लीला पौडेल जाजरकोट जिल्लाको ‘रेडियो हाम्रो पाइला’ मा कार्यरत हुनुहुन्छ । २०६७ सालदेखि रेडियोमा आबद्ध उहाँ अहिले रेडियो स्टेशन मेनेजर हुनुहुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, कात्तिक १७ गते शुक्रबार मध्यरातको भूकम्प र कात्तिक २० गतेको परकम्पमा परी जाजरकोट र रुकुममा १५७ जनाको मृत्यु भयो । मृत्यु हुनेमा महिला/बालिका बढी छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार, जाजरकोटमा मात्रै एकसय एक जनाको मृत्यु भयो भने करिब ३४ हजार परिवारका एकलाख ८० हजार मानिस प्रभावित भएका छन् । हरेक प्रकारका बिपद्मा महिला, विशेष गरी गर्भवती, सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुन्छन् । यो कुरा सञ्चारकर्मीले समयमै उठाइदिएनन् भने ओझेलमा पनि पर्छ । बिपद्पछिको अवस्थालाई काबुमा राख्न र मानवीय क्षति बढ्न नदिन सरोकारवाला सबै पक्षले संवेदनशील भई इमानदारीका साथ आआफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । यस्तो नभएको अवस्थामा खबरदारी पनि गर्नुपर्ने हुन्छ ।
जाजरकोट भूकम्पका सन्दर्भमा महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको अवस्था के छ त ? सम्भव भएसम्म यसको जवाफ आउने गरी ‘सन्धान’ ले भूकम्प प्रभावित रेडियोकर्मी लीलालाई आफ्नो अनुभव बताइदिन अनुरोध गरेको थियो । प्रस्तुत छ, जाजरकोटस्थित ‘रेडियो हाम्रो पाइला’ की स्टेशन मेनेजर लीला पौडेलले भूकम्पको पाँचौँ दिन बुधबार टेलिफोनमार्फत ‘सन्धान’ लाई बताउनुभएको पेसागत कामसँगै व्यक्तिगत अनुभवको स्वकथन :
म जाजरकोटको खलङ्गामै रहेको ‘रेडियो हाम्रो पाइला’ एफएम ९१.६ मा काम गर्छु । जाजरकोटका दुई वटा एफएम स्टेशन ‘रेडियो खलङ्गा’ र ‘रेडियो जाजरकोट’ मा क्षति भएर प्रसारण हुन सकेको छैन । प्रविधिमा क्षति नपुगेकाले प्रसारण भइरहेको हाम्रै रेडियो हो । तर, ढुक्कले समाचार र सूचना दिन पाइएको छैन ।
भूकम्पका कारण काम गर्न साह्रै गाह्रो भएको छ । व्यक्तिगत रूपमा पनि एकदमै डर र तनाव हुने रहेछ । हामी बस्ने पनि रेडियो स्टेशन भएकै भवनमा हो । यो ढुङ्गामाटोको घर २५–३० वर्षअघि बनाएको रहेछ । पहिलो पटकको भूकम्पमा (यो) घर अलिअलि चर्केको थियो । पछि आएका ठुला परकम्पले हल्लाउँदा (हामी बसिरहेको रेडियो स्टेशन भवन) भत्किनै लागेको छ । सानो सानो परकम्प आउँदा पनि माटो र ढुङ्गा झर्छ । परकम्प आइरहेको छ ।
रिम्ना होस् कि खलङ्गा : बेहाल छ वास्तविकता
हामी दिउँसो स्थलगत रिपोर्टिङमा जान्छौँ । कहाँ कस्ता खालका समस्या छन् भनेर सोधेर ल्याउँछौँ र प्रसारण गर्छौं । कहीँ अझै पनि पाल (समेत) पुगेको रहेनछ । केटाकेटी, बुढाबुढीलाई तातो कपडा छैन । कतै भूकम्पले पहिरो गएर खानेपानी खान नमिल्ने भएको र केही ठाउँमा पानीको मूल नै सुकेको देख्यौँ । त्यही समस्या (भूकम्प) प्रभावितहरूले हामीसँग राख्नुहुन्छ । त्यस्ता समस्या ल्याएर रेडियोमा प्रसारण गर्छौं र हामी सम्बन्धित निकायलाई जानकारी गराउँछौँ । उहाँहरूले पनि ‘तपाईंको रेडियोबाट जानकारी पायौँ, त्यहाँ राहत पठाउँछौँ, आवश्यक सामग्री पठाउँछौँ’ भन्नुहुन्छ । हामीले गरेको रिपोर्टिङकै आधारमा आवश्यक सामग्री पठाएको पनि पाएका छौँ । तर, … (अवस्था सन्तोषजनक छैन ।)
हिजो म भेरी नगरपालिकाकै रिम्ना भन्ने ठाउँमा पुगेको थिएँ । रिम्ना नजिकै करिब ६० घरधुरीले पाल पाएका रहेनछन् । यो दलित र जनजाति बढी भएको बस्ती हो । हामी रिपोर्टिङका लागि जाँदा त राहत लिएर आयो भनेर सबै जम्मा भए । बाहिर बसेर करोड–करोडको सहयोग वा राहत आयो भनेर समाचारहरूमा देखिरहनुभएको छ । यहाँको वास्तविकता अर्कै छ । बालबालिका, बुढाबुढीलाई निमोनिया हुन थालिसक्यो । सुत्केरी र नवजात शिशुहरू पनि रातभरिको चिसोले बिरामी पर्न थालिसके । यो मैले भनेको सदरमुकाम खलङ्गाकै अवस्था हो ।
