Home Insight धन र ज्यान गुमाएकालाई न्याय खोजिदिनेको लडाइँ

धन र ज्यान गुमाएकालाई न्याय खोजिदिनेको लडाइँ

413
0

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७, परशपुरकी निर्मला कुर्मीको शङ्कास्पद मृत्युको चित्तबुझ्दो छानबिन भएन । यसैले छानबिन गरी दोषीलाई कारबाही गर्न माग राख्दै तेस्रो पटक बाँकेका अधिकारकर्मीसहित स्थानीय १३ महिला र एक पुरुषले काठमाडौँस्थित माइतीघर मण्डलमा धर्ना दिए । भारतमा निर्मलाको शङ्कास्पद मृत्यु भएपछि उनको न्यायका लागि २०७६ चैत १४ मा बाँकेमा आन्दोलन सुरु भएको थियो ।

अघिल्ला दुई आन्दोलनमा भएका सहमतिको आधारमा बनेका समितिका सुझावलाई ध्यान दिइएन र दोषीमाथि कारवाही हुने सुरसार पनि देखिएन । फलतः घटना भएको तीन वर्षपछि २०७९ पुस १४ गते बाँकेको स्थानीय टोलीले तेस्रो पटक माइतीघर मण्डलमा सुरु गरेको धर्ना ४८ दिनसम्म जारी रह्यो । ४९ औँ दिन २०७९ फागुन २ गते सरकारसँग तीनबुँदे सहमति भएपछि मात्र धर्ना रोकियो ।

पछिल्लो सहमतिमा मुख्यतः निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गर्ने र दोषीउपर मुद्दा चलाउने उल्लेख गरिएको थियो । निर्मला कुर्मीको मृत्युको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने, आयोगमार्फत निर्मलाको तमसुकमा भएको सहीछापको जाँच गर्नुपर्ने, निर्मलाको मुद्दालाई अदालत पुर्‍याउनुपर्ने र आन्दोलनरत समूहलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने जस्ता माग थिए ।

माइतीघर मण्डलमा तेस्रो पटक धर्ना दिनुअघि अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा १९ दिनसम्म धर्ना दिएका थिए । त्यतिबेला घटनाका मुख्य आरोपित बादशाह कुर्मी पक्राउ नपरेपछि नेपालगन्जबाट धर्ना टोली काठमाडौँका लागि पैदलै हिँडेको थियो । पहिलो चरणमा २० दिनको पैदल यात्रापछि सो टोली काठमाडौँ पुगेर ३३ दिन आन्दोलन गर्‍यो । दोस्रो चरणमा ४२ दिनको आन्दोलन गर्दा पनि मागको सम्बोधन नभएपछि २०७९ साल पुसमा अधिकारकर्मीको टोलीले काठमाडौँको माइतीघर मण्डलमा धर्ना दिन थालेको थियो ।

धर्म र संस्कृतिले महिलाको न्यायिक एकतामा व्यवधान गरेको देखिएन । हिन्दु समुदायकी निर्मलाको न्यायका लागि आधाजसो मुस्लिम समुदायका अधिकारकर्मी महिलाले हरतरहले खुलेरै साथ दिए ।

टोलीले तेस्रो चरणको आन्दोलनमा सरकारी छानबिन समिति गठन हुनुपर्ने र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्नुपर्ने माग अघि सार्‍यो । सिआइबीले एक वर्ष पूरा हुँदा पनि अनुसन्धान नटुङ्ग्याएपछि आरोपीलाई जोगाउने चलखेल भइरहेको हो कि भन्ने शङ्का स्थानीयमा उब्जियो र तेस्रो चरणको आन्दोलन भयो । तेस्रो चरणको आन्दोलनका बेला कलङ्कीस्थित बासस्थानदेखि ‘निर्मला कुर्मीको न्याय देव !’ भन्ने नारा लाउँदै सडकमा हिँड्दै अधिकारकर्मीहरू धर्ना बस्न माइतीघर मण्डल पुग्थे । साथमा ‘छानबिन समितिको प्रतिवेदन, कहिले हुन्छ कार्यान्वयन ?’, ‘सिआइबी एक वर्ष पूरा, तर अनुसन्धान अधुरा’ लेखिएका ब्यानर पनि बोकिएका हुन्थे । धर्नामा सहभागी महिलाहरूलाई न्यायको लडाइँमा परिवारका सदस्यको साथ र समर्थन रहेको बुझिन्थ्यो ।

धर्म र संस्कृतिले महिलाको न्यायिक एकतामा व्यवधान गरेको देखिएन । हिन्दु समुदायकी निर्मलाको न्यायका लागि आधाजसो मुस्लिम समुदायका अधिकारकर्मी महिलाले हरतरहले खुलेरै साथ दिए । एक मध्यमवर्गीय महिलामाथि परिवारभित्र भएको अत्याचारको विरुद्ध न्यायको आवाज दिन अतिनिम्न आर्थिक अवस्था भएका महिलाहरूले दरिलो गरी साथ दिइरहेको देखिन्थ्यो ।

आन्दोलनकर्मी तथा धर्नाकारीहरूसँगको कुराकानीबाट बुझिए अनुसार, सहभागी १४ जनामध्ये आठ जनाको परिवार ऐलानी जग्गामा बनाइएको कच्ची घरमा बस्ने गर्छ । उनीहरू साहुको खेतमा अधियाँ गरी अन्नपात उब्जाउने र त्यसरी उब्जाएको अन्नले तीन महिना पनि ढुक्कले खान नपुग्ने अवस्थामा छन् । धर्नामा बसेकाहरूमध्ये केही महिलाको अवस्था एकल पनि छ ।

२५ वर्षको उमेरभित्रै केहीका श्रीमान् बिते । अधिकांश धर्नाकारीमा महिला हुनु, त्यसभित्र दलित महिला हुनु र तराई मधेसको महिला हुनु गरी तीन तहको विभेदित भोगाइ मिसिएर रहेको देखिन्छ । केही वर्षयतादेखि उनीहरू अधिकारकर्मी पनि भए । अधिकारकर्मी भएपछि चेतना केही फराकिएको छ । त्यसमाथि उनीहरूमा माइतीघर मण्डलको धर्ना सकेर हरेक साँझ बासमा पुग्दा आफ्ना हैसियत, जात, धर्म, वर्ग सबै बिर्सेर एकै सिरानमा निदाएको अनुभव पनि थपिएको छ ।

धर्नाकारी अधिकारकर्मीका अनुसार, उनीहरू सबैका सन्तान सरकारी विद्यालयमा पढ्छन् । गरिबीले नराम्ररी थिचेकाले कलेज पढाउन भने सक्तैनन् । स्कुल शिक्षा पूरा हुन नपाउँदै छोरीहरूलाई बिहे गरिदिने चलनबाट पर जान चाहन्छन् तर सकेका छैनन् । छोरीहरूको बिहे गाउँमै कि त सीमापारिको भारतमा गरिदिन्छन् । उनीहरूलाई भेटेर सुन्दै गर्दा लाग्छ, चेतना जागेपछि मानिसलाई अन्याय, अत्याचार र शोषण सहन गाह्रो हुन्छ । चेतनाले नै उनीहरूलाई बाँकेदेखि पैदलै आएर यसअघि नै सिंहदरबारसँग प्रश्न गर्ने बनायो । उत्तरदायी जवाफ भने पाउन सकेका छैनन् । पितृसत्तात्मक रुढीवाद र सङ्गठित जालझेललाई बुझ्न थालेका छन् । सचेतनापूर्वक गरिबीविरुद्ध लड्दै छोरीमान्छेको समग्र सामाजिक न्यायका लागि सोचेभन्दा पनि धेरै लामो बाटो तय गर्नुपर्ने चुनौती उनीहरूमा छ ।

माइतीघर मण्डलमा बसेर दोषीमाथि कारबाही हुनुपर्ने माग चर्काइरहेका बेला धर्नाकारीहरूको नेपालगन्जस्थित घरमा दैनिक ज्यालादारीबाट हुने आम्दानी पनि ठप्प भयो । अनिश्चितकालीन धर्ना र रिले अनशनमा भाग लिन सजिलो थिएन । उनीहरूमध्ये केहीले बताए अनुसार, मुख्य आरोपी बादशाह कुर्मीका मान्छेहरूबाट धम्की र प्रलोभनको भाषा पनि सुन्नुपर्‍यो । केहीले भौतिक आक्रमणमा पनि पर्नुपर्‍यो । केही महिलाका त श्रीमान्‌लाई नै जागिरबाट निकालिदिने धम्की दिइयो । साना छोराछोरी र घरको सारा जिम्मा श्रीमान् र परिवारका सदस्यमा छाडिएको थियो । गुनासो नगरी परिवारले साथ दिएकै कारण ‘न्याय नलिई नजाने’ अभियान यत्तिकै रोकिएन । सफलताको आशाका साथ सहमतितिर मोडियो । सरकारसँग तीनबुँदे सहमति भएपछि मात्र तेस्रो चरणको धर्नाले विश्राम पायो ।

सरकारसँग सहमति भएको (फागुन २ गते) एक वर्ष पूरा भएको छ । सहमतिपछि नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्‍यो । सो समितिलाई आन्दोलनअघि २०७८ पुस २१ गते प्रहरी उपरीक्षकको संयोजकत्वमा गठन भएको छानबिन समितिले अनुसन्धान गरेको तथ्यहरूको समेत सूक्ष्म रूपले मूल्याङ्कन गरी प्रतिवेदन पेस गर्न तथा पीडितले न्याय महसुस हुने गरी अनुसन्धान कार्य पूरा गर्न जिम्मेवारी दिइएको थियो ।

