो । यो सामाजिक संरचनासँग जोडिएको अहम् प्रश्न हो । जबसम्म समाजले ‘अपाङ्गता’ लाई कमजोरी होइन, विविधताका रूपमा स्विकार्न सिक्दैन, तबसम्म दोहोरो तेहोरो विभेद कायम रहन्छ । समानता र सम्मानको यात्राको सुरुवात समाजको दृष्टिकोण परिवर्तनबाट हुन्छ । यही परिवर्तन नै उनीहरूको उज्ज्वल भविष्यको आधार बन्न सक्छ ।
हार नमान्ने बानीको प्रतिफल
जतिसुकै कष्टका बिच हुर्कनुपरेको भए पनि अपाङ्गता भएका धेरै आदिवासी महिलाहरू पछिल्लो समय अद्भूत तरिकाले अगाडि बढिरहेका छन् । अपाङ्गता कमजोरी होइन र आदिवासी पहिचान गर्वको विषय हो भनेर आफ्नै क्षमताले समाजलाई देखाइरहेका छन् । उनीहरूको धैर्य, आत्मबल र निरन्तर लागिपर्ने कार्यशैलीले समाजलाई बिस्तारै भए पनि परिवर्तन गर्ने शक्ति बोकेको छ ।
“मैले भोगेका चुनौतीहरूले मलाई अझ बलियो बनायो,” उहाँले भन्नुभयो, “मेरो कथा अब केवल मेरो होइन, गाउँका अपाङ्गता भएका अरू महिलाहरूका लागि प्रेरणा पनि बन्ने छ ।”
आफूले चाहे समस्या नै अवसर पनि बन्न सक्छ । भाषा र लेखाइमा रुचि भएकी दीपाले भन्नुभयो, “मैले हार मानिनँ । घरमै बस्दै पढ्न थालेँ र गाउँका अन्य बालबालिकालाई पनि सिकाउन मद्दत गरेँ । मैले स्वास्थ्यचौकीसम्म पुगेर पत्र लेख्ने अभ्यास गरेँ ।” यसले उहाँमा आफ्नो आवाज पनि महत्त्वपूर्ण छ र समुदायमा परिवर्तन ल्याउन सक्छु भन्ने आत्मविश्वास जगाइदियो ।
“मैले गाउँका साना–साना समस्याहरू लेखेर स्थानीय संस्थाहरूसँग साझेदारी गरेँ र त्यसबाट मोबाइल स्वास्थ्यसेवा सुरु गर्न सहयोग मिल्यो,” दीपाले भन्नुभयो । उहाँलाई अपाङ्गता, आदिवासी र महिला हुनुको सामाजिक पूर्वाग्रह र भौगोलिक विकटता भए पनि आत्मनिर्भर बनेर अरूलाई सहयोग पनि गर्न सकिन्छ भन्ने लाग्यो । “मैले भोगेका चुनौतीहरूले मलाई अझ बलियो बनायो,” उहाँले भन्नुभयो, “मेरो कथा अब केवल मेरो होइन, गाउँका अपाङ्गता भएका अरू महिलाहरूका लागि प्रेरणा पनि बन्ने छ ।”
बाल्यकालमा आफूले भोगेका यावत् चुनौतीका बिच लक्ष्मीले पनि हार मान्नु भएन । उहाँले स्थानीय समर्थन समूह र समुदायका सहयोगी व्यक्तिहरूसँग जोडिँदै शिक्षा पूरा गर्नुभयो र आत्मविश्वास विकास गर्नुभयो । आफ्नै अनुभवलाई शक्तिमा रूपान्तरण गर्दै आफूले गाउँमै अपाङ्गता भएका युवाका लागि साक्षरता समूह सुरु गरेको र त्यसले समुदायको सोच बदल्न सहयोग गरेको उहाँले बताउनुभयो ।
“निरन्तर आवाज उठाउने, नेतृत्व लिने र क्षेत्रीय गैरसरकारी संस्था तथा अपाङ्गता अधिकार समूहसँग सहकार्य गर्ने क्रममा मैले सेवामा पहुँच, चेतना र सहभागिता बढाएँ,” उहाँले भन्नुभयो, “यसरी व्यक्तिगत सङ्घर्षलाई सामूहिक परिवर्तनको माध्यम बनाउँदै ती सबै चुनौतीलाई पार गर्न सकेँ ।”
सोनीले पनि प्रारम्भिक कठिनाइहरूका बाबजुद पनि आत्मविश्वास र सिक्ने उत्साहले आफूलाई सामाजिक काममा अघि बढ्न प्रेरित गरेको र आफ्नो चुनौतीलाई आफैँले अवसरमा परिणत गर्न थालेको बताउनुभयो । उहाँले समुदायमा सहानुभूति र समझदारी बढाउने कार्यशाला सञ्चालनका साथै स्थानीय रेडियो कार्यक्रमहरूमा भाग लिएर अपाङ्गता र लैङ्गिक समानताको महत्त्वबारे जानकारी फैलाउनुभयो ।