बजिरहन्छ स्टुडियोको फोन
भूकम्प गएपछि हामीले ‘भूकम्पले तपाईंको ठाउँमा कस्तो प्रभाव परेको छ ? तपाईंलाई के समस्या छ ? रेडियोमा फोन गरेर भन्नुस्, हामी सम्बन्धित निकायमा पुर्याउनका लागि समन्वय गरिदिनेछौँ’ भनेर रेडियोको नम्बर दिएर सूचना प्रसारण गर्याैं । त्यो सूचनापछि फोनहरू धेरै आउन थाल्यो । तर, परकम्पहरू आइरहेकाले फोन उठाएर श्रोता, प्रभावितहरूको कुरा लिन पनि सकिएको छैन ।
पहिलो भूकम्पपछि ठुला–साना परकम्पहरू आइरहेकाले डर लागिरहेको छ । (स्टुडियो) भित्र फोन बजेको बजेई छ, हामी बाहिर सुनेर बस्नुपरेको छ । अहिले तपाईंसँग कुरा गर्दा पनि (भित्र) फोन बजिरहेको सुनिरहेको छु । (यस्ता अरू पनि धेरै फोन कलहरू उठाउन सकेको छैन) सबै ठाउँका भूकम्प प्रभावितहरूको फोन उठाएर समस्या सुन्न र सोध्न नसकेकोमा दुःख लाग्छ ।
तनाव र परिवारका कुरा
भूकम्पले म एकदमै डराएको छु । (मनस्थिति) एकदम कमजोर बनाउँदो रहेछ । २०७२ को भूकम्पले यता हाम्रोतिर त्यत्ति असर गरेको थिएन । त्यतिबेला अरूले भूकम्पले यस्तो हुन्छ भनेको सुन्दा, समाचारहरू हेर्दा ‘यस्तो हुन्छ होला र ?’ जस्तो लाग्थ्यो । तर, अहिले आफैँलाई परेपछि थाहा भयो कि यति डर, त्रास, मानसिक तनाव हुँदोरहेछ भनेर ! (मलाई) जतिखेर पनि मुटु कामे जस्तो, थररर भइरहे जस्तो, यताउता हिँड्दा पनि हल्लिएको (जस्तो) महसुस भइरहन्छ । (हामी) राति घरमा सुत्दैनौँ । त्यही पनि साँझ पर्यो (भने) झन् डर लाग्छ ।
अहिले (बुधबार बिहान ११ बजे) तपाईंसँग कुरा गरिरहँदा खाना पकाउन (घर) भित्र जान डर लागेर खाना खाएको छैन । बाहिरबाट देख्दा सिमेन्ट प्लास्टर गरेर रङ लगाइएको भएर भत्किएको देखिँदैन तर भित्र गएर खाना पकाउन सकेको छैन । हिजो बेलुका खाना बसाल्दै बाहिर आउँदै गरेर बल्लतल्ल खाइयो । आज किन हो, झन् डर लागिरहेको छ ।
पारिवारिक कुरा गर्दा झन् तनाव हुन्छ । म र मेरो श्रीमान् दुवै जना यही रेडियोमा कार्यरत छौँ । त्यसैले सँगै छौँ । सासूससुरा र १२ र छ वर्षका दुई जना बच्चा नेपालगन्जमा । उताबाट बाबु (छोरा) ले फोन गरेर ‘त्यहाँ बस्दै नबस्नू, हामीसँग आउनू’ भन्छ । ‘ज्यानभन्दा ठूलो केही होइन, तपाईंहरूलाई केही भयो भने हामी के गर्नु ?’ भनेर (छोराले) फोन गर्दा एकदमै चिन्ता लाग्छ । हामी यता डराएर बसेका छौँ, उता बच्चा र सासूससुरा आत्तिएर बस्नुभएको छ ।
बिपद्मा जसोतसो धानिएको जिम्मेवारी
यस्ता बिपद्को बेलामा रेडियो छोडेर जान पनि नसकिने रहेछ । रेडियोको सूचना, सन्देश चाहिने भनेको बिपद्को बेला झन् बढी हुने रहेछ । भूकम्पपछि पहिले जस्तै नियमित समाचार, रेडियो सामग्री त दिन सकेका छैनौँ । तर, प्रसारण बन्द पनि गरेका छैनौँ ।
दौडेर (स्टुडियो) भित्र गएर समाचार पढ्ने तथा रिपोर्ट, जिङ्गल (सन्देशमूलक सामग्री) तथा पहिला बनाइएका कार्यक्रमहरू प्रसारण तालिकामा मिलाएर फेरि दौडिँदै बाहिर निस्किन्छौँ । हाम्रो प्राविधिक (भाइ) शारीरिक अपाङ्गता (भएको व्यक्ति) हुनुहुन्छ, उहाँको खुट्टामा समस्या भएर हिँड्न अप्ठ्यारो छ । जसोतसो (रेडियो प्रसारणको काम) चलाइरहेका छौँ ।
(भोलि) बिहीबारदेखि पाल टाँगेर रेडियो सञ्चालन गर्ने गरी काम गर्दैछौँ । काठमाडौँ (अकोराब/ सिआइएन) बाट प्राविधिक/विज्ञहरू आएर पालमै प्रविधिहरू सारेर स्टुडियो बनाइदिनुभयो । अब पहिलेभन्दा अलि ढुक्कले काम गर्न सकिन्छ ।
सन्धान प्रकाशन मिति : २०८० कार्तिक २३ गते, विहीबार