सहमतिपछिको एक वर्षमा तपाईंहरूको माग कति पूरा भयो भनेर आन्दोलनको नेतृत्वकर्ता मध्येका एक रुबी खानसँग २०८० माघको अन्तिम साता सोधिएको थियो । उहाँका अनुसार २०७९ फागुन २ गतेको सहमतिपछि गठित समितिले नेपालगन्ज पुगेर अनुसन्धान गर्‍यो । समितिले जानकारी दिएअनुसार प्रतिवेदन तयार भइरहेको छ र त्यसपछि अदालतमा मुद्दा लैजाने विषयमा छलफल हुनेछ ।

तेस्रो चरणको धर्नाका बेला नेपालगन्जको धर्ना टोलीका सबै अधिकारकर्मीहरूसँग ‘सन्धान’ ले काठमाडौँमा कुराकानी गरेको थियो । संलग्न अधिकारकर्मीहरूको पारिवारिक पृष्ठभूमि, आन्दोलनमा होमिन प्रेरित हुनाको कारण, आन्दोलनका क्रममा सहेझेलेका चुनौती, पारिवारिक साथ र समर्थन आदिबारे जिज्ञासा राख्नाका साथै ऐतिहासिक महत्त्वका तथ्यहरू सङ्कलन गरेको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट प्रणेताले निर्मला कुर्मीको न्यायका लागि धर्नामा सहभागी भएकाहरूमध्ये १२ जनासँग काठमाडौँमा भेटेर कुराकानी गरी तयार गर्नुभएको कथाको सम्पादित अंश ।

मलाई पनि मारिदिन्छन् कि भन्ने त्रास छ

पचास वर्षीया गुर्गी कोरी एकल महिला हुनुहुन्छ । पेटको समस्याबाट चार वर्षअघि उहाँका श्रीमान् बित्नुभयो । निम्न आर्थिक अवस्थाकी गुर्गीले एक्ली छोरीलाई ६ कक्षासम्म पढाएपछि भारतमा बिहे गरिदिनुभयो । नेपालगन्जमा निर्मला कुर्मी र उहाँको घर १५ मिनेटको दुरीमा पर्छ । पहिलोपटक नेपालगन्जदेखि काठमाडौँसम्म बिसदिने पैदल यात्रा गरेर न्याय खोज्न आउनेहरूमध्ये गुर्गी एक हुनुहुन्छ ।

न्यायको पक्षमा बोल्न थालेपछि पारिवारिक सदस्यबाटै कुटाइ सहेकी गुर्गीले आरोपी बादशाह पक्षका आफ्नै जेठाजुका छोरा र बुहारीले ‘आन्दोलनलाई निरन्तरता दिइरहे, महिला अधिकारका कुरा गरिरहे मारिदिने’ धम्की मात्र दिएनन्, एक बिहान ८ बजेतिर कुटपिट पनि गरे । घिसार्दै घरबाहिर ल्याए । लछारपछार गरे । उहाँ अनुहारमा मुड्की बजारिएका ठाउँ देखाउनुहुन्छ र भन्नुहुन्छ, “उनीहरूले कुट्दा कतै नीलडाम बसे, कतै नदेखिने दुखाइ ।”

कुटाइले गुर्गीको दाँत पनि झर्‍यो । त्यसको पीडा एकान्त घरमा उहाँले एक्लै सहनुपर्‍यो । छिमेकी तमासे बने ! केही समयपछि सहिदा खातुन मद्दत गर्न आइपुग्नुभयो । त्यतिबेला कुट्ने जेठाजुका छोराबुहारीका विरुद्ध महिला अधिकार मञ्च, बाँकेको साथमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिनुभयो गुर्गीले । वडाका छिमेकी र प्रहरीद्वारा ‘घरकै कुरा भएकाले एक पटकलाई’ मिलापत्र गर्न दबाब आयो । उहाँले दबाबलाई मान्नुभएन । पटक पटक प्रहरी कार्यालय धाउनुभयो तर उहाँको जाहेरी दर्ता भएन । उहाँलाई मिलापत्र गरेपछि ‘ज्यान लिन्छन् कि’ भन्ने डर छ । जाहेरी दर्ता होस् र कुट्ने छोराबुहारीलाई सजाय मिलोस् भन्ने माग हो उहाँको ।

घर खर्चका सम्बन्धमा गुर्गी भन्नुहुन्छ, “खेतबारी छैन, पहाडी समुदायको घरमा मजदुरी मेहेनत गर्छु । भाँडा धुन्छु । घर सफा गर्छु । त्यसबापत पाएको चामललगायत रासनले पेट भर्छु ।” कहिलेकसो दिदीले घरमा तेल बेसारदेखि अन्य रासन ल्याइदिने गरेको पनि उहाँ बताउनुहुन्छ । सरकारबाट प्राप्त हुने एकल महिला भत्ताले पनि केही भरथेग हुन्छ ।

आफूमाथि हातपात गर्न आउने जेठाजुका परिवारसँग मिलापत्र नगरेका कारण टोल छिमेकले समेत निर्ममतापूर्वक, क्रूरतापूर्वक एक्ल्याएको छ गुर्गीलाई । उहाँलाई धाराको पानी भर्नसमेत दिइँदैन । उहाँ पाँच मिनेट पल्तिर रहेको सहिदाको घरबाट पानी ल्याएर काम चलाउनुहुन्छ । पिउने पानीको जार खरिद गर्न कहिले मजदुरीबाट मिलेको आम्दानी त कहिले दीनदुःखीमाथि करुणा पोख्नेहरूबाट मिलेको २०–५० रुपियाँको सदुपयोग गर्नुहुन्छ ।

एकल महिला भएकै कारण निर्मला कुर्मीलाई मारिदिए भने सोही कारण आफूलाई पनि मारिदिन्छन् कि भन्ने त्रास छ गुर्गीलाई । यसैले उहाँलाई कुर्मीको न्यायका लागि बोल्न भित्रैदेखि घचघच्यायो । उसो त महिला अधिकार मञ्चको बाँके शाखाका सदस्यहरूमा गुर्गी पनि एक हुनुहुन्छ । यसले पनि उहाँलाई पीडा सहेर बस्न हुँदैन भन्ने बोध गराएको हुन सक्छ ।

गुर्गी आफ्नो घरमा ताल्चा मारेर माइतीघर मण्डलमा धर्ना बस्न आउनुभयो । श्रीमान्‌काे नाममा भएको घर उहाँको नाममा नामसारी भइसकेको छैन । “जेठाजु गाली गर्दै ‘घर फर्केर नआऊ’ भनिरहन्छन्,” गुर्गीको भनाइ छ । गुर्गीसँगै धर्ना र आन्दोलनरत महिलाहरू जेठाजुले सम्पत्ति हडप्ने मनसायले त्यसखाले व्यवहार र बोली गर्ने गरेको ठान्छन् । मञ्चको दबाब रहेको हुनाले गुर्गीमाथि पटक पटक आक्रमण गर्न जेठाजु र उनको परिवार डराएका हुन सक्ने पनि बताउँछन् ।

म बोले पो मलाई पर्दा अरू बोल्लान्

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ हिरमिनियाकी सुखरानी चमार धर्ना र आन्दोलनरत अधिकारकर्मीहरूमध्ये सबैभन्दा पाको महिला । दैनिक श्रम गरी खाने सुखरानी जस्ता महिलाले बिहान, साँझ, रात नभनी जतिखेर पनि गल्ली, दोबाटोमा हिँड्नुपर्ने हुन्छ । निर्मला कुर्मीको हत्यापछि उहाँलाई लाग्यो– गल्लीमा कसैले मारेर फालिदियो भने आफ्नो हत्यारा पनि खुलेआम हिँड्ने हो कि ! त्यही त्रासले उहाँलाई चुप रहन दिएन । अनि बादशाह कुर्मीलाई सजाय दिलाउने अठोट लिएर तेस्रो चरणको आन्दोलनदेखि उहाँ आफू पनि मिसिएको बताउनुहुन्छ ।

सुखरानी गरिब निमुखाको प्रहरी, प्रशासन, न्यायालय हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्न । निर्मलालाई न्याय दिलाउन गरिएको दुई पटकसम्मको आन्दोलन सफल र सार्थक बन्न नसकेको देखिसकेपछि उहाँलाई यस्तो लाग्न थाल्यो । भविष्यमा पनि अरू कसैमाथि पनि यस्तै हुनसक्छ तर नहोस् भनेर उहाँ एउटा आवाज थप्न धर्नामा आउनुभयो । उहाँ भन्नुहुन्छ, “आज अरूका लागि म बोले पो भोलि मलाई पर्दा अरू बोल्लान् । सम्पत्ति नहुने गरिबको आवाज नै सम्पत्ति रहेछ ।”

सुखरानीको परिवारमा दुई बुहारी, दुई छोरा र एक छोरी छन् । उहाँ र ८२ वर्षीय श्रीमान् सँगै बस्नुहुन्छ । श्रीमान्‌लाई माइतीघर मण्डलमा न्यायको लडाइँ लड्न अरू दिदीबैनीका साथमा आफू पनि जाने कुरा सुनाउँदा सुखरानीले नाइँनास्ति सुन्न परेन । उहाँले हौसला पाउनु भयो । सुखरानी भन्नुहुन्छ, “भविष्यमा हामीलाई पनि त कहिँ कतैबाट अन्याय हुन सक्छ । आज कसैको न्याय र अधिकारका लागि बोलेनौँ भने भोलि हाम्रो लागि को बोलिदिन्छ ? जाऊ, म केही भन्दिनँ, श्रीमान्‌ले यसै भन्नुभयो ।” माइतीघर मण्डलमा धर्नाका लागि आफू हिँडेदेखि घरमा रहेका वृद्ध श्रीमान्‌लाई माइली बुहारीले हेरविचार गरेको उहाँ बताउनुहुन्छ ।