विशेष गरी अपाङ्गता भएका महिलाहरूबिच सोनीले स्वास्थ्य, शिक्षा, सरकारी योजना र अधिकारबारे जनचेतना फैलाउनुभयो । उहाँले भन्नुभयो, “मेरो नेतृत्वमा अन्य महिलाहरू पनि प्रशिक्षण लिएर अभियानमा आबद्ध भए र त्यसले गाउँभित्रै सानो तर प्रभावकारी सामाजिक परिवर्तन ल्यायो ।”
दीपा, लक्ष्मी र सोनी जस्तै मैले पनि हार मानिनँ । नकारात्मक प्रभावबाट बेलैमा आफूलाई मुक्त गरेँ । उचाइलाई आधार बनाएर कसैले पनि कसैको अधिकार घटाउन पाउँदैन भन्ने बुझेपछि मैले आत्मसम्मानबारे खुलेर बोल्न सिकेँ । आफ्नो जस्तै अनुभव भएका महिलाहरूसँग संवाद सुरु गरेँ ।
आफ्नो प्रयासले गाउँका धेरै महिलालाई आफ्नो अधिकार र सेवाको पहुँच खोज्न उत्प्रेरित गरेको उहाँको ठम्याइ थियो । “समुदायले अपाङ्गता र महिला अधिकारबारे बुझ्न र समावेशी दृष्टिकोण अपनाउन थाल्यो ।” उहाँको अनुभवले नेपालमा ह्विलचेयर प्रयोग गर्ने आदिवासी महिलाहरूका लागि प्रेरणाको स्रोत, नीतिको खोज र सामाजिक जागरणको उदाहरण प्रस्तुत गर्दछ ।
दीपा, लक्ष्मी र सोनी जस्तै मैले पनि हार मानिनँ । नकारात्मक प्रभावबाट बेलैमा आफूलाई मुक्त गरेँ । आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिँदै आत्म–माया र आत्म–स्वीकृतिको यात्रा सुरु गरेँ । त्यसले मलाई आफ्नै क्षमता, महत्त्व र अधिकारलाई बुझ्न मद्दत गर्यो । उचाइलाई आधार बनाएर कसैले पनि कसैको अधिकार घटाउन पाउँदैन भन्ने बुझेपछि मैले शरीर र आत्मसम्मानबारे खुलेर बोल्न सिकेँ । आफ्नो जस्तै अनुभव भएका महिलाहरूसँग संवाद सुरु गरेँ । संवादबाट हामीले सिक्यौँ, सम्मानजनक व्यवहार पाउनका लागि पनि आवाज चाहिन्छ ।
मैले सामाजिक सञ्जाल, शिक्षा र व्यक्तिगत विकासमा सक्रिय भूमिका निर्वाह गरेँ । चुनौती र पूर्वाग्रहलाई अवसरमा बदलेँ । आज म आफूलाई ‘होचा–पुड्का’ भनेर सङ्कुचित भावले परिभाषित गर्दिनँ । म होचोपन भएको त्यस्तो व्यक्ति हुँ, जसले आफ्नो स्वास्थ्य, सम्बन्ध र जीवनका निर्णयहरू आफैँ गर्न सक्छु । मेरो जीवन मेरो उचाइको आधारमा होइन, मेरो क्षमता, ज्ञान, सिप, हिम्मत र अधिकारको संयोजनमा बनेको एउटा उत्कृष्ट कथा हो ।
मलाई लाग्छ, भविष्यमा मानिसहरूले म र मजस्ता व्यक्तिलाई केवल सहानुभूति र दयाको दृष्टिले होइन, हरेकको क्षमता, ज्ञान, सिप, हिम्मत र अधिकारको आधारमा मूल्याङ्कन गर्नेछन् । मेरो जीवन र सङ्घर्ष आजको र भविष्यको युवा पुस्ताका लागि प्रेरणाको स्रोत हो । चुनौती, भेदभाव, पूर्वाग्रह र अवरोधहरू भए पनि आत्म–माया, आत्म–विश्वास र लगनशीलताले मानिसलाई सशक्त बनाउँछ र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
