Home Stories आकाशको शीत छल्नु कि भुईंको तुषारो !

आकाशको शीत छल्नु कि भुईंको तुषारो !

471
0

जाजरकोट भूकम्पपछि सुत्केरी र शिशुहरू थप समस्यामा छन् । मध्यजाडाेमा ‘आकाशको शीत छल्नु कि भुईंको तुषारो’ भन्ने अवस्थामा सामान्य पालमुनि दिनरात बिताउन वाध्य भेटिन्छन् । जाजरकोटमा ३५ हजारभन्दा बढी घरपरिवार भूकम्पबाट पूर्ण रूपमा विस्थापित भएको अभिलेख जिल्ला प्रशासनको छ । ती परिवारमा एक हजार जनाभन्दा बढी सुत्केरी छन् । उनीहरू पालमुनि दिनरात बिताउन बाध्य भएर स्वास्थ्य समस्या पनि झेलिरहेका छन् । राहत र ओतको न्यानो आड नपाएका केही महिलाहरू काखमा बच्चा च्यापेर सुत्केरी सामानको खोजीमा जिल्ला सदरमुकाम खलङ्गा आइपुगेका पनि देखिन्छन् ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर २ डिङ्गाकी रेश्मा पुन २०८० मङ्सिर १२ गते सदरमुकाम खलङ्गामा भेटिनुभयो । काखमा दुई महिनाको सन्तान च्यापेर उहाँ विपद् कोष भण्डारण केन्द्रमा सुत्केरी सामान पाइन्छ कि भनेर आउनुभएको रहेछ । वडाको सिफारिस नभएको भनेर उहाँलाई सामान दिइएनछ । रेश्मा भन्नुहुन्छ, “वडामा सिफारिस माग्दा केही समय सिफारिसविना नै दिन्छ जानूस् भनेर वडाले पठायो तर यहाँ सिफारिस मागिरा’को छ ।”

भूकम्पपीडितले पाउने राहतको नाममा उहाँको परिवारले एउटा सानो पाल र एउटा कम्मल पाएको छ । “सानो पालको ओतले न छेउतिर पुग्छ न त भित्तातिर,”

डिङ्गाबाट आठ किलोमिटर पैदल हिँडेर सदरमुकाम पुग्नुभएकी रेश्माले वडा र केन्द्रको दोहोरो सूचनाको मार पनि खेप्नुपर्‍यो । उहाँ कात्तिक १७ गते रातिको जाजरकोट भूकम्पपछि बेघर हुनुभएको छ । परिवारका तीन जनाका साथमा पालमुनि चिसा दिनरात बिताउँदै सुत्केरी सामानको न्यानो खोज्न सदरमुकाम आउँदा पनि रित्तो हात फर्कनुपरेको छ ।

रेश्माका अनुसार, भूकम्पपीडितले पाउने राहतको नाममा उहाँको परिवारले एउटा सानो पाल र एउटा कम्मल पाएको छ । “सानो पालको ओतले न छेउतिर पुग्छ न त भित्तातिर,” रेश्मा भन्नुहुन्छ, “रातको जाडो छल्ने गोठ बनाउँ भने पुग्दैन । त्यही भएर गाउँमै पाइने सोत्तर–स्याउलाले बारेर सानो गोठ बनाएको छु ।” पानी पर्‍यो भने के गर्ने उहाँलाई थाहा छैन । आँखाबाट झरिरहेका आँसु पुछ्दै उहाँ चिसाको कहर सुनाउनुहुन्छ, “चिसोले टाउको दुखेर मर्न लागेको छु, आँखाबाट आँसु बगिरहन्छ ।” त्यसमाथि बच्चा बोकेर सदरमुकाम पुग्दा त रेश्माको स्वास्थ्य झनै बिग्रिएछ । भन्नुहुन्छ, “आज त झन् हिँडेर हो कि, तल्लो पेट पनि दुखेको छ, साथै ब्लड पनि गएको छ ।”

मेराे घर गाउँबस्ती भन्दा अलि पर एक्लो ठाउँमा रहेछ । यसैले राहत दिनेहरू पनि आफूसम्म नआइपुगेको उहाँको गुनासो छ । “न त सुत्केरी भनेर सरकारले केही गरेको छ, न राहत लिएर पनि मसम्म कोही आएका छन्”