सुखरानीको बास छ ऐलानी जग्गामा । उहाँका जेठा छोरा २० वर्षको हुँदा टाउकाको बिरामीले बितेका थिए ।

मजदुरी गरेर बचेको आम्दानीबाट गच्छेले भ्याएसम्म नेपालगन्जकै अस्पतालमा उपचार त गराउनुभयो तर रोगको पहिचान नै हुन सकेन । मृत्यु परम्पराअनुसार छोरालाई गाड्ने ठाउँ पाउन पनि उहाँले सङ्घर्ष गर्न पर्‍यो । गाउँकै एक जना मनकारी मान्छेले अनुमति दिएपछि उनकै खेतमा उहाँले जेठा छोराको सद्गत गर्नुभयो ।

श्रीमान्‌काे शरीरले बलको काम गर्न सक्दैन । यसैले बाहिर निस्कनुहुन्न । दम्पतीको गाँस र कपासको जोहो ७० वर्षीया सुखरानीकै जिम्मामा छ । वृद्ध शरीर आराम खोज्छ तर दैनिक मजदुरी उहाँको बाध्यता हो । नत्र साँझ बिहान घरमा चुलो बल्दैन । सुखरानीले मजदुरी गरेरै वयोबृद्ध श्रीमान्‌काे औषधोपचारको जोहो पनि गर्नुहुन्छ । सुखरानी भन्नुहुन्छ, “खर्च कटौती गरेर भए ’नि श्रीमान्‌काे लागि उपचार खर्च बचाउन कोसिस गरेकी हुन्छु ।”

ऐलानी जग्गामा फुसको छानो र माटाको देवालको घर छ । चर्पी बनाउने ठाउँ छैन । समस्या छ । उहाँ परालको थुप्रोमाथि डसना बिछ्याउनुहुन्छ । त्यसैमा पल्टिएर रात बिताउनुहुन्छ ।

निर्मला कुर्मीका शङ्कास्पद अभियुक्तबारे सुखरानी भन्नुहुन्छ, “चुनाव जिते पनि निर्मला कुर्मीको हत्यारालाई हामी नेता मान्दैनौँ । उसले प्रहरीदेखि सरकारी वकिल सबैलाई आफ्नो राजनीतिक शक्तिको बलमा प्रभावमा पारिरहेको छ ।”

न्यायका लागि बोलिरहन मन छ

महिला अधिकार मञ्चको गाउँस्तरीय सदस्य सहिदा खातुन दर्जी स्वयंसेवा गर्नुहुन्छ । आम्दानीविनाको काममा खटिरहनाको कारण एउटै छ, त्यो कामले दिने आत्मसन्तुष्टि । उहाँलाई घरभित्र होस् या बाहिर, अनेक विभेद र हिंसाका घटनाका सिकार भएका महिलाका हक र हितको पक्षमा बोल्दा, उनीहरूको न्यायका लागि सम्बन्धित निकायमा पहल गरिदिँदा सुखको अनुभूति हुन्छ ।

बिस दिनसम्म पैदल हिँडेर नेपालगन्जबाट पहिलो चरणमा माइतीघर मण्डल आइपुग्दा उहाँका गोडामा पानीफोका उठेको उहाँ सम्झनुहुन्छ । उहाँ निर्मला कुर्मीका सन्दर्भमा भन्नुहुन्छ, “सम्पत्ति हडप्न सत्ता र शक्तिमा पहुँचवाला पुरुषले एक महिलाको ज्यान लियो र राज्यले खुलमखुल्ला हिँड्न छुट दिइरहेको छ ।

यो दृश्यले मलाई खुट्टाको पानीफोका फुट्दा पोले जसरी अहिले पनि भतभती पोल्छ ।” उहाँ अझै भन्नुहुन्छ, “यसरी राज्यले उन्मुक्ति दिइरहेको अपराधीबाट हामी जस्ता महिलाको ज्यान पनि त जोखिममा छ । त्यसैले कारबाही दिलाउन र सरकारलाई दबाब दिन म माइतीघर आएँ ।”

कुराकानीका क्रममा उहाँ प्रश्न गर्नुहुन्छ, “संरचनाको पिँधमा रहेकाहरूलाई तिनको न्याय प्राप्तिको लडाइँमा सहयोग गर्न हामी कहिले प्रेरित हुने ? कसले प्रेरित गर्ने ? यो हाम्रो नैतिक जिम्मेवारी पनि होइन र ?”

पहिलो चरणको आन्दोलनका बेला आरापितले सहिदालाई आन्दोलनबाट फिर्ता बोलाउन श्रीमान्‌लाई प्रयोग गरेर धम्की दिलाएको दाबी सहिदाको छ । उहाँको दाबी अनुसार, बादशाह कुर्मीले काठमाडौँमा धर्नारत रूबी खानलाई पक्रिएर गुपचुप शैलीमा नेपालगन्ज पुर्‍याउन सक्रिय भूमिका खेलेको, आफूलाई पनि पक्राउ गर्न सक्ने भनीश्रीमान्‌लाई त्रास देखाएको र श्रीमान्‌ले ‘श्रीमती न्याय नमिलेसम्म कुनै हालतमा फिर्ता आउँदिन’ भनिदिएको छ ।

ऐलानी जग्गामा बसिरहेका सहिदाका सासू ससुराले जीवनको अन्तिम समयमा भए पनि आफ्नै नामको लालपुर्जा बनाए । सहिदाको परिवार बसिरहेको बासको जग्गा ससुराको नाममा छ । तीन छोरी, एक छोरा अनि पतिपत्नी गरी सहिदाको छ जनाको परिवार छ । कक्षा ४, ५, ६ र ७ मा सरकारी विद्यालयमा अध्ययनरत छोराछोरीहरूको कापी, कलम खर्चदेखि पेट तातो गराउने माध्यम श्रीमान्‌काे कमाइ नै हो । नेपालगन्जमा इलेक्ट्रोनिक काममा खट्ने सहिदाको श्रीमान्‌काे कमाइ भएका दिन पाँच सयदेखि एक हजार रुपियाँसम्म आम्दानी हुन्छ ।

“अन्न फलाउन जग्गा छैन । घर खर्चमा थपथाप हुन्छ भनेर बाख्रा पाल्न थालेको । भर्खरै ब्याएको एउटा बाख्रोले दुई पाठापाठी जन्मायो तर हेर्ने मान्छे नभएको र गतिलो स्याहार नपाएपछि चिसोका कारण १५÷२० दिनको पाठी मरेको खबर आयो ।” माइतीघर मण्डलमा धर्ना बस्दै उहाँले भन्नुभयो ।

औपचारिक अध्ययन गर्न नपाएकी ३५ वर्षीया सहिदाको पढ्ने रहर जागै छ । तर, भन्नुहुन्छ, “श्रीमान्‌काे एक्लो मिहिनेत र कमाइले पुगे पो !” उहाँका अनुसार, पहिलोपल्ट माइतीघर मण्डलमा आउँदा आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका सहभागीहरूले सहिदाहरूलाई आफ्नो नाम लेख्नसक्ने बनाएका थिए । अहिले लेखेरै हाजिरी जनाउन सक्नुहुन्छ ।

महिलाविरुद्ध हुने अन्याय, हत्या र हिंसाका घटनामा न्यायका लागि अहिले मात्र होइन भविष्यमा पनि बोलिरहन मन लागेको उहाँ बताउनुहुन्छ ।

न्याय नपाई नफर्कने एउटै सर्त

घर केही टाढा भए पनि निर्मला कुर्मी र आबदा खातुन दर्जी बस्ने वडा एउटै थियो । निर्मलाको शङ्कास्पद मृत्यु भएपछि आबदा चुप रहन सक्नुभएन । उहाँका अनुसार, उहाँ पहिलो चरणमै बिसदिने पैदलयात्रा गरेर माइतीघर मण्डलमा आइपुग्नुभएको रहेछ । “त्यहाँदेखि अहिलेसम्म कुर्मीलाई न्याय दिलाउने आन्दोलनमा लागेको छु । उनलाई न्याय नमिलुन्जेल मैले बोल्न छाड्दिनँ ।” पहिले आफूलाई श्रीमान्‌ले नै जान भनेर अह्राएको र अहिले आफैँ अघि लागेर धर्नाका लागि काठमाडौँ आएको आबदाको भनाइ छ ।

महिला अधिकार मञ्चको गाउँस्तरीय सदस्यको रूपमा १२ वर्षदेखि सक्रिय आबदा भन्नुहुन्छ, “गाउँस्तरमा २५ जनाको सहभागिता रहेको समूहका प्रत्येक सदस्यले मासिक एक सय रुपैयाँ बचत गर्छ । पान÷सुपारी खानेहरूले समेत त्यसको खर्च बचाएर बचतको बानी बसालेका छन् । आजकल आवश्यक परेका महिलाले बचतबाट दुई रुपियाँ ब्याजदरमा ऋण लिएर सदुपयोग गर्छन् ।”

नेपालगन्जकी आबदाका अनुसार, बिहे भारतमा भएको भए पनि श्रीमान्‌काे आर्थिक स्थिति बलियो नभएकाले माइतीले नेपालगन्जमै जग्गा किनिदिए । त्यही जग्गामा बसाइ छ । विवाहित छोराहरू इलेक्ट्रिक सामानको व्यापार गर्छन् । ९ कक्षा पढेकी जेठी छोरीलाई १८ वर्षको उमेरमै बिहे गरिदिनुभयो । ४५ वर्षकी आबदाले ११ कक्षा पढिरहेकी कान्छी छोरीलाई भने १२ कक्षासम्म पढाउने सोचिरहेको बताउनुभयो ।