हामी चारै जनाको जीवनको समग्र भोगाइले पनि देखाउँछ कि शारीरिक अपाङ्गता, लैङ्गिक असमानता, भौगोलक विकटता, आर्थिक कमजोरी र सामाजिक बाध्यता आदि जेसुकै भए पनि आफूमा दृढ इच्छाशक्ति, पारिवारिक र सामुदायिक समर्थन अनि निरन्तरको सक्रिय सहभागिताले व्यक्तिगत सङ्घर्षलाई समावेशी ढङ्गले सामूहिक परिवर्तनमा परिणत गर्न सकिन्छ ।
अन्तरक्षेदीयताको ऐनामा दीपा, लक्ष्मी, सोनी र मेरो जीवनभोगाइको संयोजनले कठिनाइ मात्र होइन, सफलताका सन्दर्भमा पनि एउटा यस्तो तस्विर खिचिन पुगेको छ, जसमा नेपाली आदिवासी अपाङ्गता भएका महिलाहरूको विविध तहको र विशिष्ट अवस्थाको प्रतिविम्बलाई पनि देख्न सकिन्छ ।
आत्मपहिचान, सशक्तीकरण र राजनीतिक सहभागिता
नेपालका आदिवासी अपाङ्गता भएका महिलाहरूका कथामा एउटा साझा कडी देखिन्छ । त्यो हो– विभेद, बहिष्कार र मौनताको अवस्थाबाट पनि आफ्नो पहिचान र स्थान खोज्ने उनीहरूको आफ्नै अडान । उनीहरूको सङ्घर्ष बाँच्नका लागि मात्र नभएर आफू र आफ्नो अपाङ्गताको अवस्थालाई स्विकार्न, आत्मविश्वासको पुनर्निर्माण गर्न र समाजमा आफ्नो उपस्थितिलाई प्रकट गर्नका लागि पनि हो ।
पहिले धेरै महिलाहरू सामाजिक, धार्मिक र सामुदायिक गतिविधिहरूमा सहभागी हुन डराउँथे वा असम्भवजस्तो महसुस गर्थे । समयसँगै उनीहरूले आफ्नो आवाज र अधिकारको महत्त्व बुझ्न थाले । उनीहरूले समुदायमा पहुँचयोग्य संरचना र सेवाहरूको माग गर्दै, अवरोध कम गर्न पहल पनि गर्न थाले । विद्यालय, सार्वजनिक स्थल वा गाउँ विकास कार्यक्रमहरूमा पहुँचयोग्य वातावरण निर्माण गर्ने प्रयासले उनीहरूको भागीदारी र आत्मनिर्भरतालाई प्रवर्धन गरेको छ ।
साथै, उनीहरूले आपसी सहयोग र सहकार्यको सञ्जाल (नेटवर्क) पनि स्थापना गर्न थाले । त्यसले समान चुनौती भोग्ने अन्य महिलाहरूसँग समूह बनाएर अनुभव साझा गर्ने, शिक्षण सिक्ने र सल्लाह लिन सक्ने वातावरणले उनीहरूलाई सामुदायिक रूपमा सशक्त बनाउन थाल्यो । यस्तो समूहले व्यक्तिगत आत्मविश्वास बढाउने मात्र होइन, समुदायसँग सम्बन्ध विस्तार गर्न र सामाजिक भेदभावको विरुद्धमा सामूहिक आवाज उठाउन सहयोग पुर्याउँछ ।
अपाङ्गता भएका महिलाहरूका विभिन्न प्रयासले स्पष्ट पार्छ, सशक्तीकरण बाहिरबाट दिइने कुरा होइन । यो भित्रबाट जाग्ने चेतना हो । यो बिर्सिएको आत्मविश्वास, मौनताभित्र लुकेको आवाज र आत्मपहिचानको पुनर्जीवन हो । जब महिलाहरूले आफ्नो जीवनभोगाइलाई अनुभव, शिक्षा र अभ्यासको रूपमा बुझ्छन् र त्यसलाई सोही भावमा रूपान्तरण गरी साझा पनि गर्छन्, तब उनीहरूको जीवनयात्रा अरूका लागि पनि प्रेरणाको स्रोत बन्छ ।
आत्मपहिचानको यात्राले व्यक्तिगत जीवनमा मात्र परिवर्तन ल्याउँदैन, यसले समुदायको सोच, संस्कार र संरचनालाई पनि चुनौती दिन्छ । अन्ततः सशक्तीकरण भनेको शक्ति प्राप्त गर्नु मात्र होइन, आफैँभित्र पहिले नै रहेको शक्तिलाई चिन्नु, त्यसमा विश्वास गर्नु र प्रयोग गर्न सिक्नु नै हो ।
राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा आदिवासी जनजाति महिलाको भौतिक उपस्थिति र प्रतिनिधित्व पनि उल्लेखनीय उपलब्धि हो । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि विभिन्न निर्वाचनहरूमा आदिवासी महिला सहभागी भए र प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा आफ्नो स्थान सुरक्षित गरे । समयसँगै संविधानसभा र स्थानीय, प्रदेश, प्रतिनिधि सभा, राष्ट्रिय सभा निर्वाचनमा उनीहरूको सङ्ख्या बढ्दै गयो ।
अपाङ्गता भएका महिलाको हजारौँमा पुग्ने गरी सशक्त सहभागिता देखियो । तर, सङ्ख्याले मात्र पर्याप्त हुँदैन, सार्थक प्रतिनिधित्व पनि हुनुपर्छ । त्यसका लागि नीति निर्माण, योजना तथा कानुन निर्माणका तहमा आदिवासी महिलाको प्रतिनिधित्व बढ्नुपर्छ । प्रभावशाली तहमा अर्थपूर्ण सहभागिता, स्रोत साधनको पहुँच र निर्णय प्रक्रियामा भूमिका बढाउनुपर्ने देखिन्छ । यसले सामाजिक र राजनीतिक उपलब्धि प्राप्त भए पनि वास्तविक सशक्तीकरण र प्रभावशाली निर्णयमा सहभागी हुन अझै धेरै चुनौती बाँकी रहेको देखाउँछ ।
आदिवासी अपाङ्गता भएका महिलाहरूले सामना गरिरहेको तहतहको विभेद, उनीहरूको आत्मपहिचान र सशक्तीकरणका प्रयास र राजनीतिक–सामाजिक उपलब्धिहरूबाट स्पष्ट हुन्छ, समान अधिकार र अवसरको अभावमा सबैभन्दा कमजोर समूह अझ बढी जोखिममा रहन्छ । यसबाट उनीहरूको सङ्घर्षले व्यक्तिगत जीवनको लागि मात्र होइन, समाजको सोच, संरचना र नीतिलाई परिवर्तन गर्ने दिशा पनि खोल्दछ भन्ने कुराको स्पष्ट सङ्केत गर्दछ ।
समावेशी भविष्यतर्फको यात्रा
नेपालका आदिवासी जनजाति अपाङ्गता भएका महिलाको जीवनभोगाइलाई कुनै एक पक्षबाट मात्र व्याख्या र विश्लेषण गरी वास्तविकतामा पुग्न सकिँदैन । वास्तविकतालाई नबुझी समावेशी भविष्यतर्फको यात्राको रूपरेखा कोर्न सकिँदैन । यसैले अन्तरक्षेदीयताको सैद्धान्तिक अवधारणाको माध्यमबाट वास्तविकताको खोजी गर्ने प्रयास गरिएको थियो ।
अन्तरक्षेदीयताको ऐनामा दीपा, लक्ष्मी, सोनी र मेरो जीवनभोगाइको साझा प्रतिविम्ब उतार्दै गर्दा यसमा कठिनाइ र सफलताको विविधता पनि समेटियो । साथै, यसमा विभिन्न तह र क्षेत्रका वास्तविकतालाई उजागर गर्न सक्ने केही साझा विम्बहरू पनि प्रकट भए ।
नेपालजस्तो बहुविविधताले भरिएको देशका आदिवासी जनजाति अपाङ्गता भएका महिलाको दैनिकी लिङ्ग, जातीयता, भाषा, संस्कार, आर्थिक अवस्था र अपाङ्गताको अन्तरछेदीय मेलबन्धनले बनेको जटिल यथार्थ हो ।
नेपालजस्तो बहुविविधताले भरिएको देशका आदिवासी जनजाति अपाङ्गता भएका महिलाको दैनिकी लिङ्ग, जातीयता, भाषा, संस्कार, आर्थिक अवस्था र अपाङ्गताको अन्तरछेदीय मेलबन्धनले बनेको जटिल यथार्थ हो । यसैले उनीहरूले भोग्ने विभेद पनि एकल स्वरूपको नभई बहुरूपीय र बहुतलीय हुन्छ । यो बारम्बार दोहोरिने पनि गर्छ । साथै, यो विभेद गहिरो गरी जरा गाडेको संरचनागत समस्याको अभिन्न अङ्ग हो ।