माया शाही छ हप्ताकी सुत्केरी अवस्थामा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ३ थाप्लेमा भेटिनुभयो । उहाँ जाजरकोटकै नलगाड नगरपालिका वडा नम्बर ६ की बासिन्दा हुनुहुन्छ । कात्तिक १७ को भूकम्पमा उहाँको घर पनि भत्कियो । त्यसपछि उहाँले पनि रेश्माले जस्तै पालमुनि चिसा दिनरात कटाइरहनुपरेको रहेछ । उहाँको शरीर सुन्निएको देखिन्छ । उहाँ ढाड दुख्ने, टाउको दुख्ने, टाउको भारी भए जस्तो हुने जस्ता समस्याले आफूलाई सताएको बताउनुहुन्छ ।

भूकम्प आउँदा भेरी नगरपालिका वडा नम्बर २ की मनिषा पुन ४५ दिनकी सुत्केरी हुनुहुन्थ्यो । भूकम्पपछि उहाँको पनि घरबाहिरको बास भयो । चिसो झन् झन् बढ्दै छ । उहाँ भन्नुहुन्छ, “चिसोको कारण ढाड दुख्ने, टाउको दुख्ने, खाना खान मन नलाग्ने जस्ता समस्याले सताएको छ ।”

अहिलेसम्म एउटा पाल र एउटा कम्मल बाहेक आफूले केही नपाएको मनिषाको भनाइ छ । उहाँको घर गाउँबस्ती भन्दा अलि पर एक्लो ठाउँमा रहेछ । यसैले राहत दिनेहरू पनि आफूसम्म नआइपुगेको उहाँको गुनासो छ । “न त सुत्केरी भनेर सरकारले केही गरेको छ, न राहत लिएर पनि मसम्म कोही आएका छन्,” उहाँ भन्नुहुन्छ, “एक्लो घर भएकाले यहाँ आइपुग्दैनन् ।”

सुत्केरी महिलाले एउटा पालको भरमा यो वर्षको बढ्दो चिसो काट्नुपरेकामा पुष्पा आक्रोशित देखिनुहुन्छ । भन्नुहुन्छ, “सुत्केरीलाई एउटा पालको चोक्टो दिएको छ, यो पालले कसरी चिसो छल्नु ? बच्चा र आफू चिसोबाट कसरी बाँच्नु ?”

मनिषाका पनि जुम्ल्याहा शिशु छन् । उनीहरू पनि कम तौलका जन्मिएका रहेछन् । “अलि कम तौलको जन्मिएका बच्चाहरूको तौल नै बढेको छैन,” यसो भन्दै गर्दा उहाँको अनुहार एकदम मलिन हुँदै जान्छ । “यस्ता कुनाकन्दराका सुत्केरीको पीडा कस्ले बुझिदिने र ?” उहाँ प्रश्न गर्नुहुन्छ । एउटै प्रश्नमा महिला र शिशुको छुट्टै संसार अटाएको छ । कहिल्यै फिका भएर नहराउने मानव मूल्यको चमक पनि यस प्रश्नमा सल्बलाएको छ । त्यसलाई समानुभूतिपूर्वक देख्ने, बुझ्ने र सम्बोधन गर्न सक्ने उत्तरदायी राज्य संयन्त्रको मात्रै अभाव खट्किएको छ ।

भेरी नगरपालिका वडा नम्बर ३ स्यालागाउँकी पुष्पा परियार आफ्नो दुई महिनाको शिशु चिसोले बिरामी परेपछि मङ्सिर ५ गतेदेखि ११ गतेसम्म एक हप्ता जाजरकोट जिल्ला अस्पतालमा बस्नुपर्‍यो । सुत्केरी महिलाले एउटा पालको भरमा यो वर्षको बढ्दो चिसो काट्नुपरेकामा पुष्पा आक्रोशित देखिनुहुन्छ । भन्नुहुन्छ, “सुत्केरीलाई एउटा पालको चोक्टो दिएको छ, यो पालले कसरी चिसो छल्नु ? बच्चा र आफू चिसोबाट कसरी बाँच्नु ?” यही चिसोले आफू र शिशु दुवै जना दीर्घरोगी बन्ने हो कि भन्ने चिन्ता पनि उहाँलाई छ ।