आबदाको भनाइमा निर्माणको काम गर्ने श्रीमान् र मदरसा शिक्षाको ट्युसन पनि पढाउने कान्छी छोरीको कमाइको भरमा घरखर्च चलेको छ । “यसपालि गहुँ छरेर आन्दोलनमा आएको,” उहाँ भन्नुहुन्छ, “आफ्नो एक कट्ठा जग्गा छ, त्यसमा धान, गहुँ लगाउँछु तर त्यसले वर्षभरि ढुक्कले खान पुग्दैन ।”

दाजुभाइमार्फत आरोपीले धाकधम्कीको सूचना पठाउने गरेको आबदाको दाबी छ । उहाँ भन्नुहुन्छ, “आफ्नी दिदीलाई आन्दोलनबाट फिर्ता आउन भन्नू नत्र राम्रो हुँदैन भन्ने !” उहाँका अनुसार, यता महिलाहरूले नेपालगन्जबाट पैदल यात्रा थालेर माइतीघरमा प्रदर्शन जारी राख्दा उता बादशाह पक्षले चोकमा बसेर सबै महिलाका परिवारलाई ‘आ–आफ्ना श्रीमतीहरूलाई बोलाइहाल्न’ उर्दी जारी गरे । “आरोपीले सबैमा त्रास पैदा गर्न ‘रूबी खानलाई आन्दोलन गर्दै गर्दा कैदमा बन्द गराइदिएको र अन्य महिलाहरूको पनि त्यही हविगत बनाइदिनसक्ने तागत आफूमा भएको’ भनाइ जोडका साथ दोहोराए । तर, आन्दोलनरत महिलाका परिवार, श्रीमान्, छोराछोरी र बुहारी डगमगाएनन्,” उहाँ थप्नुहुन्छ, “उनीहरू महिलाका माग र निर्मला कुर्मीमाथि भएको अन्यायविरुद्ध बोल्नैपर्छ भन्नेमा एकमत थिए, साथ पनि दिइरहेका छन् ।”

आबदाका अनुसार, मस्जिदमा नमाज पढ्न गएका आबदाका छोराहरूमाथि मुस्लिमहरूबाटै भौतिक आक्रमण भयो र चोट पुर्‍याइयो । बादशाहले मुस्लिम–मुस्लिमबिच विवाद उत्पन्न गराउन पछाडि बसेर भूमिका खेलको दाबी आबदाको छ । आफ्नै बाउबाजेले जग्गा दिएर बनाएको मस्जिदमा सुरुदेखि नै मस्जिद व्यवस्थापन समितिको अध्यक्ष रहेका आबदाका भाइ हुँदाहुँदै बादशाहले नयाँ अध्यक्ष उभ्याएपछि झगडा भएको र झगडा भएपछि माइतीघरको आन्दोलन बिचमै छोडेर महिलाहरू फिर्ता जान्छन् भन्ने मनसाय बोकेर बादशाहले मस्जिदमा विवाद गराएको अनुमान आबदा र सहकर्मीहरूको छ ।

सहकर्मीहरूका अनुसार, माइतीघर मण्डलमा रहेकी आबदा तत्काल त आत्तिनुभयो्, बेहोस हुनुभयो । पछि आफूलाई झन् बलियो बनाउनुभयो । माइतीघर मण्डलमा न्यायिक मागप्रति ऐक्यबद्धता राखेर सामेल हुन आउनेहरूको आडभरोसा, सहानुभूति र सहयोगले आफू बलियो भएको आबदाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “न्याय नपाइकन नफर्कने एउटै सर्त छ ।”

पैसावालले पैसा छरेर मत किन्यो !

नेपालगन्जबाट पाँच सय किलोमिटरभन्दा बढी हिँडेर काठमाडौँको माइतीघर मण्डल आउनेमा सलिमुन निसा बेहना पनि हुुनुहुन्थ्थ्यो । निर्मला कुर्मीको न्यायका लागि हिँडेकी उहाँका कुर्कुच्चा चरचरी फुटेर रगतपच्छे भएका थिए । ३५ वर्षकी उहाँले यसअघि नन्कुन्नी धोबीको मृत्युलाई आत्महत्या करार गर्ने पात्रहरूको खोजी गरेर कानुनी कठघरामा उभ्याउनुपर्ने माग पनि उठाउनुभएको रहेछ । वर्षौं यातना सहेकी र एक दिन पासोमा झुन्डिएको स्थितिमा मृत भेटिएकी नन्कुन्नीको श्रीमान्‌लाई अदालतले आत्महत्या दुरुत्साहनको फैसला गर्दै पाँच वर्ष र जेठाजुलाई आठ महिनाको कैद सजाय तोकिदियो । उहाँका अनुसार, महिलाहरूले गरेको खबरदारी आन्दोलनकै कारण त्यो सम्भव भयो, नत्र दबिन सक्ने थियो । “अब पालो निर्मला कुर्मीलाई न्याय दिलाउने,” तेस्रो चरणको आन्दोलनका क्रममा माइतीघर मण्डलमा धर्नामा रहेकी सलिमुनले भन्नुभयो ।

जिल्ला र गाउँस्तरमा अढाई वर्षदेखि सक्रिय सलिमुन महिला अधिकारका लागि जहाँ जस्तो अवस्थामा पनि पुग्नुहुन्छ । अवधी भाषी उहाँको आशय छ– मासिक तलब सुविधा छैन तर अन्यायमा परेका दिदीबहिनीलाई साथ दिने मन छ, हुटहुटी छ । महिलाहरूको सुरक्षाका खातिर काम गर्न महिला अधिकार मञ्चमा जोडिएकी सलिमुन भन्नुहुन्छ, “पैसा के कोइ बात नाई है । कोही आगे बढेक चाही, कोई अच्छा बात सिखावएक चाही, इसिलिए ई बातमा मन लागत है । पैसा कय लालचमा कोई नाय आवत है, सबलोग अपने मनसे आवागा है ।” उहाँको भनाइको आशय हो– पैसाको कुनै कुरा छैन । कोही अगाडि बढ्न पर्‍यो, कसैले राम्रा कुरा सिकाउन पर्‍यो, यस्ता राम्रा कुरा गर्नमा मन लाग्छ । पैसाको लालचमा कोही पनि आएको छैन । सबै जना आफ्नो इच्छाले आएका छौँ ।

महिलाका लागि साँझ बिहान जुनसुकै समय असुरक्षित छ भन्ने विषयले आफूमा चिन्ता जगाउने सलिमुन बताउनुहुन्छ । निर्मला घटनाबाट नेपालगन्जका सचेत महिलाहरूमा राज्य महिलाको असुरक्षित जीवनप्रति हदैसम्म गैरजिम्मेवार छ भन्ने छाप परेको देखिन्छ । “न्याय माग्यो आवागवा है न्याय लेके जावा है सरकार सुनति नाही है !” उहाँको आशय छ, न्याय माग्न आएको हो, न्याय लिएरै गइन्छ, सरकार सुन्दै सुन्दैन ।

सलिमुन प्रश्न गर्नुहुन्छ, “हम लोग निर्मला खातिर नबोलाजाई तो हमरे लोगनके लडका बिटिया खातिर को बोली ?” उहाँको आशय छ, हामी निर्मलाका लागि बोलेनौँ भने हाम्रा छोराछोरीको लागि को बोल्छ ?

सलिमुनलाई ४० वर्षीय श्रीमान्‌काे पुरापुर साथ रहेछ । उहाँका अनुसार, माइली छोरी ९ मा र कान्छी छोरी ८ कक्षामा पढ्छन् । ८ वर्षका कान्छा छोरा पनि दिदीहरूसँगै सरकारी स्कुलमै जान्छन् । जेठी छोरीबाट उहाँ अहिले नातिनीको हजुरआमा पनि बनिसक्नुभएको छ ।

खेतीबारीको काममा जाने सलिमुनसँग अन्न फलाउन आफ्नै भूमि छैन । घर खर्चका लागि हुर्किएका छोराले रिक्सा चलाउने र मधुमेहको औषधी खाइरहेका श्रीमान्‌ले मिस्त्रीको काम गर्नुपर्ने अवस्था छ । सलिमुुनको भनाइ छ– त्यो काम पनि खासै पाइँदैन । अहिले घर बनाउने काम धेरैले सिकिसकेको उहाँको ठम्याइ छ ।

माइतीघर मण्डलमा ४८ दिनसम्म पनि सरकारले वास्ता नगर्दा सलिमुनलाई राम्रो लागेन । मनमा नकारात्मक कुरा खेले । उहाँको भनाइ छ– नेपालगन्जमा सिडिओ कार्यालयमा १९ दिनसम्म धर्ना बस्यौँ । निर्मलालाई न्याय मिलेन । काठमाडौँमा सरकार छ भन्ने भरोसामा गुहार्न आएको हो । अब सरकार नै पिठ्युँ फर्काइरहन्छ भने हामी कहाँ जाने ? हामी गरिब नागरिकलाई सरकारले नसुन्ने हो कि ! त्यसो हो भने यो सरकार रूपियाँ पैसावालाको मात्रै हो ?