घर, समुदाय, विद्यालय, सार्वजनिक स्थलदेखि राज्यका नीति र संस्थासम्म सबैतिरका अवरोधहरूले अपाङ्गता भएका छोरीमान्छेका अवसरलाई सीमित पार्छ । तर, यी अवरोधबिच पनि आदिवासी अपाङ्गता भएका महिला निरन्तर अगाडि बढिरहेका छन् । उनीहरूको सङ्घर्षबाट प्राप्त उपलब्धिले अपाङ्गता कमजोरी होइन भन्ने देखाउँछ । समाजले बनाएको वातावरण, पहुँचको अभाव र भेदभावपूर्ण धारणा नै वास्तविक बाधा हुन् भन्ने पनि देखाउँछ ।
अपाङ्गता भएका यस्ता महिलाहरूले सामूहिक आन्दोलन, आत्मसहायता समूह, स्थानीय तहसँगको पहल र समुदायमा चेतना फैलाउने काममार्फत आफ्नो आवाज बलियो बनाइरहे । उनीहरूको प्रयासले व्यक्तिगत जीवनमा मात्र परिवर्तन ल्याउन थालेन, ‘समावेशी समाज’ निर्माण गर्ने दिशामा महत्त्वपूर्ण धक्का पनि दिइरह्यो । समावेशी यात्रालाई निरन्तरता दिनका लागि आगामी दिनमा पनि यस्तो धक्का जरुरी हुन्छ ।
नीति तथा कार्यक्रमले सबै महिलालाई एउटै दृष्टिकोणले मात्र हेर्न बन्द गरी, आदिवासी अपाङ्गता भएका महिलाको विशिष्ट अवस्था, आवश्यकता, पहिचान र अनुभवलाई केन्द्रमा राखेर योजना बनाउन आवश्यक छ ।
समावेशी भविष्यको सुनिश्चितताका लागि अझै धेरै काम गर्न बाँकी छ । अपाङ्ता र महिलामैत्री पूर्वाधार निर्माण, सहभागिताको सङ्ख्यासँगै निर्णय प्रक्रियामा अर्थपूर्ण प्रतिनिधित्वका साथै विशिष्ट र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ । नीति तथा कार्यक्रमले सबै महिलालाई एउटै दृष्टिकोणले मात्र हेर्न बन्द गरी, आदिवासी अपाङ्गता भएका महिलाको विशिष्ट अवस्था, आवश्यकता, पहिचान र अनुभवलाई केन्द्रमा राखेर योजना बनाउन आवश्यक छ ।
समावेशिता भनेको आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूको सङ्घर्ष व्यक्तिगत लडाइँ मात्र होइन, यो सम्बन्धित समाज, राज्य संरचना र सोचको अग्निपरीक्षा पनि हो । जबसम्म अपाङ्गता भएका सबै महिलाले समान अधिकार, सम्मान, सुरक्षित वातावरण र पहुँचयुक्त सेवा पाउँदैनन्, तबसम्म समावेशी समाज निर्माणको सपना अधुरै रहने हुन्छ । यसर्थ, उनीहरूको आवाज सुन्ने, अनुभवलाई मान्यता दिने र उनीहरूलाई शक्ति–स्रोतको केन्द्रमा राख्ने काम गर्नुपर्ने हुन्छ । यो नै वास्तविक समानता र न्यायको मूल आधार हो ।
‘आदिवासी जनजाति अपाङ्गता भएका महिलाका तहतहका सङ्घर्ष’शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’कार्यक्रम अन्तर्गत स्वर्णिमा श्रेष्ठले तयार गर्नुभएको हो ।
प्रकाशन मिति : २०८२ माघ २२ गते, बिहिवार
सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू
- कालापहाडका भीरमा महिलाहरूको श्रम र जीवन सङ्घर्ष
- तलाक – तलाक – तलाक कुरआनको आदेशविपरीत सामाजिक परिवेश
- वैदेशिक रोजगारीले एकल बनाएका महिलाको सङ्घर्ष
- चोरी विवाहमा बाँधिएका तामाङ महिलाका जीवनभोगाइ
- बहुपतिप्रथामा महिलाको अवस्थालाई परबाट नियाल्न खोज्दा
- विवाहपछि महिलाको बहुपक्षीय विस्थापन र असर
- भिक्षा, गाली र अपमानको चक्रमा नेटुवा समुदायका महिला
- कर्णालीको राजनीतिमा दलित महिला