भूकम्पबाट प्रभावित हुनेहरूमध्ये पनि सुत्केरी तथा नवजात शिशुलाई अवस्था बढी कष्टकर भइरहेको छ । चिसो लागेका शिशुले रातभरि राम्रोसँग सुत्न नसक्दा सुत्केरी आमाहरूले पनि अनिदो रहेरै रात कटाउनुपर्छ । सुत्केरी आमालाई अनिदो हुँदाको गाह्रो छुट्टै हुन्छ । त्यसमाथि सुत्केरीको खानेकुरा भत्किएको घरमै पुरिएको छ । अझै झिक्न सकिएको छैन ।

जाजरकोट जिल्ला अस्पतालको अभिलेख अनुसार, जिल्ला अस्पतालमा चिसाको कारण बिरामी हुनेको सङ्ख्या बढिरहेको छ । “मङ्सिर लागेसँगै चिसाको कारण निमोनियाँ, पखाला, टाइफाइड, रुघाखोकी, लाग्ने र दमका बिरामी बढिरहेका छन्,” जिल्ला अस्पतालका डाक्टर दयाराम यादव भन्नुहुन्छ, “ढाड र टाउको दुख्ने जस्ता बिरामी पनि बढ्न थालेका छन् ।”

स्थानीय जानकार र भुक्तभोगी महिलाका अनुसार, भूकम्पबाट प्रभावित हुनेहरूमध्ये पनि सुत्केरी तथा नवजात शिशुलाई अवस्था बढी कष्टकर भइरहेको छ । चिसो लागेका शिशुले रातभरि राम्रोसँग सुत्न नसक्दा सुत्केरी आमाहरूले पनि अनिदो रहेरै रात कटाउनुपर्छ । सुत्केरी आमालाई अनिदो हुँदाको गाह्रो छुट्टै हुन्छ । त्यसमाथि सुत्केरीको खानेकुरा भत्किएको घरमै पुरिएको छ । अझै झिक्न सकिएको छैन । त्यसैले भूकम्पपछिका सुत्केरीलाई पोषणयुक्त खानेकुरा त परको कुरा, पेटभरि खान पनि नपुगिरहेको समस्या छ ।

जिल्ला प्रशासनदेखि स्थानीय सरकारसम्मले सुत्केरीको यकिन तथ्याङ्क लिएर विशेष राहत र टेन्टको व्यवस्था गर्ने भनेको सुनिए पनि वास्तवमा त्यो काम हुन सकेको देखिँदैन ।

हिउँदको मध्यजाडो आउँदै छ । यस्तो बेला एकातिर राति आकाशबाट परेको शीत पालबाट छिरेर ओछ्यानमै झर्छ भने अर्कातिर भुईंमा परेको तुषाराको चिसाले ठिहि¥याउने गर्छ । चिसाकै कारण पालमुनि दिनरात कटाउँदै आएकाहरूमध्ये मंसिर २८ गतेसम्म ३१ जनाको मृत्यु भएको जानकारी जिल्ला स्वास्थ्य कार्यालयले दिइसकेको छ । मृत्यु भएकामा एक जना महिना दिनकी सुत्केरी र दुई जना नवजात शिशुहरू छन् । जाडाको जोखिम दिनदिनै बढ्दैछ । प्रकृतिका कारण थप क्षति हुन नदिन मानवीय पहल जरुरी हुन्छ ।

जिल्ला प्रशासनदेखि स्थानीय सरकारसम्मले सुत्केरीको यकिन तथ्याङ्क लिएर विशेष राहत र टेन्टको व्यवस्था गर्ने भनेको सुनिए पनि वास्तवमा त्यो काम हुन सकेको देखिँदैन । ‘भूकम्प गएको एक महिना बितिसक्दा पनि सुत्केरी, नवजात शिशुको लागि अस्थायी बसोबासको पनि उचित व्यवस्था किन हुन सकेन नि ?’ भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार भन्नुहुन्छ, “विपद् व्यवस्थापन समितिको बैठक हुन्छ, पालिका प्रमुखहरू सहितको त्यो बैठकमा सुत्केरी, नवजात शिशु तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राख्नका लागि भन्ने गरेको छु ।” उहाँका अनुसार, सुत्केरीलाई विशेष प्राथमिकता भए पनि कुनै विशेष कार्यक्रम नभएको हुनाले आफूले बैठकमा त्यसो भन्नुपरेको हो ।

याे पनि पढ्नुहाेला

सन्धान प्रकाशन मिति : २०८० पुस ९ गतेसाेमबार