सलिमुनका अनुसार, प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएपछि आफ्नो घरमा भोट माग्न आएका बादशाहलाई सलिमुनले ‘हुन्न’ भन्न सक्नुभएन, भोट दिने वचन दिनुभयो । बादशाहले जितेपछि भने उहाँ र उहाँ जस्ताहरूको निष्कर्ष रह्यो– पैसावालले पैसा छरेर मत किन्यो !

न्याय नलिई रित्तो हात नफर्किने अडानमा

डुडुवा गाउँपालिका वडा नम्बर ६ की गीता कुँवर चार सन्तानकी एकल अभिभावक हुनुभएको चार वर्ष भयो । ३१ वर्षकी उहाँका एक छोरी र तीन छोरा छन् । चार वर्षअघि गीताका श्रीमान्‌काे मृत्यु भयो । गीताका अनुसार, श्रीमान्‌काे फोक्सोमा प्वाल परेको थियो । उहाँले सकेजति उपचार त गराउनुभयो तर श्रीमान्‌लाई बचाउन सक्नुभएन ।

गीताले पढ्न पाउनुभएन । उहाँका अनुसार, आफू पाँच वर्षकी हुँदा नै आमाले अन्तै बिहे गरेर जानुभयो । त्यसपछि पढ्न पाउने कुरै भएन । बाबुले सानै उमेरमा बिहे गरेर श्रीमान्‌काे घर पठाइदिनुभयो । गीता गरिबीमै जन्मनुभयो, गरिबीसँगै जुधिरहनुभएको छ । उहाँको पनि आफ्नो जमिन छैन ।

गीताका अनुसार, उहाँले जमिनवालाको जमिनमा मजदुरी गर्नुहुन्छ । छोराहरूले निर्माणका काममा ज्यालामजदुरी गर्छन् । यसैगरी परिवारको खर्च धानिँदै आएको छ । गीताले छोरीलाई ५ कक्षाभन्दा बढी पढाउन सक्नुभएन । छोरीले भर्खरै १६ वर्षमा टेकेकी थिइन् । उहाँका अनुसार, परिवारको सहमतिमा छोरीको विवाह आफ्नै भान्जासँग गरिदिएको हो ।

यसैबिच, महिला अधिकार मञ्चले गीतालाई निर्मला कुर्मीको न्यायका लागि थप एक आवाज बन्न आग्रह गर्‍यो । उहाँले अभिभावक मानेका जेठाजु जेठानीलाई के गरौँ भनी सोध्नुभयो । गीताको परिवारलाई साथ र सहयोग दिँदै आउनुभएका उहाँहरूले न्यायका लागि आवाज उठाउने कुरामा पनि हौसला दिनुभयो । धर्नामा जाँदा छोराहरूको जिम्मा आफूले लिने विश्वास पनि दिलाउनुभयो । उहाँ भन्नुहुन्छ, “यसैले विनासुर्ता न्यायको आन्दोलनमा सहभागी हुन पाएको छु ।”

बाँकेको मान्छे माघको जाडोमा काठमाडौँको खुला ठाउँमा धर्नामा बस्नु सजिलो थिएन । माइतीघर मण्डलको माघे चिसोका कारण गीताको शरीरमा ज्वरो चढ्यो । ज्वरोमै पनि उहाँ न्याय नलिई रित्तो हात नफर्किने अडानमा देखिनुभयो ।

जति काम गरे पनि हातमुख जोर्नै मुस्किल

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ की बानी चमार २५ वर्षको उमेरदेखि दुई छोराछोरीकी एकल अभिभावकमा परिणत हुनुभयो । उहाँका श्रीमान् छ वर्षदेखि यो संसारमा हुनुहुन्न । उहाँका अनुसार, मुटु दुख्ने बिमारले थलिएका श्रीमान्‌लाई गाउँछिमेकमा चन्दा–सहयोग मागेर नेपालगन्जमा रहेको भेरी अस्पताल, क्षयरोग अस्पताल सबैतिर उपचार गराउँदा पनि बचाउन सकिएन । भन्नुहुन्छ– “नेपालगन्जमा बिमारको पहिचान हुन सकेन । काठमाडौँ ल्याइपुर्‍याउन विकल्प भएन ।”

नेपालगन्जको मधेसी समाजकी बानी श्रीमान् जिउँदोजाग्दो छँदा घरबाहिर निक्लनुभएन । श्रीमान्‌ले ठेला धकेलेरै पनि श्रीमती र सन्तान पाल्नुपर्ने धारणा थियो । यसैले उहाँको भागमा घरधन्दाको काम पर्‍यो । घरधन्दामै सीमित रहेकी बानीले श्रीमान्‌काे मृत्युपछि भने एकाएक घरबाहिरको श्रम बजारमा प्रवेश गर्नुपर्‍यो । घर खर्च चलाउनका लागि पनि उहाँ आफूले घरको सङ्घार नाघ्न कर लागेको बताउनुहुन्छ ।

बानीका अनुसार, माटाको देवाल ठड्याएर बनाएको फुसको घर थियो, त्यो पनि एक दिन जल्यो । त्यसपछि छिमेकीको पहलमा वडा कार्यालयबाट टिन ल्याइयो र छाना लगाइयो । बानीको आफ्नो जमिन छैन । उहाँ भन्नुहुन्छ, “खेतीपाती छैन । साँझ बिहान छाक टार्न, छोराछोरीलाई कापी कलम जुटाउन मजदुरी एउटै विकल्प छ ।” उहाँका अनुसार, जग्गा हुने ‘बडे आदमी’ हरूको घरमा मजदुरी गर्नुपर्छ । जग्गा भएका कुर्मी, यादव, सिंह, ठाकुर, बागवानहरूका खेतबारीमा पसिना बगाएर पेट पाल्ने गर्नुहुन्छ । उहाँले के काम गर्ने त्यसको कुनै ठेकान छैन, घर निर्माणको कामदेखि इँटा भट्टामा इँटा बोक्नजाने र अरू पनि जे जति काम मिल्छ, त्यो उहाँले गर्नुहुन्छ ।

“काम गर्दागर्दै पनि हातमुख जोर्न मुस्किल मुस्किल छ,” बानी भन्नुहुन्छ, “कहिलेकाहीँ माइती दाजुभाइ दिदीबैनीले नै चामल, नुन, तेल ल्याएर छोडी जान्छन् ।” उहाँले आफ्नी छोरीलाई माइतीमै छाड्नुभएको छ । बेलाबखत माइतीबाट रासन लिएर आफूले घरमा चुलो बाल्ने गरेको उहाँ बताउनुहुन्छ । सासू ससुरासहितको संयुक्त परिवारमा रहेकी उहाँका १३ वर्षीय छोरा सरकारी स्कुलमा पढिरहेका छन् ।

माइतीघर मण्डलमा धर्नारत बानीका अनुसार, उहाँ दोस्रो चरणदेखि नै निर्मला कुर्मीको लागि न्यायको आन्दोलनमा सक्रिय भएर लाग्नुभएको हो । उहाँ आफूले आरोपीको धम्की र थर्काइ सुन्नुपरे पनि परिवारले आफूलाई नरोकेको बताउँदै भन्नुहुन्छ, “परिवारले मलाई रोकेको छैन । यसैले मलाई न्यायको आन्दोलनमा होमिनलाई सजिलो भएको छ ।”

केही शङ्का, डर र विश्वासका साथ लड्दै

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ बकौलीकी माकरून निसा दर्जीका दुई छोरा र दुई छोरी छन् । ३० वर्षीया माकरुन भन्नुहुन्छ, “आफ्ना पनि छोरीहरू छन् । श्रीमान् छन् । आज निर्मला कुर्मीको घरमा घटना घटाउनेले भोलि हाम्रो घरमा उही व्यवहार नगराउला भनेर कसले भन्न सक्छ ?” उहाँलाई यही प्रश्नले बेलैमा सचेत बनायो र भित्रैदेखि नराम्ररी घच्घच्यायो ।

तेस्रो चरणदेखि आन्दोलनमा आफू पनि सहभागी भएको बताउने माकरूनका अनुसार, आरोपीलाई कानुनी कठघरामा नउभ्याउन्जेल चैनले बस्न सकिँदैन । उहाँले माइतीघर मण्डलमा न्यायका नारा गुन्जाउँदै धर्ना बस्दा उहाँका श्रीमान् रमजान दर्जीले घरको रेखदेखदेखि बालबच्चाको स्याहारसुसारको जिम्मेवारी निर्वाह गर्नुभएको रहेछ । उहाँका अनुसार, नेपालगन्जबाट माइतीघर मण्डलमा धर्ना बस्न जाने आफ्नो प्रस्तावमा रमजानले कुनै प्रकारको आपत्ति जनाउनुभएन ।

नेपालगन्जको ऐलानी जग्गामा माकरूनको परिवारको एककोठे सानो ‘घर’ छ, टिनको छानो भएको । त्यही घरमा चार सन्तानसहित छ जनाको परिवार बस्छ । सरकारी स्कुलमा १ देखि ५ कक्षामा पढ्ने चार छोराछोरीको लागि कापी र कलममा अलि बढी खर्च गर्नुपर्ने उहाँ बताउनुहुन्छ । “ड्रेस र झोला पनि जुटाउनै पर्‍यो,” उहाँ थप्नुहुन्छ, “तर, श्रीमान्‌काे मजदुरीले छोराछोरीलाई स्कुलको खाजा खान पुग्दैन । एक ज्यानको कमाइमा छ ज्यान पालिनु छ ।”

आफू पनि घरबाहिर काम गर्न जाने कुरा गर्दा श्रीमान् हच्किने बताउँदै माकरून भन्नुहुन्छ, “बुढाले समाजले देख्छ र हँसीमजाक उडाउँछ भन्छन् ।” उहाँका अनुसार, ‘श्रीमतीलाइ काम गर्न पठायो, तँ मेहरा (हिजडा) भइस्, तैँले श्रीमतीलाई कमाएर खुवाउन सकिनस्’ भन्ने सुन्न नपरोस् भनेर श्रीमान्‌ले आफूलाई घरबाहिरको काममा जान नदिएको हो ।

माकरूनका श्रीमान्‌ले फूलबारी, खेतीपातीदेखि निर्माणको काम गर्नुहुन्छ । “श्रीमान्‌बाट महिनामा लगभग १५ हजार रुपियाँको आम्दानी हुन्छ भने परिवारको खर्च १२ हजार रुपियाँ भेट्छ । बचत गर्न खासै पुग्दैन,” उहाँ भन्नुहुन्छ ।

सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीले पाउने दिवा खाजाले आफ्ना छोराछोरीलाई पनि लाभ मिलेको छ जस्तो लाग्छ माकरूनलाई । आफ्ना छोराछोरीले वर्षको चार सय रुपियाँको दरले छात्रवृत्ति पाइरहेको पनि उहाँ बताउनुहुन्छ ।

माकरूनका अनुसार, उहाँ माइतीघर मण्डलमा धर्ना बस्दै गर्दा उता श्रीमान्‌ले काम गर्ने ठाउँका साथीहरूले ‘श्रीमतीलाई आन्दोलनमा नहिँड्न, घर फिर्ता बोलाउन’ सुझाएछन् । उनीहरूले ‘बादशाह कुर्मी जस्ता शक्तिशाली मान्छेहरूसँग माकरून जस्ता शक्तिहीनका परिवारले लडाइँ लड्नु दुस्मनी निम्त्याउनु हो ।’ पनि भनेछन् । उहाँका श्रीमान्‌का सहकर्मीहरूले ‘आज निर्मला कुर्मीको घर ध्वस्त पार्नेले भोलि आन्दोलनकारीहरूकै घरमा आगो झोस्न सक्छ’ भनेर डर पनि पैदा गर्न खोजेछन् । यी सब कुरा बताउँदै गर्दा माकरून केही शङ्का, केही डर र केही विश्वासका साथ माइतीघर मण्डलमा न्यायको लडाइँ लडी नै रहनुभएको थियो ।

निर्मलालाई न्याय र आफूलाई सुरक्षित आवासको अपेक्षा

ककयी चमार ४६ वर्षकी हुनुभयो । घरमा दम र घुँडाको बिमारी श्रीमान्‌लाई छाडेर उहाँ पनि नेपालगन्जदेखि काठमाडौँको माइतीघर मण्डलसम्मको यात्रामा सहभागी हुनुहुन्थ्यो । ५८ वर्षीय बिरामी श्रीमान्‌लाई छाडेर धर्नामा लाग्न उहाँलाई केले प्रेरित गरेको होला ? भन्नुहुन्छ, “दिदीबहिनी, छोरी त आफ्ना पनि छन् । यिनकै जीवनमा पनि निर्मला कुर्मीको जस्तै घटना नदोहोरिन के बेर ! कुर्मीलाई जे भयो भोलि ममाथि पनि त त्यही हुन सक्छ !” यही तर्कनाले आफूलाई निर्मला कुर्मीमाथि गरिएको अन्यायका विरुद्धको अभियानमा सहभागी हुन प्रेरित गरेको उहाँ बताउनुहुन्छ ।

ककयीका अनुसार, परिवारमा दुई छोरा, चार छोरी, बुहारी र दुई नातिनातिना छन् । उहाँ तरकारी, अन्न लगाउने, भित्र्याउने काम गर्नुहुन्छ । भन्नुहुन्छ, “घरभित्र जे आउँछ छोराहरूको कमाइ र आफ्नै पाखुरीको बलमा आउँछ ।” उहाँको आम्दानीले श्रीमान्‌काे उपचार गर्न नपुग्ने भएकाले राम्रो उपचार हुन नसकेको उहाँको दुखेसो छ । ६ कक्षा पढ्दै गरेकी सानी छोरी सरकारी स्कुलमा छन् । देहातको ज्यालादारी श्रमले निजी विद्यालयको खर्च धान्न नसक्ने उहाँको भनाइ छ ।

ककयीको परिवार एक वर्षयता त्रिपाल टाँगेर बसिरहेको छ । उहाँको फुसको छानो भएको ककयीको घर एक वर्षअघि जल्यो । बिहे भएर आउँदाका दिन र आफू भित्रिएको घरको सम्झना गर्दै भन्नुहुन्छ, “सासू ससुरा पनि फुसकै घरमा थिए ।” दुस्मनी पालेको कसैले चुरोट सल्काएर घरको छानोमा फालेको उहाँको अनुमान छ । “वर्षामा चुहिए पनि हिउँदमा काम चलेको बास मात्र होइन सबथोक खरानी बन्यो । माटोको देवाल मात्र बाँकी थियो । बर्सातको झरीले घरको माटेभित्तो पगाल्यो र ढल्यो,” उहाँ सुनाउनुहुन्छ । पाको इँटको देवाल सहितको बास खडा गर्ने उहाँको सपना पूरा भएको छैन । भन्नुहुन्छ, “सानो आम्दानीले पेट पाल्ने कि घर बनाउने ?”

निर्मला कुर्मीको न्याय ककयीको पहिलो अपेक्षा थियो । आफू जस्ता भूमिहीनका लागि सरकारले सुरक्षित आवासको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उहाँको दोस्रो अपेक्षा थियो । सरकारको जनता आवास कार्यक्रम वास्तविक आवासविहीन सीमान्तकृत ककयी चमारहरूकहाँ पुग्न बाँकी देखिन्छ । उहाँ विकृतिको उदाहरण दिँदै असन्तुष्टि प्रकट गर्नुहुन्छ, “बिल्डिङमा बस्नेहरूले आवास कार्यक्रमको नाजायज फाइदा लिन आफैँ फुसको छानो लाएर छाप्रा बनाउँछन् र सरकारी सुविधा लिन्छन् । हामी जस्ता वास्तविक व्यक्ति वा नागरिकहरू सधैँ वञ्चित !”

ककयीका अनुसार, उहाँको बस्तीमा यस्ता अरू परिवार पनि छन् जसले फुसको छानोमुनि जीवन बिताइरहेका छन् । त्यहाँ सरकारी अध्ययन र अनुगमन टोली पुग्दैन । “आवास कार्यक्रमका सूचना र सुविधा नेता र तिनका आसपासमा रहेकालाई पुग्छ तर हामीहरू पत्तो पाउँदैनौँ,” ककयी थप्नुहुन्छ ।

माइतीघर मण्डलमा भएको न्यायिक आन्दोलनमा सहभागी हुन ककयीलाई परिवारको रोकावट थिएन । आफू धर्नामा बसिरहँदा जेठा छोराले मजदुरी गरिरहेको र त्यतिबेला ‘घरको भान्सा तिनै छोराबुहारीले चलाएको’ उहाँको भनाइ थियो ।

न्यायविना धर्ना नछोड्ने अठोट

गीता चमार एकल महिला हुनुहुन्छ । उहाँले १२ वर्षअघि ३५ वर्षको उमेरमा श्रीमान्‌लाई गुमाउनुभयो । उहाँका अनुसार, दुःखसुख गरेर छोरीलाई आफूले हुर्काउनुभयो र बिहेमा सयकडा १० ब्याजदरमा डेढ लाख ऋण खोजेर दहेज पनि दिनुभयो । उहाँका २० वर्षीय छोरा मजदुरी गर्न मलेसिया गएका रहेछन् । “छोरो मलेसिया गएको तीन महिना भयो,” उहाँ भन्नुहुन्छ ।

गीता घरको आर्थिक अवस्था कमजोर भएको बताउनुहुन्छ । छोरा विदेश जानाको कारण पनि यही हो । उहाँ भन्नुहुन्छ, “बटैया गरेर कमाएको जग्गाको उब्जनीको आधा जग्गाधनीलाई दिनुपर्‍यो, आधा आफूलाई । त्यतिले खान पुग्दैन ।” यसैले पाँच प्रतिशत ब्याजदरमा ऋण लिएर छोरालाई विदेश पठाएको, आफूले ज्यालामजदुरी गरेर ब्याजसहितको ऋण चुक्ता गरेर उग्रेको पैसाले घर खर्च चलाउने गरेको उहाँको भनाइ छ ।

गीता नेपालगन्जबाट काठमाडौँको माइतीघर मण्डलमा धर्ना बस्न समूहमै आउनुभयो । धर्ना स्थलमा उहाँ ‘कब तक हिंसा सहि सरकार, अबतौ न्याय दैहेव, हमार निर्मला कुर्मीको न्याय देव, महिला हत्या करे वाल होशियार चुप बैठे सरकार खबरदार !’ जस्ता नारा लगाइरहेको अवस्थामा पनि भेटिनुभएको थियो । मिलेर लड्ने हो भने मारिएको व्यक्तिलाई न्याय दिलाउन सकिन्छ भन्ने उहाँको अनुभव र विश्वास छ ।

छिमेकी विद्याकी बहिनी नन्कुन्नी धोबीको घटनाबाट आफूले यस्तो अनुभव गरेको गीताको भनाइ छ । सो घटनाबारे उहाँ भन्नुहुन्छ, “नन्कुन्नीमाथि श्रीमान् र परिवारका सदस्यले वर्षौंसम्म चरम यातना दिने गरेको थाहा थियो । एक दिन परिवारले ‘नन्कुन्नीले आत्महत्या गरेको’ खबर दियो ।” त्यसपछि ‘आत्महत्या नभएर हत्या गरिएको’ भन्दै नन्कुन्नीको न्यायका लागि अरूसँगै आफू पनि आन्दोलनमा लागेको गीता बताउनुहुन्छ ।

गीताका अनुसार, नन्कुन्नीको माइतीपक्षले बाँके जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी कसुरको जाहेरी दिएपछि मुद्दा चल्यो । फैसला पनि भयो । अदालतले आत्महत्या दुरुत्साहनको अपराधमा नन्कुन्नीका श्रीमान्‌लाई पाँच वर्ष कैद सजाय दियो । अहिले नन्कुन्नीका श्रीमान् जेलमै रहेको र जेठाजुले आठ महिनाको कैद सजाय भोगिसकेर जेलबाट निस्किएको उहाँ बताउनुहुन्छ ।

निर्मला कुर्मीलाई न्याय दिलाउने यात्रा भने लामो रह्यो । गीताका अनुसार, पैदलयात्राबाट थालिएको पहिलो चरणको आन्दोलनदेखि दोस्रो र तेस्रो चरणको आन्दोलनमा भाग लिनुभयो । उहाँ माइतीघर मण्डलमा रहेका बेला छोरालाई आरोपीको नातिले पटक पटक ‘हजुरबा डेन्जर भएकाले आमालाई न्यायको आन्दोलनमा नजान, माइतीघरमा धर्ना गर्न नदिएर नेपालगन्ज फिर्ता डाक्न’ भनी धम्काएका रहेछन् । छोराले बेलीविस्तार लगाएपछि आफूले ‘धम्काउन देऊ ! म कुनै पनि हालतमा बिचैमा आन्दोलन छोडेर आउँदिनँ’ भनिदिएको गीताको दाबी छ । उहाँ भन्नुहुन्छ, “बादशाहको नातिले मेरो ससुरालाई पनि ”“बुहारी फिर्ता बोलाउन’ ठाडो आदेश दिएछ । तर, ससुराले ‘बुहारी आउँदिन’ भनिदिएको पनि मलाई थाहा छ ।”

गीतालाई छोरा, बुहारी र ससुराले साथ र भरोसा दिएका कारण न्यायको यात्रामा लाग्न सजिलो भएको रहेछ । उहाँ भन्नुहुन्छ, “छोरा, बुहारी सबैले न्यायालयमा गएर न्याय लिएर मात्र आऊ भनेका छन् ।” उहाँ निर्मलालाई न्याय नदिलाई माइतीघर मण्डलको धर्नाबाट टसमस नहुने अडानमा देखिनुहुन्थ्यो ।

नत्र त मागको सुनुवाई हुनुपर्ने !

खतुना निसा बेहना तीन सन्तानकी आमा हुनुहुन्छ । उनीहरू १४ देखि २० वर्षका छन् । सन्तानको रेखदेख ४० वर्षीय श्रीमान् मोहम्मद हुसेन बेहनाले गर्नुहुन्छ । खतुना र श्रीमान् दुवैले श्रम बेचेर परिवारको खर्च धान्दै आउनुभएको छ । ३५ वर्षीय खतुनाका अनुसार, १२ कक्षामा पढ्दै गरेको छोरा पनि काममा जान्छ । श्रीमान्‌काे सहयोग र सहमति भएकैले आफू निर्मला कुर्मीको न्यायका लागि नेपालगन्जबाट काठमाडौँको माइतीघर मण्डलसम्म आएर धर्ना दिन सकेको उहाँको भनाइ छ ।

खतुनाका अनुसार, साढे दुई वर्षअघि उहाँ महिला अधिकार मञ्च बाँकेमा तालिमका लागि जाँदा मञ्चको कार्यालयमा निर्मला कुर्मी आउनुभएको थियो । निर्मलाले त्यतिबेला बादशाहबाट ज्यान जोखिममा रहेकोले आश्रय दिन र आवश्यक सहयोग गरिदिन भन्दै निवेदन दिनुभयो । खतुना भन्नुहुन्छ, “त्यसैबेला निर्मलासँग मेरो चिनजान भयो ।” चिनजानको लगत्तैजसो निर्मला हराएको, सोधपुछ गर्दा कहिले ‘दोस्रो बिहे गरेर भारतमा हनिमुन गएको’, कहिले ‘स्तन क्यान्सरका कारण भारतमा उनको मृत्यु भएको’ हल्ला फैलिएको उहाँ बताउनुहुन्छ ।

‘फेरि कसैमाथि आफ्नै छिमेकमा भएको जस्तै अर्को घटना दोहोरिन नपाओस्’ र ‘आन्दोलन गरेरै भए पनि शङ्कास्पद आरोपीलाई कानुनको दायरामा ल्याउनुपर्छ’ भन्ने लागेर आफू तीन चरणकै आन्दोलनमा सहभागी भएको खतुनाको भनाइ छ ।

“सरकारले महिलाको सुरक्षा गर्नुपर्नेमा, महिलामाथि अन्यायपूर्ण व्यवहार गर्नेलाई कानुनी कठघरामा उभ्याउनुपर्नेमा उल्टो आरोपीलाई सुरक्षा र पहरा दिएको छ,” खतुना भन्नुहुन्छ, “मनमा सरकारप्रति अविश्वास बढेको छ तर हामी थाकेको छैन ।”

श्रीमान्‌ले छिमेकमा आँखै अगाडि कोही महिलामाथि कोही पुरुषले अत्याचार गर्छ भने चुप रहन हुँदैन । न्यायका निम्ति नबोल्नु पाप हुन्छ भन्दै घर सम्हाल्ने वचन दिएर आफूलाई माइतीघर मण्डलमा धर्ना दिन पठाएको भनाइ खतुनाको छ । “आउने दिनमा कोही निर्मला कुर्मीमाथि अत्याचार नहोस् । कोही निर्धन कसैसँग डराउन नपरोस्,” उहाँ भन्नुहुन्छ, “कसैका ‘बहिन बेटिया मारी नाजाए’ ।” अनि अपराध गर्ने मनसाय भएको माननीय होस् अथवा पार्टी प्रमुखको कुर्सीमा भएको व्यक्ति होस्, कसैले पनि कुकर्म गर्ने आँट नगरोस्, डराओस् भन्ने पनि उहाँको भनाइ छ ।

यता खतुना धर्नारत रहेकै समयमा बादशाहले उहाँको घरमा वडा कार्यालयकै मान्छे पठाएको भन्ने कुरा आयो । खतुनाका अनुसार, वडाका मान्छेमार्फत श्रीमतीलाई माइतीघरदेखि बोलाउनुपर्ने नत्र रूबीलाई जस्तै झुठा मुद्दा लाएर मोहम्मदलाई पनि पक्राइदिने र फसाइदिने धम्की दिइयो । यसबारे प्रतिक्रिया दिँदै उहाँ भन्नुहुन्छ, “यसले आफू र श्रीमान् दुवैलाई छुन सक्दैन, छोएको पनि छैन ।”

धर्ना दिएको डेढ महिनासम्म सरकार चुप बसेको देख्ता खतुनालाई लागेको रहेछ, कतै निर्मला कुर्मीकै सम्पत्ति अनेक षड्यन्त्र गरेर हत्याउनेले त्यही सम्पत्ति ‘घुस’ को रूपमा सरकारी निकाय हाँक्नेहरूलाई खुवाएर पो हो कि ! माइतीघर मण्डलमा उहाँ प्रायः भन्ने गर्नुहुन्थ्यो, “सरकारले महिलाहरूलाई चिसोमै बस्न बाध्य पारेर मार्ने हो कि नत्र त मागहरूको सुनुवाई हुनुपर्ने हो ।”

न्याय नपाइन्जेल महिलाहरूका साथ लडिरहने हो

“जुन देशमा अन्यायमा परेको नागरिकले विधिपूर्वक न्याय पाउँदैन, त्यहाँ आवाज निकाल्नुपर्छ,” नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का राहुल शेष भन्नुहुन्छ । ३० वर्षीय राहुल निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलको धर्नामा सहभागी हुनुभयो । उहाँ १४ जना सहभागी भएको धर्नामा उहाँ एक मात्र पुरुष सहभागी हुनुहुन्छ । उहाँका २५ वर्षीया श्रीमती र दुई छोरी छन् । कसैले नबोलाए पनि उहाँ धर्नामा आफैँ सहभागी भएको बताउनुहुन्छ ।

राहुलका अनुसार, नन्कुन्नी धोबीको घटना उहाँको छिमेकमै भएको थियो । जिल्ला प्रशासन कार्यालय (जिप्रका) बाँकेमा उहाँको न्यायका लागि महिलाहरूले १९ दिनसम्म धर्ना दिएका थिए । त्यो बेला उहाँले महिलाहरू त्यसरी आन्दोलित हुनाको कारण के रहेछ भनी बुझ्न चासो राख्नुभयो । “कुरा बुझेपछि नन्कुन्नी र निर्मलामाथि जे भयो त्यो अन्याय भयो र भविष्यमा आफ्ना छोरीबेटी, दिदीबैनी, भतिजी, श्रीमती र आमामाथि त्यस्तो नहोस् भन्ने लाग्यो,” उहाँ भन्नुहुन्छ, “न्यायका लागि आवाज बुलन्द गर्नै पर्छ, त्यस्तो आवाजमा साथ दिनै पर्छ भन्ने लाग्यो ।” अनि महिलाहरूसँगै न्यायको यात्रामा आफू पनि सहभागी हुनथालेको उहाँको भनाइ छ ।

राहुलका अनुसार, १०५ वर्षसम्म बाँचेका बुबा बित्दा राहुल १६ वर्षको हुनुहुन्थ्यो । पाँच भाइमध्ये कान्छो राहुल माइतीघर मण्डलमा हुँदा ८० वर्षीया आमाले घरबाट फोन गरी ‘रित्तो हात नफर्किनू, न्याय दिलाइछाड्नू कुर्मीलाई’ भन्नुहुन्थ्यो । त्यतिबेला घरको कारोबारमा आफूलाई दाइहरूले साथ दिनुभएको उहाँको भनाइ छ ।

आफूले ट्रयाक्टर चलाउने भएकाले बाली लगाउने सिजनमा ट्र्याक्टरले जोत्ने, बाली, नल, पराल आदि ओसार्ने राहुल बताउनुहुन्छ । उहाँका अनुसार, तीन बिघा जग्गामा तोरी लगाउने, गहुँ छर्ने, धान रोप्ने, आलस फलाउने भएकाले बटैया गर्न पर्दैन । “आफ्नै खेतको वर्षभरिको काम र अन्नको उत्पादनले परिवारलाई खान पुग्छ,” राहुल भन्नुहुन्छ , “तर अहिले आफ्ना लागि मात्र बाँचेर के गर्ने ? यसरी महिलामाथि अन्याय बढ्दै गयो भने भोलि कसैको छोरी पनि सुरक्षित हुन सक्दैन ।”

पाँच कक्षासम्म पढेका राहुल भन्नुहुन्छ, “यो सत्को आवाज हो, सरकारको कानमा पुर्‍याउन यो आवाज अझ उँचो स्वरमा उठाउनुपर्छ । देशको अर्को नागरिकले पनि थाहा पाओस् कि यो देशमा के के भइरहेछ !”

राहुलका अनुसार, करोड रुपियाँ मूल्यको जग्गाकी मालिक्नी निर्मला कुर्मीको वंशनाशपछि सम्पत्ति आफूले हडप्न सक्ने र आफूलाई कसैले केही गर्न नसक्ने शक्तिदम्भले आरोपीले निर्मला कुर्मीलाई बेपत्ता पारेर हत्या गरेको टोल, छिमेक, गाउँले सबैको दाबी छ । “छोरीमान्छेहरूले डिग्री लिन महत्त्वपूर्ण छ,” राहुल थप्नुहुन्छ, “अनपढ मान्छेले कागजमा के लेखिएको छ थाहा पाउँदैन अनि कागजमा ल्याप्चे लगाउँदा धेरैथोक गुमाउँछ र समस्यामा पर्छ ।”

राहुलको भनाइ छ, आन्दोलनको नेतृत्व गरेकी रूबी खानलाई माइतीघरबाट गलत मुद्दा लगाएर गिरफ्तार गरी नेपालगन्जमै पुर्‍याउँदा अन्य आन्दोलनकारीहरू तितरबितर हुने अनुमान गरिएको थियो तर त्यसो भएन, आन्दोनकारीहरू डगमगाएनन् । सङ्घीयतामा स्थानीय तहमै सुनुवाइ हुनुपर्थ्याे । तर प्रहरी, प्रशासन, सरकारी वकिलको कार्यालय सबैलाई आरोपीले आफ्नो मुठ्ठीमा लिइसकेको हुँदा आफूहरू काठमाडौँ नआइ नभएको राहुलको ठहर छ । उहाँ भन्नुहुन्छ, “महिला होस् कि पुरुष जो मुसिबतमा छ उसको पक्षमा सख्त आवाज उठाउनुपर्छ । सरकारबाट न्याय दिइँदैन र नागरिक चुपचाप बस्छ भने अपराधका घटना अझै बढेर जान्छ अनि त्यहाँ पनि सरकारी संरक्षण हुन सक्छ ।”

नन्कुन्नीको मुद्दामा अदालतबाट श्रीमान्‌लाई आत्महत्या दुरुत्साहन गरेको भनी जम्मा पाँच वर्षको सजाय फैसला भएकामा राहुलको असन्तुष्टि देखिन्छ । यसको कारण खुलाउँदै उहाँ भन्नुहुन्छ, “थुनामा रहेको छ, फोन गरेर थुनाबाहिर निक्लेपछि माइती पक्षसँग ‘साटो फेर्ने’ धम्की दिन्छ ।”

महिलामाथि भएका जघन्य हिंसाका विरूद्धमा तीन पटकसम्म आन्दोलन भएको र ती सबैमा आफू सहभागी भएको राहुल बताउनुहुन्छ । “म बल्ल त ३० वर्ष बाँचेँ । न्याय नपाइन्जेल महिलाहरूसँगै लडिरहने हो,” उहाँ भन्नुहुन्छ, “नेपालमा कानुन छ कि छैन म पनि हेर्छु । सरकारको हातमा न्यायको पक्षमा लेख्ने कलम छ कि छैन मलाई त्यो हेर्नु छ ।”

निर्मला कुर्मी घटनाको प्रमुख कालक्रम

तस्विरहरू साैजन्यः पवन थापा
  • २०६२ सालमा निर्मला कुर्मीका श्रीमान् महालु कुर्मीको मृत्यु ।
  • २०६६ कात्तिकमा निर्मला कुर्मीका छोराहरूको रहस्यमयी मृत्युपछि बादशाह कुर्मीद्वारा निर्मलाका श्रीमान् र छोराको नाममा रहेको ५ बिगा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र कब्जा ।
  • २०६६ माघ १८ मा ती कागजपत्रहरू फिर्ता गराइदिन निर्मला कुर्मीद्वारा जिल्ला प्रशासन कार्यालय बाँके, स्थानीय सामाजिक संस्थासहित नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा निवेदन दर्ता ।
  • २०६६ माघ २० मा निर्मला कुर्मीमाथि बादशाहसहितको समूहद्वरा कुटपिट र अपहरण ।
  • २०६६ माघ २१ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँद्वारा बोलाइएको छलफलमा आरोपित बादशाह कुर्मी अनुपस्थित ।
  • २०६६ माघ २२ मा बादशाहविरुद्ध अधिकारकर्मीद्वारा नेपालगन्जमा विरोध प्रदर्शन । बादशाहबाट निर्मलाका कागजात फिर्ता र सार्वजनिक माफी मगाएर घटना सामसुम पार्ने प्रयास ।
  • २०७५ माघ २५ देखि निर्मला कुर्मी सम्पर्कविहीन ।
  • २०७७ मङ्सिर १ मा महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा १२ जनाविरुद्ध जाहेरी दर्ता । जाहेरीमा आठ जनाको नाम किटानी गरिएको र बाँकी चार जना नाम नखुलेका व्यक्तिहरू रहेका ।
  • २०७७ मङ्सिर १६ मा बादशाह कुर्मीको समूहले निर्मलाको अपहरण गरेको दाबी गर्दै महिला अधिकार मञ्चका केन्द्रीय सदस्य मनकुमारी गुरतालद्वारा जाहेरी दर्ता । जाहेरी दिइएको २८ दिनपछि प्रहरीद्वारा निर्मला कुर्मीको मृत्यु भइसकेको पुष्टि ।
  • २०७७ चैत २० मा १६ मङ्सिरको जाहेरीमा सुनुवाई नभएपछि प्रहरीले ठोस नतिजा नदिएको भन्दै कर्तव्य ज्यान सम्बन्धी आठ जनाविरुद्ध फेरि किटानी जाहेरी दर्ता ।
  • २०७८ भदौ १० मा प्रहरीमा बादशाह कुर्मीको बयान र जमानतमा रिहा ।
  • २०७८ असोज १ मा निर्मलाको न्यायको लागि स्थानीय अधिकारकर्मीहरूद्वारा नेपालगन्जदेखि काठमाडौँसम्म २० दिने पैदल यात्रा सुरु ।
  • २०७८ असोज २२ मा माइतीघर मण्डल केन्द्रित पहिलो चरणको धर्ना तथा आन्दोलन सुरु ।
  • २०७८ कात्तिक २ मा गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति गठन ।
  • २०७८ कात्तिक १४ मा रेग्मी समितिले बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँमार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको ।
  • २०७८ कात्तिक २२ मा निर्मला कुर्मीको जग्गा हडप्ने काममा संलग्न भएको आरोपमा प्रहरीद्वारा ६ जना पक्राउ ।
  • २०७८ कात्तिक २७ मा प्रतिवेदन कार्यान्वयनको माग गर्दै अधिकारकर्मीद्वारा जिल्ला प्रशासन कार्यालय, बाँके अगाडि धर्ना सुरु ।
  • २०७८ मङ्सिर ९ मा माइतीघर मण्डलमा दोस्रो चरणको आन्दोलन सुरु ।
  • २०७८ मङ्सिर १२ मा अन्य आरोपितहरू सरकारी वकिलको कार्यालयमार्फत हाजिरी जमानीमा छुटेका । (पछि अदालतबाट बादशाह कुर्मी र कुबर बब्बन सिंह साधारण तारेखमा रिहा)
  • २०७९ सालमा नेपाली कांग्रेस उम्मेदवार बादशाह कुर्मी बाँके ३ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित ।
  • २०७९ पुस १४ मा माइतीघर मण्डलमै तेस्रो चरणको आन्दोलन र धर्ना सुरु ।
  • २०७९ फागुन ३ गते सरकारसँगको तीनबुँदे सहमतिपछि धर्ना स्थगित ।

प्रकाशन मिति : २०८० फागुन ८ गते, मङ्गलबार


Previous articleकाठमाडौँमा ‘विश्व सामाजिक मञ्च’ (फोटो फिचर)
Next articleथारू जातिमा महिला नेतृत्वप्रति बढ्दो विश्वास